आधुनिक युगका ग्यालिलियो

रासायनिक प्रतिक्रिया (केमिकल रियाक्सन) रसायनशास्त्रको मुटु मानिन्छ। यस प्रतिक्रियामा अणु (मलेक्युल) र परमाणु (एटम) संलग्न हुन्छन्। अणु र परमाणु कहिले एकआपसमा आकर्षित हुन्छन् भने कहिले विकर्षित हुन्छन्। अणु र परमाणुका यिनै गुणका कारण एक रासायनिक तत्व अर्को तत्वमा परिणत हुने गर्छ। अणु र परमाणुबीचको आकर्षण र विकर्षण प्रक्रियाको वास्तविक रहस्य पत्ता लगाउनु रसायनशास्त्रीका लागि लामो समयसम्म ठूलो चुनौती बनिरह्यो।
अणुभित्र परमाणुहरू एकआपसमा एक रासायनिक शक्तिद्वारा बाँधिएका हुन्छन्। त्यसलाई 'केमिकल बन्ड' भनिन्छ। रासायनिक प्रतिक्रियामा नयाँ अणु बन्दा वा एक अवस्थाबाट अर्को अवस्थामा परिणत हुँदा अणुभित्रका परमाणुहरू जोडिने र छुट्टिने गर्छन्। परमाणुहरू जोडिने र छुट्टिने प्रक्रिया अति तीव्र गतिमा सम्पन्न हुने गर्छ। यो प्रक्रिया केही मिनेट वा सेकेन्डमा नभएर केही 'फेम्टोसेकेन्ड'भित्र सम्पन्न हुने गर्छ। एक फेम्टोसेकेन्ड एक सेकेन्डको दस लाख अर्ब भागको एक भाग हो। अर्थात् १००००००००००००००० (एकको पछाडि पन्ध्रवटा शून्य) फेम्टोसेकेन्ड बराबर एक सेकेन्ड हुन्छ। यसैगरी तुलनात्मकरूपमा एक फेम्टोसेकेन्ड एक सेकेन्ड बराबर भए एक सेकेन्ड ३ करोड २० लाख वर्ष बराबर हुन आउँछ। एक सेकेन्डमा प्रकाश पृथ्वीबाट चन्द्रमासम्म पुग्छ भने, एक फेम्टोसेकेन्डमा प्रकाशले मानिसको रौँको व्यासको केही अंश बराबरको दूरीमात्र तय गर्छ। यसरी फेम्टोसेकेन्डको अवधि भनेको अति छोटो समय हो। केही फेम्टोसेकेन्डभित्र अति तीव्र गतिमा सम्पन्न हुने भएकालेे रासायनिक प्रतिक्रियामा परमाणुहरू जोडिने र छुट्टिने प्रक्रियाको वास्तविक दृश्य वैज्ञानिकहरूका लागि झन्डै २ हजार ४ सय वर्षसम्म अदृश्य रह्यो। ती दृश्यहरू वैज्ञानिकको परिकल्पनामा मात्र सीमित थिए। कुनै दिन त्यस्ता दृश्य प्रत्यक्षरूपमा देख्न सकिनेमा थोरैको विश्वास थियो। तर सन् १९८७ मा इजिप्टेली मूलका अमेरिकी रसायनशास्त्री अहमद जिवेल पहिलोपल्ट त्यस्ता दृश्यहरू प्रत्यक्षरूपमा प्रदर्शन गर्न सफल भए।
जिवेलले अति शक्तिशाली प्रकाशका केन्द्रीभूत किरण (लेजर)को प्रयोगगरी एक यस्तो वैज्ञानिक उपकरण (लेजर स्पेक्ट्रोस्कोप) को निर्माण गरे जुन विश्वकै सबैभन्दा तीव्र गतिको 'क्यामेरा' बन्यो। जिवेल उक्त विशेष क्यामेराका मद्दतले अणुभित्र परमाणु जोडिने र छुट्टिनेजस्ता केहि फेम्टोसेकेन्डमै सम्पन्न हुने अतिनै छिटो रासायनिक प्रक्रियाको दृश्यलाई वास्तविक समय (रियल टाइम)मा उतार्न सफल भए। तत्पश्चात् अणुभित्र परमाणुको चाल वैज्ञानिकको अमूर्त परिकल्पनामा मात्र सीमित रहेन। ती गतिशील घटना सुस्त गति (स्लो मोसन)मा प्रत्यक्ष अवलोकन गर्न सकिने भयो। जिवेलको यो कार्य रसायनशास्त्रका क्षेत्रमा एक अद्भूत उपलब्धि थियो।
जिवेलको खोजले रसायनशास्त्रका क्षेत्रमा ठूलो क्रान्ति ल्याएको मात्र नभएर जीव र भौतिक विज्ञानका अन्य क्षेत्रमासमेत दूरगामी प्रभाव पारेको छ। जिवेलको खोज आउँदा दिनमा इलेक्ट्रोनिक्सको क्षेत्र र विशेष प्रकारका अन्धोपन निर्मूल पार्ने काममासमेत उपयोगी हुने विज्ञहरू बताउँछन्। उनले आविष्कार गरेको उपकरणको मद्दतले अति तीव्र गतिमा सम्पन्न हुने कुनै पनि रासायनिक प्रक्रियाको सूक्ष्म अध्ययन गर्न सम्भव भएको छ। जिवेलको यस अनुसन्धानले रसायनशास्त्रका क्षेत्रमा एक नयाँ विधाको पनि जन्म भएको छ, जसलाई 'फेम्टोकेमेस्ट्री' भनिन्छ। उक्त अनुसन्धानमा प्रयोग गर्न जिवेलले विकास गरेका विशेष उपकरण वा क्यामेरालाई 'फेम्टोस्कोप' भनिएको छ भने उनको क्यालिफोर्निया इन्स्टिच्युट अफ् टेक्नोलजीस्थित प्रयोगशाला 'फेम्टोल्यान्ड'का नामले प्रसिद्ध छ। जिवेललाई 'फेम्टोल्यान्ड'का 'राजा' भनिन्छ।
रसायनशास्त्रका क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएबापत जिवेललाई सन् १९९९ मा नोबेल पुरस्कार प्रदान गरिएको थियो। पुरस्कार प्रदान गरिँदा नोबेल समीतिका सदस्य बेङ्ग्ट नोर्डेनले जिवेललाई विश्वविख्यात वैज्ञानिक ग्यालिलियोसँग तुलना गरेका थिए। जसरी ग्यालिलियोले सन् १६०९ मा सुधारिएको टेलिस्कोपको निर्माण गरी सौरमण्डलको संसारलाई उजागर गर्न योगदान पुर्‍याएका थिए, त्यसरी नै जिवेलले सन् १९८० को दशकमा आविष्कार गरेका नयाँ उपकरण 'फेम्टोस्कोप'को मद्दतले अणु र परमाणुको अदृश्य संसारको रहस्य उजागर गर्न योगदान पुर्‍याएको थियो। खगोलविद्याको विकासमा टेलिस्कोपको आविष्कार जति महत्वपूर्ण ठहरियो। आउँदा दिनमा रसायनशास्त्रको विकासमा फेम्टोस्कोपको आविष्कार पनि त्यति नै महत्वपूर्ण ठहरिने विज्ञहरू बताउँछन्। ग्यालिलियोले आफ्नो टेलिस्कोप आकाशतर्फ सोझ्याएका थिए भने जिवेलले आफ्नो लेजर स्पेक्ट्रोस्कोपलाई अणु र परमाणुतर्फ सोझ्याए। त्यसैले केही वैज्ञानिकले जिवेललाई आधुनिक युगको ग्यालिलियो भनेका हुन्। कतिपय वैज्ञानिकले जिवेललाई क्रिस्टोफर कोलम्बससँग पनि तुलना गरेका छन्। कोलम्बसले 'नयाँ विश्व'को नामले चिनिने अमेरिकी महाद्वीप पत्ता लगाएका थिए भने जिवेलले अणु र परमाणुको 'नयाँ संसार'।
इजिप्टमा सन् १९४६ मा जन्मेका जिवेलले स्नातक र स्नातकोत्तर तहसम्मको अध्ययन इजिप्टकै अलेक्जान्ड्रिया विश्वविद्यालयमा गरेर विद्यावारिधि संयुक्त राज्य अमेरिकाको पेन्सिलभानिया विश्वविद्यालयबाट रसायनशास्त्रमा गरेका थिए। उनी हाल क्यालिफोर्निया इन्स्टिच्युट अफ् टेक्नोलजीका प्राध्यापक र अमेरिकी राष्ट्रपति बाराक ओबामाको विज्ञान सल्लाहकार रहेका छन्। जिवेल विज्ञान विषयमा नोबेल पुरस्कार प्राप्त गर्ने अरब जगतका पहिला र हालसम्मका एकमात्र व्यक्ति हुन्। यसैगरी पाकिस्तानका अब्दुस सलामपछि मुस्लिम समुदायबाट विज्ञानमा नोबेल पुरस्कार प्राप्त गर्ने जिवेल अहिलेसम्मका दोस्रा व्यक्ति हुन्।
सन् २००२ मा नयाँ दिल्लीमा आयोजना गरिएको एक वैज्ञानिक सम्मेलनमा पंक्तिकारलाई अहमद जिवेलसँग भेट्ने अवसर मिलेको थियो। उनी उक्त सम्मेलनका प्रमुख वक्ता थिए। आजको मल्टिमिडियाको युगमा कुनै पावरप्वाइन्ट, स्लाइड प्रोजेक्टर वा टिपोटको प्रयोग नगरी जिवेलले दिल्लीको सम्मेलनमा इजिप्टमा अध्ययनरत छँदादेखि नोबेल पुरस्कार प्राप्त गर्दासम्मको झन्डै तीन दशक लामो आफ्नो वैज्ञानिक यात्राको अनुभव ४५ मिनेटमा अति रोचक ढंगले प्रस्तुत गरेका थिए। उनको धाराप्रवाह व्याख्यानबाट श्रोताहरू निकै प्रभावित भएका थिए। श्रोताहरूले व्याख्यानको अन्त्यमा लामो समयसम्म ताली बजाएर जिवेलको उत्कृष्ट प्रस्तुतिप्रति सम्मान व्यक्त गरेका थिए। पंक्तिकारले पनि आफ्नो लामो वैज्ञानिक यात्रामा त्यति उत्कृष्ट व्याख्यान बिरलै सुनेको थियो।
व्याख्यानपछि जिवेलले उपस्थित वैज्ञानिकहरूसँग अनौपचारिक अन्तरक्रिया गरेका थिए। पंक्तिकारले पनि जिवेलसँग छोटो अन्तरक्रिया गर्ने अवसर पाएको थियो। उनले नेपालमा विज्ञान र प्रविधिको अवस्थाबारे केही जिज्ञासा राखेका थिए। जिवेलजस्तो व्यस्त वैज्ञानिकलाई हाम्रो छोटो भेटघाटबारे पछिसम्म स्मरण रहिरहला भन्ने मलाई लागेको थिएन तर केही समयपछि उनीबाट उनको आफ्नो जीवनीमा आधारित भरखरमात्रै प्रकाशित पुस्तक 'भ्वयाज थ्रु टाइम'को एक प्रति कुरियरमार्फत् प्राप्तगर्दा अचम्म लागेको थियो। आजसम्म वैज्ञानिकले लेखेका संस्मरणमध्ये 'भ्वयाज थ्रु टाइम'लाई एक उत्कृष्ट र अति प्रेरणादायी पुस्तक मानिन्छ। उपयुक्त अवसर र वातावरण पाए विश्वका कुनै पनि विकासशील देशमा जन्मेका प्रतिभाशाली विद्यार्थीले आफ्नो लगनशीलता र कठोर मेहनतबाट विज्ञानका क्षेत्रमा उच्चतम सफलता हासिल गर्न सक्छन् भन्ने सन्देश पुस्तकमा दिइएको पाइन्छ। पंक्तिकारलाई लाग्छ, विकासशील देशका कुनै पनि अध्ययनशील युवा र वैज्ञानिकका लागि उक्त पुस्तक प्रेरणाको स्रोत बन्न सक्छ।

विकासशील देशका वैज्ञानिकलाई आफ्नै देशमा खासै महत्व दिइँदैन। तर जब ती वैज्ञानिक विदेशमा गएर ठूलो सफलता हासिल गर्छन् वा नोबेल पुरस्कारजस्ता विश्वकै सबैभन्दा प्रतिष्ठित सम्मान पाउँछन्, तब ती वैज्ञानिकलाई आफ्नो देशले पनि सम्मान गर्न थालेको पाइन्छ। आफ्नो देशको नागरिकले पाएको सफलतामा ती मुलुक गर्व गर्न थाल्छन्। स्वदेशमा बोलाएर देशकै सबैभन्दा ठूलो विभूषणबाट सम्मानित गर्छन्। राष्ट्राध्यक्ष तथा राष्ट्रप्रमुखले भेट्छन्, तारिफ गर्छन्। यस्तै अनुभव जिवेलले पनि गरेका थिए।
आफ्नै प्रयास र योग्यताले अमेरिकामा विद्यावारिधि गर्न छात्रवृत्ति प्राप्त गर्दा आफू अध्यापनरत रहेको अलेक्जेन्ड्रिया विश्वविद्यालयका पदाधिकारीले उनीसँग स्पष्टीकरण मात्र मागेनन्, उक्त छात्रवृत्तिमा अरूलाई नै पठाउने प्रयाससमेत गरे, तर छात्रवृत्ति प्रदान गर्ने विश्वविद्यालयले मानेन। आफू कार्यरत विश्वविद्यालयले अमेरिकामा अध्ययन गर्न जानका लागि बिदा नदिएपछि जिवेलले बाध्य भएर जागिर छाडेर विदेशिनु परेको थियो। तर जब जिवेलले नोबेल पुरस्कार पाए तब त्यही विश्वविद्यालयले आफ्नो एक पूर्व शिक्षकले त्यत्रो ठूलो सम्मान पाएको भन्दै ठूलो गर्व गर्‍यो। जिवेललाई उक्त विश्वविद्यालयले आमन्त्रित गरेर ठूलो सम्मान गर्‍यो। इजिप्टका तत्कालीन राष्ट्रपति होस्नी मुबारक आफैँले टेलिफोन गरेर उनलाई बधाई दिए। राष्ट्रको सबैभन्दा ठूलो सम्मानले विभूषित गरे। जिवेलका नाममा इजिप्टका सडक, चोक र उद्यानहरूको नामाकरण गरिए। उनको चित्र अंकित हुलाक टिकट निकालिए। स्वदेशमै फर्केर देशको सेवा गर्न आग्रह गरियो। तर जिवेलले आफ्नो जन्मभूमि इजिप्टमा विज्ञानको विकासमा सक्दो सहयोग पुर्‍याउने वचन दिए पनि आफूले कर्मभूमि अमेरिकामा नै बसेर विज्ञानको सेवा गर्न चाहे।
हालै इजिप्टमा सम्पन्न जन आन्दोलनताका आन्दोलनकारी र सरकारपक्षबीच वार्ता गराउन जिवेलले पनि सहयोग पुर्‍याएका थिए। जिवेलका इजिप्टेली शुभचिन्तकले उनलाई आउँदो निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका थिए। तर अल्बर्ट आइन्स्टाइनले त्यतिबेला इजराइलको प्रथम राष्ट्रपति बन्न आग्रह गर्दा अस्वीकार गरे जसरी नै जिवेलले पनि राष्ट्रपतिको उम्मेदवार बन्न अस्वीकार गर्दै भने, 'म मेरो बाँकी जीवन विज्ञानलाई नै अर्पण गर्न चाहन्छु र वैज्ञानिक भएर मर्न चाहन्छु।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out