मिडिया र मोहन वैद्य

फ्रान्सेली लेखक जिन बद्रिलार्ड आफ्नो निबन्धसंग्रह 'सिमुलाक्रा एन्ड सिमुलेसन्स' मा लेख्छन्, 'मिडियामा विज्ञापन शैलीमा गरिने प्रचारबाजीले यथार्थ क्षय गराउन भूमिका खेलिरहेका हुन्छन्। सामान्य यथार्थलाई चरम यथार्थ बनाउन मिडियाले अतिरञ्जनाको सहायता लिन्छन्। फलस्वरुप, मानिसहरू यथार्थ र भ्रम पर्गेल्न सक्दैनन्।'
पछिल्ला केही महिनामा एनेकपा (माओवादी) का उपाध्यक्ष मोहन वैद्य 'किरण'बारे मिडियामा विपरीत धु्रवबाट एकोहोरो बहस छेडिएको छ। उनी परे बहुलवादविरोधी। बहुलवाद नहुँदा कस्तो हुन्छ भन्ने उदाहरण दिनसमेत पुग्नेगरी अहिल्यै उनीमाथि प्रहार सुरु गरिएको छ। कस्तो अनौठो संयोग! बहुलवादविरोधीमाथि 'बहुलवादका हिमायती' को प्रहारचाहिँ ठ्याक्कै बहुलवादविरोधी देखिन्छ। वैद्य कुन विचार शिविरको प्रतिनिधित्व गर्छन्, अलग कुरा। उनको खल्तीभित्र कुन दलको परिचयपत्र छ, तपसिलको कुरा। आफ्नै छिमलका साथी घुँडा धसेर पढ्ने, जागिर खाने, बिहे गर्ने र समाजमा प्रतिष्ठित जीवनयापन गर्ने योजना बनाइरहेका बेला वैद्य नेपालमा 'क्रान्ति' गर्र्ने सपना देख्न थाले। उनीसँग पनि व्यक्तिगत सुखसयलका आकांक्षा थिए होलान्। तर, सामाजिक रुपान्तरणको आन्दोलनमा होमिने क्रममा तिनले निजी चाहनालाई बलिदान दिए। यो कम कुरा होइन। अझ आफ्नो स्वर्ग नगुमाई अरुमाथि क्रान्ति गर्न खोज्ने, बलिदानको कोटा अरुबाट चुक्ता हुनुपर्ने आग्रह गर्नेका लागि वैद्यको समर्पण ठूलो व्यंग्य र पाठ पनि हो। नेपालमा त्यस्ता मान्छे कति छन् जो पार्टी र आन्दोलनका लागि आफ्नो जीवन र सर्वस्व बुझाउन सक्छन्?
उनले खास मान्यता र आग्रह बोकेर चलाएको 'जनयुद्ध' कति उचित थियो, बहस हुनसक्ला। यसमा उनीमात्रै जिम्मेवार छैनन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल, अर्का उपाध्यक्ष बाबुराम भट्टराईलगायत सम्पूर्ण नेतृत्व यसको उत्तरदायी हो। हिजोआज केही मिडिया भट्टराईलाई देवता बनाइरहेका छन्। अनि 'किरण' लाई महाभारतकालीन 'किचक' बनाइरहेका छन्। यसको तात्पर्य के हो? बद्रिलार्डले भनेझैँ मान्छेले चौथो अंगको 'हाइपर रियालिटी' पत्याउने नै भए। दुई दिनअघि फेसबुकमा भेटिएका एक मित्रले भने, 'तपाईँ आफ्नो गृहजिल्ला कत्तिको जानुहुन्छ? बाबुराम भट्टराई त महिनामा कम्तीमा एक पटक जान्छन् रे।' झोकैझोकमा लेखिदिऊँ कि जस्तो लागेको थियो, 'मित्र, सरकारी गाडीमा झन्डा हल्लाएर जान पाए त म हप्तैपिच्छे जान्थेँ। जीवनका जटिलताले किचिएको मान्छे म, मुस्किलले वर्षमा एक पटक जान्छु।' मिडियाको प्रभाव! नियमित गइरहनुपर्ने आफ्नै निर्वाचनक्षेत्र जाँदा पनि नेताको गुनगान गाउनेहरू हिजोआज वैद्यको पानीखेदो गर्न व्यस्त छन्।
'किरणको किचलो,' 'वैद्यले अड्काए शान्ति र संविधान,' 'वैद्यले कसे गाँठो,' जस्ता शीर्षकमा ब्यानर न्युज र कभर स्टोरी भन्दै पत्रिका र म्यागेजिनहरू माओवादीकै भाषामा चारैतिरबाट घेरा हालिरहेका छन्। टिभीको कुरै छाडौँ। भए नभएका विश्वस्त स्रोतको हवाला दिँदै तिनीहरू 'पिप्ली लाइभ' शैलीमा वैद्यको 'नियत पर्दाफास' गरिरहेका छन्। भएको केही होइन। माओवादीले जनविद्रोहको कार्यदिशा पालुङटार विस्तारित बैठकबाट पास गर्दैगर्दा सबै ताली वैद्य एक्लैले बजाएका थिएनन्। अध्यक्ष दाहालको पेन्डुलम प्रवृत्ति पनि जिम्मेवार थियो। संविधान नबन्नुको दोषी माओवादी हो। तर, ऊमात्रै होइन। संविधान नबनेको हेर्न चाहने, पुरानै रजगज स्थापित भएको सपना देख्नेको दोष मिडियाले देख्नुपर्दैन? वैद्यलाई दशकौँदेखि निरन्तर विद्रोहको स्कुलमा विश्वास छ। ठीकबेठीक जे भए पनि त्यो उनको विश्वास हो। जड्सूत्रवाद, उग्रवाद जे भने पनि त्यो उनको आदर्श हो, जसरी, नेपाली कांगे्रसका लागि प्रजातान्त्रिक समाजवाद, नेकपा (एमाले) का लागि बहुदलीय जनवाद आदर्श हो। कसैको आदर्शमा खोट देख्नेबित्तिकै एकोहोरो लखेट्नु कति जायज हुन्छ?
वैद्यमाथि आफूले पढेको किताब प्रमाणित गर्न मरिमेटेको बात लागेको छ। यहाँ कतिपय यस्ता नेता र दल छन् जसलाई केही प्रमाणित गर्नु छैन। नयाँ केही गरेर जगत्लाई देखाउनु नै छैन। जनाधार नभएका तर पत्रकार बोलाएर क्रान्तिकारी वक्तव्य जारी गर्न वा लेख लेख्न खप्पीस केही मानिस मिडिया हाइपले नेता कहलिएका छन्। तिनीहरू सिन्डिकेट शैलीमा अर्को दलका नेताको प्रशंसा गर्छन्। उसबाट पनि केही भनिमाग्छन् र 'स्टेटम्यान'को सूची बनाउँछन्। तिनको एकमुष्ट उद्देश्य जसरी पनि वैद्यजस्ता 'एकदलीयतावादी'लाई ठेगान लगाउनु हुन्छ। चौथो अंग पनि त्यस्तैको मायावी मोहमा फस्छ। कल्पना गरौँ, हरेक दलभित्र वैद्यजस्ता नेता भएनन् भने के हुन्छ? भीमबहादुर तामाङ, प्रदीप गिरिजस्ता विचारमा सम्झौता नगर्ने मानिस कांग्रेसमा भएनन् भने के हुन्छ? मोदनाथ प्रश्रित र घनश्याम भुसालजस्ता चिन्तक एमालेमा भएनन् भने के हुन्छ? हरेक दलमा आफ्नो दल खोल्नुको औचित्य मनन गर्ने नेता भएनन् भने आन्दोलनले बाटो बिराउँछ।
विवादका बीच माओवादी अहिले केन्द्रीय समिति बैठक चलाइरहेको छ। तत्कालका लागि स्थगित उक्त बैठकमा पनि वैद्यले केही प्रश्न उठाएका छन्। मन्त्री बन्न नपाएको झोकलाई सैद्धान्तिक लेपन लगाउँदै केही माओवादी नेताले विचारसमूहको नाममा उठाएका प्रश्न वैद्यको सैद्धान्तिक बहसका अघिल्तिर फुच्चे देखिन्छन्। बोक्नका लागि अनेक स्वार्थ र कुन्ठा हुँदाहुँदै कसैले विचार बोक्ने संकल्प गर्छ भने त्यससँग डराउनुपर्छ। उनले जनविद्रोह गरौँ भनेको अहिल्यै बन्दुक बोकेर हिँडिहालौँ भनेको होइन। यो जेलिएको संविधानसभाबाट सशस्त्र संघर्षको 'उपलब्धि' रक्षा नहोला भन्ने चिन्ता हो। पार्टी कार्यदिशाविहीन ढुलमुले होला भन्ने चिन्ता हो। यी सब बुझिबुझी मिडियामा मात्र होइन, माओवादीभित्रै उनलाई खुइल्याउन खोज्नेको कमी छैन।
छँदाखाँदाको सभासद् पदबाट वैद्यले राजीनामा दिए। त्यो उनको वैयक्तिक विश्वासको कुरा हो। सभासद्ले पाउने कुटनीतिक रातो पासपोर्ट बेचेर रातारात करोडपति हुने सपना देख्नेका लागि वैद्यको उक्त निर्णय कसिलो चड्कन हो। उनका समकक्षी भट्टराईले राष्ट्रिय सरकारका नाममा बालुवाटार गमनको भित्री अभियान चलाउँदै गर्दा उनीचाहिँ प्रधानमन्त्रीका आकांक्षी देखिन्नन्। यथार्थ हो, उनी बोल्दा, लेख्दा दुरुह पारिभाषिक शब्दको पहाड उभ्याउँछन्। अन्य नेताचाहिँ के गर्छन्? राम कार्कीलगायत केही नेताबाहेक सबका सब माओवादी नबुझिने कुरा गर्छन्। जनताले नबुझ्ने भाषामा वैद्यमात्र होइन 'जनवादी गौरवशाली दल'का नेता बोल्छन्, लेख्छन्। उदाहरणका लागि वैद्य स्वयं आफ्नो किताब 'संघर्षको दर्शन' मा लेख्छन्, 'नेपाली दार्शनिक चिन्तन र राजनीतिको फाँटमा परिवर्तनबारे मूलतः दुई ढंगका समस्या पैदा हुँदै आएका छन्- पहिलो, द्वन्द्ववादको आधारभूत नियम अर्थात् विपरीतहरुको एकता र संघर्षको नियमबाट मात्रात्मक र गुणात्मक परिवर्तनलाई कटाई त्यसलाई एक समान पृथक् स्वतन्त्र नियमका रुपमा ग्रहण गर्ने समस्या र दोस्रो, परिवर्तनलाई द्वन्द्ववादी नभई अध्यात्मवादी, यान्त्रिक भौतिकवादी, अधिभूतवादी एवं भँडुवा विकासवादी अर्थमा बुझ्ने समस्या।' वैद्यले पनि बुझ्नुपर्नेछ, केवल शास्त्र र सूत्रमा समाजलाई बुझ्न खोजियो भने त्यो अव्यावहारिक र अफापसिद्ध हुनेछ। कुरै नबुझी वैद्यलाई ललकार्नेसँग त जनतालाई सुनाउन यति पनि नहोला।
शान्ति र संविधानको ऐतिहासिक कार्यदिशामा वैद्य आऊन्। मुलुकको हित यसैमा छ। उनले उठाएका आन्तरिक प्रश्न माओवादीभित्रका सरोकार हुन्। मिडियाले पनि बुझ्नुपर्ने गम्भीर कुरा छ, वैद्यजस्ता व्यक्ति हरेक दलभित्र छन् जो स्टन्टबाजी गर्न र पत्रकार रिझाउन ध्यान दिँदैनन्। आन्दोलन र पार्टीबारे बहस चलाउनबाहेक। तसर्थ, चौथो अंगले पनि आफ्नै मुख र आहारमा विश्वास गर्नुपर्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out