यौनकर्मी महिलाका पक्षमा

म यो देशको नागरिक, एक उपभोक्ता अनि एउटा सामान्य सामाजिक कार्यकर्ता । नागरिकको हैसियतले मानसिक एवं शारीरिक रूपमा सबल र सक्षम भएर बाँच्न पाउनुपर्ने मेरो अधिकार । त्यस्तै उपभोक्ताको हैसियतले सक्कली चिजमात्र उपभोग गर्न चाहने मेरो इच्छा अनि सामाजिक कार्यकर्ताको हैसियतले समाजमा हुने गरेका वा भइरहेका हरेक क्रियाकलापप्रति मेरो गहिरो दृष्टि, अझै प्रस्ट भनौं, मेरो उद्देश्य बिहान-बेलुकी छाक टार्नकै लागि आफ्नो शरीर बेच्न विवश दिदीबहिनीलाई त्यो परिस्थितिबाट मुक्त पार्दै 'बाध्यात्मक देहव्यापार मुक्त समाज'को निर्माणमा टेवा पुर्‍याउने । मेरो व्यक्तिगत रुचि अनि संस्थागत कार्यक्षेत्रका कारण विगत १० वर्षदेखि बाध्य भई शरीर बेच्ने दिदीबहिनीको दैनिकीसँग साक्षात्कार गरिरहेकी छु, उनीहरूको रोदन, चित्कार र भावनालाई महसुस गर्ने जमर्को गरिरहेकी छु ।

हामी महिलाको समग्र समावेशी र स्वतन्त्रताका कुरा धेरै गर्छौं । महिलाहरू पुरुषबाट शोषित र पीडित भएका बहस चलाउँछौं । तर ती महिलाभित्र पनि चरम हिंसा र विभेद खेप्न बाध्य भएको एउटा वर्गलाई चटक्कै बिर्सिएका छौं । युवाले म युवा, दलितले म दलित, जनजातिले म जनजाति अनि महिलाले म महिला भन्छन्, तर विडम्बना बाध्य भएर आफू र आफ्नालाई बचाउन यौनव्यवसायमा लागेका दिदीबहिनीहरू न युवा वर्गमा परे, न जनजाति, नत अन्य कुनै । मलाई प्रश्न सोध्न मनलागेको छ, 'ती दिदीबहिनी जहाँ मेचीदेखि महाकालीसम्मका छन्, अनि हिमाल, पहाड, तराई एवं युवा, जनजाति, बाहुुन, क्षत्री, दलित, मधेसी सबै जातजाति एवं भाषाभाषीका भेटिन्छन् भने यिनीहरू कुन वर्गका ?' युवाका कुरा गर्ने हो भने यस्तो व्यवसायमा लागेका ८० प्रतिशत त युवा वर्गका छन्, अनि सबैभन्दा धेरै जनजातिकै बहुलता छ । अब यस्ता वास्तविकताको खोजी र प्रस्तुति गर्नेतर्फ गम्भीर हुनैपर्ने बेला आएको छ ।
मानव सभ्यताको विकास निरन्तर भइरहने कुरा हो । त्यही विकास प्रक्रियाबाट बढ्दै मानव सभ्यताले लामो फड्को र उच्चता प्राप्त गरिसकेको छ । तर हामी नेपाली भने साँघुरो सोच र दरिद्र मानसिकतामा खुम्चिएका छौं । त्यही मानसिकताको उपज हो, आज भित्रभित्रै झांगिँदै गएको देहव्यापारको स्थिति । सामान्यतया मैले बुझेको देह भनेको मानव शरीर र व्यापार भनेको किनबेच अर्थात् मानव शरीरको किनबेच हो । मानव शरीर महिला वा पुरुष दुवैको हुनसक्छ, तर अफसोच, पुरुष देहव्यापारको कहीं कतै चर्चै भएको छैन ।
देहव्यापार वा यौनव्यवसायी वा यौनकर्मी भन्नेबित्तिकै सबैको मानसपटलमा एउटी महिलाको आकृति  आइहाल्छ, जुन महिला बाध्यता एवं विवशताका कारण त्यहाँसम्म धकेलिएकी हुन्छिन् भन्ने कुरा पर्दा पछाडि नै रहन्छ । एउटी महिला आर्थिक विपन्नताका कारण आफू र आफ्ना परिवारको पेट पाल्न यो पेसा अँगाल्न विवश हुन्छिन् भने उनको पुरुष ग्राहक घरमा भएका बालबच्चाको पेटमा लात हान्दै शारीरिक सुखका लागि जान्छ । तर पैसा तिरेर त्यस ठाउँसम्म धाउने ग्राहक अर्थात् पुरुषको चर्चा किन हुँदैन ?  यौन मानिसको जैविक आवश्यकता हो र यौनिकताकै परिपूर्ति गर्ने एउटा स्वरूप हो यौन क्रियाकलाप, जुन सुरक्षित एवं पीडारहित हुनुपर्छ । एकआपसमा हुने असमझदारीयुक्त यौन व्यवहारलाई यौनशोषण भनिन्छ । त्यही यौनशोषण र बाध्यात्मक देहव्यापारले समाजलाई आक्रान्त पारिसकेको छ । तर पनि हामी एक कानले सुन्छौं, अर्कोले उडाइदिन्छौं, अनि बुझेर पनि बुझ पचाइदिन्छौं ।
हालसालै एउटा टेलिभिजनले काठमाडौंको वसुन्धारास्थित आधुनिक शैलीको सुविधासम्पन्न घरभित्र सञ्चालन भइरहेको यौन गतिविधिको श्रव्यदृृश्य प्रसारण गरेको थियो । त्यहाँ एकजना किशोरी आफ्नो कलेजको शुल्क तिर्न यस्तो धन्दामा आउनुपरेको पीडा पोख्दै थिइन् । त्यो दृश्य हेरेकी मेरो एकजना शिक्षित मित्रले 'हेर कलेज पढ्ने केटीहरू पनि शरीर बेच्न थालेछन् । अब कसलाई विश्वास गर्नु, लेखपढ गरेका महिला पनि यस्तो पेसा गर्ने छिः' भन्दै थिइन् । उनको विचार सुन्दा म छक्क परेँ, किनभने ती यौनधन्दामा संलग्न भएको आरोपमा पक्राउ परेकी किशोरीले पहिल्यै आफ्नो पढाइलाई निरन्तरता दिन वा कलेजमा तिर्ने फि जुटाउनकै निम्ति यो पेसा अँगालेको पीडा पोखिसकेकी थिइन् । तर मेरो मित्रको दिमागमा ती किशोरीको बाध्यताको कुरा आएन । हो, हामी सम्पूर्ण नेपालीको मानसिकता यस्तै छ, हामी गहिराइमा गएर कुनै पनि घटनाको अध्ययन-अनुसन्धान त गर्दैनौं नै, पीडितका सत्य कुरामा पनि विश्वास गर्दैनौं ।
अझै पनि मानिसहरू महिलाले रहरले शरीर बेचिरहेका छन् भन्छन् । तर यो एक दसकमा मैले त्यस्तो महिला भेटेकी छैन, जो राजीखुुसीले त्यस्तो बाटोतर्फ गएकी होउन् । उसलाई घरेलु हिंसा, गरिबी द्वन्द्व र अशिक्षाजस्ता कारणले त्यहाँसम्म धकेलेको पाइन्छ । देहव्यापार नेपाली नारीको स्वेच्छाको पेसा होइन र यो कुनै पनि महिलालाई जबर्जस्ती स्वीकार्य छैन भनेर बुझ्नु जरुरी छ । त्यस्तै नेपाली मन भएको कुनै पनि बाबु आफ्नो छोरीको शरीर बेचेर सिटामोल खाएर बाँच्न चाहँदैन, बरु ऊ विष पिउन तयार हुन्छ ।
 सरकारले संयुक्त राष्ट्रसंघको महासभामा नेपालमा ३० हजार यौनकर्मी रहेको तथ्यांक पेस गरेको छ । जसमा ५२ प्रतिशत निरक्षर रहेको र उनीहरूलाई एचआईभी/एड्स लगायत अन्य यौनरोगको बारेमा न्यूनतम जानकारीसमेत नरहेकोले एचआईभी नियन्त्रणमा समस्या परेको कुरा उल्लेख छ । हालसम्म यौनकर्मी महिलाको आधिकारिक तथ्यांक कहींबाट उपलब्ध भएको छैन र यस विषयमा वास्तविक तथ्यांक पाउन मुस्किल छ । त्यसैले अहिलेको सन्दर्भमा ठ्याक्कै यति छन् भन्न सकिँदैन, तर पनि सरकारको आँकडालाई गहिरिएर केलाउने हो भने ३० हजार यौनकर्मी महिलाका ६ लाखको हराहारीमा ग्राहक भएको समाचार बाहिर आएका
छन् । ती ६ लाख ग्राहक तपाईं-हाम्रो घरभित्रका सदस्य होइनन् र ? नेपालको कानुन र समाजले वर्जित गरेको तर यही समाजले नै मलजल गरी हुर्काइरहेको यौनव्यवसायप्रति गम्भीर हुन सकेनाैं र आफ्नै छोरी, बहिनी वा आमालाई इज्जत गर्न जानेनौं भने हामी फेरि वर्षौं पछाडि धकेलिन्छौँ ।
हामी 'नयाँ नेपाल- नयाँ नेपाल' भन्छौं, तर नयाँ नेपाल कसैको पेवा होइन र राजतन्त्र फालेर गणतन्त्र ल्याउँदैमा नयाँ नेपाल हुने होइन । जनताले भयमुक्त, शोषणमुक्त एवं हिंसामुक्त जीवनयापन गर्न पाउनुपर्छ । गणतन्त्रमा त सबै जात, धर्म, लिङ्ग, भाषाभाषी समान हुन्छन् भन्ने सुनेको थिएँ, तर यही गणतान्त्रिक मुलुकमा बाध्यताले शरीर बेच्नेहरू दिन-प्रतिदिन मानसिक र शारीरिक रूपमा कमजोर बन्दै आत्महत्या गर्ने स्थितिसम्म पुगेका छन् । पुरुष आफ्ना सन्तानको विचल्ल्ाी बनाएर यौनकर्मी महिलासँग रात बिताउँदा अपराधीको दर्जामा पर्दैन, तर बाध्य भएर शरीर सुम्पनेहरू ठूलै अपराधीमा गनिन्छन् र हत्कडीसम्म लगाइन्छ ।
यो देशका राष्ट्रपति वा प्रधानमन्त्रीलाई एककिलो चामलको जति पैसा पर्छ, त्यति नै पैसा पर्छ, सामान्य किसानलाई पनि, धनी र गरिबबीच अनि सहरिया र गाउँलेबीच ठूलो खाडल छ, अब हामी आफंै छातीमा हात राखेर विचार गरौं, बाँच्न पाउने सबैको नैसर्गिक अधिकार हो कि होइन ? हो भने आफूसँग जे छ, त्यही बेचेर बाँच्न पाउने कि नपाउने ? पाउने भए अन्य विकल्प नभेटेर शरीर बेच्न विवश्ालाई यो उपेक्षा कहिलेसम्म ? आजभोलि देहव्यापारको आरोपमा महिलाहरू पक्राउ परेका समाचार बाक्लै आइरहेका छन् । समाचारहरू बाक्लिनुको अर्थ हो, यौनव्यवसाय झांगिँदै गइरहेको छ । संयुक्त राष्ट्रसंघको महासभामा यौनकर्मी महिलाको तथ्यांक पेस गरेको सरकार अवश्य पनि यस विषयसँग अनभिज्ञ छैन । सरकारले समयमै बुझ्न जरुरी छ- जसरी आज गृहयुद्धबाट तहसनहस भएका जीवन, समाज अनि राष्ट्रलाई उठाउन हम्मेहम्मे परिरहेको छ, त्यसैगरी भुसको आगोझैं सल्किएको बाध्यात्मक देहव्यापार अनि त्यसबाट हुनसक्ने एचआईभी संक्रमण भोलि अर्को चुनौतीको रूपमा खडा हुनेछ । र शिक्षामा, विकासमा अनि राष्ट्रको बृहत्तर हितमा प्रयोग गरिनुपर्ने स्रोतसाधन एचआईभी संक्रमणको क्षेत्रमा खर्चिनुपर्ने हुनसक्छ । यसकारण यौनव्यवसाय र यौनकर्मलाई हल्का रूपमा लिनु हुँदैन, तर शरीर बेच्ने एउटा र बेच्न पाउनुपर्छ भनी वकालत गर्ने अर्को हुन पनि हुँदैन । जसको शरीर बेचिने हो, उसैले सचेतना पाउनुपर्छ, पहिला जान्ने अवसर प्राप्त भयो भने छान्ने क्षमताको विकास आफंै हुन्छ । अन्त्यमा, यौनव्यवसायलाई व्यवस्थित बनाउने, कानुनी मान्यता दिने कुरा बहसका विषय हुन् भन्ने जान्दाजान्दै हतारमा निर्णय गरियो, परिणामको विश्लेषण गरिएन र समस्यामाथि समस्या थुपार्दै गइयो भने जटिलता निम्तिनेछ । यौनकर्मीलाई विकल्प दिनु सरकारको कर्तव्य हो । अन्य उद्योगधन्दा धमाधम बन्द हुँदै जानु अनि यौनकर्मलाई नै उद्योगधन्दा बनाउनु र शरीर बेच्न बाध्य हुनु भनेको सरकारको असफलता हो

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out