गृहमन्त्री महराकै संरक्षणमा कमाउने धन्दा

काठमाडौँ, असार १७ । प्रहरी प्रधान कार्यालयले देशभरिका प्रहरी निरीक्षकहरूको सरुवाको तयारी गरिरहँदा कमिसनको चर्को मोलतोल हुन थालेको छ। एमाओवादी अध्यक्ष प्रचण्ड निवास नयाँबजार, गृह मन्त्रालय, गृहमन्त्रीको सरकारी निवास पुल्चोक, स्थायी समिति सदस्य वर्षमान पुनको निवास एकान्तकुना र ठमेलका केही होटलहरूमा कमिसनको चर्को मोलताल भइरहेको सूचना दृष्टिलाई प्राप्त भएको छ। स्रोतका अनुसार मोलतोलमा प्रचण्ड पुत्र प्रकाश दाहाल, प्रचण्डका भतिजा तथा स्वकीय सचिव समीर दाहाल, गृहमन्त्री कृष्णबहादुर महराका छोराद्वय एटम र निर्मल महरा सहभागी भइरहेका छन्।
एटम रोल्पाको दहवनस्थित माओवादी लडाकुको पाचौं डिभिजनमा बटालियन कमान्डरको जिम्मेवारीमा छन् भने निर्मल बाबुकै स्वकीय सचिव छन्। कमिसनको मोलतोल गर्नकै लागि एटम डिभिजन कार्यालयबाट विदा मिलाएर राजधानी आएका माओवादी स्रोतले जानकारी दिएको छ।
प्रहरीमा लामो समयदेखि नियमित सरुवा हुन नसकेकाले यसपटक पाँच सयदेखि आठ सय प्रहरी निरीक्षकको सरुवा तयारी भइरहेको छ। स्रोतका अनुसार 'क' श्रेणीका प्रहरी कार्यालयबाट 'क' श्रेणीमै आउन खोज्ने प्रहरी निरीक्षकसँग दाहाल र महरा पुत्रहरूले ४ लाख देखि १० लाख रूपैयाँसम्म बार्गेनिङ गरेका छन्। राजधानीका महानगरीय प्रहरी प्रभाग दरबारमार्ग, लैनचौर, जनसेवा न्युरोड, थानकोट, गौशालाका साथै झापाको बिर्तामोड, महोत्तरीको गौशाला, सुनसरीको इनरुवा, पर्साको पटेरुवा, रौतहटको गरुडालगायत 'क' श्रेणीमा पर्छन्। यी प्रहरी कार्यालयमा मासिक न्यूनतम डेड लाखदेखि पाँच लाख रूपैयासम्म आय हुन्छ। कमाउ धन्दामा मालामाल हुने यी ठाउँमा जान चाहने निरीक्षकहरूसँग दाहाल महरा पुत्रहरूबाहेक माओवादी नेताहरू, वर्षमान पुन, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेतलगायतले मोलतोल गरिरहेका माओवादी स्रोतकै दावी छ। 'ख'श्रेणीका प्रहरी चौकीमा जान चाहने निरीक्षकहरूसँग २ लाख देखि ५ लाखसम्म मागिएको एक प्रहरी निरीक्षकले दृष्टिलाई बताए। राजधानीमा सातादोबाटो, कमलपोखरी, बुढानीलकण्ठलगायत प्रहरी प्रभाग 'ख' श्रेणीमा पर्छन्। 'ख' श्रेणीमा पर्ने प्रहरी प्रभागमा मासिक मासिक ५० हजारदेखि डेड दुइ लाखसम्म आय हुने गरेको छ। मोटो कमिसन बुझाउने र आफू निकटका व्यक्तिलार्ई आकर्षक स्थानमा सरुवा गराउन माओवादी नेताहरूले प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहको टेबुलमा सिफारिसको चाङ लगाएका छन्। गृह मन्त्रालयले ११ बुँदे मापदण्ड बनाएर सरुवा गर्न निर्देशन दिए पनि प्रहरी निरीक्षकको कार्यक्षमताभन्दा राजनीतिक सिफारिसलार्ई नै आधार बनाएर सरुवाको तयारी भइरहेको स्रोतले बताएको छ। यो कसरतअनुसार प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाका एसपी ठाकुर ज्ञवाली र डिएसपी शेखर खनाल आइजिपीको निर्देशनअनुसार लिस्ट उतार्न लागिपरेका छन्। गृह सचिव लीलामणी पौडेलले भने मापदण्ड अनुसार 'क' बाट 'क' मै सरुवा गर्न नमिल्ने र कमिसन लिएर सरुवा गर्न हुन्न भन्ने अडान लिइरहेको बताइन्छ। त्यसैले उनी यतिखेर कमिसन खोरहरूको आँखाको तारो बनेका स्रोत बताउँछ। प्रचण्ड पक्षधरहरूले मोहन वैद्य, बाबुराम भट्टराई पक्षधर नेताहरूले गरेको सिफारिसलाई कुनै वास्ता गरेका छैनन्। स्रोतका अनुसार खेल कतिसम्म फोहोरी भएको छ भने प्रचण्ड पुत्र प्रकाश, भतिजा समीर र महरा पुत्रद्वयलाई भर्खर मोडलिङ क्षेत्रमा प्रवेश गर्दै गरेका सुन्दरी भिडाएर आफ्नो प्रभावमा पार्ने जस्ता घृणित काम समेत भइरहेको चर्चा छ। सुन्दरीसँग रमाइलो गर्न उनीहरू दिउसो–साँझ ठमेल पुग्ने र दुई–तीन घण्टा त्यतै बिताउने गरेका छन्। यसअघिदेखि नै प्रकाश दोस्रो पारसका रूपमा चिनिदै आएका छन्। विगतमा कांग्रेस, एमालले आफ्नो सरकार टिकाउन सुरा सुन्दरी किनबेचको फोहोरी खेल खेलेका थिए। तर, माओवादीहरूले भने सरुवाकै लागि यस्तो खेल खेलेर उनीहरू थप विकृतीमा फसिसकेको प्रस्ट्याएको स्रोतको दाबी छ। 'पैसा देखेपछि महादेवका पनि तीन नेत्र खुल्छन्' भन्ने पुरानो उखान नेपाली समाजमा निकै प्रचलित छ। यतिखेर एकाध माओवादी नेताहरू त्यही उखानकै पथलाई पछ्याउन थालेका छन्। न्याय, समानता, विभेदमूलक समाजको स्थापनाजस्ता कुरालाई मूल नारा बनाएर १० वर्ष सशस्त्र युद्ध गरेको माओवादीका एकाध नेताहरू हजारौं योद्धाहरूको त्याग र बलिदानलाई उपेक्षा गर्दै सरुवाकै लागि सुरासुन्दरीमा रम्न थाल्नुले उनीहरूको साँस्कृतिक धरातल कति कमजोर रहेछ भन्ने स्पष्ट भएको छ। काठमाडौंका प्रभागमा एउटै कार्यालयमा सरुवा हुनका लागि ३० जनाभन्दा बढीको सिफारिस प्रहरी महानिरीक्षककोमा पुगेको छ। माओवादीका केही नेताले आफूले मस्ती गरेर आइजिपी शाहलाई 'मुर्गा' बनाउने प्रयत्न गरिहेका छन्। शाह पनि तिनै सिफारिसमा ल्याप्चे हानेर नेताहरूको प्यारो हुन्छन् वा क्षमताको आधारमा सरुवा गरेर संगठन र जनताको स्याबासी पाउँछन्, त्यो भने हेर्न बाँकी नै छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out