प्रेम, विवाह र यौन

संगठनलाई चुस्त राख्न उपयोगी तर जोखिम पनि
शान्ति प्रक्रियामा आउनु दुई वर्षअघिसम्म विमला घले माओवादीको भगिनी संगठन क्रान्तिकारी महिला संगठनकी रसुवा, नुवाकोट र सिन्धुपाल्चोक क्षेत्र हेर्ने सचिव थिइन्। उनी माओवादी सहिदकी पत्नी हुन्। विमलाकै शब्दमा, उनका जीवनसाथीलाई तत्कालीन शाही नेपाली सेनाद्वारा 'कायरतापूर्वक' हत्या गरयिो। २०६० को अन्त्यतिर पार्टीकै सहमतिमा जनवादी विवाह गरेकी उनले चार महिना नबित्दै पति गुमाइन्। "नेपाली क्रान्ति यो स्थितिसम्म आइपुग्न १० हजार नेपाली छोराछोरीले आफ्नो बलिदान दिइसकेका छन्," २६ साउन ०६१ को माओवादी मुखपत्रजनादेशमा विमलाले भनेकी छन्, "हाम्रो गौरवशाली पार्टीले निकट भविष्यमा प्रत्याक्रमण गर्ने तयारी गर्दै छ, त्यसैले सम्पूर्ण सहिद परिवारले शोक र पीडालाई आक्रोशमा बदली हत्याको बदला रणभूमिबाट लिनुपर्छ।"
विमलाको कथा/वर्णन उनको व्यक्तिगत सम्झना मात्र होइन। त्यसभन्दा बढी माओवादी जनयुद्धको सन्दर्भमा हुर्केको स्वच्छ प्रेम, क्रोधपूर्ण दु:ख, 'महान् मृत्यु' वा सहादतको नमुना हो, जसले माओवादी विचारधारा तथा शैलीलाई दर्शाउँछ। विमलाको उक्त आक्रोशले माओवादीले परभिाषा गरेझैँ प्रेम, विवाह र यौनको मुद्दालाई संस्थागत गर्छ नै र आत्मबलिदानको राजनीतिलाई पनि इंगित गर्छ, जो माओवादी जनयुद्धमा प्रेरक शक्ति बन्दै आयो।

नेपाल मामिलाकी जानिफकार फ्रान्सेली मानवशास्त्री मरयिा लेकम्टी टिलोइनले केही समयअघि नेपाली माओवादीको विकृतिलाई उजागर गरेकी थिइन्। माओवादी आन्दोलनको रोमाञ्चक पक्षसँगै त्यसका सुन्दरता तथा चुनौतीहरूलाई शीर्षस्थ नेतृत्वबाट बेवास्ता गरिएको उनको टिप्पणी थियो। मानवशास्त्रीहरूका अनुसार फिलिपिन्सको कम्युनिस्ट आन्दोलनले धक्का खानुको मुख्य कारण 'प्रेम र यौन' हो। फिलिपिनी आन्दोलनलाई दृष्टिगत गर्दै संस्ाारका विद्रोहरत कम्युनिस्ट पार्टीले प्रेम र यौनका विषयमा कडा नीति अवलम्बन गरे। नजिकैको उदाहरण लिऊँ, भारतका नक्सलवादीहरू सकभर विवाह गर्दैनन् र गरहिाले पनि बच्चा जन्माउँदैनन्। भारतका नक्सलवादी पुरुष लडाकूहरूले 'भ्यासेक्टोमी' (बन्ध्याकरण)सम्म बेहोर्नुपरेको देखिन्छ। झट्ट सुन्दा ज्यादै असामान्य लाग्ने नक्सलवादीका यी व्यवहार नेपाली माओवादीसँग बिलकुलै मेल खाँदैन।

प्रेम, विवाह र यौनका विषयमा नेपाली माओवादीको अनुभव अरूभन्दा पृथक् छ। नेपालका माओवादीहरू महिला भर्ती गर्दा पेरुको साइनिङ् पाथले जस्तो युवा उत्सव मनाउने ढंगमा गएनन्। न त यहाँ विवाहमै बन्देज लगाइयो। सात महिनासम्मकी गर्भवती महिलाले आक्रमणमा भाग लिएको र बच्चा जन्माएको दुई महिनामै फेरीपार्टीको नियमित काममा फर्किएका जस्ता उदाहरणहरू माओवादी आन्दोलनमा प्रशस्त छन्। महिलालाई कुखुरा काट्नसमेत सामाजिक प्रतिबन्ध लगाइने नेपालजस्तो पितृसत्तात्मक मुलुकमा हजारौँ महिलाहरू कसरी लडाकू बन्न तयार भए ? त्यही जिज्ञासा मेट्न यस पंक्तिकारले करबि आठ महिनाअघि पश्चिम नेपालमा रहेका माओवादी लडाकूका दुई डिभिजन -सुर्खेत र कैलाली)को स्थलगत निरीक्षण गरेको थियो। दक्षिण एसियाली मुलुक श्रीलंका, नेपाल र भारतमा रहेका महिला लडाकूहरूबीच विस्तृत तुलनात्मक अध्ययनको एउटा अंश थियो, सुर्खेत-कैलाली भ्रमण। जसको उद्देश्य थियो, लडाकूबीचको प्रेम, यौनिकता र त्यसलाई उनीहरूले गरेको नियमनको अध्ययन।

प्रेम र यौनका कुरा

तत्कालीन शाही नेपाली सेनाले मृत माओवादी लडाकूहरूका गोजीबाट थुप्रै संख्यामा परिवार नियोजनका अस्थायी साधन -कन्डमहरू) भेटिएको दाबी गथ्र्याे, जसले लडाकूमा यौन स्वतन्त्रता रहेको देखाउँथ्यो। रोचक त के भने श्रीलंकाको सरकारी सेनाले पनि तमिल विद्रोहीविरुद्ध यस्तै आरोप लगाउने गथ्र्याे। तर, माओवादीले भने उक्त आरोपलाई आधारहीन भन्दै खण्डन गर्दै आएको छ। "त्यो बेकारको दुष्प्रचार मात्रै थियो, हाम्रो युद्ध रणनीति होसियारीसाथ तयार गरिन्थियो," छैटौँ डिभिजन कमान्डर महेन्द्रबहादुर शाही भन्छन्, "जब परििस्थति काबुबाहिर जान्थ्यो, हामी सबै हतियार र शवसँगै लिएर पछि हट्थ्यौँ।" केही लडाकूले भने अनौपचारकि कुराकानीका दौरान उनीहरूले द्वन्द्वकालमा पानी ओसार्न र राइफललाई सुरक्षित राख्ने साधनका रूपमा कन्डम बोक्ने गरेको स्वीकारे।

अधिकांश युवा र अविवाहित हुने सैन्य संगठनमा प्रेम, विवाह र यौनको मुद्दालाई सही तरकिाले समाधान गर्न सकिएन भने विकृति उत्पन्न हुनसक्ने खतरातिर माओवादी नेतृत्व सचेत थियो र अहिले पनि छ। एकातिर नेपाली माओवादीहरू प्राकृतिक तवरमा हुने प्रेम, विवाह अनि यौनमाथि बन्देज नलगाइएको देखाउन चाहन्छन्। अर्कोतिर, उनीहरू अलेक्जेन्ड्रा कोलोन्टाइको गिलासको पानीको सिद्धान्त मान्न तयार छैनन्, जसले यौन सम्बन्ध एक गिलास पानी पिउनुसरह सामान्य हुनुपर्छ भन्छ। "हो, विपरीतलिंगीबीच आकर्षण हुनु प्राकृतिक कुरा हो। सहकार्य र सहचर्यमा प्रेम बढ्छ," संविधानसभा सदस्य तथा माओवादीकी तत्कालीन बि्रगेड कमिसार अमृता थापा मगर 'सन्ध्या'ले सन् २००४ मा जनादेशमा लेखेकी छन्, "तर, सैन्य संगठनमा प्रेम, विवाह र यौनको कुरालाई सजिलै हल गर्न सकिँदैन, अलिकति तलमाथि भएमा संगठनभित्र नै विकृति र विसंगति फैलिने डर उत्तिकै हुन्छ।" माओवादी महिला नेतृ बलावती शर्माले पनि त्यही नै बेला जनादेशमार्फत चेतावनी दिएकी थिइन्, "यो समस्यालाई समाधान गर्ने कदम चालेनौँ भने हामी आन्तरकि अन्तरद्वन्द्वमा फस्नेछौँ।"

बन्द राजनीतिक संगठन र उसको फौजी संरचनाभित्र खुलमखुला प्रेम, यौन र विवाहलाई मान्यता दिँदा लडाकूहरूको प्राथमिकता परविर्तन हुनसक्छ भनेर बुझेको थियो माओवादी नेतृत्वले। यसै पनि म्ाहिला लडाकूहरूको क्षमता र योगदानसँगै निरन्तरतामा व्यवधान हुने गरेकै छ। प्राय: सैन्य गतिविधिमा महिलाको सहभागिता छोटो अवधिका लागि हुन्छ। किनभने, विवाह र आमा बनेपछि उनीहरूको निरन्तरता टुट्छ र प्राथमिकता नै परविर्तित हुन्छ। यसका अतिरक्त महिलाहरूले संगठनात्मक चुनौती पनि झेल्नुपर्छ। माओवादी सेनाको उच्च नेतृत्वमा महिलालाई अवसर दिने विषयमा पार्टी नेतृत्व मौन रहने गरेको थियो। जसलाई महिला लडाकूहरू सामन्ती सत्ताको भूत मान्थे। यसमा केही हदसम्म महिलाका पनि कमजोरीहरू -प्राकृतिकसहित) नभएका होइनन्। जस्तै: सीमित राजनीतिक शिक्षा/चेतना, आत्मविश्वासको कमी तथा प्रेम, यौन र गर्भको सम्भाव्यता। अर्थात्, महिला नेतृत्वको विकास हुन नसक्नुको मूल व्यवधान उनीहरू कम उमेरमै प्रेममा पर्नु पनि हो। त्यसपछि विवाह अनि असुरक्षित यौन सम्बन्धका कारण गर्भधारणसमेत हुन पुग्छ। र, केही वर्षका लागि सैन्य दल छाड्नुपर्ने हुन्छ। शारीरकि रूपमा कमजोर भएपछि महिला लडाकूले सैन्य दल छोडेर गैरसैनिक संगठनमा जानुपर्ने अवस्था पनि आउँछ।

माओवादी पार्टीले आफ्नो सेनामा रहेका महिलाहरूको यस्तो समस्या देखेपछि त्यसलाई समाधान गर्ने नीति तयार मात्रै गरेन, लागू गर्न पनि बाध्य भयो, जसलाई आमवैज्ञानिक विधि भनिएको छ -हेर्नूस्, बक्स पृष्ठ २९ मा)। यो माओवादी सेनाको आकारलाई जोगाइराख्ने विषयसँग पनि सम्बन्धित छ। सातौँ डिभिजनका कार्यवाहक कमान्डर वीरेन्द्र बुढा 'जीवन' भन्छन्, "बच्चा जन्माउँदै गयो भने त्यसले राजनीतिक जीवन प्रभावित हुन्छ, सैन्य जीवनमा असर पर्छ। त्यसैले उनीहरूबीच पाँचदेखि सात वर्षको अन्तरालमा बच्चा पाउने आपसी सहमति हुनुपर्छ ताकि राजनीतिक जीवनमा असर नपरोस्।" उनका अनुसार माओवादी सेनामा पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएपछि मात्र दोस्रो विवाहका लागि स्वीकृति दिइन्छ। अन्यथा दुवै सजायका भागीदार हुन्छन्। यस्तो सजाय उनीहरूको हैसियत अनुसार हुन्छ, जसमा श्रेणी घटुवादेखि निष्कासनसमेत हुनसक्छ। यसअघि माओवादी उच्च तहका नेताहरूसमेत यौन दुव्र्यवहारमा दोषी भेटिँदा कारबाहीमा परेका छन्। जस्तो: माओवादी जनयुद्ध सुरु भएको दुई वर्षमै हाल पार्टी महासचिव रहेका रामबहादुर थापा 'बादल' र पोलिटब्युरो सदस्य पम्फा भुसालले नै त्यस्तो सजाय भोगे। उनीहरूलाई पहिले अस्थायी निलम्बन गरयिो भने पछि दुर्गम क्षेत्रमा खटाइएको थियो। तर, त्यसलाई एकथरीले राजनीतिक प्रतिशोधको सिकार बनाएको घटनाका रूपमा पनि लिएका छन्। जेहोस्, माओवादीभित्र यस्ता कारबाहीका घटना धेरै छन्, जसले लडाकूहरूको यौन तथा प्रेम जीवनलाई नियमन/नियन्त्रित गर्न थप सहयोग पुगेको छ।

माओवादी सेनामा महिला भर्तीले पुरुष र महिलाबीचको परम्परागत अर्थात् सामन्ती सम्बन्धलाई हटाई वैज्ञानिक स्वस्थ सम्बन्ध स्थापित गरेको दाबी महिला नेतृ हिसिला यमीको छ। भन्छिन्, "सेनामा महिला भर्ती गरेपछि पुरानो धार्मिक परम्परा, राष्ट्रियता, भूगोल मात्र नभई क्षेत्रीय विभेद पनि अन्त भयो। परिणामस्वरूप लडाकूहरूबीचमा सैद्धान्तिक प्रतिबद्धतामा आधारति प्रेम विवाह सम्भव भयो।" उनी प्रेमसम्बन्धले महिला लडाकूहरूमा शिक्षा र राजनीतिक चेतना अभिवृद्धि गर्न टेवा पुर्‍याएको विश्लेषण पनि गर्छिन्। उक्त सन्दर्भलाई प्रस्ट्याउँदै यमी भन्छिन्, "जनसेनामा भर्ती भएका महिला लडाकूहरू टाढाटाढा दुर्गम गाउँहरूबाट आएका थिए, जसको कुनै शैक्षिक पृष्ठभूमि थिएन। तर पनि उनीहरूले छिट्टै पढ्न, लेख्न सिके। किनभने, उनीहरू आफ्ना पे्रमीहरूलाई प्रेमपत्र पठाउन चाहन्थे।"

माओवादीको यो कदम परम्परागत 'बुर्जुवा पारविारकि संरचना'लाई समाप्त पार्ने अभियानसँग पनि जोडिएको थियो। त्यसैका लागि सामूहिक बसोबासको सुरुवात पनि गरयिो। विवाहित महिला लडाकूहरूलाई आफ्ना बालबच्चालाई हेरचाहका लागि त्यही सामूहिक बसोबास स्थलमा छोडी युद्धमा र्फकन प्रोत्साहित गरिन्थियो। तर, यस्तो समाज निर्माणको कार्यक्रम कार्यान्वयनमा ल्याउन खोजिए पनि त्यसले निरन्तरता पाउन सकेन। अहिलेसम्म पनि माओवादी सेनामा यसरी बालबच्चा र अभिभावकलाई छुट्टै राख्ने नीति लागू छ। लडाकू बाबुआमाले आफ्नो शिशुसँग छ महिनादेखि तीन वर्षसँगै बिताउन सक्छन्। त्यसपछि शिशुको शिक्षाका लागि आफन्तकहाँ पठाउनुपर्छ। माओवादी नेतृ यमी यस नीतिले जनमुक्ति सेना बाल स्याहार केन्द्रमा परिणत नभई व्यावसायीकरण भएको बताउँछिन्। तर, यो नीति पूर्णत: लागू भने हुनसकेको छैन। र, अहिले पनि चारदेखि छ वर्षका शिशुहरू लडाकू आमाहरूसँगै सैन्य शिविरमा हुर्किरहेका छन्।

यस अनुसन्धाताको सर्वेक्षण अनुसार द्वन्द्वका अन्तिम समययता विवाहित र अविवाहित महिला लडाकूहरूबीचको भिन्नता घटेको छ भने विवाहितमध्ये अधिकांश -सर्वेक्षणमा जवाफ दिने ४० प्रतिशत) महिला लडाकूले अहिलेसम्म बच्चा जन्माएका छैनन्। यो दक्षिण एसियामै अन्य देशका महिला लडाकूभन्दा फरक उदाहरण हो। यद्यपि, यो क्रान्तिप्रतिको अटुट प्रतिबद्धता, सशक्तीकरणको संचेतना हो वा शान्ति प्रक्रियाको अनिश्चयकालमा लिइएको अस्थायी सावधानी मात्र हो भन्ने खुट्याउन गाह्रो छ।

अन्तरजातीय विवाह

माओवादी नेतृत्वले नीतिगत रूपमा पार्टी पंक्तिकै सहयोद्धासँग प्रेमविवाह, त्यसमा पनि अन्तरजातीय विवाह गर्नमा प्रोत्साहित गर्दै आएको छ। केही महिला लडाकूहरू यस नीतिलाई माओवादी आन्दोलनको एक प्रमुख उपलब्धि नै ठान्छन्। जसको प्रत्यक्ष उदाहरण हुन्, रुकुमकी कमला रोक्का 'क्रान्ति'। माओवादीका तर्फबाट संविधानसभा सदस्य एवं पूर्वबि्रगेड कमिसारसमेत रहेकी कमलाको ११ वर्षमै विवाह भएको थियो। तर, १७ वर्ष पुगेपछि उनले मगर परम्परा अनुसार भएको आफ्नो बालविवाह तोड्न परिवारलाई दबाब मात्र दिइनन्, केटा पक्षबाट माइती पक्षले लगानी गरेको दोब्बर रकम क्षतिपूर्ति पनि तिर्न लगाइन्।

अन्तरजातीय प्रेमविवाहलाई प्रोत्साहित गर्ने माओवादी नीतिको परिणाम मिश्रति रह्यो। केही जनजाति समुदायका नेताहरूको विरोधको सामनासमेत गर्नुपर्‍यो पार्टीले। पोलिटब्युरो सदस्य गोपाल किराँतीले द्वन्द्वकालमै एउटा लेख लेखेर 'अन्तरजातीय विवाहलाई प्रोत्साहित गर्ने कुरा दलित र जनजाति सिध्याउने षड्यन्त्र हो' भनेका थिए। यसरी आदिवासी, मधेसी र बाहुन-क्षेत्रीबीच अन्तरजातीय विवाहबाट जनजाति समुदायको पहिचान संकटमा पर्ने तर्क किराँतीको थियो।

अन्तरजातीय विवाहलाई आफन्त, समाजले पनि अस्वीकार गरेको तीतो अनुभव माओवादीहरूको छ। जतिले प्रेमविवाह गरे, अधिकांशले आफ्नै जातिसँग गरे। किनभने, उनीहरूमा आफन्त, गाउँसमाजबाट अस्वीकृत हुनसक्ने डर थियो। जस्तो : पूर्वतिरका राई थरका एक युवकले दलित समुदायकी युवतीलाई विवाह गरेर घरमा परचिय गराउन लगे। तर, परिवारले अस्वीकार गरी घरभित्रै छिर्न दिएनन् र युवती त्यहाँबाट भागिन्। उनी कहाँ गइन् भन्ने खबर धेरै समयसम्म थाहा भएन। पछि मात्र उनी विदेश गएको पत्ता लाग्यो।

केही लडाकूहरू भने आफ्नोभन्दा अर्को जातिसँग विवाह गर्न अनिच्छुक देखिन्छन्। ठीकविपरीत पार्टी नेताहरूले नै आफ्ना केही सदस्यहरूलाई अन्तरजातीय विवाह गर्न दबाब दिएको पनि देखिन्छ। तर, यो पार्टीको आधिकारकि नीति वा आदर्शबाट प्रेरति हो वा दबाबमा गरिएको हो भन्ने यकिन गर्न गाह्रो छ। यहाँनिर हिसिला यमीले भनेको प्रसंग महत्त्वपूर्ण छ। भन्छिन्, "युवाबीच ऐक्यबद्धता हुन्छ। तीमध्ये यदि एउटाले कुनै युवतीलाई मन परायो भने समूहका सबै युवाले त्यसमा उसलाई सहयोग गर्छन्। कहिलेकाहीँ युवती कुनै निश्चित युवकसँग विवाहका लागि अनिच्छुक पनि हुनसक्छन्। तर, परबिन्दमा फस्न पुग्छिन्।"

सर्वसत्तावादी सोच

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' द्वन्द्वकालमा आफ्ना कार्यकर्ताहरूलाई सांसारकि चाहनाहरूको त्याग गर्न पटकपटक आह्वान गर्थे। भन्थे, "आफ्नो टाउकोमा आफैँ आगो झोँस।" यो हिन्दु र बौद्ध धर्मको वैराग्य परम्पराको प्रतिध्वनि लाग्छ। साथै, माओवादी लेखकहरू पनि आफ्ना सहकर्मीहरूलाई पार्टीको नीतिनियम अनुरूप आफ्नो दिलदिमाग स्वच्छ राख्न बारम्बार प्रेरति गररिहन्छन्। बलावती शर्माले सन् २००४ मा जनादेशमा भनेकी थिइन्, "जनयुद्ध शत्रुसँग लड्ने युद्धकलासँग मात्र सम्बन्धित छैन, यो त आफूलाई भित्रैबाट शुद्ध गर्ने प्रक्रिया हो। हामीले यस्तो सिद्धान्तलाई आत्मसात् गर्नुपर्छ, आत्मसंघर्ष गर्दै आफूलाई माझ्दै अगाडि बढ्नुपर्छ।"

माओवादी नेतृत्वको प्रेम, यौन र विवाहसम्बन्धी नीति लडाकूहरूलाई परचिालित र नियन्त्रित गर्न केन्दि्रत थियो। झट्ट हेर्दा स्वतन्त्रता दिएजस्तो देखिने तर कार्यान्वयनका क्रममा स्वतन्त्रतामाथि अंकुश लगाउने खालको यस्तो नीतिले माओवादीको सर्वसत्तावादी प्रवृत्तिलाई छर्लंग पार्छ। अमेरिकि समाजशास्त्री लिवाइ कोसरको परभिाषामा सर्वसत्तावादी संगठन ती हुन्, जसले आफ्ना सदस्यहरूमा आफ्नो सम्पूर्ण पकडको दाबा गर्छन्।

माओवादीले प्रेम र विवाहलाई मौलिक अधिकार भने पनि त्यसमा नियन्त्रण कायम गरेको छ, बर्जुवा परिवारको अन्त्य र क्रान्ति तथा पार्टीको हितका लागि भन्दै। विवाह, सुरक्षित यौन व्यवहार, श्रीमान्-श्रीमती अनि बालबच्चालाई छुट्टै राख्ने नैतिक नियमहरू लागू गरेर माओवादी पार्टीले आफ्नो सेनाका लडाकूहरूको आस्था, समर्पण र सेवालाई अटुट रूपमा जोगाउन प्रयत्न गरेको देखिन्छ। श्रीलंकामा पनि तत्कालीन विद्रोही तमिल संगठन एलटीटीई -लिट्टे)ले आफ्ना लडाकूहरूलाई विवाह गर्न रोक लगाएको थियो। तर, त्यसका मुखिया बेलुपिल्लाई प्रभाकरण नै प्रेममा परेपछि चाँडो विवाह नगर्न र विवाहपछि बच्चालाई संगठनको जिम्मा छोडी बालस्याहार केन्द्रमा राख्न प्रोत्साहित गरिएको थियो। विद्रोही अभियानमा यस्तो सर्वसत्तावादी व्यवहार स्वाभाविक मानिन्छ।

नेपालका माओवादीले लडाकूहरूमाथिको नियन्त्रणबाट नयाँ समाज पुन:संरचनाको नमुना पनि प्रस्तुत गर्न खोजेका छन्। माओवादीले पहिलेको राजतान्त्रिक स्वभावलाई तोड्नेभन्दा निरन्तरता दिएको छ। माओवादीले सारमा पृथ्वीनारायण शाहले अपनाएको समाज र कानुनी पुन:संरचनाको शैली अनुसरण गरेको छ। विजयी गोर्खालीहरूले समाजलाई नियन्त्रण गर्न सुरुदेखिकै संरचनामा परविर्तत गरे, सडकदेखि शयन कक्षसम्म। अर्थात् माओवादीले पनि विजेता राजाहरूले जस्तो आफ्नै किसिमको समाज निर्माण गर्न खोजेको देखिन्छ।

एकातिर माओवादी नेतृत्वले विवाह, सुरक्षित यौन व्यवहार, श्रीमान्-श्रीमती अनि बच्चालाई छुट्टै राख्ने नैतिक नियमहरू लागू गरेर आफ्ना सेनाका लडाकूहरूको आस्था र सेवालाई अटुट रूपमा जोगाउन प्रयत्न गरेको छ भने अर्कोतिर लडाकूहरूमाथिको नियन्त्रणबाट नयाँ समाज पुन:संरचनाको नमुना पनि प्रस्तुत गर्न खोजिएको छ। माओवादी लडाकू तथा कार्यकर्ताहरू परम्परागत सामन्ती समाजबाट नै आएका हुनाले पनि उनीहरूको निरन्तरताको प्रतिबद्धता खोजिएको हो। सर्वसत्तावादी संस्थाका गतिविधिमा यदि उसका लडाकू महिलाहरू सहभागी भएका छन् भने त्यो कडा अनुशासनका कारण भयो। जसले उनीहरूको सापेक्ष सशक्तीकरण सम्भव गरायो।

यहाँनिर माओवादीकी पूर्वलडाकू तारा राईको पुस्तक छापामार युवतीको डायरीका केही प्रसंग सान्दर्भिक हुन्छन्। १५ वर्षको उमेरमा ०६१ सालमा माओवादीमा प्रवेश गरेकी थिइन् उनी। माओवादी बनेको तीन महिनामै तत्कालीन शाही नेपाली सेनाले पक्रेर दुई वर्ष जेल हाल्यो। ०६३ सालमा जेलबाट छुटेपछि माओवादीको सांस्कृतिक संगठनमा सक्रिय हुन थालिन्। उनी नेपाल टेलिकममा कार्यरत एक पुरुषको प्रेममा परेपछि मात्र माओवादी आन्दोलन र उनको सम्बन्ध समाप्त भयो। उनले पुस्तकमा आफूले काम गरेको माओवादी पार्टीको खोटबारे उल्लेख गरेकी त छन् नै, जीवनको एउटा मोडमा पुगेर उनले विगतमा लडेको नेपाली सेनाको प्रशंसासमेत गरेकी छन्।

तारा राई आफ्नो पुस्तकलाई बिट मार्दै लेख्छिन्, "०६३ जेठ १८ गते मैले जीवनको ज्योति भेट्टाएँ, भनौँ नेपाल टेलिकममा काम विशेषले म र साथी सुषमा पुग्दा साथी अमरसँग भेट भयो। अमरको साथ र सहयोगले नयाँ अध्याय सुरु भयो जीवनको। अमरको विशेष आग्रहमा म घर र्फकें तर समाजमा बस्न अप्ठ्यारो, तैपनि बाँच्नु थियो। लाग्छ, मलाई माओवादी नभने पनि हुन्थ्यो। कसैले भन्छन्, माओवादीले देश बिगार्‍यो। अरूले त घर बनाए, पैसा कमाए, तैँलेचाहिँ के कमाइस् तारा ? कोही प्रश्न गर्छन्। अरूले जे कमाए पनि मैले दु:ख कमाएकी छु, म जवाफ दिन्छु। आज पनि म रोइदिन्छु। तर, रूँदा अमर भन्नुहुन्छ, तिमी त्यहाँ रोयौ भने मलाई दुख्छ। अब तिमी नयाँ जीवन सुरु गर। अमरले नै हाँस्न र बाँच्न सिकाउनुभयो, बाटो पहिल्याइदिनुभयो।"

अन्तत: तारा राईले युद्धभन्दा प्रेमलाई नै चुनिन्, जसले सहरका मध्यमवर्गीय पाठकहरूको मन जितेर उनको पुस्तकलाई सफल बनायो। पुस्तकको पाँच संस्करण प्रकाशित भइसकेको छ। पूर्वछापामारले माउ पार्टीको दोष देख्नु, नेपाली सेनाको प्रशंसा गर्नु आफैँमा विवादित होला। तर, उग्रताको त्याग उनका साथीहरूका लागि सामान्य छैन। किनभने, धेरैजसो माओवादी यौन र पारविारकि मामिलासम्बन्धी कठोर नियम पालना गर्छन्।

माथिको वर्णनले एउटा सैन्य संगठनमा प्रेम सम्बन्ध बन्धनकारी शक्ति हुन्छ भने समूहको एकतामा बाधक पनि हुन्छ भन्ने औँल्याउँछ। तारा राईजस्ता लडाकूका हकमा प्रेम कठोरतालाई नम्रतामा बदल्ने र सामाजिक मूलप्रवाहमा पुन:सम्मिलन गराउने कारक बन्नसक्छ। ध

-फ्रान्सको सरकारी अनसुन्धान संस्था सीएनआरएसका दक्षिण एसिया प्रमुख एवं आम्र्स मिलिसिया इन् साउथ एसियाका लेखक तथा सम्पादक गेयरको अनुसन्धानमा आधारति)

मोर्चामा महिला फौज

महिलाको सैनिकीकरण गर्नुलाई माओवादीले सैन्य नारीवादका रूपमा व्याख्या गरेको छ। यसले नेपालका माओवादी दक्षिण एसियाका अन्य आन्दोलनकारीभन्दा पृथक् छन् भन्ने बनाएको छ। यद्यपि, सुरुवाती दिनमा बन्दुकको माध्यमबाट महिला मुक्तिको कुरा माओवादी वृत्तमा विवादित थियो। ०५२ म्ाा 'जनयुद्ध' थाल्दा माओवादीको एउटा घोषित लक्ष्य नेपाली समाजलाई वर्गीय तथा लैँगिक दमनबाट मुक्त गराउने थियो। माओवादीका प्रभावशाली नेता बाबुराम भट्टराई साँचो सर्वहारा क्रान्तिकारीहरूले वर्गीयसँगै लैँगिक प्रश्नको पनि समाधान गर्ने प्रयत्न गर्नुपर्ने मत राख्थे।

जनयुद्ध सुरु गर्नुभन्दा एक वर्षपहिल्यै ९ देखि ११ जनाको प्रत्येक लडाकू दस्तामा कम्तीमा दुई जना महिला भर्ती गर्ने नीति माओवादीले बनाएको थियो। नेपालका केही भागमा महिला लडाकू दस्ताहरू पनि बनाइएका थिए। तर, ती नियमभन्दा अपवाद रहेको दाबी महिला नेतृ हिसिला यमीको थियो। त्यसको चार वर्षपछि माओवादी सेनामा महिला लडाकूको छुट्टै सैन्य दल तथा विभाग हुनुपर्ने कुरा उठ्यो, जुन सन् २००१ मा आएर मात्र लागू भयो। जनयुद्धका अन्तिम दिनहरूमा यस खाले विभाजन हटाइयो। जनयुद्धमा बृहत् संख्यामा महिला सहभागिता गराइँदा उनीहरूका विभिन्न साहसिक कथाहरू प्रचारमा ल्याइन थालियो। जस्तो कि, कालीकोटको कोटवाडामा ०५४ सालमा महिलाले प्रहरीको हतियार खोसिन्, गोरखाको 'जेल ब्रेक' महिलाले गरेकी थिइन् आदि।

सैन्य नारीवादले सामन्ती सोचलाई मात्र इंगित नगरी बरु माओवादी अभियानमा विद्यमान लैँगिक विभेदमाथि समेत लक्षित गर्छ। क्रान्तिकारी कार्यमा लैँगिक विभाजनको विवाद र युद्ध मैदानमा अन्यत्रभन्दा बढी थियो। माओवादी सभासद् कमला रोक्काका अनुसार पार्टी नेतृत्वले महिलालाई युद्ध गर्ने अधिकार दिएको भए पनि व्यवहारमा चाहिँ त्यस अधिकारको अभ्यास गर्न संघर्ष गर्नुपरेको थियो। जस्तो, महिला लडाकूलाई अग्रपंक्तिमा पठाइँदैनथ्यो, जो एकदम लडाइँमा जान खोज्थे। सुरुताका पुरुषहरू महिला कमजोर हुन्छन्, त्यसैले अग्रपंक्तिमा रहनु हुँदैन भन्ने ठान्थे। सभासद् रोक्का भन्छिन्, "पक्कै शारीरकि बनावटका कारण महिलामाथि कम विश्वास गरिन्छ। किनभने, समाज नै यस्तै छ, पितृसत्तात्मक। माओवादीहरू यही समाजबाट आएका हुन्। यस्तो सामन्ती चरत्रि त्याग्न सजिलो छैन। यस्ता केही अविश्वास छन्, जसलाई अस्वीकार गर्न सकिन्न। यो त संघर्षको अंश थियो।"

लडाकूको सामाजिक पृष्ठभूमि

अध्ययन अनुसार माओवादीमा करबि ३० प्रतिशत महिला लडाकू रहेका छन्। माओवादी आफैँले चाहिँ आफ्नो सेनामा ३० देखि ५० प्रतिशत महिला रहेको बताउँदै आएको छ। कहिलेकाहीँ त अचम्म लाग्ने गरी पुरुषभन्दा अधिक हुने गरेको पनि भनिन्छ। सन् २००३ मा माओवादी आफैँले आफ्नो सेनामा रहेका महिला लडाकूहरूको एक समाजशास्त्रीय अध्ययन गरेको थियो। लडाकूहरूले आश्चर्यजनक रूपमा निकै आलोचनात्मक उत्तर पनि दिएका थिए। यद्यपि, त्यसबेलाको असुरक्षित राजनीतिक परविेश अनुसार माओवादीले मुलुकभर वितरण गरिएका ५ सय ७४ सर्वेक्षण प्रश्नावली मात्रै संकलन गर्न सकिएको थियो। तर, त्यसमा सेती-महाकाली र भेरी-कर्णालीबाट समेटिएको थिएन। संयोग नै भनौँ, यस पंक्तिकारको सर्वेक्षणको सीमा माओवादीको सर्वेक्षणमा नसमेटिएका सेती-महाकाली र भेरी-कर्णाली क्षेत्रका महिला लडाकूबीच रह्यो।

आठ महिनाअघि महिला लडाकूको प्रारम्भिक समाजशास्त्रीय सर्वेक्षण गर्दा छैटौँ र सातौँ डिभिजनका महिला लडाकूहरूमा तीन चौथाइ १९ देखि २५ वर्षका र एक चौथाइ २६ देखि ३५ वर्षका पाइए। तिनमा अशिक्षितचाहिँ कोही थिएनन्। आधाजतिले कक्षा १० सम्म पढेका र केहीले १२ कक्षासम्म पूरा गरेका रहेछन्। आधाभन्दा बढी विवाहित छन्। विवाहितमध्ये एक चौथाइभन्दा बढी बच्चा भइसकेका छन्। जातीयताका प्रश्नमा बाहुन-क्षेत्रीको बाहुल्य रहेको पाइयो। त्यसपछि जनजाति र दलित समुदायका सदस्य छन्। र, ९० प्रतिशतभन्दा बढीको पारविारकि पृष्ठभूमि मध्यमवर्गीय परिवार देखियो। उनीहरूको परिवारको राजनीतिक पृष्ठभूमिमा भने तीन चौथाइभन्दा बढीका कम्युनिस्ट भेट्टयिो, जसमा आधाभन्दा बढी एमाले पृष्ठभूमिबाट आएका रहेछन्। हेर्नूस्, आठ वर्षअघि र पछिको तुलनात्मक सर्वेक्षण तथ्यांक :

जे छ, आमवैज्ञानिक नीतिमा

विवाहका लागि कम्तीमा १८ देखि २० वर्ष हुनुपर्छ ।

विवाहका लागि अन्तरजातीय प्रेमविवाह गर्न प्रोत्साहित गर्ने ।

विवाहको प्रस्ताव पार्टीले स्वीकृत गरेमा ती जोडीले एक वर्ष पर्खनुपर्छ । र, ३-१० जोडीसम्मको सैन्य पोसाकमा पार्टी र क्रान्तिप्रति निरन्तर समर्पित रहने प्रतीज्ञा गर्दै प्रगतिशील तरिकाले विवाह समारोह आयोजन गरिन्छ ।

विवाहित जोडीलाई पनि सुरक्षित यौन सम्बन्धको सुझाव दिइन्छ । ताकि, महिला लडाकूले चाँडो सैन्य संगठन छोड्नुपर्ने अवस्था नआओस् ।

विवाहित जोडीलाई बच्चा जन्माउन केही वर्षको अन्तराल राख्न प्रोत्साहित गरिन्छ ।

महिला लडाकूले बच्चा जन्माएपछि छ महिनादेखि तीन वर्ष आमासँग बिताउन पाउँछन् । त्यसपछि शिक्षाका लागि आफन्तकहाँ पठाउन सक्छ वा सामूहिक बसोबास स्थल -कम्युन)मा छोडेर सैन्य संगठनमा र्फकनुपर्छ ।

दोस्रो विवाहका लागि पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएको हुनुपर्छ । अन्यथा दुवै कारबाहीको भागीदार हुन्छन् । यस्तो अपराधमा उनीहरूको सजाय श्रेणी/पद अनुसार घटुवादेखि निष्कासनसमेत हुनसक्छ ।

कुलीन लडाकूहरू

संयोग नै भनाँै, नेपाली माओवादी र श्रीलंकाको तमिल टाइगर्सको आन्दोलनमा महिला मुक्ति र नारीवादको वकालत गर्नेहरू कुलीन परिवारको पृष्ठभूमिबाट आएका थिए। र, उनीहरू शीर्षस्थ नेताहरूकै पत्नी थिए। नेपालमा माओवादीको युद्धकालका समानान्तर सरकारप्रमुख बाबुराम भट्टराईकी पत्नी हिसिला यमी त्यसबेला पार्टीको महिला मोर्चाकी अध्यक्ष थिइन्। ठीक त्यसैगरी श्रीलंकामा सन् २००६ तमिल टाइगर्स -लिट्टे)का तर्फबाट वार्ता टोली प्रमुख एन्टोन बलासिंघमकी अस्टे्रलियाई पत्नी एडिली बलासिंघम पनि लडाकू थिइन्। र, पछि महिला मोर्चाकी प्रमुख पनि भइन्। हिसिला हुन् या एडिली, दुवैले आ-आफ्ना संगठनका महिला लडाकूसम्बन्धी किताब लेखेका छन्। उनीहरूले आफू महिला हुनुको पहिचानलाई समाप्त पारेर महिलालाई सैन्य क्रियाकलापमा संलग्न हुन प्रेरति गरे। यसरी दुवैले नयाँ क्रान्तिकारी आदर्श महिलाको छवि बनाए।

एडिली बलासिंघम विदेशी मूलकी भए पनि पूर्णत: लडाकू भइन्। सन् १९७८ मा बलासिंघमले एडिलीसँग लन्डनमा विवाह गरेका थिए। पेसाले नर्स थिइन् एडिली, जो पछि गएर लिट्टेको महिला समूहमा शीर्ष तहमा काम गरनि्। हिसिलाको चाहिँ लडाइँको अनुभव छैन। र, उनले महिला लडाकूको तालिम पनि कहिल्यै लिइनन्। उनको जन्म काठमाडौँको एक प्रभावशाली नेवार परिवारमा भएको थियो। भारतको दिल्लीमा इन्जिनियरङि् पढ्दापढ्दै उनको बाबुराम भट्टराईसँग भेट भयो। त्यसैताका उनी नारीवादसँग पनि परििचत हुन पुगिन्।

हिसिला आफू नारीवादी बन्नुलाई त्यतिखेरका भारतीय नारीवादीहरूको संगतको परिणाम मान्छिन्। उनको नारीवाद उनको प्रतिबद्धताको अभिन्न अंग भएको छ। उनी लेखहरूमा आफूलाई कम्युनिस्ट नारीवादीका रूपमा प्रस्तुत गर्छिन्। नारीवादप्रतिको उनको झुकावमा नारीवादी नायिकाहरूको छाप पनि जोडिएको छ। जसमा रोजा लक्जेम्बर्ग, क्लिरा जेटकिन, अलेक्जेन्ड्रा कोलोन्टाइ, नाडिज्दा रुपस्कय, च्याङ् चिङ् र जेनी माक्र्स पर्छन्। उनी कम्युनिस्ट नेताहरूका पत्नीहरूको खुलेर प्रशंसा गर्छिन्।

माओवादी जनयुद्धले महिलालाई व्यावसायिक युद्धमा परिणत गरििदएको र घरेलु दासबाट क्रान्तिकारी योद्धामा रूपान्तरण गरेको तर्क माओवादी नेतृहरू गर्छन्। यो रूपान्तरण सारमा मात्र नभई रूपमा पनि भएको चार वर्षअघि नै हिसिलाले दाबी गरेकी थिइन्।  भनेकी थिइन्, "मासिक श्रावमा मात्र रगत बगाउने महिलाहरू आज राजतन्त्रलाई फ्याँक्न रगत बगाउँदै छन्।"

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out