छानबिनको दायरामा प्रचण्ड

काठमाडौँ । राजनीतिज्ञको जीवन/व्यवहार कस्तो हुनुपर्छ? अहिलेसम्म यस विषयमा कहीँ–कतै विधान, आचारसंहिता बनाइएको छैन। राजनेताहरूको जीवन सादगीपूर्ण, सरल र पारदर्शी हुनुपर्छ भन्ने मान्यता भने सबैले उठाउँदै आएका छन्।
आफ्नो जीवन सरल भएका नेताहरूलाई जनता/कार्यकर्ताले सम्मान गर्ने र भ्रष्ट तथा अपारदर्शी नेतालाई घृणा गर्ने गरेका उदाहरण पनि प्रशस्तै छन्। सशस्त्र युद्धकालमा जनताको सहानुभूति आफूतिर तान्नका निम्ति माओवादी नेताहरू कांग्रेस–एमालेका नेताहरूले जस्तो आफूहरूले अपारदर्शी जीवन नबिताउने घोषणा गर्थे। तर, त्यो घोषणा अहिले विगत बनिसकेको छ। आफूलाई 'डाइनामिक' नेताका रूपमा स्वघोषणा गरेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को जीवनशैली नै चरम अपारदर्शी बनेपछि त्यो पार्टीभित्र भाडभैलो मच्चिएको छ। पार्टीपंक्तिबाहिर उनको यो ढोंगी चरित्रका बारेमा धेरै पहिलेदेखि चर्चा/परिचर्चा हुँदै आएको भए पनि पछिल्ला दिनमा पार्टीभित्रैबाट जोडदार रूपमा प्रचण्डको आर्थिक पारदर्शीताका बारेमा प्रश्न उठेपछि उनी रक्षात्मक अवस्थामा पुगेका छन्। प्रचण्डले माओवादीमा गरेको आर्थिक हिनामिना र अपारदर्शीताले उनको कुर्सी समेत हल्लिएको छ।
माओवादी उच्च स्रोतका अनुसार प्रचण्डले युद्धकालदेखि नै आर्थिक हिसाब–किताब देखाएका छैनन्। अहिले त्यो हिसाब देखाउन उनीमाथि तीव्र दबाब परेको छ। जानकारहरूका अनुसार प्रचण्डले आफ्नो स्तुति गाउने नेताहरूलाई चाहेजति पैसा दिने गरेका छन्। तर, उनलाई चाकरी गर्न नजाने र आलोचनात्मक चेत बोक्ने नेताहरूलाई एक पैसा पनि दिँदैनन्। माओवादीभित्र कुनै व्यवस्थित आर्थिक प्रणाली, विभाग छैन। अहिलेसम्म आर्थिक फाँट प्रचण्डकै लगाममा छ। पैसा जम्मा हुने स्थानहरूमा प्रचण्डले परिवारभित्रकै सदस्य वा आफ्ना विश्वासपात्रलाई मात्र नियुक्त गर्ने गरेका छन्। माओवादी संसदीय दलको आर्थिक फाँट हेर्ने जिम्मा प्रचण्डले भारतीय नागरिक माइला ज्वाइँ अर्जुन पाठकलाई दिएका छन्। अवस्था कतिसम्म भद्रगोल छ भने वर्षौंदेखि पूर्णकाीलन भएका स्थायी समिति, पोलिटब्युरो र केन्द्रिय सदस्यले समेत घर व्यवहार चलाउने पैसा आफै जोहो गर्नु परिरहेको छ। जसले गर्दा माओवादीभित्र आर्थिक अराजकता झन् बढेको स्रोत बताउँछ।
मोहन वैद्य, बाबुराम भट्टराईले प्रचण्डविरुद्ध लक्षित गरेर कार्ययोजना र कार्य विभाजनको मात्र मुद्दा उठाइरहेका छैनन्, आर्थिक अपारदर्शीतालाई पनि मुख्य विषय बनाएका छन्। स्रोतका अनुसार शान्ति प्रक्रियामा आइसकेपछि मात्र प्रचण्डले विभिन्न स्रोत परिचालन गरेर तीन अर्बभन्दा बढी रुपैयाँँ संकलन गरेका छन्। तर, त्यो रुपैयाँ कहाँ छ? के मा लगानी भएको छ? भन्ने जानकारी पदाधिकारीहरूलाई समेत नभएको एक स्थायी समिति सदस्य बताउँछन्। स्रोतका अनुसार ०६१ को माघ/फागुनमा माओवादीले देशैभरि 'महाअभियान' चलाएर करोडौं रुपैयाँ संकलन गरेको थियो। माओवादीले त्यसबेला एके ४७ जस्ता आधुनिक हतियार र गोली गट्ठा खरिद गर्न त्यो रुपैयाँँ संकलन गरिएको प्रचार गरेको थियो। तर, दलहरूसँगको वार्ता सकरात्मक मोडतिर जान थालेपछि माओवादीले हतियार, गोली गट्ठा केही पनि खरिद गरेन। त्यसबेला संकलन गरेको सबै रकम प्रचण्डलाई नै बुझाइएकोमा उनले अहिलेसम्म त्यसको हिसाब देखाएका छैनन्। त्यसबेला पूर्व, मध्य, पश्चिमका तीनवटा कमाण्डबाट ६० करोडभन्दा बढी रकम प्रचण्डलाई बुझाइएको एक केन्द्रीय सदस्य बताउँछन्।
माओवादी उच्च स्रोतका अनुसार प्रचण्डले पार्टी कोष चुसेर लुकाएको रकम उपेन्द्र महतो, अजय सुमार्गी जस्ता व्यापारीमार्फत् लगानी गरेका छन्। उनले मुख्य गरी हाउजिङ र जलविद्युत्मा लगानी गरेको माओवादी नेताहरू बताउँछन्। महतो र सुमार्गीसँग रकमकै कारण प्रचण्डको अत्यन्तै निकट र रहस्यमय सम्बन्ध बनेको जानकारहरूको भनाइ छ। ०६६ साउनमा मोहन वैद्यको नेतृत्वमा बनेको अनुशासन आयोगमा प्रचण्डविरुद्ध भारतका विभिन्न बैंकमा रुपैयाँँ जम्मा गरेको उजुरी परेको थियो।
जुन उजुरी अहिलेसम्म गोप्य नै राखिएको छ। पछिल्लो समयमा प्रचण्डको सिंगापुर, बैंकक र हङकङको रमस्यमय भ्रमण अपारदर्शी रुपैयाँँ व्यवस्थापनका निम्ति भएको भन्दै पार्टी सदस्यहरूले नै छानबिनको माग गर्न थालेका छन्। स्रोतका अनुसार एक हप्तायता मात्रै प्रचण्डले सातै वटा डिभिजनतबाट ३०–३० लाखका दरले रकम मगाएका छन्। त्यो रकम के खर्चका लागि अध्यक्षले मगाएको हो भन्नेमा आफूहरू अनभिज्ञ रहेको एक डिभिजन सहायक कमाण्डरले दृष्टिलाई बताए। नयाँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आइलागेमा मौजुदा रुपैयाँँ खर्च नगरी थप उठाउने प्रचण्डको बानी रहेको स्रोत बताउँछ। प्रचण्डका लागि रकम जोहो गर्ने काम माओवादी मजदुर नेता शालिकराम जम्कट्टेल र वाइसिएल नेवा राज्य समिति इन्चार्ज चन्द्रबहादुर थापाले गर्दै आएका छन्। प्रचण्डलाई रक्त चन्दन तस्करी, यार्सागुम्बा र क्यासिनोबाट नियमित रकम पुग्ने गरेको छ। यसबाहेक शिविरमा बसेका लडाकुका निम्ति जाने मासिक करिब १९ करोड र सभासद्सँग उठाइएको लेवीबाट समेत प्रचण्डको गोजीमा पुग्ने गरेको छ। सरकारले लडाकुलाई दिएको रकमको हिसाब विवरण माओवादीले अहिलेसम्म सरकारलाई दिएको छैन।
प्रचण्डले यसरी लुकाएको रकम आफ्नो पक्षमा 'प्रपोगन्डा' गर्नमा समेत खर्चिने गरेका छन्। हालै मात्र सबैभन्दा महंगो स्तरको एक पाक्षिक पत्रिका प्रचण्डकै लगानीमा बजारमा आएको छ। माओवादीले आफ्नो मुखपत्र भनेर निकालेको पत्रिका जनदिशा दैनिक आर्थिक अभावमा बन्द भएको छ। तर, प्रचण्डले आफ्ना विश्वासपात्र वर्षमान पुन 'अनन्त' मार्फत् एक दैनिक पत्रिकालाई २ करोड ६० लाख दिएको र त्यही रकमले त्यस पत्रिकाले भर्खरै प्रेससमेत खरिद गरेको चर्चा यतिखेर माओवादीभित्र जोडतोडका साथ चलिरहेको छ। पछिल्लो पटक स्थायी समिति सदस्य दीनानाथ शर्माले बाबुराम भट्टराईलाई धोका दिनुमा रकम नै कारण भएको बताइएको छ। प्रचण्ड क्याम्पमा छिरेबापत ५५ लाख रुपैयाँ पाउने भएपछि शर्मा भट्टराईलाई धोका दिँदै अन्तिम समयमा प्रचण्ड क्याम्पमा छिरेको स्रोत बताउँछ। शर्माका ज्वाइँ मुख्य हर्ताकर्ता रहेको एक टेलिभिजनमा प्रचण्डले यसअघि नै १ करोड ५० लाख लगानी गरिसकेका छन्। आफूतिर नआए उक्त रकम फिर्ता गर्न प्रचण्डले दबाब दिएपछि थप ५५ लाख लिएर शर्माले भट्टराईलाई बाईबाई गरेको विषयले माओवादीमा ठूलै चर्चा पाएको छ। प्रचण्डले पार्टीका कुनै पनि सहकर्मीलाई जानकारी नै नदिई शर्मालाई त्यो रकम दिएका हुन्। आफू प्रचण्ड क्याम्पमा छिरेपछि शर्माले भर्खरै माओवादीमा छिरेका डिलाराम आचार्य, गिरीधारीलाल न्यौपाने र तेजप्रकास कँडेललाई आफ्नै निवास गोंगबूमा बोलाई 'डिनर' ख्वाएर भट्टराई पक्षमा हस्ताक्षर गर्नबाट रोकेका थिए।
रुपैयाँ र सुविधा भनेपछि मरिहत्ते गर्ने शर्मा ०५७ को असोजमा मोहनविक्रम सिंहबाट बाहिरिनुको मुख्य कारण पनि पैसा नै रहेको स्रोतहरूको दाबी छ। पार्टी कामका लागि भनेर त्यसबेला मशालले डेड लाख रुपैयाँँमा एउटा कम्प्युटर किनेको थियो। त्यो कम्प्युटरलाई शर्माले निजी रूपमा प्रयोग गरेका थिए। पार्टीको पैसाले खरिद गरेको कम्प्युटर शर्माबाट जफत गरेपछि मशाल परित्याग गरेर शर्मा माओवादीमा मिसिन पुगेका थिए।
प्रचण्ड खेमामा नयाँ रडाको
'अतिले खति गर्छ' भन्ने पुरानो नेपाली लोक उखान यतिखेर एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का हकमा लागु हुन थालेको छ। बाहिरको त कुरै छोडौं, पार्टी पक्ती भित्र समेत आफ्नो आलोचकहरूलाई पेलेर ठेगान लगाउदै आएका प्रचण्ड यस पटक भने प्रष्टै अल्पमतमा परेका छन्। राजा ज्ञानेन्द्रको निरंकुशता विरुद्ध सशस्त्र युद्ध लडिरहेको माओवादी र त्यस युद्धको खरो विरोध गरिरहेका सात राजनीतिक दलहरू ०६२ मा जसरी एकै थलोमा उभिन पुगेका थिए, त्यसैगरी प्रचण्डको निरंकुशता विरुद्ध पार्टी पक्तीभित्र सधै विपरीत धुव्रमा उभिने भनेर चिनिँदै आएका मोहन वैद्य215 र बाबुराम भट्टराई अहिले एकै ठाउँ उभिएपछि प्रचण्ड सत्ता धरापमा परेको हो। क्याम्प फेर्न माहिर नेताका रूपमा चिनिएका वर्षमान पुनले आफ्नी श्रीमती ओनसरी घर्तीलाई युवा तथा खेलखुद मन्त्री बनाउन यतिखेर प्रचण्डसँग 'ब्ल्याकमेलिङ' गरिरहेका छन्। पुनको यो वार्गेनिङले प्रचण्ड खेमा भित्र रडाको मच्चिएको छ। पुन आफ्नो स्वार्थका लागि क्याम्प फेर्न अर्थात् पिङ खेल्न माहिर मानिन्छन्।
वैद्य खेमाले आफ्नो निष्ठाका लागि २ वटा मन्त्री पद नै त्यागेको छ। वैद्य खेमाकै जयपुरी घर्तीले ३३ प्रतिशत महिला सहभागीता नभइ मन्त्री नबन्ने भनेर सपथ बहिष्कार गरिरहेकी छन्। तर, त्यस आन्दोलन विरुद्ध वक्तव्य नै जारी गरेकी ओनसरीलाई मन्त्री बनाउन पुन न्वारनदेखिको बल निकालेर दौडधुप गर्नुले माओवादीभित्रका एकाथरी नेताहरू सत्ताका भोगी बनिसकेका प्रष्ट भएको छ। प्रचण्ड खेमाले वैद्य–भट्टराईबीचको मोर्चा बन्दीलाई कृतिम र अतिवादी एकता भनेर प्रचार गरिरहेको बेला त्यही खेमाभित्र रडाको मच्चिनाले माओवादी विवाद झन चर्कने संकेत गरेको छ। तर, वैद्य–भट्टराई पक्षले भने आफूहरूबीचको एकता कृतिम नभएको, प्रचण्डको तानाशाही चरित्र विरुद्ध अनिवार्य कदम भएको बताउँदै आएका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out