काठमाडौं-एजेन्डाको वर्तमान र भविष्य

नरहरि आचार्य- 
आधुनिक नेपालको स्थापना भएदेखि नै काठमाडौं राजधानी बनेको छ । त्यसो त किराँतकाल, लिच्छविकाल र मल्लकालमा समेत ती राज्यहरूको सीमा र ढाँचा जेजस्ता रहे पनि काठमाडौं उपत्यका नै ती सबैको राजधानी रहेको कुरा इतिहासका तथ्य हुन् । अहिले पनि काठमाडौंले महानगरपालिका, जिल्ला र उपत्यकाका रूपमा समष्टि पहिचान बुझाउने गरेको छ । यस्तो हुनु संयोग मात्रै नभएर राजनीतिक, प्रशासनिक र भौगोलिक विशेषताको यौगिक पनि हो । तर जिम्मेवारी र अधिकारका हिसाबले तीन जिल्ला र त्यसअन्तर्गत पाँच नगर एक सय चौध गाउँ बनाइए पनि व्यावहारिक रूपमा काठमाडौं उपत्यकाकै एकीकृत स्वरूप निर्मित हुँदै जान लागेको परिप्रेक्ष्यमा यसको विकास र व्यवस्थापनका लागि समष्टिगत सोचाइ र योजनाको आवश्यकता देखिएको छ ।

राजधानीका रूपमा काठमाडौं मुलुकको राजधानी भएका कारणले नेपाली इतिहास र राजनीतिको प्रत्येक आरोहअवरोहका साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सम्पर्कले काठमाडौंको स्वरूप र समस्यालाई नजिकबाट प्रभावित गर्दै आएको छ । यही कारणले मात्रै पनि काठमाडौंका समस्या अरू जिल्ला वा क्षेत्रको भन्दा बेग्लै प्रकृतिका छन् । यहाँ उपलब्ध हुने सत्ता सामीप्य, व्यक्तिगत सुविधा, उन्नतिका अवसर आदिका कारण काठमाडौंले सबैलाई विशेष रूपमा आकषिर्त गर्ने गरेको छ । विकास र जनसंख्याको सर्वाधिक चाप यहीँ छ । विगत पचास वर्षको अनुभवका आधारमा हेर्दा मात्रै पनि काठमाडौंको मौलिकता व्यापक रूपमा बदलिँदै गएको प्रस्ट देख्न सकिन्छ । बदलिने क्रम जारी छ । तर यसको विकास र व्यवस्थापन योजनाबद्ध रूपमा हुन सकेको पाइन्न । तात्कालिक चापमा मात्र केन्दि्रत रही हचुवा रूपमा यसको अव्यवस्थित विकास र कामचलाउ व्यवस्थापन हुँदै आएको छ ।
तत्कालीन काठमाडौं कांग्रेसका सभापति एवं वर्तमान सभासद तीर्थराम डंगोलको अग्रसरतामा आजभन्दा दस वर्ष पूर्व (२०५८ भदौ २४)मा कांग्रेसको काठमाडौं एजेन्डा भन्ने विषयमा आफ्नो विचार राख्ने एउटा विशेष अवसर मलाई जुटेको थियो । तर यस प्रक्रियाले त्यसपछिका वर्षहरूमा संस्थागत निरन्तरता पाएन । केही समयअघि संविधानसभाका सदस्य एवं साहित्यकार बुद्धरत्न मानन्धरको पहलमा राष्ट्रिय नेवाः पार्टीका केन्द्रीय सदस्यहरूबीच बसेर नेवाः राज्यका रूपमा काठमाडौंको सांस्कृतिक पहिचान र भावी संरचनाका बारेमा एउटा संक्षिप्त तर सघन छलफलमा भाग लिने मौका पनि मिलेको हो । अहिले आएर यता केही हप्तादेखि काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने संविधानसभाका अधिकांश सदस्यहरूका बीच काठमाडौं उपत्यकाको वर्तमान अवस्था र भविष्यका बारेमा विचार-विमर्श गर्ने प्रक्रिया प्रारम्भ भएको छ । यो लेख यसैको पछिल्लो अभिव्यक्ति बनेको छ ।
यतिखेर मुलुक राजनीतिक संघीयतामा जाने निर्णयमा पुगिसकेको छ । यसको संवैधानिक र व्यावहारिक ढाँचा कस्तो हुनुपर्छ भन्नेबारे संविधानसभाभित्र र बाहिर पनि बहस जारी छ । यही मेसो काठमाडौं उपत्यकाले ओगटेको वा कान्तिपुर, ललितपुर र भक्तपुरले समेटेका क्षेत्रफलसहितको कुनै प्रादेशिक संरचना बन्ने सम्भावना पनि बलियो देखिँदै छ । यस पुनर्संरचनाको संघारमा उभिएको समष्टि काठमाडौंले आफ्नो पूर्वतयारी कसरी सुरु गर्नुपर्ला भन्नेबारे राज्यको कुनै तहमा संगठित सोचाइ बन्नैसकेको छैन । एकाध फुटकर विचार र प्रयत्न थालिए पनि ती पर्याप्त र भरपर्दा छैनन् ।
काठमाडौंको वर्तमान अवस्था
काठमाडौंका समस्या र यसको दीर्घकालीन व्यवस्थापनका पक्षमा कसैले कहिल्यै गम्भीर रूपमा कार्यप्रधान अग्रसरता लिएको हामी पाउँदैनौं । बेलाबखत बनाइएका योजना र कार्यक्रमहरू प्रथमतः कार्यान्वयनमा उत्रिनै सकेनन् भने दोस्रो ती योजनाहरूले पनि समष्टि काठमाडौं उपत्यकाको समस्यालाई एकीकृत ढंगले सम्बोधन गरेको देखिन्न साथै यसको विषयगत अध्ययन पनि खासै भएको पाइन्न । उच्चपदस्थ शासक, प्रशासक, योजनाकार, व्यापारी, व्यवसायी आदि खचाखच रहेका कारण कतिपय कुराहरूको आपूर्ति र व्यवस्थापन उनीहरूको पनि पदीय एवं निजी स्वार्थ र सरोकारसँग जोडिएको हुन्छ । काठमाडौंको विकास यस्तै पाराले हुँदै आएको अनुभव सहजै गर्न सकिन्छ । यसका कारण यसको विकसित र समष्टि स्वरूप कस्तो बनाउने भन्ने खाँचो कसैलाई महसुस भएन । फलस्वरूप भत्किएको, बिगि्रएको, फोहोर र अस्वस्थ सहरको तीव्र विस्तार काठमाडौं उपत्यकाकै नियति बन्दै आएको छ ।
१. अहिलेको काठमाडौंलाई राजनीतिक-भौतिक संरचनाका आधारमा तीन किसिमले वर्गीकरण गर्न सकिन्छ- महानगर, नगर तथा नगरोन्मुख बस्तीहरू र भौतिक पूर्वाधार खासै पुग्न नसकेका गाउँहरू ।
२. यहाँको जनसंख्या संरचना पनि विविध किसिमको छ । सहरका पुराना बासिन्दा नेवार हुन् भने काँठ र वरपरका गाँउहरूका क्षत्री, तामाङ, दलित, बाहुनलगायत विभिन्न जातिका मानिस स्थायी रूपमा बसोबास गर्दै आएका  छन् । यसका अतिरिक्त शासन/प्रशासन, व्यापार/व्यवसाय, शिक्षा/रोजगार आदि विविध कारण यहाँ मुलुकका अन्य भागहरूबाट मानिस आइरहने र ती प्रायः सबैले क्रमशः यही स्थायी बसोबास गर्ने गरेका छन् । रोजगारीका लागि यहाँ भित्रिने श्रमशक्तिको उपस्थिति पनि दिनानुदिन बढ्दै छ । विभिन्न प्रयोजनका लागि लामो समयसम्म डेरामा बस्नेहरूको संख्या पनि व्यापक मात्रामा बढिरहेको छ । यसका अतिरिक्त दिनहुँ सडक र सार्वजनिक स्थल एवं चोक र गल्लीहरूमा बढ्दै गएको अस्थायी प्रकृतिको स्थायी बजार, घरघरमा सेवा पुर्‍याउने हकर र सडकमा बढ्दो खाते-बालबालिका आदि विभिन्न कारणले यहाँको जनसंख्या बनोट र चापलाई गम्भीर रूपमा प्रभावित पार्दै छ । एघारौं जनगणना भर्खरै सकिएको छ र परिणाम आउन बाँकी छ । तर जनसंख्याविद्हरूले अनुमान गरेका आधारमा काठमाडौं उपत्यकाको जनसंख्या पुगनपुग पचास लाखको हाराहारीमा पुग्दै छ ।
३. व्यवसायका दृष्टिले पनि काठमाडौंको स्वरूप विविध रूपको छ । पछाडि परेका गाउँहरूमा अहिले पनि कृषि नै मुख्य व्यवसाय रहेको छ । काँठमा कृषि, पशुपालनका साथै सानोतिनो व्यापार-व्यवसाय र जागीर जीवन निर्वाहको आधार छ भने नगर-महानगरमा उत्पादन तथा सेवामूलक एवं व्यापारिक प्रकृतिका गैरकृषि व्यवसायमा मानिसहरूको निर्भरता बढ्दो छ ।
४. राजनीतिक संरचनाको हिसाबले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाविसहरूमा विभाजित काठमाडौंका समस्यालाई एउटै डालामा राखेर हेर्न मिल्दैन । महानगर र नगरपालिकाको समस्याको प्रकृति धेरै हदसम्म मिल्न सक्छ । तर त्यसको अनुपात फरक छ र नगर तथा महानगरका समस्याहरू गाउँको भन्दा बढी जटिल छन् ।
५. वर्तमान जिविसको संरचना, कार्यक्षेत्र, जिम्मेवारी, आदिका हिसाबले सबै तहका नगरपालिकाहरू व्यवहारतः त्यसमा समावेश नभए जस्तै हुनपुगेको छ ।
यसरी भौतिक, जनसंख्यागत तथा व्यवसाय र राजनीतिका दृष्टिले काठमाडौंको स्वरूप विविधतापूर्ण मात्रै होइन, निकै जटिल बनेको छ । काठमाडौंले पुरानो कान्तिपुरीनगरीका रूपमा प्राप्त गरेको ऐतिहासिक-सांस्कृतिक स्वरूप गम्भीर ढंगले संकटमा पर्दै गएको पनि प्रस्टै देखिन्छ । अत्याधुनिक किसिमका भौतिक निर्माणले यसलाई बलात् नयाँ स्वरूपतर्फ लान खोजिरहेका छन् भने आधारभूत रूपमा चाहिने विषयहरूमा रहेको अभाव र गुणस्तरहीनताले नयाँ र पुरानो दुवैबाट अलग तर गम्भीर अव्यवस्थित स्वरूपतर्फ धकेलिइरहेको छ । तर संघीयताका सन्दर्भमा भावी काठमाडौंलाई लिएर गरिने छलफल प्रायः यी सबै समस्याबाट बेखबरजस्तै देखिएको छ ।
आजका चुनौती र भावी काठमाडौं
काठमाडौंको भौतिक-संरचना, जनसंख्याको वृद्धि-अनुपात र विविधता, रोजगारीका अवसर र कठिनाइजस्ता विविध आकार तथा प्रकृतिका समस्याहरूले काठमाडौंको राजनीतिक चरित्रको निर्धारण गर्ने गरेको छ । त्यसैले काठमाडौंको राजनीतिक चरित्र स्थिर वा स्थायी प्रकृतिको नभएर प्रायः अप्रत्याशित किसिमको देखिन्छ । खासगरी काठमाडौंको राजनीतिक सामाजिक संरचना र भौतिक आवश्यकताको अपर्याप्तताले गर्दा राजनीतिक तरलता, अस्थिरताको स्रोत, राष्ट्रिय राजनीतिमा सोझै प्रभाव पार्ने हैसियत र तात्कालिक र अवसरमुखी राजनीति काठमाडौंको वर्तमान प्रमुख विशेषता वा चरित्र बनेका छन् ।
अव्यवस्थित रूपमा बसेको र बेरोजगार जनसंख्याको ठूलो उपस्थितिले गर्दा काठमाडौंको जनजीवन सधैं तरल रूपमा रहने गर्छ । त्यसैले गर्दा हल्लाहरूले बढी महत्त्व प्राप्त गर्छन् र समयसमयमा तिनै हल्ला अस्थिरताको स्रोतसमेत बन्ने गरेको छ । राजधानी भएका नाताले काठमाडौंका सडक र गल्लीहरूमा हुने यस्ता गतिविधिले केन्द्रीय राजनीतिलाई पनि प्रभाव पार्ने हैसियत राख्छ । मुलुकको केन्द्रीकृत राजनीतिक सत्ता आधारभूत रूपमा पुनर्संरचनाद्वारा वितरित र व्यवस्थित नगर्दासम्म तात्कालिक र अवसरमुखी गतिविधिको प्रहार काठमाडौंले खेपिरहनुपर्ने निश्चित देखिन्छ ।
काठमाडौंमा रहेका यिनै समस्या र चुनौतीका परिप्रेक्ष्यमा हेर्दा हाललाई देहायका विषय वा क्षेत्रहरूको व्यवस्थापन नै मूल समस्या देखिएको छ । नगर-गाउँका आफ्नै किसिमका व्यवस्थापन समस्या छन् । तर नगर व्यवस्थापनका समस्या बढी जटिल र चुनौतीपूर्ण देखिन्छन् । अहिले सामना गर्न परिरहेका समस्याहरूलाई केलाउँदा र वर्गीकरण गर्दा यसप्रकार देखिन्छन्:
१.    भौतिक व्यवस्थापन
फोहरमैला, सडक-ढल, ट्राफिक, नदीकिनाराका आवास, बहुतले आवासीय संरचना, शौचालय, पार्क-खेलमैदान, ऐतिहासिक-सांस्कृतिक-धार्मिक स्थल, विद्युत्, सञ्चार ।
२.    आपूर्ति व्यवस्थापन
खानेपानी, भूमिगत पानीको दोहन र पुनः पूर्ति, ग्यास, इन्धन, खाद्यान्न, तरकारी ।
३.    सामाजिक व्यवस्थापन
जनस्वास्थ्य, शिक्षा, मनोरञ्जन तथा खेलकुद, ज्येष्ठ नागरिक क्लब, ध्यान-भजन केन्द्र, पुस्तकालय- वाचनालय, शिशु-स्याहार केन्द्र ।
४. नागरिक अधिकारको व्यवस्थापन
रोजगारी, नागरिकता, संघसंस्थाको निर्माण प्रक्रिया र भूमिका, सार्वजनिक सुनुवाइ तथा परामर्श केन्द्र, सुरक्षा प्रबन्ध र संगठित अपराधको नियन्त्रण ।
५. आकस्मिक व्यवस्थापन
भुइँचालो, आगलागी र अन्य प्रकारका दुर्घटना र महामारी
काठमाडौंका समस्या यति मात्र होइनन् तर सबै समस्याको प्रस्तुति र तिनको निराकरणका बारेमा उल्लेख गर्न यस संक्षिप्त लेखमा सम्भव छैन । यो बृहत् राजनीतिक-भौतिक परियोजनाको विषय हो । यस विषयमा विविध विषयगत विज्ञता र ठोस राजनीतिक निर्णयको आवश्यकता छ । त्यसैले यहाँ एउटा राजनीतिकर्मीका हैसियतले ध्यानाकर्षण गर्न उपयुक्त देखिएका केही विषयलाई मात्र बहसका लागि बुँदागत रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको हो ।
वास्तवमा संघीयता केवल राजनीतिक निर्णयले मात्र निर्माण गर्न र अड्याउन सकिने परियोजना होइन । थुप्रै प्राविधिक र भौतिक तयारी गर्नैपर्ने हुन्छ । त्यसैले संविधानसभाको राज्यपुनर्संरचना समितिले प्रदेश निर्माणको आधार पहिचानसहित सामथ्र्यलाई पनि मानेको हो । तसर्थ काठमाडौंका समस्याहरूको समाधानका निम्ति प्रयत्न गर्दा यी सबै चुनौतीलाई ध्यानमा राखी समाधान खोजे मात्र पर्याप्त भौतिक सामथ्र्य र पूर्वाधार नभएका भोलि बन्ने अन्य प्रदेशका लागि पनि सजिलो
हुनेछ । यसका लागि काठमाडौंका जनप्रतिनिधिहरूले प्रारम्भ गरेको तात्कालिक र अनौपचारिक संवादलाई दीर्घकालिक र संगठित ढाँचामा अघि बढाउने आवश्यकता महसुस गरिएको छ ।
लेखक कांग्रेस केन्द्रीय सदस्य हुन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out