मसाज व्यवसायमा आचारसंहिता लागू

काठमाडौं, २३ असार
राजधानीको मुख्य पर्यटकीय बजार ठमेलमा कार्यरत मसाज व्यवसायीले मसाज व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आचारसंहिता लागू गरेका छन् । मसाज व्यवसायी, ठमेल पर्यटन विकास परिषद्, स्थानीय तहका पार्टी नेता, प्रहरी तथा अन्य सरोकारवालाको भेलाले आचारसंहिता पारित गरेको हो ।
'मसाज व्यवसाय मर्यादित बनाउने, दक्ष कामदार उत्पादन गर्ने तथा सबैलाई कानुनी दायरामा ल्याउने उद्देश्यले आचारसंहिता लागू गर्न लागिएको हो,' ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले भने । आइतबार जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि आचारसंहिता लागू हुने उनले जानकारी दिए । परिषद्ले गृहमन्त्री कृष्णबहादुर महरालाई आचारसंहिता हस्तान्तरण गर्ने बताइएको छ ।
आचारसंहिता लागू भएपछि मसाज सेन्टर दर्ता र नवीकरण खोलिने १६ नम्बर वडा कार्यालयका सचिव सुमन अधिकारीले जानकारी दिए । आचारसंहिता लागू गर्न पुसदेखि कार्यालयले मसाज सेन्टर दर्ता र नवीकरण रोकेको थियो । मसाज व्यवासायी संघका अध्यक्ष केबी लामाले सानाठूला सबै मसाज सेन्टरमा आचारसंहिता लागू हुने र पालन नगर्नेमाथि कारबाही गरिने बताए । 'मसाज र यौन व्यवसाय फरक हो । मसाजका नाममा यौन व्यवसाय रोक्ने संघको उद्देश्य हो,' लामाले भने ।
आचारसंहिता अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ९ सदस्यीय निर्देशक समिति र परिषद् अध्यक्षको संयोजकत्वमा १२ सदस्यीय अनुगमन समिति गठन गर्न सरोकारवाला सहमत भएका छन् । समितिले जुनसुकै समयमा मसाज सेन्टर अनुगमन गर्न सक्नेछ ।
परिषद्, प्रहरी, मसाज व्यवसायी संघ र महानगरपालिकाले चार महिना लगाएर तयार पारेको आचारसंहितामा सबै व्यवसायी सहमत भएको दाबी संघका अध्यक्ष लामाको छ । 'आचारसंहिता नमान्ने व्यवसाय गैरकानुनी रूपमा सञ्चालित छन्,' लामाले भने । ठमेलमा करिब २ सय मसाज सेन्टर सञ्चालनमा रहेको बताइए पनि ७५ मात्र सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा दर्ता छन् ।
प्रहरीको सक्रियताका कारण वेलावेलामा सिथिल हुने व्यवसाय हाल पुनः ठमेलमा विस्तारित भएको छ । नयाँ आउने प्रहरी अधिकृतले काम देखाउन छापा मारेजस्तो गरे पनि आफूहरूबाटै पैसा असुली चुप लाग्ने गरेको गुनासो व्यवसायीको गुनासो छ । तर, हालै सोहखुट्टे प्रहरी प्रभाग प्रमुख भई आएका प्रहरी निरीक्षक दानबहादुर लामा मसाज व्यवसायीबाट पैसा नअसुल्ने दाबी गर्छन् । 'पहिले सबैको विस्तृत जानकारी लिन्छु र मुख्य ठाउँमै प्रहार गर्छु । कानुनविपरीत विनादर्ता सञ्चालित सबै मसाज सेन्टर बन्द हुन्छन्,' लामाले भने । कुनै मसाज व्यवसायीसग 'बार्गेनिङ' नगर्ने र कसैले गरे तुरुन्त कारबाही गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । आचारसंहिता कार्यान्वयनमा प्रहरीले पूर्ण रूपमा सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
'मसाज व्यवसायी र सो पेसामा आबद्ध पेसाकर्मीले पालना गर्नुपर्ने आचारसंहिता ०६८' नामक संहितामा मसाज गर्ने व्यक्तिले सर्ट, पाइन्ट वा पाइजामा तथा बाहिर नीलो वा सेतो रङको एप्रोन अनिवार्य लगाउनुपर्ने, मसाज गर्ने कोठाको ढोका खुला र पारदर्शी हुनुपर्ने, मदिरा र धूमपान निषेध गर्नुपर्ने, पर्दा र बेडकभर सेतो हुनुपर्ने, सेवाग्राहीलाई उत्तेजित हुने काम गर्न नपाइनेजस्ता प्रावधान छन् ।
त्यस्तै, मसाज गर्ने व्यक्ति १८ वर्ष उमेर पुगेको हुनुपर्ने, मूल्यसूची टाँस्नुपर्ने र बिहान १० देखि राति ८ बजेसम्म मात्र सेवा दिनुपर्ने आचारसंहितामा उल्लेख छ ।
आचारसंहिता लागू भएपछि त्यसको आडमा यौनधन्दा चलाइरहेका कतिपयले व्यवसाय शैलीमा परिवर्तन गर्न थालिसकेको बताइएको छ । धेरैले मसाज पार्लरलाई सम्पर्क थलोका रूपमा प्रयोग गरी वरिपरीका सुरक्षति होटेल, लज तथा गेस्टहाउसमा यौनकर्मीलाई ग्राहकसँग पठाउने गरेका थिए । 'ठमेलका धेरै कुरा व्यवस्थित छन् र धेरै कुरा अव्यवस्थित पनि । बाहिर एउटा बोर्ड राखेर भित्र अर्कै काम हुने प्रवृत्ति अव अन्त्य हुन्छ,' श्रेष्ठले भने । कतिपय व्यवसायी आचारसंहिता लागू भएपछि ग्राहक नआउने भएकाले कोठाभाडासमेत तिर्न नसक्ने गुनासो गरेका छन् ।
०४७ देखि ठमेलको विकासका लागि क्रियाशील परिषद्ले हाल ठमेलमा सिसिटिभी राख्ने, वाइफाई जडान गर्ने तथा फोहोर व्यवस्थापन कार्य गर्दै आएको छ । 'ठमेललाई नमुना पर्यटकीय स्थल बनाउने हाम्रो उद्देश्य हो,' उनले भने । नेपाल भित्रिने पर्यटकमध्ये करिब ८० प्रतिशत ठमेल आउने गरेको परिषद्ले जनाएको छ । तीमध्ये ६० प्रतिशत ठमेल क्षेत्रका गेस्टहाउस, लज र होटेलमा बस्ने गरेका छन् ।

परीक्षणविनै उपभोग्य सामग्री आयात
नयाँ पत्रिका
बाँके, २३ असार
सीमावर्ती भारतीय बजार रुपैडियाबाट परीक्षणविनै दैनिक उपभोग्य सामग्री आयात हुन थालेको छ । नेपालमा आयात हुने चामल, दाल, दूध तथा धुलो दूध, नुन, पेयपदार्थ, जुस तथा वेभरेज आदि सामग्री विनापरीक्षण भित्रिने गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख वेदनाथ गौतम सस्तो पाइने आशमा नेपाली उपभोक्ताले रुपैडियाबाट विनापरीक्षण ल्याउने गरेको बताउँछन् । नेपालगन्ज मात्र नभई पहाडी जिल्लाका उपभोक्तासमेत रुपैडिया सामान किन्न जाने गरेका छन् । उपभोक्ता संरक्षण ऐन, ०५४ को दफा १० ले कमसल उपभोग्य वस्तु उत्पादन, बिक्रीवितरण वा निकासी पैठारी निषेध गरेको छ ।
ऐनका प्रावधान कार्यान्वयनमा उपभोक्ता र सरोकारवाला निकायले चासो दिएका छैनन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख वेदनाथ गौतमले भने, 'घरका लागि प्रयोग हुने सामग्री परीक्षण हुने गरेको छैन ।'
ठूलो मात्रामा आयात हुने उपभोग्य सामग्रीको गुणस्तर परीक्षणका लागि भन्सार कार्यालयले 'स्याम्पल' पठाउने गरेको उनले जानकारी दिए ।
'कानुनी रूपमा आयात भएका सामग्री परीक्षण हुने गरेको छ, व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामग्री परीक्षण गर्न सम्भव पनि हुँदैन,' गौतमले भने । खाद्य प्रविधि अनुसन्धान अधिकृत विनोद श्रीवास्तव सीमापारिका सबै उपभोग्य सामग्री स्वास्थ्यका लागि हानिकारक नहुने भए पनि गुणस्तर परीक्षण नहुँदा शंका उब्जिनु स्वाभाविक भएको दाबी गर्छन् ।
नेपालगन्ज खाद्य तथा किराना व्यवसायी संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गुणस्तर ग्यारेन्टी नभएका उपभोग्य सामग्री प्रयोग हटाउन सरकारी निकायले नै पहल थाल्नुपर्नेमा जोड दिए ।
'रुपैडियाबाट ल्याइएका खाद्य सामग्री सबै खानयोग्य भएको ग्यारेन्टी गर्ने निकाय नै छैन, उपभोक्ता गुणस्तरहीन सामग्री प्रयोग गर्न बाध्य छन्,' उनले भने ।
नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता विष्णु भुसाल रुपैडियाभन्दा नेपालगन्जमा पाइने सामान गुणस्तरीय हुने दाबी गर्छन् ।
उनले कतिपय उपभोक्ता स्थानीय बजारमै सस्तो पाइने सामान किन्न रुपैडिया धाउने प्रवृत्ति हटाउनुपर्ने बताए । 'उपभोक्ता सचेत भए मात्र समस्या समाधान हुन्छ,' भुसाल भन्छन् । उनले दैनिक भित्रिने उपभोग्य सामग्री गुणस्तर परीक्षणका लागि खाद्य प्रविधिले भन्सार नजिक प्राविधिक खटाउनुपर्ने बताए ।
उपभोक्ता संरक्षण मञ्चका बाँके अध्यक्ष डा. नारायण सुवेदीले नेपाली उपभोक्तालाई स्थानीय बजारमै रोकी गुणस्तरीय सामग्री उपभोग गर्ने वातावरण बनाउन निजी क्षेत्र र प्रशासनले सक्रियता देखाउनुपर्नेमा जोड दिए ।
उनले भने, 'खाद्य प्रविधि तथा गुण नियन्त्रण, गुणस्तर तथा नापतौल, वाणिज्य कार्यालय, उपभोक्ता मञ्चलगायत सदस्य हुने जिल्ला बजार अनुगमन समितिले बजारमा बिक्री हुँदै आएका उपभोग्य वस्तु अनुगमन गरे पनि अनुगमन र परीक्षणजस्ता प्राविधिक काम व्यावसायिक प्रतिष्ठान र पसलमा मात्र सीमित भएकाले प्रभावकारी हुन नसकेको हो ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out