अँधेरीमारका अँध्यारा दिनहरू

पहिलोपटक रेल देखेर म निकै डराएँ, अताल्लिएँ । लजको ठूलो ऐनाअघि उभिँदा मैले आफैंलाई चिनिनँ । अनुहार रुँदारुँदा निकै गलेको थियो, अलिकति सुन्निएको पनि थियो ।
चरिमाया तामाङ
मलाई आफ्नो जन्ममिति थाहा छैन, नागरिकताअनुसार भने म ३५ वर्षकी भएँ । गाउँको स्कुलमा पाँच कक्षासम्म पढेकी थिएँ । १६ वर्षमै छिमेकी गाउँका चार दलालको फन्दामा परेर मुम्बई पुर्‍याइएँ । शिवपुरी जंगलमा घाँस काट्न गएका वेला क्यारसिंह तामाङ, मनु तामाङ, वीरे तामाङ र कृष्ण तामाङले पहिले फकाइफुल्याई गरे, 'चरिमाया, हिँड जाऊँ सहर । तिमीलाई राम्रो जागिर मिलाइदिन्छौँ । यो अन्धकार गाउँमा के गरेर 
बस्छ्यौ ?' मैले मान्दै मानिनँ । उनीहरूले बल प्रयोग गरे, मैले पनि चिथोरिदिएँ । पछि उनीहरूले जबर्जस्ती औषधि खुवाएर मलाई बेहोस बनाए । 
भोलिपल्ट गोरखपुर पुर्‍याएपछि मात्रै होस खुल्यो । घाँस काट्दा लुंगी/चोली लगाएकी थिएँ, होस खुल्दा शरीरमा कुर्ता-सुरुवाल थियो । त्यो लामो यात्राले जिउ पूरै थाकेको थियो । त्यो मेरा लागि नितान्त नौलो संसार थियो । नयाँ मान्छेहरू ओहोरदोहोर गरिरहेका, सबै नचिनेका नौला मान्छे । मलाई दलालहरूसँग खुब डर लाग्यो । कहाँ किन लैजान लागेका हुन् ? केही थाहा थिएन । म क्वाँक्वाँ रुन थालेँ । एकजना दलालले मुख खोल्यो, 'अब फर्केर गाउँ गए तिमीलाई गाउँलेले बहिष्कार गर्छन् । हामी राम्रो काम लगाइदिन्छौँ, हिँड ।' उनीहरूले मलाई एउटा लजमा राखे । मलाई रिँगटा लागिरहेको थियो, त्यस रात भुसुक्कै निदाएँ ।
बिहान उठ्दा लामो गाडी छ्याकछ्याक गर्दै लजअगाडिबाटै आइरहेको थियो । त्यो रेल रहेछ । पहिलोपटक रेल देखेर म निकै डराएँ, अताल्लिएँ । लजको ठूलो ऐनाअघि उभिँदा मैले आफैंलाई चिनिनँ । अनुहार रुँदारुँदा निकै गलेको थियो, अलिकति सुन्निएको पनि थियो । 
मलाई दलालले फेरि बेहोस बनाए र गोरखपुरबाट कस्मिर जाने रेलमा हाले । कुन ठाउँमा ओराले थाहा थिएन । खाना खाने होटलमा लिएर गए । साइनबोर्डमा 'अँधेरीमार' लेखिएको थियो । त्यसवेलासम्म म रोइरहेकी थिएँ । होटलमा एउटी महिला आई । दलालहरूमध्ये कोहीले त्यस महिलालाई 'दिदी,' कोहीले 'माइजू' भन्दारहेछन् । मलाई माइजू भन्नुपर्छ भन्दैथे दलालले । त्यो महिलाले मलाई तानेर ट्याक्सीमा राखी र मुम्बई सेन्टरको कमाटीपुर एरियामा पुर्‍याई । कैंैचीगेट पार गर्दै भित्र पुगेपछि थुनेर राखी । साँझतिर केही मोटा महिला आएर शिरदेखि पाउसम्म हेरे, सुमसुम्याउन थाले । एकछिनमा चर्को आवाजमा हाँस्दै कपाल काटिदिन र नुहाइदिन थाले । मैले आफैं नुहाउँछु भने । उनीहरूले जबर्जस्ती मेरो पूरै कपडा खोलेर नांगो बनाइदिए र शरीर पूरै सुमसुम्याए । संवेदनशील अंग चलाउन थाले । महिलाको इज्जत महिलाले पनि लुट्दारहेछन् भन्ने पहिलोपटक थाहा पाएँ । 
एउटीले भनी, 'तँ बेचिइसकिस्, अब हाम्रो माल होस् । हामीले जे भन्छौँ, त्यही मान्नुपर्छ । भोलिदेखि तेरो काम सुरु हुन्छ । आज रातभरिमा तैँले आफन्त र गाउँले सबै बिर्सने कोसिस गर्नुपर्छ । यहाँबाट अब कहिल्यै पनि निस्केर बाहिरी संसारमा जान पाउँदिनस् ।' त्यसवेला बल्ल मलाई बेचिएँछु भन्ने लाग्यो । हाम्रो गाउँमास्तिर एउटा दलालको घर थियो । त्यहाँ वेलावेला स्कुले भेषका, विवाह भेषका र घाँसदाउरा गर्ने घरेलु भेषका केटीहरू देखिन्थे र केही दिनमै हराउँथे । गाउँले 'यसले चेलीलाई ठूलो ठाउँमा लान्छ' भन्थे । चेली बेचेर फर्केपछि उसले भोज खुवाउँथ्यो र क्यासेटमा गीत बजाउँदै घुम्थ्यो । गाउँमा उसैको इज्जत बढी हुन्थ्यो । अहिले बुझेँ, ठूलो ठाउँ त यस्तो पो रहेछ । गाउँका सोझा, कलिला दिदीबहिनीमा आफ्नो छाया देखेँ । 
उनीहरू कोठामा कोकाकोला, पानी र केही बिस्कुट छोडेर गए । मनभरि आफन्त र गाउँ नाच्न थाले । कतैबाट भाग्न सकिन्छ कि भनी हेरेँ, त्यो सम्भव थिएन । 'आत्महत्या गर्छु' भनेर कोठाभरि हेरेँ । साँझ ओडिरहेको सल निकालेर झुन्डिने विचार गरेँ । खाटमाथि चढेर ढोकाको गजबारमा सलको सुर्कानो पारेर झुन्डिएँ । तर, सल चुँडिएर पछारिएँ । आफ्नै शरीरको माया लागेर आयो । जीवनदान दिएकामा भगवान्लाई धन्यवाद दिएँ । अब भने जस्तो परे पनि व्यहोर्छु भन्ने संकल्प गरेँ । 
भोलिपल्ट तिनै आइमाईले मलाई अँधेरीमारको कमाटीपुरको ११ नम्बर गल्लीमा पुर्‍याए । त्यहाँ 'घरवाली' थिई । कोठीको सञ्चालक । सिसा र काठको ढोका भएको 'यौन व्यापार' हुने त्यो 'कोठी' -ब्रोथल) को काउन्टरमा रातो सर्ट लगाएको पुरुष थियो, जिन्स पाइन्ट र रातै टिसर्ट लगाएकी किशोरीले उसको गाला, गर्दन र छाती मुसारिरहेकी छ । केटो छिनछिनमा किशोरीको छातीमा हात पुर्‍याउँछ, ऊ मस्किन्छे । मान्छेको भीडभाड र कोलाहलमा पुरुषहरू युवती लिएर भित्र पस्छन् र उसलाई मुसार्न थाल्छन् । कसैलाई कसैको पर्वाह छैन । ग्राहक आफूलाई मन पर्ने पेसाकर्मीसँग मनलाग्दी काममा लिप्त छन् । पुरुषहरू काउन्टरमा डेढ, दुई सय रुपैयाँ तिरेर रोजेकी केटीलाई गिजोल्दै सानो कोठामा पस्छन् । एक घन्टापछि केटाकेटी अँगालो हाल्दै बाहिर निस्कन्छन् । कहिलेकाहीँ ग्राहकले जंगली व्यहोरा देखायो भने युवतीले अश्लील गाली गरिरहेकी हुन्छे । पहिलो दिनमा मलाई पहिल्यै बेचिएका दिदीबहिनीले सम्झाए, 'यहाँकी घरवालीले भनेको नमाने यिनीहरूले मार्छन् ।' भोलिपल्टदेखि मलाई त्यस्तै काममा लगाइयो । 
बुबा त सानैमा गुमाएकी थिएँ, त्यो दिन इज्जत पनि लुटियो । घर, आमा, दाजु, दिदी सम्झेर रोएँ । दलालले मलाई ५० हजार भारतीय रुपैयाँमा बेचेका रहेछन् । सुरुसुरुमा मैले थुप्रै पुरुषसँग झगडा गरेँ । पहिलो साउदी अरबको जुँगामुठे ग्राहकलाई मैले कुटेर लघारिदिएँ । मैले नमान्दा कुट्थे, चिथोर्थे । 'हाम्रो पैसा फसाउन किन आइस्, साली तेरो गाउँमा दाजुभाइ थिएन, सुत्न ?' भनेर गाली गर्थे । त्यहाँ भारतीय ग्राहक बढी आउँथे, नेपाली छिर्न रोक लगाइएको थियो । एक हप्तापछि कोठीवाली बाईले 'यहाँ काम गर्न मानिनस् भने जमिनमुनिको कोठीमा बेचिदिन्छु, जहाँबाट तँ जिन्दगीभरि निस्कन पाउँदिनस्' भनेर हप्काई । उनीहरू जसोजसो भन्छन् मैले त्यसै गर्न थालेँ । केही महिनापछि मलाई बिक्री गर्ने दलालहरूले काठमाडौंको गलैंचा कारखानाबाट अरू चार किशोरी पनि बेचेको थाहा पाएँ । त्यहाँ मैले २२ महिना बिताएँ । कहिलेकाहीँ एकै दिनमा १४ जनाभन्दा बढी ग्राहकको आवेग शान्त गरिदिनुपथ्र्यो । खाने/बस्ने व्यवस्था भित्रै थियो । त्यहाँ मेरो नाम 'अनु' राखिएको थियो ।
अँध्यारो कोठामा चौबीसै घन्टा बत्ती बल्थ्यो । निर्देशन नमान्ने दिदीबहिनीलाई दाबिलोले कुटिन्थ्यो । बिजुलीको तारले कुट्थे । एउटी दिदीको कुटाइमै ढाड भाँचियो । त्यस्ता घटना अनेकौँ भए । ६ महिनासम्म मैले भाग्ने कोसिस गरेँ तर, सकिनँ । कहिलेकाहीँ पाएको टिप्स पनि घरवालीले खोसिदिन्थी । विदेशी ग्राहकले बाहिर लिएर पनि जान्थे । १५ दिनजति राखेर कोठीमा फिर्ता गरिदिन्थे । 'मिन्स' भएको वेला पनि ग्राहकका लागि तयार रहनुपथ्र्यो । मसँग बढी इरानीहरू आउँथे, उनीहरू बढी यातना दिन्थे । चुरोटको पोलाइ पनि खप्नुपथ्र्यो । ग्राहकले एकजना दिदीको स्तनको मुन्टै छुट्याइदिएछ । आफ्नो शरीर आफ्नो थिएन । ब्वाँसाहरू उनीहरूको इच्छाअनुसार चलाउन खोज्थे । मानसिक तनाव, थकान, भोको पेट अनि शारीरिक सम्पर्क । यी सबैसँग जुधेर बाँच्नुको विकल्प थिएन । राति ४ बजेपछि सुत्ने र दिउँसो १ बजे उठ्ने रुटिन हुन्थ्यो । छिट्टै सुते 'अलच्छिनी' भन्दै घरवाली कुट्न आउँथी । कोठीमा ग्राहक एकथरी केटीको फोटो हेरेर जाने हुन्थे, अर्कोथरी बाईसँग मोलतोल गरेर मनपरेका केटी लिएर जान्थे । ग्राहक कन्डम लगाउन मान्दैनथे, हामी नलगाई छुनसम्म दिँदैनथ्यौँ । बाईहरूले धेरै थाकेका महिलालाई औषधि दिन्थे । मैले कहिल्यै औषधि प्रयोग गरिनँ । एउटा ग्राहकले ब्लुफिल्म हेरेर आएछ र अप्राकृतिक यौनसम्बन्ध गर्न खोज्यो । मैले उसलाई निकैबेर मानवताबारे सम्झाएँ । पछि उसले मसँग माफी माग्यो । हरेक पल निरीह र दुःखी भएर बाँच्नु थियो अँधेरीमारमा । प्रत्येक मिनेट मरेर बाँच्नुपथ्र्यो । 
त्यहाँ बेचिएका महिला सुरुका केही महिना भाग्ने योजना बनाउँछन् । पछि हार खाएर त्यहीँको दैनिकीमा अभ्यस्त हुन्छन् । मनभरि गाउँघर र आफन्तको माया खोज्छन् । त्यहाँ कुनै पनि दिदीबहिनी राजीखुसीले बस्दैनन् । तैपनि बाहिरी हाँसो हाँस्नुपथ्र्यो । कति दिदीबहिनीलाई यौनरोग लागेको हुन्थ्यो, तर बाईले अन्तिम अवस्थामा मात्रै डाक्टर बोलाउँथी । 'मैले तँलाई किनेकी हुँ, मैले भनेको मान्नुपर्छ' भन्थी बाईले । त्यसवेला मलाई लाग्थ्यो, पुरुष भोगी हो र हरेक महिला कोठीकी मालिक्नी । मलाई भेटेका सबै पुरुषलाई थुकौँ जस्तो हुन्थ्यो । 
०५२ साल माघमा भारतमा एचआइभी फैलिनुमा त्यहाँका अवैध कोठी जिम्मेवार भएको भन्दै मुम्बई प्रहरीले अँधेरीमारमा पनि छापा मार्‍यो र चार सयभन्दा बढी युवतीको उद्धार गर्‍यो । त्यसमा म पनि थिएँ । त्यसपछि हामीलाई मुम्बईको सरकारी गृहमा ६ महिना राखियो । ०५३ साउन ७ गते मसहित एक सय २८ नेपाली चेली काठमाडौंका सातवटा गैरसरकारी संस्थाको पहलमा काठमाडौं आयौँ । मसहित १३ युवतीलाई बालुवाटारको नवज्योति केन्द्रमा पुनस्र्थापन गरियो । त्यसको ६ महिनापछि बल्ल म गाउँ फर्किएँ । तर, गाउँलेले मलाई स्वीकार गरेनन्, परिवारले पनि आलोचना गरे । अनि मसहित प्रभावित युवतीले शक्ति समूह नामको संस्था दर्ता गर्‍यौँ । मैले सिन्धुपाल्चोक जिल्ला अदालतमा मलाई बेच्नेहरूविरुद्ध मुद्दा दर्ता गरेँ । अदालतले चारैजनालाई १० वर्ष कैद सजाय तोक्यो । त्यस दिनदेखि म चेलिबेटी बेचबिखनविरुद्धको अभियानमा सक्रिय छु । पुनस्र्थापनको चार वर्षपछि ०५७ मा सिन्धुकोटका शम्भु तामाङ पाखि्रनसँग मेरो बिहे भयो । अहिले दुई छोरी छन् । 

'बिहेपछि बहिष्कृत भयौँ'
म्भु तामाङचरिमायाका पति
उहाँको दुःखको कथा सुन्दा मलाई साह्रै नरमाइलो लाग्यो । बिहेपछि पनि उहाँले सुख पाउनुभएन । बिहेपछि मेरा आफन्तले उहाँलाई जथाभावी घोचपेच गरिरहे । उहाँ खुव रुनुहुन्थ्यो । एक दिन घरमा मलाई खान पनि दिएनन् । चरिमायालाई भाउजूले नराम्रोसँग कुटिन् । मलाई आफूहरू बहिष्कृत भएको अनुभव भयो र काठमाडौं आयौँ । उहाँले कुटाइ खाएकोे तीन दिनपछि ६ महिनाको गर्भ खेर गयो । मैले पाँच कक्षासम्म पढेको छु । उहाँले ६ कक्षादेखि पढ्न थाल्नुभयो । अहिले पशुपति क्याम्पसमा आइए पढ्दै हुनुहुन्छ । म घर बनाउने काम गर्छु । पहिले गि्रल कारखानामा काम गर्थें । ड्राइभिङ पनि गरेँ । ग्यारेजमा पनि काम गरेँ । जहाँ रहे पनि छिट्टै घर पुग्नुछ र चरिमायालाई सहयोग गर्नुछ भन्ने सोच्छु ।
प्रस्तुतिः दीपक सापकोटा
spkt.deepak@gmail.com
तस्बिरः श्रीधर पौडेल

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out