धोकेबाज प्रचण्ड!

काठमाडौँ । मानिसले नैतिकता गुमाउँदै गएपछि आफैले पटक–पटक गरेको प्रतिबद्धता पूरा गर्न छोड्छ र धोकेबाज बन्दै जान्छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का पछिल्ला गतिविधिमा यस्तै प्रवृत्ति मौलाउँदै गएको छ। जसले गर्दा राजनीतिक वृत्तमा उनी अविश्वसनीय पात्रका रूपमा चित्रित हुँदै गएका छन्। प्रचण्डको यही धोकेबाजी राजनीतिका कारण मुलुक डरलाग्दो संकटतिर धकेलिएको छ भने एमाले अध्यक्ष झलनाथ खनालको राजनीतिक भविष्यसमेत धरापमा परेको छ। बोलेको वचन र गरेको प्रतिबद्धता पूरा नगर्ने धोकेबाज राजनीतिज्ञका रूपमा प्रचण्डको छवि विकसित हुन थालेको छ।

०४६ सालमा आफ्नै सहकर्मीहरूबीच तिकडम गरेरै पार्टीे नेतृत्व हत्याएका थिए प्रचण्डले। त्यसयता उनी निरन्तर पार्टी नेतृत्वमा छन्। तर, अवस्था कस्तो देखिन थालेको छ भने प्रचण्ड जति लामो समय नेतृत्वमा रहिरहन्छन् त्यति नै चाँडो माओवादी ओरालो लाग्दै जानेछ। किनभने प्रचण्डको राजनीतिक जीवनको अर्को परिचय नै धोकेबाज बन्दै गएको छ। ०४३ साल चैत्रमा राजधानीमा गरिएको सेक्टर काण्ड असफल भएको दोष अरुमाथि थोपरेर प्रचण्डले नेतृत्व हत्याएका थिए। तर, प्रचण्डको नेतृत्वमा रौतहटको गौर नरसंहार, प्रधानसेनापति, पशुपतिलगायत दर्जनौ असफल काण्ड घटेर राष्ट्रिय/अन्तर्राष्ट्रिय जगतमै माओवादीले धक्का व्यहोर्नुपर्दासमेत प्रचण्डले नैतिकता देखाउँदै पदबाट हट्ने इमान्दारिता देखाएका छैनन्। उल्टै आफ्नो कुटिल राजनीतिक चरित्र प्रर्दशन गर्दै प्रधानमन्त्री खनाललाई समेत खाल्टोमा हालेका छन्।
पछिल्लो पटक प्रधानमन्त्री खनाललाई धोका दिएका प्रचण्डले आफ्नै पार्टीभित्रसमेत दर्जनौं सहकर्मीहरूलाई धोका दिइसकेका छन्। उनको चोट सहन नसकेरै पार्टीभित्रका सहकर्मीहरू यतिबेला प्रचण्ड विरुद्ध एक जुट भएका हुन््। उनले पार्टीभित्र बाबुराम भट्टराईबाटै काम लिने तर उनैलाई भारतीय एजेन्टको उपमा भिराउने, मोहन वैद्य जस्ता नेताहरूसँग कहिल्यै मिल्न नदिने भूमिका निर्वाह गरे। अगाडि पर्दा वैद्यलाई राजनीतिक गुरु भन्ने तर पछाडि जहिले पनि यो जडसूत्रवादी बुढो भनेर उछितो काढिरहे। यसपटक प्रचण्डले स्थायी समितिका अर्का सदस्य कृष्णबहादुर महराको राजनीतिक जीवनलाई धरापमा पारिदिए। त्यसपछि उनको निशानामा नारायणकाजी श्रेष्ठ परे। १३ दिने मन्त्री बन्न पाएका नारायणकाजीको रानीतिक भविष्य प्रचण्डकै कारण बिचरा बन्न पुगेको छ। आफ्नो पार्टीभित्र होस् वा बाहिर प्रचण्ड आफ्ना प्रतिस्पर्धी नेताहरूलाई योजनाबद्ध रूपले असफल बनाउन लागि पर्ने उनीसँग काम गरेका भुक्तभोगीहरूको अनुभव छ। पछिल्लो पटक उनको निशानमा एमालेका अध्यक्षसमेत रहेका झलनाथ खनाल परेका छन्। अब यस्तै शेरबहादुर देउवालाई यस्तै 'मुर्गा' बनाउने योजनामा प्रचण्ड लागि परेका छन्। देउवा पनि आश्वासनबाट दंग परेर प्रचण्ड ढढियामा पर्न मरिहत्ते गरिरहेका छन्।
दृष्टिले यस पटक उठाउन खोजेको प्रसंगचाहिँ पार्टीभित्रको धोकाको मात्र होइन्, उनले समग्र राजनीतिमै दिएको धोकाको हो। प्रचण्डले राजनीतिमा दिएको धब्बाकै कारण मुलुक अन्धकारको यात्रातिर लम्कँदो छ। देशमा एक जना नेता मात्र दूरदर्शी र राष्ट्रवादी सोचका भइदिए असफलताबाट कति चाँडो उन्मुक्ति पाउन सकिन्छ र समृद्धिको यात्रामा लम्कन्छ भन्ने उदाहरण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाले देखाइसकेका छन्। दुभार्ग्य! नेपालमा भने प्रचण्ड वा अरु कुनै पनि नेताले मण्डेलाको जस्तो दृष्टि बोक्न सकेनन्। जसले गर्दा नेपालको भविष्य नै के हो? के हो? भन्ने अवस्थातिर धकेलिँदै छ। माओवादी शान्ति प्रक्रियामा आएको समयमा प्रचण्डले देशमाथि धोका नदेलान् अर्थात राष्ट्र निर्माण गर्ने नेताको छवि बनाउलान् भन्ने आशा धेरैले गरेका थिए। समयक्रममा प्रचण्ड ती सबै आशालाई निरासामा परिणत गर्दै एक धोकेबाज नेताका रूपमा स्थापित भइरहेका छन्। ०६२ मंसिर ७ गते तत्कालीन माओवादी र सात राजनीतिक दलहरूबीच गरिएको सम्झौतामा सात दल एकातिर र माओवादी अर्कातिरको हस्ताक्षरकर्ता हुन्। त्यसैले संविधानसभा अघिका सात दल र त्यसपछि बदलिएको समीकरण अनुसार नेपाली कांग्रेस, एमालेको भूमिका जति हुनु पर्ने हो, त्यो बराबरको जिम्मेवारी माओवादीले निर्वाह गर्नुपर्ने थियो। तर, शान्ति प्रक्रियालाई निकासमा पुर्यारउन आफूले अत्यन्त कम भूमिका निर्वाह गर्ने र आफूभन्दा कमजोर हैसियतमा रहेका दलहरूले बढी भूमिका निभाइदिनु पर्योर भन्दै पौठेजोरी खेलेर समय बिताउने काम गरिरहेका छन् प्रचण्डले।
अरु कुरा त धेरै परको भयो। आफ्नै अहं भूमिकाले प्रधानमन्त्री बनाएका झलनाथ खनाललाई समेत माओवादी अध्यक्ष प्रचण्डले निकै ठूलो धोका दिएका छन्। हिजो मात्र संसदबाट राजीनामा दिएका एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री खनालले साउन २८ गतेसम्म माओवादीले शान्ति प्रक्रिया टुङ्गोमा पुर्यामउने प्रस्ताव नल्याए आफूले राजीनामा दिने प्रतिबद्धता सार्वजनिक गरिसकेका थिए। खनालले यस्तो अभिव्यक्ति दिएको सुन्दा सुन्दै त्यो मर्मलाई उपेक्षा गरेर प्रचण्ड अदृश्य कामका लागि मलेसिया उडे। जबकि उनी धोकबाज राजनीतिज्ञ थिएनन् भने मलेसियाभन्दा शान्ति प्रक्रिया टुङ्गोमा पुर्याएउने काम नै महत्वपूर्ण थियो। र त्यसैमा लागि पर्दथे। त्यहाबाट फर्किएपछि साउन २८ गते बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डले आफूले दिनभरमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याएउने प्रस्ताव ल्याउने आश्वासन दिएका थिए। तर पनि अन्त्यमा माछो–माछो भ्यागुतो बनाइदिए, प्रचण्डले।
यति मात्र होइन खनाल नेतृत्वको सरकारलाई प्रचण्डले उनी प्रधानमन्त्रीमा निर्वाचित भएकै दिनदेखि धोका दिन थालेका थिए। खनाल प्रधानमन्त्री निर्वाचित भएको ठीक एक महिनासम्म प्रचण्डले माओवादीका तर्फबाट कुनै पनि सदस्यलाई मन्त्री परिषदमा पठँइदिएनन्। माओवादी अड्चनकै कारण खनाल नेतृत्वको सरकारले पनि लोकसेवा आयोग, निर्वाचन आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायले पूर्णता पाउन सकेनन्। यसअघि माधवकुमार नेपाल नेतृत्वको सरकारमा पनि माओवादी त्यसमा पनि प्रचण्डले भाँजो हाल्नाले गर्दा नै नियुक्ति हुन सकेको थिएन।
माओवादी अध्यक्ष प्रचण्डको लहैलहैमा लागेकै कारण खनाल नेतृत्वको सरकारले छिमेकी मुलुक भारतको सदाशयता पाउन सकेन। न त चीनकै विश्वास जित्न सक्यो। प्रचण्ड धोकाकै परिणाम नेपाली इतिहासमा छिमेकीका नजरमा खनाल निरीह प्रधानमन्त्री सावित भए। खनालले आफ्नै पार्टी एमालेले दिएको निर्देशन समेत लत्याएर प्रचण्डले भनेको स्वीकार गरिरहँदा समेत निकै नराम्रो धोका पाए। यो त वर्तमान सरकारको कुरा भयो। विगततिर फर्कने हो भने पनि शान्ति प्रक्रियामा आएदेखि नै प्रचण्डले एकपछि अर्को प्रतिबद्धता गर्ने र त्यसलाई कार्यान्वयन नगरी धोका दिने काम गरिरहेका छन्। नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालादेखि पुृर्व राजा ज्ञानेन्द्र शाहसम्मलाई प्रचण्डले धोका दिएका थिए।
स्रोतका अनुसार ज्ञानेन्द्रसँग आफ्ना दूतमार्फत् संवैधानिक राजतन्त्र स्वीकार गर्ने प्रतिबद्धता गरेका थिए प्रचण्डले। त्यसै गरी कोइरालालाई नेपालको प्रथम राष्ट्रपति बनाउने कसम खाएका थिए। तर अन्तिममा उनीहरू दुवैलाई लोप्पा ख्वाइदिए। माधव नेपाललाई समेत राष्ट्रपति बनाउने आश्वासन दिएका थिए उनले। पार्टीभित्रका अन्य नेताहरूले मानेनन् भन्दै नेपालको सपनालाई पानीको फोका जस्तै फुटाइदिए प्रचण्डले। खासमा पार्टीभित्रका सहकर्मीले नमानेर भन्दा प्रचण्ड आफैले नेपाललाई बनाउनु हुँदैन भनेर 'लबिङ' गरेका स्रोतको भनाइ छ। जानकारहरूका भनाइमा नेपाल प्रधानमन्त्री भएका बेला प्रचण्ड छोरा प्रकाशलाई गाडी चलाउन लगाएर सुरक्षाकर्मी बिनै वालुवाटार जाने र राति १२–१ बजेसम्म मदिरा सेवन गरेर बस्दथे। त्यस बेला झलनाथ खनालले तपाईंलाई यसो भन्छ उसो भन्छ भन्दै नेपाल समक्ष पोल खोल्दथे प्रचण्ड।
त्यसै गरी खनाललगायतका नेताहरूसँग भेट गरी 'तपाईंहरू एउटै पार्टीमा भए पनि माधव नेपालले तपाईंलाई देख्नै सक्दो रहेनछन्' भन्दै उनलाई उकास्ने काम गर्छन्। ०६३ साउन २ गते बालुवाटारमा पहिलोपटक सार्वजनिक भए यता प्रचण्डले शान्ति प्रक्रिया टुङ्गोमा पुर्यामउने वाचासहित दुई दर्जनभन्दा बढी सम्झौता–सहमतिमा हस्ताक्षर गरिसकेका छन्। तर, ती प्रतिबद्धता पूरा गर्न उनी कहिल्यै गम्भीर बनेका छैनन्। जानकारहरूका भनाइमा प्रचण्डसँग सम्झौता गर्न कुनै ग्राहो छैन। किनभने उनलाई सम्झौता कागजमा गर्ने न हो व्यवहारमा लागू गर्नु पर्दैन भन्ने बानी परिसकेको छ। खनाललाई धोका दिएसम्मको उनको इतिहासले भन्दैछ अरुलाई धोका दिने राजनीतिज्ञले आफ्नै इतिहासलाई पनि एक दिन धोका दिने छ। कतै प्रचण्ड त्यही बोटामा त दौडिरहेका छैनन्?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out