लामो सास तानेर सोच्नुपर्ने केही कुरा

विजयकुमार - राजु दैया, टुनटुन मोटी, बबलु, शेखर सुमन र अर्चना- भारतीय टेलिभिजनका केही प्रसिद्ध हास्य कलाकारको नाम हो । भारतमा टेलिभिजन चलाउने कुनै पनि च्यानल वा हेर्ने कुनै पनि दर्शकले यी हास्य कलाकारको लोकप्रियता वा 'मार्केट भ्यालु' लाई शाहरूख खान, सलमान खान वा कैटरिना कैफ आदिसँग 'सपनामा' पनि तुलना गर्ने साहस गर्दैन । तर यही कुरा हामीले नेपालमा वर्षौंदेखि गर्दै आएका छौं । यहाँका वर्षौदेखि गरिँदै आएका दर्शक 'सर्वेक्षण' लाई पत्याउने हो भने नेपालमा हिरो-हिरोइनको भन्दा हास्यकर्मीको लोकपि्रयता र भाउ बढ्ता छ । जनताले मन पराउने भनिएका शीर्ष टेलिभजन कार्यक्रमहरूको सूचीमा हास्यव्यंग्य कार्यक्रमकै बोलबाला देखाइन्छ । नेपालबाहेक संसारका कति देश यस्ता छन् जहाँ हिरो-हिरोइनभन्दा हास्य कलाकारको लोकपि्रयता बढी छ ? अमेरिकामा ? बेलायतमा ? थाइल्यान्डमा कि पाकिस्तानमा ? हिन्दुस्तानको कुरा त भनी नै हालें । आदरणीय पाठकहरू, भर्खरै गएको गाईजात्राको पृष्ठभूमिमा, एकपटक लामो सास तान्नुस् र सोच्नुस् यस्तो किन हुन्छ ? हरेक साता टेलिभिजनमा राजनीतिक नेतालाई गालीगलौजको सीमालाई छुने घोचपेच र समाजलाई व्यंग्य गरिएका कार्यक्रमहरू किन यति साह्रो लोकप्रिय छन् ? वर्षौंदेखि हामी यस्ता उत्पादन हेरेर किन थाक्दैनौं ? 'सेन्स अफ ह्युमर' र 'स्टुपिडिटी' बीच फरक आवश्यक छ वा छैन ? हास्यव्यंग्यका नाममा, हाँस्ने बेलामा कतै हामी, थाहै नपाई हरेक दिन, आफ्नै जीवनको गाईजात्रा त बनाइरहेका छैनाै ? 

हास्य जीवनको सर्वाधिक महत्त्वको विषय हो तर त्यति हुँदाहुँदै पनि- जीवन भनेको कोरा व्यंग्यमात्र होइन । तर यहाँ यो हास्यव्यंग्यको यत्रो माग यसरी विकसित हुनाका कारण के/के होला ? कृपया यो प्रश्नको हतारिएर निष्कर्ष ननिकाली दिनु होला । नेपालमा हास्य कलाकारले मात्र कमेडी उत्पादन गरी रहेका छैनन् । म कहिलेकाहीं सोच्छु- देशको यस्तो हालत देखेर पनि हामी कसरी यतिका वर्षदेखि नअघाइकन रमाउन सकेका होलाउँ ? के हाम्रो प्रतिक्रिया स्वाभाविक हो ? वा अबउप्रान्त देशको दूरवस्थाका विषयमा हाम्रो समाजले ङच्िच हाँसेर प्रतिक्रिया दिनुको साटो के हामी आफ्ना पीडा र बिरोधलाई 'नयाँ र बढ्ता प्रभावशाली' उपायहरूद्वारा व्यक्त गर्न सक्छांै कि ?
भारतमा अन्ना हजारेको अभियानलाई सामान्य जनता र पढेलेखेका दुवैथरी लाखौंलाख मानिसले शान्तिपूर्वक सडकमा ओर्लिएर जसरी समर्थन गरेका छन्, के त्यसबाट हामीले केही सिक्ने क्षमता राख्छांै ? राजनीतिक नेताहरूले आफ्नो काम नगरिदिएको अवस्थामा के नेपाली जनता आफैं संगठित हुन सक्छन् ? के नेपालमा विदेशी दातृ निकायको मद्दतबिना कुनै बृहत् सामाजिक अभियान चलाउन सकिन्छ ? के हामी फेसबुक, टवटरजस्ता सामाजिक सञ्जालसमेत प्रयोग गरेर एउटा निर्णायक दबाब दिने जनसमूह निर्माण गरी ठूलो संख्यामा सडकमा उत्रन सक्छौं ? भीड जम्मा नभई, कसैले केही पनि नसुन्ने संस्कृति भएको ठाउँमा प्रभावकारी जनदबाबका अरू वैकल्पिक उपाय के/के हुन सक्छन् ? कि अहिलेजस्तै हामी वर्षैभरि आफ्नै गाईजात्रा हेरेर, खितखित हाँसेर, कोठे विरोध गरेर, सेमिनारहरूमा दन्त बजान गरेर वा रोएर बाँकी समय काट्ने ? 
हामीले अत्यन्तै गहिरो तबरबाट बुझ्नुपर्ने कुरा के छ भने- लोकतन्त्रको जुन प्रारूपमा हामी छौं, त्यसअन्तर्गत जनहितका सीमाभित्र रहेर राजनीति गर्नुपर्ने काम राजनीतिक दलहरूको हो । फेरि एकपटक दोहोर्‍याउँ- जनहितमा राजनीति गर्ने काम निःसन्देह रूपले राजनीतिक दलहरूकै हो । तर यदि दलहरूले त्यसो गरेनन् भने आम जनताले के गर्न सक्छन् ? निर्लज्ज नेताहरूले साँच्चिकै महसुस गर्ने सक्ने 'संगठित जनदबाब' दिने हालतमा नेपाली समाज पुगेको छ वा छैन ? हाम्रो कथित नागरिक समाजका कति प्रतिशत 'अगुवा' हरू वास्तवमा कुनै अगुवा-सगुवा नभएर यथार्थमा 'ग' श्रेणीका राजनीतिक कार्यकर्तामात्र हुन् ? के नेपालमा शान्ति र संविधानका नीम्ति साँचो अर्थमा 'क' श्रेणीका नेताहरूले महसुस गर्ने गरी कुनै जनदबाब दिन सकिन्छ ? कि हामी सबै या त कोठामा नेताहरूलाई सराप्दै वा टेलिभिजन हेरेर खितखित हाँस्दै दिन कटाउने ? आफ्नै गाईजात्रा वर्षैभरि हेर्न हामीसँग हास्यव्यंग्य कार्यक्रममात्र होइन, 'राजनीतिक अन्तर्वार्तामा आधारित 'टक सो' हरू पनि छन् । कतिपय पुराना मानिसहरू मलाई भन्छन्, 'विजयजी, नेपालमा टेलिभिजन टक शो भित्र्याउन तपाईंको ठूलो योगदान छ ।'  सुनेर म वाल्ल पर्छु, रोउँ कि हाँसु ? आज नेपालका टेलिभिजन स्टेसनहरू संसारमा सबैभन्दा धेरै राजनीतिक टक शो देखाउने भाँडो बनेका
छन् । यसो हुनाको कारण र कारकबारे कुनै अर्को दिन चर्चा गरौंला । अहिलेका निम्ति मूल विषयमा फर्कौं ।
के आम जनतासँग कुनै उपाय छ, जसले गर्दा राजनीतिक दलहरूमाथि निर्णायक दबाब हाल्न सकियोस् ? के चक्काजाम, बन्द, हडताल आदि केही नगरिकन पनि शान्तिपूर्ण ढंगले दबाब दिन सकिन्छ ? के आम जनताको दैनिक जीवनमा कुनै दुःख नदिइकन पनि आफ्नो विरोध प्रकट गर्न सकिन्छ ? यसको सोझो उत्तर हुन्छ- सकिन्छ, सकिन्छ र सकिन्छ । गौतम बुद्धको मार्गबाट सकिन्छ । महात्मा गान्धीको मार्गबाट सकिन्छ । भारतमा भर्खरै गान्धीवादी अन्ना हजारेले जे गरेर देखाएका छन्, त्यो महान् कार्यबाट हामीले पनि ठूलो शिक्षा लिनुपर्छ । अन्ना हजारेले- आन्दोलन त यसरी पनि गर्न सकिन्छ भन्ने महान् शिक्षा सारा संसारलाई दिएका छन् । गान्धीको नाममात्र सुनेका हामीलाई महात्माको जीवन्त छाया देखाएका छन् । अन्ना हजारे आन्दोलनका अद्भुत दृश्यहरू मैले घन्टौं बसेर टेलिभिजनमा हेरें । न कुनै बन्द, न हडताल, न तोडफोड, न कसैलाई जबर्जस्ती । लाखौं जनता यसरी शालीनता र शान्तिपूर्वक सडकमा ओर्लिए कि भारत सरकारको अहंकार चूर्ण-चूर्ण भयो ।
अहिले नेपाल आफ्नो इतिहासको एक अपूर्व कालखण्डमा छ । जनताले शान्ति र संविधान निर्माण गर्ने जिम्मेवारी दिएको संस्था संविधानसभाले आफ्नो जिम्मेवारी पूरा गरी दिए त जनताले जयजयकार गर्ने थिए । तर अब पनि यो सभाले आफ्नो जिम्मेवारी पूरा गरेर देखाएन भने जनताले के गर्ने भन्ने विषयमा अहिलेदेखि सोच्नु जरुरी छ । फेरि कोठामा बसेर नेताहरूलाई सराप्ने वा नेतालाई जिस्काइएका कार्यक्रम हेरेर खितखित हाँस्दै अखण्ड गाईजात्रा मनाएर रमाउने ? वा राष्ट्रिय दैनिकमा छापिने 'विशेष सम्पादकीय' पढेर चिन्ता व्यक्त गर्ने ? एकदिन गोपाल योञ्जनले मलाई भन्नु हुन्थ्यो- 'यहाँ सबका आँखा माथि उठ्छन्, सूर्यको उज्यालो हेर्न होइन । यहाँ सबका आँखा माथि उठ्छन्, चन्द्रमाको सुन्दरता महसुस गर्न होइन । यहाँ सबका आँखा माथि उठ्छन्, को कहिले खस्छ भनेर !' को प्रधानमन्त्री कहिले कुर्सीबाट खस्ला अथवा मेरो मन नपर्ने मानिसका खराब दिन कहिले आउलान् भनी आकाश हेरेर बस्ने वा केही गर्ने ?
यस्तो पृष्ठभूमिमा संविधानसभालाई जनताले प्रभावकारी र जायज दबाब दिने हो भने मलाई लाग्छ- नयाँ नेपालमा, नयाँ नागरिक समाजको आवश्यकता छ । अब पुरानो नागरिक समाजका केही अगुवाहरू पूर्णकालीन राजनीतिक कार्यकर्ता भएर स्थानान्तरण भए राम्रो हुन्छ । देश र उहाँहरू दुवैको राजनीतिक भविष्यका लागि त्यो शुभ हुनेछ । उहाँहरूले राजनीति नै गर्ने हो भने, ठाउँमै  गर्दा राम्रो । यही कुरा हामी केही मानव अधिकारवादीका निम्ति पनि परीक्षण गर्न सक्छौं । अनि हामी पत्रकार बन्धुका निम्ति मात्र यो नियमको किन अपवाद बाँकी राख्ने ? होइन र ? यसप्रकार खाली भएका ठाउँहरूमा नयाँ मानिसहरू आउन सक्छन् । यस्ता अगुवाहरू जसले सार्वजनिक घोषणा गर्न सकुन्, 'म यो जीवनमा लाभको कुनै पद धारण गर्ने छैन ।' पछिल्ला दिनहरूमा मलाई केही जागरुक युवाहरूले फेसबुक र टवटरजस्ता सामाजिक सञ्जालका माध्यमहरूको महत्त्व र उपादेयता सिकाएका छन् । यी माध्यमहरू पनि जनदबाबका निम्ति धेरै प्रभावकारी साबित हुन सक्छन् ।
म फेरि पनि दोहोर्‍याउन चाहन्छु- देशलाई शान्ति र संविधान दिने काम नेपालको संविधानसभाको हो । तर ऊ 'डबल कुम्भकर्ण' झैं बाहै्र महिना, बाह्रै काल सुतेर बस्ने हो भने उसलाई ब्युँताउने काम जनताको हो । रामायणको कुम्भकर्ण त सानोतिनो आवाजले उठ्दैन थियो भने कलियुगको 'डबल कुम्भकर्ण' सानोतिनो हल्लाले निद्राबाट उठ्ने कुरा पनि त भएन नि । शान्तिपूर्ण, शालीन जनदबाबले परिवर्तनमात्र ल्याउने होइन, ल्याएको परिवर्तनलाई दिगोसमेत बनाउने छ ।        
हास्यव्यंग्यमा मलाई पनि बडा रुचि छ । 'सेन्स अफ ह्युमर', हास्य चेतना नहुने मानिस अपूर्ण मानिस हो । हाम्रा केही हास्यव्यंग्य कलाकारप्रति मलाई स्नेहभाव पनि छ । मदनकृष्ण दाइ र हरिवंशजीका निम्ति त मेरो मनमा अत्यन्तै आदर छ । महजोडी उच्चतम स्तरका कलाकारमात्र होइनन्, अपितु देशका सचेत नागरिक र सच्चा समाजसेवक पनि
हुन् । मैले आज यो स्तम्भमा कोरेका शब्दको पीडा र मर्म सायद उहाँहरूले मभन्दा धेरै गुणा महसुस गर्नु हुन्छ । सबै राजनीतिक तप्काका समर्थकहरूले उहाँहरूप्रति धेरथोर सम्मान राक्नु हुन्छ । आम जनताको प्रेम त उहाँहरूप्रति छँदैछ । यस्तो अवस्थामा उहाँहरूजस्ता, रामेश्वर खनालजस्ता, रामप्रसाद श्रेष्ठजस्ता, अनुराधा कोइराला, महावीर पुन, खगेन्द्र संग्रौला, जगदीश घिमिरेजस्ता मानिसहरू, जसले जीवनमा 'पाउन र गुमाउन' अब धेरै थोक बाँकी छैन- त्यस्ता मानिसहरूले नेपालमा एक नवीन सामाजिक जागरणका नीम्ति नतृत्वदायी भूमिकाको बिजारोपण गर्न सक्छन् । यो सूचीमा धेरै नाम थप्न सकिन्छ, सबै क्षेत्र, वर्गका नाम समावेश गर्न सकिन्छ, चित्त नबुझे एक/दुई नाम घटाउन पनि सकिन्छ । त्यो मूल कुरा होइन । मुख्य तत्त्व भनेको त सामाजिक जागरण हो । जागरणको बीउ यिनीहरूले वा यस्तै खालका मानिसहरूले रोप्न सक्छन् तर मलजल गरेर हुर्काउने काम नयाँ पुस्ताको हो, फेसबुक पुस्ताको हो । हामी सबैले बडा गहिरो तबरले बुझ्नु पर्ने कुरा के छ भने- नेपालमा शान्ति र संविधान निर्माणको असफलताका निम्ति राजनीतिक नेतृत्वमात्र असफल भएको होइन, अपितु हाम्रो सामाजिक, न्यायिक, बौद्धिक र सञ्चार नेतृत्व पनि असफलताको भागी छ । हामी असल भएको भए हाम्रा नेताहरू त्यति खराब हुने थिएनन् ।
जनताले चाहेको कुरा पाउनका लागि उसले आफंै सामाजिक आन्दोलनहरूलाई सघाउन पनि नितान्त जरुरी छ । नेपालमा राजनीतिक आन्दोलनहरू जे जति भए त्यसको तुलनामा सामाजिक आन्दोलन नगन्य छन् । प्रार्थना गरौं- संविधानसभाले आफ्नो काम सम्पन्न गरोस् । साथै त्यसो नभएको खण्डमा निर्णायक जनदबाबको तयारी गरौं । 
vijayko@gmail.com

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out