गुण्डापथमा राजनीति

गएको १५-१६ असारमा विराटनगरमा सम्पन्न पूर्वाञ्चल क्षेत्रीय सुरक्षा सम्मेलनमा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र प्रहरी प्रमुखहरूको साझा गुनासो थियो― कानुन कार्यान्वयनमा राजनीतिक अवरोधले गुण्डागर्दीलाई संस्थागत बनायो। यसबाट अपराध मौलाएको र शान्ति सुरक्षामा गम्भीर चुनौती उब्जिएको सम्मेलनको निष्कर्ष थियो। त्यसअघि ८-९ असारमा काभ्रेको धुलिखेलमा भएको मध्यमाञ्चल क्षेत्रीय सुरक्षा भेलाले पनि यस्तै निष्कर्ष निकालेको थियो।
केन्द्रदेखि जिल्ला तहसम्मका सुरक्षा अधिकारीहरू कानुन कार्यान्वयनमा राजनीतिक दलहरूलाई मुख्य चुनौती ठान्छन्। २३ जेठमा विराटनगरका पत्रकार खिलानाथ ढकालमाथिको आक्रमणका मुख्य योजनाकार पर्शुराम बस्नेतको रक्षाकवच बनेर सरकारको नेतृत्व गर्ने दलकै नेता उभिए। २७ चैत २०६७ मा काठमाडौंमा भएको व्यापारी अञ्जनीकुमार चाचानको हत्यामा संलग्न मङ्गल घलेसहितका व्यक्तिहरूले सत्ताधारी दल माओवादी र एमालेको दबाबमा उन्मुक्ति पाए। एक वरिष्ठ प्रहरी अधिकृत भन्छन्, “राजधानीमा आपराधिक गिरोह सञ्चालन गरिरहेका घले समातिन त समातिए, तर प्रहरीले एमाले र माओवादीको दबाब थेग्न सकेन।”
माओवादी नेता कृष्णबहादुर महराले सम्हालेका गृहमन्त्रालयले अपहरण, हत्यालगायतका गम्भीर अपराधमा संलग्न करिब २०० जनाको मुद्दा फिर्ता लिँदैछ।
सरकार फेरिएपिच्छे चालिने यस्तो कदमले खुँखार अपराधीहरूसमेत सजाय भुक्तान नगरी समाजमा फर्किरहेका छन्। अपराधले राजनीतिको छत्रछायाँ पाएका यस्ता अनेक दृष्टान्त भेटिन्छन्। अपराधशास्त्री प्रा.डा. रजितभक्त प्रधानाङ्ग भन्छन्, “सङ्क्रमणका बेला राजनीति र अपराध थोरबहुत जोडिनु असामान्य होइन, तर नेपालमा त हदै भइसक्यो।”
पैसाको लालच
दुई दशकदेखि राजधानीमा गुण्डागर्दीको नेतृत्व गर्दैआएका दीपक मनाङेले केही समयअघि गुण्डा पुलिससँग, पुलिस नेतासँग र नेता गुण्डासँग डराउँछन् भनेका थिए। राजनीति-अपराध साँठगाँठको अवस्था बुझाउन मनाङेको यो अभिव्यक्ति काफी छ। स-सानो कमाइका लागि गरिने हिजोको गुण्डागर्दी आज व्यावसायिक बनेको छ, लाखौं-करोडौं रुपैयाँको लागि अपराध गर्नेहरू दलका नेतालाई लाखौं-लाख लगानी गर्ने हैसियत राख्छन्। अपराधकर्मबाट धन आर्जन गर्ने माओवादीको तौरतरिका अरू दलले पनि पछ्याएका छन्। एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली भन्छन्, “माओवादीले वाईसिएलमार्फत राज्यलाई निरीह बनाएपछि उसको ज्यादतीविरुद्ध उभिने नाममा अरूले पनि उही अराजक शैली अपनाएका छन्।”

२३ जेठमा विराटनगरका पत्रकार खिलानाथ ढकालमाथिको आक्रमणका मुख्य योजनाकार पर्शुराम बस्नेतको रक्षाकवच बनेर सरकारको नेतृत्व गर्ने दलकै नेता उभिए।
यसरी पैसा थुपार्ने नेताहरू गुण्डाकै आडमा विपक्षीलाई थर्काउने गर्छन्। प्रा.डा. प्रधानाङ्गको विश्लेषणमा, शक्ति र पैसाको लागि दलका नेताहरूले हुर्काइरहेको यो संस्कारले अपराधी-राजनीतिज्ञ दुवैलाई कमाउने बाटो र सुरक्षाको अनुभूति दिएको छ। त्यही भएर अपराधमा कुख्यात धेरैजसो नाइकेहरूलाई ठूला नेताले नै काखी च्यापेर राखेका छन्। अदालतले सजाय ठहर गरेकाहरूले समेत दलहरूको आश्रय पाएका छन् (हे.बक्स)। तिनलाई छुन प्रहरीले पनि डराउनुपर्छ।
माओवादी र एमालेले आ-आफ्ना युवादस्ता वाईसीएल र युथफोर्सलाई जतिसुकै राजनीतिक आवरण दिन खोजे पनि पैसासँग गाँसिएका तिनका आपराधिक क्रियाकलाप अब नछोपिने भइसकेका छन्। नेताहरूले वाईसीएल, युथफोर्स लगायतका दस्तालाई दिएको महत्वले उनीहरूको जनमतप्रति घट्दो भरोसा र गुण्डाप्रति बढ्दो निर्भरता प्रदर्शन गरेको छ। जनमतमा आश्वस्त हुन नसकेका कतिपय नेताहरू आफ्नो प्रभाव जोगाइराख्न लोकतान्त्रिक आचरण बिर्सेर बाहुबलमा भर परेका छन्। आम जनतालाई आफ्नो ज्यान आफैं बचाऊ भन्ने सन्देश दिँदै उनीहरू राज्यका अङ्गलाई बलियो बनाउनतिर हैन, गुण्डा समूह बनाउन उद्यत भएका छन्। परिणाम, राज्य अपराध नियन्त्रक होइन संरक्षक हुँदैछ। नेताहरू वैचारिक, राजनीतिक र चुनावी प्रतिस्पर्धामा अब्बल हुन आँखा चिम्लेर मनी र मसलको जोहोमा लागेका छन्। एमाले नेता ज्ञवाली भन्छन्, “त्यस्तै लाभको आकाङ्क्षाले नेता र गुण्डाहरूलाई एकठाउँ उभ्याइदिएको छ।”
कुनै गुण्डा समातिनै हुँदैन, तिनलाई छुटाउन दलका केन्द्रीय नेताहरू नै प्रहरी कार्यालय आइपुग्छन्। राजनीतिमा गुण्डागर्दीको बोलवाला कतिसम्म छ भने नेताहरू अचेल जिल्लामा जाँदा पुराना र त्यागी कार्यकर्तासँग तर्कन्छन्। किनभने, गुण्डागर्दीलाई प्रश्रय दिने नेताका कार्यशैलीमा औंला उठाउन बेर नलगाउने ती कार्यकर्ताले उनीहरूलाई गाडी र आउरे-बाउरेका लस्कर लगाइदिन सक्दैनन्। अपराधका नाइके र तिनले जुटाउने गाडी तथा भाडाका मानिसहरूबाट घेरिन पाउँदा उनीहरूको शान नै बेग्लै हुन्छ। पूर्वी तराईमा कार्यरत एक प्रमुख जिल्ला अधिकारी भन्छन्, “हिजोका अञ्चलाधीश जस्ता भएर बसेका लोकल गुण्डाहरूले एककल फोनको भरमा गाडी र मानिसको लाइन लगाइदिन्छन्, जुन काम सिडिओ र एसपीले गर्न सक्दैनन्।”
समानान्तर सत्ता
खुकुरी र नाइनस्टिकको भरमा चलेको हिजोको गुण्डागर्दी केही भ्रष्ट प्रहरीबाट संरक्षित थियो। आज दलका ठूल्ठूला नेतादेखि मन्त्रीसम्मको संरक्षण पाएका गुण्डाका हात-हातमा बन्दुक छ। रात्रि व्यवसाय र कमिसनबाट पालिएका गुण्डाहरू क वर्गका ठेकेदार तथा रेस्टुरेन्ट, जग्गा प्लटिङ, हाउजिङ, म्यानपावर एजेन्सी, व्यापारिक कम्प्लेक्स, बालुवाखानी, क्रसर उद्योग आदिका मालिक बनेका छन्। आर्थिक र राजनीतिक हिसाबले शक्तिवान बनेपछि तिनीहरूका लागि जलविद्युत् जस्ता ठूलो लगानीका विकास आयोजनाबाट ५-१० प्रतिशत कमिसन असुल्नु सामान्य भएको छ। वाईसीएल, युथफोर्स जस्ता दस्ताको त झ्न् के कुरा?
 अपराध र गुण्डागर्दीले राज्य संयन्त्रलाई पङ्गु बनाउँदैछ। गुण्डागर्दीले प्रश्रय पाउँदा राज्यले आफ्नो स्थान गुमाएको छ। बयानका लागि ल्याइएका बन्दीमाथि अदालतभित्रै हमला गर्ने युथफोर्स मोरङ र त्यसका अध्यक्ष पर्शुराम बस्नेतबारे समाचार लेख्ने पत्रकारको ज्यानै लिन खोजियो। दुवै घटनाका मुख्य योजनाकार बस्नेत विरुद्ध उजुरी परेपछि विराटनगर पुगेका युथफोर्सका केन्द्रीय अध्यक्ष महेश बस्नेतले प्रहरी-प्रशासनलाई सघाउनुको साटो राज्यलाई ललकारे। सत्तारुढ दलका केन्द्रीय नेताहरूको समेत संरक्षण पाएको बस्नेतको अराजकताका अगाडि राज्य निरीह हुनपुग्यो। अपराधशास्त्री प्रधानाङ्ग यो घटनालाई राजनीतिक आडमा मौलाएको गुण्डागर्दीले समानान्तर सत्ताको रूप लिन थालेको सङ्केतको रूपमा लिन्छन्।
मुलुकको अर्थतन्त्रको एउटा ठूलो हिस्सामा कब्जा जमाएका डनहरूले राज्यका कतिपय सिस्टम नै प्रभावित पारेका छन्। “आज गुण्डागर्दी पैसाको लागि मात्र होइन, पावरका लागि हुनथालेको छ”, प्रा.डा. प्रधानाङ्ग भन्छन्, “अपराधीहरू शक्तिको अभ्यास गर्न खोज्दैछन्।” कतिपय सुरक्षाविज्ञहरूका भनाइमा, गुण्डागर्दीमार्फत स्थानीय शक्ति जन्माउने यो प्रक्रियाले राज्यको वैधानिकतामाथि प्रहार गरिरहेको छ र यसको गन्तव्य अराजकताबाहेक अर्को हुँदैन।
शक्ति विस्तार गर्ने मनसायबाट होस् या पराजित मानसिकताको तुष्टिका लागि, नेताहरूले गुण्डा-अपराधी पालेर आफ्नै खुट्टामा बञ्चरो हानिरहेका छन्। माओवादी सम्बद्ध मजदुर सङ्गठनका जनक बर्तौलाले एमाओवादी पार्टीको केन्द्रीय कार्यालयमै गएर उपाध्यक्ष डा. बाबुराम भट्टराईको सफाया गर्न साथीहरू बोलाएको धेरै भएको छैन। कुनैबेला एमाले-काङ्ग्रेस कार्यकर्तामाथि आक्रमण गरेर वाहवाहीका साथ एमाओवादीमा स्थान पाएका बर्तौलालाई काँध चढाएका माओवादी नेताहरू उनको निशाना आफैंतिर फर्केपछि सशङ्कित बनेको हुनुपर्छ, भलै पार्टीकै आन्तरिक प्रतिद्वन्द्विताको अगाडि यो प्रकरणले महत्व नपाएको किन नहोस्। दीपक मनाङेलाई उपाध्यक्ष बनाएका संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका जनसम्पर्क विभाग प्रमुख चन्द्रनारायण चौधरीले पार्टीको बैठकमै चड्कन खाए। पर्शुराम बस्नेतहरूलाई संरक्षण दिँदा एमालेले योभन्दा विषालु परिणाम भोगिरहेको छ।
यो प्रवृत्तिले निरन्तरता पाउने हो भने नेताले गुण्डा होइन, गुण्डाले नेता चलाउने दिन आउन बेर लाग्दैन। यस्तै भइरहे नेताहरूले छिटै गुण्डाहरूमाथिको नियन्त्रण गुमाउने बताउँदै एक वरिष्ठ प्रहरी अधिकृत त यतिसम्म भन्छन्, “एमालेको राजनीतिक विचारबाट प्रशिक्षित नेता-कार्यकर्ताहरूलाई पाखा लगाएर भोलि पर्शुराम बस्नेतहरूले चुनाव जिते भने के हुन्छ?” 
को हुन् गु०डा?
नेपाल प्रज्ञा-प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश (सातौं संस्करण, २०६७)ले गुण्डागर्दी (गुण्डागिरी)लाई “दल वा गठ बनाई सीधासाधा व्यक्तिहरूलाई ढाँट्ने, छल्ने, लुट्ने, पिट्ने आदि काम; बदमासी चाल” भनेको छ। सात दशकयताको नेपाली राजनीतिलाई नियाल्दा गुण्डागर्दीका अनेक रुप र चरण भेटिन्छन्। राणाशासन फाल्ने अभियानमा होमिएका जुझारु युवाहरू गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमादेखि गणेशमान सिंहलाई पनि त्यसबेला गुण्डा भनिन्थ्यो। पञ्चायतकालमा गुण्डाका रूपमा चर्चित दीपक बोहरा, कमल थापा, उत्तम राईहरू दरबारको लागि राम्रैसँग उपयोग भए। दरबारको हित विरुद्ध कलम चलाएका पत्रकार पदम ठकुराठीमाथि गोली चलाउने जगत-भीमप्रसाद गौचनहरू पनि दरबारको इशारामा चल्ने गुण्डा थिए।
२०४६ सालपछि शक्तिमा पुग्नेहरूले पनि पैसा, विरोधीको दमन र चुनावी लाभका लागि गुण्डा नै प्रयोग गरे। २०५४ को स्थानीय निर्वाचनमा एमालेको भोट बढाउन तत्कालीन गृहमन्त्री वामदेव गौतमको सारथि बनेका पोखराका खुँखार गुण्डा टङ्क गौचनलाई २०५६ को आम निर्वाचनमा काङ्ग्रेसका नारायणसिंह पुनले प्रयोग गरेका थिए। गौचनको पछि माओवादीले हत्या गर्‍यो।
२०६३ पछि भने सङ्गठित गुण्डागर्दीका लागि देशव्यापी रूपमा माओवादीको वाईसीएल उदायो। उसको अपहरण, लुटपाट र हत्यासम्मका कृत्यबाट अत्तालिएका अरू पार्टीले पनि गुण्डा नभई नहुने सोच बनाएको पछिल्लो परिणाम विराटनगरको पर्शुराम प्रकरणलाई मान्न सकिन्छ। आज प्रायः सबै दल लडाकू दस्ता बनाउने होडमा छन्। भनिरहनुपर्दैन, यस्ता दस्तामा पेशेवर अपराधी र गुण्डाहरूकै बोलवाला छ।
राणाकालमा गणेशमान सिंहहरूले गरेको गुण्डागर्दी अन्यायको विरोध र प्रजातन्त्र प्राप्तिको उद्देश्यबाट प्रेरित थियो। पञ्चायतकालमा मोजमस्ती र धाक-रवाफका लागि गुण्डागर्दीमा लागेका मण्डलेहरू सरकारबाटै परिचालित हुने भएकाले राज्यलाई चुनौती दिने हैसियत राख्दैनथे। २०४६ पछि नेताहरूले प्रयोग गरेका गुण्डाहरूसँग पनि राज्यलाई थ्रेट दिनसक्ने खुबी र आँट थिएन। तर, नेता संरक्षित र हतियारले सुसज्जित आजका गुण्डाहरूले राज्यलाई नै निरीह बनाउन थालेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out