नमुना बन्ने प्रयत्न गर्नेछु बाबुराम भट्टराई, नवनिर्वाचित प्रधानमन्त्री

प्रधानमन्त्री चुनिएलगत्तै आइतबार साँझ सरकारका प्राथमिकता र चुनौतीलगायत विषयमा कान्तिपुरका गोपाल खनाल र गंगा बीसीले भट्टराईसँग गरेको कुराकानी- 

तपाईंका प्रमुख प्राथमिकता के-के हुन् ?
पहिलो प्राथमिकता विस्तृत शान्ति सम्झौताअन्तर्गत मुलुकलाई सार्थक निष्कर्षमा पुर्‍याउनु हो । त्यसका निम्ति कार्यतालिका बनाइसकेका छौं । राष्ट्रिय सहमति बनाएर यो अभिभारा पूरा गर्ने मेरो पहिलो प्राथमिकता हुन्छ । दोस्रो, ठूलो राजनीतिक कार्यभार संविधानसभाबाट अग्रगामी संघीय ढाँचासहितको संविधान बनाउने नै हो । त्यसका निम्ति राष्ट्रिय सहमति बनाउने काम हो । यी प्रमुख प्रथमिकता हुन् ।
तेस्रो भनेको जनता गरिबी, बेरोजगारी र महँगीबाट पीडित छन् । ती जनतालाई राहत दिन के गर्न सक्छांै, त्यसका लागि राहत प्रदान गर्ने हुन्छ । चौथो, राज्यसत्ता ढिलासुस्ती र भ्रष्टाचारबाट आक्रान्त छ । जनताले सेवा राम्रो नपाएको स्थिति छ, त्यसका लागि सुशासन दिने प्रयत्न हुन्छ । त्यसका लागि आफू नमुना बनेर देखाउने प्रयत्न हुन्छ । पाँचौं, समग्र आर्थिक विकास नगरेसम्म देशको विकास गर्न सक्दनौं । छोटो समयमा धेरै गर्न नसकिएला तर लगानी मैत्री वातावरण बनाएर अघि बढ्ने र रोजगारी सिर्जना गर्न आर्थिक विकासको प्रारूप तयार गर्ने काम पनि हुन्छ ।
तपाईं अप्ठ्यारो स्थितिमा प्रधानमन्त्री बन्नु भएको छ, कसरी यो अप्ठ्यारो यात्रामा सफलता पाउनु हुन्छ ?
यात्रा अप्ठ्यारो घुम्ती हुँदै गन्तव्यमा पुग्छ । सजिलो यात्राबाट मात्र गन्तव्यमा पुगिन्छ भन्ने होइन । शान्ति र संविधान मुख्य कार्यभार हो । बहुमतीय प्रणालीबाट सरकार बने पनि राजनीतिक मुद्दामा सहमतिबाट अघि बढ्छ । संविधान निर्माण दुई तिहाइ बहुमतबाटै अघि बढ्छ । त्यसका निम्ति सबै प्रमुख दलको सहभागिताबिना सम्भव छैन । राष्ट्रिय सहमति अनिवार्य छ । सरकारमा सहमति बनेन भन्दैमा शान्ति र संविधानमा राष्ट्रिय सहमति बन्दैन भन्ने हुँदैन । सबै प्रमुख दलका प्रमुख नेता रहेको उच्चस्तरीय संयन्त्र बनाउँछौं ।
त्यो राजनीतिक संयन्त्रलाई सबै राजनीतिक दलहरूलाई शान्ति र संविधानमा अग्रसर गराउँछौं । यसरी राष्ट्रिय सहमति बनाउँछांै । निश्चित अवधिमा पूरा गरेपछि अरू दल कांग्रेस, एमालेलाई फेरि सरकारमा सहभागी गराउने प्रयत्न हुन्छ । म त्यसमा सफल हुन्छु भन्ने विश्वास छ ।
शान्ति प्रक्रिया कति छिटो अघि बढ्ला ?
हामीलाई समयको चाप निकै छ । छिट्ट्रै मन्त्रिमण्डललाई पूर्णता दिनेबित्तिकै शान्ति प्रक्रिया अघि बढाउने काममा लाग्छु । हाम्रो पार्टीले निर्णय गरेजस्तै डेढ महिनाभित्र शान्ति प्रक्रिया टुंग्याउन सहमति खोजिनेछ । भ्रम के नरहोस् भने म आउनबित्तिकै डेढ महिनामा पूरा गर्ने भन्ने होइन । सहमति निर्माण गरी कार्यान्वयनमा जाने काम हुन्छ ।
नागरिकलाई राहत दिन संसद्मा पेस भएको बजेट संशोधन गर्नुहुन्छ ?
बजेटलाई आवश्यक सुधार गर्छौं भन्ने प्रतिबद्धता गरेका छौं । पुरानो सरकारले ल्याएको बजेट पारित भएको छैन । के विधिबाट परिमार्जन गर्न सकिन्छ भन्नेमा छलफल गर्नेछांै । त्यसबारे अर्थ मन्त्रालयसँग परामर्श लिन सुरु भएको छ ।
मधेसवादी दलहरूसँग सहकार्य कस्तो होला ?
वास्तवमा नेपालको मुख्य परिवर्तनकामी पहिलो शक्ति माओवादी हो । जनयुद्धको जगमा बनेको शक्ति हो । अर्को भनेको मधेसवादी शक्ति हो । उनीहरू पनि संघर्ष र संविधानसभाबाट आएका हुन् । उनीहरूसँगको एकताले अग्रगमनको परिवर्तनको आधार तयार गर्छ । माओवादी र मधेसवादीबीचको सहकार्य महत्त्वपूर्ण सुरुआत हो ।
संविधानसभाको म्याद सकिँदै छ, कसरी सहमति गर्नुहुन्छ ?
हामी तुरुन्तै भोलि नै पहिलेको सरकारले प्रस्तुत गरेको विधेयकलाई अपनत्व ग्रहण गरेर प्रस्तुत गर्छौं । पहिलेको सरकारले तीन महिना म्याद थप्ने प्रस्ताव गरेको छ, त्यो पर्याप्त हुँदैन । सबै राजनीतिक दलसँग सहमति जुटाएर प्रस्तुत गर्ने काम हुन्छ । मोटामोटी ६ महिना थप्ने गरी सहमति खोजिने छ ।
मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ ?
सानो मन्त्रिपरिषद् भोलि (सोमबार) बनाउँछु । त्यसपछि केही दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ । ठूलो मन्त्रिपरिषद् बनाउनु हुँदैन भन्ने पक्षमा छु । ठूला मन्त्रालयमा पनि आवश्यकताअनुसार राज्यमन्त्री राख्नुपर्छ भन्ने सोचाइमा छु । मन्त्रिपरिषद् बनाउन आवश्यक मापदण्ड बनाउने विचार गरेको छु । मन्त्री हुनका लागि निर्वाचित सभासद हुनुपर्छ । समावेशी, महिला, जनजाति र दलित हुनुपर्छ । अरू घटकलाई पनि त्यहीअनुसार संरचना बनाउन आग्रह गरेको छु ।
शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन पार्टीभित्र र बाहिर दबाब छ, कसरी मिलाउनु हुन्छ ?
म पूर्ण विश्वस्त छु । माओवादी पूर्णरूपमा एकताबद्ध छ । शान्ति र संविधानको कार्ययोजना एकढिक्का भएर आएको छ । पार्टीभित्र बहस त भइहाल्छ । पार्टी बाहिरबाट पनि सबैलाई मिलाएर जाने प्रयत्न हुन्छ ।
दुई छिमेकी भारत र चीनसँग कसरी सम्बन्ध विस्तार गर्नुहुन्छ ?
पृथ्वीनारायण शाहको पालादेखि नेपाल दुई ढुंगाबीचको तरुल भन्ने सोच पुरानो हो । अहिलको वित्तीय भूमण्डलीकरणको विज्ञान र प्रविधि विकास गरेको युगमा दुई ढुंगाको तरुल भएर कोही पनि बस्न सक्दैन । चीन र भारतसँग जीवन्त प्रकारको सम्बन्ध हुनु पर्छ । त्यहीअनुसार विदेश नीति बनाउनुपर्छ । दुई छिमेकीसँग सन्तुलित सम्बन्ध राख्ने काम गर्नुपर्छ । पञ्चशीलका आधारमा सम्बन्ध विकास गर्नुपर्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out