गुण्डाको साम्राज्य

तीन वर्षअघिसम्म राजधानीको कुख्यात गुण्डाको प्रहरी सूचीमा थिए, काजी शेर्पा। प्रहरीले उनलाई विभिन्न आपराधिक घटनामा समातेर कारबाही पनि चलाएको थियो। तर, अहिले उनै काजी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जवानको छाक टार्ने राशन ठेकेदार बनेका छन्। उनले नेपाल प्रहरीका १५००० जना लाई राशन खुवाउने रु.३० करोड ६५ लाख ५ हजार १०७ को ठेक्का लिएका छन्। यसका साथै उनले नेपाली सेना र सशस्त्र प्रहरी बलका लागि पनि ०६४ साल देखि राशन ठेक्का पाउदै आएका छन्। हनुमानढोकास्थित महानगरीय परिसर र अपराध महाशाखाको गुण्डा सूचीबाट काजी र उनका दाहिने हात मानिने मनराज गुरुङको नाम र तस्बिर हटिसकेको छ। मनराज तिनै फरार गुण्डा हुन् जसले १३ साउन २०६४ मा काठमाडौंबाट दस्ता लगेर दोलखाका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापालाई कार्यकक्षमै कुटेका थिए। काजीलगायत कुनै समयका टोले गुण्डाहरूको यस्तो प्रगतिको पछाडि नेताहरूको राजनीतिक छहारी र प्रहरीको संरक्षणले ठूलो काम गरेको छ। बितेको दुई दशकमा उनीहरूको सङ्गठित अपराधको जालो रात्रि व्यवसाय, जग्गा प्लटिङ, म्यानपावर, ठेक्कापट्टा, बालुवाखानी, व्यापारिक कम्प्लेक्स, पार्किङ, रेस्टुरेन्ट, रक्तचन्दन तस्करी आदि क्षेत्रमा फैलिएको छ। केही हजार रुपैयाँका लागि समूह बनाएर गुण्डागर्दी गर्नेहरू अहिले क श्रेणीका ठेकेदार बनेका छन्। उनीहरूले राजनीतिक संरक्षण र गुण्डागर्दीको बलमा हरेक आर्थिक क्षेत्रलाई दुहुनो गाई बनाएका छन्। महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख केदार रिजाल भन्छन्, “वैध देखिने व्यवसायसँगै पुरानो धन्दा पनि चलाइरहेका छन्।”
गुण्डा पीडितहरू हत्तपत्त प्रहरीमा जाहेरी नै दिँदैनन्। कुनै गुण्डा विरुद्ध उजुरी पर्‍यो र प्रहरीले समात्यो भने पनि राजनीतिक पहुँच र पैसाको बलमा हुँकार गर्दै छुटिहाल्छन्। जेल नै परेकाहरूले पनि त्यहीँबाट आपराधिक धन्दा चलाएका छन्। हाल केन्द्रीय कारागारमा रहेका मिलन गुरुङ (चक्रे)ले भित्रै बसी-बसी केटा परिचालन गरेर १० फागुन २०६७ मा बसुन्धरास्थित ह्याबिटाट हाउजिङ कम्पनीमा आगजनी गर्दा स्काभेटर सहचालक यादव सिलवाल मुश्किलले बाँचेका थिए। चक्रेले रु.२ करोड बराबरको १५ प्रतिशत शेयर नदिएकोमा उक्त हाउजिङमा हमला गराएका थिए।

गुण्डाहरू राजनीतिज्ञहरूसँग कति नजिक छन् भने, १४ वैशाखमा अपराध महाशाखा हनुमानढोकाले मङ्गल घलेसहित उनको समूहका पाँच जना र पूर्ण गुरुङलाई पक्राउ गर्दा नेताहरूको फोन आतङ्क नै चल्यो, प्रहरीमा। धम्क्याउँदै रकम उठाएको उजुरी परेपछि ९ जेठमा पक्राउ परेका गुरुङ आफैं नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नं. २ का महाधिवेशन प्रतिनिधि रहेछन्। प्रहरीले युवासंघ धादिङका उपाध्यक्ष दिनेश अधिकारी (चरी)लाई पनि जेठको तेस्रो साता खुँडाखुकुरीसहित समात्यो, तर एमालेले चारै दिनमा छुटायो। खाग तस्करीमा फेरि समातिएर चरीले एमाले नेताहरूलाई अप्ठ्यारोमा पारिदिएका छन्। काठमाडौंमा व्यापार गर्ने भारतीय नागरिक अञ्जनीकुमार चाचानको हत्यामा संलग्न देखिएका मङ्गल घलेसहित उनको समूहका रोशन तामाङ, रमेश लामा, हिमाल कार्की लगायतलाई छुटाउन सत्तारुढ दल एमाले र एनेकपा मावादी नेताहरूले प्रहरीलाई थेगिनसक्नु दबाब दिएका थिए।

गुण्डाहरूको सञ्जाल
२०४६ सालपछिको खुला राजनीतिक परिवेशमा उब्जिएका सानातिना टोले दादाहरूले यति प्रगति गरेका छन् कि तिनीहरूको दबदबाले समाजको हरेक क्षेत्रलाई जकड्दै लगेको छ। यस्ता गुण्डाहरूले अब त दलको जामा पनि पहिरिन थालेका छन्। यसबाट प्रहरीको मनोबल गिर्दोछ भने गुण्डातन्त्र बढ्दो छ। हिजो खुकुरीका भरमा धाकधम्की दिनेहरूको हातहातमा अत्याधुनिक पेस्तोल छ। उपत्यकामा कार्यरत एक प्रहरी अधिकृत भन्छन्, “कुनै दादालाई समात्यो कि छाड्ने आदेश आइहाल्छ, अनि कसरी काम गर्ने?”
हुन पनि, हिजो पैसाका लागि अपराध गर्नेहरू अहिले अपराध गराउन पैसा खर्च गर्छन्। नेताहरूलाई परेको बेला पैसाको बिटो र गुण्डाको लस्कर लगाइदिने भएकाले यिनीहरूको पहुँच सबै दलका नेतृत्व तहसम्म विस्तार भएको छ। प्रहरीलाई उनीहरूको बढ्दो सञ्जाल तोड्न कठिन भइरहेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख डीआईजी राजेन्द्रसिंह भण्डारी सङ्गठित अपराधको प्रवृत्ति हेर्दा राज्यको समानान्तर फोर्स बन्न लागेको आभास हुने बताउँछन्। “आपराधिक समूहका नाइकेहरू समाजमा विशिष्ट सुविधा प्राप्त वर्गका रूपमा उदाउँदै छन्”, उनी भन्छन्, “तर, प्रहरीलाई स्वतन्त्र ढङ्गले काम गर्न मात्र दिने हो भने गुण्डा नियन्त्रण अझ्ै पनि ठूलो समस्या हैन।”
टोल र क्षेत्रका दादाहरू गएको दुई दशकमा राज्यमै हावी हुन थालेका छन्। क्षेत्रपाटीमा दीपक मनाङे, महाराजगञ्ज-चक्रपथमा मिलन गुरुङ (चक्रे) र चाबहिल क्षेत्रमा राजु गोर्खालीले गुण्डातन्त्रको जग हालेका थिए। यसरी प्रभाव विस्तार गर्दै गएका यिनीहरूलाई राजनीतिक नेताहरूले काखी च्याप्न थाले। मिडियाले डन भनेका यीमध्ये चक्रे मिलनले शुरुदेखि नै एमाले, दीपक मनाङेले राष्ट्रिय प्रजातन्त्र पार्टी र राजु गोर्खालीले नेपाली काङ्ग्रेसको छाता ढेका थिए।
मनाङेले ठमेल र आसपास क्षेत्रका होटल, रेस्टुरेन्ट र रात्रि व्यवसायमा प्रभाव बढाए। गोर्खाली र चत्रे्कले निर्माण क्षेत्र, बालुवा र ढुङ्गाखानीतिर चासो लगाए। नेपालीहरू वैदेशिक रोजगारीमा जाने क्रमसँगै म्यानपावर कम्पनीहरू बढ्न थालेपछि यिनीहरूको आम्दानीको नयाँ क्षेत्र खुल्यो जसमा चक्रेले बढी प्रभाव जमाएको मानिन्छ। म्यानपावर कम्पनीहरूमा मौलाएको ठगी धन्दाका कारण पीडितले कानुनी उपचारबाट डुबेको रकम फिर्ता पाउने सम्भावना न्यून भएकाले डनहरूका लागि यो क्षेत्र अहिले पनि भरपर्दो आम्दानीको स्रोत बनिरहेकै छ।
मनाङे, चक्रे र गोर्खालीको तीन समूहको विकास क्रममा एकपछि अर्को समूह बन्दै अहिले उपत्यकामा २१ वटा सङ्गठित समूह पुगेको प्रहरीले पहिचान गरेको छ। तीमध्ये १३ वटा ठूला समूहमा सरदर ३०० गुण्डा आवद्ध छन्। गोर्खालीको पलायनपछि काठमाडौंका तेस्रो डन का रूपमा उदाएका गणेश लामा शुरुमा मनाङेकै केटा थिए। काजी शेर्पा पनि मनाङेकै छत्रछायाँमा हुर्केका हुन्। चक्रे र मनाङेको जेल यात्रा शुरु भएपछि लामाले राजधानीमा काभ्रेली समूह बनाएर क्यासिनो, हाउजिङ र बालुवाखानीमा हात हाले। काजी बालुवा, हाउजिङ र ठेक्का-पट्टाको क्षेत्रमा जम्दै गए। डनहरूमा काजी शेर्पा नै एक जना त्यस्ता खेलाडी हुन् जसले मनाङे र चक्रेपछि कुमार घैंटेदेखि मनराज गुरुङ र समिर बस्नेतहरूसँग सहकार्य गर्दै आएका छन् (हे.बक्स)। उनले अरूको समूहमा फुट पार्नेदेखि प्रतिद्वन्द्वीलाई जेल-यात्रा गराउनेसम्मको भूमिका खेल्दै आएको बताइन्छ।
चक्रे र मनाङेको एकअर्कालाई सिध्याउने काटाकाटले अरू समूहलाई हुर्कन सजिलो भएको अपराध अनुसन्धान क्षेत्रका व्यक्तिहरू बताउँछन्। चक्रे र मनाङे जेल पर्न थालेपछि अरू गुण्डा बीच आपसमा नलडी आ-आफ्नो क्षेत्रमा गरेर खाने आन्तरिक सहमति नै भएको गणेश लामा बताउँछन्। उनले भने, “त्यस्तो सहमति नभएको भए समूहहरू आपसी मारकाटबाटै सिद्धिन्थे।” २५ असारमा हिमाल सँग कुरा गर्दा आफू बेइमानीको दुनियाँ छाडेर राजनीति र व्यवसायमा जमिसकेको बताएका उनी ६ साउनमा फेरि प्रहरी हिरासतमा पुगेका छन्, चेक बाउन्सको केसमा।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको साथ पाएपछि ठूल्ठूला टेण्डर हत्याउन थालेका लामा अहिले क श्रेणीका ठेकेदार हुन्। मनाङेको हात समातेर राजधानीको आपराधिक संसारमा छिरेका उनी २०६० पछि रक्तचन्दन तस्करीमा लागेपछि रातारात चम्किएका थिए। अहिले उनका सिरुवा कन्ट्रक्सन, मेलम्ची एकोन क्रसर जस्ता ठूला कम्पनीहरू सञ्चालनमा छन्।

अपराधमा प्रहरीको साथ
२०४६ पछि जरा गाडेको गुण्डातन्त्रले अहिले राज्यको प्रशासनिक तहलाई प्रभावित पार्ने हैसियत बनाइसकेको छ। गुण्डातन्त्रलाई मजबुत बनाउनेमा भ्रष्ट प्रहरी अधिकृतहरूको ठूलो भूमिका छ। महानगरीय प्रहरी परिसर हनुमानढोकामा एसपी ढकबहादुर कार्कीको कार्यकाल सम्झ्ँदै त्यसबेला उपत्यकामा कार्यरत एक प्रहरी अधिकृत भन्छन्, “प्रहरीले गुण्डा समातेर ल्यायो कि उनी लेनदेन मिलाउन थालिहाल्थे। उनी हनुमानढोकामा प्रहरी प्रमुख रहँदासम्म खुकुरीदेखि गोलीकाण्डसम्मका अपराधीहरूले छुट पाए।”
काजी शेर्पालाई गुण्डाबाट व्यवसायीको अवतारमा ल्याउनेमा कार्कीको ठूलो भूमिका रहेको उनले बताए। एसपी कार्की हनुमानढोकामा छउञ्जेल काजी, मनराज गुरुङलगायतका आधा दर्जन आपराधिक घटनाका फाइलहरू अगाडि बढ्दैनथे, बढाउनै पर्दा पनि मुद्दालाई कमजोर पारेर मात्र। त्यसबेलाका डाइनेष्टी डिस्कोका बाउन्सर सुरेश रिमालमाथि भएको खुकुरी प्रहार, सोह्रखुट्टेको गोगोबार सञ्चालक प्रेम लामामाथिको खुकुरी प्रहार, गोंगबुको शो गर्ल रेस्टुरेन्टमा गणेश लामाका सहयोगी विष्णु लामामाथि भएको गोली प्रहार र चुनदेवीका बालुवाखानी सञ्चालक अशोक राईमाथिको गोली प्रहारलगायतका घटनाहरूलाई एसपी ढकबहादुरले कमाउने माध्यम बनाएका थिए। ज्याठामा दुई प्रहरीलाई मरणासन्न बनाउने मनराज गुरुङमाथि एसपी कार्कीले सार्वजनिक मुद्दा लगाएर उम्काउँदा प्रहरीहरू नै रुष्ट भएका थिए।
त्यसबेला मनराजलाई पक्रने सोह्रखुट्टेका प्रहरी निरीक्षक वेद विष्टलाई जागिर खाइदिने धम्की दिनेदेखि गुण्डा विरुद्ध खरो देखिएका दरबारमार्गका प्रहरी निरीक्षक आभूषण तिम्सिनालाई ६ महिना हेडक्वार्टरमा थन्क्याउने काम समेत एसपी कार्कीले नै गरेका थिए। काठमाडौंमा गुण्डा समूहहरूले त्यही अवधिमा जरा गाडेको प्रहरीहरू बताउँछन्। त्यसबेलाका एक जना प्रहरी अधिकृत भन्छन्, “तत्कालीन आईजीपी मविक्रम राणाको कृपाले काठमाडौं हेर्ने जिम्मा पाएका एसपी कार्कीले गुण्डाहरूसँग गरेको साँठगाँठको मूल्य अहिले राज्यले चुकाउनु परिरहेको छ।”
पैसाका लागि गुण्डा संरक्षण गर्ने प्रहरी अधिकृतमा एसपी कार्की एक्ला हैनन्। ३१ असोज २०६६ मा तिब्बती व्यापारीहरूको रु.३ करोड ९० लाख बराबरको अमेरिकी डलर लुटिएको घटनामा तत्कालीन उपत्यका प्रहरी प्रमुख एआईजी कल्याणकुमार तिमिल्सिना आफैँ मुछिएका थिए। त्यसअघि १८ जेठमा व्यापारी सञ्जय सुरेखालाई अपहरण गरी डेढ करोड रुपैयाँ असुलेर १५ दिनपछि छाडिएको घटनामा पनि तिमिल्सिनाको मिलेमतो देखिएको थियो। यस्ता हाकिमहरूकै कारण प्रहरी फोर्सको बदनाम भएको बताउने अर्का वहालवाला अधिकृत सबै तहका प्रभाग र परिसरहरूमा मनोबल बढाएर स्वतन्त्र रूपमा काम गर्न दिए गुण्डागर्दी नियन्त्रण ठूलो समस्या नभएको ठान्छन्। नाम उल्लेख गर्न नचाहने ती अधिकृत भन्छन्, “समाजको यी क्यान्सरलाई तह लगाउन कि कानुन कार्यान्वयन हुन दिनुपर्‍यो कि त प्रहरीलाई नै ठोक्ने अधिकार दिनुपर्‍यो। हाकिमहरूले नै गुण्डाहरूबाट आर्थिक फाइदा लिँदासम्म तल्लो तहका प्रहरीले मात्र कानुन कार्यान्वयन गर्न सक्दैनन् बरु भ्रष्टहरूकै सिको हुन्छ।”
परिसर र प्रभागका कतिपय प्रहरीको ड्युटी नै गुण्डा पक्रने नभई जोगाउनमा केन्द्रित रहने गर्छ। रकम असुलीदेखि अपहरण र हत्यासम्मका जघन्य अपराधमा कोही समातिने बित्तिकै भ्रष्ट अधिकृतहरू पसिना चुहाउँदै नेताहरूलाई सूचना दिन थाल्छन्। एक प्रहरी अधिकृत भन्छन्, “पैसाका लागि प्रहरी कार्यालयबाट गुण्डाका फोटो र अपराधका फाइल गायब (फाइल सेटिङ) पार्ने हाकिमहरू पनि यहीँ छन्, गुण्डा सिध्याउनुपर्छ भन्नेहरू पनि छन्। प्रहरीमा प्रवृत्तिको कित्ताकाट नभएसम्म केही हुनेवाला छैन।”
प्रहरीमा उच्च तहलाई महिनावारी बुझ्ाउने चलन अझ्ै रहेको बताउने ती अधिकृतका भनाइमा, गुण्डालाई प्रहरीदेखि न्यायाधीश र जेलरसम्मले दुहुनो गाई ठान्दा गुण्डाराजले प्रश्रय पाएको हो। भ्रष्ट अधिकृतहरूले पक्राउ परेको गुण्डाको फाइल सेटिङ रेट रु.४० लाखसम्म पुर्‍याएको उनले बताए। उनी भन्छन्, “पैसाको मुख नहेर्ने हरेक गुण्डाले उम्कने छुट पाएको छ, इमानदार प्रहरीले हेरेको हेर्‍यै हुनुपर्छ।”
अब संयुक्त कारबाही
उपत्यकामा राज गरिरहेका गुण्डा समूहलाई तह लगाउन अहिले आएर नेपाल प्रहरीले संयुक्त कारबाही थालेको छ। उपत्यका मेट्रो प्रहरी, सीआईबी, महानगरीय प्रहरी परिसर, अपराध महाशाखा र मातहतका प्रभागहरू गुण्डा निर्मूल अभियानका लागि अलग्गै टीम बनाउँदै छन्। प्रहरीले पहिचान गरेको २१ वटा गुण्डा ग्याङलाई ए, बी र सी समूहमा वर्गीकरण गरेको त्यसैका लागि हो।
समाजका विभिन्न तहका मानिसहरू सुरक्षा र कानुनी निकासका लागि दादाहरूको शरणमा जाने क्रम बढेको विश्लेषण गरेको प्रहरीले उद्योगी, व्यापारी, म्यानपावर र हाउजिङ व्यवसायीलगायतसँग छलफल शुरु गरेको छ। सीआईबीका प्रमुख डीआईजी भण्डारी कुशासन फैलँदा अपराध मौलाउने भएकाले यस्तो बेलामा सुशासनको पक्षमा अडान लिन आग्रह गर्छन्। उनी भन्छन्, “गुण्डाहरूले राज्यलाई चुनौती दिइरहेका छन्। तलदेखि माथिसम्म झ्ाङ्गिएको घुस संस्कृतिको जालो हटाउन जनताले पनि दृढता देखाउनुपर्छ।”
संयुक्त कारबाहीले प्रहरी र गुण्डाबीचको अवैध सम्बन्धलाई तोड्ने डीआईजी भण्डारीको विश्वास छ। यो अभियानमा गुण्डा समूहका सदस्यमाथि निगरानीदेखि तिनको पुराना फाइलहरू केलाउने रणनीति बनाइएको छ। त्यस्तै, हिजोसम्म अपराधमा संलग्न भएर अकुत सम्पत्ति कमाएकाहरूको छानबिन अघि बढाउने तयारीहरू भइरहेका छन्। भर्खरै उपत्यका प्रहरी प्रमुख भएका एआईजी कुवेरसिंह रानाको नेतृत्वमा सञ्चालन हुने विशेष अप्रेसनले गुण्डा र भ्रष्ट प्रहरीलाई तह लगाएर इमानदारहरूको मनोबल बढाउने विश्वास गरिएको छ।

को हुन् काजी?
२०५० सालतिर सोलुको सल्लेरीबाट राजधानी छिरेका काजी शेर्पाको १५ वर्षको आर्थिक प्रगति पत्याइनसक्नु छ। काठमाडौंमा हण्डर खाने क्रममा म्यानपावर कम्पनीको चौकीदारदेखि डान्सवारमा वाउन्सरसम्म बनेका काजीले दीपक मनाङेको विश्वासपात्र बनेपछि आर्थिक हैसियत आर्जन गर्दै नवधनाढ्यको उचाइ छोएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्।
राजधानीको रात्रि व्यवसायमा स्थापित भएपछि काजी आफ्नो गड फादर मनाङेकै परमशत्रु चक्रे मिलनसँग पनि नजिकिएका थिए। मनाङेका एक सहयोगी माथि खुकुरी प्रहार गरेको घटनामा जेल समेत परेका उनले एकताका गणेश लामासँग समेत सहकार्य गरेका थिए। चक्रे-मनाङे काटाकाटपछि उनले चक्रेका सहयोगी कुमार घैंटेसँग छुट्टै समूह बनाए। प्लाटेनियम डिस्कोका सञ्चालक अमित लामालाई गोली हानेका घैंटे कारोबारबारे काजीसँग छलफल गर्न आउँदा शङ्कर होटलमा प्रहरीको फन्दामा परे। त्यसपछि काजीले मनराज गुरुङ र समिर बस्नेतलाई लिएर अर्को समूह खडा गरे जसको आडमा टेण्डर, कन्ट्रक्सन, बालुवा आदिको धन्दा तीव्र भयो। काजीको समूह आधा दर्जन आपराधिक घटनामा संलग्न रहे पनि काठमाडौंका तत्कालीन प्रहरी प्रमुख ढकबहादुर कार्कीको सहयोगबाट बचिरहे। उनलाई काठमाडौं प्रहरीले पुस २०६५ मा पक्राउ गरे पनि १६ दिनभन्दा बढी थुन्न सकेन।
उनको चाङ्गेस्तान कन्ट्रक्सन प्रालिले गएको मङ्सिरमा १ माघ २०६७ देखि २०६८ पुस मसान्तसम्म प्रहरी मुख्यालय र महानगरीय प्रहरी आयुक्तको कार्यालयका गरी करिब १५ हजार प्रहरीहरूलाई राशन वितरण गर्ने ठेक्का पाएको छ। २०६४ बाटै सशस्त्र प्रहरी बल र नेपाली सेनाको राशन ठेकेदार रहिआएका काजीले सुडान घोटाला काण्डमा निलम्बित डीआईजी रमेश विक्रम शाह प्रबन्ध प्रमुख भएको समयमा नेपाल प्रहरीको पनि राशन टेण्डर हात पारेका हुन्। टि्रपर र स्काभेटरको समेत व्यापार गर्ने उनी ठूलो क्रसर कम्पनी र बालुवा खानी सञ्चालक पनि हुन्। उनका भक्तपुरमा तीन वटा बालुवाखानी र दुई दर्जनभन्दा बढी टि्रपर सञ्चालनमा छन्। अर्बको हाराहारीमा सम्पत्ति जोडिसकेका काजीले धादिङको आँखुखोला-१ विद्युत् परियोजनामा लगानी गरेका छन्। अहिले आफू गुण्डागर्दी छाडेर पूरै व्यवसायमा समर्पित रहेको बताउँदै आएका काजीलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन अन्तर्गत कारबाही चलाउन सकिने भए पनि दह्रो संरक्षणका कारण छुन नसकिएको एक प्रहरी अधिकृत बताउँछन्।

सिडि कुट्नेको शान
यस्तो पनि फरारः १३ साउन २०६४ मा मनिराजको गुण्डा समूह र मावादीबाट कार्यकक्षमै पिटिएका दोलखाका तत्कालीन प्रजिअ उद्धवबहादुर थापा निलडाम देखाउँदै। थापालाई पिटेर निस्कँदै गुण्डाहरु।
बीएमडब्ल्यु कारमा हिँड्ने मनिराज गुरुङ १३ साउन २०६४ मा दोलखाका तत्कालीन प्रजिअ उद्धवबहादुर थापालाई कार्यालयभित्रै कुटेर काठमाडौं फरार भएका थिए। मावादीका जिल्ला नेता विशाल खड्का विरुद्ध सार्वजनिक मुद्दा चलाएको निहुँमा प्रजिअ थापामाथि आक्रमण भएको थियो। विशाल हालका भौतिक योजना राज्यमन्त्री देवी खड्काका भाइ हुन्।

२९ चैत २०६५ मा दोलखामै आयोजित एक कार्यक्रममा तत्कालीन प्रजिअ श्रीकृष्ण श्रेष्ठ र सुरक्षा प्रमुखहरुका साथमा फरार भनिएका मनिराज कार्यक्रमको सभापतित्व गर्दै (दायाँ पहिलो)।
रक्षाका सबै निकायमा दरिलो पहुँच बनाएका काजी शेर्पाका सहयोगी मनिराज यसअघि ज्यान मुद्दामा दुई वर्ष जेल बसेर निस्केका व्यक्ति हुन् भने गोङ्गबुस्थित शोगर्ल डान्स रेस्टुरेन्टका सञ्चालक उनी २०५९ सालदेखि नै सङ्गठित गुण्डागर्दीमा संलग्न छन्। उनी विरुद्ध १६ साउन २०६५ मा दोलखा जिल्ला अदालतले जारी गरेको म्याद तामेलसम्म भयो, तर उनी हाजिर भएनन्। सिडि कुट्नेहरू विरुद्ध प्रहरीले मुद्दा दायर गरे पनि अदालतले फरार तीन जना पेश नभएको भन्दै पक्राउ परेका ११ जनालाई पनि सामान्य तारेखमा छाडेर मुद्दालाई मुल्तबीमा राख्यो। यो निर्णयलाई पुनरावेदन अदालत पाटनले बदर गरिदिएपछि मुद्दा तामेलीबाट ब्युँतिएको छ। जिल्ला प्रशासन कार्यालयभित्रै सिडि कुटेर फरार हुनेमा मनिराज, मावादी निकट शेर्पा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष फुर्वाछिरी शेर्पा र अखिल क्रान्तिकारी दोलखाका पूर्व अध्यक्ष अर्जुन योगी छन्।
जिल्लाका अधिकारकर्मीहरू त्यो घटनालाई गुण्डाराज र दण्डहीनताको पराकाष्ठा भन्छन्। यसले गर्दा राज्यबाट संरक्षण र सुरक्षा पाइन्छ भन्ने विश्वास गर्ने दोलखावासी लामो समयसम्म त्रसित बनेको मानवअधिकारकर्मी होम पाठक बताउँछन्।

खास गुण्डागर्दी गर्ने तानिएकै छैनन्

- गणेश लामा
तपाईं गुण्डा नाइकेको रूपमा चिनिनुहुन्छ नि?
यो प्रहरी र मिडियाले दिएको पगरी हो। खासमा म एउटा समाजसेवी र सामान्य जीवन बिताउन चाहने मान्छे हुँ।
तपाईंले आफ्ना गतिविधिकै कारण यस्तो उपनाम पाएको हैन र?
एउटा समयमा नबुझी, कसैले उचालेका भरमा नराम्रो बाटोमा पनि लागियो। त्यसबापत दुई-तीन पटक जेल बसेँ। ५-६ वर्षदेखि व्यवसाय र राजनीतिमा लागेको छु। र पनि, बारम्बार दुःख दिने काम भइरहेको छ।
प्रहरीको रेकर्डमा त तपाईंले सङ्गठित अपराधबाटै अकुत कमाएको देखिन्छ नि?
रु.१ अर्ब सम्पत्ति कमाएको भनेर प्रचार गरिएको छ जुन सत्य हैन। ब्याङ्कको ऋण समेत गरेर १२-१५ करोड सम्पत्ति होला। जे छ व्यापारबाटै आएको हो। मैले लागूऔषध कारोबार गरेको छैन, केटी बेचेको छैन, न त अपहरण नै गरेको छु। काम गरेर खान पनि नपाउनु?
व्यवसाय र राजनीति त देखाउने मात्र हैनन् र?
म आफैँ आश्चर्यमा छु। दरबारमार्ग मेरो एरिया हो अरे! गुण्डागर्दी गर्छु रे! डन भन्दै करोडौं कमाएको प्रचार गरेर नयाँ पुस्तामा गलत प्रचार गरिएको छ। पैसा र नाम कमाउन गुण्डागर्दी गर्नुपर्ने रहेछ भन्ने सन्देश गइरहेको छ।
जसरी पनि पैसा कमाउन लागेको त हो नि?
त्रिचन्द्र कलेजमा पढ्दा स्ववियु चुनावमा कुटाइ खाइयो। आफूलाई कुट्नेहरूमाथि जाइलाग्ने क्रममा लफडातिर लागियो। सङ्गत पनि त्यस्तै भयो। म कहिल्यै डन थिइनँ। मिडियामा डन भनेर आउँदा अपराधबोध हुन्छ। म १२-१५ वर्षदेखि नै व्यवसाय र राजनीतिमा छु।
गुण्डागर्दी, डन र अपराधका कुरा झुटा नै हुन् त?
वास्तविक गुण्डागर्दी गर्ने गिरोह सञ्चालकहरूको नाम र फोटो त मिडियामा आएकै छैनन्। प्रहरीले पनि कारबाही गरेको छैन। सुध्रन्छु भनेर अलगधारमा लागिरहेको मानिसलाई चाहिँ ताकेता भइरहेको छ। सुध्रन चाहनेले त मौका पाउनुपर्‍यो नि!

मनाङेलाई खुकुरी हानेकै हुँ

- तेजेन्द्र गुरुङ

चक्रे मिलनभन्दा ठूलो डन त तपाईं अरे नि?
मान्छेहरूले भाइ त झ्न् महागुण्डा भन्ने हल्ला चलाएका छन्, जुन सत्य हैन।
दीपक मनाङेलाई खुकुरी हानेको लगायत तीन-चार वटा केस त तपाईंमाथि थियो हैन र? मनाङेलाई काटेको र अरू सबै अपराधको सजाय भोगेर अदालतबाट सफाइ पनि पाइसकँ। मेरा दाइलाई आक्रमण गरेको बदला लिन मनाङेलाई काटेकै हुँ। कच्चा उमेर र सङ्गतले यस्तो काम गरियो। गत मङ्सिरमा हनुमानढोकामा आत्मसमर्पण गरेर सजाय काट्न जेल बस्दा स्वर्ग र नर्क भन्ने कुरा यही पृथ्वीमै हुनेरहेछ भन्ने थाहा भयो। अब त्यता नलाग्ने प्रण गरिसकेको छु। प्रहरी प्रशासन भने यसले सधैँ अपराध गर्छ भन्ने ठानिराख्दोरहेछ।
तपाईंहरूले उपत्यकामा आ-आफ्नो क्षेत्र छुट्याउनुभएको छ, हैन?
त्यो काम पनि प्रहरीले नै गरेको हो। हाम्रो क्षेत्र चक्रपथ रे! तर म दरबारमार्गमा पनि घुमिरहेको छु। मनाङे र काभ्रेली ग्याङकाले चक्रपथमै काम गरिरहेका छन्।
दाजु जेल परेपछि सबै धन्दा तपाईंले हेरिराखेको हैन र?
दाइ जेलमा र म घरमा छु। केही धन्दा नै छैन। पहिलाका व्यवसाय र बालुवाखानीहरू सबै ड्यामेज भइसक्यो।

गुण्डा तह लगाउन छुट्टै कानुन चाहिन्छ

कुवेरसिंह राना, अतिरिक्त प्रहरी महानिरीक्षक, उपत्यका प्रहरी प्रमुख

गुण्डा विरुद्ध संयुक्त अप्रेसनको योजना कहाँ पुग्यो?
अपराधका पुराना रेकर्डहरू हेर्ने काम भइरहेको छ। फरार गुण्डाहरूलाई पक्रेर उनीहरूको अपराध छानबिन गर्ने वातावरण बनाउँदैछौं।
उपत्यकामा गुण्डा समूहहरूको अवस्था कस्तो छ?
सानो क्षेत्र बनाएर गुण्डागर्दी गर्नेदेखि हतियारसहित सङ्गठित भएर पूरै शहरलाई असर पुर्‍याउने गरी सिण्डिकेट चलाउने र विदेशमा बसेर देशभित्र आपराधिक गतिविधि गर्नेसम्मका समूह पाइएको छ।
सबै तहका प्रहरी गुण्डाहरूसँग मिलेकाले समस्या बढेको आरोप छ नि?
प्रहरी र अपराधबीच लक्ष्मणरेखा कोर्नु जरुरी भएको छ। केही घटनामा प्रहरीको संलग्नता पाइएकाले आचरण अनुगमन गर्न थालेका छौं।
गुण्डालाई राजनीतिक संरक्षण कस्तो छ? यो मैले भन्ने भन्दा पनि तपाईंहरूले देख्ने कुरा हो। कानुन कार्यान्वयन गर्ने अधिकारीले आफूलाई शुद्ध राख्न सक्दा राजनीतिक हस्तक्षेपको समस्या हुँदैन।
गुण्डा सञ्चालन गर्नेहरू व्यवसायी, ठेकेदार र नेताका रूपमा समाजमा स्थापित भइरहेका छन् नि? उनीहरूमाथि पनि अनुसन्धान हुनुपर्छ र हुन्छ। सम्पत्तिको स्रोत छानबिन हुनुपर्छ। यसका लागि प्रहरीलाई त्यस्तो अधिकार दिने कानुन चाहिएको छ। असामाजिक तत्वका गतिविधिलाई पूर्ण निस्तेज पार्न सार्वजनिक अपराध ऐनले मात्र पुग्दैन, सङ्गठित अपराध विरुद्धको ऐन चाहिन्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out