कसको र कस्तो नेतृत्व

शान्ति प्रक्रिया टुङ्ग्याएर लोकतान्त्रिक संविधान बनाउन लोकतन्त्रमा विश्वास गर्नेहरू जुन दलमा भए पनि एकठाउँ उभिनु आजको आवश्यकता हो।
पुरुषोत्तम दाहाल
२०६२-६३ को परिवर्तनपछि सरकारको नेतृत्व गरेका गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झ्लनाथ खनालमा अनेक त्रुटि रहे पनि कोइराला राजनीतिक लक्ष्यमा केही हदसम्म सफल भए। उनीपछिका दाहालले निरङ्कुशता र लोकतन्त्रको विरोधाभासमा परेर आठ महिनामै पद त्याग्न पुगे। तेस्रो प्रधानमन्त्री नेपाललाई आफ्नै पार्टी अध्यक्ष र मुख्य विपक्षी एमा'वादीको गोप्य गठबन्धनले घुँडा टेकायो। त्यसपछिका प्रधानमन्त्री खनाल सर्वाधिक कुटिल एवं असफल प्रधानमन्त्रीमा दरिएर ६ महिना ९ दिनमा सत्ताबाट बाहिरिए। यसरी सिंहदरबार सचिवालयमा प्रधानमन्त्रीहरूका तस्बिर झुण्डिने क्रमसँगै राष्ट्रका चुनौती चुलिए।

नेतृत्व र गठबन्धन
प्रसिद्ध लेखक स्यामुएल पी. हन्टिङटनका शब्दमा, “सम्वादबाट परिवर्तनका निम्ति अनुकूल ठानिएका राजनीतिक शर्तहरू अनिश्चितकालसम्म नरहने हुनाले सम्वाद प्रक्रियालाई ढिलो गराउनेे अथवा मूल हितलाई जोखिममा पार्ने आफ्ना पक्षका नेता वा समूहका मागलाई प्रतिरोध गर्नु आवश्यक हुन्छ।” तर, पछिल्लो जनआन्दोलनपछि उब्जिएका विभिन्न स्वार्थसमूहका मागलाई दलहरूले समर्थन जुटाउने अवसर र रणनीतिअन्तर्गत आँखा चिम्लेर सम्बोधन गर्दै सम्झ्ौता गरेकाले लोकतन्त्रको मूलबाटो अनिर्णित भएको छ।
ती मागहरूको प्रतिरोध गर्ने साहस गरेर संघीयता र अतिजातीयताको बीचमा नआएको भए शान्ति र संविधानको काम पूरा भइसक्ने थियो। परिवर्तनलाई संस्थागत गर्ने मार्गका धराप बनेका ती सम्झ्ौता शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाका अभिन्न अङ्ग भइसकेकाले तिनलाई जातीय सद्भाव, शान्ति, राष्ट्रिय एकता, व्यक्ति र समुदायका अधिकार स्थापना, क्षेत्रीय सन्तुलन तथा पंक्तिभेदविहीन लोकतान्त्रिक संविधान निर्माणका आधार कसरी बनाउन सकिन्छ भन्नेतिर ध्यान दिनैपर्दछ। अन्तर्राष्ट्रिय शक्ति खासगरी छिमेकीहरूसँग उपयुक्त समझ्दारी कायम राख्नु पनि अनिवार्य छँदैछ।
यी विषयलाई कार्यान्वयन गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो। कोइरालापछि आएका मध्यमार्गी वामपन्थी समाविष्ट साम्यवादी नेतृत्व, लोकतन्त्रवादीसहितको मध्यमार्गी वाम नेतृत्व र साम्यवादीसहितको अराजकतावादी वामगठबन्धनको नेतृत्व मूल विषयमा असफल भइसकेकाले अबको गठबन्धन पूर्ण लोकतान्त्रिक सहमतिका आधारमा खडा भएको शान्ति, संविधान, सद्भाव, समानता र विकासको सुदूर सोचयुक्त हुनैपर्छ। र, अहिलेका समस्या समाधानका लागि लोकतन्त्रवादी तथा लोकतान्त्रिक वामपन्थी शक्तिको मोर्चाले मा'वादीसँग राजनीतिक सहकार्यको प्रस्ताव राख्नुपर्छ। एमाले अध्यक्ष खनालले सत्तामा पुग्ने भर्‍याङ बनाउने क्रममा भत्काएको यो मोर्चामा मधेशकेन्द्रित दलहरूको नवगठित मोर्चालाई पनि समावेश गराउनु आवश्यक छ। लोकतान्त्रिक-वामगठबन्धन सशक्त हुँदा सरकारको नेतृत्व उनीहरूको हातमा आउनेछ।
वितेका तीन वर्षमा तीन प्रधानमन्त्रीका असफल गठबन्धन र सहकार्यको पृष्ठभूमिमा अब लोकतन्त्रवादीहरूको नेतृत्व अपरिहार्य छ। त्यसमा एमा'वादी सहभागी हुनसकेन भने नेपालको राजनीति फेरि २०६३ कै अवस्थामा फर्कने हुनाले लोकतान्त्रिक वाममोर्चा बनाएर उनीहरूसँग राजनीतिक लेनदेनमा सहमति गर्नुपर्दछ। लोकतन्त्रवादीको नेतृत्व हुन नसके लोकतन्त्रवादी र लोकतान्त्रिक वामशक्तिको अग्रपंक्तिको क्षमतासहित साम्यवादी नेतृत्वमा सरकारको विकल्प खडा हुनेछ।
अन्तिम विकल्प
लोकतन्त्रवादी मोर्चाको नेतृत्वकारी शक्ति नेपाली काङ्ग्रेस र उससँग बनेको मोर्चा एवं साम्यवादी शक्तिबीचको सहकार्य नै परिवर्तन संस्थागत गर्ने अन्तिम विकल्प हो। संविधान बनाउन थपिएको समय १४ भदौ वा बढीमा १४ मङ्सिरसम्म रहन सक्छ। काङ्ग्रेस-एमा'वादी सहकार्य र १४ मङ्सिरसम्मको विकल्प सार्थक नभए तेस्रो विकल्प खुल्ने निश्चित छ।
केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रले “भदौ महिना खुर्सानी सुकाउने समय पनि हो, त्यसबेला सुकेको खुर्सानीले भदौ १४ पछि क-कसका आँखा पोल्ने हुन् हेर्नुपर्छ” भनेका थिए। उनको यो बोलीमा लोकतन्त्रविरुद्ध उग्रसाम्यवादी, उग्रजातिवादी, उग्रक्षेत्रीयतावादी र अतिनिराशावादीहरूको लोली मिल्छ। लोकतन्त्रमा विश्वास गर्नेहरू जहाँ र जुन दलमा भए पनि एकाठाउँ उभिनु अन्तिम विकल्प त्यसै भएको होइन। प्रधानमन्त्रीबाट खनालको राजिनामाले त्यो विकल्प खुला गरिदिएको छ। अब पनि एमालेले नेतृत्व दाबी गर्ने हो भने कि केपी 'लीलाई संविधानसभामा मनोनयन कि त सुवासचन्द्र नेम्वाङलाई सभामुखबाट राजिनामा गराई प्रस्तुत गर्र्नुपर्नेछ। तर एमालेले योभन्दा बढी अपयसको भारी नबोक्दा राम्रो।
त्यसपछिको दावेदार काङ्ग्रेसले वरिष्ठ नेता शेरबहादुर देउवालाई उम्मेद्वार बनाइसकेको छ। उसले अब एमालेसहित लोकतन्त्रमा विश्वास गर्ने साना दल र मधेशी मोर्चाको गठबन्धन बनाउनुपर्दछ। त्यस्तो अवस्था नआए काङ्ग्रेसले आफूलाई घाटानाफाको तुलोमा जोख्न छाडेर एमा'वादीबाट प्रस्तावित डा. बाबुराम भट्टराईको गठबन्धनमा सहकार्य गर्नुपर्दछ। अन्यथा गैरलोकतान्त्रिक गठबन्धनको ढोका खुल्न सक्छ, जसले मुलुकलाई शान्ति र लोकतन्त्रको बाटोमा डोर्‍याउँदैन।
 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out