बाबुरामको नैतिक हार

जुन प्रक्रियाबाट डा. बाबुराम भट्टराई प्रधानमन्त्री भए, त्यही बिन्दुबाट उनको हार प्रारम्भ भएको छ।
विष्णु रिजाल
मुलुकको ३५औं प्रधानमन्त्रीमा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई विजयी भए। एउटा राजनीतिकर्मीको जीवनको यो ठूलो सपना होला, तर उनले यो जितसँगै नैतिक लडाईं हारेका छन्।
झ्लनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफ्नै अध्यक्ष पुष्पकमल दाहालले छापामार शैलीमा सातबुँदे सहमति गर्दा डा. भट्टराईले पार्टी निर्णयप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए। उनको तर्क थियो― “बहुमतीय अभ्यासबाट शान्ति र संविधान सुनिश्चित हुनसक्दैन।”
सहमतिको नारा, बहुमतको सहारा!
भट्टराईका कुरा गलत थिएनन्। सर्वत्र असफलता र आलोचना बेहोर्दै पार्टीभित्र समेत टिक्न नसक्ने स्थितिमा खनालले राजिनामा दिएपछि पनि भट्टराईले राष्ट्रिय सहमतिको सरकारकै वकालत गरिरहे, तर पछि आफैँले दुत्कारेको बहुमतीय प्रक्रियाबाटै प्रधानमन्त्री बने।
सहमतिको ढोका खुल्दानखुल्दै माओवादी अध्यक्ष दाहालले स्थायी समितिको बैठकबाट बहुमतीय सरकारको प्रधानमन्त्रीका लागि पनि डा.भट्टराईलाई नै उम्मेदवार बनाउने निर्णय गराएकै दिनदेखि उनको नैतिक पराजय शुरु भएको हो।
यसबीच पटक-पटक आफू बहुमतको प्रधानमन्त्री नबन्ने घोषणा गरेका डा. भट्टराई त्यसमा अड्न नसकेको मात्र होइन, एमाले र काङ्ग्रेसले आफूलाई समर्थन नगरे पनि फरक नपर्ने प्रतिक्रिया समेत दिन पुगेे। यस आधारमा झ्लनाथ खनाल र उनमा समानता देखिएको छ। माधवकुमार नेपालको नेतृत्वमा आफ्नै पार्टीको सुविधाजनक बहुमतको सरकार छँदाछँदै खनालले राष्ट्रिय सहमतिको सरकारको नारामा नेपाललाई राजिनामा दिन बाध्य पारे र बहुमतीय सरकारलाई नर्क-कुण्डको संज्ञा दिँदै त्यसविरुद्ध सात महिना चट्टानी अडान लिए। तर, पछि स्वयम् त्यसमै हाम्फाल्दै सिंहदरबारमा तस्बिर टाँगेर फर्किएका छन्। र, पदका लागि आफ्नै प्रतिबद्धता कुल्चिएर जुन बाटो अवलम्बन गरे डा. भट्टराईले त्यही नियति बेहोर्नु नपर्ला, भन्न सकिन्न।
शृङ्खलाबद्ध राजनीतिक क्षति
माओवादीमा बौद्धिक नेताका रूपमा स्थापित डा.भट्टराई अरू राजनीतिक शक्तिको विश्लेषणमा पनि चुकेका छन्। कतिपय सतही बुद्धिजीवीले जस्तै नेपाली राजनीतिमा नेकपा (एमाले)को उपादेयतामाथि प्रश्न उठाउँदै दुइटा मात्र राजनीतिक शक्तिको कल्पना गरेर उनले एमालेलाई तेस्रो लिङ्गीको संज्ञा दिए र आफ्नो पार्टी र काङ्ग्रेस मिल्ने हो भने मुलुकका सबै समस्या समाधान हुने विश्लेषण गरे।
डा. भट्टराईको त्यो विश्लेषण मुलुकको राजनीतिक यथार्थभन्दा टाढा रहेको घटनाक्रमले पुष्टि गरेका छन्। परम्परागत नेपाली वर्ग र विचारको प्रतिनिधित्व गर्ने काङ्ग्रेससँग उग्रवामपन्थी धङधङीबाट मुक्त नभइसकेको माओवादीको सहकार्य सम्भव देख्ने तर मध्यमार्गी एमालेलाई बाधकका रूपमा चित्रित गर्ने त्यो विश्लेषण सही थियो भने उनले यसपटक काङ्ग्रेस-माओवादी मोर्चाबन्दी गर्न सक्नुपर्थ्यो।
तात्कालिक राजनीतिक लाभ-हानिका आधारमा गरिएको उनको विश्लेषण कति कोरा रहेछ भन्ने अहिले प्रधानमन्त्री निर्वाचनमा काङ्ग्रेस-एमाले विपरीत ध्रुवमा उभिनु र दलीय गठबन्धनमा त्यसको प्रभाव पर्नुले पनि छर्लङ्ग पार्दछ। दल र नेताहरूबीच परस्पर प्रतिस्पर्धा तथा आफूलाई उँचो देखाउने प्रयत्न हुन्छ। तर, त्यसक्रममा कुनै कुरालाई सिद्धान्तकृत गर्दा आफैँ त्यसको जालमा फँस्ने खतराबाट मुक्त हुनसक्नु नै असल राजनीतिकर्मीको गुण हो। डा. भट्टराई यसमा चुकेका छन्। अरूलाई आरोप लगाउन र छुद्र वचन बोल्न उनी दाहालभन्दा कम देखिँदैनन्।
डा. भट्टराईको राजनीतिक जीवनमा अर्को क्षति पनि हुनपुगेको छ। अध्यक्ष दाहाल र आफूलाई मात्रै क्रान्तिकारी दाबी गर्ने उपाध्यक्ष मोहन वैद्य पक्षधरले बेला-बेलामा साइजमा ल्याउन उनलाई लगाउने गरेको आरोप हो― भारतपरस्त। संयोग मात्र हो या एउटै तीरले दुई सिकार गर्न माहिर पुष्पकमल दाहालको योजना, उतैको रिमोट कन्ट्रोलबाट चल्ने आरोप खेपिरहेका मधेशी दलहरूले प्रधानमन्त्री निर्वाचनमा भट्टराईलाई एकाएक काँध थापेका र जवाहरलाल नेहरू विश्वविद्यालयका स्कलर बाबुराम भट्टराई सजिलै नेपालको ३५औं प्रधानमन्त्री निर्वाचित भएका छन्। कारण जेसुकै भए पनि त्यसको मार भट्टराईले खेप्नुपर्नेछ।
एकछिनलाई कल्पना गरौं― मधेशका साना-ठूला सबै दलले रामचन्द्र पौडेललाई मत दिएर उनी प्रधानमन्त्री निर्वाचित भएको भए अहिले नेपालमा विदेशी हस्तक्षेप, खासगरी भारतीय भूमिकाका बारेमा कति प्रश्न उठाइन्थ्यो र माओवादी नेताहरूले फेरि एकपटक राष्ट्रिय स्वाधीनता र आफ्नो निर्णय आफैं गर्न पाउने अधिकारका बारेमा कति पट्यारलाग्दा भाषण गर्ने थिए होला!
फेसबुक, ट्वीटर, ब्लग, एसएमएस र मत सर्वेक्षणमा अरूभन्दा डा. भट्टराई अघि देखिनुका पछाडि उनको नामका अगाडि झुण्डिएको डाक्टर उपाधि र पढाइमा कहिल्यै दोस्रो नभएको विगतले काम गरेको छ। नौ महिना अर्थमन्त्री हुँदा केही अर्ब रुपैयाँ बढी राजस्व उठाएकै कारण हाई-हाई गर्ने हो भने पनि उनीपछि अर्थशास्त्रको सामान्य ज्ञान समेत नभई आएका सुरेन्द्र पाण्डेलाई हेरे पुग्छ। विशेषज्ञता एउटा विशेषता हुन सक्छ, तर राजनीतिमा जनाधार र साङ्गठनिक बललाई मुख्य आधार मानिन्छ। समकालीन नेताहरूमध्ये उनको साङ्गठनिक धरातल कमजोर छ। प्रधानमन्त्रीमा टिकिराख्न उनले पार्टीभित्र दाहालमाथि र सरकारमा अविश्वसनीय छवि भएका मधेशी दलहरूमा निर्भर हुनुपर्नेछ। यस्तो धरापका बीच उनीबाट अरूभन्दा भिन्न काम होला भन्ने अपेक्षा गर्नु बढी हुनेछ।
प्रतिक्रियाको लागि letters@himalmedia.com मा पठाउनुस् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out