'डेटिङ स्पट' बन्न थालेपछि विन्ध्यवासिनीमा राति प्रवेश निषेध

मनोज अधिकारी, पोखरा, असोज १२- अवान्छित गतिविधि हुन नदिन भन्दै विन्ध्यवासिनी मन्दिरमा राति ८ बजेपछि प्रवेशमा रोक लगाइने भएको छ। पोखरा-२ मोहरिया टोलस्थित मन्दिर परिसर युवायुवतीको 'डेटिङ स्पट' र दुर्व्यसनीको अखडा बन्न थालेपछि राति अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाउन लागिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए। यसका लागि मन्दिर प्रवेशका चार मार्गमध्ये अहिले तीनतिर फलामे गेट बनाउने काम भइरहेको छ।
'पूर्वतर्फको मुख्य प्रवेश मार्गमा गेट बनाएपछि यो व्यवस्था केही दिनमै लागू हुन्छ' अध्यक्ष श्रेष्ठले नागरिकसँग भने,'मन्दिरमा असभ्य गतिविधि नहोस् भनेर यस्तो गर्नुपरेको हो।'मन्दिरमा हाल रातको समयमा प्रहरी हवल्दारको नेतृत्वमा पाँच प्रहरीले सुरक्षा दिंदै आएका छन्। प्रहरीले अनैतिक र शंकास्पद गतिविधि गर्ने व्यक्तिलाई रातको समयमा मन्दिर परिसरमा जान रोक्दै आएको छ।
समितिका सचिव तीर्थ श्रेष्ठले मन्दिरको भौतिक तथा आर्थिक सुरक्षाका साथै अनैतिक कार्य रोक्न रातको समयमा मानिसको प्रवेश बन्द गर्न लागिएको बताए। करिब डेढ लाख रुपैयाँ लागतमा चारै प्रवेश मार्गका फलामे गेट बनेपछि दशैंअघि नै यो व्यवस्था लागू गरिने उनले जानकारी दिए।
'अग्लो र शान्त मन्दिर परिसर पछिल्लो समय केटाकेटीको सुरक्षित डेटिङ स्पट बन्न थाल्यो' उनले भने,'मन्दिर क्षेत्रमा अनैतिक क्रियाकलाप समेत हुन सक्ने देखेर यसलाई रोक्न नयाँ व्यवस्था गर्न लागिएको हो।'
उनकाअनुसार कसैको विशेष पूजा भए समितिलाई जानकारी गराएर मन्दिर प्रवेशको सुविधा दिईने छ। मन्दिरका गजुरहरुमा रहेका सुन तथा चाँदीका गहनाको सुरक्षाका लागि प्रहरी परिचालन गरिंदै आएको उनले बताए।
पोखराको मात्र नभएर पश्चिमाञ्चलकै प्रसिद्व विन्ध्यबासिनी मन्दिरमा वर्षेनी स्वदेशी तथा विदेशी गरि दुई लाखभन्दा बढी दर्शनार्थी आउँछन्। समितिका सचिव तीर्थ श्रेष्ठकाअनुसार तीमध्ये अधिकाँश स्वदेशी पर्यटक हुन्। मन्दिरमा करिब ५० हजार भारतीय नागरिक आए पनि प्रचार-प्रसारको अभावमा तेस्रो मुलुकका पर्यटक भने निकै कम आउने गरेको उनले बताए।
'धार्मिक पर्यटनलाई उचित प्रवर्द्वन गर्न नसक्दा पोखरा घुम्न आउने तेस्रो मुलुकका पर्यटक करिब तीन प्रतिशत मात्र यहाँ आउँछन्' उनले भने,'स्थानीय होटल तथा पर्यटन व्यससायीले यो मन्दिरलाई पनि पर्यटकीय आकर्षणका रुपमा प्रचारमा ल्याउन सकेका छैनन्।'
मन्दिरका पुजारी रुद्रनाथ पौडेलले दैनिक ५ सयदेखि ७ सय दर्शनार्थी आउने गरेको बताए। उनकाअनुसार करिब दुई सय भारतीय र ५० तेस्रो मुलुक पर्यटक आउने गरेका छन्।
उनले वर्षको करिब दुई सय जोडीले यसै मन्दिरमा आएर विवाह गर्ने गरेको जानकारी पनि दिए। मन्दिरमा वडादशैंका नौ दिन र साउन महिनाभर विशेष मेला लाग्ने गर्छ। यसबाहेक शनिबार सधैंजसो भीड लाग्ने भएकाले दर्शनार्थीले लाइनमा बसेर मात्र दर्शन गर्न पाउँछन्।
२२ रोपनी क्षेत्रफलको मन्दिर परिसरमा शिव, राधाकृष्ण, सरस्वती र नवग्रहका चार मन्दिर छन्। यस्तै वैदिक विद्याश्रम, बहुउदेश्यीय सभाभवन, यज्ञ मण्डपहरु, अखण्ड हवनकुण्ड, सन्त निवास र पौवाका कारण यो मन्दिर क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण छ।
यी सबै संरचना वि.सं.२०४३ सालयता विभिन्न समयमा आयोजित महायज्ञमा संकलित रकम तथा अन्य दाताको सहयोगबाट बनेका हुन्। मन्दिरको स्तरसुधार गर्न २०५७ सालमा आयोजित महायज्ञमा एक करोड ८ लाख र २०६१ सालमा ५५ लाख रुपैयाँ सहयोग जुटेको थियो।
'हालै मात्र विभिन्न दाताको सहयोगबाट मन्दिर परिसरमा ढुंगा छाप्ने काम भएको छ' श्रेष्ठले भने,'पानीको फोहोरासहितको बगैंचा, जुत्ता राख्ने घर र पानीको धारा व्यवस्थित गर्ने काम पनि दाताहरुकै अग्रसरताले भइरहेको छ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out