बाबुराम : सत्य र भ्रम

'करिस्म्याटिक फिगर' र पढाइमा प्रतिभाशाली (बोर्ड फर्स्ट) नेताले देश हाँक्ने अवसर पाएकामा धेरै खुसी छन्। धेरै हदसम्म यसमा 'लाटाको देशमा गाँडो तन्नेरी' भन्ने उखानको मर्मले पनि काम गरेको छ। भारतमा जस्तो धेरै पढेका, विश्वका ठूला विश्वविद्यालयमा पढेका नेता भए भट्टराईको यत्रो आकर्षण सम्भव थिएन। पहाडको कुनामा, साधारण किसान परिवारमा जन्मेका व्यक्तिले यत्रो उपलब्धि हाँसिल गर्नु आफैँमा महान् हो। परन्तु यसले देशलाई केही उपलब्धि देला/नदेला अहिले भन्न सकिन्न। जेजस्तो भए पनि जनमानसमा 'अब केही हुन्छ कि' भन्ने आशा जागेको छ।
त्यसो त पूर्वराजाले सत्ता हत्याउँदा पनि कतिपयले ठूला सपना देखेकै हुन्। नयाँ व्यक्ति वा परिस्थिति उदय हुनेबित्तिकै ठूला सपना देख्ने र छिटै निराशाका भारीले थिचिनुपर्ने हाम्रो नियति हो। हाम्रो देशमा शक्तिको धेरै पूजा हुन्छ। सत्य र मिथक छुट्याउने प्रयत्न भने कम हुन्छ।
नयाँ प्रधानमन्त्रीबारे पनि उनी को हुन्, के हुन् र होइनन् भन्ने बुझ्नु जरुरी छ। उनी कुशल विद्यार्थी र माओवादी 'आइडिओलग' पक्कै हुन्। तर सिद्धान्तमा अब्बल
व्यवहारमा पनि उत्तिकै तेज हुन्छन् भन्ने छैन। यो कुरा एनेकपा (माओवादी) मा बाबुरामको स्थितिले पनि प्रस्ट पार्छ। उनी बौद्धिक व्यक्तित्व पक्कै हुन्। अहिले उनको जिम्मा गतिलो किताब लेख्ने होइन, नयाँ दर्शन निर्माण गर्ने पनि होइन। लेख्नु र गर्नुमा धर्ती-आकाशको फरक छ। भौतिक निर्माणसम्बन्धी अध्ययन गरेका विद्यावारिधि आखिर आफ्नो वैचारिक र अन्य शक्ति ध्वंश र विनाशको लीलामा लगानी गर्न पुगे। अन्डा नफुटी चल्ला जन्मिन्न भन्ने कोरा मार्क्सवादी सोचबाट प्रभावित उनले अन्डा फुटाउँदा चल्ला पनि मारे भन्नेहरू पनि छन्। जे होस्, भत्काउन जति सजिलो हुन्छ, बनाउन धेरै गाह्रो हुन्छ। यो ख्याल उनलाई अब पक्कै हुनेछ।
विगतका घटनाक्रमले देखायो, सशस्त्र द्वन्द्व र कम्युनिस्ट क्रान्तिमार्फत देशमा आमूल परिवर्तन गर्नुपर्छ र गर्न सकिन्छ भन्ने उनको आजीवन विचार अन्ततः फ्लप भयो। आखिर उनी त्यही 'खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने' संसद्मा बल्ल क्षेत्रीय र जातीय दलका बैसाखी टेकेर प्रधानमन्त्री बन्न पुगेका छन्। नेपाल सशस्त्र क्रान्तिका लागि जति मलिलो भूमि भए पनि सामाजिक, आर्थिक र भौगोलिक रूपमा त्यो सफल हुन सक्दैन भन्ने हेक्का समयमा उनलाई आएको भए देश र जनताले यति धेरै क्षति बेहोर्नुपर्ने थिएन। जुनसुकै खेमाका हुन्, सबै माओवादीलाई अब यो हेक्का पक्का भएको हुनुपर्छ, कुनै हालतमा उनीहरू फेरि भूमिगत हुने छैनन्।
हिजो क्रान्तिनायक को बन्ने भन्ने थियो होला, आज शान्तिनायक को बन्ने भन्ने होड माओवादी नेतृत्वमा छ। त्यो इतिहासपुरुष बन्ने उद्देश्य अझै कमरेड पुष्पकमल दाहालले छाडेका छैनन्, स्वर्गीय गिरिजाप्रसाद कोइरालाले प्रथम राष्ट्रपति बन्ने सपना देखेजस्तै। यस हिसाबले बाबुरामलाई त्यो अवसर सजिलै दिन उनी पक्कै राजी हुने छैनन्। यसै पनि आफ्नो दलमा बाबुरामको दरिलो पकड छैन।
दोस्रो, पछिल्लो समयमा आएर उनलाई खाँट्टी 'डेमोक्रेट' रूपमा प्रस्तुत गरेको पाइन्छ। यो पनि थोरै सत्य, धेरै मिथक हो। आफ्नो फरक मतको कुनै सुनुवाइ नहुने, भौतिकरूपमै पार्टीको खप्की खान पर्ने भएपछि उनले आफ्नो दलमा प्रजातन्त्र आवश्यक भएको अभिव्यक्ति दिन थालेका थिए, सबै दलको हकमा होइन। नीतिगतरूपमा पनि उनले विद्रोह अहिले होइन, पछि गर्नुपर्छ भनेका मात्रै हुन्। विद्रोहको लाइन लिनै हुन्न भनेका होइनन्। महत्वपूर्ण के हो भने उनले दलभित्र आफ्नो वैचारिक स्वतन्त्रताको वकालत गरेका हुन्, अन्य दलका लागि होइन। आफ्नो दलका मान्छेबाट भएका ज्यादतिविरुद्ध उनी बोलेका छैनन्।
अहिले उनी द्वन्द्वकालमा भएका सबै मानवाधिकार र मानवताविरुद्ध घटनालाई आममाफी गर्ने सम्झौतामा हस्ताक्षर गरेर बालुवाटार पुगेका छन्। विभिन्नरूपले पीडित, मृतकहरूप्रति खोइ उनको संवेदना? स्वघोषित जनसरकार प्रमुख हुँदा बेग्लै कुरा हो, अहिले देशकै प्रमुख भएपछि द्वन्द्वबाट प्रभावित माओवादी, पुलिस, सेना, सर्वसाधारण सबैको घाउमा मलम लगाउनु उनको दायित्व हो। विद्रोहीबाट मारिएका र अंगभंग पारिएका सबैलाई उनी सार्वजनिकरूपमा जनताका दुस्मन भएको आरोप लगाउँथे। अब उनको व्यवहार परिवर्तन हुनुपर्छ।
आफ्ना प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा दलित, उत्पीडित, शोषित जनको नाम लिने थोरै नेतामा उनी पनि पर्छन्। समग्र माओवादी र उनको यो भनाइ पनि धेरै उत्पीडितको रगत र पसिनामा अडेको छ। पूर्वविद्रोहीले त्यो योगदान र बलिदानको सम्मान गरेको देखिन्न। नत्र कुनै न कुनै उच्च र प्रभावशाली पद दलितले पाउँथे होलान्। अहिलेको मन्त्रिपरिषद्मा पनि उनै उच्च जातिबीच रडाको सुरु भइसकेको छ। सरकार वा शन्तिप्रक्रियासँग सम्बद्ध निर्णायक ठाउँमा माओवादी दलितले अझै ठाउँ पाउने छाँट छैन।
आफ्नै गाउँका बाबुराम कार्यकारी प्रमुख भए भनेर गोरखा र अन्यत्रका दमाइ, कामी, सार्की, डोम, चमारलाई के हर्ष? आखिर उनीहरूलाई 'ल्हासामा सुन छ कान मेरो बुच्चै' होइन र? देशमा ठूलो परिवर्तन भयो भनिएको छ। गणतन्त्र र धर्म निरपेक्षताका गुणगान भइरहेको छ। बाबुरामलाई बाबुराम बनाउन धेरै दिलबहादुरहरूले प्राण उत्सर्ग गरेका छन्। चुनावताका बाबुरामले दोसल्ला ओढाएर सम्मान गरेको रम्तेल आमा बाबुरामको गाउँमा अझै अछुत छिन्। राजा गए पनि नयाँ राजाहरूको छाँटकाँट धेरै भिन्न छैन।
पीडितका नजरमा बाबुराम कुनै नयाँ पात्र होइनन्। उनै पहाडिया उच्च जातीय शासकका निरन्तरतामात्र। मुखले ठिक्क पार्नु सजिलो छ। दलितका पक्षमा राम्रो पहलकदमी उनले र उनका पार्टीले लिएका छैनन्। अघिल्लो माओवादी सरकारमा सुरुमा एक दलितलाई पनि स्थान दिइएको थिएन। छुवाछुतको मनुवादी भूतले सताइएका जनताको हितमा कुनै काम भएन। अहिले पनि दलितको पीरमार्का उनको उच्च प्राथमिकतामा छैन।
त्यसैले उनको विद्यावारिधि, मुस्ताङ गाडी र लिगलिगकोट फेदको जन्म देखेर अहिल्यै उत्साहित भइहाल्न तमाम शोषित, पीडित, उपेक्षित जनलाई सुहाउँदैन। शान्ति पनि माओवादीको परिभाषाअनुसारको भयो भने अन्य दलले सजिलै स्वीकार गर्न गाह्रै छ।
जटिल राष्ट्रिय मुद्दा हल गर्नुपर्ने बेला जातीय र क्षेत्रीय हितमा मध्यनजर राख्ने केही शक्तिको मात्र आडमा राजनीतिक समस्या हल गर्न गाह्रो पर्छ। काम फत्ते गर्न त परै जाओस्, यस्तोमा थेसिस लेख्न पनि मुस्किल हुन्छ। दलित, उत्पीडित अहिल्यै उत्साहित भइहाल्नु जरुरी छैन।
परियार बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनरत छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out