मनका रोगी

एकजना सुनपसले थिए । उनको पसलमा सबै सुनका गहना थन्क्याउने ठूलो सेफ थियो । हरेक दिन उनी त्यो सेफमा सबै गहना राख्थे र चाबी लगाउँथे । उनलाई एकपटक चाबी लगाएर चित्त बुझ्दैनथ्यो । पटक-पटक लगाउँथे र चेक गरिरहन्थे । त्यो प्रक्रिया दोहोर्‍याउँदा एक दिन उनको सेफको ह्यान्डिल नै भाँचियो । उनी अब मानसिक रोग विशेषज्ञकहाँ गए र बुझे । डाक्टरले उनलाई भने, 'तपाईंलाई मानसिक रोग लागेको छ । औषधि खानुहोस् निको हुन्छ ।'
काठमाडौंकै अर्की एक युवतीको कथा यस्तो छ । राम्रो कम्पनीमा काम गर्छिन् । काममा कुनै समस्या छैन । आफ्नो कामको सिलसिलामा उनी आत्मविश्वासका साथ अन्य पक्षसँग जुध्न सक्ने खुवी पनि राख्छिन् । तर, उनी रातमा निदाउँदिनन् । मनमा अनेकथरी कुरा खेल्छन् । मरिहाल्ने डर लाग्छ । सानो घाउ हुँदा पनि शरीरै बिग्रेजस्तो डर उनको मनमा पटक-पटक आउँछ । त्यसले उनको जीवन सुखमय हुन दिएको छैन । उनी केही दिनअगाडि उनै डाक्टरकहाँ पुगिन् र आफ्नो समस्या राखिन् । डाक्टरको औषधि खान सुरु गरेपछि अहिले उनको दैनिकी केही सहज भएको छ ।

एकजना व्यवसायी छन् । आफ्नै निजी कार्यालय छ । करिब बीसजनाभन्दा बढी काम गर्छन् उनको कार्यालयमा । एक दिन उनको छाती दुख्यो । छाती दुख्दैमा उनको दिमागका आयो मेरो शरीरका पूरै अंग कुहिसके । अब केही समयमै म मर्दै छु । उनी नजिकको अस्पताल गए । सबै जाँच भयो । केही देखिएन । पछि तिनै डाक्टरकहाँ जाँदा उनले भनिदिए, 'तपाईंलाई मानसिक रोग लागेको छ ।'
त्यस्तै एक महिलालाई सास फेर्न खुब गाह्रो हुने । मुटु ढुकढुक पनि । उनलाई शंका लाग्यो- हृदयाघात भयो । उनी गंगालाल अस्पताल पुगिन् । इसिजी गरियो । केही देखिएन । डाक्टरले टेन्सन कम हुने औषधि लेखिदिए । बिस्तारै उनको गर्धन पनि दुख्न थाल्यो । उनलाई शंका लाग्यो- बाथ भयो । उनी फेरि बाथ जचाउन पुगिन् । यसो गर्दा उनको करिब बीस हजारभन्दा बढी सकिएको थियो । उनी नातेदारको सल्लाहमा मनोचिकित्सककहाँ पुगिन् । उनले भने, 'तपाईंलाई डिप्रेसन भएको छ ।' र, औषधि चलाए । अहिले उनको मुटु दुख्न छाडेको छ ।
अर्की महिला घरमा छोरा-बुहारी छन्, देउरानी-जेठानी । उनलाई सधैं शंका लाग्थ्यो- सबै मेरो कुरा काट्छन् । मलाई दुःख दिने योजना बनाउँदै छन् । उनकी दिदी-बहिनीको सल्लाहमा उनी तिनै मानसिक रोग विशेषज्ञकहाँ जचाउन तयार भइन् । अहिले उनलाई त्यस्तो शंका लाग्न छाडेको छ ।
एकजना महिला जो डिप्रेसनको सिकार थिइन् । यी विशेषज्ञकहाँ आइन् । औषधि दिए । केही समय निको पनि भयो । तर, फेरि बल्भिmयो । कारण बुझ्दा उनका श्रीमान् रक्सीको कुलतमा फसेका थिए । पसल गरेर कमाएको केही रकम पनि लुटेर रक्सीमा उडाउँथे । कसोकसो गरी ती श्रीमान्लाई डाक्टरकहाँ ल्याइन् । उनको उपचार भयो । अहिले ती श्रीमान् पनि पसलमा बस्छन् । श्रीमतीको डिप्रेसन हराएको छ ।
एउटा मान्छे जब बाथरुम जान्थ्यो कम्तीमा दशपटक हात धुन्थ्यो । हात सफा भइसकेको उसलाई थाहा हुन्थ्यो । तर, उसले हात धुन छाड्दैनथ्यो । हात नधोए छटपटी हुने, मुटुको धड्कन बढ्ने समस्या देखिन्थ्यो । ऊ पनि अन्ततः मानसिक रोग विशेषज्ञकहाँ पुग्यो । उसलाई आसिडी अक्सेटिभ कम्पेसिभ डिसअर्डर भएको थियो । औषधिको प्रयोगपछि उसको त्यो बानी हट्यो । 000

यी सबै कथाका 'न्यारेटर' हुन् वरिष्ठ मनोचिकित्सक डा. निराकारमान श्रेष्ठ । पूर्वस्वास्थ्यसचिवसमेत रहेका डा. श्रेष्ठ अहिले त्रिपुरेश्वरस्थित एक क्लिनिकका यस्तै मानसिक रोगसँग जुघिरहेका सहरिया/गाउँले रोगीसँग भेट्छन् र निको पार्ने ओखती बाँड्छन् । माथि उल्लिखित रोगीका लक्षण फरक छन्, रोगका नाम पनि फरक । तर, सबैलाई मिल्ने एउटै कुरा के हो भने उनीहरूलाई औषधि र परिवारको साथको जरुरत छ । उनले एकजनालाई कम्तीमा डेढ घन्टा काउन्सिलिङ गर्नुपर्छ । गणित मिलाउँदा उनी कम्तीमा दश घन्टा त अरूका दुःख सुनेर बिताउँछन् ।
यो त केही पनि होइन । मेरो आश्चर्यजनक हेराइपछि डा. श्रेष्ठले भने, 'जब म पाटन हस्पिटलको निर्देशक थिएँ दैनिक सयजना रोगीसँग जुध्थेँ । कति त मसँग भेट हुँदैमा निको हुन्थे ।'
मानसिक रोगी भनेको के हो ?
'मनको रोगी' उनले झट्ट भने ।
सुन्दा त प्रेमको कुराजस्तो लाग्यो । आखिर मनमा रोग लाग्ने प्रेमको कमीले नै त हो ।

अब हामी मनका रोगका केही गम्भीर विषयतिर लाग्यौँ ।
मानसिक रोगी र पागलपनलाई समवाचक शब्दको रूपमा कतिपयले लिने गरेका छन् । त्यसो गर्दा हल्का मानसिक रोग झेलिरहेका बिरामीमाथि अन्याय हुन्छ नै । 'लुगा फुकालेर हिँड्ने मनस्थितिमा पुगेका रोगी र केही तनावले उदास भएर बस्ने रोगीलाई एउटै ड्याङमा राखिदिँदा सामान्य रोग लागेका मानिस मकहाँ आउन डराउँछन्,' श्रेष्ठको अनुभव छ ।

गरिबी र अभाव हुने ठाउँमा अन्धविश्वास त हुन्छ नै । त्यसको बलियो प्रमाण यी डाक्टरसँग पनि छ । 'विकासोन्मुख देश र गरिब मुलुकमा मैले बढी कडा खालका मानसिक रोगी भेटेको छु,' उनले झ्यालको पर्दाको गाठो फुकाउँदै सुनाए, 'यहा सामान्य रोगीले समयमा उपचार नपाउँदा दुर्घटनाको सिकार भएका छन् ।'
गुगलका केही साइटमा खोज्दा उनाइसौँ शताब्दीतिर अमेरिकामासमेत पागलपनलाई मानिसमा राक्षस प्रवेश भएको मानिँदोरहेछ । त्यसैले उनीहरूलाई मानिसहरूबाट टाढा र अँध्यारो कोठामा राखिन्थ्यो । पछि केही युरोपियन देशले यस्ता रोगी प्राकृतिक उपचारमार्फत निको पार्न सकिने खोज गरे । अहिले त निको नहुने रोगै छैन । 'जतिसुकै कडा मानसिक रोग पनि औषधिले निको पार्न सकिन्छ,' यी मनका डाक्टरले बताए
नेपालमा आत्महत्या गर्ने सतप्रतिशतमध्ये असी प्रतिशत त डिप्रेसनका रोगी छन् रे । अनि आठदेखि १२ प्रतिशत डिप्रेसनका रोगीले आत्महत्या गर्ने गरेका छन् । आत्महत्यालाई नेपालमा अपराध मानिन्छ । उनी भन्छन्, 'यसलाई रोग मानिनुपर्छ र मानसिक रोगीका लागि सरकारले आवश्यक नीति-नियम ल्याउनुपर्छ ।'
फेरि मानिसमा आममान्छेभन्दा मानसिक रोगीसँग डर बढी हुन्छ । तर, श्रेष्ठ भन्छन्, 'मानसिक रोगीले आफूलाई चोट पुर्‍याउँछ, अरूलाई पुर्‍याउने सम्भावना निकै कम हुन्छ । डिप्रेसनको रोगी आत्महत्यासम्म पुग्छ उसले हत्या
गर्न सक्दैन ।'
अझै पनि नेपालका केही स्थानमा मानसिक रोगीलाई बाँधेर राखेका खबर पटक-पटक सुन्न पाइन्छ । 'ज्वरो आएका रोगीका लागि सरकारले सिटामोल त गाउँसम्म पुर्‍याउने नीति ल्याएको छ । मानसिक रोगीलाई समयमा उपचार गर्ने कुनै कानुन बनाउन सकिएको छैन,' श्रेष्ठले सुनाए ।
स्वास्थ्यसचिवको पद सम्हालेका श्रेष्ठले त्यसैवेला कानुन किन ल्याएनन् त ?
मानसिक स्वास्थ्य ऐन ल्याउन पहल गरेको थिएँ । त्यो अहिले पनि तयारीमा भएको श्रेष्ठले जानकारी दिए । 'त्यो आइदियो भने लैंगिक विभेद पनि अन्त्य हुनेछ । अहिले मानसिक सन्तुलन गुमाएकी श्रीमती भए श्रीमान्ले विनासर्त बिहे गर्न पाउने प्रावधान छ । तर, श्रीमान् त्यस्तो हुँदा के हुने बताइएको छैन, त्यो ऐन यससम्बन्धी पनि बोल्नेछ,' श्रेष्ठले बताए ।
नेपालमा २५/३० प्रतिशत मानिस मानसिक रोगबाट ग्रस्त छन् । त्यसमा पनि कडा रोगी एक प्रतिशत छन् । 'ज्वरो आउनु र मानसिक रोगी हुनु उस्तै कुरा हुन् । दुवैलाई केयर चाहिन्छ । ज्वरो आउनेले जति माया पाउँछ मानसिक रोगीले त्यति तिरस्कार,' श्रेष्ठको निचोड हो यो । 'त्यसैले उनीहरूलाई समाज र परिवारबाट प्रेमको जरुरत छ,' उनी बताउँछन् ।
नेपालमा मादक पदार्थ सेवन गर्ने अझ बढी मानसिक रोगी भएको श्रेष्ठ बताउँछन् । पचास प्रतिशतले मादक पदार्थ सेवन गर्छन् । तीनदेखि चार प्रतिशत कुलतमा फसेका छन् । त्यसमा ड्रग्सको कुलतमा लागेका एक प्रतिशत छन् रे । तिनै कुलतमा फसेकालाई उपचार गर्न श्रेष्ठले लन्डनबाट अतिविशिष्ट कोर्स गरेका छन् । 'परिवारले मकहाँसम्म बिरामी ल्याइदिनसके भने म बिरामीलाई पूरै निको पार्न सक्छु,' डा. श्रेष्ठले भने । उनले अहिलेसम्म आफ्ना बिरामी भारत पठाएका रहेनछन् । 'भारतमा भन्दा हामीकहाँ राम्रो उपचार हुन्छ । धेरै मानिस सामाजिक डरका कारण भारतमा गएर उपचार गर्ने गरेका छन् । त्यसैले रोगका विषयमा चेतना फैलाउनु अझ जरुरी छ,' श्रेष्ठको भनाइ छ ।

मानसिक रोग भएका अपराधीलाई उपचार गर्ने शैलीको विरोध गर्छन् उनी । मुलुकी ऐनको यस्ता अपराधीलाई इलाज गर्ने महलमा लेखिएको छ, 'पागलहरूलाई नेल ठोकेर फोहोरमा राख्ने र उपचार गर्ने । उपचार निको नभन्जेल गरिरहने भन्ने प्रावधान छ ।'
त्यसले पागललाई पागल नै बनाउँछ ।
'अहिले औषधि यति राम्रो आएको छ । जतिसुकै कडा रोग पनि केही हप्ताको उपचारपछि निको हुन्छ,' श्रेष्ठले भने, 'आउने कति बिरामी बाँधेर ल्याएका हुन्छन् । केही दिनको उपचारमा ती निको हुन्छन् ।'
निस्कँदै गर्दा श्रेष्ठलाई सोधेँ, 'पटक-पटक अपराध गनहरू पनि मानसिक रोगी हुन् ?'
जवाफ अचम्मको थियो । यस्तालाई व्यक्तित्वको गडबडी भएको भनिँदोरहेछ । उनीहरू गलत काम गर्दा रमाउँछन् । त्यसलाई मेडिकल भाषामा एन्टिसोसियल पर्सनालिटी डिसअर्डर भनिँदोरहेछ । 'यसको कुनै उपचार हुँदैन । काउन्सिलिङ गर्‍यो भने केही कम हुन सक्छ,' श्रेष्ठले भने । हाम्रा समाजका डन बनेर ताण्डवनृत्य गर्न पटक-पटक रमाउनेमा यही डिसअर्डरको कमाल हो कि ?
'नजाँची के हो भन्न सकिने कुरा भएन । त्यो समस्या रहेछ भने पूरै निको पार्न नसकिए पनि कम गर्न सकिन्छ,' श्रेष्ठ भन्छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out