आतंकवादविरोधी अमेरिकी युद्धले कोरेको विश्वचित्र

दस वर्षअघि शक्तिशाली अमेरिकी टि्वन टावरमा भएको आक्रमण र तीन हजार सर्वसाधारणको हत्यापछि सुरु भएको अमेरिकी नेतृत्वको आतंकवादविरुद्धको विश्वयुद्धले मूलतः दुई ठोस युद्ध बेहोर्‍यो । आम नरसंहारकारी आणविक हतियार राखेको भन्ने आरोपमा तत्कालीन राष्ट्रपति श्रद्दाम हुसेन नेतृत्वको इराकविरुद्धको युद्ध र पेन्टागन आक्रमणकारी आतंकवादी अलकायदा नेतृत्वको अफगानिस्तानविरुद्धको युद्ध । हुसेन मारिए, त्यस अर्थमा यो अमेरिकी विजय थियो तर जब नरसंहारकारी आणविक हतियार फेला परेनन् र जब तत्कालीन बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले इराक युद्ध गलत भएको बयान दिए, त्यसले शक्तिराष्ट्रका युद्धका अघोषित कारण सार्वजनिक भए । श्रद्दामपछिको इराक अपेक्षित स्थायी छैन ।
९/११ पछि आतंकवादविरुद्धको युद्धमा अमेरिकाप्रतिको विश्वव्यापी व्यापक समर्थन सन् २००३ मा भएको इराकविरुद्धको  युद्धका कारण विभाजित भएको देखिन्छ ।
अहिले लिबियाली तानाशाह मुअमार गद्दाफीविरुद्धको नेटो युद्धले लगभग इराक युद्धको झल्को दिन्छ यद्यपि त्रिपोली युद्ध मूलतः घरेलु युद्ध थियो, जसलाई पछि अमेरिका होइन, प|mान्स नेतृत्वको पश्चिमा शक्तिले बाह्य नेतृत्व दियो । सम्भवत इराक युद्धबाट अमेरिकाले आफूलाई सच्याउन खोजेको देखिन्छ किनकि लिबिया युद्धमा नेटोको नेतृत्व गर्न अमेरिकाले अस्वीकार गर्‍यो । करिब चार महिनापछि गद्दाफी परिवारका केही सदस्य छिमेकी अल्जेरियातिर शरणार्थी भएका छन् भने तानाशाह मुअमर स्वदेशमै लुकेको बताइए पनि बेपत्ता छन् । गद्दाफीको अवस्था श्रद्दामकै जस्तो हुन पनि सक्छ किनकि जिउँदो वा मुर्दो गिरफ्तारीको वारेन्ट संक्रमणकालीन परिषद्का सदस्यले सार्वजनिक गरिसकेका छन् ।   
त्यस्तै दस वर्षको बीचमा भएको मुख्य युद्ध अलकायदाविरुद्धको युद्ध हो, जसले अलकायदाका प्रमुख अझ भनौं विश्व आतंकवादका नेता ओसामा बिन लादेनको हत्या गर्‍यो । छिमेकी पाकिस्तानको एबोटाबादको एक घरमा लुकेर बसेका उनलाई अमेरिकी सेनाले समाप्त पार्‍यो । अवश्य पनि त्रासदीपूर्ण आक्रमणका नाइकेको हत्या अमेरिकी उपलब्धि हो, जसलाई बाराक ओबामाले दोस्रो कार्यकाल राष्ट्रपति निर्वाचन जित्ने आधार बनाएका पनि छन् । तर अफगानिस्तानमा अपेक्षित शान्ति र स्थायित्व छैन, बरु नेटोमाथिका आक्रमण बढेका छन् । सन् २०१४ मा अमेरिकी फौजले अफगान छोड्ने पूर्वनिर्णय कार्यान्वयनमा शंकासमेत देखिन्छ ।
आतंकवादविरुद्धको विश्वयुद्ध क्रमका यी दुई मुख्य घटनाबाहेक युद्धकेन्दि्रत नभएको तर सबैभन्दा पीडित राष्ट्र पाकिस्तान हो ।
विडम्बना, तीन हजारको शोकमा डुबिरहँदा आज ३० हजार अफगानी नागरिकले ज्यान गुमाएका छन् भने एक लाख इराकी नागरिक आतंकवादविरोधी युद्धका सिकार भएका छन् । अझै कति अफगानीको बलिदानी हुने हो भने तस्बिर प्रस्ट छैन । शीतयुद्धकालीन विश्वमा साम्यवादविरुद्धको अमेरिकी युद्ध विभिन्न रूपमा सार्वजनिक भएकै थियो तर आतंकवादविरुद्धको युद्ध, अझ विशिष्टीकृत गर्दा मुस्लिम आतंकवादविरुद्धको अमेरिकी युद्धको वर्तमान विश्व साक्षी छ ।  तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसको आक्रोश र बदलापूर्ण एक वाक्य- तिमी कि त हामीसँग छौं वा हामीविरुद्ध छौं- अर्थात् आतंकवादका पक्षमा वा आतंकवादका विपक्षमा भन्ने आह्वानले विश्व राजनीतिक/कूटनीतिक प्रवृत्तिमै परिवर्तन ल्यायो । ग्लोबका १९२ राष्ट्रले खुलेर आतंकवादको समर्थन गर्न सक्ने अवस्था थिएन, त्यसैले नैतिक समर्थनमा ती सबै स्वाभाविक अमेरिकी पक्षधर थिए ।   
९/११ नघटेको भए विश्व कता पुग्थ्यो भन्ने अनुमान मात्र गर्न सकिन्छ । तर आक्रमणपछिका केही सर्वेक्षणमा बहुमत अमेरिकीहरूले घटना आततायी र त्रासदीपूर्ण रहेको बताए पनि त्यसपछि अमेरिका 'एकीकृत' भएकोलाई उपलब्धि मानेका छन् । 'आतक, अन्योल र त्यो सामना गर्ने निर्णय' मा हामीले अमेरिका एक भएको अनुभव गरेका छांैं' भन्ने सामूहिक आवाज त्यहाँ देखिन्छ । यो बेग्लै हो अमेरिकाले इराक, अफगानिस्तान, पाकिस्तान, सोमालिया आदिमा अर्बौं डलर खर्च गर्नु नपरेको भए सायद चीनको ऋणको भारी बोक्नुपर्ने थिएन होला । अथवा हाइटीको भूकम्प, जापानको फुकुसिमा आणविक विस्फोटपछिको अवस्थामा अमेरिकी सहयोग ह्वात्तै बढ्थ्यो होला वा अमेरिकामा रोजगारीका लागि भनेर ओबामाले ४४७ बिलियन डलरको प्याकेज ल्याउनुपर्ने थिएन होला । अथवा बाह्य सम्बन्धमा हेर्दा, अमेरिकाले मुस्लिम विश्वसँग शत्रुता बढाउने थिएन होला वा चीन नियन्त्रणको नीतिका लागि भारतसँग एसियाली साझेदारिता निर्माण गर्ने पनि थिएन होला । त्यसो नहुँदा सम्भवतः भारत-पाकिस्तान आजाद शत्रुता मित्रतामा रूपान्तरण पनि हुनसक्थ्यो कि ?
अमेरिकाले मात्र यी युद्धमा १ टि्रलियन डलर खर्च गरिसकेको छ । अन्य जोड्दा यो खर्च ४ टि्रलियन डलरसम्म पुग्ने देखिन्छ भन्ने तथ्यांक आएका छन् । विश्वका सबै देशका सैन्य बजेट जोड्दा पनि अमेरिका एक्लैले बढी सैन्य खर्च गर्छ । एक तथ्यांकअनुसार, 'अपरेसन इराक फ्रिडम' मा अमेरिकी नागरिकको मृत्युको संख्या ४४०४ छ भने घाइतेको संख्या ३२१५९ छ । त्यस्तै, अफगानिस्तानमा सञ्चालित 'अपरेसन इन्डुरिङ फ्रिडम' मा ६७७ अमेरिकी मारिएका छन् भने १३०११ घाइते भएका छन् । 
यी विश्लेषणका मुद्दा हुन् । इराक र अफगानिस्तान युद्धका अंग भएकाले स्वाभाविक रूपमा प्रभावित भए तर अहिले त सारा विश्व अमेरिकी युद्धबाट प्रभावित छ । विश्वव्यापीकरणको दृष्टिकोणबाट हेर्दा ठीकै हो तर 'असंलग्नता' वा 'तटस्थता' व्यावहारिक रूपमा अवसान भएको पनि यही बेला हो । सन् १९९२ देखि विद्रोही र सत्ताको द्वन्द्वमा विभाजित र अलकायदाको अफ्रिकी संस्करण अलसबाबको आतंकवादले जर्जर कार्यमूलक सरकारविहीन सोमालिया पनि आतंकवादविरोधी युद्धबाट प्रभावित हुने नै भयो । 
तर पाकिस्तान यतिबेला अमेरिकी युद्धबाट असफलतातिर उन्मुख भइरहेको छ, जुन दुर्भाग्यपूर्ण छ । वास्तवमा ९/११ ले पाकिस्तानको भाग्य नै गलत बाटोतर्फ डोहोर्‍यायो । एक औपचारिक तथ्यांकअनुसार, दस वर्षका बीचमा ज्यान गुमाएका र अंगभंग भएकामा २१६७२ छन् भने २८३ आत्मघाती आक्रमणसहित ३४८६ बम विस्फोटमा । त्योसँगै पाकिस्तानी सेनाका २७९५ सेना मारिएका छन् भने ८६७१ घाइते भएका छन् । त्यति मात्र होइन, ३५ लाख पाकिस्तानी नागरिक आन्तरिक रूपमा विस्थापित भएका छन् । त्यस्तै ३० लाख अफगानी शरणार्थीले गर्दा पाकिस्तानमा असुरक्षा बढाएको छ । वाषिर्क रूपमा करिब ७ बिलियन डलर अर्थतन्त्र घाटामा गएको छ ।
तर देश विशेष प्रभावित भएका यी घटनाबाहेक आतंकवादविरुद्धको युद्धका क्रममा भएका विकासक्रमले केही अन्तर्राष्ट्रिय राजनीतिक धारलाई प्रस्ट पार्छन् । 
पहिलो, सार्वभौमिकतामाथिको हस्तक्षेप । अलकायदाविरुद्ध वा आतंकवादविरुद्ध लड्ने होस्, केही राष्ट्रका सार्वभौमिकता मिचिएको देखिन्छ भने शक्ति राष्ट्रको दण्डविहीनता ह्वात्तै बढेको देखिन्छ । पाकिस्तानस्थित अमेरिकी दूतावासका कार्यरत सीआई एजेन्ट रेमन्ड डेभिसलाई तीन पाकिस्तानीको हत्यामा कारबाही नगर्न दबाब दिएर अमेरिका पुर्‍याउनु र इस्लामावादलाई जानकारी नदिई पाकिस्तानभित्र कारबाही गर्नु सार्वभौमिकतामाथिको हस्तक्षेप हो । आतंकवादका पर्यायको हत्या नकरात्मक भने छैन । लिबियामाथिको नेटो आक्रमण सुरक्षा परिषद्मा विभाजित भयो चीनले अप्रत्यक्ष विरोध जनाउँदा । चीनले त्यहाँको संक्रमणकालीन परिषद्लाई मान्यता दिइसकेको छैन किनकि लिबियन सार्वभौमिकतामाथि आँच पुगेको ठहर बेइजिङको देखिन्छ ।
चीनको विदेश नीति फरक पनि छ । आन्दोलन भइरहँदा मौनता साँध्ने र विजयी शक्तिको  वैधानिकता स्विकार गर्ने चिनियाँ नीति पछिल्ला युद्धमा देखिन्छ ।    
दोस्रो हो- आतंकवादविरुद्धको युद्ध सैन्यबलबाट मात्र समाधान हुँदैन । अमेरिकाले इराक, अफगानिस्तान, पाकिस्तान सबैमा 'शक्तिमार्फत तह लगाउने' कूटनीति अपनाएको छ, जुन गलत देखिन्छ । तत्कालका लागि आतंकवाद निरुत्साहित भएको देख्न सकिन्छ तर स्थायी समाधान भने छैन । सायद त्यही बुझेर भारतीय गृहमन्त्री पी.चिदम्बरमले मंगलबार 'वामपन्थी उग्रवाद' लाई 'सबैभन्दा हिंसात्मक' आन्दोलनको रूपमा विश्लेषण गर्दै त्यसविरुद्ध लड्न जनताको 'मन' र 'मस्तिष्क' जित्नुपर्ने सुझाए । माओवादी जनयुद्धलाई मुस्लिम आतंकवादभन्दा डरलाग्दो ठान्नु जायज नभए पनि युद्ध जित्न स्थानीय नागरिकसँग सहकार्य गर्नु अपरिहार्य छ । लिबियामा पश्चिम विश्वले सिकेको पाठ यही हो ।  
तेस्रो हो- नागरिक प्रतिरोध क्षमताको सार्वजनिकीकरण । उदारण हो-  ट्युनिसिया, इजिप्ट, लिबिया, यमन, मोरक्कोलगायतका देशका क्रान्ति । ९/११ बाट अप्रत्यक्ष प्रभावित छ तानाशाहविरुद्ध जागेको युद्ध । यी आन्दोलन खुला समाजको पक्षपाती अमेरिकाद्वारा प्रभावित अवश्य छन् जुन सकारात्मक छ । 
चौथो हो- अमेरिकी शक्तिको पहिचान स्थापित । लिबियामा अमेरिकाको पूरा समर्थन नहुँदासम्म फ्रान्सको नेतृत्वले अपेक्षित सफलता पाउन सकेको थिएन । तर जब अमेरिका लाग्यो, अन्ततः गद्दाफी शासन अन्त्य भयो । इराक र अफगानिस्तानमा पनि अमेरिका लागेका कारण मात्र यो तहको नियन्त्रण सम्भव भएको हो । तरसँगै विश्व शत्रुतापूर्ण पनि बन्दै गएको देखिन्छ । 
यति हुँदा पनि आतंकवादविरुद्धको युद्धको भविष्य निश्चित छैन । त्रास र खतराबाट नागरिक मुक्त हुन सकेको देखिँदैन । फेरि प्रजातन्त्र र शान्ति स्थापना नभएसम्म अमेरिकी युद्धको सफलता मान्न सकिँदैन । युद्धको यो आयामलाई अमेरिकी सम्बोधन आवश्यक छ । gopal@kantipur.com.np

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out