एउटा त्यस्तो गाउँ, जहाँ महिला छैनन्

• घ्याङफेदीमा कल्पना नै गर्न नसकिने एउटा सामाजिक समस्या सिर्जना भएको छ। सयभन्दा बढी पुरुषले महिलाको अभावमा विवाह गर्न पाएका छैनन्। जसमा १६ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष छन्। सिसिपुका ५२ वर्षीय सेलबोन तामाङले विवाह गर्ने रहर पालेको पनि ३० वर्ष नाघिसकेको छ। छिमेकी गाविसहरूमा विवाहका लागि कुरा चलाए तापनि विवाह गर्न केटी नै नपाएको उनको भनाइ छ। ‘आफ्नै गाउँमा केटी भएको भए मेरो पनि विवाह हुन्थ्यो होला, घरजम्म बस्थ्यो होला,’ उनले भने।
• सिसिपुका ३२ वर्षीय आइतमान तामाङसँग ०६७ मङ्सिरमा सेलमेन्दो तामाङको विवाह हुँदा गाउँभरि नै तरङ्ग छाएको थियो। त्यस गाउँमा आठ वर्षपछि भएको त्यो एक मात्र विवाहलाई गाउँमा निकै महत्वका साथ लिइएको थियो। स्थानीय सीताराम तामाङ र कुमार तामाङका अनुसार महिला नहुँदा विवाह गर्न नपाएका पुरुषको सङ्ख्या एउटै गाउँमा ६० भन्दा बढी छ।
आफन्त नै दलाल भएपछि…
-कपिलदेव खनाल-
नुवाकोटको घ्याङफेदी–६ सिसिपुकी १८ वर्षीया सेलमेन्दो तामाङलाई उनकै काका जितबहादुर तामाङले बिक्रीको प्रयास गरे। असार १, ०६८ मा माइती गएकी सेलमेन्दोलाई काकाले घुमाउन लैजाने भन्दै गाउँबाट रसुवा पुर्‍याए। सानैमा बाआमाको मृत्यु भएपछि काकाले नै पालनपोषण गरेर सात महिनाअघि विवाह गरी पठाइएकी सेलमेन्दो माइत आएकी थिइन्। माइत गएको दुई दिनसम्म श्रीमती घर नफर्केपछि श्रीमान् आइतमान तामाङले खोजी गर्दा आफ्नी श्रीमती बिक्रीका लागि भगाइएको चाल पाए। सेलमेन्दोको खोजी गरिदिन उनले प्रहरी र विभिन्न सङ्घसंस्थासँग हारगुहार गर्ने क्रममा रसुवामा छोरी बिक्री गर्न हिँडेका जितबहादुर भेटिए। प्रहरीको हातबाट उम्किन सफल भएका उनी आजभोलि गाउँमै छन् भने सेलमेन्दोलाई शक्ति समूहले उद्धार गरेर घर फिर्ता गरेको छ। ‘काकाले बेच्न लगेको भन्ने थाहा पाएपछि माइती पनि टुङ्गियो,’ सेलमेन्दोले भनिन्, ‘गोसाइँकुण्ड जाऊँ भनेर चार दिनसम्म जङ्गलैजङ्गल हिँडाएर रसुवा पुर्‍याए। प्रहरीले फेलापारेपछि मात्रै आफू बेचिन लागेको थाहा पाएँ।’

सेलमेन्दो तामाङमाथि भएको यो घटना एउटा पछिल्लो उदाहरण मात्र हो। नुवाकोटमा मानव बेचविखनका अनेक रूप छन्। आफन्तकै मिलेमतो र सक्रियतामा हुने महिला तथा बालिका बिक्रीले घ्याङफेदी गाविसमा भयावह रूप लिएको छ। यहाँका तीन हजारभन्दा बढी महिला र बालिका भारतका विभिन्न वेश्यालयमा बिक्री भइसकेका छन्। ‘केटी दलालले गाविस नै रित्तो बनाइसक्यो, कुन–कुन घरमा महिला छन् भनेर औंलामा नै गन्न सकिने अवस्था छ,’ सिसिपुका सीताराम तामाङले भने।

०२२ सालमा पहिलोपटक भारतको वेश्यालयमा बिक्री भएकी सिसिपुकै एक महिलाबाट सुरु भएको यो अपराधले अहिले गाविसलाई महिलाविहीनताको अवस्थामा पुर्‍याएको छ। गाउँमा भएका युवती सकिएपछि पछिल्लो समयमा दश–बाह्र वर्षका बालिका गाउँबाट हराउने गरेका छन्। ‘गाउँबाट कुनै बालिका वा महिला हराए भने सीधै कोलकाता र मुम्बईका यौनकोठीमा खोज्न गए हुन्छ,’ स्थानीय शिक्षक कमल सिटौला भन्छन्। उनका अनुसार गाउँकै दलाल भनेर चिनिएकाले चेली बिक्री गर्ने गरेका छन्। विकासको नाममा गाउँ भित्रिएको सडकका कारण दलाललाई महिला बिक्रीमा सहजता मिलेको छ। गाउँबाट हिँडाएको एकै दिनमा नेपालको सिमाना काटिसक्ने भएकोले प्रहरी र कानुनको आँखा छल्न सजिलो बनेको छ।

गाउँका धेरै महिला वेश्यालयमा पुगिसकेको कारण घ्याङफेदीमा कल्पना नै गर्न नसकिने एउटा सामाजिक समस्या सिर्जना भएको छ। सयभन्दा बढी पुरुषले महिलाको अभावमा विवाह गर्न पाएका छैनन्। जसमा १६ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष छन्। ‘गाउँका केटी दलालले ठूलो गाउँ (भारत) पुर्‍यायो, यो उमेरसम्ममा पनि विवाह गर्न पाइएन,’ सिसिपुका ५२ वर्षीय सेलबोन तामाङले भने। उनले विवाह गर्ने रहर पालेको पनि ३० वर्ष नाघिसकेको छ। छिमेकी गाविसहरूमा विवाहका लागि कुरा चलाए तापनि विवाह गर्न केटी नै नपाएको उनको भनाइ छ। ‘आफ्नै गाउँमा केटी भएको भए मेरो पनि विवाह हुन्थ्यो होला, घरजम्म बस्थ्यो होला,’ उनले भने।

सिसिपुका ३२ वर्षीय आइतमान तामाङसँग ०६७ मङ्सिरमा सेलमेन्दो तामाङको विवाह हुँदा गाउँभरि नै तरङ्ग छाएको थियो। त्यस गाउँमा आठ वर्षपछि भएको त्यो एक मात्र विवाहलाई गाउँमा निकै महत्वका साथ लिइएको थियो। स्थानीय सीताराम तामाङ र कुमार तामाङका अनुसार महिला नहुँदा विवाह गर्न नपाएका पुरुषको सङ्ख्या एउटै गाउँमा ६० भन्दा बढी छ।

गाउँका महिला सकिएपछि दलालले बालिकालाई वेश्यालयमा बिक्रीका लागि गाउँबाट भगाउन थालेका छन्। घरमा केही दिनका लागि महिला मात्रै छाडियो भने बालबच्चासहित परिवार नै दलालले भगाउने गरेको घटना पनि गाउँमा छन्। ‘तीन वर्षको बच्चा र श्रीमतीलाई घरमा छाडेर छिमेकी दावा र म गोसाइँकुण्ड गएका थियौँ, फर्कंदा दलालले बच्चासहित श्रीमती भगाए छ। चार वर्षदेखि मेरी श्रीमती कोलकाता १५ नम्बर गल्लीको कोठीमा छ,’ घ्याङडाँडाका ४५ वर्षीय वीरबहादुर तामाङले भने। श्रीमतीलाई चिनजानकै व्यक्ति बोलुङ गाउँका प्रेमबहादुर तामाङ र छोपा भनिने काले तामाङले बिक्री गरेको उनको भनाइ छ। उनी श्रीमती फर्किएर आउने बाटो हेरिरहेका छन्। ‘यो उमेरमा अर्को महिला पाइँदैन, केटाहरूले त विवाह गर्न पाएका छैनन्, म बूढाले कसरी विवाह गर्नसक्नु। बरु मेरी श्रीमती फिर्ता ल्याउन कसलाई भन्ने होला?’ वीरबहादुरले भने।

गाउँमा साना बच्चा र पुरुषहरूको बाहुल्य रहेको छ। गाउँमा भेटिने ज्यादै थोरैको सङ्ख्यामा रहेका महिला ४० वर्षभन्दा माथिमा मात्र छन्। त्यसमा पनि केही महिला एचआईभी/एड्स सङ्क्रमित भएपछि वेश्यालयबाट फर्काइएका छन् जो मृत्युको समय कुरेर बसिरहेका छन्। शिक्षक कमल सिटौलाका अनुसार घ्याङफेदी गाविसबाट वेश्यालयमा पुगेका महिलामध्ये ६० जनाले आफै वेश्यालय सञ्चालन गरेर बसेका छन्। ४० जनाभन्दा बढी महिला यता घरमा श्रीमान्लाई बच्चा हेर्न लगाएर उता यौन व्यापार गरिरहेका छन्। शिखरबेसीनिवासी एकीकृत माओवादीका जिल्ला नेता लालबहादुर तामाङ भन्छन्, ‘यही अवस्था रहिरहने हो भने गाउँमा जनशक्ति अभाव प्रमुख चुनौती बन्नेछ।’

घरको झ्यालमा बसेर हाँसेपछि बाटोबाट पैसा फाल्छन् र टिप्न पाइन्छ भनेर मुम्बई पुर्‍याइएकी राममाया (नाम परिवर्तन) अहिले गाउँ फिरेकी छिन्। उनी के गरियो के गरिएन अहिले जीवनलाई फर्किएर हेर्न चाहन्नन्। मानव बेचविखन अदृश्य तर व्यापक बनेको छ। आफन्तहरू नै महिला बिक्रीमा प्रत्यक्ष संलग्न रहने कारणले प्रहरीमा यस्ता उजुरी ज्यादै कम पर्छन्। प्रहरीका अनुसार नुवाकोटमा मानव बेचविखनमा संलग्न आठजना पक्राउ परिसकेका छन् भने ३० जना फरार अभियुक्तको खोजीकार्य भइरहेको छ।
प्रभावित गाउँका सचेत नागरिक भने प्रहरी प्रशासनले यो समस्या रोक्नका लागि खासै चासो नदेखाएको आरोप लगाउँछन्। प्रहरीको गाउँमा हुने पातलो उपस्थिति र दलाललाई हुने राजनीतिक संरक्षणका कारण समस्या विकराल बन्दै गएको शिखरबेसीका बुद्धिजीवी कुमार पण्डितको ठम्याइ छ। उनी यो समस्या रोक्नका लागि सरकारले गाउँमै रोजगारीको अवसर सिर्जना गरिदिनुपर्ने बताउँछन्।

प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०६७/६८ मा ४९ जना महिला हराएको उजुरी परेको छ। त्यसैगरी आव ०६६/६७ मा ४५ जना महिला हराएको उजुरी परेकोमा १३ जनाको उद्धार गरेर परिवारको जिम्मा लगाइएको छ। आव ०६५/६६ मा २८ जना हराएकामा १५ जना फेलापरेका थिए। ‘हराउने र बिक्री हुनेमा १०/१२ वर्षका बालिका बढी रहेका छन्,’ प्रहरी नायव उपरीक्षक बालकृष्ण थापाले भने, ‘फेलापारेर आफन्तको जिम्मा लगाएकाहरू पनि फेरि हराएका र बिक्री भइसकेका छन्। आफन्त नै छोरीचेली बिक्रीमा कत्तिको सक्रिय छन् भन्ने कुरा यसबाट पनि थाहा हुन्छ।’

गाउँमा मानव बिक्रीविरुद्ध आवाज उठाउनेलाई दलालले ज्यान लिनेसम्मको धम्की दिने गरेका छन्। शिखरबेसी गाविसका प्राथमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्य मानव बिक्रीविरुद्ध लाग्दा आफूलाई खतरा भएको सुनाउँछन्। त्यसैगरी शिखरबेसी– ८ का शेरबहादुर तामाङ र सत्यमान तामाङसमेत दलालको सञ्जाल गाउँमा सुषुप्त तर डरलाग्दो रहेको बताउँछन्। उनीहरूविरुद्ध लाग्नेमाथि आक्रमण हुने गरेको उनीहरूको भनाइ छ। गएको महिना घ्याङफेदी–९ बोलुङका स्याङ्जा तामाङले १० वर्षकी आफ्नी छोरी हराएर गाउँमा खोजी गर्दा दलालको हातबाट मरणासन्न हुनेगरी कुटाइ खाएका थिए। उनलाई आफ्नी छोरी हराएको कतै खबर नगर्ने सर्तमा उपचार गर्नका लागि गाउँबाहिर जाने अनुमति दिइएको थियो। उनी अहिले आफ्नी छोरी बिक्री भएको विषयमा केही बोल्दैनन्।

यो एउटा घटनालाई छाडेर महिला र बालिका बिक्रीका घटनालाई हेर्ने हो भने आफन्तकै प्रत्यक्ष संलग्नता बढी छ। आर्थिक प्रलोभनमा परेका एक दम्पतीले आफ्नै छोरी भारतीय यौनबजारमा बेचेका छन्। रालुकादेवी–२ चिलाउने गाउँकी १९ वर्षीया सीता तामाङ भारतको यौनकोठीबाट फर्किएपछि उक्त घटना सार्वजनिक भएको हो। तामाङलाई गाउँकै एक महिलाले भारतको कोठीमा पुर्‍याई यौन–व्यवसायमा लगाएकी थिइन्। भारतमा यौनकोठी खोलेकी चिलाउने गाउँकी मैया तामाङले सीतालाई तीन वर्षअघि घर–परिवारको अनुमतिमा लगेकी थिइन्। नेपाल आएपछि सीताले प्रहरीमा उजुरी दिएको आधारमा दलाल मैया तामाङ र बिक्रीका लागि सहयोग गर्ने आरोप लागेका चिलाउने प्राथमिक विद्यालयका प्रधानाध्यापक इन्द्र खतिवडा पक्राउ परेका छन्। आफ्नै शिक्षकले आफूलाई गाउँबाट सदरमुकामसम्म ल्याएका र त्यसपछि मैया तामाङले भारत लगेको सीताले बताएकी छिन्।

मैयाले सीताको घर–परिवारसँग कुरा गरेर भारत लगेको बताउँदै आफूले भारतमा सीतालाई यौन–व्यवसायमा लगाएको स्वीकार गरेकी छिन्। त्यसका लागि सीताको बुबा साइला तामाङलाई बीस हजार नेपाली पैसा दिने सहमति भएको पनि उनले बताएकी छिन्। नेपाल
आउने एक चिनजानको व्यक्तिलाई भारतबाट सहमतिअनुसारको पैसा पठाएको भए तापनि परिवारले नपाएपछि आफ्नोविरुद्धमा प्रहरीमा उजुरी दिएको मैया तामाङको आरोप छ।
मानव बेचविखनको विकराल समस्या भोगिरहेको घ्याङफेदी गाविसबाट यो रोग अब शिखरबेसीका वडाहरूमा समेत फैलिएको छ। वडा नं. ५, ६, ७, ८ र ९ मा महिला बेचविखन बढ्दो छ। ती वडाबाट पाँच सयभन्दा बढी महिला र बालिका बिक्री भइसकेका छन्। यस्तै छिमेकी गाविस गाउँखर्क, राउतबेसी, बेतिनी, रालुकादेवीमा समेत महिला र बालिका बिक्रीको अवस्था डरलाग्दो छ। यसका साथै भारतका वेश्यालयबाट फर्काइएका महिला अधिकांश एचआईभी/एड्स रोगको सिकार भएका छन्। गाउँ भित्रिएका ती महिलाका कारण घ्याङफेदी र शिखरबेसी गाविसमा एचआईभी/एड्सको महामारी फैलिएको छ। तीन वर्षको अवधिमा दुई गाविसमा ३० जनाभन्दा बढी एचआईभी/एड्स सङ्क्रमितको मृत्यु भइसकेको छ। साभार : संचारिका फिचर सेवा

(कपिलदेव इमेज च्यानल टेलिभिजनका नुवाकोटस्थित संवाददाता तथा नुवाकोटबाट प्रकाशित हुने इमेज साप्ताहिकका सम्पादक हुन्।)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out