समलिंगी सम्बन्ध, लिभिङ टुगेदर, पेपर म्यारिज

समाज कतातिर ढल्किँदै छ? सम्बन्धहरू कसरी फेरिएका छन्? नयाँ सम्बन्धको जालो यो समाजमा कसरी फैलिँदै छ?
अफिसको कम्प्युटर स्त्रिनमा गुगलमार्फत संसारसँग नाता गाँस्ने मौका छोप्ने क्रममा ल्यान्डलाइन फोनको रिङ लगातार बजिरह्यो। फोन रिसिभ गरेपछि उताबाट मधुर तर उदास आवाज आयो- यो पत्रिकाको अफिस हो ? हो भनेपछि उनले भनिन्- मलाई एउटा समस्या पर्‍यो। त्यहाँबाट केही समाधान पाइन्थ्यो कि ? नाम र ठेगाना उल्लेख नगर्ने सर्तमा उनी भन्दै गइन्-'म चालीस कटेकी महिला हुँ। यही उमेर समूहका हामी ८ जना छौं। हामी सबै प्रतिष्ठित व्यापारिक घरानाका हौं। उमेर ढल्कँदै जाँदा श्रीमान् हामीबाट विस्तारै टाढिँदै गएजस्तो महसुस हुन थालेको छ। कारण खोज्दै जाँदा हाम्रा श्रीमान्ले आफूसँग २०-२२ वषर्ीया सेक्रेटरी राखेको, उनीहरूलाई ल्यापटप, महँगा मोबाइल, स्कुटर आदि सम्पूर्ण भौतिक सुविधा उपलब्ध गराएको थाहा पाइयो। एकजना साथीका श्रीमान्ले त आफ्नो पार्टनरका लागि निकै महँगो अपार्टमेन्ट खरिद गरिदिएको थाहा भयो। हामीसँग धन-सम्पत्ति, बंगला, गाडी, बालबच्चा सबै कुरा छ तर श्रीमान् छैनन्।'
समाज कतातिर ढल्किँदै छ ? हिजोको सामाजिक बनावट र आजको आधुनिक युगको समाजमा के भिन्नता छ ? सम्बन्धहरू कसरी फेरिएका छन् ? नयाँ सम्बन्धको जालो यो समाजमा कसरी फैलिँदै छ ? आदि प्रश्नहरूको थाक लाग्यो  उक्त एक कल फोनका कारण। अध्ययन गर्दै जाँदा दृश्य-अदृश्य रूपमा भेटिएका यस्ता सम्बन्ध विशेष गरी एक खालको सामाजिक पर्दाभित्र रहेको पाइयो अर्थात् यस्ता सम्बन्धका बारेमा खुलेर बोल्न, अन्तरक्रिया गर्न र सम्बन्धलाई वैधता दिन, सम्बन्ध स्थापित गर्नेहरू हिच्किचाएको देखियो। कडा मेहनत, खोज-अनुसन्धान र लगातार परिश्रमपछि फेला परेका धेरैजसो व्यक्ति नाम, थर, वतन उल्लेख नगर्ने सर्तमा मात्र कुराकानी गर्न राजी भए। भुसको आगोजस्तै समाजमा दन्किरहेको यस्तो सम्बन्धले महिलामा के-कस्ता शारीरिक, मानसिक एवं सामाजिक समस्या निम्त्याउँछन् तथा त्यसका कारण उनीहरूमा के-कस्तो प्रभाव पर्ला ? भन्ने प्रश्नको उत्तर खोज्ने बेला भैसकेको छ।
विवाहेतर सम्बन्धलाई मात्र नभएर समाजभित्र फेरिँदै गएका लिभिङ टुगेदर, समलिंगी सम्बन्ध, कागजी विवाह, विवाहपूर्वको यौन सम्बन्ध, अनमेल विवाह आदि सम्बन्धले समाजलाई जटिल बनाउँदै लगेको छ। तथ्यांकअनुसार ४० प्रतिशत महिला र ६० प्रतिशत पुरुषको जीवनको कुनै न कुनै मोडमा विवाहेतर सम्बन्ध स्थापित हुन पुगेको देखिन्छ। उक्त संख्यामध्ये ८/१० प्रतिशतको वैवाहिक सम्बन्ध धरापमा पर्छ। -जोन के. इजाइन) संसारलाई नियाल्दा करिब ५ प्रतिशत जोडीले विवाहपछि हुने झन्झट र जिम्मेवारीबाट टाढा रहन लिभिङ टुगेदरको सम्बन्धलाई अंगालेको पाइएको छ। लिभिङ टुगेदरको सम्बन्ध बनाउनेहरू स्वावलम्बी एवं आत्मनिर्भर व्यक्तिसँग निकट रहन रुचाउँछन्।

समाजमा झाँगिँदै गएको सम्बन्ध एक्ट्रा म्यारिटल रिलेसनसीप(विवाहेतर सम्बन्ध)
एक्ट्रा म्यारिटल रिलेसनसीप अर्थात् विवाहेतर सम्बन्ध भन्नाले घरमा वैधानिक श्रीमान् वा श्रीमती हुँदाहुँदै परपुरुष वा परस्त्रीसँगको अवैधानिक सम्बन्ध भन्ने बुझिन्छ। यस्तो सम्बन्धमा माया, जिम्मेवारी र दायित्वभन्दा बढी लोभ, मोह र वासनाले भूमिका खेलेको हुन्छ। यस किसिमको सम्बन्ध स्थापित गर्ने पुरुष वा महिला सामाजिक रूपमा लुकीछिपी तथा डर-त्रासमा सम्बन्धलाई अघि बढाइरहेका हुन्छन्। यस्ता सम्बन्धका कारण नेपालमा मात्र होइन संसारका कतिपय स्थानमा विभिन्न अप्रत्यासित घटना घट्ने गरेका छन्। यस किसिमको सम्बन्धका कारण जीवन नै तनावमा बित्ने मात्र नभएर कालान्तरमा मृत्युको मुखसम्म पुगिनेजस्ता समस्या निम्तिन सक्छन्।

पि्र-म्यारिटल सेक्सुअल रिलेसनसीप -विवाहपूर्वको शारीरिक सम्बन्ध)

पि्र-म्यारिटल सेक्सुअल रिलेसनसीप अर्थात् विवाहपूर्वको शारीरिक सम्बन्ध भनेको अविवाहित युवा-युवती प्रेम वा आकर्षणका कारण शारीरिक सम्पर्कसम्मको स्थितिमा पुग्नु हो। यस्तो सम्बन्धमा भोलि गएर सम्पर्क स्थापित गर्नेहरू विवाह बन्धनमै बाँधिन्छन् भन्ने सुनिश्चित हुँदैन। त्यो क्षणिक आकर्षण मात्र पनि हुन सक्छ। एक अध्ययनले प्लस टुमा अध्ययन गर्ने युवा-युवतीहरू पि्र-म्यारिटल सेक्सुअल रिलेसनसीप -विवाहपूर्वको शारीरिक सम्बन्ध) राख्ने काममा अग्र स्थानमा देखाएका छन्। शारीरिक सम्पर्कलाई लभ एक्सपेरिमेन्टको हतियारका रूपमा प्रयोग गर्ने लहड बढ्दै गएकाले पनि समाजमा यस किसिमको सम्बन्ध झाँगिदो छ।

समलिंगी सम्बन्ध
हिजडा समलिंगीको पुरानो परिभाषित शब्द हो। सरसर्ती हेर्दा यसलाई त्यतिबेला यौनाङ्गमा महिला र पुरुष दुवैको अङ्ग मिसिएको भनेर बुझिन्थ्यो तर वास्तविकता त्यस्तो नभएको कुरा अहिले धेरैले बुझिसकेका छन्। महिला-महिलाबीचको सम्बन्धलाई लेस्बियन भनिन्छ भने पुरुष-पुरुषबीचको सम्बन्धलाई गे भनिन्छ। यस किसिमको सम्बन्धले कतिपय अवस्थामा दुवै पक्षलाई तनाव र त्रासको स्थितिसम्म पुर्‍याउन सक्छ। समलिंगी सम्बन्ध स्वीकार गर्ने कतिपय परिवारबाट बहिष्कृत भएका छन्। सामाजिक रूपमा विस्तारै थर्ड जेन्डर अर्थात् तेस्रो लिंगीको मान्यता प्राप्त गरेका व्यक्तिहरू केही समयअघि समाजमा आफ्नो पहिचानको खोजीमा रुमलिइरहेका थिए। आधा दशकअघि मात्र पनि विविध सामाजिक कारणले उनीहरूलाई म समलिंगी हुँ भनेर खुला रूपमा बोल्ने आँट र अवस्था थिएन। उनीहरू लुकीछिपी सम्बन्ध राख्न चाहन्थे तर आजको स्थिति फरक छ। उनीहरू आफ्नो हक-अधिकारका लागि खुलेर संघर्ष गर्दैछन्।

लिभिङ टुगेदर
कुनै अविवाहित युवा-युवती विवाहपूर्व नै सँगै बस्छन् भने त्यसलाई लिभिङ टुगेदर भनिन्छ।  यस्तो सम्बन्धमा वैधानिक रूपमा श्रीमान्-श्रीमतीको हैसियत स्थापित भएको हुँदैन तर सँगै बस्ने, सँगै खाने, आइपरेका समस्या सँगै मिलेर समाधान गर्ने आदि क्रियाकलाप हुन्छन्। यस किसिमको सम्बन्धलाई कतिपयले विवाहका लागि एक्सपेरिमेन्ट पिरियड -परीक्षण काल) का रूपमा लिन्छन्। यसरी बस्नेहरूका अनुसार जीवनभर सँगै बस्न दुवैले एक-अर्कालाई राम्रोसँग चिन्न-जान्न, बुझ्न जरुरी छ जुन काममा लिभिङ टुगेदर सहयोगी बन्न सक्छ।

पेपर म्यारिज (कागजी विवाह)

विवाहयोग्य उमेर पुगेका केटा र केटीले  समाज वा परिवारबिना पनि कोर्टमा गएर कागजी विवाह गर्नु पेपर -कागजी) म्यारिज हो। जुन सामाजिक एवं पारिवारिक वैधानिकताभन्दा केही टाढा तर कानुनी रूपले सबैभन्दा विश्वासयोग्य हुन्छ। हिजोआज निश्चित र निहित स्वार्थमा गरिने पेपर म्यारिज बढ्दो छ। विशेष गरी डिपेन्डेन्ट भिसामा विदेश पढ्न वा काम गर्न जाने युवा-युवती एवं प्रौढहरूले

यही लहरलाई पछ्याइरहेका छन्। उनीहरूमा यदि एकले गर्दा अर्काको वा दुवैको भविष्य बन्छ भने यसो गर्दैमा के फरक पर्छ भन्ने छ। यस किसिमको सम्बन्धले जुन उद्देश्यका लागि पेपर म्यारिज गरिएको छ त्यो कालान्तरमा पूरा हुन सकेन भने त्यसको औचित्य र अर्थका सम्बन्धमा घोत्लिन बाध्य बनाउँछ। त्यसको परिणाम म केही गर्न सक्दिन भन्ने हीनताबोध, नकारात्मक भावना तथा डिप्रेसन उत्पन्न हुनसक्छ। क्षणिक स्वार्थका निम्ति पेपर म्यारिज गरेर छुट्टएिका दुईमध्ये एक सफलताको उचाइमा पुग्यो र अर्को असफल भयो भने असफल हुने व्यक्तिमा बरू त्यसैसँग जीवन बिताउन पाएको भए.....? भन्ने जस्तो भावना आउन थाल्छ।

आजको परिवेशमा महिला र पुरुषबीचको सम्बन्ध अझ फराकिलो भए पनि यसमा देखिएको विकृतिले विकराल अवस्था सिर्जना गरेको छ। घरमा श्रीमतीलाई नानु भनेर सम्बोधन गरी सोहीअनुरूप सम्बन्ध राख्ने पुरुष र राजा भनेर सम्बन्ध राख्ने स्वास्नीमान्छे घरबाट हिँडेको केही पर पुगेपछि मिटिङको बहानामा परपुरुष वा परस्त्रीसँग हिँडेको देख्न-सुन्न पाइन्छ। आजको समयमा पुरुष र महिलाको  सम्बन्धमा कोही पनि खुलेर बोल्न चाहँदैनन्। विश्लेषण गर्दा के पाइन्छ भने श्रीमान्-श्रीमतीहरू एका-अर्कासँग खुसी छैनन् तर पनि दु:ख व्यक्त गर्न चाहँदैनन्। श्रीमतीसित मिटिङको बहाना बनाउने श्रीमान्लाई के ठान्नुहुन्छ ? भन्ने प्रश्न गर्दा उनीहरूमध्ये कसैले उहाँ त भगवान् नै हो, यस्तो सोच्नु नै पाप हो भन्छन्। कसैले के सोच्नु जे गरे पनि मतलव छैन, कसैले जीवनसाथीहरू जबसम्म एक-अर्कालाई साथ दिन्छन् तबसम्मको सम्बन्ध छ भन्छन् अथवा यदि घरमा श्रीमती छ भन्दाभन्दै कोही कान्छी भएर आउँछे भने घरबाट लोग्नेलाई नै निकालिदिन्छु भन्छन्।

आजका मानिसहरू स्वतन्त्र जिउन चाहन्छन्। यी कुराले महिलाहरू बढी पिल्सिएका छन् भने अशिक्षित महिलालाई श्रीमान्ले नै घर न घाटको बनाइदिएका छन्। हामी पश्चिमी मुलुकमा देखिएका राम्रा  र नराम्रा दुवै पक्षलाई केलाएर नहेरी, विश्लेषण नगरी नराम्रा कुरालाई मात्र स्वीकार गरिरहेका छौं। मानिस न शिक्षा, न ऐन-कानुनले बाँधिएको अवस्थाका कारण आज यस्तो समस्या भित्रभित्रै विकराल भएको हो। विकसित मुलुकमा यी सबै कुराले बाँधिएकाले उनीहरू आफैं सजग छन्। नेपालमा देखापरेका यस्ता सम्बन्धलाई मानिसले  आजकालको चलन के हो-के हो, बुझ्नै गाह्रो भनेर चलनसँग जोडिदिएका छन्। कतिलाई यस्ता कुरा सोध्दा  घरमा श्रीमान्-श्रीमती जो  भए पनि ब्वाइ फ्रेन्ड/गर्ल फ्रेन्ड छैन ? हुनुपर्छ नि, आफ्नो लोग्ने-स्वास्नीभन्दा बाहिरको माया फरक हुन्छ, अर्कै हुन्छ, कता हो कता ? बोल्दैमा के हुन्छ र ? भन्ने जस्ता उत्तर सुनिन्छ।

यस किसिमको विकृतिले घरमा मात्र होइन, समाजका हरेक अङ्गमा नकारात्मक प्रभाव पर्छ। मानिसहरू यस विषयमा चर्चा गर्न चाहँदैनन्। अलिकति शंका गर्‍यो भने लंका जल्छ, अथवा लहरो तान्दा पहरो जान्छ भनेर चुप लाग्छन्, के गर्दै हुनुहुन्छ भन्यो भने केही छैन, श्रीमान् कहाँ हुनुहुन्छ ? भन्यो भने विदेश हुनुहुन्छ। सबै राम्रो हुँदाहुँदै कतै लोग्ने मानिसका कारणले घर बिगि्रएको छ भने कसैकी श्रीमतीका कारण आएको विकृतिबाट सन्ततिको भविष्य गम्भीर बनेको छ। यस्तो समस्यालाई सुल्झाउन अरू कोही दोषी छैन आफू नै हो, चाहे लोग्नेमानिस हुन् वा स्वास्नीमानिस जो भए पनि पहिले आफ्नो बानी सुधार्नुपर्‍यो। त्यसपछि मात्र एक-अर्काप्रति विश्वास, माया, सामञ्जस्यता एवं सांस्कृतिक रीतिरिवाज फस्टाउँछन्।

रूपा अधिकारी (आचार्य)

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ -केन्द्रीय महिला उपाध्यक्ष -महिला समिति संयोजक)

मानिसले किन यस्तो सम्बन्ध राख्छ ?

उत्तर एउटै छ-आफूलाई खुसी राख्न अर्थात् उत्सुकता, परिवर्तन, रमाइलो तथा नयाँ अनुभवका लागि।

खुसी : एक विद्वान्ले खुसी हुने उपाय अलि पृथक् ढंगले दिएका छन्। एक घन्टा खुसी हुनु छ भने एक घन्टा सुत्नुहोस्, एकदिन खुसी हुनु छ भने पिकनिक जानुहोस्, एक हप्ता खुसी हुनु छ भने होलिडे मनाउन जानुहोस्, एक महिना खुसी हुनु छ भने विवाह गर्नुहोस्, एक वर्ष खुसी हुनु छ भने धेरै पैसा कमाउनुहोस्। जीवनभर खुसी हुनु छ भने आफूले आफूलाई अन्तरात्मादेखि चिन्ने प्रयास गर्नुहोस् किनभने खुसी बाहिर हुँदैन मनभित्र हुन्छ, मूर्खले मात्र बाहिर खुसी खोज्छ।

उत्सुकता : मानिसभित्र उत्सुकताको विशाल भण्डार हुन्छ जसलाई ऊ हरेक क्षण बाहिर निकाल्ने उपयुक्त समयको खोजीमा हुन्छ। मौका मिल्नेबित्तिकै उसले उक्त अवसर गुमाउन चाहँदैन। आफूसँग नभएको चीज वा वस्तुप्रतिको आकर्षण र त्यसलाई प्रयोग-उपयोग गर्ने उत्सुकता बढी हुन्छ मानिसमा। फलस्वरूप उसले नयाँ कुरा अपनाउन थाल्छ।
परिवर्तन : मानिसको स्वभाव परिवर्तनशील हुन्छ । मानिस एकै किसिमको जीवनसँग दिक्क भैरहेको हुन्छ। जीवनमा केही नयाँ भैदिए ? भन्ने भावना उसमा बारम्बार आइरहन्छ। फेसन, खाना, प्रकृति वा सम्बन्ध, हरेक कुरामा मानिस परिवर्तन चाहन्छ। पहिलेदेखिको सम्बन्धलाई परिवर्तित रूप दिन नसक्दा वा नजान्दा ऊ अन्य सम्बन्धको भुमरीमा फस्छ।

रमाइलो : खुसी नचाहने, हाँस्न नखोज्ने र रमाइलोबाट टाढा भाग्ने व्यक्ति यो संसारमा कमै पाइएला। हरेक जीवित प्राणीमा रमाइलोप्रति मोह हुन्छ जसले जीवनमा नयाँ ऊर्जा थप्न मद्दत गर्छ। यदि ऊ आफूसँग भएको कुराबाट दिक्क छ भने विकल्पका रूपमा उसले निश्चय नै नयाँ कुराको खोजी गर्छ। त्यतिबेला उसले आफूसँग भएको चीजको महत्व कम देख्छ र भविष्यमा पाउने कुराप्रति लालायित हुन्छ।

नयाँ अनुभव : मानिस सधै एउटै कुरामा अडिएर बस्न नसक्ने र नचाहने प्राणी हो। सधैं नयाँ अनुभव र अनुभूतिमा लीन हुन चाहने उसमा नयाँ सम्बन्धबाट मात्र नयाँ अनुभव प्राप्त हुन्छ भन्ने भ्रम हुन्छ। मैले जे गरिरहेको छु त्यो भन्दा फरक गर्न पाए वा मसँग जे छ त्यसबाहेक थप पाउन पाए ? अनुभव प्राप्तिका लागि मानिस नयाँ सम्बन्ध बनाउनतिर लाग्छ।
समाजमा झाँगिँदै गएका वैधानिकता प्राप्त गरिनसकेका यस प्रकारका सम्बन्धले मानसिक मात्र नभएर सामाजिक विचलन नै ल्याउँछन्। जसका कारण समाज फरक दिशातर्फ मोडिन्छ। मनोवैज्ञानिकका रूपमा यही क्षेत्र र विषयमा वर्षौंदेखि काम गर्दै आइरहेका नाताले हाम्रो समाजभित्रकै थुप्रै त्यस्ता घटना छन् जसलाई म आफैंले परामर्श दिने गरेकी छु। मैले भनेका कुरा कुनै बनावटी कथा वा नाटक होइनन् यी सबै यही समाजभित्रका यथार्थ हुन् जुन आजसम्म अदृश्य छन्। सम्बन्धको सुरुवातमा अदृश्य देखिए पनि यस्ता सम्बन्ध विस्तारै जब समस्याका रूपमा खडा हुन्छन् तब क्रमश: सार्वजनिक हुँदै जान्छन्। सुरु-सुरुमा यस्ता सम्बन्धमा जति उल्लास, उमङ्ग एवं खुसी देखिन्छ समय क्रमसँगै तिनै कुरा उल्टो साबित हँँुदै जान्छन्। कति त यस्ता सम्बन्धकै कारण दीर्घरोगको सिकार मात्र नभएर ज्यानै गुमाउन बाध्य भएका छन्।

विशेषगरी विवाहेत्तर सम्बन्धमा घर र बाहिरको सम्बन्धलाई सन्तुलित बनाउन नसक्दा विपद् आएका छन्, भयंकर घटना घटेका छन् र सामाजिक बनावटमा पनि असन्तुलन आएको छ। विवाहपूर्वको यौन सम्पर्कका कारण कतिपय युवा बिचल्लीमा परेका छन्। क्षणिक आनन्दले उनीहरूको भविष्य नै डामाडोल भएको छ। लिभिङ टुगेदरमा पनि सँगै रहँदा वा बस्दा विवाद उत्पन्न भएर ठूला समस्या निम्तिएका छन्। एक-दुई वर्ष सँगै बसेर हेरौं अनि विवाह गरौंला भन्नेहरू ६ महिना बित्न नपाउँदै विचार नमिलेर छुट्टएिका छन् जसले केटाकेटी दुवैमा मानसिक तनाव उत्पन्न गराउने मात्र नभएर विभिन्न लागूऔषध दुव्र्यसनीसम्म बनाएको पाइन्छ। तसर्थ यस्ता सम्बन्ध सुरु हुनुअघि नै भविष्यमा आउन सक्ने घटना-दुर्घटनाहरूका बारेमा सजग एवं सचेत हुनु जरुरी छ।

छोरीलक्ष्मी महर्जन (मनोवैज्ञानिक)
समाज बिस्तारै खुल्ला हुँदैछ
सुनीलबाबु पन्त (संस्थापक, नीलहीरा समाज तथा सभासद्)
शशि तथा रामजी पन्तका चार छोरी तथा दुई छोरामध्येका कान्छा सुनील गोरखा गाईखोर गा.वि.स.मा २०२० साल असारमा जन्मिएका हुन्। गाईखोरबाट एस.एल.सी., पिपुल्स क्याम्पसबाट कमर्समा स्नातक तथा बेलारुसबाट कम्प्युटर साइन्समा स्नातकोत्तर पन्त शिक्षक बुवाको मध्यम वर्गीय परिवारमा हुर्किएका हुन्। बाल्यकालदेखि अमूर्त स्वभावका सुनीलबाबु घरमै रमाउँथे, बुवाआमाको पछि-पछि लाग्नुपर्ने स्वभावका थिए। अन्तर्मुखी, लुरे, माछा-मासु मन नपराउने सुनीलबाबुमा सानैदेखि घरको खाना मन पराउने बानी थियो। कलेज पढ्न २०४५ सालमा काठमाडौं आएका सुनीललाई सहरमा के-के न होला जस्तो लागेको थियो तर यहाँ आएपछि उनलाई यो सहर अत्यन्तै सामान्य लाग्यो। बेलारुस बस्दा यौनिकताका बारेमा बढी थाहा भयो उनलाई। समलिंगीलाई पक्रिएको समाचार त्यहाँका सञ्चार माध्यममा आइरहन्थे। समलिंगीदेखि होसियार भन्ने बोर्ड जताततै देखिन्थ्यो। त्यस्ता बोर्ड देखेर उनलाई डर लाग्थ्यो। निक्र्यौल नै नभए पनि आफू त्यस्तै हुँ कि भनेर। कलेजमा वर्षको एकपटक सबै विद्यार्थीको सम्पूर्ण चेकअप गरिन्थ्यो। कम्प्युटर साइन्समा अब्बल उनलाई जापानमा कामका लागि बोलाइएपछि उनी टोकियो पुगे। त्यहाँ उनले समलिंगीको एउटा छुट्टै एरिया पाए। त्यहाँको बसाइमा समलिंगीहरूका सम्बन्धमा गहिरो अध्ययन गरे। सन् १९९७ मा नेपाल फर्किएपछि यहाँ उनलाई उपयुक्त हुने केही काम भएन। हङकङ एप्लाई गरे एमफिलका लागि। सफल भएपछि पढ्नका लागि हङकङ हानिए। हङकङ पढाइका दौरानमा एकपटकको भ्यालेन्टाइन डेका दिन उनका साथीहरूले तेरो भ्यालेन्टाइन को हो ? भनेर सोधे। म समलिंगी हुँ भन्ने उनको जवाफपछि उनीसँग साथीभाइ, शिक्षकलगायत सबै टाढा हुँदै गए। सुनील भन्छन्-'विकसित र खुला समाजमा त भित्रभित्र त्यस्तो छ भन्ने लाग्यो। सन् २००० मा गोरखाका महिलाका लागि हेन्डिक्राफ्टको सामान बनाउन लगाउने र मार्केटिङ गरिदिने काम गरें। सुनील भन्छन्, 'त्यसपछि म रत्नपार्कमा समलिंगी खोज्न थालें। घरपरिवारले यतिका पढेर आएको मान्छे किन यसरी लाग्छस् भनेर गाली गरे। संगठित हुँदै जाँदा २००२ मा नीलहीरा समाजको स्थापना भयो।' मानव अधिकारको हनन भैरहेको, स्वास्थ्यको कुरा उठिरहेको र कसरी समलिंगीलाई रोजगारी दिलाउने ? भन्ने प्रश्न उठिरहेको अवस्थामा सोही विषयको वकालतका लागि संस्था स्थापना गरिएको उनको भनाइ छ। पन्तका अनुसार सुरुमा समलिंगी भनेर संस्था दर्ता गर्न दिएनन्। समलिंगीको स्थानमा अल्पसंख्यक र सीमान्तकृत शब्द राखेर विधान परिवर्तन गर्नुपर्‍यो।

जीवन कसरी बित्दैछ  ?

बुवाआमासँगै बस्छु। मेरा नौ वर्षदेखिका विदेशी पार्टनर छन्। उनी बि्रटिस हुन्। अहिले कामको सिलसिलामा बैंककमा छन्।

आफ्नो छुट्टै परिवार होस् भन्ने लाग्दैन ?

मेरा बुवा-आमा हुनुहुहुन्छ, त्यही मेरो परिवार हो। मैले गोरखाका ११ जना शिशुलाई शिक्षामा सहयोग गरिरहेको छु।
तपाईंको भावना, इच्छा बुझ्ने व्यक्ति सँगै होस् भन्ने लाग्दैन ?
मेरो पार्टनर सँगै बसे राम्रो हुन्थ्यो तर काम छोड्ने कुरा आएन। हाम्रो सम्बन्ध स्थापित भएको पनि लामो समय बितिसकेको छ। हामीबीच शारीरिक वा अन्यभन्दा पनि बढी भावनात्मक सम्बन्ध छ।

स्वाथ्यका दृष्टिले यस किसिमको सम्बन्ध कत्तिको सुरक्षित हुन्छ ?
हामीमा मात्र होइन, ज्ाो सुकैले पनि असुरक्षित सम्बन्ध राख्दा रोग फैलन्छ। नेपाल सुरक्षित यौन सचेतना फैलाउने कामको सुरुवात हामीले नै गरेका हौं भने हामीले के सुरक्षित, के असुरक्षित भन्ने बुझेका छैनौं होला त ?

यस किसिमको सम्बन्धका चुनौतीहरू के-के छन् ?

समाजले परम्परागत चुनौती थुपारिदिएको छ। विपरीत लिंगी र समलिंगी वा तेस्रो लिंगी सँगै बसेका छन् भने समलिंगी र तेस्रो लिंगीलाई पुलिसले समाएर लान्छ भने उसमा म यस्तो नभएको भए हुन्थ्यो भन्ने हीनताबोध उत्पन्न हुनु स्वाभाविक हो।

समाजलाई यस किसिमको सम्बन्धले कता डोर्‍याइरहेको छ ?

समाज विस्तारै खुल्ला हुँदैछ। समाजले विस्तारै यथार्थलाई आत्मसात् गर्दैछ। एउटा विवाहमा बाजागाजासहित खुसी मनाउँछन् सेलिब्रेट गर्छन् तर अर्को पक्ष निराश छ। यस्तो विभेदबीच समाज स्वच्छ रहँदैन। मेरो स्वभाव र प्रकृति फरक छ, अर्कोको जस्तो हुँदैन। अर्कोसँग जस्तो स्वभाव र प्रकृति छ त्यस्तो मसँग हुँदैन।

यस किसिमको सम्बन्धका कारण रोग सर्ने, यौन क्रियाकलाप बढ्ने, समाज दूषित हुने क्रम बढ्दैछ भनिन्छ नि ?

ठमेलमा बस्ने १ सय जना होलान् तर हाम्रो सम्पर्कमा ३ लाख ५० हजार छन्। विकृति ल्याउन सक्ने समलिंगी ० दशमलव १ प्रतिशत पनि छैनन्। समलिंगीहरू विपरीत लिंगी बन्न सक्दैनन् र विपरीत लिंगीहरू समलिंगी बन्न सक्दैनन्। पहिले-पहिले छोरी पढाए बिगि्रन्छन् लभलेटर लेख्छन् भन्ने थियो त्यस्तै आधारको व्याख्या हो यो। विपरीत लिंगीहरू समाजमा ढोंग देखाएर बाजागाजासहित विवाह गर्छन् तर पनि ठमेलमा यौन खरिद गर्न जान्छन्। पैसा नपुगे तेस्रो लिंगी खोज्दै हिँड्छन्। अनि समाज दूषित बनाउनेमा को जिम्मेवार हुन्छ ?

तपाईं सभासद् जस्तो गरिमामय पदमा हुनुहुन्छ, सरकारले समलिंगी र तेस्रो लिंगीका लागि कुन मुद्दालाई प्राथमिकतामा पारेको छ ?

न्ाागरिकता, अविभेदको सिद्धान्त, सरकारले गर्ने सकारात्मक विभेदभित्र पारिनुपर्ने, विवाह गर्न पाउने कुरामा लंैगिक तटस्थ शब्द र भाषा, जस्तै दुई व्यक्तिबीच भनेर भाषा मिलाइएको छ।

नीलहीरा समाजको उपलब्धि ?

२५ जिल्लामा समलिंगी, तेस्रो लिंगीलाई जिविसको बजेट छुट्याएको छ सरकारले। तेस्रो लिंगीको पहिचान ठूला राजनीतिक दलले आफ्नो घोषणा पत्रमा राखिसकेका छन्।

यस विषयमा सरकारसँग तत्काल माग ?

नागरिकता प्रदान गर्नुपर्‍यो। सर्वोच्चले निर्णय गर्‍यो तर गृहले परिपत्र दिएको छैन अहिलेसम्म।

अहिले कत्तिको सहज छ समलिंगीको जीवन ?

पहिलेको तुलनामा अहिले धेरै सहज छ। बुझ्नेले हिम्मत गरे भन्छन् सम्मान गर्छन्, नबुझ्नेले गाली गर्छन्। कतिपय प्राइभेट कलेजले छात्रवृत्ति दिएका छन्। कम्पनीहरूले सेक्युरिटी गार्ड लान्छन्। संयुक्त राष्ट्रसंघमा काम गर्ने नेपाली समलिंगीहरू पनि अहिले आएर खुल्न थालेका छन्। संसद् सचिवालयमा काम गर्नेहरू पनि समलिंगी छन्।

सम्बन्धको कुनै ठोस सिद्धान्त छैन। सम्बन्ध अमूर्त कुरा हो। हरेक मानिसको मस्तिष्क दुई किसिमको हुन्छ। चेतन मन १० प्रतिशत, अचेतन मन ९० प्रतिशत। अचेतन मनमा भोक, वासना, यौन, फेसन, आकर्षण आदि पर्छन्। विगतमा पूरा नभएका चाहना मानिसले पछि आएर अरूमा देख्छ भने ऊ त्यसैतर्फ आकषिर्त हुन्छ। जसलाई प्राविधिक रूपमा ट्रान्सफरेन्सी -आफूले भोग गर्न नपाएका कुरा अरूमा देख्नु र त्यतैतिर आकषिर्त हुनु) भनिन्छ।
सम्बन्धको प्रसंगमा सुकरातको भनाइ छ, 'विवाह गर्‍यो भने धर्तीमै स्वर्ग देखिन्छ, नगरे मजस्तै विद्वान् भइन्छ।' कुनै पनि सम्बन्ध स्थापित हुनुअघि आफूले नपाएका कुरातर्फ आकर्षण बढ्छ र सम्बन्ध स्थापित हुन्छ। 'कतिपय सम्बन्धले क्षणिक उल्लास प्राप्त भए पनि दीर्घकालीन खुसी दिन सक्दैन। द फुलिस म्यान सिक्स ह्याप्पिनेस इन द डिस्ट्यान्स, द वाइज ग्रोज इट अन्डर हिज फिट।' -जेम्स ओपेनह्याम)। 'द इयर इज वन्ली वान ह्याप्पिनेस इन लाइफ टु लभ एण्ड बी लभ्ड' -जर्ज स्यान्ड) सिग्मन्ड फ्रायडका अनुसार एउटा मानिसको जीवन दुईवटा कुराको सन्तुलनमा अघि  बढेको हुन्छ, एउटा प्रेम र अर्को काम अर्थात् लभ भर्सेज वर्क। उत्सुकताले मानिसलाई जाँगर प्रदान गर्छ। जब मानिस क्षणिक रमाइलोमा लिप्त हुन्छ तब उसको काममा बाधा उत्पन्न हुन थाल्छ।

हामीकहाँ झागिँदै गएको त्यस्तो सम्बन्धले नेपाली समाजलाई तथाकथित आधुनिकीकरणतर्फ डोर्‍याइरहेको छ। पहिले विवाहलाई मानव श्रमशक्तिको स्रोतका रूपमा लिइन्थ्यो। हाल आएर कानुनले नै १८ वर्षमुनि विवाह नगर्ने भनिदिएको छ  र पनि आजको पुस्ता २५-३० वर्ष नकटी स्वयं विवाह गर्न चाहँदैन। किनभने एक्काइसौं शताब्दीमा व्यक्तिगत विकास र करियरका लागि थुप्रै सम्भावनाका द्वार खुलेका छन्। यद्यपि यस्ता सम्बन्धका कारण महिलाको जीवनमा विविध मनोसामाजिक उथलपुथल हुन सक्छन्। उमेर नपुगी विवाह गर्दा र आफ्ना इच्छाहरू पूरा नहुँदै सम्बन्धमा बाँधिदा उसले चाहेको वृत्तिविकास सधंै खोजिरहन्छ। जसले सधै मन संकुचित हुने, हीनताभाव हुने, सधैं आफू अगाडि पुगेका समकक्षीहरू देखेर आफूलाई तौलने बानी बढ्दै जान्छ। यसले निराशाको सिकार हुनसक्ने स्टेजसम्म पुर्‍याउँछ र भाग्यलाई दोष दिने स्वभावको वृद्धि हुन्छ।

लिभिङ टुगेदर पाश्चात्य संस्कृतिको अङ्ग हो तर हाम्रो पूर्वीय मुलुकमा यो आफैंमा नराम्रो कुरा नभए पनि अनमेल साबित हुँदैछ। पश्चिमी समाज व्यक्तिवादी सोच भएको समाज हो र हाम्रो परिवारमुखी समाज हो। पश्चिमी मुलुकमा हरेक कुरा यान्त्रिक हुन्छन् र उनीहरू उच्च शिक्षित एवं आत्मनिर्भर हुन्छन्। त्यही कारणले गर्दा हामीकहाँ २-४ दिन लिभिङ टुगेदरमा रमाइलै होला तर कालान्तरमा त्यही बोझ बन्छ। त्यहाँ कुनै पनि यन्त्रले सहयोग गर्दैनन्। विस्तारै समय बित्दै जाँदा उनीहरूबीचको दैनिक क्रियाकलाप नै बोझ बन्दै जान्छ। यस किसिमको सम्बन्धमा कुनै नैतिक एवं कानुनी बाध्यता नभएका कारण उनीहरू सधैं समाजको डर-त्रासमा दिन बिताइरहेका हुन्छन्। अधिकांश महिलाको सोच अफेयरमा मात्र नभै बालबच्चा र भोलिको जीवनसम्म पुगेर झाँगिन थाल्छ, तर उक्त सोच लिभिङ टुगेदरले पूरा गर्छ भन्ने छैन। त्यही कुरा पूरा नहुँदा कालान्तरमा एन्जाइटी, डिप्रेसन, स्टे्रस डिसअर्डर, साइकोसिसजस्ता समस्या देखापर्छन् भने व्यक्तित्वमा ह्रास आउने, सोसियल फोबिया, हिस्टेरिया आदि समस्या आउन थाल्छन्।

हाम्रो समाजमा विवाहेतर सम्बन्ध अप्राकृतिक गठबन्धन हो। निश्चय नै यसका परिणामहरू नकारात्मक हुन्छन्। सारा जीवन लुकीलुकी बिताउनुपर्ने हुन्छ। वर्क ह्याम्पर तथा जिम्मेवारी बढी हुन्छ। के कारणले विवाहेतर सम्बन्ध राखियो त्यसमा पनि धेरै कुरा निर्भर हुन्छ। पैसाका लागि वा एक्लोपन हटाउन अथवा भौतिक एवं सामाजिक सुरक्षाका लागि ? यदि यी कुराहरू आफ्नो पार्टनरबाट पाउन सकिएन भने कुण्ठा, मनोविषाद एवं मनोसन्तापले समात्छ।

पेपर म्यारिज भनेको स्वार्थ पूरा गर्न गरिने कृत्रिम क्रियाकलाप हो। यसको पृष्ठभूमिमै तनाबमा उब्जिने हुनाले यसको परिणाम पनि तनावयुक्त नहुने कुरै भएन। सुरुवातमा केही राम्रो भए पनि दीर्घकालीन रूपमा स्वार्थको उपलब्धिको हिस्सा बाँड्ने सिलसिलामा विवाद सुरु हुन्छ र त्यो विवादले डरलाग्दो रूप लिन्छ। विशेष गरी यसको प्रत्यक्ष असर महिलामा पर्छ। स्वार्थ पूरा भैसकेपछि महिलामा आत्मग्लानि बढ्दै जान्छ।

डा. शरदमान ताम्राकार

(मनोचिकित्सक, नर्भिक अस्पताल)

नुमाया तथा कुमार श्रेष्ठका कान्छा छोरा भूमिकाका १ दिदी र १ दाइ छन्। मध्यम वर्गीर्य परिवारका श्रेष्ठ २०४४ सालमा नैकापमा जन्मिएका हुन्। उनी सानैदेखि दिदीको घाँघर, टीका, गाजल एवं लिपिस्टिक लगाउँथे। टिनएजमा अझ केटीजस्तो हुन मन लाग्ने, त्यस्तै बोल्न मन लाग्ने, शृंगार गर्न मन पराउने, उनको छोटो केश थियो र पनि दुई चुल्ठी बाट्न मन लाग्ने, नाच्नैपर्ने खालको स्वभाव थियो उनको। भगवान् आएर जादुको छडीले छोएर केटी बनाइदिए हुन्थ्यो भन्ने लाग्थ्यो उनलाई। उनलाई आफूजस्तो व्यक्ति संसारमा एक्लै हुँला जस्तो लाग्थ्यो। घरमा कुनै कुरा सेयर गर्न नसक्ने श्रेष्ठ जब ८ वर्षअघि नीलहीरा समाजमा आए आफूजस्तै थुप्रै मान्छेलाई देखेर उनी यति खुसी भए कि मनका सबै  कुरा एकैचोटि ओकलूँजस्तो भयो। त्यसपछि उनी भूमिका अर्थात् एक सुन्दर युवतीका रूपमा परिचित बन्दै गइन्। भूमिका भन्छिन्-'यहाँ आएपछि मात्र मैले आफ्ना बारेमा बुझें। आफ्नो पहिचानका लागि लड्नुपर्छ भन्ने लाग्यो। जबसम्म समाज र परिवारले हाम्रो अस्तित्व स्वीकार गर्दैन तबसम्म लडिरहन्छु।'

समय कसरी बित्दैछ ?

अहिले म समलिंगी र तेस्रो लिंगीको अधिकारका बारेमा आवाज उठाउँदै, हक-अधिकारका लागि लड्दैछु। खास गरी मानव अधिकारका कार्यक्रममा व्यस्त छु।

जीवन कत्तिको सहज छ ?

अहिलेको परिस्थितिमा अत्यन्तै सहज छ। तनाव उत्पन्न गर्ने, घरबाट बाहिर निस्कन नसकिने, हिजडा भन्ने आदि समस्या थिए तर अहिले त्यस्ता कुरा कम हुँदैछन्।

अहिले समाजमा उचित सम्मान प्राप्त भएको छ त ?

पहिलेको दाँजोमा सम्मान मिलेको छ। कतिपय ठाउँमा विभेद नभएको पनि होइन तर अहिले धेरै ठाउँमा सजिलो छ।

अन्य व्यक्तिसरह परिवार बसाउन मन लाग्दैन ?

समाजमा जति पनि विपरीत लिंगीले गर्ने कृयाकलाप छन् हामीलाई पनि त्यही रहर हुन्छ।

आमा बन्ने रहर छैन ?

आमा बन्ने असीम रहर र इच्छा छ, प्रेगनेन्ट हुने भित्री इच्छा पनि छ, महिनावारी हुने रहर छ, शिशुलाई स्तनपान गराउने रहर छ तर सम्भव छैन।

यस किसिमको सम्बन्धमा विभिन्न रोग सर्ने सम्भावना बढी हुन्छ भन्छन् नि डाक्टरहरू ?

म त्यस्तो मान्दिन। यसमा विशेषगरी जो तेस्रो लिंगी वा समलिंगीसँग यौनसम्पर्क राख्छन् उनीहरू नै यस्ता कुरा उठाउँछन्। हामीले सबैभन्दा बढी रोगका बारेमा चेतनामूलक काम गरेका छौं।

तपाईंहरूलाई अप्राकृतिक भनिन्छ नि ?

म पनि त्यसो भन्नेहरूलाई अप्राकृतिक देख्छु। यदि हाम्रो संख्या बढी र उनीहरूको संख्या कम भैदिएको भए स्थिति उल्टो हुन्थ्यो।

यस किसिमको सम्बन्धले समाज कता धकेलिँदै छ ?

मेरो विचारमा यस किसिमको सम्बन्धले समाजलाई खुकुलो बनाउँदैछ। समलिंगीले अन्य व्यक्तिलाई मन पराउने वा बिगार्ने होइन, तेस्रो लिंगीले तेस्रो लिंगीलाई नै मन पराउने र सम्बन्ध राख्ने हो। तसर्थ समाज जहाँ थियो त्यहीँ छ, खाली समाजको परिवेश र परिस्थितिमा परिवर्तन आएको हो।

कतिपयले समाज दूषित भएको आरोप लगाउँछन् नि ?

समाजमा अझैं पनि छक्का, हिजडा, अप्राकृतिक भन्छन् यत्रो यातना खपेर कसैलाई तेस्रो लिंगी, समलिंगी बन्न मन लाग्ला र ?

ब्वाइफ्रेन्ड र भावनात्मक सम्बन्धको कस्तो अनुभव छ ?

हाम्रो विषयमा कुरा गर्दा अरूले सोच्छन्, कस्तो होला यिनीहरूको सम्बन्ध, परिवार भनेर। हामीलाई पनि ब्वाइफ्रेन्ड बनाउन, घर बसाउन मन लाग्छ।

सरकारले समलिंगी, तेस्रो लिंगीका लागि तत्काल गर्नुपर्ने काम ?

सरकार हाम्रो अधिकारका लागि पनि गम्भीर हुनुपर्छ। तत्काल सम्मानपूर्वक नागरिकता दिनुपर्छ।

तपाईं समलिंगी, तेस्रो लिंगीको संख्या बढोस् भन्ने चाहनुहुन्छ ?

संख्या ठूलो वा सानो हुनुपर्छ भन्ने मुख्य कुरा होइन, समाजबाट बाहिर नआएकाहरू सशक्त भएर बाहिर आउनुपर्छ।

भविष्यको योजना ?

समलिंगी, तेस्रो लिंगी हक-अधिकारलाई अघि बढाउने।

भूमिका श्रेष्ठ (मानव अधिकारवादी तथा महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेस)

डिलुकुमारी बुर्दुजाको म्याग्दी नारच्याङ गा.वि.स.मा २०३२ सालमा जन्म भयो। बाल्यावस्थादेखि नै केटाहरूसँग चल्ने, फुटबल, भलिबल खेल्नुका साथै उनी महिलाको लुगा लगाउन मन नपराउने, चुरा लगाए पनि फोरेर फाल्नेउनको बानी थियो । २ दिदी १ दाइमध्ये घरकी सबैभन्दा सानी उनी सबैकी प्यारी थिइन्। उनका दाइ लाहुरे, गाउँका सबैले सूर्य लाहुरेकी बहिनी त केटाहरूसँग मात्र हिँड्छे भन्थे। आमाले उनलाई स्कुल पठाइन्। स्कुल गएपछि छोरीलाई किन पढ्न पढाएको, गुन्द्री, घलेक बुन्न नसिकाएर ? आमालाई सबैले यसै भन्थे। केटाहरूसँग फाइट गर्ने, दिनको एकजोर लुगा च्यात्ने डिलुको व्यवहार अति भएपछि आमाले बाग्लुङ पढ्न पठाइन्। उनी पछि एकदम राम्रा खेलाडी भएर निस्किए। नारी दिवसका अवसरमा ११ पटक सट हान्नेलाई भाग लिन दिने सूचना टाँसियो। उनी २२ पटक हान्न सक्ने मान्छे। गाउँबाट आएको मान्छे यस्तो सट हान्ने भनेर चित् खाए सबै। त्यो म्याच उनकै कारणले सफल भयो। उनको नाम रेडियोमा आयो। सबै गाउँले प्रभावित भए। आफ्ना बारेमा राम्रो ज्ञान भैसकेपछि उनी बद्री पुनका रूपमा सबैका माझ प्रस्तुत हुन चाहे। बद्री भन्छन्-अरू भन्दा फरक हुँ भन्ने पहिले नै थाहा भए पनि ८ कक्षा पढ्दा केटीहरू नै मन पर्न थाले। केटीहरू पनि मप्रति असाध्यै क्रेजी हुन थाले। केटीले प्रस्ताव राखे अनि मैले पनि म त मर्द पो हुँ त म के कम भनेर जवाफ दिएँ। लभ पर्‍यो। पछि अनेक गरेर छुटाए। त्यतिबेला हामीलाई ठहरै मार्ने अवस्था थियो।' तेस्रो लिंगीलाई नेपालमा रोजगारीमा अवरोध भएका कारण ७ वर्ष विदेश पलायन भएँ र नेपाल आएर आफूजस्तै अरूको अधिकारका लागि काम गर्न थालें। अहिले फुल डेमोक्रेसीमा इन्जोय गरिरहेको अनुभूति छ उनीसँग। अहिले उनकी पार्टनर चितवनबाट आफ्नो अधिकार खोज्दैछिन्। सँगै बस्न नपाउँदा दु:ख लाग्छ र पनि आफूजस्ता अन्यका लागि आफ्नो पार्टनरले काम गरेको देख्दा भित्रभित्रै गद्गद् पनि छन् उनी। समलिंगी, तेस्रो लिंगीलाई नागरिकता प्राप्त गर्न अत्यन्त कठिन भैरहेको अवस्थामा भर्खरै मात्र उनले डिलुकुमारी बुदुजाको नाममा पहिले लिएको नागरिकता खारेज गरी बद्री पुनको नाममा तेस्रो लिंगीको नागरिकता प्राप्त गरेका छन्। बद्री भन्छन्-'सबैको मेरोजस्तो भाग्य, मलाई नागरिकता दिने, कुरा बुझ्ने सिडिओ र यस्तै संयोग अरूलाई प्राप्त हुँदैन। पहिले म आफूलाई यो देशको नागरिक नभएजस्तो लाग्थ्यो तर जब मैले आफूले चाहेअनुरूपको नागरिकता प्राप्त गरें, ममा आत्मविश्वास वृद्धि भएको छ।'

डिलु बुर्दुजा (बद्री पुन)
केस स्टडी
सम्पत्तिको लालच
रुक्सा -नाम परिवर्तन) सुन्दर युवती हुन्। उनी स्मार्ट र शिक्षित पनि छिन्। २३ वषर्ीर्या रुक्साको एक प्रौढ -करिब ५० वषर्ीर्य) नेदरल्यान्डका नागरिकसँग भेट भयो। मित्रता बढ्दै जाँदा उनीहरू नजिक बन्दै गए। नेदरल्यान्डका ती प्रौढ उनको प्रेममा आशक्त हुँदै गए। उनको नेपाल आउने-जाने क्रम पनि बाक्लिँदै गयो। यद्यपि नेदरल्यान्डमै हुँदा पनि उनको मन नेपालमै हुन्थ्यो। उनले रुक्साका लागि घर किन्न धेरै पैसा पठाइदिए। रुक्साले उक्त पैसाले आफ्ना लागि निजी घर किनिन्। ती विदेशी नागरिक नेपाल आएका बेला त्यही घरमा बस्थे। यता रुक्साका आत्मीय प्रेमी भने नेपाली नै थिए। पैसाको मोहमा रुक्सा यसरी फसेकी थिइन् कि उनलाई त्यहाँबाट निस्कन मन थिएन तर अर्को बाध्यता पनि थियो, वर्षौंदेखि नेपाली युवकसँग झाँगिएको प्रेमलाई विवाहमा परिणत गर्ने। अन्तत: उनले आफ्नो प्रेमीसित विवाह गरिन्। दुई वर्षको अन्तरालमा एउटा शिशु जन्मियो। नेदरल्यान्डका नागरिक नेपाल आएका बेला सारा कुरा थाहा पाए। त्यसपछि उनको रुक्साप्रतिको मोह घट्न थाल्यो। परिणामस्वरूप उनले रुक्साकी बहिनीसँग सम्बन्ध बढाउन थाले। रुक्सालाई पैसा पठाउन बन्द गरी बहिनीका नाममा पैसा आउन थाल्यो। जसको प्रत्यक्ष असर सोझै रुक्साको दिमागमा पर्‍यो। त्यसपछि उनका गतिविधि फेरिए। टोलाएर बस्ने, रुने, खाना नखाने, बच्चा-श्रीमान् र परिवारको बेवास्ता गर्ने क्रम बढ्दै गयो। कालान्तरमा उनी डिप्रेसनमा पुगिन्। हाल डिप्रेसनको उपचार गराइरहेकी रुक्सा यस्ता सम्बन्धमा झुक्किएर पनि कोही नपरून् भन्ने कामना गर्छिन्।

विवाह मोह
शृजिता -नाम परिवर्तन) सिंगापुरमा उच्च शिक्षा हासिल गरेर फर्किएकी संभ्रान्त परिवारकी युवती हुन्। सिंगापुर अध्ययनका सिलसिलामा उनको फेसबुकमार्फत आर्यन -नाम परिवर्तन) सँग मित्रता बढ्दै गयो। क्यानाडामा बस्ने आर्यनकी आफ्नै श्रीमती र छुट्टै संसार थियो तर ऊ हरेक पटक शृजितासँगको च्याटमा आफ्नी श्रीमती मन नपर्ने र उनीसँग सम्बन्धविच्छेद गर्ने प्रक्रियामा रहेको बताउँथ्यो। उसले शृजितालाई आफ्नो सबै वास्तविकता खुलस्त भनेको थियो। उनीहरूबीच नेपालमा भेट्ने कुरा भयो। शृजिता सिंगापुरबाट र आर्यन क्यानाडाबाट नेपाल आए। दुवैको भेट भयो। सम्बन्ध अझ निकट बन्दै गयो। आर्यनले आफ्नो फेसबुक स्ट्याटसबाट श्रीमतीको तस्बिर हटाएर आफू अविवाहित रहेको नयाँ स्ट्याटस बनायो। उनीहरू दुईजना मात्र सिंगापुर घुम्न पनि गए। एक-अर्काबिना बाँच्न नसक्ने अवस्थामा पुगेपछि शृजिताको घरपरिवारले पनि आर्यनसँग जेठी श्रीमतीसँग डिभोर्स गर्न आग्रह गरे। शृजितालाई आर्यनसँग विवाह गरेर घरजम बसाउने मोहले लठ्याएको थियो। आफ्नो भविष्य आर्यनसँग बिताउने कल्पनामा उनी आफूलाई संसारकै भाग्यमानी महसुस गरिरहेकी थिइन्। उता आर्यन पनि उनलाई धेरै माया गर्ने र उनीसँगै विवाह गरेर घरजम बसाउन चाहेको कुरा व्यक्त गरिरहन्थ्यो। जब शृजिताले बढी नै जिद्दी गर्न थालिन् तब एकदिन उसले भन्यो-घरपरिवारको ठूलो दबाब छ ममाथि। म मेरी श्रीमतीलाइ छोड्न सक्दिन। न त म उनीसँग सम्बन्धविच्छेद नै गर्न सक्छु।' त्यसपछि शृजिता आकाशबाट खसेजस्ती भइन्। उनको दिमागमा नराम्रो झट्का लाग्यो। अहिले पनि उनी आर्यनलाई दैनिक दसौं पटक फोन गर्छिन् तर उनी पटक्कै फोन उठाउँदैनन्। यस किसिमको व्यवहारले शृजिताको मन कुँडिएको छ। उनको दिल र दिमागमा दरिलो झट्का लागेको छ। उनी डाँको छोडेर रुने अवस्थामा पुगेकी छिन्। विवाहप्रति वितृष्णा पलाएको छ। मानसिक समस्या हटाएर आफूलाई पहिलेको अवस्थामा फर्काउन उपचारमा जुटेकी छिन् उनी।

क्षणिक आकर्षण
क्षणिक आकर्षण मीठो हुन्छ तर छोटो हुन्छ। यसले क्षणभरका निम्ति जसरी लोभ्याउँछ सधैं उही तहमा रहँदैन। प्लस टु अध्ययनरत शाम्भवी -नाम परिवर्तन) लाई पनि यस्तै क्षणिक मायाजालले आज घर न घाटको बनाइदिएको छ। युवावस्था उमेरै त्यस्तो, कलेज जान्छु भन्यो घरबाट फेसनेबल लुगामा स्कुटी लिएर निस्कियो। साथीहरूको तालमा लागेर कलेज बंक गर्‍यो चुरोटको सर्कोमा झुम्दै कहिले गोदावरी, कहिले धुलिखेल त कहिले सिनेमा हल पुग्यो। चार वर्षअघिको उनको दिनचर्या यस्तै थियो। त्यत्तिकैमा उनको जीवनमा प्रनीश -नाम परिवर्तन) बहार बनेर आइपुग्यो। अब त शाम्भवीलाई हरेक कुरा सम्भव लाग्न थाले, संसारको सबैभन्दा भाग्यमानी र सुखी व्यक्ति आफू मात्र भएको कल्पना गर्थिन् उनी। आफ्नो स्कुटी कहिले कलेजको पार्किङ त कहिले साथीकहाँ छोडेर उनी प्रनीशको आर-१५ मा हुइँकिन्थिन्, कहिले कता त कहिले कता। उनीहरूको प्रेम दुई वर्ष चल्यो। प्रेमको गहिराइमा चुर्लुम्म डुबेको यो जोडी कतिबेला शारीरिक सम्पर्कको अन्तिम अवस्थासम्म पुग्यो दुवैलाई पत्तो भएन। अब यो रमाइलो कहिल्यै अन्त्य हुँदैन भन्ने भाव दीर्घकालीन बन्न सकेन किनभने उनी गर्भवती भइन्। अब पर्‍यो आपद्। प्रनीश विवाह गर्ने मनस्थितिमा थिएन, उसका अभिभावक उसलाई फरदर स्टडीका लागि अमेरिका पठाउने योजनामा थिए। प्रनीशले गर्भपतन गराउन जोड दिन थाल्यो भने ऊसँग विवाह गरी सम्पूर्ण जीवन उसैसँग बिताउने सपना बुनेकी शाम्भवी आफ्नो मायाको चिनोलाई यो धर्तीमा ल्याउने पक्षमा थिइन्। त्यसैले दुईबीच कुरा मिलेन। प्रनीशले उनको वास्ता गर्न छोड्यो । यता शाम्भवीको पेटको बच्चा बढ्दै जान थाल्यो। समय दौडिरहेको थियो। शाम्भवीको कुरा थाहा पाएर छोरीलाई डाक्टर बनाउने सपना देखेका उनका अभिभावकले क्रोधमा आएर उनलाई घरबाट निकालिदिए। उता प्रनीश पनि उनलाई लत्याएर विदेश गयो। अहिले शाम्भवी आफ्नो सन्तानलाई जन्म दिएर एउटा कोठामा कष्टकर जीवन बिताइरहेकी छिन्।उनी विगतमा बुद्धि नपुर्‍याएकोमा अहिले पश्चातापको आगोमा जलिरहेकी छिन्। अहिले उनीसँग पढ्ने र करियर बनाउने अनुकूल अवस्था पनि छैन।
समलिङ्गी-तेस्रो लिङ्गीलाई सरकारले अहिलेसम्म मान्यता दिएको छैन। उनीहरू लिङ्गको माग गरिरहेका छन् त्यसमा पनि समस्या छ। पहिचानमा एकरूपता छैन। विवाहेतर सम्बन्धका लागि पनि कानुनमा कुनै स्पष्ट व्याख्या छैन। व्यक्तिगत पहलमा कसैले विवाह दर्ता गर्छ भने केही अधिकार सिर्जना हुने अवस्था रहन्छ।  बहुविवाह गर्नेलाई १ देखि ३ वर्ष जेल सजाय र ५ देखि २५ हजार जरिवाना छ। यस्तो सम्बन्धबाट शिशु जन्मिएको छ भने उसलाई पनि आर्थिक, शारीरिक, मानसिक आदि असर पर्छ। यदि कसैले कसैलाई झुक्याएर विवाह गरेको छ भने उसलाई सजाय हुन्छ। अर्कातर्फ सामाजिक तिरस्कारको सजाय त छंँदैछ। विवाहेतर सम्बन्धमा दुई व्यक्ति भेट हुँदा नगद दिनुबाहेक अन्य सम्पत्तिमाथिको अधिकार पनि रहँदैन। अधिकारको साटो बरू सजाय बढी मिल्छ। यस्तो सम्बन्ध प्रमाणित भएपछि फौजदारी मुद्दा बन्छ जसले कालान्तरसम्म रोजगारीलगायतका हरेक कुरामा असर पार्छ। त्यसैगरी लिभिङ टुगेदरमा पनि कुनै कानुनी अधिकार हुँदैन। सँगै बस्दासम्म मात्र सबै कुरा सेयर हुन्छ मन नपरेर छुट्टएिपछि सबै कुरा सकिन्छ। यदि कसैले सम्पत्तिका लागि कसैलाई बलात्कार गर्छ भने पनि उसमाथि कानुनी मुद्दा लाग्छ। उसले सम्पत्ति पाउने त कुरै हुँदैन।
अधिवक्ता मीरा ढुंगाना

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out