'मन्त्रीलाई नपोल्न' आठ लाखको प्रलोभन

सुन्दर खनाल, काठमाडौं, असोज २६- काशीनाथ तिवारी हत्याकाण्डमा भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहलाई उम्काउन एक बहालवाला विशिष्ट श्रेणी अधिकृतको मध्यस्थतामा आफूलाई आर्थिक प्रलोभन दिइएको पीडित परिवारले दाबी गरेको छ। आरोपी मन्त्रीकै मन्त्रालयका सह-सचिव नगेन्द्र झाले नयाँ बानेश्वरस्थित निवासमा मंगलबार बिहान बोलाएर आठ लाख रुपैयाँ दिँदै 'किटानी उजुरी फिर्ता लिन' सहमत गराउन खोजेको तिवारीपत्नी बबितादेवीले बुधबार खुलासा गरिन्।
झाले उक्त रकम 'व्यक्तिगत सहयोग'को नाममा थमाउँदै बाँकी कुरा मिलाउन मंगलबार दिउँसो प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट गराउन खोजेको उनले सञ्चार माध्यमलाई बताइन्।
गत वर्ष तिवारीको वीरगन्जमा हत्या हुँदा पर्साका प्रमुख जिल्ला अधिकारी रहेका झाले प्रधानमन्त्रीकहाँ पुर्‍याएर 'झोली भरेर पठाइदिने' आश्वासन दिएको बबिताले उल्लेख गरिन्। 'मात्रै तिमीहरूले कोही हत्यारा चिनेको छैन भनिदिनुपर्‍यो,' उनले झालाई उद्धृत गर्दै भनिन्, 'त्यसपछि २४ घन्टाभित्र वीरगन्ज मालपोतमा जागिर, तिवारीलाई सहिद घोषणा र बच्चाहरूको भरणपोषणको व्यवस्था हुन्छ। जे माग्यो त्यो पाइन्छ।'
आफूहरूलाई भावुक बनाएर आठ लाख रुपैयाँ थमाएको र अन्य शुभचिन्तकसँग सल्लाह गरेपछि 'षड्यन्त्र' भन्ने लागेको मृतक तिवारीका सहोदर दाजु प्रयागले बताए। 'अब यो रकम उनीहरूविरुद्ध नै प्रमाणका रूपमा प्रयोग गर्छौं,' उनले भने।
आफ्नो भाइको हत्यालगत्तै भएको भेटघाटमा तत्कालीन प्रजिअ झाले केही सहयोग आफ्नो तर्फबाट गर्ने कबोल गरे पनि वर्षभर केही नगरेको उनले बताए। 'एक वर्षपछि प्रकरणले अर्कै मोड लिएपछि उनले एकाएक आठ लाख मागेर जुटाएको भन्दै थमाए,' उनले भने।
उनीहरूसँगै गएका तिवारी परिवारका सहयोगी तथा हिन्दु युवा संघका सल्लाहकार ज्योतिलाल साहका अनुसार झा 'परेका खण्डमा मन्त्री साहलाई दुई मिनेटमै भेटाउन सक्ने' पनि बताउँदै थिए।
गृह मन्त्रालयअन्तर्गत दुई वर्ष बस्दा कपिलवस्तु र पर्सा जिल्लाको प्रजिअ भई गत जेठमा भूमिसुधारअन्तर्गत नापी विभाग फर्केका झाले तिवारी परिवारको आरोप खण्डन गरेका छन्।
'यो एकदम गलत कुरा हो। मलाई फसाउने योजना हो। म किन कसैलाई त्यसरी पैसा दिऊँ?' नागरिकले प्रतिक्रिया माग्दा उनले भने, 'उनीहरू मैले प्रजिअ हुँदा के के भनेको थिएँ भनेर आएका हुन्, मैले जे गर्नपर्ने हो त्यतिबेलै गरेँ, अब के गर्ने हो प्रधानमन्त्रीकहाँ जानोस् भनेको हुँ।'
तिवारी परिवारले यो घटनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पुर्‍याउने जनाएको छ। 'एउटा कार्यपालिकाको जिम्मेवार मान्छेले न्यायपालिकाको क्षेत्राधिकारमा रहेको विषय प्रभावित गर्न यसो भन्छ भने यो अख्तियार दुरुपयोग हो, हामी आयोग जान्छौं,' तिवारी परिवारसँग पारिवारिक नाता राख्ने नेपाली कांग्रेस सभासद सुरेन्द्र चौधरीले पीडितसाथ बसेर भने।
हामीलाई किन्न खोजियो : प्रयाग तिवारी
सर्लाहीमा शिक्षक काम गर्ने एक व्यक्ति १५ दिनयता मेरो पछि लागिरहेका थिए। प्रधानमन्त्रीलाई भेटाइदिन्छु भन्ने उनको कुरा मैले पत्याइरहेको थिइनँ। मतलबै गरिनँ। धेरै धाएका धायै गरेपछि साथीहरूसँग सल्लाह गरेँ। र, एकचोटि उसले भनेअनुसार काठमाडौं जाने निर्णय भयो।
हामी सोमबार दिउँसो ज्योतिलालजीको गाडीमा वीरगन्जबाट हिँड्यौं। म, बुहारी बबिता, ज्योतिलाल, उनका सहयोगी ओमप्रकाश पटेल र त्यो मास्टर। त्यो मास्टरको नाम पनि राम्रोसँग याद भएन, उसको मोबाइल नम्बर ९८४५०३०१९७ हो।
साँझ साढे सात बजे काठमाडौं आइपुगियो। सुन्धाराको सोनी होटलमा बस्यौं। भोलिपल्ट बिहान सात बजेपछि मास्टरले हामीलाई होटलबाट हिँडायो। साढे सात बजे नयाँ बानेश्वर शान्तिटोलस्थित नगेन्द्र झा (भूमिसुधार सह-सचिव) को घर पुर्‍यायो। हामीले चिनिहाल्यौं। राम्रो चियापानको व्यवस्था गरेका रहेछन्।
विस्तारै कुरा सुरु भयो। उनले गत वर्ष घटना भएपछिका भेटघाटका कुरा गरे। 'मैले भनेको थिएँ नि, एउटा ब्राह्मण परिवारमाथि परेको दुःखले व्यक्तिगत रूपमा छोएको छ भनेर,' उनले भने।
कुरा गर्दागर्दै एउटा मानिस कालो झोला बोकेर आयो र झालाई दियो। झाले त्यो झोला हामीतिर थमाउँदै भने, 'मैले यहाँ मागमुग गरेर जम्मा गरेको ८ लाख छ, यो अहिले मेरोतर्फबाट लानुस्।'
हामी अलमल पर्‍यौं। एउटा 'इमोसनल ट्र्याप'मा पारिएका थियौं। अब बल्ल झाले आफ्ना वास्तविकता खुलाउन थाले। उनले हामीलाई प्रधानमन्त्रीकहाँ दिउँसो चार बजे भेटघाटको व्यवस्था मिलाएको कुरा गरे। त्यहाँ गएर 'मात्रै हत्यारा कसैले चिनेको छैन' भन्नुपर्ने रे। सबै कुरा तुरुन्तातुरुन्तै मिल्ने रे।
बुहारी पढेकी छैन, वीरगन्ज मालपोतमा भोलिदेखि नै १० हजार रुपैयाँ तलब आउने पियनको जागिर। चौबिस घन्टामा काशीनाथलाई सहिद घोषणा। केटाकेटीको सबै ग्यारेन्टी। झोली भरेर पठाइदिने। आदि-आदि ।
हामी अलमलिएरै केही नबोली बाहिरियौं। त्यसपछि हाम्रा वकिल र सभासद चौधरीलाई फोन गर्‍यौं। भेटेर सल्लाह गर्दा हामीलाई खरिद गर्न खोजिएको निर्क्योल भयो।
झाले आफ्नै फोनबाट तीनचोटि सम्पर्क गरे। बालुवाटार गेटमा नाम गइसक्यो, आऊ कि आऊ भनेर ताकेता गरिरहे। मास्टरले पनि फोन गरे। हामी गएनौं।
हामीमाथिको अर्को अन्याय ठानी यो कुरा सार्वजनिक गरेका हौं।

हाम्रो पहिलो माग हो, अपराधीलाई कानुनको कठघरामा ल्याउने। प्रहरीले फेरि अनुसन्धान सुरु गरी केसले नयाँ मोड लिएको अवस्थामा हामीले प्रलोभन मात्र नभई धम्कीसमेत खेप्दै आएका छौं। हामी अडिग छौं।
यहाँ त हामीलाई किन्न खोजियो। हामी मान्नेवाला छैनौं।
(सुन्दर खनालसँगको कुराकानीमा आधारित)

अमन कुशवाहको साबिती बयान
म नेकपा एमाओवादीको बारा, पर्सा, रौतहट जिल्ला राज्यसमितिको साधरण सदस्य हुँ। हाम्रो पार्टीको निर्णयअनुसार २०६७-१-१ देखि तत्कालीन सरकारको विरोधमा आमहडताल गर्र्दै आएकोमा २३ गते जाहेरवालाका (बबितादेवी) का पति (काशीनाथ तिवारी) को नेतृत्वमा आएको हिन्दु युवा संघका कार्यकर्ताले हाम्रा कार्यकर्तामाथि आक्रमण गरे। हाम्रा ४-५ सभासदमाथि समेत कुटपिट गरी घाइते बनाएको र हाम्रो बन्दोबस्तीका सामानसमेत लुटी लगेको हुँदा हिन्दु युवा संघ र हामीबीच रिसइबी रहँदै आएकोमा काशी तिवारीलाई गोली हानी मार्नुभन्दा अगाडि मलाई फिरोज भन्ने सियाराम कुशवाहले बारा जिल्लाको सिमरास्थित वाइसिएल कार्यालयमा मिटिङ छ भने। बोलाए। त्यहाँ मिटिङ नभई निज सियाराम कुशवाह र प्रभु साह तेली रहेकोमा हाम्रो पार्टीको एउटा काम छ, राम्रो मोटरसाइकल चलाउने मान्छेको आवश्यक भएकाले तिमीलाई ल्याएको भनी सभासद रहेका साहले १-२ दिन सियारामसँग घुमफिर गर, अनि काम गर्ने र काम गरेपछि विदेश पठाइदिन्छु भनी सभासदले भनेको सोही क्रममा केही पर प्रभु साह र सियारामबीच पैसा लेनदेन देखेको। सोही दिन मलाई अहिले घर जाऊ भनी घर पठाएको। भोलिपल्ट उही स्थानमा बोलाई फिरोज (सियाराम) ले मलाई मोटरसाइकल हाँक्न लगाई वीरगन्ज लगेको र घटनास्थल रानीघाट पुगेपछि जाहेरवालाको घरचोकतिर हिँडेपछि मैेले सोध्दा हाम्रो सभासदलाई कुटपिट गर्ने हिन्दु युवा संघको अध्यक्ष काशी तिवारीको घर यहीँ छ, मौका मिलेपछि गोली हान्नुपर्छ भनेको। सभासदले हामीलाई यही कामका लागि पठाएको भनेको र केही दिनपछि गोली काशी तिवारीमाथि फिरोजले गोली हानेको र ऊ दौडिएर मेरो मोटरसाइकलमा बसी भागेको। त्यसको केही दिनपछि काठमाडौंको एउटा कोठामा जाँदा सभासद साह र सियाराम सँगै बसेको र हामीले काम सफल गरेकोमा सभासदले १ लाख ५० हजार दिनुभएको छ लिनू भनेको र सभासदले पार्टीको राम्रो काम गर्नू, विदेश पठाइदिन्छु भनेको हुँदा म त्यहाँबाट फर्किआएँ। उक्त पैसा घरखर्च र बहिनीको बिहेमा मासिसकेको हो। (सम्पादित अंश)

प्रमाण अपुग भन्दै मन्त्री साहलाई उन्मुक्ति
 उपेन्द्र लामिछाने, वीरगन्ज, असोज २६- काशीनाथ तिवारी हत्याप्रकरणमा 'प्रमाण अपुग' भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले भूमिसुधारमन्त्री प्रभु साहलाई उन्मुक्ति दिएको छ। कार्यालयले उनका स्वकीय सचिव सियाराम कुशवाहसहित पाँचविरुद्ध बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।


जिल्ला प्रहरीले मन्त्रीको संलग्नता पुष्टि भएको दाबीसहित सोमबार बुझाएको अनुसन्धान फाइलमा 'मन्त्री संलग्न रहेको प्रस्ट प्रमाण देखा नपरेको' भन्दै कार्यालयले साहलाई उन्मुक्ति दिएको हो।

'अहिलेसम्मका प्रमाणका आधारमा मन्त्री साहको संलग्नता रहेको प्रस्ट प्रमाण नभेटिएकाले हाललाई उनीमाथि अभियोगपत्र दर्ता गरिएन,' जिल्ला सहन्यायाधिवक्ता सत्यनारायण यादवले भने, 'प्रमाण भेटिए उनीमाथि पुनः मुद्दा दर्ता हुन सक्छ।'

पर्सा प्रहरीले अनुसन्धानपत्रमा मन्त्री साह हत्याका योजनाकार भएको दाबी गर्दै मुलुकी ऐन ज्यानसम्बन्धी महलको १६ नम्बर दफाअनुसार १५ वर्ष जेलसजाय माग गरेको थियो।
'पक्राउ परेका अमन कुशवाहसँग मन्त्री साहको प्रत्यक्ष भेट भएको नदेखिएको र अमनले पोलेका स्वकीय सचिव सियाराममार्फत केही कुरा आएको देखिएको छ,' सहन्यायाधिवक्ता यादवले थपे, 'सियाराम पक्राउ परेपछि मन्त्री साहको विषयमा थप कुरा आउन सक्ला, पछि सबुतप्रमाण पुगे ज्यानसम्बन्धी महलको दफा ८८ अनुसार मन्त्रीलाई पनि पुरक अभियोग लगाउन सकिन्छ।'

कार्यालयका अनुसार अमनको साबिती बयानमा सियारामले नै सबै काम गरेको देखिएकाले मन्त्रीमाथि तत्काल अभियोग लगाउन नसकिएको हो। कार्यालयले सियारामको बयानपछि मन्त्रीलाई अभियोग लगाउने-नलगाउने यकिन हुने पनि जनाएको छ।
कार्यालयले मन्त्री साहका स्वकीय सचिव कुशवाहविरुद्ध तिवारीलाई गोली हानेको अभियोगमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (१) अन्तर्गत सर्वस्वहरणसहित जन्मकैद माग गरेको छ।
माओवादी भोजपुरा राज्यसमिति सचिवालयका सदस्य २८ वर्षीय कुशवाह रौतहट हथियायी-५ जमुनियाटोलका हुन्।
कार्यालयले घटनास्थलमा हतियार र सवारीसाधनसहित उपस्थित भन्दै अमन कुशवाहलाई सोही महलको १७ (१) अनुसार १० वर्ष कैदसजाय माग गरेको छ। रौतहट प्रेमपुरका २५ वर्षीय अमन पछिल्लो समय बाराको हरैया बस्दै आएका थिए।
हत्यापछि फरार अमन भदौ २१ गते वीरगन्ज रानीघाटबाट पक्राउ परेका थिए।
बुधबारै साबिती बयान सकेर जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुना पठाएको छ।
हिरासत लगिँदै गर्दा अमनले सञ्चारकर्मीसँग 'घटनाले आफूमा कानुनप्रतिको विश्वास हटेको' प्रतिक्रिया दिए। उनले आफू मन्त्रीबाट असुरक्षित भएको भन्दै सुरक्षा पनि मागे।
बुधबार मुद्दा दायर गरिएका वीरगन्ज-१२ का २५ वर्षीय मुकेश सर्राफ र पर्सा भेडियारी-८ का बलिराम साहलाई दफा १७ (३) अनुसार बढीमा तीन वर्ष जेलसजाय माग गरिएको छ। बलिराम संविधानसभा निर्वाचनमा पर्सा ४ बाट माओवादी उम्मेदवार थिए।
मृतक तिवारीपत्नी बबितादेवीको किटानी जाहेरीमा रहेका मन्त्री साहबाहेक
अन्य तिनलाई पनि प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा चलाएन।
पर्सा प्रहरीले तिवारीको हत्या गर्ने योजना मन्त्री साहकै सामुन्ने बनेको र हाल उनकै पिए रहेका सियाराम कुशवाहले गोली प्रहार गरेको पक्राउ परेका अमन कुशवाहको बयानका आधारमा मन्त्री साहसहितलाई मुद्दा चलाउन माग गरेको थियो।
अभियुक्त अमनले मन्त्री साहको नाम बयानमा किटेकाले सरकारी वकिलले यही आधारमा मुद्दा चलाउने सक्ने कानुन व्यवसायीको तर्क छ। 'सामान्य व्यक्ति भएका भए यस्तो अवस्थामा अभियोग लाग्थ्यो,' अधिवक्ता पूर्ण चिमोरिया भन्छन्, 'मन्त्री भएका कारण सम्भवत सरकारी वकिलले तत्काल अभियोगपत्र दर्ता गर्न चाहेनन्।'
अर्का अधिवक्ता वीरेन्द्रप्रसाद यादव भने सरकारी वकिलको कार्यालयले मन्त्रीलाई पूरै उन्मुक्ति नदिएको जिकिर गर्छन्। 'ठोस आधार नदेखेर तत्काललाई पन्छिएको हुनसक्छ,' उनी भन्छन्, 'मन्त्रीलाई अभियोगबाट पूर्णरूपमा बाइकट गरिएको छैन, अनुसन्धानका क्रममा ठोस प्रमाण भेटिए पुरक अभियोग लगाउन सकिने ठाउँ राखेको छ।'
हिन्दु युवा संघका वर्तमान अध्यक्ष राजेश सिंहले सरकारी वकिलले मन्त्री साहविरुद्ध मुद्दा दर्ता नगरेकोमा खेद प्रकट गरेका छन्।
यता प्रहरीले झुटो मुद्दामा फसाउन खोजेको भन्दै मन्त्री साहका समर्थकले बुधबार वीरगन्जमा विरोध जुलुस निकाले। रौतहटबाट ठूलो संख्यामा आएका साहका समर्थकले वीरगन्जमा प्रहरीविरुद्ध नाराबाजी गर्र्दै नगरपरिक्रमा गरे। मंगलबार पनि साहका समर्थकले रौतहट र पर्सामा प्रदर्शन र चक्काजाम गरेका थिए।

हिन्दु युवा संघले पनि बुधबारै वीरगन्जमा मन्त्री साहलाई उन्मुक्ति दिएको विरोधमा जुलुस निकाल्यो। दुई समूहबीच झडपको सम्भावना टार्न सुरक्षाकर्मी बाक्लै तैनाथ थिए।
२०६७ वैशाखको दोस्रो साता माओवादीले आह्वान गरेको आमहडताल हिन्दु युवा संघका तत्कालीन अध्यक्ष तिवारीको नेतृत्वमा प्रतिकार भएको थियो। त्यसैको बदलामा साहको योजनामा माओवादीले तिवारीको २०६७ असार १२ गते हत्या गरेको संघको भनाइ छ। बन्द प्रतिकारका क्रममा प्रहरी हस्तक्षेपबाट मन्त्री साहसहित पाँच दर्जन माओवादी नेता-कार्यकर्ता घाइते भएका थिए।

सरकारी वकिल 'बिरामी'
अभियोगपत्र दर्ता गर्ने दिन बुधबार सरकारी वकिल ओमप्रसाद अर्याल भने कार्यकक्षमा भेटिएनन्। प्रहरीले मन्त्री साहसहितलाई अभियोगपत्र दर्ता गर्नुपर्ने अनुसन्धानपत्र सोमबार बुझाएपछि अर्याल तनावमा थिए। 'न्यायाधिवक्ता बिरामी हुनुहुन्छ,' पत्रकारको जिज्ञासामा सहन्यायाधिवक्ता यादवले जानकारी दिए।

 कानुनका ज्ञाता भन्छन्-मन्त्रीलाई सुनियोजित उन्मुक्ति दिइयो
 विनिता दाहाल, काठमाडौं, असोज २६- अभियुक्तको बयान र प्रहरीको थप अनुसन्धानसहितको किटानी जाहेरी हुँदाहुँदै हत्याका आरोपी भूमिसुधारमन्त्री प्रभु साहविरुद्ध मुद्दा दायर नगरिनुलाई कानुन ज्ञाताहरूले 'सरकारी वकिलले दिएको सुनियोजित उन्मुक्ति' भनेका छन्।

हिन्दु युवा संघका अध्यक्ष काशीनाथ तिवारीको हत्यामा मन्त्री साह 'मुख्य योजनाकार' भएको प्रहरी अभियोग छ।
प्रहरीले उनलाई १५ वर्षसम्म जेलसजाय हुनुपर्ने रायसहितको प्रतिवेदन सोमबार सरकारी वकिलको कार्यालय वीरगन्जलाई बुझाएको थियो। तर, बुधबार साहलाई 'चोख्याएर' मुद्दा दर्ता गरिएको कानुनविद्हरूले टिप्पणी गरे।
'राजनीतिक मिलेमतोको आधारमै मुद्दा दायर नगर्न खोजिएको देखियो,' पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधरले बुधबार नागरिकसँग भने, 'सामान्यतया यस्ता मुद्दामा प्रहरी प्रतिवेदन र सरकारी वकिलसँगको बयानमा पोलिएको मान्छेविरुद्ध मुद्दा दर्ता गरिन्छ।'
कुनै पनि अभियुक्त निर्दोष भए/नभएको टुंगो लगाउने अदालती बाटो नपर्खी मुद्दा दर्ता नै नगर्न दबाब दिने अधिकार कसैलाई नभएको उनले बताए।
हत्यामा संलग्न अभियुक्त अमन कुशवाहले प्रहरी र सरकारी वकिलसँगको बयानमा मन्त्री साहले 'मोटरसाइकल चलाउनू' भनेको र 'पार्टीलाई सहयोग गरे विदेश लैजाने' प्रलोभन दिएको बताएका छन्।
तिवारीलाई गोली हानेको भनिएका सियाराम सवार मोटरसाइकल उनैले चलाएका थिए। सियारामविरुद्ध मुद्दा दर्ता भए पनि उनी फरार छन्। सरकारी वकिलले भने सियारामको बयान नआउँदासम्म अमनकै बयानका आधारमा साहलाई अभियुक्त मान्न नसकिने बताएको छ।
पूर्व महान्यायाधिवक्ता र वकिलहरू भने यति प्रमाण मुद्दा दर्ता गर्न यथेष्ट भएको बताउँछन्। 'वीरगन्जकै यस्तै प्रकृतिका अन्य मुद्दा पल्टाएर हेर्नुस् न, त्यहाँ प्रहरी प्रतिवेदन र सरकारी वकिलसँगको बयानका आधारमा अभियुक्तविरुद्ध मुद्दा दायर भएको छ,' एक पूर्व महान्यायाधिवक्ताले भने, 'सडकमा पार्टीका कार्यकर्ताले प्रहरीविरुद्ध आन्दोलन र बन्द गर्नु, पार्टीकै वरिष्ठ नेताहरूबाट मन्त्री दोषी नभएको अभिव्यक्ति आउनुले मन्त्रीलाई चोख्याउन खोजेको प्रस्ट देखिन्छ।'
प्रहरीले दसैंअघि सरकारी वकिलको कार्यालयमा लगेको प्रतिवेदनमा अनुसन्धान नपुगेको भन्दै जिल्ला न्यायाधिवक्ता ओमप्रसाद अर्यालले 'थप ६ बुँदामा अनुसन्धान गर्न' भनेका थिए। तर, प्रहरीले त्यहीअनुसार अनुसन्धान गरेर सोमबार प्रतिवेदन लैजाँदा पनि मुद्दा दर्ता नगर्नुलाई कानुन व्यवसायीले 'बिरलो घटना' भनेका छन्। अर्याल मुद्दा दर्ता गर्ने दिन बुधबार बिरामी भन्दै कार्यालय गएनन्।
'प्रहरीलाई थप अनुसन्धान गर्न अह्राउने र सबै अनुसन्धान सकिसकेपछि उसलाई चोख्याएर मुद्दा दर्ता गर्ने यो बिरलो घटना हो,' अधिवक्ता टिकाराम भट्टराईले भने, 'सामान्यता प्रहरीले अनुसन्धान गरेर लगेपछि आफ्नो बयानका आधारमा पोलिएका व्यक्तिविरुद्ध मुद्दा दर्ता हुन्छ।'
जिल्ला न्यायाधिवक्ताले विभिन्न कारण देखाई मुद्दा दर्ता गर्न अल्मलाउनु र पार्टी नेता तथा कार्यकर्ताले मन्त्रीको पक्षमा सार्वजनिक अभिव्यक्ति दिनुले कानुनी राज्यको उपहास गरेको अपराधशास्त्री माधवप्रसाद आचार्यले बताए।
'कोहीविरुद्ध मुद्दा दर्ता गर्दैमा ऊ दोषी हो भन्ने होइन, आफू निर्दोष छु भन्ने भए अदालतको फैसलासम्म कुर्न सक्नुपर्छ,' आचार्यले नागरिकसँग भने, 'मुद्दा दर्ता गर्नै नदिने गरी अभिव्यक्ति र बन्दहड्ताल गरिनुपर्दैन।'
संविधानले कुनै पनि सरकारवादी मुद्दा अभियोजनको अन्तिम निर्णय महान्यायाधिवक्तालाई दिएकाले यसमा जिल्ला न्यायाधिवक्ताको मात्रै हात नहुने उनले बताए।
'चर्चामा आइसकेको मुद्दामा महान्यायाधिवक्तालाई नसोधी जिल्ला न्यायाधिवक्ताले मात्रै मन्त्रीविरुद्ध मुद्दा दर्ता नगर्ने एकल निर्णय गर्‍यो होला भन्ने मान्न सकिन्न,' उनले भने, 'पीडित परिवारलाई उनीहरू पनि दोषी हुन् भन्ने लाग्छ भने मुद्दामा तान्न सर्वोच्च अदालतमा रिट हाल्न सक्छन्।'
अदालतले सरकारी वकिल, प्रहरी प्रतिवेदन र बयान सबैको आधारमा आदेश दिने गर्छ। यसअघि सुन्तली धामीको मुद्दामा पनि सरकारी वकिलले दर्ता गर्न नमानेपछि सर्वोच्चले अभियुक्तविरुद्ध मुद्दा दर्ता गर्न सरकारी वकिललाई आदेश दिएको थियो।
करिब तीन वर्षअघि प्रहरी संगठनभित्र सहकर्मीबाटै बलात्कृत धामीको मुद्दामा सरकारी वकिलले बयानमा पोलिएका ६ प्रहरीमध्ये माथिल्लो दर्जाका तीनविरुद्ध मुद्दा चलाएको थिएन। त्यसविरुद्ध धामी सर्वोच्चमा रिट गएपछि उनीहरूलाई पनि मुद्दामा तान्न आदेश भएको थियो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out