पद-पैसा केन्द्रित मधेस राजनीति (टिप्पणी)

भरतविमल यादव- ०६२/६३ को जनआन्दोलनमा मधेसी दलको प्रतिनिधिका हैसियतले भाग लिँदा प्रायः सबै दलमा एकअर्काप्रति मित्रवत व्यवहार थियो। जब सत्ताको राजनीति अगाडि बढ्न थाल्यो, राजनीतिक तिक्तता पनि त्यही गतिमा देखियो। त्यतिखेर पार्टीभित्र र बाहिर दुवैतिर राजनीतिक चलखेलहरू भए। पार्टीभित्र आर्थिक चलखेल भए अनि आन्दोलनका योद्धाहरूबाट हुनै नहुने विश्वासघात भयो। पार्टीभित्रको आन्तरिक किचलो र सहयात्री दलका नेताहरूको व्यवहारका कारण म राजनीतिबाटै टाढिएँ।
- अहिले जति पनि मधेसका नाममा राजनीतिक दलहरू खुलेका छन्, उनीहरूको मुख्य ध्येय पद र पैसा नै हो
- रक्षामन्त्री शरतसिंह भण्डारीबाटै मधेस टुक्र्याउने कुरा आउनु आफैंमा विश्मयकारी छ। किनभने, उनी कहिलेदेखि मधेसवादी भएका हुन् भन्ने सबैसामु छर्लंग छ

- मधेसमा 'ज्वाइँ' र 'भान्जा' हरू बढी कट्टरवादी छन् जसको आधार नै छैन। उनीहरू १५/२० वर्षअघिमात्रै आएका हुन् तर उनीहरू नै पक्का मधेसवादी बन्न बढी उग्र कुरा गर्छन्

जारी हुनुअघि अन्तरिम संविधानमा हस्ताक्षर गर्ने आठ दलका नेतामध्ये म पनि एक हुँ। त्यतिखेर मैलै समान जनसंख्याका आधारमा निर्वाचन, संघीय राज्यको पुनर्संरचना र भूमिसुधारको विषयमा ‘नोट अफ डिसेन्ट' लेखेको थिएँ। लगत्तै मधेस आन्दोलन भयो। मधेसका जनता स्वस्फूर्त रूपले सडकमा आए। यता हाम्रो पार्टीमा भने अवसरवादीहरूको बाहुल्य रह्यो। मेरो अडान र नेतृत्व कमजोर पार्न अवसरवादीहरूको प्रयोग गरियो। मधेस आन्दोलनको मर्मविपरीत जान चाहिनँ। पछि मेरै पार्टीका नेताहरू आर्थिक प्रलोभनमा परेर पार्टी फुटाउन उद्यत भए। फलस्वरूप सद्भावना पार्टी कमजोर भयो। अनि ०६४ भदौमा मैले सद्भावना पार्टी नै छाडिदिएँ।

त्यसयता मधेसको राजनीति बडो विरोधाभाषपूर्ण हिसाबले अघि बढिरहेको छ। जति पनि मधेसका नाममा राजनीतिक दलहरू खुलेका छन्, उनीहरूको मुख्य ध्येय पद र पैसा नै हो। अहिले त झन् विचित्रको अवस्था छ। रक्षामन्त्री रहेका शरतसिंह भण्डारीले नै मधेस टुक्र्याउने कुरा गरे जुन आफैंमा विश्मयकारी छ। किनभने, रक्षामन्त्री भण्डारी कहिलेदेखि मधेसवादी भएका हुन् भन्ने सबैसामु छर्लंग छ। तराईका २२ जिल्ला अलग गर्ने उहाँले मात्रै भनेर हुन्छ? मधेसका जनतालाई भण्डारीले प्रतिनिधित्व गर्न सक्छन्?

मधेसमा केही मानिस उहाँले भनेझैँ अलग गर्नुपर्छ भन्ने खालका पनि होलान्। त्यसो भन्ने र सोच राख्ने मधेसका नाममा पद र पैसाका लागि राजनीति गर्ने नेतामात्रै हुन्, मधेसका जनता कुनै हालतमा पनि मधेसलाई टुक्र्याउने वा अलग गर्ने पक्षमा छैनन्। मधेसी जनताले पहिचान र समानताको लागि आन्दोलन गरेका हुन्, अलग हुन मधेस आन्दोलित भएको होइन।

अहिले रक्षामन्त्री भण्डारीले मधेशलाई अलग गर्ने कुरालाई विभिन्न आयमवाट हेरिनुपर्छ। पहिलो, उनले मधेस र मधेसी जनतालाई नै बद्नाम गराउने खेलले यस्तो अभिव्यक्ति दिएका हुन सक्छन्। यो अरूकै इशारामा मधेस र मधेसी जनतालाई बद्नाम गर्ने हिसाबले आएको हो। यो उनको आफ्नो दिमागको उपजमात्रै हो भन्ने लाग्दैन। अन्तै कतैबाट यो विषय उनको दिमागमा राखिएको हुनुपर्छ। रक्षामन्त्रीको अभिव्यक्तिमा नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीको जुन प्रतिक्रियात्मक अभिव्यक्ति आयो, त्यो पनि आश्चर्यलाग्दो छ। कांग्रेस र एमालेजस्ता लोकतान्त्रिकका धारका नेताहरूले यसलाई मुद्दा बनाउनभन्दा मधेसी जनताले 'यो चाहेकै होइन' भनेर भ्रमलाई चिरेर जान सक्नुपर्थ्याे। यो कुरालाई अनावश्यक हिसाबले महत्त्व दिनु सकारात्मक संकेत होइन। यसले मधेसका जनतालाई झनै चोट पुर्‍याउन सक्छ।

मधेस आन्दोलन समानता र पहिचानका लागि थियो। देश टुक्र्याउने र अलग गर्ने मधेस आन्दोलनको माग थिएन। मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई त्यसपछि मधेसका नाममा खुलेका राजनीतिक दलका नेताहरूले जोगाउन सकेका छैनन्। उनीहरू सकारात्मक बाटोतर्फ जानै सकेनन्। उनीहरूको सोच कहिल्यै पनि राजनीतिक रहेन। भाषा र पोसाकको सवालमा नै कुरा गरौं। सुरुदेखि नै हिन्दीलाई नेपाली भाषासरह सरकारी कामकाजको भाषाको मान्यता दिनुपर्ने र पोसाक व्यक्तिको छनोटअनुसार हुनुपर्ने हाम्रो माग थियो। तर, उपराष्ट्रपति (परमानन्द झा) ले आफूलाई सबैभन्दा बढी मधेसवादी देखाउन धोतीकुर्ता लगाएर हिन्दीमा शपथ लिए।

उपराष्ट्रपति झाको राजनीतिक इमान र नैतिकता भएको भए आफ्नो अडानमा अडिग हुन सक्नुपर्थ्यो। किन पछि नेपालीमा लिए? किन दौरासुरुवाल लगाए? कुरो प्रस्टै छ, पद र पैसाको लागिमात्रै उनले त्यसो गरेका हुन्। सर्वाेच्च अदालतले नेपालीमा शपथ नलिए पद रहँदैन भनेर फैसला गरेकै कारण पछि नेपालीमा शपथ लिएर पद जोगाएका हुन्। पद सक्रिय नभए पैसा पाइँदैनथ्यो। त्यही पैसाका लागि पछि नेपालीमा शपथ आयो। भाषाको विषयलाई चर्काउने र मुद्दा बनाउने मन थिएन भने राष्ट्रपति रामवरण यादवले झैँ सुरुमै नेपालीमा शपथ लिएको भए भइहाल्थ्यो नि। रामवरण यादव आफ्नो राजनीतिक मान्यतामा अडिए। मेरो राजनीतिक मान्यता राष्ट्रपति यादवसँग नमिल्ला तर उनले आफ्नो राजनीतिक मान्यता र नैतिकताका हिसाबले अडान छाडेनन्।

त्यस्तै एमाले नेता माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय पोसाकको निर्णय गर्दा विजयकुमार गच्छदारलगायत मधेसी भनिएका नेता मन्त्रिपरिषदमा थिएनन्? के सरकार भनेको प्रधानमन्त्रीमात्रै हो? यदि यी मधेसवादी दलका नेताहरूको असहमति भएको भए उनीहरूले राजीनामा दिनुपर्दैनथ्यो? त्यही बेला आन्दोलन थाल्नुपर्थ्याे नि। किन त्यतिखेर राजीनामा नगरेको? अनि पदबाट बाहिर आएपछि चर्का कुरा गर्नुको के अर्थ? मधेसवादी दलका नेताहरू पद र पैसाका लागि जे गर्न पनि तयार छन् भन्ने कुरालाई यी घटनाक्रमले नै प्रस्ट्याउँछन्। राजनीति सुरु गर्दा चप्पल लगाउने हैसियत थिएन, अहिले कसरी काठमाडौंमा घर बनाए? त्यो पैसा कहाँबाट आयो? पहिलो, देशभित्रको भ्रष्टाचार र दोस्रो, बाह्य मुलुकको सेवा गरेबापत आएको रकमकै कारण उनीहरूको जीवनशैलीमा परिवर्तन आएको हो। यी सबै कुरालाई छानबिनको विषय बनाइनुपर्छ।

मधेस राजनीतिमा सिद्धान्त भन्ने नै छैन। मधेसवादी भनिएका राजनीतिक दलहरूको मुद्दामा फरक छ? अनि किन नौवटा राजनीतिक दल? नौवटा पार्टी बनाउनुको मतलब मन्त्री बन्नेमात्रै हो। जतिखेर लोकतन्त्रका लागि आन्दोलन भइरहेको थियो, मधेसका यी प्रमुख नेता भनाउँदाहरू कोही दिल्ली घुमिरहेका थिए, कोही राजाका पछि लागिरहेका थिए। त्यतिखेर राजाका वरिपरि घुम्नेहरू नै अहिले सबैभन्दा चर्को गणतन्त्रवादी भएका छन्। यो राजनीतिक यथार्थ हो।

अहिले 'मधेसका बारेमा कसैले औंला उठायो भने औंला नै काटिदिने' र 'मधेसबाटै बढारिदिने' भन्नेजस्ता अभिव्यक्ति मधेसी नेताहरूबाट आएको देखिन्छ। 'भुक्ने कुकुरले टोक्दैन र गर्जिने बादल बर्सिँदैन' भनेझैँ उनीहरूले मधेसका लागि केही गर्दैनन् । मधेसको हित चाहने मानिसले यस्ता अभिव्यक्ति दिँदैनन्। फेरि यस्तो बोल्नेहरूको जनआधार के हो? जसले 'औंला काटछु' भनेर बोलिरहेका छन्, उनीहरूले राष्ट्रिय राजनीति र मधेसको राजनीतिमा कति प्रतिशतलाई प्रतिनिधित्व गरिरहेका छन्? त्यो त उनीहरूले प्राप्त गरेको मतले नै देखाउँछ। मधेसमा 'ज्वाइँ' र 'भान्जा' हरू बढी कट्टरवादी छन् जसको आधार नै छैन। उनीहरू१५/२० वर्षअघिमात्रै आएका हुन् तर उनीहरू नै पक्का मधेसवादी बन्न बढी उग्र कुरा गर्छन्। त्यसैले गलत तरिकाले नागरिकता लिएको विषय पनि छानबिन हुनुपर्छ भन्ने हो।

दुःखको कुरा, एकीकृत माओवादी, नेपाली कांग्रेस र एमालेजस्ता प्रमुख राजनीतिक दल पनि मधेसप्रति सकारात्मक भइरहेका छैनन्। उनीहरूले मधेसका नेताको होइन, जनताको कुरा सुन्नुपर्छ। उनीहरूमधेशी जनताका कुरा सुनेर राष्ट्रियतालाई वलियो बनाउन लाग्नुपर्नेमा मधेशी नेताहरुकै लहैलहैमा लागेर अलमलिरहेका छन्। मधेसी जनताको राजनीतिक चेतनास्तर वढाउन उनीहरूलाग्नुपर्ने हो। तर, त्यतातिर उनीहरुको ध्यान जानै सकेको छैन। राजनीतिक चेतना कम भएकै कारण पनि मधेशको राजनीतिमा पैसाको चलखेल हुन्छ।

राजनीतिक त्याग र तपस्याले काम गर्दैन। अनि एउटै नेताको हरेक राजनीतिक व्यवस्थामा हालीमुहाली हुने गरेको छ। उनीहरू २०/२५ वर्षदेखि निरन्तर सरकारमा छन्। शरतसिंह अहिले मात्रै मन्त्री भएको मानिस हो र? अन्य पार्टीबाट पैसा कमाएपछि त्यो पार्टीमा ठूलो नेता बन्न नसक्ने देखेर अर्काे पार्टी खोलेका हुन्। ऋतिक रोशन प्रकरणमा हामीलाई सबैभन्दा गाली गर्ने जयप्रकाशप्रसाद गुप्ता थिए। उनले कहिले पद पाएनन्? हामीले भूमिसुधारको कुरा गर्दा गाली गर्ने महेन्द्र राय यादव होइनन्? सबै नेताको स्थिति उस्तै छ। सबैतिरबाट कमाएर अहिले मधेस र मधेसी जनताको नाममा राजनीति गर्न आइपुगेका छन्। मधेसी राजनीतिमा यस्तो प्रवृत्तिको अन्त्य नभएसम्म मधेसी जनताको हित हुन सक्दैन।
(०६२/६३ को जनआन्दोलनमा मधेसी दलका तर्फबाट नेतृत्व गरेका यादवसँग तिलक पाठकले गरेको वार्तामा आधारित)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out