यसरी भएको थियो काशिनाथको हत्या

सुन्दर खनाल, वीरगन्ज, कात्तिक ४- माओवादी नेता प्रभु साहलाई तान्दै काशीनाथ तिवारी हत्याकाण्ड डेढ वर्षपछि अनुसन्धानमा फर्किने अनुमान अपराध र राजनीतिबीच मसिनो धर्सा रहेको यो गर्मी सीमावर्ति सहरमा कसैले गरेको थिएन। तर, एक्कासि अनुसन्धानमा फर्किएपछि यहाँ सबैले यो काण्डलाई अघिपछिका घटनाक्रम जोडेर रोचक ढंगले बहस गरिरहेका छन्। त्यसबाहेक यो प्रकरणसँग जोडिएका आर्थिक राजधानीका सम्झनाहरू पनि ताजा हुँदै गएका छन्।
 पृष्ठभूमि
२०६७ वैशाखको सप्ताहव्यापी माओवादी हडतालले मध्यतराईको यो केन्द्रमा ठूलो अर्थ राखेको थियो। माओवादीहरू मध्यतराईका बाँकी जिल्लाबाट यहाँ सोहोरिएका थिए। जानकारहरूको स्मरणमा त्यत्तिको माओवादी उपस्थिति त्यसअघि कहिल्यै भएको थिएन। हप्तौं अघिदेखि व्यापक चन्दा संकलन गरिएको थियो। प्रभु आफैंले वीरगन्ज स्टेसनको कमान्ड सम्हालेका थिए।

माओवादीहरूलाई आफ्नो शक्ति प्रदर्शनको बृहत व्यवस्थापनका बाबजुद यहाँ हडताल सफल पार्नु सहज थिएन। हिन्दुवादीहरूले स्थानीय व्यापारी र अन्य दलसमेतको सहयोगमा बन्दविरोधी प्रदर्शन गरिरहेका थिए। त्यही अवस्थामा माओवादी भीडले घडिअर्वा चोकमा एक व्यापारीलाई निर्ममतापूर्वक कुटेर पसल बन्द गराउँदा उनीहरूविरुद्ध आक्रोश भड्क्यो।

स्थानीय युवाहरूलाई परिचालन गर्न अनुभवी हिन्दु युवा संघले घडिअर्वाको घटनालाई लिएर ठूलै प्रतिकार गर्‍यो। नगर सभा हलमा रहेको माओवादी मेसमा संघको जुलुस गएर तबाही मच्चायो। त्यसविरुद्ध माओवादीले भोलिपल्टै प्रदर्शनको कार्यक्रम राख्यो, जसले माओवादीविरुद्ध अझ ठूलो प्रतिकारको माहौल बनायो।

'घण्टाघरको त्यो भीड र माओवादीबीच घम्साघम्सी हुँदो हो त अर्को गौरकाण्ड मच्चिन सक्थ्यो,' जानकारहरू भन्छन्, 'प्रहरीले पहिले माओवादीहरूकै मञ्चमै धरपकड गरेर भीड धपाएकाले सम्भावित महासंकट टरेको हो।'

प्रतिकारका सबै चरणमा एउटा पात्र सबैभन्दा चर्चित भयो, काशीनाथ तिवारी। अशोकवाटिकामा सानो घर बनाएर गरिबीबाट थोरै माथि उक्लेको संकेत देखाएका काशीनाथले आफ्नो समुदायमा एउटा मसुर युवाको परिचय बनाएका थिए। सीमावर्ती क्षेत्रमा प्रचलित विभिन्न कामधन्दामा जोडिएर गुजारा चलाएका ठानिने उनले आफ्ना छरछिमेकमा सहयोगीको पनि छवि बनाएका थिए। त्यसैले उनका पछाडि केही युवाहरूको जमात थियो। उनको त्यो सामुदायिक सामर्थ्य पछिल्लो समय हिन्दु युवा संघको नेतृत्वमा स्थापित भएको थियो।

काशीनाथ झन् चर्चित भए, प्रतिकारको नेतृत्वले। त्यसअघि उनको माओवादीसँग कुनै प्रत्यक्ष मुठभेट भएको थिएन। उसै पनि पहिले कहिल्यै पकड जमाउन नसकेको, अझ मधेस आन्दोलनमा लखेटिएर सिमरासम्ममा मात्र सुरक्षित ठान्ने अवस्थाको माओवादीलाई त्यो प्रतिकारले ठूलो नोक्सानी दिलायो। भोजपुरा क्षेत्रमा निर्विवाद पकडको सपना राख्ने प्रभुका लागि पनि ठूलो धक्का थियो त्यो प्रकरण।

आमहडतालमा वीरगन्जबाट भागाभागको स्थितिमा परेका माओवादीका लागि त्यतिबेला काशीनाथ एउटा ठूलै चुनौतीको 'सिम्बोल' बनेको जानकारहरूको बुझाइ छ। काशीनाथ आफैंमा केही विशेष थिएनन्। उनी तस्करीको लाइन चलाउने डन पनि थिएनन्, जसले राजनीतिक पार्टीदेखि भूमिगत भनाउँदा समेतलाई पोस्न सकोस्। तर अन्य राजनीतिक पार्टी, सानाठूला व्यापारी सबैले विरोध गरेर पनि अगाडि आउन नसकेको स्थितिमा उनले प्रतिकारको नेतृत्व गरे। उनको परिस्थितिजन्य नेेतृत्वमा अन्ततः सबै मिसिए। उनी परिस्थितिले माओवादीको सबैभन्दा ठूलो प्रतिकात्मक शत्रु बन्न पुगे।

वीरगन्जलाई आधार बनाएका विश्लेषकहरूका अनुसार हडताल लगत्तैको त्यो स्थिति माओवादीका लागि सय रुपैयाँ चन्दा असुल्न पनि अनुकूल बनेन। जबकि त्यो समय चन्दा असुली र प्रभाव वृद्धिका लागि माओवादीका निम्ति निकै उर्वर र अनुकूल हुनुपर्थ्यो। त्यतिखेर प्रहरीले विशेष अपरेसनबाट सशस्त्र समूहको नाममा रहेका अपराधीहरूलाई राम्रैसँग नियन्त्रणमा राखिसकेको थियो।

घटनापछि
आमहडतालको दुई महिना नपुग्दै २०६७ असार १२ मा काशीनाथको हत्या भयो। घन्टाघरको घटनालगत्तै उनी र उनका साथीहरूले पाएका धम्की हत्यासँग सहजै जोडिए। त्यहीअनुसार सियाराम, जालिमलगायत विरुद्ध तिवारी परिवारले किटानी उजुरी हाल्यो। कांग्रेसबाट तामझामसहित माओवादी प्रवेश गरेका जालिम पक्राउ परे, तर प्रमाण अभाव भन्दै प्रहरीले छोड्यो।
पहिले दबेका, आमहडतालमा लखेटिएका माओवादीका लागि अब वीरगन्ज बिल्कुल फरक भयो। अनौठो सक्रियता सुरु भयो माओवादी नेताहरूको। उनीहरू यहाँका आरामदायी होटलहरूमा हप्तौं बस्न थाले। 'उनीहरूको गाडी होटल अगाडि सधैं पार्किङ गरिएको हुन्थ्यो, कार्यकर्ता र व्यापारीहरूको बाक्लो ओहोरदोहोर उनीहरू बस्ने कोठामा भइरहन्थ्यो,' एक स्थानीय भन्छन्।

त्यो बेलादेखि माओवादीले वीरगन्जमा राजनीतिमा खास पकड नजमाए पनि आर्थिक प्रभाव बढाएको जानकारहरू उल्लेख गर्छन्। उनीहरूका अनुसार आर्थिक प्रभाव वृद्धिसँगै भोजपुरा क्षेत्रका प्रभावशाली नेताहरूबीच विभिन्न घटनालाई लिएर पार्टीभित्र पोलापोलको स्थिति बनेको थियो। 'पार्टीभित्रको केन्द्रीय अन्तरविरोधले त्यहाँ सबैखाले विवादलाई अझ चुल्यायो,' उनीहरू भन्छन्।
माओवादी सरकारमा गएपछि भोजपुरा क्षेत्रको माओवादी नेतृत्वमै गम्भीर फाटो आएको छ। जानकारहरूका अनुसार पहिले एउटै लाइनमा रहेका प्रभु र शिवचन्द्र शाहबीच समेत राम्रो सम्बन्ध छैन, बाबुराम भट्टराईको नेतृत्वमा सरकार बनेपछि।
भट्टराई सरकारमा भूमिसुधार तथा व्यवस्थामन्त्री बनाइएका प्रभु काशीनाथ हत्याकाण्डमा मुछिएपछि अन्ततः हटाइएका हुन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out