मोबाइलले बढायो चेलिबेटी बेचविखन

आजभोलि सबै मान्छेको हातमा मोबाइल देखिन्छ। मोबाइलले सूचना क्रान्तिमात्र हैन, चेलिबेटी बेचबिखनमा पनि ‘क्रान्ति’ नै गरिरहेको रहेछ। मोबाइल फोनले दलाललाई अपरिचित युवतीसित हिमचिम बढाउन मात्र होइन भनेको समय र स्थानमा अति गोप्य तरिकाबाट बोलाउन, भेट्न पनि सहयोग गर्दोरहेछ। छोटो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा बिहे गर्ने बहानामा युवतीलाई सीमा कटाउने क्रम बढेको बेचविखन तथा ओसारपसार नियन्त्रणको काममा कार्यरत सङ्घ–संस्थाको अनुसन्धानले देखाएको छ। माइती नेपाल रूपन्देही शाखाका अनुसार गत वर्ष भारतको विभिन्न स्थानबाट उद्धार गरेर फर्काइएका ४१ जनामध्ये ५० प्रतिशत युवती मोबाइल फोनबाट सम्पर्क भएपछि विश्वासमा परेर बेचिएका रहेछन्। सञ्चारिका समूहको लेख पढ्नुस्-
मोबाइलले बढायो चेलिबेटी बेचविखन
अमृता अनमोल
झन्डै अढाई वर्षअघि घरेलु कामका लागि काठमाडौं गएकी रूपन्देहीको चिलिया गाविस नागथानकी १५ वर्षे निर्मला चौधरी अझै घर फर्केकी छैनन्। उनी कहाँ, कस्तो अवस्थामा छिन् भन्नेबारे घरपरिवारलाई थाहा छैन। गत वर्ष वैदेशिक रोजगारीका लागि इजरायल जान भनेर हिँडेकी नागथानकै शान्ति मल्ल भने दुई महिनासम्म भारतको दिल्लीमा पाउनुसम्मको दुःख पाएर घर फर्किन्। इजरायल लैजाने भनी दिल्लीकै एक होटलमा यौनधन्दामा फसाइएकी उनलाई छिमेकी दाजु शोभाखर खनालले देखेपछि उद्धार गरेर ल्याएका थिए।

निर्मला र शान्तिजस्ता गाउँका चेलिबेटीहरू हराउने र गलत ठाउँमा ओसारपसार हुने क्रम बढेपछि चिलिया गाविसका आमाहरूले अहिले त्यसलाई रोक्न स्वतस्फूर्त रूपमा सतर्कता अभियान थालेका छन्। गाउँमा सक्रिय आमा समूह, महिला समूह, बचत समूह, शान्ति दबाब समूह, युवा समूह, टोल समूहलगायतमा आबद्ध महिलाले सतर्कता अभियान थालेका हुन्। अभियानमा सक्रिय महिलाले अहिले पढाइ तथा रोजगारीका लागि गाउँबाट सहर तथा विदेश जाने चेलिबेटी, बिहे गरेर जाने छोरीचेली, अस्थायी तथा स्थायी बसाइँसराइ गरेर जाने–आउने चेलिबेटीको तथ्याङ्क राख्ने र परामर्श दिने गरेका छन्। ‘बिहे, पढाइ, रोजगारी र बसाइँसराइ यी चारै माध्यमबाट चेलिबेटीको बेचविखन र गलत ओसारपसार हुने भएकाले उनीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जाँदा अपनाउनुपर्ने सावधानीबारे सिकाउँछौँ,’ अभियानमा सक्रिय सिर्जनशील शान्ति दबाब समूहकी सदस्य लक्ष्मी मल्लले बताइन्। उनका अनुसार बिहे हुँदै छ भने कोसँग, कहाँ, केटोले के काम गर्छ, गाउँमा कसको नाता पर्ने हो? त्यसबारे महिलाले पक्का जानकारी राख्न सल्लाह दिन्छन्। रोजगारीका लागि जाने भए कहाँ जाने हो, कोसँग जाने हो, के काम गर्ने हो, कति तलब पाउने हो, विदेश जानका लागि सबै कागजात र प्रक्रिया पूरा भएको छ–छैन त्यसबारे रोजगारीमा जाने चेलीले बुझेपछि मात्र जाने प्रक्रिया थाल्न अह्राउँछन्। ‘बसाइँसराइ गरेर जाने र पढ्न जानेका सन्दर्भमा भने ऊ कुन ठाउँमा जाने हो, त्यहाँको रहनसहन कस्तो छ, अपरिचित मान्छेसित कसरी व्यवहार गर्नेजस्ता कुराहरूबारे सामान्य कुराहरू सिकाउँछौँ,’ सदस्य लक्ष्मीले भनिन्।

रूपन्देहीका चिलियासहित पड्सरी, टिकुलीगढ, करहिया, मधौलिया, देवदह, सिद्धार्थनगर नगरपालिका, बुटवल नगरपालिकालगायतका क्षेत्रमा पनि महिलाहरू बेचविखनविरुद्धको अभियानमा लागेका छन्। बेलाबेलामा माइती नेपाल भैरहवा, महिला विकास कार्यालय, नमुना एकीकृत विकास परिषद्लगायतबाट मानव बेचविखन, ओसारपसार तथा सुरक्षित स्थानागमनबारे तालिम पाएका महिलाले स्थानीय सङ्घ–संस्था, सरकारी कार्यालयलगायतसँगको सहयोगमा निरन्तर बेचविखन तथा ओसारपसारविरुद्ध सडकनाटक, र्‍याली, छलफल, सभालगायत पनि गर्ने गरेका छन्। आ–आफ्ना समूहका बैठक, गोष्ठी र छलफलमा समेत यसबारे सिकाउने गरेका छन्। मासिक रूपमा गाविसका विद्यालय तथा किशोर–किशोरी समूहलाई पनि बेचविखन र ओसारपसारको जोखिमबाट बच्ने तरिकाबारे सिकाउने गरेका छन्। गाविसबाट गलत तथ्याङ्क दिँदा, गलत सिफारिस गर्दा पनि कतिपय अवस्थामा चेलिबेटीहरू गलत ठाउँमा पुग्ने भएकाले गाविससचिव तथा उनीहरूले दिने सिफारिसप्रति पनि निगरानी राख्न थालेको अभियानमा सक्रिय करहियाकी गीता क्षेत्रीले बताइन्। ‘सत्यतथ्य नबुझी नागरिकता, विवाह, जन्मदर्ता गरिदिने, नाता प्रमाणित, बसाइँसराइलगायतका सिफारिस दिने गर्दा चेलिबेटी बेचविखन तथा ओसारपसार बढेकाले त्यस्तो हुन नदिन गाविससचिव र दलहरूसित सहकार्य थालेका हौँ,’ उनी भन्छिन्।

माइती नेपाल रूपन्देहीकी प्रमुख प्रभा खनाल मानव बेचविखन तथा ओसारपसारविरुद्ध र सुरक्षित स्थानागमनबारे अपनाउनुपर्ने सजगताबारे स्थानीयलाई सिकाउने हो भने कम्तीमा त्यो गाउँका चेलिबेटीमा त्यस्तो समस्या नआउने भएकाले जोखिमपूर्ण क्षेत्रका महिलालाई सतर्कता अभियानमा सहभागी बनाएको बताउँछिन्। ‘विभिन्न समूहमा रहेर सामाजिक क्षेत्रमा कार्यरत उनीहरूले स्वतस्फूर्त तथा सङ्घ–संस्थाको सहयोगमा पनि सचेतनामूलक कार्यक्रम गर्ने गरेका छन्,’ खनाल भन्छिन्।

देशकै ठूलो खुला सीमाक्षेत्र बेलहिया नाकालगायत झन्डै दुई दर्जन खुला सीमा भएकाले यहाँको सडक प्रयोग गरेर मानव बेचविखन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ। यो वर्ष मात्रै जिल्ला प्रहरी कार्यालयमा २३ जना चेलिबेटी बेखबर रहेको उजुरी परेको छ। माइती नेपाल भैरहवामा ५० उजुरी परेका छन्। हराएका यस्ता धेरै चेली बेचिएका कारण भेटिन सक्ने अवस्था छैन। बेचविखन तथा ओसारपसारका विषयमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनले गरेको अध्ययनअनुसार प्रतिवर्ष नेपालका करिब १२ हजार चेलिबेटी बेचविखन तथा ओसारपसारको सिकार हुने गरेका छन्। छिमेकी देश भारतको मुम्बई, कोलकाता, पुनालगायतका सहरमा मात्रै करिब दुई लाख चेली बेचविखनमा परेका छन्। भारत हुँदै खाडी मुलुकमा बेचिने चेलिबेटीको सङ्ख्या पनि अहिले बढ्दो छ। अध्ययनअनुसार दलालहरूले बहिनी, श्रीमती, छोरीलगायतका नाता लगाएर भारत तथा तेस्रो मुलुकमा काममा लगाइदिने तथा सँगै बस्ने बहानामा नेपाली युवतीलाई सीमा कटाउने गरेका छन्। युवतीकै नातेदार र घरपरिवारलाई सीमा कटाउन लगाएर पनि युवतीको बेचविखन तथा ओसारपसार हुने गरेको छ। जसमा शिक्षाको कमी, आर्थिक विपन्नता, खुला सीमा, असुरक्षित बसाइँसराइ प्रमुख छन्। पारिवारिक हिंसा, अभिभावकको हेलचेक्र्याइँ, अपरिपक्वता, छिटो धनी र सुखी बन्ने सपनाले पनि कतिपय नेपाली चेली बेचिएका छन्।

पछिल्लो अध्ययनअनुसार, सञ्चारको सुलभ माध्यम मोबाइल पनि त्यसको कारक बनेको छ। मोबाइल फोनको दुरुपयोग गर्दै अपरिचित मान्छेले नाता जोडेर चेलिबेटी बेचविखन तथा ओसारपसार गर्ने क्रम बढेको छ। छोटो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा बिहे गर्ने बहानामा युवतीलाई सीमा कटाउने क्रम बढेको बेचविखन तथा ओसारपसार नियन्त्रणको काममा कार्यरत सङ्घ–संस्थाको अनुसन्धानले देखाएको छ। अरूको देखासिकी गरेर राम्रो लुगा लगाउने, मीठो खाने, छिटो धनी बन्ने, धनी केटासँग प्रेम तथा बिहे गर्ने मनोकाङ्क्षा पालेका अशिक्षित तथा अल्पशिक्षित आर्थिक विपन्न युवतीहरू बढी मात्रामा बेखविखनको जोखिममा परेका छन्। घरपरिवारबाट हिंसामा परेका, अभिभावक गुमाएका तथा एकल महिलासमेत मोबाइलको माध्यमबाट बेचविखनको उच्च जोखिममा परेका छन्। ‘मोबाइल फोनले दलाललाई अपरिचित युवतीसित हिमचिम बढाउन मात्र होइन भनेको समय र स्थानमा अति गोप्य तरिकाबाट बोलाउन, भेट्न पनि सहयोग गर्दोरहेछ,’ रूपन्देही प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मी भन्छन्। रेग्मीका अनुसार बेचविखनमा नयाँ प्रविधिको खोजी गरिरहेका दलालले पछिल्लो समयमा मोबाइल फोनको सबैभन्दा बढी दुरुपयोग गरेका छन्। मोबाइलकै कारण युवतीहरू पक्राउ परेपछि बेचविखनमा संलग्न दलालहरू सुरक्षित स्थानमा पुग्ने गरेका छन्। जसले गर्दा उनीहरूलाई पक्राउ गर्न पनि जटिलता बढेको छ। माइती नेपाल रूपन्देही शाखाका अनुसार गत एक वर्ष भारतको विभिन्न स्थानबाट उद्धार गरेर फर्काइएका ४१ जनामध्ये ५० प्रतिशत युवती मोबाइल फोनबाट सम्पर्क भएपछि विश्वासमा परेर बेचिएका थिए। यस्तै नेपाल–भारत सुनौली नाका हुँदै भारत तथा तेस्रो मुलुकमा लैजाँदै गर्दा पक्राउ परेका तथा कार्यालयले अस्थायी आवास उपलब्ध गराएका तीन सय ३९ जना र मनोसामाजिक मनोविमर्श तालिम लिएका दुई सय ५० जनामध्ये अधिकांश युवतीले मोबाइल फोनको सम्पर्कका माध्यमबाट बेचविखनको जोखिममा परेको बताएका थिए। यस्तो स्थिति अन्य संस्थामा पनि छ। रूपन्देही तथा कपिलवस्तुमा रहेर बेचविखन तथा ओसारपसार नियन्त्रणमा कार्यरत सर्भ नेपालले एक वर्षमा उद्धार गरेका तीन दर्जन युवतीमध्ये धेरैजसो मोबाइलको माध्यमबाटै सम्पर्क बढाएर नाता जोडिने व्यक्तिबाट बेचविखनमा परेका थिए। शङ्कास्पद अवस्थामा समातिएका झन्डै पाँच सयजनामा ५० प्रतिशतले आफूहरू मोबाइलका कारण पार्टनर बनेको बताएका थिए। बेचविखनविरुद्ध कार्यरत केआई नेपालको तथ्याङ्कले पनि पछिल्लो समयमा मोबाइलका कारण चेलिबेटी बेचविखनका घटना हुने गरेको देखाएको छ।
साभार : संचारिका फिचर सेवा (अमृता रूपन्देहीस्थित कान्तिपुर दैनिककी संवाददाता हुन्।)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out