'प्रचण्ड इज सिरियस दिस टाइम'

विजयकुमार - सुशील'दा भन्दै हुनुहुन्थ्यो, 'म अहिले भइरहेका राजनीतिक घटनाक्रमबाट कसेस्ली अपटिमिस्ट छु । प्रचण्डजी यसपटक समस्या समाधानतर्फ निकै गम्भीर देखिनु भएको छ ।'
जिब्रोको क्यान्सरबाट पीडित हुनुअघि पनि 'सुशील दा' कुनै नामी लच्छेदार भाषण गर्ने 'ओरेटर' थिएनन् । सही होस् वा गलत, कुनै विषयमा 'कनभिन्स' भएपछि चाहिँ अनवरत रूपमा त्यसका पछाडि एकनासले लागिरहने उहाँको विशेषता हो । आफ्ना तमाम कमजोरीका बाबजुद सुशील कोइरालाको सादा जीवनशैली र प्रजातन्त्रप्रति सन्देहरहित आस्थालाई उहाँका दुस्मनले पनि चुनौती दिन सजिलो छैन । गिरिजाबाबुको अवसानपछि नेपाली कांग्रेसको सभापति बनेका सुशील कोइराला कुनै लम्बे-चौडे राजनीतिक दर्शनका गफहरूमा पनि खासै रुचि राख्नु हुन्न । गिरिजाबाबुझैं सुशील कोइरालासँग पनि लामो कुरा गर्न त्यति सजिलो छैन । यी  दुवै कोइरालाहरू 'टु द प्वाइन्ट' कुरा गर्ने हुनाले सोध्ने मानिसका प्रश्नहरू चाँडै रित्तिन पुग्छन् । 
हिजो शुक्रबार बिहानै नेपाली कांग्रेसका सभापति सुशीलजीसँग भएको भेटघाटबाट स्तम्भको थालनी गर्न चाहन्छु । उहाँ भन्दै हुनुहुन्थ्यो, 'म अहिले भइरहेका राजनीतिक घटनाक्रमबाट कसेस्ली अपटिमिस्ट (सतर्कतापूर्वक आशावादी) छु । प्रचण्डजी यसपटक समस्या समाधानतर्फ निकै गम्भीर देखिनु भएको छ । हुन त माओवादीहरूको बोलाइ र गराइमा धेरै ठूलो अन्तर भएको हामीले पटक-पटक भोग्दै आएको कटु सत्य हो । तर पनि यस पटकचाहिँ उहाँले मलाई निकै आश्वस्त तुल्याउनु भएको छ । उहाँको व्यवहारमा पनि एक प्रकारको खुलापन आएको छ । प्रचण्डजी भन्दै हुनुहुन्थ्यो कि उहाँले आफ्नो पार्टीमा विभाजनको जोखिम मोलेरसमेत शान्ति र संविधानको प्रक्रियालाई अगाडि बढाउनुभएको छ । प्रचण्डजीले यति भन्दाभन्दै पनि उहाँहरूको पुरानो रेकर्डले गर्दा हाम्रो मनमा थोरबहुत शंका कायमै छ । तर हाम्रो मनको शंका सही हो या गलत हो ? भन्ने थाहा पाउन अब धेरै समय लाग्ने छैन । शान्ति प्रक्रिया सर्वाधिक महत्त्वको बिन्दुमा पुगेको छ । जबर्जस्ती कब्जा गरिएका सम्पत्ति फिर्ता गर्ने काम यसै हप्ता, पाँच-सात दिनमै, बर्दियाबाट सुरु हुने र त्यो काम गर्न प्रचण्डजी स्वयं त्यता जाने कुरा मलाई बताइएको छ । हेरौं, थाहा भइहाल्छ कत्तिको सिरियस छन् भनेर । मैले प्रचण्डजीलाई पटक-पटक भनेको छु कि गिरिजाबाबुले जसरी देशका निम्ति पार्टीभन्दा माथि उठेर निर्णय लिनुभयो, शान्ति र संविधानका निम्ति त्यो जिम्मेवारी अब तपाईंको हो । हेरौं के गर्नु हुन्छ । ठोस काम भयो भने स्थिति सकारात्मकतर्फ अघि बढ्छ, होइन भने संविधानसभाको म्याद थप्न पनि यस पटक मुस्किल पर्नेछ । यो कुरा प्रचण्डजीले पनि राम्ररी बुझ्नु भएकै छ ।'

आदरणीय पाठकहरू, अब हामी एकछिन लागौं माओवादी पार्टीभित्र हाल मञ्चन भइरहेको मोहन वैद्य-विरोध प्रकरणबारे । जसरी सुशील दा कुनै पनि प्रश्नको सही होस् वा गलत, 'टु द प्वाइन्ट' उत्तर दिनु हुन्छ, त्यसको ठीक उल्टो माओवादीहरू कुनै पनि प्रश्नको लामो र गोलमटोल उत्तर दिन्छन् । सोझो र यति छोटो प्रश्नको यति लामो र गोलमटोल उत्तर किन दिएको भनेर सोध्यो भने वरिष्ठ कमरेडहरू  'यो जनवादी केन्द्रीयताको दुई लाइन संघर्षअनुसार विचार संश्लेषणको कुरा भएकाले निम्न पुँजीवादी सोच राखेर विचारको यो रूपान्तरणलाई सहजै बुझ्न सकिँदैन, आज अलि हतार छ बाँकी कुरा अर्को दिन गरौंला है' भन्दै फुत्किन्छन् ।

हुन त यो साँप-सिढी टाइपको उत्तर नेपालको राजनीतिमा नितान्त नवीन कुराचाहिँ अवश्य होइन । २०४६ सालपछि नेकपा एमालेका नेताहरू पनि लगभग यसै गर्दथे । म सम्झन्छु, एमालेका कतिपय नेताहरूसँग त्यसबेला गरेका टेलिभिजन अन्तर्वार्ताका लामा-लामा अंशहरू । आजभोलि मोहन वैद्यका कुरा सुन्दा कता हो कता ती लामा-लामा भाषणका अंशहरू सम्झनामा आउँछन् । ती भाषण गलत थिए भन्ने मेरो अभिप्रायः होइन, तर कालान्तरमा, समय सन्दर्भमा ती जोसिला उपदेशहरू 'अर्थहीन शब्दको भण्डार' मा परिणत भए भन्ने रेकर्ड सम्झना गरेकोमात्र हो ।

आजको दिनमा मोहन वैद्यजीले कुनै पनि गलत नियत राखेर भाषणबाजी गरिरहनु भएको छैन । हरेक बैठकमा लगातार 'नोट अफ डिसेन्ट' लेख्ने उहाँको नियतमाथि पनि शंका गरिरहन आवश्यक छैन । उहाँ एक इमान्दार शास्त्रीय वामपन्थी हुनुहुन्छ । तर, मोहन वैद्यजीले बुझेर पनि बुझ पचाएको ऐतिहासिक तथ्य के हो भने- नेपालमा नेकपा माओवादीको उत्थानका पछाडि कुनै 'इमान्दार शास्त्रीय वामपन्थी' आधारमात्र नभएर धेरै ज्ञात/अज्ञात राष्ट्रिय र अन्तर्राष्ट्रिय रणनीतिक कारणहरू पनि छन् । माओवादी विद्रोहताका केही समय भारतको जेलमा रहेकाले वैद्यजीलाई आफ्नै पार्टीको चामत्कारिक उत्थानको पूरा तस्बिर ज्ञात नभएको पनि हुन सक्छ । तर उत्थानका विषयमा वैद्यजीले हालै मात्र थाहा पाउनुभएको होला भन्ने मूर्खता कुनै पनि जानकार पर्यवेक्षकले गर्न सक्दैन । नेपालमा शास्त्रीय वामपन्थी पुराणवाचनको आधारबाट मात्र कुनै पार्टी ठूलो हुने भएको भए सम्भवतः मोहनविक्रमजी वा नारायणमानजीको पार्टी उहिल्यै सबैभन्दा ठूलो भइसक्ने थिए ।

नेपालको आन्तरिक स्थिति र अन्तर्राष्ट्रिय राजनीतिको वर्तमान अवस्थामा अझै एक/दुई दशकसम्म नेपालमा कम्युनिस्ट पार्टीहरूले मनमोहन अधिकारी र मदन भण्डारीले देखाएको बाटोबाट धेरै पर गएर कुनै नयाँ सुरुङ मार्ग निर्माण गर्ने सम्भावना छैन । नाम चाहे जेसुकै राख्नुस्, बाटो त्यही हो । बुढेसकालमा भर्खरै लाग्दै गरेको भुँडी मुसार्दै, गार्डसहितका गाडी चढ्दै हिँडेका मानिसहरूले अब फेरि १०-२० वर्ष लड्छु, पर्खन्छु भन्लान् र ? भन्न त के गाह्रो भो, तर गर्लान् र ? खै मलाई पत्यार लाग्दैन । एकछिनका लागि मानौं, गजबै भयो रे ! एकथरीले फेरि लड्ने नै भए रे ! त्यस अवस्थामा छिमेकीहरूले उनीहरूलाई पहिलाझैं डेरा देलान् त ? आजको दिनमा यी सब वाहियात कल्पनाका विषय हुन् ।

आजको दिनको स्पष्ट संकेत के हो भने- माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नेकपा माओवादीले शान्ति प्रक्रियालाई निणर्ायक तवरबाट अघि बढाउने निर्णय गरेको छ । शान्ति प्रक्रिया निणर्ायक तवरबाट अघि बढ्नेबित्तिकै संविधान निर्माणको सवालमा पनि प्रगति हुने नै छ । हाल भइरहेका यी कार्यहरूका निम्ति प्रचण्ड निणर्ायक रूपमा लाग्नुभएको र त्यस कामका निम्ति उहाँलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा व्यापक उत्साह उपलब्ध गराइएको छ । हाल यदाकदा नेकपा माओवादीका केन्द्रीय बैठकहरूमा 'नोट अफ डिसेन्ट' को जलप लगाएर गरिने ड्रामाबाजीबाट उत्तेजित र प्रभावित नहुने हो भने यो कुरा प्रस्ट छ­ नेपालको शान्ति प्रक्रिया बिस्तारै-बिस्तारै आफ्नो 'तार्किक निष्कर्ष' तर्फ अघि बढ्दै छ ।

'१२ बँुदे सम्झौता र शान्ति प्रक्रियाको तार्किक निष्कर्ष' भन्ने अत्यधिक प्रचारित शब्दावलीको सम्भवतः पहिलो प्रयोग मैले तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाका मुखबाट जनआन्दोलन­- २ पश्चात् गरिएको एक टेलिभिजन अन्तर्वार्ताका दौरानमा सुनेको थिएँ । नेकपा माओवादीको उत्थानका विषयमा अधिकांश माओवादी नेताहरू भन्दा पनि सम्भवतः बढी जानकारी राख्ने सिटौला अहिले फेरि एक पटक केन्द्रीय भूमिकामा देखा पर्नुभएको छ । गिरिजाबाबुको अग्रसरतामा कृष्ण सिटौलाले १२ बँुदे सहमति निर्माणका दौरानमा खेल्नुभएको भूमिकाको पृष्ठभूमिमा 'शान्ति प्रक्रियाको तार्किक निष्कर्ष' निस्कन थालेका बेला फेरि एक पटक सक्रिय हुनुलाई स्वाभाविक नै मान्नुपर्दछ ।

१२ बँुदे समझदारीका विषयमा पहिला पनि लेखेको थिएँ, आज फेरि दोहराउँ, नेपालमा पछिल्ला केही वर्षमा भएका राम्रा र नराम्रा दुवै थरी परिवर्तनको आधारशिला हो, १२ बुँदे समझदारी । त्यो समझदारीको अब पनि इमान्दारीपूर्वक 'नगदी' पालना नगर्ने हो भने त्यसै समझदारीको जगमा खडा भएको संविधानसभा पनि बाँकी रहने छैन । हाल नेपालको राजनीतिमा हालिमुहाली गरेर बसेका प्रमुख दलहरूका निम्ति 'खाने भाँडोका' रूपमा पनि रहेको संविधानसभालाई त्यस स्थितिमा पुर्‍याउने मूर्खता कोही गर्न चाहँदैन । देश र जनताका निम्ति नभए पनि पार्टीहरूको आफ्नै राजनीतिक भविष्यको रक्षा गर्न पनि संविधानसभाले अब संविधान निर्माणको क्षेत्रमा केही गरेर देखाउने बाध्यात्मक स्थिति सिर्जना भएको छ । तर शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा नपुर्‍याई कुनै हालतमा संविधान निर्माणको काम अघि नबढाउने माओवादीइतर दलहरूले लिएको अडानपछि केही महिनादेखि नयाँ स्थिति खडा भएको थियो । यो नयाँ चुनौतीको स्थिति र अन्तर्राष्ट्रिय शक्तिहरूसित पटक-पटक भएको कुराकानीको परिणामस्वरूप माओवादी अध्यक्ष शान्ति प्रक्रिया टुंग्याउने निर्णायक बिन्दुमा पुगेका हुन् । स्वाभाविक छ, प्रचण्डजीलाई यो निर्णय पार्टीभित्र लागू गराउँदा सानातिना अवरोध आउन सक्छन् । तर तिनलाई पन्छाएर अघि बढ्ने दायित्व पनि उहाँकै हो । किनभने यसो नगरेको खण्डमा १२ बुँदे सम्झौतादेखि यहाँसम्म आइपुग्दा प्राप्त भएका सारा 'उपलब्धि' तासको पत्ताझैं खस्ने छन् । यो कुरा माओवादी अध्यक्षले अब राम्ररी बुझसिकेका छन् ।

हिजो बिहान सुशील कोइरालाजी भन्दै हुनुहुन्थ्यो, 'मैले त प्रचण्डजीलाई पटक-पटक भनेको छु, जसरी गिरिजाबाबुले परिवर्तन र शान्ति स्थापनाका निम्ति आफ्नै पार्टीका हामीलाई समेत कैयौं पटक 'ओभररुल' गरेर माओवादीहरूलाई ठूलो हृदयका साथ बढी 'कन्सेसन' दिनुभयो, ठीक त्यसैगरी अब पालो प्रचण्डजीको हो । देशका निम्ति, शान्ति र संविधानका निम्ति दृढतापूर्वक अघि बढ्ने र सबैलाई अघि बढाउने जिम्मा उहाँकै हो । यो काम उहाँले पार्टीको दायराभन्दा माथि उठेर गर्नुपर्छ । त्यस काममा नेपाली कांग्रेसको पनि सहयोग रहनेछ ।' यति भनेर सुशील कोइराला चुप लाग्नुभयो र म कोठाबाट निस्किँदा निस्कँदै थप्नुभयो, 'विजयबाबु, एउटा रोचक कुरा सुन्दै जानुस् । प्रचण्डजीसँग भेट हुँदा मेरो गर्ने कुरा त धेरै कहिले पनि हँुदैनन् । म त उही पुराना कुरा दोहोर्‍याइरहन्छु । प्रचण्डजी भन्नु हुन्छ- होइन, तपाईं जहिले पनि उही पुराना कुरा किन दोहोर्‍याउनु हुन्छ, नयाँ कुरा गर्नुस् न । म प्रचण्डजीलाई जवाफ दिन्छु- तपाईंले पुरानो कुरा नै पूरा कहिल्यै गर्नु हुन्न, के नयाँ कुरा गरांै ?'
यति भनेर सुशील कोइरालाजी मस्त मुस्कुराउनुभयो । मैले उहाँलाई त्यसरी मुस्कुराएको देखेको थिइनँ । मैले हाँस्दै सोधें, 'कसेस्ली अपटिमिस्ट ?' उहाँले हाँसेरै उत्तर दिनुभयो, 'यस, कसेस्ली अपटिमिस्ट । आई थिन्क प्रचण्ड इज सिरियस दिस टाइम ।'
vijayko@gmail.com

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out