घरेलु कामदार बालिकाहरु चरम शोषणमा

काठमाडौ । ‘पढाइ दिएर महिनाको रु १५ सय दिने भनेपछि घरको काम गर्न बाबुआमाले काठमाडौँ पठाउनुभयो,’ सिन्धुपाल्चोककी १४ वर्षीया एक बालिकाले भनिन्,– ‘सहरमा गएर पढ्न पाउने भनेपछि खुसीले आएँ ।’
नौ वर्षको कलिलो उमेर चार कक्षामा पढ्दा–पढ्दै घरको आर्थिक अवस्था कमजोर भएका कारण पैसा र पढाइ दुवै हुने खुसियालीमा सहर आएकी बालिकाको सपना एक महिनामै समाप्त हुँदै गयो ।
‘सहर (कलङ्की) आएको एकहप्तापछि पढ्न जान्छु, मलाई पढाउने भनेर ल्याउनुभएको हो भन्दा तँलाई पढाउन हैन काम गर्न ल्याएको हो भनेर गाली गर्ने गर्नुभयो, आँखाभरी आँसु पार्दै उहाँले भन्नुभयो– ‘बिहान ५ः०० बजेदेखि बेलुका ११ः०० बजेसम्म घरको काममा मात्र जोताए ।’
बाबुआमासँग मलाई कुरा गर्न नदिने, आफँै कुरा गर्ने छोरीले राम्रो पढेकी छे, पढाइको लागि पैसा धेरै खर्च भयो, अहिले पैसा पठाउन सकेनौँ भनेर फोन गर्थे, आफ्नो पढ्ने सपना अधुरो भएको गुनासो गर्दै उहाँले थप्नुभयो– ‘पढ्न नदिएपछि काम गरेको पैसा माग्दा तैँले खाएको कसले तिर्छ भनेर कपालमा समातेर हप्काउने गरे ।’
काम गरेर पढ्ने, पैसा कमाउने सपना अधुरो भएकी बालिकाले सहर आएको सात महिनादेखि आफ्नै साहुबाट यौन दुव्र्यवहारसमेत सहनुप¥यो ।
‘साहुले मलाई अँगालो हाल्ने, चुम्बन गर्ने गर्नुहुन्थ्यो, सुरुमा मलाई माया गर्नुहुन्छ भनेर खुसी लाग्थ्यो’, दुई हातले आँसु पुछ्दै स्मरण गर्दै उहाँले भन्नुभयो– ‘सहर आएको एक वर्षपछि दिउँसो घरमा कोही नभएको बेला साहुले आफ्नो कोठामा बोलाएर मलाई बलात्कार ग¥यो ।’
‘चिच्याउने कोसिस गर्दा मुखमा रुमाल कोचिदियोे, कराउन सकिन, म मुर्छा परेजस्तो भएको थिएँ, घरका सबैलाई ज्वरो आएको छ भन्, यो कुरा अरुलाई भनिस् भने तँलाई मारिदिन्छु भन्यो’– कलिलो उमेरमा जीवनको तीतो अनुभव उहाँले यसरी पोख्नुभयो ।
त्यो पीडा सहन नसकेर उहाँले घर जान खोज्दा पनि उनीहरुले बाबुआमालाई पैसा दिने भन्दै मनाएर घर जान दिएनन्, पाँच वर्षसम्म यस्तै यातना सहेर बस्नुप¥यो, उहाँले थप्नुभयो– ‘त्यो घरबाट भाग्ने प्रयास पनि गरें तर, सधैँ घरको  ढोकामा बाहिरबाट ताल्चा लगाएर जान्थे, भाग्न सकिन ।’
‘त्यो घरमा बस्न मन लागेन, सहरमा कहाँ जाने केही थाहा थिएन’, निकै भावुक स्वरमा उहाँले भन्नुभयो– ‘आमाबा भन्दै मैले आफू पागल भएकोजस्तो गरें, तीन÷चार दिनसम्म खाना पनि खाइन, त्यसपछि मात्र घर छोडी दिए ।’
अहिले पनि यी बालिकामा अझै विगतको पीडा, त्रास मनमा कायमै छ । त्यसको बारेमा कसैलाई भन्ने आँट पनि छैन । न्याय पाउने ठाउँ पनि थाहा छैन । मात्र विगतको ती डरलाग्दा दिन सम्झन मन छैन यी बालिकालाई ।
घरेलु श्रमिकको रुपमा यातना भोग्न बाध्य यी बालिका एक प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्तै धेरै बालिकाले यस्तै शारीरिक, मानसिक यातना र यौन दुर्व्यहारको यातना भोग्न बाध्य छन् ।
यसैगरी गरिबीको कारण राम्रो लगाउन र मीठो खान रुकुमबाट काठमाडौँ आएकी अर्की १५ वर्षीया बालिकाले यस्तै यातना भोग्नुपरेको छ ।
‘गाउँमा बसेर सहरको सपना देख्दा रमाइलो लाग्छ, तर सहर पीडादायी हुँदोरहेछ, दिनरात काम गर्दा पनि खानसम्म दिएनन्, भावुकस्वरमा उहाँले भन्नुभयो– ‘सबैले खाइसकेपछि बाँकी रहेको थोरै दिन्थे, उनीहरुको बच्चाले छोडेको खाँदा पनि खानाको मुख नदेखेकी भनेर कुट्थे ।’
एक वर्षसम्म काम गर्दा पनि नयाँ कपडा दिएनन्, मलाई उनीहरुको पुरानो मात्र लगाउन दिन्थे’, आँखाभरी आँसु पार्दै उहाँले आफ्नो व्यथा सुनाउनुभयो– ‘मलाई भान्छाको चिसो भूइँमा एउटा गुन्द्री र तन्ना मात्रै दिन्थे ।’
‘सहर आएको तीन÷चार महिनापछि साहुको छोराले उसले ओड्ने कम्बल ल्याएर रातिराति दिन्थ्यो, माया गर्छ मलाई साहुको छोराले भन्ने लाग्थ्यो, पछिपछि साहुको छोरा मसँग जिस्किने, चल्ने, मेरो सरीरमा जहाँ पायो, त्यहीं छुने गर्न थाल्यो, त्यतिबेलासम्म मलाई उसको गलत नियत थाहै भएन ।’
‘यस्तौमा म गर्भवती भएको थाहा पाएपछि त्यस घरबाट मलाई निकाली दिए, घरमा आमाको मृत्यु भएर बुबाले कान्छी आमा ल्याउनुभएको छ, घरमा मलाई कसैले माया गर्दैनन्’ आफ्नो दुःखद् जीवनको पीडा उहाँले यसरी पोख्नुभयो ।
घरेलु श्रमिक बालबालिका धेरैले आर्थिक, पारिवारिक कारणले यस्तै यातना भोग्नुपरेको छ । घरेलु हिंसा तथा बलात्कारको शिकार भएका बालिकालाई पछि समाजमा स्थापित हुन निक्कै गाह्रो हुन्छ । दोषीलाई कारबाही नभएपछि पीडितहरु आफ्ना समस्या सधँै लुकाउँछन् । यसले गर्दा उनीहरुको व्यक्तित्व विकासमा समेत असर पर्छ ।
‘घरमालिकले ल्याउने बेलामा छोरी पढाइ दिने, ठूलो मान्छे बनाइ दिने प्रलोभन देखाउँछन,’ बालमनो विश्लेषक उमा अधिकारीले भन्नुभयो,–‘अभिभावकले विश्वास गरेर छोरीलाई साहुको जिम्मा लगाउँछन्, सुरुमा अभिभावले र छोरीले ठूलो मान्छे भएको सुन्दर सपना देख्छन् । बलात्कारको शिकार भएपछि सबै  सपना टुट्छ ।’
सिविन नेपालकी कार्यक्रम संयोजक रश्मीला शाक्यले भन्नुभयो,–‘धनकै आडमा पीडितका अभिभावकलाई आफ्नो प्रभावमा पार्छन् र मुद्दा कमजोर बनाउँछन्, यसले गर्दा बालिकाहरु शिकार हुन पुग्छन्, उनीहरुले न्याय पाउने अवस्था छैन ।’
सहरप्रतिको आकर्षण र सूचनाको अभावले गर्दा बालिकामा यौन शोषण, बलात्कार हुने गरेको छ, शाक्यले भन्नुभयो,– ‘घरेलु श्रमिकमाथि मात्र शोषण हुने नभएर सरकारी तथा निजी विद्यालयमा आफ्नै शिक्षकबाट पनि यौन दुव्र्यवहार हुने गरेको छ ।’
बालिकामाथि हुने निकै थोरै मात्र यस्ता घटना सार्वजनिक हुन्छन् । धेरै जसो त त्यतिकै हराउँछन् ।  इज्जत जाने डरले पनि यस्ता घटना लुकाउँछन् । जस्तोसुकै अपराध गरेपनि प्रहरीमा उजुरी नहुने भएपछि अपराधी उत्साहित हुन्छन् । जसको शिकार बालिका हुने गरेका छन् ।
‘घरेलु कामदार बालिकामा भएको यौन दुव्र्यवहार, बलात्कार, आर्थिक तथा मानसिक कुनै पनि खालका घटनाबारे प्रहरीमा एकदमै कम उजुरी पर्ने गरेको छ,’ नेपाली प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद सिंहले भन्नुभयो,–‘घरेलु हिंसा, जवर्जस्ती करणीका घटनाहरु प्रहरीमा आउँछन् तर मजदुर बालिकाकाबारेमा उजुरी पर्ने गरेको छैन, भएपनि एकदमै यदाकदा मात्र पर्छ ।’
सिविन नेपालमा सन् २०१० मा परेको १६७ वटा बलात्कारका उजुरीमध्ये १२.६५ प्रतिशत १० वर्षभन्दा मुनिका बालबालिका छन् भने ६.६२ प्रतिशतको बलात्कारको कारण मृत्युसमेत भएको छ ।
त्यसैगरी, बालश्रमिक मजदुरसम्बन्धी परेका ७९१ घटनामध्ये बालिका ३८१ र बालक ६२ जना रहेका छन् भने बालयौन दुव्र्यहारमा परेका ३० पीडित मध्ये २८ बालिका र दुई बालक रहेका छन् ।
जातीय र सामाजिक कारण साथै इन्टरनेटमार्फत हुने दुव्र्यवहार, रजश्वला भएको बेला हुने विभेदले पनि बालिकाहरुलाई बढी पीडित बनाएको छ ।
सिविस नेपालको तथ्याङ्कअनुसार मुलुकभर एक लाख  ५० हजार घरेलु मजदुर छन् । त्यसमध्ये ७० प्रतिशत १८ वर्ष मुनिका छन् भने ६० प्रतिशत १४ वर्षभन्दा मुनिका छन् ।
मुलुकभर रहेका कूल घरेलु मजदुरमध्ये ६० प्रतिशत बालिका छन् । यिनीहरु मध्ये धेरैजसो बालिकामा कुनै न कुनै रुपले हिंसा भएकै पाइएको छ ।
घरेलु बालबकालिकामध्ये ५६ प्रतिशत यौन दुव्र्यवहारको शिकार हुन्छन्, ४३ प्रतिशत बालबालिका भने घरेलु हिंसाको शिकार हुन्छन् भन्ने बालअधिकारको क्षेत्रमा काम गर्ने संस्था सिविस नेपालका उद्धार निर्देशक प्रदीप ढङ्गोलको भनाइ छ ।
नेपाल अन्तर्राष्ट्रिय श्रम सङ्गठनको न्यूनतम उमेर अभिसन्धिमा हस्ताक्षर गर्ने सदस्य राष्ट्र हो । यस अभिसन्धिअनुसार १४ वर्षभन्दा कम उमेरका व्यक्तिलाई मजदुरको रुपमा काम लगाउन पाइदैन ।
बालबालिकासम्बन्धी ऐन २०२८ ले १४ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउनु गैरकानुनी हो भनेको छ भने  बालश्रम निषेध र नियमित गर्ने ऐनले पनि १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई श्रममा लगाउन पाइदैन भनेको छ । तर यस कानुनको प्रभावकारी  कार्यान्वयन हुन सकेको छैन ।
कानुनमा व्यवस्था भएपनि त्यहाँसम्म पहुँच नपुग्दा बालिकाले न्याय पाउने सकेका छैनन् । मुलुकी ऐनको बलात्कारसम्बन्धी महल १४ अनुसार १० वर्षभन्दा कम उमेरको बालिकालाई जवर्जस्ती करणी गरेमा १० वर्षदेखि १५ वर्षसम्म कैद सजाय हने व्यवस्था छ । १० वर्ष वा सो भन्दामाथि १६ वर्षमुनिको बालिका भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
कालिका खड्का

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out