सभासद्का चर्तिकला

दुई वर्षका लागि गठन गरिएको संविधानसभाको आयु थपिँदै गएर चार वर्ष पुगिसकेको छ । जतिजति संविधानसभाको म्याद बढाइँदै छ, सभासद्हरूका बानी-बेहोरा र चर्तिकला पनि त्यति-त्यति छ्याल्लब्याल्ल हुँदै गएका छन् । केही सभासद्को क्रियाकलाप र बानी-बेहोरा नयाँ संविधान बनाउन दिनरात खटिने बाँकी सभासद्का लागि पनि टाउको दुखाइको विषय बनेको छ ।
पदीय मर्यादा, सभासद्को गरिमा र न्यूनतम सामाजिक व्यवहारको समेत ख्याल नगरेर केही सभासद्ले सिंगो संविधानसभालाई नै बदनाम गरिरहेका छन् । ठूला दलका ठूला नेतासमेत त्यस्ता काममा संलग्न भएका छन् । उनीहरूका क्रियाकलापले ६ सय एक सभासद्प्रति नै जनतामा वितृष्णा जगाउँदै छ ।
सभासद्हरूको यस्ता उच्छृंखल क्रियाकलाप अहिले मात्रै देखिएका होइनन्, पहिलो बैठक सुरु भएको १५ जेठ ०६५ मै त्यसको संकेत देखिएको हो । पहिलो बैठकमा सुर्खेतबाट निर्वाचित एमाले सभासद् कमला शर्माले कांग्रेस सभासद् पूर्णबहादुर खड्काको गालामा आफ्नै चप्पलले बजाइन् ।
सभामुख आसनको अगाडि बाँयापट्ट िउभिएका खड्कालाई शर्माले आफ्नो चार नम्बरको चप्पलले गालामा हिर्काइन् । एकछिन बैठकमा हल्लीखल्ली नै मच्चियो । उनी फेरि हान्ने योजनामा थिइन्, तर कांग्रेस नेता रामचन्द्र पौडेल र केही एमाले नेताहरूले उनलाई रोके । सभासद्जस्तो गरिमामय पदमा रहेकी शर्माले बैठकस्थलमै सहकर्मी सभासद्लाई चप्पलले हिर्काउँदा न त संविधानसभाले उनलाई कारबाही गर्‍यो न उनको दल एमालेले ।
दिनहरू बित्दै जाँदा सभासद्हरूका उदण्ड, उच्छृंखल र अनैतिक गतिविधि पनि सार्वजनिक हुन थाले । केही सभासद्ले रातो राहदानी बेचेको पुष्टि भयो, कसैले संविधानसभा र समितिका बैठकमा तोडफोड गरे भने कोही जुवाघरमा प्रहरीको फन्दामा परे । त्यतिमात्रै होइन, कोही घुस लिँदालिँदै पक्राउ परे भने कोही यौनकर्मीहरूसित भेटिए । कोही सभासद्लाई नयाँ संविधान बनाउनुभन्दा घरमा भएकी श्रीमती, छोराछोरी छाडेर कान्छी लिएर बेपत्ता हुन मन लाग्यो । कोहीमाथि हत्याको अभियोग लाग्यो भने केही बिजुली चोर्ने, संरक्षित क्षेत्रका रूख काट्ने काममा संलग्न भएकोसमेत पाइए । संविधानसभाको साढे तीन वर्षभन्दा लामो अवधि बित्दा यस्ता सभासद्हरूको सूची पनि लामै बनेको छ ।
दुई वर्षभित्र जनतालाई नयाँ संविधान दिने बाचासहित सिंहदरबार छिरेका केही सभासद्का गतिविधि व्यक्तिगत आयआर्जन, मोजमस्ती, उद्दण्ड क्रियाकलापमा केन्दि्रत देखिए । केहीले त सभासद् भएबापत पाउने कूटनीतिक राहदानीसमेत बेच्न भ्याए ।
कूटनीतिक राहदानी बेचेको अभियोगमा एमालेका नारदमुनी राना, जनता दलकी गायत्री साह, मधेसी जनअधिकार फोरम नेपालका बिपी यादव र फोरमकै शिवपूजन यादवमाथि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाइरहेको छ । त्यही अभियोगमा उनीहरूलाई संविधानसभा सचिवालयले निलम्बनसमेत गरेको छ । राहदानी दुरुपयोग गरेकै आशंकामा आधा दर्जन सभासद्माथि प्रहरीको अनुसन्धान जारी छ ।
एमाले सभासद् डिबी कार्कीलाई अख्तियारको टोलीले घुस लिँदालिँदै पक्राउ गर्‍यो । केही समय प्रहरी हिरासतमा समेत रहेका कार्की अहिले निलम्बनमा छन् । १८ फागुन ०६५ मा कांग्रेस सभासद् कृष्णप्रसाद यादव यौनकर्मी महिलाहरूसित फेला परे । महाराजगन्जस्थित कान्ति बाल अस्पतालपछाडिको एक घरमा प्रहरीले छापा मार्दा उनी चारजना यौनकर्मी महिलासँगै फेला परेका थिए । पहिचान भए पनि उनी उम्किन सफल भए ।
माओवादी सभासद् गुणखर बस्याललाई नयाँ संविधान बनाउनुभन्दा कान्छी लिएर रमाइलो गर्न पि्रय लाग्यो । घरमा श्रीमती र छोराछोरी हुँदाहुँदै उनी गत वर्षको जेठदेखि बेपत्ता भए । त्यसयता उनी संविधानसभामा पनि देखिएका छैनन् । उनकी जेठी श्रीमती खिमाले आफ्ना सभासद् श्रीमान्लाई एक महिलाले अपहरण गरेको भन्दै प्रहरीमा उजुरी पनि दिइन् । तर, प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो, सभासद् बस्याल अपहरणमा परेका होइनन्, कान्छी लिएर चितवनमा बसेका छन् ।
उनलाई सात दिनभित्र हाजिर हुन माओवादी संसदीय दलको कार्यालयले समेत सूचना जारी गर्‍यो । तैपनि उनी आएनन् बरु राजीनामा नै दललाई पठाए । दललाई पठाएको उनको राजीनामा अहिलेसम्म सभामुखकहाँ भने पुगेको छैन ।
नेकपा मालेकी सभासद् शारदा नेपालीले दुईपटक त आत्महत्याको प्रयास नै गरिन् । मासिक पारिश्रमिकको धेरै रकम लेबीस्वरूप पार्टीलाई बुझाउँदा घरखर्च धान्न मुस्किल भएको भन्दै आत्महत्या गर्न लागेको उनले त्यतिवेला सञ्चारमाध्यमलाई बताइन् । त्यतिमात्रै होइन, एकपटक त उनले नेपालगन्जमा रक्सीले मातेर ताण्डव नै गरिन् ।
मुस्लिम परिवारबाट संविधानसभा चुनावमा उत्रिएर चर्चामा आएकी फोरम लोकतान्त्रिककी करिमा बेगमले सिंहदरबार छिरेपछि उद्दण्डता देखाइन् । माधव नेपाल नेतृत्वको सरकारमा राज्यमन्त्री हुँदा उनले राम्रो गाडी नदिएको भन्दै पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई चड्कन लगाइन् । संविधानसभाको कार्यकाल तीन वर्ष बित्दासम्म गुमनाम रहेका एमाले सभासद् ल्यारक्याल लामा राज्यमन्त्री भएपछि चर्को विवादमा तानिए । उनले नेपालसँगै भारत र चीनको समेत राहदानी लिएको अभियोगमा नियुक्त भएको १० दिनमै राजीनामा दिनुपर्‍यो ।
कांग्रेस सभासद् अच्युतराज पाण्डे जुवाको आखडाबाट पक्राउ परे । गत वर्षको २२ भदौमा उनलाई प्रहरीले भोटेबहालस्थित दिनेश शेरचनको घरबाट पक्राउ गरेको थियो । सभासद् पाण्डेलाई प्रहरी कार्यालयसम्म त लगियो, तर राजनीतिक दबाबमा त्यही दिन स-सम्मान छाडियो ।
फोरम लोकतान्त्रिकका संजयकुमार साहले संसद् बैठकस्थलका माइक नै तोडफोड गरे । सभासद्को मर्यादाविपरीत उद्दण्ड क्रियाकलाप गरेको तथा बैठकस्थलको शान्तिसुरक्षामा खलल पुर्‍याएको भन्दै सभामुख सुवास नेम्वाङले उनलाई १० दिनका लागि निलम्बन नै गर्नुपर्‍यो । तोेडफोडबाट भएको ९० हजारको क्षति पनि उनकै पारिश्रमिकबाट असुलउपर गरिएको छ । कांग्रेस नेता तथा सभासद् डा. प्रकाशशरण महतले पदीय मर्यादाको ख्यालै नगरी संविधानसभाअन्तर्गतको राज्यको शासकीय स्वरूप निर्धारण समितिको बैठकमा सभापतिको हातबाट खोसेर माइन्युट नै च्यातचुत पारे ।
सधैँ चर्चाम्ा आइरहने दलित जनजाति पार्टीका एकमात्र सभासद् विश्वेन्द्र पासवानले संवैधानिक समितिको बैठक चलिरहेको संसद् भवनको चौथो तलाबाट कुर्ची नै फाले । गत वर्षको १८ चैतमा बसेको संवैधानिक समितिको बैठकमा उनले कुर्ची मात्रै फालेनन्, 'आवश्यक परे मान्छे नै झ्यालबाट फाल्ने' धम्की पनि दिए । समिति र संविधानसभाले उनलाई कुनै कारबाही भने गर्न सकेन ।
माओवादी सभासद् इन्द्रमती यादव कपिलवस्तुमा बिजुली चोरिरहेको अवस्थामा पक्राउ परिन् । उनलाई तीन हजार जरिवाना गरेर छाडियो । त्यस्तै, एमाले सभासद् किरणकुमारी रायले आफ्नो एसएलसीको परीक्षा छोरीलाई दिन लगाइन् । गत वर्षको १३ चैतमा सर्लाहीको बरहथवा परीक्षा केन्द्रमा उनले छोरीलाई परीक्षा दिन लगाएको प्र्रमाणित नै भयो ।
माओवादी सभासद् चन्दा देवी पर्सा वन्यजन्तु आरक्षभित्र रूख काट्दै गर्दा पक्राउ परिन् । केही स्थानीय व्यक्तिलाई समेत लिएर आरक्षभित्र रूख काटिरहेको अवस्थामा सुरक्षाकर्मीले उनलाई १२ माघ ०६६ मा पक्राउ गरेको थियो । सभासद् चन्दा देवीकै सिको गर्दै मधेसी जनअधिकार फोरमका मोहम्मद इस्तियाक राईले नेपालगन्जमा उधम नै मच्चाए । कानुनले रोक लगाए पनि रूख काट्न पाउनुपर्छ भन्दै उनले जिल्ला वन कार्यलयमा जुलुस नै लगे ।
३ मंसिर ०६७ मा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले संसद्मा बजेट पेस गर्न जाँदा केही माओवादी सभासद्ले उनलाई कुटपिट नै गरे । मन्त्री पाण्डेको हातबाट बजेट बि्रफकेस खोसेर तोडफोड गर्ने तथा हातपात गर्ने कार्यमा संलग्न सभासद्माथि अहिलेसम्म कारबाही भएको छैन ।
सद्भावनाका सभासद् तथा अहिलेका उद्योग राज्यमन्त्री खोभारी राय हतियारसहित झगडा गरिरहेको अवस्थामा पक्राउ परे । केही दिनअघि मात्रै उनी ठमेलको एक रेस्टुरेन्टमा रक्सीले मातेर दुई युवतीहरू झुल्लिरहेको अवस्थामा समेत भेटिए ।
संविधानसभाको नेतृत्व गरिरहेका अध्यक्ष सुवास नेम्वाङ केही सभासद्हरूका यस्ता क्रियाकलापले जनतामा निराशा उत्पन्न भएको स्विकार्छन् । तर, केही सभासद्को अनैतिक क्रियाकलापको भागिदार सबैलाई बनाउन नहुने उनको तर्क छ । 'यस्ता घटनालाई जनरलाइज गर्न मिल्दैन । गाउँतिर हुने-गरिने उखानजस्तो जसले खायो त्यसैलाई विष लाग्नुपर्छ,' संविधानसभा अध्यक्ष नेम्वाङले भने ।
सभासद्हरूलाई मर्यादित बनाउन आफूले पटक-पटक सम्बन्धित दलका नेता र सचेतकमार्फत ध्यानाकर्षण गराएको अध्यक्ष नेम्वाङले बताए । 'प्रत्येक घटनाका बारेमा दलहरूका नेता र सचेतकमार्फत ध्यानाकर्षण गराएको छु, कतिपय त्यस्ता घटनामा कारबाहीसमेत भएको छ,' उनले भने । सभासद् आफैँ पनि अनैतिक क्रियाकलापबाट मुक्त हुनुपर्ने उनको सुझाब छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out