किन टुट्छ दाम्पत्य ?

सशस्त्रका डीआईजी रञ्जन कोइरालाले श्रीमती गीता ढकालको हत्या गरे । उनीहरूका असमझदारी जेजस्ता भए पनि त्यो हदमा पुग्ने मुख्य कारण 'सम्पत्ति' र अर्की 'प्रेमिका' बने । सम्पत्तिको लोभमा मानिस कति निच व्यवहार गर्न पनि तयार हुँदोरहेछ भन्ने उदाहरणसमेत बन्यो यो ।
जतिबेला सम्बन्ध राम्रो थियो, रञ्जनले सम्पत्ति सबै गीताका नाममा राखिदिए । सम्बन्ध बिग्रँदै गयो, 'डिभोर्स' गर्न चाहे । गीता त्यसमा तयार भइनन् । आधा भए पनि सम्पत्ति हातमा पारी 'मनपरेकी' अर्कैसँग जीवन बिताउन रञ्जन लालायित थिए । गीता छोराहरूको भविष्यका लागि सम्बन्ध अझ सुधार्न चाहन्थिन् । दुर्भाग्य ! त्यही कारण रञ्जन 'राक्षस' भएर निस्किए ।
भनिन्छ- पति-पत्नी एक रथका दुई पाङ्ग्रा हुन् । उनीहरूको सम्बन्ध नङ-मासुको जस्तै हुनुपर्छ । तर केही वर्षयताका घटना हेर्दा रथका पाङ्ग्रा खुस्किने क्रम बढेका छन् । मासुबाट नङ छुट्टिन निकै थालेका छन् ।
कारण धेरै छन् । मनोविज्ञानमा स्नातकोत्तरसमेत पढेका डा. ललितकुमार मिश्र पति-पत्नीका सम्बन्ध बिग्रनुका पछाडि ८ कारण देख्छन्- १. नियत अर्थात् सम्पत्ति हडप्ने मनसाय वा अर्कैसँग सम्बन्ध बढाउनु । २. हिंसा/यातना । यसको समाधान सहनु वा सम्बन्धविच्छेद गर्नु वा आत्महत्या गर्नु हुन्छ । ३. असमझदारी/अहम् । ४. शारीरिक भोक । खासगरी पति-पत्नी एकठाउँ नहुँदा जाग्ने यौनचाहना । ५. यौन असन्तुष्टि । आफ्नो पार्टनरलाई सन्तुष्ट बनाउन नसक्दा उत्तेजक औषधी प्रयोग गर्छन् । त्यसबाट समेत सफल नभए टाढिँदै जान्छन् । ६. रोग/बाँझोपन । ७. अनमेल विवाह । जाति, धर्म, आर्थिक हैसियत आदि नमिलेका विवाह भावनामा सम्भव भए पनि दीर्घकालीन रूपमा बढ्ता समस्या देखिएका छन् । ८. शंका/उपशंका । कुनै पक्षबाट गल्ती नभए पनि 'शंकैले लंका तानेर' सम्बन्ध टुटेका घटना पाइन्छन् ।
कारण ठाउँ, व्यक्ति र परिस्थितिअनुसार फरक छन् । सहरमा सम्पत्ति र 'परसम्बन्ध'का घटना बढ्ता छन् भने गाउँघरमा 'वैदेशिक रोजगार' समस्याको मूल कारक बनेको छ ।
भोजपुर जरायोटारका गोपाल खाडीबाट घर फर्के । उनलाई आँखाको बिराम थियो । काठमाडौंमा आएपछि उपचार गर्न तिलगंगा अस्पताल गए । साथमा भएको पैसाले पुगेन । श्रीमतीलाई फोन गरेर सरसापट गरी लिएर आउन भने । श्रीमतीले 'बूढाको उपचार गर्न' भनी छिमेकी र आफन्तसँग सक्दो पैसा उठाइन् । र, काठमाडौं नआई बेपत्ता भइन् । परिवारले खोजी गर्‍यो । पछि खबर आयो, 'मैले अर्कैसँग बिहे गरेँ, खोजी नगर्नु।'
यस्तै घटना भयो, रूपन्देहीका एक युवाको जीवनमा पनि । उनी बिहे गरी दुबई गए । घरमा बुवा-आमा अशक्त अवस्थाका थिए । त्यही भएर श्रीमतीलाई साथी राखेर उनी परदेश हानिए । उता पुगेको केही दिनमै श्रीमतीले फोन गरिन्, 'म त जसरी भए पनि पढ्छु ।'
उनले पनि सोचे- पढ्नै चाहने हो भने मौका किन नदिने ! अन्त्यमा दुईजनाले सल्लाह गरी उपाय निकाले, घरमा काम गर्ने मान्छे राखिदिएर श्रीमतीचाहिँ पढ्न बुटवल बस्ने । अनि त्यसै गरे ।
ती युवाले बुवा-आमालाई खर्च पठाउन कम गरे । अर्कातिर श्रीमतीका हरेक माग पूरा गर्दै गए ।
'सहरमा हिँड्न गाह्रो भो', उनले भनिन्, 'स्कुटर किन्नुपर्‍यो ।'
'ठीक छ', उनले भनिदिए ।
ट्युसन, ल्याङ्ग्वेज, कम्प्युटर जेजे सिक्छु भनिन्, केहीमा बाधा भएनन् । कमाएको बाँकी पनि उनैलाई पठाइदिए ।
तीन वर्ष पूरा गरी २०११ अगस्टमा उनी नेपाल फर्किए । सुनधाराको एउटा होटलमा बसी श्रीमतीलाई फोन गरे, 'म काठमाडौं आइपुगेँ । भोलि दिउसो घर आउँछु ।'
'हस्', श्रीमतीले उत्तर दिइन् ।
भोलिपल्ट बिहानै एक शुभचिन्तकले फोन गरी सुनाए, 'तिम्री श्रीमती त राति नै अर्कैसँग पोइल गई ।'
केही महिनापछि थोरै दिनको फरकमा बुवा-आमाकै मृत्यु भयो । चोटमाथि चोट बोकेर उनी फेरि हानिए साउदी अरब ।
साथीभाइसँग फोन वा च्याटमा सम्पर्क हुँदा उनी भन्ने गर्छन्, 'सकेसम्म अब म नेपाल फर्किएरै आउँदिन ।'
बिहेको कुरा गर्‍यो भने त उनी तनावमा आउँछन् । भन्छन्, 'संसारमा त्यति विश्वासिलो मान्छे कोही हुन्छ जस्तो लाग्दैन थियो । उसैले धोका दिई । अब कसको भर पर्न सकिन्छ र बिहे गर्नु !'
सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावल अदालतमा आउने सम्बन्धविच्छेदका सबैजसो मुद्दा सुरु अदालतले नै टुंग्याइदिने र विच्छेदै गरिदिने बताउँछन् । 'श्रीमान वा श्रीमती जसले ल्याएको मुद्दा भए पनि जिल्ला अदालतबाटै टुंगिन्छन्', उनी भन्छन्, 'सर्वोच्चसम्म आउने अवस्था अति कम हुन्छ ।'
उनका अनुसार अदालत आएका सम्बन्धविच्छेदका कारणहरूमा असमान आर्थिक अवस्था, झूठो बोलेको, सम्पत्ति, दुवैको सोचाइमा आएको परिवर्तन, संयुक्त परिवार, यौनचाहना आदि छन् । 'अप्ठ्यारोमा बस्नुभन्दा सजिलै छुट्टनिु जाती भन्ने सोचाइले यसमा काम गर्छ', उनी भन्छन् ।
सर्वोच्चका वाषिर्क प्रतिवेदनअनुसार २०६५/६६ मा देशभरका जिल्ला अदालतमा गरी ४३०४ सम्बन्ध विच्छेदका मुद्दा परेका थिए । तीमध्ये सबैभन्दा धेरै काठमाडौंमा १०३९ थिए । जब कि २०६६/६७ मा ५१०९ मुद्दा पुगे । सबैलाई उछिन्ने जिल्ला काठमाडौं नै भयो जहाँ १२०३ परे । दुवै आर्थिक वर्षमा मनाङ र मुस्ताङमा यस्ता एउटा पनि मुद्दा परेनन् ।
त्यसो त सबै सम्बन्ध टुट्दा 'छोडपत्र' माग्दै अदालत जाने चलन हुँदैन । धेरै यस्ता घटना बढेका छन्, जुन 'परदेश गएका कारण' भएका छन् । त्यस्ता घटनामा अधिकांश पत्नीले पति छाडेर अर्कैसँग गएका छन् । त्यस्तो घटनामा भेट्नै नसक्ने वा भेटे पनि सहमतिमा छोडिदिने चलन छ ।
देशमा बेरोजगारी व्याप्त छ । त्यही भएर पैसा कमाउन विदेश जाने चलन बढेको छ । दैनिक हजारौं युवा देश छाड्न थालेका छन् । यसले रोजगारी दिएको छ, रेमिट्यान्स भित्र्याएको छ, विकासमा टेवा पुर्‍याएको छ । तर योसँगै अर्को समस्या बढ्दै गएको छ- पारिवारिक विखण्डन ।
विदेश जाने सबैमा यो समस्या छ भन्न खोजिएको होइन, तर धेरै घटना विदेश जाने परिवारमै देखिएको छ । कतिका श्रीमती अर्कैसँग गएका छन् । कतिका सम्बन्धमा शंका उब्जिएका छन् । कतिले धनसम्पत्ति उडाइदिएका छन् । कतिले नातागोता नभनी सम्बन्ध बढाएका छन् ।
अरू कारण टुट्ने सम्बन्ध प्रायः सहमतिमा हुन्छन्, ठूला समस्या पनि हुँदैनन् । तर जसको सुखद भविष्यका लागि प्रवासमा पसिना बगाएको हुन्छ, त्यसैले सिरिखुरी पारी छोडेर गएपछि ठूलठूला समस्या आउने गरेका छन् ।
विदेशबाट फर्किएका नेपालीले नै खोलेको एउटा संस्था छ- प्रवासी नेपाली समन्वय समिति । त्यसले प्रवासबाट श्रम गरेर र्फकनेका समस्यामा बढ्ता काम गर्छ । उक्त संस्थामा २०११ मा १३ वटा दाम्पत्य समस्या दर्ता भए ।
'ती सबै श्रीमतीबाट पीडित भएका समस्या थिए', समितिका अध्यक्ष महेन्द्र पाण्डे भन्छन्, 'र सबै पीडित विदेश गएर दुःख गर्ने छन् ।'
 हेरौं केही फरक प्रकृतिका उदाहरण-
इजरायलमा नेपाली महिला र पुरुषबीच 'लभ' पर्‍यो । उनीहरू एकअर्काबीच बाँच्नै नसक्ने अवस्थामा पुगे । एक वर्षभन्दा लामो समय एकैठाउँ बसे ।

अनि पुरुष घर पुगेर आउँछु भनी हिँड्यो । नेपाल आएर उसले फोन गर्‍यो, 'काठमाडौंमा हाम्रोलागि घर किन्दैछु । पैसा पुगेन, तिमीसँग जेजति छ, पठाऊ ।' बचाएको पैसा ती महिलाले चुपचाप पठाइन् । त्यसपछि ऊ सम्पर्कविहीन भयो ।

परदेशमा जोडेको पति केही महिना खबरविहीन भएपछि ती महिला खोज्दै नेपाल आइन् । अनेक उपायद्वारा घर पत्ता लगाइन् । त्यहाँ पुग्दा त आफ्नो लोग्नेको पहिली श्रीमतीसमेत पो रहिछन् ! लोग्ने भने अर्कै देश गइसकेको रहेछ । उनले परिचय दिइन् । परिवारै आश्चर्यमा पर्‍यो ।

तर उनी आवेशमा आइनन् । चलख्याइँ अपनाइन् । र क्रमशः ससुरालाई आफ्नो पक्षमा पारिन् । पुरानो बुहारीसँग ससुरा सन्तुष्ट रहेनछन् । त्यो मौका प्रयोग गर्दै उनी 'प्यारी' बनिन् ।

संयोगवश त्यो घर ससुराकै नाममा रहेछ । उनले भनिन्, 'बुवा मसँग अरू ५० लाख रुपैयाँ छ । यो घर बेचौं अनि त्यो पैसा थपेर बुवाकै नाममा अर्को राम्रो किनौं । म हजुरको सधैं सेवा गर्नेछु ।'

ससुराबा मख्ख परे । बुहारीको लहैलहैमा घर बेचे र नयाँ किन्न पैसा थमाइदिए । केही दिनपछि थाहा पाए, 'बुहारी'ले आफ्नै नाममा नयाँ बंगला किनिछन् । र त्यहाँ उनले ती ससुरा होइन, आफ्नो पुरानो पति ल्याएर बसिछन् । खासमा उनी पनि पहिल्यै विवाहित रहिछन् । यो घटनामा ठगी मुद्दा चलिरहेको छ । तर 'को ठग' भन्ने छुट्याउनै अप्ठ्यारो छ । किनकि केटाले ठग्न खोज्यो, उल्टै उसको सिंगै परिवार पो ठगियो !

.............

भारतका एक युवा दुबईमा काम गर्थे । फेसबुकमार्फत उनको एक नेपाली युवतीसँग घनिष्ठता बढ्यो । उनलाई ती युवतीले नेपाल भ्रमणका लागि पटक-पटक आग्रह गरिन् । घर विदामा आउँदा उनले नेपाल हुँदै केरला जाने निधो गरे ।

उनले घरमा रहेकी आफ्नी श्रीमतीलाई पनि 'फेसबुक फ्रेन्ड'ले नेपाल बोलाएको र केही दिनका लागि पुगेर आउने जानकारी गराए । उनले निम्ता दिने युवतीको फोन नम्बर पनि श्रीमतीलाई दिए ।

नेपाल आइपुग्नासाथ आफूले नयाँ नम्बर लिएको जानकारी गराउँदै श्रीमतीलाई फोन गरे । भोलिपल्टबाट उनको र उनले सुरुमा नम्बर दिएकी महिला दुवैका मोबाइल स्विच अफ भए । श्रीमतीलाई शंका लाग्यो- मेरो बूढो कुनै ठग महिलाको फन्दामा परेको हुनुपर्छ !

झन्डै दुई साता बित्यो, न ती व्यक्ति घर पुगे, नत कुनै फोनमा सम्पर्क नै हुन सक्यो । उनकी श्रीमतीले श्रीमानको खोजीका लागि कूटनीतिक तवरबाटै पहल गरिन् ।

त्यहाँबाट नेपालमा खबर आएपछि प्रहरीले व्यापक खोजी गर्‍यो । उनी भेट्न आएकी भनिएकी महिलाको 'कल डिटेल' झिकायो । सबैभन्दा बढी फोन भएको नम्बरमा सम्पर्क गर्‍यो । त्यो नम्बर ती महिलाको श्रीमानको रहेछ । प्रहरीले घटना विवरण सुनाइदियो । उनले 'बुझेर खबर गर्ने' भने ।

उनले श्रीमतीलाई सोधेछन् । उनले 'साथी हो, घुम्न आएको छ, एउटा होटलमा बसेको छ'

भनिछन् । ती पुरुषले भोलिपल्ट प्रहरीलाई जानकारी गराउँदै भने, 'ती युवा मेरी श्रीमतीले थाहा पाएको ठाउँमा बसेका रहेछन् । हामी भोलि प्रहरीमा ल्याइदिन्छौं ।'

महिलाले ती युवालाई प्रहरीमा बोलाइदिइन् । 'सामान्य साथी' भनेकाले उनका श्रीमानले पनि सहज रूपमा लिए । खोजीका लागि उतैबाट आएका आफन्तले ती युवालाई जिम्मा लिए । फर्काएर घर लाने बेला उनले भने- 'होटलमा मेरा सामान छन्, लिन जाऊँ ।'

प्रहरीमा पुगेको सिंगो समूह लहैलहैमा होटल गयो । त्यहाँ त ती युवाका सामानमात्र होइन, महिलाका भित्री कपडाहरूसमेत सुकाइएका रहेछन् । जब त्यो देखे, ती महिलाका श्रीमान छाँगाबाट खसेझैं भए । आवेशमा आएर उनी झम्टिन खोजे । तर सबैले सम्झाइ-बुझाइ साम्य

बनाए । भारतका युवा पठाइए, श्रीमान-श्रीमती झगडा गर्दै घरतिर गए । थाहा छैन- त्यसपछि उनीहरूको सम्बन्ध कस्तो भयो होला !

.............

प्रहरी-प्रहरीबीच प्रेम भयो । बिहे पनि गरे । केही वर्षपछि श्रीमतीले भनिन्, 'दुवैजना पुलिस भएर गुजारा चलाउनै गाह्रो हुने भो । बरु तपाईं जागिर छाडेर विदेश जानुस् ।'

'हो त नि', श्रीमान् सहमत भए र श्रीमती र छोरो छोडेर विदेश गए । अलिपछि एकजना साथीले खुसुक्क खबर गर्‍यो, 'तिम्री श्रीमती त अर्कैसँग बसेकी छ ।'

फोन गरे । श्रीमतीले कुरा गर्न चाहिनन् । छोरालाई खोज्दा पनि दिइनन् । प्रस्ट कुरा बुझ्न सालालाई फोन गरे । उनले भने, 'अब दिदीलाई बिर्सिदिनुस्, भिनाजू !'

यस्ता घटना कानुन व्यवसायीको पनि टाउको दुखाइ हुन थालेका छन् । श्रीमान वा श्रीमतीबाट पीडित भएको भनी 'उपचार' खोज्दै आउनेको संख्या निकै बढेको अधिवक्ता तेज रावलको अनुभव छ । 'पहिला-पहिला महिला धेरै आउँथे', उनी सुनाउँछन्, 'अचेल पुरुष ह्वात्तै बढेका छन् ।'

उनीकहाँ आउने पुरुषमध्ये सबैजसोका श्रीमतीले सम्पत्ति उडाएका छन्, मान्छेसमेत बेपत्ता !

जसले परिवारको रेखदेखमा श्रीमती छाडेका हुन्छन्, त्यस्तामा यस्ता घटना अति कम छन् । बढ्ता समस्या सहरमा एक्लै श्रीमती राखेर हिँड्नेमा पाइएका छन् । श्रीमती आफैं पढ्ने वा बालबच्चा पढाउने नाममा डेरामा राख्दा एक्लोपन बढ्ने र कसैले 'मख्ख' बनाउने सम्भावना बढ्ने मनोविश्लेषकहरूको ठम्याइ छ ।

अझ मोबाइल, मोबाइलमै भएको इन्टरनेट, अनेक प्रकृतिका च्याटजस्ता सुविधाले 'अतिरिक्त' सम्बन्ध बनाउन सहयोग पुर्‍याउने गरेका छन् । दुःख गरेको पैसाले श्रीमतीको सुविधा र सानका लागि गरेको व्यवस्था नै त्यस्तो अभिशाप हुँदै गएको छ, जसले दाम्पत्य नै टुक्र्याइदिन्छ ।

को पीडित ?

आफूलाई पत्नीपीडित भन्दै एक व्यक्ति खुलेरै बाहिर आएका छन् । आफ्नो र श्रीमती दुवैको नामै लेखाएर मिडियाहरुमा देखिएका ती व्यक्ति हुन्- शंकर ज्ञवाली । शिक्षक ज्ञवाली भन्छन्, 'मलाई २ घन्टासम्म कोठामा थुनेर पिट्थी । घरमा सधैं पिटाइ खानुपथ्र्यो । कुनै केटीसँग बोलेको देख्यो भने मात्र पनि सार्वजनिक ठाउँमै बेइज्जत गर्थी ।'

उनीहरू दुई वर्षदेखि छुट्टाछुट्टै बसेका छन् । 'त्यसपछि भने मुक्ति मिलेको छ', उनी भन्छन्, 'स्थायी मुक्तिका लागि छोडपत्र गर्न चाहँदा कानुन विभेदपूर्ण रहेछ । महिलाले चाहे सिधै अदालत जान पाउने । पुरुषले चाहे स्थानीय निकायको सिफारिस लानुपर्ने । महानगरपालिकाको वडा धाएको धायै छु, सिफारिस कहिल्यै दिँदैन ।'

उनी निकट भविष्यमा पत्नीपीडित संघ गठन गर्ने तयारीमा छन् । त्यस्तै समस्या भएका अरूलाई गोलबद्ध गर्दै हिँडेका छन् । 

घटनाको वास्तविकता के हो त ? यो प्रतिनिधिले स्वयम् ज्ञवाली, उनकी श्रीमती देवी पौडेल, प्रहरी, सँगै छँदा  बसेका ठाउँमा बासिन्दा, आफन्तलगायत धेरैतिर बुझ्यो ।

ज्ञवाली र पौडेलबीच मागी विवाह भयो । छोरो जन्मियो । सुरुमा सम्बन्ध एकदम राम्रो थियो । ज्ञवालीका फाल्तु महिलासँग सम्बन्ध बढेको श्रीमतीले थाहा पाइन् । एक विवाहित महिलालाई त भेट्टाएर सम्झाइन् पनि रे ।

त्यसपछि सुरु भयो, उनीहरूको दाम्पत्य जीवनमा आगो लाग्न । घर झगडा बढ्दै गयो । देवी कुटाइ खाएर रुँदै घरबेटीकहाँ पुग्थिन् । शंकर भने आफूले पिटाइ खाएको बताउँदै हिँड्थे ।

एकातिर पुरुष, अर्कातिर महिला । त्यसमाथि पनि शंकरभन्दा कम्तीमा २० केजी कम हुनुपर्छ देवी । आश्चर्य यो छ कि शंकर भन्छन्, 'दुई घन्टासम्म थुनेर कुट्थी ।'

'तपाईं चुपचाप थाप्नुहुन्थ्यो त ?' सोध्दा उनी भन्छन्, 'धेरैबेर सहेपछि बाध्य भएर जाइलाग्थेँ ।'

प्रस्तुतिमै शंकर श्रीमतीप्रति अति क्रुद्ध छन् । सकारात्मक कुरा केही गर्दैनन् । भन्छन्, 'कामै नलाग्ने मान्छे । संसारमा त्योभन्दा काम नलाग्ने मान्छे नै छैन भन्ने मलाई लाग्छ ।' त्यो अवस्थामा उनी कुटाइ सहेर बस्थे भन्नु नै अपत्यारिलो छ ।

देवीचाहिँ पतिका धेरै कुरामा प्रशंसा गर्छिन् । 'मन फर्किएर अझै हाम्रो जिन्दगी बने हुन्थ्यो', उनी कामना गर्छिन् । शंकर भने जसरी पनि सम्बन्धविच्छेद गर्न चाहन्छन् । भन्छन्, 'मेरो अन्तिम लक्ष्य सम्बन्धविच्छेद हो । बरु सोधिदिनु होला, उसको के हो ?'

'मेरो लक्ष्य त मिलेर बाँच्ने अवस्था बनाउने हो', देवी भन्छिन्, 'बेइज्जत गरी-गरी सम्बन्धविच्छेद गर्न चाहने हो भनेचाहिँ कुनै हालतमा मेरो मञ्जुरी छैन ।'

उनीहरूको समस्या पटक-पटक प्रहरीमा पुग्यो । प्रहरीले अलग बस्ने हो भने शंकरले महिनाको ८ हजार रुपैयाँ दिनुपर्ने सहमति गराइदियो । त्यो पनि उनले २ महिनाभन्दा दिएनन् । 'हो मैले दिइनँ', उनी भन्छन्, 'म सबैतिरबाट पीडित छु, पैसा दिएर फेरि किन पीडित हुनु ?'

अनुसन्धान गरेका प्रहरीहरू भन्छन्, 'हेर्दा भलाद्मी, यस्तो सरले कसरी श्रीमती पिट्ला भन्ने भ्रममा सबै पर्छन् । तर वास्तविकता फरक रहेछ ।' त्यहीसँग मिल्दोजुल्दो अभिव्यक्ति दिन्छन्, स्वयम् शंकर- 'मजस्तो यति पढेको टिचरले कहीं श्रीमती पिट्ला ?'

अधिवक्ता केशव अर्यालले दायर गरेको एउटा रिटले चर्चा पाएको छ । महिलाले सम्बन्धविच्छेद गर्न चाहे सिधै अदालत जान पाउने, पुरुषले चाहे स्थानीय निकायको सिफारिस चाहिने नियम विभेदपूर्ण छ भन्दै उनी अदालत गएका हुन् । अर्याल ज्ञवालीका घनिष्ट मित्र हुन् । उनका सबै मुद्दा उनैले हेर्छन् । ज्ञवालीले थप रहस्योद्घाटन गर्दै भने, 'मेरै समस्यालाई ध्यान दिएर केशवजी अदालत जानुभएको हो ।'

सुरक्षाकर्मी नै यस्ता

प्रतिमा बाँस्कोटा

उदाहरण- १

सशस्त्रका प्रहरीका डीआईजी रञ्जन कोइरालाले घरमा श्रीमती हुँदाहुँदै प्रेमीका बनाएर हिँडेको सामान्य घर विवादबाट सुरु भएको लडाइँले उनलाई अपराधी

बनायो । श्रीमती गीता ढकालको हत्या अभियोगमा उनी अहिले प्रहरी हिरासतमा छन् ।

उदाहरण- २

एक वर्षअघि नेपाल प्रहरीका डीएसपी कञ्चन थापाले पनि प्रेमिकाकै कारण आत्महत्या गरे । हुन्डीको काम गर्ने खोपकुमारी अधिकारीसँग प्रेम सम्बन्ध राखेका उनले अन्ततः आफ्नै कञ्चटमा गोली हाने । 'राम्रा' मानिने उनले अन्ततः प्रेमिकाको फन्दामा आफैंलाई बचाउन सकेनन् ।

उदाहरण- ३

नेपाली सेनाको क्याभलरी गणमा कार्यरत एक सैनिकले साथीको सहयोग लिएर श्रीमतीको हत्या गरे । नुवाकोटामा कान्छी श्रीमती राखेका सैनिक भरत खत्रीले जेठी श्रीमती मेनुकाको वास्त्ौ गर्न छाडे । मेनुकाले आधा तलब माग गर्दै क्याभलरीमा उजुरी हालिन् । त्यसैको रिसमा उनले २०६८ वैशाखमा ज्यानै लिए ।

उदाहरण- ४

प्रहरी हवल्दार छमा भुसाल नेपाल प्रहरीको कालिमाटी महिला सेलमा काम गर्छिन् । उनी आफैं घरेलु हिंसाको सिकार बनेकी छन् । ९ वर्षअघि उनले आफ्नै संगठनमा काम गर्ने जितेन्द्र थापासँग प्रेमविवाह गरेकी थिइन् । हवल्दार भुसाल र सई थापाको ८ वषर्ीय छोरी छिन् । बच्चा पेटमा आएदेखि थापाले उनीसँगको व्यवहार पूरै परिवर्तन गरे । डेरामा आउन छाडे । बाहिर अर्की राखे । आउँदा पनि सधैं कुटपिट गर्थे । त्यही क्रममा उनी ३ वर्षअघि विदेश मिसनमा गइन् । फर्किएपछि थापा नजिक आउन थाले । मिसनबाट ल्याएको रकमले मातातीर्थमा घर बनाइन् । श्रीमानलाई खुसी पार्न उनले

घर दुईजनाको नाममा गराइन् । त्यसपछि पनि सम्बन्ध सुधार भएन ।

रातदिन मार्ने र काट्ने धम्कीमात्र आउन थालेपछि उनी न्यायको खोजी गर्दै हिँडिरहेकी छन् । श्रीमानको ज्यादतीबारे प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहलाई भेटिन् । शाहले 'युएन शाखाका एसपीलाई भेट्नु, तिमीले जे चाहन्छौ, त्यही गराइदिन्छु' भने । उनले युएन शाखाका एसपी राजेन्द्रमान श्रेष्ठलाई भेटिन् । तर उनले न्यायभन्दा बढी अपमान सहेर निस्किन् । 'तेरो श्रीमान अर्की केटीसँग बस्यो भने तँलाई के भो त बस्न दे' भन्दै पठाए । एकछिनमा त्यहाँ पुगेका जितेन्द्रले एसपी श्रेष्ठकै अघि उनलाई एक झापड हाने । एसपी मौन बसे ।

युएन शाखामा काम गर्ने थापा एक साताभित्रै युएन मिसनमा जाँदैछन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाभित्र बहुविवाहका धेरै उजुरी पर्ने गरेका छन् । कहिले जेठीले त कहिले कान्छीले उजुरी गरिरहेका हुन्छन् । तर तिनलाई गम्भीरतापूर्वक नलिएको देखिन्छ । डीआईजी रञ्जनले श्रीमतीमाथि गर्ने गरेको अत्याचारबारे उनको संगठन र तत्कालीन प्रमुख जानकार थिए ।

२०६७ पुस १२ गते पत्नी गीताले महानिरीक्षक सनत बस्नेतलाई भेटेर श्रीमानको ज्यादतीबारे अवगत गराएकी थिइन् । बस्नेतले आफ्ना अधिकृतमाथि केही शंका गरेर अनुसन्धान गरिदिएको भए यो स्थिति नआउन सक्थ्यो ।

प्रहरी निरीक्षक श्यामप्रताप सेनका २ वटी श्रीमती छन् । श्रीमती शर्मिला हुँदाहुँदै उनले रञ्जु भण्डारीसँग दोस्रो बिहे गरे । जेठीले खान-लाउन नदिएको भन्दै प्रहरीमा उजुरी दिएपछि तलब ३ भागमा बाँड्ने गरिएको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार डीएसपीदेखि परिचरसम्म बहुविवाह गरेको, खान-लाउन नदिएको र घरेलु हिंसा गरेको जस्ता मुद्दा पर्ने गरेका छन् । त्यसमा न्याय पाउने भनेको तलब भागबन्डामात्र हो । दोस्रो विवाह गरेको प्रमाणित हुँदा पनि बहुविवाहमा कारबाही हुँदैन । विभागीय कारबाहीसम्म पनि हुँदैन ।

नेपाल प्रहरीको महिला बालबालिका निर्देशनालय प्रमुख डीआईजी विमला थापा शर्मा यस्ता उजुरी गर्न आउने महिला आफैं बहुविवाहको उजुरी गर्न नमान्ने बताउँछिन् । 'त्यस्ता उजुरी दिएर बहुविवाहमा अदालतमा मुद्दा चलाउँदा जागिर जान्छ, हामी बहुविवाह प्रमाणित हुनेलाई अदालत जान सल्लाह दिन्छौं', उनले कान्तिपुरसँग भनिन्, 'तर लोग्नेको जागिर जाँदा खाना खानै नपाउने स्थिति भएपछि उनीहरू कागज गरेर आधा तलब लिने गर्छन् ।'

प्रहरीले उजुरी परेपछि दुवै पक्षलाई बोलाउने गर्छ । छलफलका क्रममा धेरै प्रहरीले बहुविवाहको उजुरीलाई मान्न तयार नहुने गरेको प्रहरीले जनाएको छ । 'हामीले प्रमाण पेस गरेपछि मात्र उनीहरू मान्न तयार हुन्छन्', डीआईजी शर्माले भनिन्, 'धेरैजसो मुद्दामा तलब आधा गरेर जाने गर्छन् ।' प्रहरी विरुद्ध धेरैजसो घरेलु हिंसा र बहुविवाहका उजुरी पर्ने गरेका छन् ।

प्रहरीमा यस्ता उजुरी ८ सय ८६ परेका छन् । ती त विवाद नमिलेर बाहिर आएका मात्र हुन् । बहुविवाह भएर पनि मिलाएर राखेका यस्ता धेरै घटना छन् । दाङका एसपी गणेश ऐरका दुई श्रीमती छन् । तर उनले दुवै जनालाई दुई तलामा मिलाएर राखेका छन् ।

नेपाली सेना पनि बहुविवाहको संक्रमणबाट अछुतो छैन । सेनाको प्राड विभागले यस्ता किसिमका उजुरीमाथि छानबिन गर्ने सैनिक प्रवक्ता सहायक रथि रमिन्द्र क्षत्रीले बताए । त्यहाँ बहुविवाह, घरेलु हिंसासम्बन्धी मुद्दा पर्ने गरेका छन् । त्यसमा दुई पक्षलाई बोलाएर छलफल गराउने गरिएको छ । 'बहुविवाह प्रमाणित भएको खण्डमा जेठी वा कान्छी जसले उजुरी गर्‍या हो, त्यसलाई भरणपोषणको व्यवस्था गरिन्छ', क्षेत्रीले भने । तर सेनामा बहुविवाहसँग सम्बन्धित भनेर छुट्टै तथ्यांक राखिएको छैन । अझ क्षेत्रीय पृतनाहरूले पनि यस्ता मुद्दा हेर्दै आएका छन् । सशस्त्र प्रहरीमा पनि यस्ता हिंसासम्बन्धी तथ्याङ्क राखिएको छैन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out