प्रचण्ड 'प्रालि' को सम्पत्ति खोज्दै लडाकु

माओवादी सेनाका लडाकुहरूले अध्यक्ष प्रचण्डसँग ५ अर्बभन्दा बढीको हिसाबकिताब मागे भने के होला? केही महिनाअघि धेरैले यस्तो प्रश्न गर्दा एमाओवादी नेताहरू त्यसलाई असम्भव भन्थे। तर अब यो प्रश्न प्रचण्डले नियुक्त गरेका माओवादी जनमुक्ति सेनाका डिभिजन कमाण्डहरूमाथि तेर्सिइसकेको छ। यसको जवाफ जनमुक्ति सेनाका प्रमुख कमाण्डर पासाङले समेत दिन नसक्ने एमाओवादी नेताहरू नै बताउँछन्। लडाकुको नाममा लुट मच्चाउने एमाओवादी सेनाका लडाकु कमाण्डर र अध्यक्ष प्रचण्डको समेत सम्पत्ति छानबिन हुनुपर्ने माग माओवादी पंक्तिबाटै उठेको छ।
माओवादीले आजकै दिन अर्थात् २०५२ फागुन १ गते जनयुद्धको औपचारिक शुरुवात गर्दाका सपनाहरू अब पार्टीका शीर्षतहका नेताहरूका लागि समेत फगत भ्रममात्र रहेछन् भन्ने स्पष्ट भइसकेको छ। बरु दश वर्षे जनयुद्धको साँवा–ब्याज दुवै प्रचण्ड र उनको वरिपरिका हनुमानहरूले असुल उपर गर्न थालेपछि माओवादीमा नयाँ प्रकारको विद्रोहको सम्भावना बढेको छ। विचारको लडाइँ नसकिदै पार्टीभित्र आर्थिक शुद्धिकरणको अभियान जोडदार अघि बढाउनुपर्ने माग पार्टीको तल्लो पंक्तिबाट क्रान्तिकारी विचार समूहका नेताहरू समक्ष दवावका रुपमा आइरहेको छ। पहिलो चरणमा अध्यक्ष प्रचण्ड र प्रचण्डको आडमा लुट मच्चाउने जनमुक्ति सेनाका सात डिभिजन कमाण्डर, प्रमुख कमाण्डर र डेपुटी कमाण्डहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग जोडदार रुपमा उठेको छ।

प्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री र जनमुक्ति सेनाका पूर्व इन्चार्ज एवं डेपुटी कमाण्डर वर्षमान पुन अर्थमन्त्री बनेकै बेला हाल गठन भएको सम्पत्ति शुद्धिकरण विभागमा समेत प्रचण्ड र ती कमाण्डहरू तथा तीनका आफन्त र निकटवर्तीहरूको नामै किटेर सम्पत्ति छानबिनको उजुरी दिने तयारी भइरहेको माओवादी सम्बद्ध स्रोतले जनाएको छ। तर प्रचण्डको अवैध सम्पत्तिका प्रमुख संरक्षक मानिएका वर्षमान पुनले यो काम हुन दिन्छन् भन्नेमा भने धेरैले आशंका व्यक्त गरेका छन्। माओवादी पार्टीको अध्यक्ष र कोषाध्यक्ष दुवै जिम्मेवारी बहन गरिरहेका प्रचण्डले अहिलेसम्म पार्टीको हरहिसाब कुनै कमिटीलाई देखाएका छैनन्। लडाकुको नाममा राज्यबाट गएको अबर्ौं रुपैयाँको न हिसाबकिताब भएको छ, न त लेखापरीक्षण नै। यो भन्दा ठूलो भ्रष्टाचार दुनियाँमा कतै नहुने भन्दै एमाओवादीकै नेता अमिक शेरचनले समेत छानबिनको माग पार्टी बैठकमै गरेका छन्। 'यति ठूलो पार्टीको आर्थिक हरहिसाब केही छैन। कसले कहाँ पैसा चलाएको छ, केही पनि थाहा छैन। पार्टीको आर्थिक विभाग पनि देखिंदैन, कोषाध्यक्ष पनि छैन। यस्तो बेथिति किन भनेर मैले प्रश्न उठाएको हो' शेरचनले भने।

एमाओवादी अध्यक्ष प्रचण्डले केही समयअघि कांग्रेस नेताहरूसँगको जमघटमा आफूलाई पार्टीका उपाध्यक्षहरू र महासचिव मिलेर सिध्याउन लागेका बेला लडाकुले बचाएको खुलासा गरेका थिए। 'शिविरका लडाकु नभएको भए त मलाई साथीहरूले पार्टीबाट सिध्याइसकेका थिए, धन्न लडाकु मेरो पक्षमा भएकाले म जोगिएँ' प्रचण्डको यो भनाइ अहिले आएर पुष्टि भएको छ। प्रचण्डलाई बचाए बापत एकजना डिभिजन कमाण्डरले कम्तीमा १० करोड रुपैयाँ कमाएको खुलासा समेत भएको छ। अहिले डिभिजनका सहकमाण्डर तहका नेताहरूले नै शिविरभित्र करोडमा होइन अर्बमा भ्रष्टाचार भएको खुलासा गरिसकेका छन्। राज्यको कोषमा भएको यो ब्रम्हलुटबारे अहिलेसम्म न त अख्तियारले आँखा लगाएको छ, न त राष्ट्रिय सतर्कता केन्द्रले। 'शिविरमा भएको यो लुटको अख्तियारले छानबिन गर्नुपर्छ' लडाकुका डिभिजन सहकमाण्डर दुर्गा चौधरीले भने 'हामीसँग प्रमाणहरू छन्। लहरो तान्दा पहरो गर्जिन्छ भनेर चुपचाप बस्ने अवस्था छैन।'

यसअघि हँुदै नभएका लडाकुका नाममा राज्यबाट निकास भएको २ अर्ब रुपैयाँ भन्दा बढी रकम प्रचण्ड र प्रचण्डका निकट कमाण्डरहरूले कुम्ल्याएको आशंका पुष्टि भएपछि मोहन वैद्य र बाबुराम भट्टराई पक्षले संयुक्तरुपमै हिसाबकिताब मागेको थियो। सभासदहरूबाट उठाएको १० करोड रुपैयाँ प्रचण्डले गायब पारेको कुरा त यसअघि नै पुष्टि भइसकेको थियो। पुनवर्गीकरणका क्रममा करीव ३ हजार लडाकु गायव भएपछि उनीहरूको नाममा नियमित गइरहेको रकम क–कसले खाए भन्ने विवरण अब राज्यका निकायले खोज्नुपर्ने एमाओवादी पोलिटव्यूरो सदस्य एवं लडाकुका पूर्व कमाण्डर कुलप्रसाद केसी बताउँछन्। ३ हजार लडाकु गायव भएको भन्दा पनि करीव एक अर्ब रुपैयाँ कसको खल्तीमा गयो भन्ने कुरा अब माओवादीको मात्र विषय बनेन। २ अर्बको हिसाब अहिलेसम्म प्रचण्ड, पासाङ, बलदेव र सात डिभिजन कमाण्डरले दिन नसकेका बेला अहिले चेक लुटपाट काण्ड थपिएको छ।

'जीवन दाउमा लगाएर माओवादीको आह्वानमा युद्धमैदानमा खटिएका लडाकुले राज्यबाट पाउने केही लाख रुपैयाँमा समेत र्‍याल काढ्ने प्रचण्ड समूहले राज्यकोषमा कसरी ब्रम्हलुट मच्चायो, यो ५ वर्षमा घाम जत्तिकै छर्लङ्ग बनेको छ' माओवादी लडाकुको ३ नम्बर डिभिजनकी बटालियन कमाण्डर आस्था भन्छिन् 'हामीले हिसाब किताब खोज्दा शिविरभित्रै आक्रमण भयो, ज्यान जोगाउन हामी अहिले भागीभागी हिडेका छौं। साथीहरू शिविरभित्र बन्दी अवस्थामा छन्। लुटिएका चेक फिर्ता भएका छैनन्।' लडाकुहरूबाट मासिक रुपमा उठाउने गरेको ६ करोड रुपैयाँको पनि खोजी भइरहेको छ। अस्मिताका अनुसार, नक्कली लडाकुको नाममा गएको २ अर्ब, लडाकुबाट उठाएको लेबी र कल्याणकोषको रकमका साथै अन्य शीर्षकबाट गएको समेत गर्दा ५ अर्बको हाराहारीमा भ्रष्टाचार भएको छ। कमाण्डरहरूले राजधानी लगायत देशका प्रमुख शहरहरूमा घर–घडेरी किनेर आफन्तको नाममा राखेको प्रमाण पनि असन्तुष्ट लडाकुहरूले खोजिरहेका छन्।

माओवादी लडाकुका प्रमुख कमाण्डर नन्दकिशोर पुन पासाङ, डेपुटी कमाण्डर चन्द्रप्रसाद खनाल बलदेव र सातवटै डिभिजनका कमाण्डर अध्यक्ष प्रचण्डका बफादार मानिन्छन्। उनीहरूको यो बफादारी पैसाकै लागि रहेको अहिले आएर पुष्टि भएको एमाओवादी नेताहरू बताउँछन्। प्रचण्डले लडाकुहरूलाई चेन अफ कमाण्डबाट आफ्नो पक्षमा पार्ने जिम्मा दिएर लडाकु कमाण्डहरूलाई जति सक्छौं लुट भनेर छुट दिएको एमाओवादी निकट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले हालै एक जमघटमा बताएका थिए। पैसाकै कारण कुनै बेला बाबुराम निकटस्थ मानिने चन्द्रप्रसाद खनाल बलदेव र रामवहादुर थापा बादल निकट मानिने धनबहादुर मास्की राजेश जस्ता कमाण्डहरू समेत प्रचण्डको पछि लागेको माओवादी नेताहरू बताउँछन्। अहिले माओवादीका डिभिजन कमाण्डरहरू यमबहादुर अधिकारी प्रतिक्षा, सुकबहादुर रोका, महेन्द्रबहादुर शाही, धनबहादुर मास्की, तेजप्रकाश ओली जस्ता डिभिजन कमाण्डहरूले कम्तीमा १० करोड कमाएको उनीहरूसँगै काम गरेका कमाण्डहरूले 'सप्रमाण छ' भन्ने दावी गरिरहेका छन्।

लडाकुहरूका लागि गएको तलब भत्ता र राशन खर्चबाट प्रतिव्यक्ति मासिक ३ हजार रुपैयाँ कटाएकोमा सो रकम शिविरको व्यवस्थापनका नाममा कमाण्डर र उनीहरूका नजिकका कमाण्डरले खल्तीमा हालेको लडाकुहरूको आरोप छ। सात प्रमुख शिविरहरूका लडाकुबाट मासिक करीव ६ करोड रुपैयाँ उठ्ने् गरेकोमा सोको हिसाब किताब न त माओवादी कार्यालयमा छ, न त शिविर व्यवस्थापन कार्यालयमै। सो रकम कमाण्डरहरूले नै खल्तीमा हालेको र उनीहरूलाई प्रचण्डले आफ्नो पक्षमा लाग्ने शर्तमा छुट दिएको आरोप बाबुराम पक्षधर नेताहरूले समेत लगाएका छन्। अर्कोतर्फ गायव भएका ३ हजार लडाकुको समेत हिसाब गर्दा प्रचण्ड संरक्षणमा कमाण्डरहरूले लडाकुको नाममा निकास भएको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आशंका छ। यस विषयलाई मोहन वैद्य पक्षले कसरी उठाउँछ भनेर सबैले प्रतिक्षा गरिरहेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out