खुला फिल्ममा भूमिगत लगानी

अधिकांश नेपाली फिल्म निर्माता व्यवसायका लागि भन्दा आफ्ना रहर मेट्न र गैरकानुनी आर्जनलाई कानुनी बनाउन फिल्म बनाउने धन्दामा छन्। विगत २५/३० वर्षदेखि शिशु उद्योगका नाममा सरकारसँग विभिन्न सहुलियतको माग गर्दै आएको फिल्म संसार बेवारिसे अवस्थामै छ। कतै नेपाली फिल्म हुर्किनै नपाई अवैध कब्जामा जाने त होइन? डर पलाएको छ।
नेपाली फिल्ममा ढुक्कै जोवन र जीवन बिताएका राजेश हमालजस्ता अभिनेता भन्छन्, 'फिल्मको व्यावसायिक संसारभित्र चियाएर हेरेको छैन मैले। फिल्म संसारमा विभिन्न चरित्रका मानिस संलग्न छन्। जापानको युजुमासामा याकुजा, अमेरिकाको हलिउडमा माफिया र भारतको बलिउडमा 'भाइ'हरूको संलग्नता रहेको सुनिँदै आएको छ। नेपाली फिल्ममा यो रोग पसेको छ कि छैन? पसेको छ भने यो राम्रो हैन।'
यसपटक फिल्मभित्रको लगानीका विकृतिको स्केल नाप्न खोज्दैछौँ हामी। धनबहादुर खड्का र सुकृत नेपालको विवरण :
डनदेखि ससुरासम्मका पैसा
नेपाली फिल्ममा संकटकाल लगाउने गफले बजार पिटेका बेला सानो लगानीमा बनेको फिल्म 'लुट'ले मनग्य आम्दानी गरेर यो गफलाई केही समयका लागि थान्को लगाएको छ। तर, 'लुट' बाहेक यो सिजनमा रिलिज भएका कुनै पनि फिल्मले लगानी उठाउन सकेका छैनन्। अघिल्लो वर्ष रिलिज भएका ६५ फिल्ममध्ये मात्र दुई फिल्मले लगानी उठाए। विगत केही वर्षदेखि नेपाली फिल्मको बजार निरन्तर ओरालो लागेको छ, तर फिल्म निर्माण गर्ने क्रमभने बढेको छ। अहिले हप्तामा औसत एउटा फिल्म निर्माणको घोषणा भइरहेको छ। बनेका फिल्म एकपछि अर्को गरी असफल भइरहने तर निर्माणभने नघट्ने, यो अनौठो बजारशास्त्रमा कसरी टिकेको छ नेपाली सिने उद्योग? सबैको मनमा उब्जने प्रश्न हो यो।
एउटा फिल्म बनाउन कम्तीमा ४० लाख रुपैयाँ लाग्छ। यति रकम खर्च गरेर प्रतिफल आउने अन्य कुनै व्यापार-व्यवसाय पनि गर्न सकिन्छ। तर, चुर्लुम्म डुब्छ भन्ने थाहा पाउँदापाउँदै पनि किन निर्माताहरू फिल्ममा पैसा खन्याइरहेका छन्? यसमा पक्कै पनि केही स्वार्थ लुकेको छ। यही स्वार्थी खेलले सिनेमा उद्योगको व्यावसायिकता मरेको छ।
डन लगानीकर्ता
फिल्ममा लगानी कहाँबाट आउँछ? यो प्रश्नको उत्तर पाउन सजिलो छैन। बेरोजगार निर्देशकले जुन बेला 'मुर्गा' भेट्टाउँछ, त्यति नै बेला फिल्म निर्माण हुने पक्कापक्की हुन्छ। संगठित रूपमा फिल्ममा लगानी गर्छु भनेर आएका व्यवसायी निकै कम छन्।
जति बेला वर्षमा एक दुइटा फिल्म बन्थे, त्यति बेलाका निर्माता, निर्देशक अहिलेभन्दा व्यावसायिक हुन्थे। तर, अहिले माफिया, डन, एनआरएन, लाहुरे, दलाल र कालो धन चोख्याउन चाहनेहरू फिल्म निर्माता भएका छन्। यसबाहेक फिल्ममा निर्माता-निर्देशक र हिरो-हिरोइनका आफन्त र ससुराली-माइतीले पनि लगानी गर्न थालेका छन्। फिल्मको पोस्टरमा आफ्नो नाम नराख्ने र ब्याज पनि तिर्नु नपर्ने गरी उनीहरू फिल्ममा लगानी गरिरहेका छन्। रगतपसिना खर्चेर कमाएको दुईचार पैसा बैंकमा जम्मा गर्दा स्रोत खोज्ने सरकारले फिल्म निर्माणको नाममा हुने करोडौँको चलखेलका बारेमा भने कुनै चासो देखाउने गरेको छैन।
नेपाली फिल्मी उद्योगमा यस्ता थुप्रै पात्र छन्, जसको एकमात्र उद्देश्य पर्दामा भविष्यमा चम्काउन खोज्नेहरूलाई फसाउनुमा नै केन्द्रित छ। कतिपय लगानीकर्ता गलत बाटोबाट आर्जन गरेको पैसाले फिल्म बनाएर आफूलाई स्टार बनाउने धुनमा लागेका छन्। यस्तै निर्मातामा पर्छन् दाङका सरोज थापा (रोज राणा)। सधैँ विवादमा परिरहने उनी प्रायः निर्देशक मदन घिमिरेसँग मिलेर फिल्म बनाउँछन्। उनले निर्माण गरेका फिल्ममा धेरैजसो राजधानी र राजधानीबाहिरका दादाहरूको लगानी हुने फिल्मकर्मीहरूबीच नै चर्चा हुन्छ। 'दादागिरी', 'खलनायक', 'म छु नि तिम्रो' फिल्म निर्माणमा उनले दिनेश अधिकारी (चरी) लगायत अन्य कुख्यात डनहरूको पैसा लगाएको दाबी स्रोतको छ।
चेलीबेटी बेचबिखन काण्डमा मुछिएर जेल परेका राणा जेलबाट छुटेपछि फेरि फिल्म निर्माणमै फर्केका छन्। बागबजारमा डान्स रेस्टुरेन्ट चलाउँदै आएका रोजले केटीहरूलाई निर्वस्त्र नचाउने गरेका कारण पटक-पटक प्रहरीको कारबाहीमा पर्ने गरेका थिए।
राणा जेलभित्र हुँदा उनको संगत विभिन्न अपराधमा जेल परेका डनहरूसँग भयो र उनले उनीहरूकै लगानीमा फिल्म बनाउन योजना जेलभित्रै बनाए। जेलबाट छुट्नेबित्तिकै उनले 'ग्याङस्टार' नामक फिल्म बनाउने घोषणा गरिसकेका छन्।
रोजको फिल्म निर्देशन गर्दै आएका निर्देशक मदन घिमिरे भन्छन्, 'फिल्ममा जसको लगानी भए पनि हाम्रो काम त फिल्म निर्देशन गर्ने र दर्शकलाई कसरी राम्रो फिल्म दिन सकिन्छ भन्ने हो। पैसा कहाँबाट आउँछ? कसले दिन्छ? हामीलाई मतलब हुने विषय होइन। रोज राणाको बारेमा मेरो केही भन्नु छैन। मलाई यतिमात्र थाहा छ- रोज राम्रा निर्माता हुन्।'
यसैगरी निर्माता संघका अध्यक्ष राजकुमार राईले निर्माण गरेका फिल्म 'संग्राम', 'त्रिवेणी', 'पापी मान्छे' र पापी मान्छेको सिक्वेलमा उनले गरेको लगानीको स्रोत पनि रोज राणाको जस्तै अज्ञात र विवादास्पद छ। 'शहर' र 'एके फोर्टी सेभेन'का नायक विशाल विष्ट पनि यस्तै निर्माताको श्रेणीमा पर्छन्। उनी आफू नायक हुन्छन् र निर्मातामा आफन्तको नाम राख्छन्।
आफ्नै लगानी, आफैँ हिरो
नायक बन्न पाए आफूले लगानी गरेको फिल्म चलोस् वा नचलोस्, बाल मतलब! भन्नेहरूले पनि अहिले नेपाली फिल्ममा पैसा खन्याइरहेका छन। यस्ता हिरोको संख्या दुई दर्जन नाघेको छ। यो वर्ष पनि नेपाल प्रहरीमा जागीरे बालनरसिंह राणा (बिएस राणा), प्रभाकर श्रेष्ठ आदि पैसा हालेर हिरोको पगरी गुथ्न सफल भएका छन्। गायन क्षेत्रमा जमेका यशकुमारले फिल्म 'बाटोमुनिको फूल'मा आफैँले लगानी गरेर हिरो बने। नायक नबल खड्काले पनि आफैँ लगानी गर्दै 'नायक'को उपमा कायम राखेका छन्। उनले 'माया बसेछ', 'आवाज' र 'दशगजा' बनाएका छन्। यी सबैमा मुख्य भूमिकामा उनी नै छन्। उनको पछिल्लो फिल्म माओवादी पार्टीका केही नेताको आशीर्वादबाट बनेको बताइन्छ। अघिल्लो साल फिल्म 'कहाँ छौ कहाँ'मा गोविन्द शाही(यातायात व्यवसायी), 'गोर्खा रक्षक'मा सनी बी केसी (एनआरएन), 'बेरोजगार'मा डिआर विश्व(सुन व्यवसायी), 'छाया'मा हरि पाठक, 'सिलसिला'मा राज तिमिल्सेना, 'इलाका'मा पवन बस्नेत आफ्नै लगानीमा नायक बने।
पुराना नायक सुधांसु जोशीले साथी निर्मल शर्माको समेत आर्थिक सहयोगमा 'नेपाल' नाम राखेर फिल्म बनाए। विराज भट्ट र रमित ढुंगाना पनि पैसा हालेर नायकका रूपमा उदाएका हुन्। नायक विराज भट्टले आफ्नो पहिलो फिल्म 'अग्निपथ'मा पैसा हालेका थिए भने रमित ढुंगानाले 'माया नमार×'मा।
यसैगरी नायक वीरेन श्रेष्ठ पनि 'नाम के हो?' र 'समर्पण'मा गोप्य रूपमा लगानी गरेर नायक भएका थिए। त्यसपछि भने उनले प्रत्यक्ष रूपमा 'मिस्टर मंगले' र 'मनले मनलाई छुन्छ' मा लगानी गरे। निर्देशक आकाश अधिकारी पनि आफैँले लगानी गरेका फिल्म 'पंक्षी', 'क्रोध' र 'काठमाडौँ'मा नायक बनेका छन्। उनको लगानीका स्रोत एनआरएन भएको बताइन्छ। तर, फिल्मका निर्माता-निर्देशक अधिकारी भने एनआरएनको लगानी रहेको ठाडै नकार्छन्। उनी भन्छन्, 'म विदेशमा बसेर आएको मान्छेलाई अरूको लगानीमा किन फिल्म निर्माण गर्नुपर्छ र?' अधिकारीले जति नै ठूलो स्वरमा आफैँले कमाएको पैसाले फिल्म बनाएको बताए पनि उनी इटालियन श्रीमतीको पैसामा हिरो भइरहेको तथ्य कसैबाट छिपेको छैन।
राजेश ढुंगाना फिल्म 'जीवनदाता', 'मैदान' र 'आँधीतुफान'मा पैसा हालेर हिरो भए। 'विषालु' र 'हाउडे'का ईश्वर थापा, 'अविरल बग्दछ इन्द्रावती'का उपेन्द्र तिमिल्सेना, 'पागलपन'का निर्मल घिमिरे, 'जीवनसाथी'का नवीन श्रेष्ठ पनि आफैँले लगानी गरेर हिरो भएका हुन्।
फिल्म 'प्लान'मा नायक धु्रव न्यौपानेले लगानी पनि गरेका छन्। नयाँ बानेश्वरस्थित रोजमेरी बेकरी क्याफेका मालिक न्यौपानेले फिल्म 'प्लान'मा सोही व्यवसायबाट आएको पैसा फिल्ममा हालेका हुन्। उनी भने फिल्ममा लगानी गरेको कुरा अस्वीकार गर्छन्। 'हो, मेरो नयाँ बानेश्वरमा क्याफे छ। तर, मैले फिल्ममा लगानी भने गरेको छैन,' उनको प्रष्टोक्ति छ।
नायिका खोज्दा 'फ्रेस हो?', अनि नायक खोज्दा 'कति पैसा हाल्छ?' भन्ने शब्दावली निर्माता-निर्देशकको मुखमै झुन्डिएकाले पछिल्लो समय आएका धेरै नायकले लगानी पनि गर्नुपरेको छ भन्ने स्पष्ट हुन्छ।
एनआरएनको लगानी
एनआरएनले पनि फिल्ममा लगानी गर्न थालेका भए पनि औपचारिक रूपमा उनीहरू बाहिर देखिँदैनन्। केही वर्षअगाडि प्रदर्शित फिल्म 'फिलिम'मा हाल एनआरएनका अध्यक्ष जीवा लामिछानेले अघोषित रूपमा लगानी गरेका थिए। छाया निर्माता भएकै हैसियतले पनि अध्यक्षमा निर्वाचित हुँदा उनले चलचित्र निर्माता संघको सम्मान ग्रहण गरे। स्रोतका अनुसार, रेश मरहठ्ठाको फिल्म 'च्यालेन्ज'मा पनि एनआरएनका केही सदस्यको अघोषित लगानी रहेको छ। फिल्म निर्माणमा लगानी गरेकी एनआरएन कुश्मा बुढाथोकीको नाम फिल्म 'मस्ती'को पोस्टरमा निर्माताका रूपमा उल्लेख छ भने अघोषित रुपमा लगानी गरेको 'च्यालेन्ज'मा भने उनको नाम उल्लेख गरिएको छैन।
माओवादी पनि पछि परेन
खुला राजनीतिमा प्रवेश गरेपछि फिल्ममा माओवादीले समेत लगानी गर्न थालेको छ। जनसमुदायमा फिल्मको प्रभावकारिता राम्रैसँग बुझेको माओवादीले १० वर्षे जनयुद्धको औचित्य साबित गर्न र मूलधारको राजनीतिमा स्थापित हुन फिल्मको प्रयोग गरेको हो। यद्यपि, माओवादी प्रत्यक्ष रूपमा फिल्म निर्माणमा संलग्न नदेखिए पनि शिवजी लामिछाने निर्देशित फिल्म 'जलजला' र बिमल पौडेल निर्देशित फिल्म 'जनयुद्ध'मा माओवादीले लगानी गरेको विश्वस्त सुत्रले बताएको छ। त्यसैगरी 'लालसलाम', 'शहीद', 'छापामार', 'आवाज' लगायत फिल्ममा माओवादी र माओवादी समर्थितहरूको लगानी रहेको छ।
ससुरालीको पैसामा निर्माता
फिल्म डुबे पनि आफन्त र ससुरालीका पैसामा निर्माताका रूपमा मोजमस्ती गर्ने प्रचलन उत्तिकै बढ्दो छ। तर, निर्माताका रूपमा नाम राखिसकेपछि आफ्नो इज्जत घट्ने भएकाले उनीहरू ससुरालीको लगानी रहेको स्विकार्न तयार हुँदैनन्। नग्न पोस्टरको पब्लिसिटी फन्डाबाट रिलिज हुनुपहिले नै पर्याप्त चर्चा पाउन सफल फिल्म 'चपली हाइट'मा अर्जुनकुमार निर्माता रहेको बताइए पनि खासमा उनको ससुरालीले फिल्ममा लगानी गरेको छ। यसैगरी ससुरालीको लगानी रहेको फिल्ममा निर्माता-निर्देशक वसन्त निरौलाको 'विजय पथ' पनि पर्छ। छायांकन कार्य तत्कालीन युनिटी ग्रुपले सकाए पनि पछि त्यो बन्द भएपछि बाँकी लगानीको जोहो उनका ससुरालीले गरेका हुन्। आफ्नो छोरीले डेब्यु गरेको फिल्म भएकाले पनि नवनायिका पवित्रा आचार्यको माइती पक्ष लगानी गर्न राजी भएको हो। निर्देशक निरौला भने ससुरालीको लगानी रहेको अस्वीकार गर्दे भन्छन्, 'मेरो प्रोडक्सन हाउसका क्यामरालगायत सामानको भाडाको रकमले म फिल्म निर्माण गर्छु।'
मुर्गा फसाउनेहरूको नाइके
नेपाली फिल्मको प्रचलित लगानी स्रोत 'मुर्गा' फसाउनेको नाइके मानिन्छ, निर्देशक शोभित बस्नेतलाई। प्रायः फिल्ममा उनी धेरैजनालाई पैसा हाल्न लगाएर निर्मातामा आफ्नोमात्रै नाम राख्छन्। केही महिनाअघिमात्रै निर्माण सकिएको फिल्म 'वरदान' र 'प्लान'मा उनले दुई खालका लगा
नीकर्तालाई मुर्गा बनाए। फिल्ममा पैसा हालेपछि मालामाल भइन्छ भन्दै फसाइएकी काठमाडौँ मलस्थित एउटा पार्टी प्यालेसकी सञ्चालिका समेत रहेकी कविता श्रेष्ठसँग अहिले बोलचालसमेत छैन। कलाकारलाई दिन भनेर दिएको पैसासमेत शोभितले हजम गरेपछि उनीहरूको बागबजारस्थित सिनेजोनमा केही समयअघि झगडासमेत भएको थियो। सबैभन्दा धेरै फिल्म निर्देशन गरेका र छोटो समयमा फिल्म सकाउने निर्देशकका रूपमा चिनिएका उनले सोही दुई फिल्ममा नायिका रेजिना उप्रेती र नायक ध्रुव न्यौपानेलाई पनि फसाएका थिए।
यति मात्रै कहाँ हो र? उनले फिल्म 'चिनो'मा एउटा रोल दिएर पोखराका भीम गुरुङबाट चार लाख रुपैयाँ ऋणका रूपमा लिएर हजम गरेका थिए। अहिले यी दुईबीच बोलचालसमेत छैन। यसैगरी फिल्म 'कन्यादान'मा नयाँ हिरोबाट चार लाख, 'दुलही रानी'मा डिके शर्माबाट रोल दिएबापत सात लाख लिएको बताइन्छ। उनले निर्देशन गर्ने प्रत्येक फिल्ममा नयाँ कलाकार आउँछन् र उनीहरूले पैसा हालेकै हुन्छन्।
निर्मात्रीको ओइरो
नयाँ हिरोलाई पैसा हाल्न लगाउनेमा निर्मातासमेत रहेकी नायिका रेखा थापा पनि हुन्। रेखा फिल्म्सको नाममा निर्माण भएका 'हिम्मत', 'किस्मत', 'हिफाजत', 'कसले चोर्‍यो मेरो मन', 'अन्दाज', र 'रावण'मा फिल्मको धेरै लगानी गुण सिनेमाका सञ्चालक दिजेन्द्र शाक्य, डिजिटल सिनेमा नेपालका अशोक शर्माले बेहोरेका र छवि ओझाले थोरै मात्र लगानी गरेको बताइन्छ।
नेपाली नायिकाहरू धमाधम निर्माता त भएका छन् । कुनै नायिकाले एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेको पैसाले एउटा फिल्म बनाउन पुग्दैन। त्यसैले उनीहरूको नाममा हुने लगानी पनि शंकाको घेरामा पर्ने गरेको छ। करिष्मा मानन्धर, मौसमी मल्ल, जेनी कुँवर, झरना थापा, रेखा थापा, ऋचा घिमिरे, रेजिना उप्रेती लगायतले फिल्ममा लगानी गरेर निर्मात्रीको परिचय थपेका छन्। यी मध्य करिष्माको लगानी श्रीमान् विनोद मानन्धरले र झरनाको लगानी पनि श्रीमान् सुनिलकुमार थापाले गरेका हुन्। नायिका ऋचा घिमिरेको फिल्ममा गैरआवासीय नेपाली (एनआरएन)का पूर्वअध्यक्ष उपेन्द्र महतोका भाइ वीरेन्द्र महतोको लगानी भएको हल्ला सिनेबजारमा सेलाएको छैन। जेनी कुँवरको फिल्ममा वैदेशिक रोजगारमा संलग्न उनका श्रीमान् कमलकृष्ण कुँवरले लगानी गरेका हुन्।
म्यूजिक भिडियोकी कोरस डान्सर कृषा चौलागार्इँ अहिले फिल्म निर्मात्री बनेकी छिन्। विपन्न पारिवारिक पृष्ठभूमि भएकी चौलागाईँ रातारात कसरी लाखौँ लगानी गर्ने हैसियतमा पुगिन्, फिल्मी क्षेत्रका सबै छक्क छन्। 'उनी कलाकारदेखि निर्देशकसम्मलाई 'राम्रो सर्भिस' दिन सक्छिन्,' केही निर्देशक टिप्पणी गर्छन्, ' त्यसैले उनलाई पैसको दुःख हुँदैन।' उनले 'इन्साफ', 'कसम हजुरको', 'के म तिम्रो साथी बन्नसक्छु' लगायत फिल्म निर्माण गरेकी छिन्।
रेस्टुरेन्ट व्यवसायी प्रज्ञा जोशी पनि अहिलेकी नामुद निर्मात्री हुन्। केही वर्षअघिसम्म क्याबिन रेस्टुरेन्ट चलाउने प्रज्ञा अहिले ढुकुटी खेलाउँछिन्। ढुकुटीमा जम्मा भएको पैसा उनले फिल्ममा लगानी गर्ने गरेकी छिन्।

तत्कालीन राजदरबार पनि फिल्मको ग्ल्यामरबाट निकै आकर्षित थियो। अभिनेत्री मनिषा कोइरालालाई दरबारले पारससँग विवाहको प्रस्ताव राखेको गाँइगुँइ पनि खुबै चलेको थियो। मनिषाले सो प्रस्ताव अस्वीकार गरे पनि दरबारले शाहीकालमा मन्त्री रहेकी डा. दुर्गा पोखरेलमार्फत मनिषा अभिनित फिल्म 'धर्मा' र अर्काे फिल्म 'खग्रास'मा समेत लगानी गरेको बताइन्छ।
नेपाल चलचित्र बोर्डका पूर्वअध्यक्ष शैलेस आचार्य निर्देशित 'खग्रास' हालसम्म नेपाली सिनेमा घरमा प्रदर्शन भएको छैन।
नेपाली भाषामा फिल्म निर्माण हुन थालेको छ दशक भइसक्यो। नेपाली फिल्म निर्माणको यात्रा वर्तमानसम्म आइपुग्दा कतिपय निर्माता राम्रैसँग उँभो लागेका छन् भने अधिकांश निर्माता चोक्टा खान नजानेर/नसकेर झोलमा चुर्लुम्म डुबेका छन्।

पछिल्लो पाँच वर्षयता औँलामा गन्न सकिने फिल्मले मात्रै लगानी उठाउन सकेका छन्। कुनै निर्माताले उसको फिल्मको लगानी उठ्यो भन्छ भने सिनेमा हलमा फिल्म हेर्ने दर्शकको संख्याले निर्माताको झुट प्रमाणित गर्छ। यसमा पनि डिठ्याइँले अझै सीमा नाघ्छ, जब कसैले, 'काठमाडौँमा दर्शक नभएर के भो? बाहिर हाम्रा फिल्मले राम्रो व्यापार गर्छन् र लगानी उठाउँछन्' भन्छ भने राजधानी बाहिरका फिल्म चलेका हलको संख्या र त्यहाँको जनसंख्या तथ्यांक हेर्नु नै पर्याप्त हुन्छ।

निर्माताहरू नयाँ फिल्म निर्माणको हप्तैपिच्छे घोषणा गर्न र रिलिज गर्न हतारिइरहेका छन्। यसरी निर्मित फिल्ममा कसको लगानी हुन्छ र यसरी हरेक साता डुबेका फिल्मको घाटा कसले बेहोर्छ, यसमा कसैले चासो राखेको छैन। हुण्डी र अन्य गैरकानुनी आर्थीक कारोबारमा अंकुश लगाउन तम्सने सरकार आफैँ मुकदर्शक बनेको छ, फिल्ममा हुने लगानीप्रति।
केही निर्माता डनहरूसँग निकट छन् : राजकुमार राई, अध्यक्ष, चलचित्र निर्माता संघ
केही समयअघि फिल्म क्षेत्रमा संकटकाल लगाउने तयारी हुँदै थियो। तर, फिल्ममा लगानी गर्ने क्रम झन् झन् बढ्दो छ। के विरोधाभाष हो यो? राम्रो नभएरै नेपाली फिल्म नचलेका हुन्। यसमा दुई मत छैन। फिल्ममा लगानी गर्नेहरू फिल्म बुझेका भन्दा नबुझेका धेरै छन्। यसले झन् समस्या निम्त्याएको छ। हिरो बन्नुपर्‍यो भने निर्देशक खोज्यो, फिल्म बनायो। धेरैलाई फिल्मको चमकदमकले तानेको हुन्छ। त्यसैले नबुझी फिल्म बनाउँछन् र सिंगो फिल्म उद्योगले त्यसको अपमान सहनुपर्छ।
फिल्ममा हुने लगानीबारे तपाईँहरू आफैँ अनभिज्ञ हुनुहुन्छ भनेपछि?
अनभिज्ञ नै छौँ भन्न त मिल्दैन। तर, स्पष्ट फिल्म नीति नहुँदा धेरै समस्या आएका छन्। बैंकले फिल्मका लागि ऋण पत्याउँदैन। अनि निर्माता खोजखाज गरेर फिल्म बनाइन्छ। कसले कसको पैसा चलाउँछ, सबै कहाँ थाहा हुन्छ र? फिल्मको 'फ' नजानेका मान्छेले पनि लगानी गर्नु सबैभन्दा ठूलो समस्या भएको छ।
सरकार या फिल्म क्षेत्रको उत्थानका लागि काम गर्ने संघसंस्थाले यसमा अंकुश लगाउन किन प्रयत्न नगरेका त?
मैले अघि नै भनेँ नि, हामीसँग स्पष्ट नीति-नियम नै छैन। हामी आफैँ सर्वोपरि संस्था त होइनौँ, सरकारको नीति-नियम लागु गर्न सहयोग गर्ने संस्था हौँ। नियम-कानुन नै नभएपछि हामीले के गर्ने?
फिल्ममा डनहरूको पनि लगानी छ भन्छन्। सत्य हो?
यो कुरा सत्य पनि होइन, असत्य पनि होइन। केही निर्माताको डन भनिएकासँग केही निकटता छ। त्यसैलाई लिएर सबैले अड्कल काटेका हुन्। प्रत्यक्ष रूपमा कसैले पनि लगानी गरेको छैन। अप्रत्यक्ष लगानी उनीहरूको व्यक्तिगत कुरा हो।
फिल्ममा हुने लगानी पारदर्शी बनाउन के गर्नुपर्ला?
हामीले सुझाएअनुरूपको नियम-कानुन बन्नुपर्‍यो। स्पष्ट फिल्म नीति आउनुपर्‍यो। कसले लगानी गर्न पाउने, कसले नपाउने, कतिसम्म पाउने, कति ट्याक्स तिर्ने, सबै स्पष्ट हुनुपर्‍यो। फिल्म क्षेत्रमा राजनीति गर्नु भएन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out