नाडी छाम्ने प्रयास

मणि दाहाल- सन् १९१२। सन यात्सेनको नेतृत्वमा भएको क्रान्तिले चीनमा गणतन्त्र स्थापना गर्‍यो। १९११ अक्टोबरमा सुरु भएको क्रान्तिले मन्चु वंशका अन्तिम सम्राट चार महिनामै अपदस्थ भए। त्यो समय टाट उल्टिएको नयाँ गणतन्त्रमा आर्थिक कारोबार गर्ने अवसर खोज्दै युरोपेलीको हुल बेइजिङ पुगेको थियो।
युरोपेली संघका अध्यक्ष तथा युरोपेली आयोगका प्रमुखले सन् २०१२ मा फेरि बेइजिङ भ्रमण गरे। यसपटक युरोपेली टोली लगानी गर्न चीन पुगेको थिएन। उल्टो युरोपलाई संकटबाट जोगाउन चीनको आर्थिक सहायता पाइएला कि भन्ने उनीहरूको अपेक्षा थियो।
यो घटनाले विश्वशक्ति पश्चिमबाट पूर्वतर्फ सर्दै गएको देखाउँछ। चालीस वर्षअघिसम्म 'एसियाको रोगी' उपनामले चिनिने चीनले ३० वर्षयता औसत १० प्रतिशत हाराहारी आर्थिक विकास गर्दै आएको छ। अमेरिकाबाट निस्कने टाइम म्यागेजिनका सम्पादक फरिद जकारियाले 'पोस्ट अमेरिकन वर्ल्ड' पुस्तकमा पछिल्लो पाँच सय वर्षयता विश्वमा देखिएका तीन मुख्य रूपान्तरणमध्ये चीनको नेतृत्वमा एसियाली देशले गरेको प्रगति एक भएको औंल्याएका छन्। बाँकी दुई मुख्य रूपान्तरणमा उनले युरोपमा पुँजीवादको विकास र बीसौं शताब्दीको शक्तिका रूपमा अमेरिकाको उदयलाई लिएका छन्। हार्बर्ड विश्वविद्यालयका प्राध्यापक जोसेफ न्युको पनि यस्तै धारणा छ।
करिब दस वर्षअघि हु जिन्ताओ चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपतिमा छानिँदा अमेरिकी पत्रिका न्युजविकले लेखेको थियो- 'हु इज हु?'
आर्थिक विकासमा तीव्र गतिले अघि बढिरहेको शक्तिशाली चीनका यी व्यक्तित्वबारे पश्चिमा संसार बेखबर थियो। आफूले कुनै सुराक पत्ता लगाउन नसकेको मानिस चीनका शक्तिशाली व्यक्ति बन्दै थिए। न्युजविक मात्र होइन, अन्य पश्चिमा देशको पत्रिकाले उनको नाममा प्रश्नवाचक शीर्षक दिनु अनौठो थिएन।
चीन फेरि नेतृत्व परिवर्तनको संघारमा छ। एक दशक अघिझैं अहिले पनि पश्चिमा सञ्चार माध्यमले हुका सम्भावित उत्तराधिकारी उपराष्ट्रपति सी जिनपिङबारे अड्कलबाजी गरिरहेका छन्।
पाँचौं पुस्ताका नेता सीलाई गत वर्ष शक्तिशाली सैनिक आयोगका उपाध्यक्ष बनाइयो। त्यसपछि शासनको कमान सीकै हातमा पुग्ने अनुमान धेरैले गरेका छन्। कुनै दुर्घटना नभए अर्को वर्ष शासनमा पुग्ने सीले पूरै दशक चीनमा राज गर्नेछन्।
अहिले पश्चिमाहरूका लागि हुजत्तिकै रहस्यपूर्ण बनेका छन् सी। २१ औं शताब्दीको पहिलो दशकमा चीनले ठूलो आर्थिक फड्को मारेकाले सीका बारेमा बढीभन्दा बढी बुझ्नु अन्तर्राष्ट्रिय जगतका लागि आवश्यक बनेको छ।
हु राष्ट्रपति बन्नुअघि अमेरिका पुगेका थिएनन्। उपराष्ट्रपति सी भने प्रान्तीय सरकारको अधिकारीका रूपमा करिब २७ वर्षअघि अमेरिका गएका थिए। अहिले फेरि अमेरिकी मेजमानीमै छन्। वासिङटन डिसीले सीका निम्ति रातो कार्पेट बिछ्याउनुको कारण हो- विश्व, क्षेत्रीय र द्विपक्षीय विषयमा उनी कस्तो धारणा राख्छन् भन्ने बुझ्नु।
भ्यालेन्टाइन डेमा उपराष्ट्रपति सी जिनपिङ अमेरिका पुगे पनि दुवै देशबीच अविश्वासको खाडल ठूलै छ।
चीनको बढ्दो शक्तिले आफ्नो लागि ठूलो जोखिम उत्पन्न गर्न सक्ने भन्दै अमेरिका डराएको छ। चीन पनि अमेरिकाले आफ्नो बढ्दो शक्ति नियन्त्रण गर्न विभिन्न हथकन्ठा अपनाउन सक्छ भन्दै त्रसित छ। चीनले सैनिक क्षेत्रमा गर्ने खर्च पारदर्शी नभएको अमेरिकीहरू गुनासो गर्छन्। उता चिनियाँहरू भने आफ्नो आन्तरिक मामिला र विभिन्न देशसँगको द्विपक्षीय विवादका विषयमा अमेरिकाले हस्तक्षेप गरेर अप्ठ्यारोमा पार्न खोजेको आरोप लगाउँछन्।
संसारका दुई ठूला अर्थतन्त्रबीचको मतभेद यत्तिमै सीमित छैन। अमेरिकाले चीनसँगको व्यापार असन्तुलन र चिनियाँ मुद्रा युआनलाई कृत्रिम रूपमा अवमूल्यन गरिएको विषय प्रमुख मुद्दाका रूपमा उठाउँदै आएको छ। चीन भने अमेरिकामाथि व्यापारमा संरक्षणवाद प्रोत्साहित गरेको आरोप लगाउँछ। जलवायु परिवर्तन, मानवअधिकार, उत्तर कोरिया र इरानको परमाणु कार्यक्रम लगायत विषयमा पनि दुई देशबीच कुरा मिल्दैन।
चीन संसारका कुनै पनि देशमा समस्या देखिए 'आन्तरिक मामिला' भन्दै कसैको पक्ष लिँदैन। यसविपरीत अमेरिकामाथि 'विश्वको प्रहरी' बन्न खोजेको आरोप लाग्ने गरेको छ। तिब्बत र सिन्ज्याङको विषयलाई अनावश्यक रूपमा उचालेको, ताइवानको स्वतन्त्रता पक्षधरलाई आडभरोसा दिने गरेको, 'साउथ चाइन सी'को सर्वभौमिकताको विषयमा त्यस क्षेत्रका देश (भियतनाम, फिलिपिन्स, बु्रनाई लगायत) लाई आफूविरुद्ध मोर्चाबन्दी गराउन खोजेको आरोप चीनले अमेरिकामाथि लगाइरहेको छ। एसिया-प्रशान्त क्षेत्रमा सैनिक शक्तिका रूपमा आफूलाई अझै मजबुत पार्ने र बढी भूमिका खोज्ने अमेरिकी नीतिले पनि बेइजिङलाई सशंकित पारेको छ। चिनियाँ सञ्चार माध्यमले यसलाई 'शीतयुद्धकालीन मानसिकता' भन्दै टिप्पणी गरेका छन्।
भ्रमणअघि उपराष्ट्रपति सीले पनि 'यसले द्वन्द्व निम्त्याउन सक्छ' भन्दै अमेरिकालाई सचेत गराएका थिए। गत वर्ष अमेरिका र अस्ट्रेलियाबीच भएको सुरक्षा सन्धि पनि चीनलाई मन परेको छैन। सम्झौताअनुसार २ हजार ६ सय अमेरिकी नौसैनिक राख्न अस्ट्रेलियाको उत्तरी सहर डार्बिनमा शिविर खोलिनेछ। चिनियाँ नेताहरूले यस विषयमा सन्तुलित टिप्पणी गरे पनि चिनियाँ सञ्चार माध्यमले 'चिनियाँ पसलमा अमेरिकी साँढे' भनेर लेखेका छन्। यसको कारण के भने, अस्ट्रेलिया लगायत सम्पूर्ण एसिया-प्रशान्त क्षेत्रमा चीनको व्यापारिक दबदबा छ।
एक दशकयता विश्वशक्ति सन्तुलनमा ठूलो परिवर्तन आएको छ। चीनको प्रभाव विस्तार मात्रै भएको छैन, चुनौती पनि थपिएको छ। सन् २००८ को आर्थिक मन्दीपछि पश्चिमा देशका अर्थतन्त्र तंग्रिन सकेका छैनन्। त्यसको ठिक विपरीत अवस्था पूर्वी एसियाली राष्ट्रको छ। जापान बाहेकका देशमा आर्थिक वृद्धिदर राम्रो छ। यसले शक्ति पश्चिमबाट पूर्वी एसियातर्फ सर्दै गएको देखिन्छ।
हुले शासन सुरु गर्दा विश्वको छैठौं अर्थतन्त्र रहेको चीन अहिले दोस्रो स्थानमा उक्लेको छ। यसै वर्षको अन्त्यसम्म चीनको कुल ग्राहस्थ उत्पादन (जिडिपी) ६९ खर्ब ४५ अर्ब अमेरिकी डलर पुग्ने अनुमान छ। अर्थशास्त्रीहरूको अनुमान सही साबित भए चीन यही दशकभित्र अमेरिकालाई उछिन्दै विश्वको पहिलो अर्थतन्त्र बन्नेछ।
सत्तरी र असी दशकमा जापानले अमेरिकालाई उछिन्ने अनुमान धेरैले गरेका थिए। तीन दशकसम्म दोस्रो अर्थतन्त्र बनेर जापानले अमेरिकालाई पछ्याएको थियो। यसबीच चीनको सरकारनियन्त्रित अर्थतन्त्र निकै सशक्त भएर आयो। सस्तो श्रम उसको सबभन्दा बलियो पक्ष रह्यो। त्यसमा जनसंख्याले पनि ठूलो भूमिका खेल्यो। यी दुवै कारण चीनको उच्च आर्थिक वृद्धिदर कायम रहने अर्थशास्त्रीहरूको अनुमान छ। आगामी दिनमा चीनले आफूलाई कसरी अघि बढाउँछ भन्नेले यसको निर्धारण गर्नेछ।
आर्थिक विकाससँगै जन्मेको नयाँ वर्गको महत्वाकांक्षा र बढ्दो आर्थिक असमानतालाई चीनले कसरी सम्बोधन गर्छ भन्ने विषयमा पनि उसको आर्थिक स्थायित्व निर्भर गर्छ। तिब्बत, सिन्च्याङ तथा अन्य अल्पसंख्यक बसोबास गर्ने क्षेत्रमा देखिएको तनाव शान्त पार्न नसक्ने हो भने त्यो उसको निम्ति ठूलो टाउकोदुखाइ बन्नेछ।
'शान्तिपूर्ण विकास'का लागि छिमेकीसँग रहेका विवादित विषयको समाधान अर्को अत्यावश्यक पक्ष हो। भियतनाम, फिलिपिन्सजस्ता देशसँग साउथ चाइना सीको समुद्री सीमा र भारतसँग कस्मिर तथा अन्य क्षेत्रमा रहेको सीमा विवाद प्रमुख छन्। छिमेकी देशसँग चीनको आर्थिक सम्बन्ध न्यानो भए पनि सैनिक तथा राजनीतिक सम्बन्ध त्यति सहज छैन। दोस्रो विश्वयुद्धअघि जर्मनी तथा बेलायतबीचको आर्थिक सम्बन्ध मजबुत रहे पनि सैनिक तथा राजनीतिक सम्बन्ध तिक्ततापूर्ण थियो। सन् २००८ मा अमेरिकी संसदले तयार पारेको प्रतिवेदनमा आर्थिक सम्बन्धले युद्ध रोक्न नसकिने उल्लेख छ।
अमेरिकाले चीनको विकास रोक्न भारत, जापान, दक्षिण कोरिया र अस्ट्रेलियाको गठबन्धन बनाउनुपर्ने कुरा उठ्न थालेको छ। अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयका इतिहास प्राध्यापक इयान मोरिसनले सन् १८६१ तिर जापान र चीन दुवैले पश्चिमालाई शक्तिमा आउनबाट रोक्न नसकेजस्तै अब पश्चिमाहरूले चीनलाई रोक्न नसक्ने बिबिसीको अनलाइन संस्करणमा लेखेका छन्।
अमेरिकाको टाइम म्यागेजिनका सम्पादक जकारियाले अमेरिका कमजोर नभए पनि चीनसहित विश्वका बाँकी देशले व्यापक प्रगति हासिल गरेको बताएका छन्। त्यो पनि निकै छोटो समयमा।
...
चीनको उदय र त्यसले विश्वशक्ति सन्तुलनमा पार्ने परिवर्तनको विषय अमेरिकासहित पश्चिमा देशका लागि प्रमुख विषय बन्दै आएको छ। आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनको प्रमुख मुद्दामध्ये चीनको उदय र त्यसको नियन्त्रणको विषय एक हुनेछ।


सन् २०१० मा भएको संसदीय निर्वाचनमा यो विषयलाई लिएर रिपब्लिकन तथा डेमोक्र्याटबीच जुहारी चलेको थियो। दुवै राजनीतिक दल चीनले अमेरिकीको रोजगारी खोसेको विषयमा भने एकमत थिए। रिपब्लिकनले राष्ट्रपति बाराक ओबामाले केही गर्न नसकेको आरोप लगाएका छन् भने डेमोक्र्याटले चीन अघि बढ्नमा रिपब्लिकन जिम्मेवार भएको ठोकुवा गरेका छन्।
विश्वले शान्तिपूर्ण विकास गर्छ वा गर्दैन भन्ने विषय अबका दिनमा दुवै देशले आपसी सहकार्य कसरी अघि बढाउँछन्, त्यसले निर्धारण गर्नेछ। विश्वलाई शान्तिपूर्ण रूपमा हाँक्ने महत्वपूर्ण जिम्मेवारी चिनियाँ उपराष्ट्रपति सीको काँधमा आउन लागेको धेरैले अनुमान गरेका छन्। सीले सांस्कृतिक क्रान्तिको समय सान्सी प्रान्तको गाउँमा बिताएका थिए। कुस्ती खेल्दा सधैं जित्ने र गहु्र्रंगो भारी बोकेर लामो समय हिँड्नसक्ने हुनाले उनी निकै लोकप्रिय थिए।
आर्थिक विकासको नेतृत्वमा पनि सीको भूमिका उल्लेख्य रह्यो। सीको नेतृत्वमा पूर्वी तटीय क्षेत्रका विभिन्न प्रान्तले औसतमा १४ प्रतिशतसम्म आर्थिक विकास गरेको थियो। समकालीन धेरै नेताहरू भ्रष्टाचार अभियोगमा मुछिए पनि उनी निष्कलंक रहे। यो महत्वपूर्ण घडीमा चीनको राष्ट्रिय जिम्मेवारी पनि उत्तिकै दक्षतासाथ सीले निर्वाह गर्नेछन् भन्ने धेरैको विश्वास छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out