हुक्का

झट्ट हेर्दा कुनै युवतीले आफ्नो कामुक शरिरको दृश्य प्रस्तुत गरेझै लाग्छ हुक्काको आकार। मास्तिर कोइला र सिसा (सुर्ती) राख्ने स्थान छ। पातलो शारीरिक बनावटसँगै बीचमा युवतीको पुठ्ठाझैं लाग्ने भाँडा छ। त्यही मुन्तिर कोमल पाउ छन्। बारुले कम्मरबाट बाहिर ल्याइएको नलीमा लगाइने सर्कोको फ्लेवर कम रमाइलो हुँदैन, अनि हुक्का तान्दा निस्कने मादक आवाज गुर्डरर। यो आवाजमा पनि रमाइलो मिसिएको छ, ठाडो घाँटी लगाएर लामो धूवाँको सर्को फाल्नुको मजै बेग्लै। यससँगै शान्त वातावरण अनि साथीभाइ सँगको गफगाफमा हुक्कामा घण्टौं जोडिनुको आनन्द।
युवा जोडीहरू सँगै बसेर पालैपालो हुक्का तान्दा स्वर्गको अनुभूति पाउँछन्। हुक्का पिउने चलन पुरानै जमानाको भए पनि अहिले यसको क्रेज ह्वात्तै बढेको छ। आजकाल सहरमा हुक्काका सौखीनहरूको संख्या ह्वात्तै बढेको छ। बूढापाकाहरू अम्मलका रूपमा हुक्का पिउँथे भने अहिलेको पुस्ता फेसनका रूपमा हुक्का पिउन थालेको छ। युवायुवतीहरू आधुनिक शैलीमा बनेको मेटल र पारदर्शी सिसाका हुक्कामा रमाइरहेका छन्। आधुनिक हुक्काको विकासक्रममा निर्माताले हुक्काको बाहिरी सजावट यसरी गरेका छन्, जुन हेर्दै आकर्षक अनि लोभलाग्दा छन्।
सिसा बार वा क्याफेहरूमा हुक्का पिउन पाइन्छ। मस्ती गर्ने युवाका लागि हुक्का पिउनु एउटा नयाँ विकल्प हो। कुनै स्थानमा बसेर घण्टौं गफ गर्दै आफ्ना साथीभाइसँगै हुक्का तान्नु समय व्यतीत गर्ने गतिलो बहाना भएको छ। समय व्यतीत गर्न पनि हुक्का पिएको सातदोबाटोका मनीष श्रेष्ठले बताए। श्रेष्ठ भन्छन्, 'सम टाइम हल्का हुक्का तान्दा मोज हुन्छ नि।' अहिले क्याफे र बारको कुनै कुनामा बसेर हुक्का पिउनेहरू राजधानीमा बग्रेल्ती भेटिन्छन्।
युवासँगै हुक्का पिउनेहरूमा युवतीहरू पनि थपिँदैछन्। केही समययता राजधानीमा हुक्का तान्नेहरूको संख्या ह्वात्तै बढेको हो। खासमा साथीभाइको संगतका कारण यस्तो क्रेज बढ्दो छ। हुक्का पिउँदा आफ्नो स्टाटस बढ्ने सोचले पनि यो लतमा लाग्नेहरू भेटिन्छन्। हुक्का तान्न उनीहरूलाई कसैले रोक्न सक्ने स्थिति छैन। आफूहरूलाई स्मार्ट र सुपर देखाउन पनि हुक्का पिएको बताउन उनीहरू पछि पर्दैनन्। हुक्का पिउने चलन नयाँ भएकाले पनि यसको क्रेज बढेको हुक्का सञ्चालकहरू बताउँछन्।
हुक्का तान्ने फेसन त छँदैछ। जाडो मौसममा न्यानो प्राप्त गर्न पनि हुक्काको लोकप्रियता बढेको हो। हुक्का पिउने युवाहरूका अनुसार हुक्काले सिगरेटभन्दा कम नोक्सानी गर्छ भन्ने मान्यता छ। त्यसैले हुक्का पिउनु सामान्य भएको उनीहरू बताउँछन्। सिसा बार, पार्टी, रेस्टुराँ एवं लाउन्जहरूको टेबलमा सजाएर राखिएको हुक्काले उनीहरूको ध्यान खिच्छ।
धूम्रपान गर्नेहरूका लागि तलतल मेटाउन चुरोटबाहेक यही उत्तम विकल्प हो जुन उनीहरूको दृष्टिमा बढी आनन्ददायक अनि कम हानिकारक छ। राजधानीस्थित एक कलेजमा अध्ययनरत मिलन भन्छन्- 'हुक्का पिउनु अहिले सामान्य हो, यसमा कुनै नशा हुँदैन, मजा मात्र हुन्छ।' हुक्का पारखीहरू हुक्का पिउनु समान्य भएको बताउँछन्। हुक्का पिएको क्षणलाई अविस्मरणीय क्षणका रूपमा लिन्छन्।
'एक-दुई घण्टा हुक्का तानेपछि दिमाग ठन्डा हुन्छ,' मिलनले थपे- 'यसबाहेक हुक्काले साथीभाइसँग कुनै रेस्टुराँ वा लाउन्जमा बस्दाको क्षणलाई स्मरणीय बनाइदिन्छ।'
केही वर्षअघि नेपालमा प्रवेश गरेको आधुनिक हुक्का अहिले कतिपय रेस्टुराँको प्रमुख आकर्षण बन्न पुगेको छ। बढ्दै गएको हुक्का क्रेजका कारण हुक्का बार खुल्ने क्रम पनि बढेको छ। राजधानीमा मात्र अहिले ५० को हाराहारीमा हुक्का बार छन्। मुख्यतः दरबार मार्ग, ठमेल, न्युरोड, जावलाखेल आदि स्थानमा हुक्का बार सञ्चालनमा छन्। राजधानीको कुनाकाप्चामा पनि हुक्का बार खुल्न थालेका छन्। त्यहाँ हुक्का तान्न प्रायः सबै प्रकारका ग्राहक पुग्छन्। राजधानीमा नियमित ग्राहक २० हजारजति रहेको दाबी गर्ने नेपालमा पहिलोपल्ट हुक्का बार सञ्चालनमा ल्याएका मञ्जिल श्रेष्ठ भन्छन्- 'अहिले त १ लाखभन्दा बढी हुन सक्छन्।'
राजधानीबाहेक अहिले पोखरा र चितवनमा पनि हुक्का पारखीहरू बढेका छन्। हुक्का पाइने स्थानमा दिनभरि नै अम्मलीहरू आउँछन्। उनीहरू दुई घण्टासम्म हुक्का पिउँछन्। एउटा बारमा दैनिक डेढ सयदेखि दुई सयसम्म विद्यार्थी र अन्य व्यक्ति हुक्का पिउन आउँछन्। विशेषतः यस्ता स्थान युवाजोडीहरूले भरिने एक हुक्का सञ्चालकले बताए। हुक्का पिउने लत २० देखि २५ वर्षका युवा-युवतीहरूमा बढी छ।
पुरानो हुक्काको स्वाद चाख्न र अनुभव गर्न युवाहरू त्यसतर्फ आकषिर्त हुन्छन्। उनीहरू घण्टौं यस्ता बारमा बसेर हुक्का तानिरहेका हुन्छन्। पुरानो हुक्काभन्दा पनि नयाँ फ्लेवरमा उनीहरू रमाइरहेका छन्। कम हानि हुने भएकाले हुक्का पिउनु राम्रो भएको अम्मलीहरूको दाबी छ। शंखमूलस्थित रेड रुफ हुक्का बारमा भेटिएका हुक्का क्रेजी दिनेश भन्छन्- 'यसमा प्रयोग गरिने सुर्ती हर्बल हुन्छ, जसका कारण कुनै नकारात्मक प्रभाव पर्दैन।'
हुक्का पनि धेरै प्रकारका छन्। एप्पल, मिन्ट, स्ट्रबेरी, आँप, अंगुर आदि विभिन्न फलफूलमध्ये कुन फ्लेवरको हुक्का तान्ने ? ग्राहकको छनोटको स्वादको हुक्का तयार हुन्छ। धेरै ग्राहकले स्ट्रबेरी फ्लेवरको हुक्का बढी रुचाउने व्यवसायीहरू बताउँछन्। एकपटक हुक्का पिउँदा ३ सय ५० देखि ४ सयसम्म खर्च गर्नुपर्छ। साथमा चिया वा रक्सी के खाने छनौट ग्राहकको हुन्छ।
यसबाहेक अहिले बढी नशा लिन हुक्काको पानीमा जिन र ब्रान्डीजस्ता रक्सी पनि मिसाउन थालिएको छ। 'कोही-कोही लुकाएर गाँजाजस्ता लागूऔषध लुकाएर खान्छन् तर थाहा पाए हामी उनीहरूलाई हुक्का खान दिँदैनौ,' एक सञ्चालकले भने।
हुक्कामा नो निकोटिन ?
लागूऔषधसँग सम्बन्धित कुरामा विश्वमा सबैभन्दा कडा कानुन भएको देश साउदी अरेबिया हो। त्यहाँ यस्तो हुक्का तान्न कानुनी छुट छ। त्यहीबाट विश्वमा यस्ता आधुनिक हुक्का र आवश्यक सामग्री बिक्री गरिन्छ। त्यसमा आवश्यक फ्लेवर पनि त्यहींबाट विश्वभर पुग्छ। त्यसैले हुक्का तान्नु कानुनी रूपमा वैधानिक भएको नेपालका हुक्का सञ्चालकहरू बताउँछन्। उनीहरू भन्छन्- यसमा निकोटिन नै हुँदैन अनि कसरी गैरकानुनी हुन्छ ? सार्वजनिक स्थलमा धूम्रपान गर्न नहुने भएपछि हुक्का उपयुक्त विकल्प भएको उनीहरूको दाबी छ।
नेपालमा सार्वजनिक स्थलमा धूम्रपान गर्न मनाही छ, त्यसका लागि पनि यो राम्रो विकल्प भएको उनीहरू बताउँछन्। धूम्रपानले व्यक्तिलाई असर गरेकै हुन्छ। स्वास्थ्यका दृष्टिकोणले हुक्काको असर पनि कम नहुने विशेषज्ञहरू बताउँछन्। यसमा अपरिष्कृत सुर्ती र फ्लेवर मिलाइएको हुन्छ। पानीले ९० प्रतिशत निकोटिन छान्छ।
त्यसको फ्लेवरको गन्धले सुर्तीमा भएको निकोटिनको गन्धलाई छोप्छ। फलस्वरूप हर्बल भएको भ्रम हुन्छ। यसको पाइपमा खतरनाक ब्याक्टेरियाहरू हुन्छन्, तर पनि अम्मलीहरूलाई त्यसको पर्वाह छैन। फेसनको ज्वरोले पनि युवाहरूलाई हुक्का बारतर्फ तानिरहेको छ। हुक्कामा निकोटिन हुँदैन भनिए पनि त्यसले भविष्यमा समस्या ल्याउने निश्चित छ।
फेसन ट्रेन्डमा हुक्का
कलेज पुस्ताले कुलको नयाँ परिभाषा खोजेको छ। चुरोटको लतबाट अझै फरक स्वादको खोजीका क्रममा उनीहरूले हुक्का अर्थात् सिसालाई कुल भनेर परिभाषित गरेका छन्। कलेज बंक गरेर होस् वा कलेज सकिएर होस्, हानिएर उनीहरू त्यही कुल अनुभूति खोजिरहेका हुन्छन्। लाग्छ, हुक्काको गुरुडड आवाज र त्यसको फिंजमा रमाउने पुस्ता त्यससँग राम्रै लगाव राख्छ। नेपालमा सिसाबार सञ्चालनको कुनै मापदण्ड छैन, जसरी मानिसहरू चुरोट खान स्वतन्त्र छन्, त्यसरी नै सिसाबारमा गएर हुक्कामा रमाउन सक्छन्, तर एउटा मुख्य कुरा राज्यले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ तथा मद्यपानमा निषेध गरिसकेको छ।
यद्यपि तन्नेरी पुस्ताका निम्ति सिसामा रमाउन कुनै प्रतिबन्ध अवरोधक भएको छैन, अहिले पनि सिसाबारमा उनीहरू हुक्काको लतमा रमिरहेकै छन्। राजधानीकै पुरानो बानेश्वर बस्ने १८ वर्षीय सुजाता खरेल भन्छिन्- कफीसपमा बसेर समय बिताउने पुरानो चलनको विकल्प खोजिएको हो, यहाँ वातावरण नै रमाइलो छ, त्यसमा पनि सिसाका साथ समय अझ रोमाञ्चक हुन्छ। यता महाराजगन्जका २२ वर्षीय सोनम रितार शेर्पा भन्छन्- मन्त्रमुग्ध बनाउने फ्लेभर र यसको मधुर गडगडाहट मात्र होइन, हुक्काले पूरै शरिरलाई आनन्दित तुल्याउँछ, जुन आनन्द अन्त कतै पाइँदैन। यसले आफूलाई एक प्रकारको संसारमा पुर्‍याउँछ, जहाँ यो वाहियात संसारका थुप्रै चिन्ताग्रस्त कुराबाट मुक्त हुन सकिन्छ।
यहाँनेर के देखिन्छ भने, हुक्का वा सिसाको मादकतामा रमाउनेहरू यसबाट निम्तिने खतरालाई लिएर पूर्ण रूपमै अनभिज्ञ छन् वा त्यसको असर जान्दा-जान्दै पनि वेपरवाह हुँदै त्यसलाई अँगालिरहेका छन्। उनीहरूको गलत बुझाइ- यो चुरोटभन्दा कम खतरनाक हुन्छ भन्ने हो। कक्षा ११ मा अध्ययनरत सम्पूर्ण श्रेष्ठका अनुसार उनी चुरोट पिउँदैनन्, तर कम हानिकारक भनेर बुझेकाले सिसाका पारखी भएका छन्। सम्पूर्णले घरमै लुकाएर हुक्का राखेका छन्। सम्पूर्णकै समूहकी १५ वर्षीया सञ्चिता राना उनको परिवार सिसाको विरोधी भए पनि उनी त्यसको मतलब गर्दिनन्। किनभने सिसासँग उनको प्रेम बसिसकेको छ। राना भन्छिन्, यदि हुक्का पिउनु यति धेरै हानिकारक भए, सिसाबार खुल्ने ट्रेन्ड यति धेरै कसरी बढ्यो त ? मेरा साथीहरू मात्र होइन, चिनेजानेका थुप्रै अन्य मानिस पनि त यसको सेवन गरिरहेका छन्।
यो पुस्ता के मान्छ भने, पुरानो पुस्ताले जसरी आनन्दको खोजीका लागि चुरोटको सेवन गर्‍यो, नयाँ पुस्ता भएकाले उनीहरू हुक्कालाई प्रतिस्थापन गरिरहेका छन्, अर्थात् नयाँ पुस्ताका लागि सही अम्मल हुक्का हो, यसले आफूलाई आधुनिक त बनाउँछ नै, फेसनअनुरूपको ट्रेन्ड आत्मसात् गरेको भनेर इज्जत पनि बढ्छ।
गहिरो कस भएको एउटा हुक्का खाइसक्न करिब १ घन्टा लाग्छ, विश्व स्वास्थ्य संगठनको २००५ को एक अध्ययनअनुसार यसरी १ घन्टा लगाएर हुक्का तान्दा फोक्सोमा पुग्ने धूवाँ १ सय चुरोट सेवन गरे बराबर हुन्छ। हुक्कामा सुर्तीजन्य पदार्थलाई जलाउन धेरै मात्रामा प्रयोग हुने कोइलाले कार्बन मोनोअक्साइडजस्ता घातक तत्व तथा क्यान्सरजन्य रसायन उत्पन्न गर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार सिसाको लगातारको सेवनपछि यसको पनि लत लाग्छ, किनभने यसमा हुने सुर्तीमा निकोटिन हुन्छ। हुक्कामा कम निकोटिन छ भन्ने मानिसहरूको गलत धारणा छ, थोरै निकोटिन भएकाले यसले कम हानि गर्छ भन्ने भ्रम मात्र हो। संगठनले भनेको छ, हुक्का पिउनु कुनै पनि अर्थमा चुरोटको सुरक्षित विकल्प हो भन्नु मुर्खता मात्र हुनेछ।
एक सिसाबार सञ्चालकका अनुसार सिसा सेवन गर्नेहरूमा नियमित ग्राहक बढी छन्। यसबाटै पनि सिसाको लत बस्ने कुरा पुष्टि हुन्छ। उनी भन्छन्, सुरुवाती दिनमा १ साता हुक्काको सेवन गर्नेहरू, त्यसपछि आफंै यसको खोजीमा निस्कन्छन्। ९० प्रतिशत ग्राहक लत बसेकै कारण आउने गरेको उनको भनाइ थियो। कतिपयले त घरमै हुक्का राखेका छन्। किशोर उमेरका विद्यार्थीहरू सम्पूर्ण र सञ्चिताले पनि घरमै लुकाएर सिसा राखेको बताए। बाहिर खान जान सहज नहुँदा घरमै लुकेर वा कोठामा चुकुल लगाएर हुक्कामा रम्ने उनीहरूले बताए।
सिसाबारहरूको सर्वसुलभताले पनि यसप्रति आकषिर्त हुनेहरू बढेका छन्। अहिले सिसाबार भनेरै खुलेका नयाँ रेस्टुराँ मात्र होइन, पुराना नाम चलेका रेस्टुराँमा पनि सिसाबार नयाँ ट्रेन्डका रूपमा विकसित भैरहेको छ। त्यतिमात्र होइन, अर्गानिक क्याफे भनिएका रेस्टुराँमा पनि सिसा अनिवार्य राखिएको छ। मादक वातावरणमा कुनो ओगटेर युवा पुस्ता हुक्कामा रमाइरहेको हुन्छ। आकर्षक सोफामा बसेर जोसिलो संगीतमा मदमस्त भैरहँदा हुक्काको धूवाँले उनीहरू आनन्दित भएको देख्न सकिन्छ। सिसाबारको फराकिलो बसाइले पनि शरीरलाई आनन्दसँग लड्न दिएको हुन्छ। जहाँसम्म हुक्काको फ्लेभरको कुरा छ, खल्ती जति गरम छ, त्यत्तिकै मज्जाको फ्लेभर पाइन्छ। हुक्काका फ्लेभर ग्लामरस बनेका छन्। कसले कस्तो फ्लेभर मन पराउने भन्ने कुरा मात्र हो।
हुक्काका केही नाम
ब्रेन फिजः हुक्का पिउनेहरूलाई ठन्डा महसुस होस् भनेर सुर्तीमा मिंन्टलगायतका अतिरिक्त फ्लेभर हालिएको हुन्छ।
ट्रेजर ट्रेलः गुलयो मीठो स्वादका लागि सुर्तीमा मिसाइने फलफूलको फ्लेभर।
रोयल ट्रिटमेन्टः कस्मिरी स्याउजस्तो फ्लेभरयुक्त सुर्ती।
समर अफ सिक्स्टि नाइनः चिसो र गर्मीको असरका लागि दुई फ्लेभरको मिश्रण।
सेक्स अन दि बिचः रंगीन मुडका लागि आरु वा सुन्तलाको फ्लेभरले युक्त सुर्ती।
हुक्का भ्रम र यथार्थ
हुक्का कुनै पनि अर्थमा चुरोटभन्दा खतरनाक हुँदैन।
भ्रमः हुक्काको पानीले धूवाँमा रहेको शरिरलाई नोक्सान हुने तत्त्वलाई छानिदिन्छ।
सत्यः पानीबाट धूवाँ गुज्रँदै आउने भए पनि त्यसले सुर्तीमा रहने हानिकारक निकोटिन नामक रसाउन छान्न सक्दैन।
भ्रमः हुक्काको लत बस्दैन, किनभने यसमा निकोटिन हुँदैन।
सत्यः सिसामा प्रयोग गरिएको सुर्तीमा निकोटिन हुन्छ। ६० मिनेट हुक्का पिउँदा १ सयवटा चुरोट पिए बराबर विष शरिरमा प्रवेश हुन्छ।
भ्रमः सामान्य सिसाका अतिरिक्त हर्बल सिसा पिउनु कम हानिकारक हुन्छ।
सत्यः हर्बल सिसा पिउनेहरूमा धेरैजसो टार र हानिकारक निकोटिन नामक रसाउन  रसायन उत्पन्न भैरहेको हुन्छ।
भ्रमः सुर्ती जन्य पदार्थ भए पनि फलफूलको मात्रा अत्यधिक हुने भएकाले हुक्का धेरै कम हानिकारक छ।
सत्यः यसका बाबजुद सुर्तीको हानिकारक निकोटिन नामक रसाउनको मात्राले शरिरलाई अत्यधिक हानि गरिरहेको हुन्छ। हुक्कालाई ग्लामरस बनाउन यसका विभिन्न फ्लेभरलाई अनौठा नाम दिइन्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out