संविधान बनाउने हो भने सभासदज्युहरुलाई होमवर्क

विजयकुमार - नेपालका लागि बेलायती राजदुत जोन टक्नट नत फेसबुकको सजिलो माध्यमबाट नेपालका जटिल समस्या समाधान गर्ने अभ्यास गर्छन्, न कुनै 'इलेक्ट्रोनिक' उपदेश दिन्छन्, न त उनको कार्यालयमा कुनै यस्तो सञ्चार अधिकृत छ, जसको मुख्य काम भनेकै महामहिमको फेसपेज साइटको रेखदेख गर्नुमात्र हो । नत 'राम्रो काम' गर्दागर्दै पनि आफ्नो कार्यावधि पुरा हुने आधा समय बाँकी छँदै नेपालबाट जोन टक्नटलाई सरुवा गरिने कुनै सम्भावना नै छ । नेपालसँग पहिलो दौत्य सम्बन्ध भएको राष्ट्रका प्रतिनिधिका हैसियतले र बिषयबस्तुमा आफ्नो मजबुत धरातलीय 'पकड' का कारण स्वाभाविक रुपमा जोन टक्नट नेपाली समाज र राजनितिका आना, बाना, ताना र दानाका स्रोतहरुलाई सतहीभन्दा अलि गहिरो रुपले बुझ्ने क्षमता राख्छन् ।
गएको बुधबार बिहान आफ्नै कार्यालयमा उनी मलाई भन्दै थिए, 'शान्ति र संबिधान निर्माणका बिषयमा भइरहेको ढिलाइले मलाइ फ्रस्टेड गराएको छ ।' मैले  सोधें, 'तपाई राजदुत भएर आएको कति भयो ?' जवाफ आयो, '१८ महिना ।' मैले एक ठुलो हाँसोका साथ जवाफ दिएँ, 'महामहिम, नेपाल आउने कुनै पनि पाश्चात्य राजदुतलाई काठमाडौं झरेको १८ महिनापछि पनि अलिकति फ्रस्टेसन आएन भने उसलाई डाक्टरकोमा जचाउनु पर्ने हुन्छ । यो ठाउँ नै यस्तो हो, बडे-बडेलाई थकाइदिन्छ । काठमाडांैका ककटेल रिसेप्सन, डिनर आदिमा नित्यदिन देखिने 'उही' मुहारहरुले बिगत कयौ दसकदेखि तपाईजस्ता धेरैलाई 'यस सर, यस सर, यस मैम, यस मैम' भन्दै उल्लु बनाएर नेपालबाट पठाइसके, क्या नाम त्यो वाइन पिएर । संबिधानसभा निर्वाचनपुर्वका फाइल खोल्नुस त, माओबादीले १० प्रतिशत सिट पनि ल्याउदैन भन्थे, क्या नाम त्यो वाइन पिएर ! उही अनुहारका केही मानिस दिनहुँजसो साँझ जम्मा भएर, सबैले सबैलाई आ-आफ्नो स्वार्थअनुसार हरदिन बेवकुफ बनाउन खोज्ने खेलको अर्को नाम हो, 'काठमाडौं ककटेल रिसेप्सन सर्कस ।' तर के गर्नु ? क्या नाम त्यो 'ककटेल' मा  धेरै उफ्रेर, उफ्राएर, यहाँ खासै केही हुँदैन । सुत्ने र कुद्ने दुवै एकैसाथ पुग्ने ठाउँ हो यो । क्या नाम त्यो ड्युटी फ्रि वाइन र ह्वीस्की पिएर ।'
मेरो कुरा सुनेपछि मस्त हाँस्ने पालो महामहिमको थियो । चियाको चुस्कीसँगै मैलै थप्दै गएँ, 'नेपालमा भारतले बेलाबखतमा गर्ने पोलिटिकल इञ्जिनियरिङको बडो चर्चा हुन्छ, तर पश्चिमा देशहरुले गर्ने सोसल इन्जिनियरिङका बिषयमा बिद्वत समाज आश्चर्यजनक रुपले मौन छ । संबिधान निर्माणका नाममा, जगै नहाली छाना छाउने जुन प्रकारको सामुहिक मुर्खताको प्रदर्शन नेपालमा गरियो र त्यो घिनलाग्दो बौद्धिक अभ्यासलाई साधनस्रोतको तेल हालेर दन्काउने दोषको जिम्मेवारीबाट सभ्य भनिएका देशहरुले 'सघाउने' नाममा गरेको  कामलाई जायज भन्न मिल्दैन । अहिले तपाईजस्ता संवेदनशील मानिसमा देखिएको 'फ्रस्टेसन' लाई पुराना दिनहरुमा, तपाइहरुले चाहिने नचाहिने ठाउँमा खनाएको साधनश्रोत बाट अलग राखेर हेर्न सकिन्न । गरिब देशमा साधनस्रोत एउटा ठुलो शक्ति हो । सही ठाउँमा खनाए देशको मुहार उज्यालो पार्न मद्दत गर्छ, गलत ठाउँमा खन्याए पुरा गर्न नसकिने, अतिरञ्जित आकांक्षाको आगोमात्र लगाउँछ ।'
मेरो सिधा कुरा सुनेर राजदुत टक्नटले गम्भिर भए । र जवाफ दिए, 'म आफ्नो कार्यकालका बिषयमा मात्र भन्न सक्छु । शायद तपाइले याद पनि गर्नु भएको होला, म आएपछि बेलायत सरकारले संबिधान निर्माणका बिषयमा अनावश्यक गोष्ठी, सेमिनार, भ्रमण आदिलाई कुनै प्रोत्साहन दिएको छैन । अब दिने पनि छैन ।' कुराकानीको क्रममा राजदुत टक्नटले एक महत्वपुर्ण उद्गार दिदै भने, 'मलाई लाग्छ, आजको दिनमा शासकिय स्वरुपको प्रश्न सर्वाधिक महत्वको हो । यो प्रश्नको उत्तर पाइनेबित्तिकै धेरै जटिलताहरुको समाधान आउन सजिलो पर्नेछ ।'
शासकिय स्वरुपका बिषयमा यसै स्तम्भमा लगातार पछिल्ला दुई अंकमा लेखिसकेको हुनाले म त्यसमाथि केहि थप्न चाहन्न । मेरो विचारमा पनि अहिलेको मूल विषय भनेको शासकीय स्वरुप नै हो । त्यसमा टुंगो लाग्नेबित्तिकै धेरै अन्य विवादित बिषयमा सहमति जुटाउन वातावरण सहज हुने छ । शान्ति प्रक्रिया ढिलोचाँडो पुरा हुने नै छ, किनभने फेरी लड्ने  जाँगर र तागत अब कसैसँग बाँकी छैन । न त अन्तर्राष्ट्रिय परिस्थिति त्यसका निम्ति अनुकुल छ । राज्य पुनःसंरचना र संघियता एक जटिल बिषय बनेकोचाहिं सबै पक्षले स्विकार गरेका छन् । पछिल्ला केहि दिनमा मैले मैले प्रचण्डजी, सुशील कोइरालाजी र  माधव नेपालजीसँग गरेका लामा अनौपचारिक कुराकानीमा त्यस्तो आभास पाएको छु । पोहोर पनि लेखिसकें, फेरि दोहोर्‍याउन चाहन्छु- माकुरो एक यस्तो जनावर हुन्छ, जसले बच्चा जन्माउनेबित्तिकै आफ्नो नवजात शिशुलाई छाडेर भाग्नुपर्ने हुन्छ । होइन भने बच्चाले माउलाई खाइदिन्छ । बाहिर मुखले जे भने तापनि संघियताको बिषय नेपालका प्रमुख दलका निम्ति माकुरा र उसको बच्चाको उपमा बनेको छ । ठूला तीन दललाई मनमनै डर छ, कतै संघियतालाई जन्म दिनेबित्तिकै माकुरा भागेझै 'सिन' बाट भाग्नु पर्ने त होइन भनेर !
म संबैधानिक बिकास प्रक्रियाको बिद्यर्थी होइन, तर पनि मलाई यो कुरा थाहा पाएर अनौठो लाग्यो कि रातदिन भारत-भारत भनेर या त सराप्ने या जय-जयकारको भजन गाउने हाम्रा कतिपय नेताजी र 'स्वतन्त्र' विज्ञहरुलाई यो पनि थाहा रहेनछ कि संघिय प्रणालीमा चलेको भारतको संबिधानमा 'फेडरल' नामको एउटा अक्षर पनि छैन । र, पनि भारतमा दशकौंदेखि संघिय व्यबस्था मज्जासँग चलिरहेको छ । आफ्ना मौलिक अक्षरहरुका हिसाबले भारतको संबिधान आज पनि 'एकात्मक' व्यबस्थाको संबिधान हो । बिभिन्न कालखण्डहरुमा भएका संबिधान संशोधनहरुले भारतीय जनजीवनमा 'संघिय' व्यबस्थालाई 'विकसित' गर्दै लगेका मात्र हुन् ।
आज म संबिधान निर्माणको नाममा सारा संसार घुमी भ्याएका हाम्रा केहि छटेल चालु सभासद र बाँकी सिधासादा सभासद, दुबै थरिलाई माननियज्युहरुलाई, एउटा होमवर्करुपी प्रश्न दिन चाहन्छु । प्रश्नको उत्तर आफुलाई नआए हाल तुरे तुरानको देशबाट काठमाडांै  आएका भोले कोरानजस्ता कुनै पांचतारे बिज्ञलाई सोधेर उत्तर दिए पनि हुन्छ । संबिधान निर्माणका नाममा माननियज्युहरु पुग्न बाँकी एकमात्र महादेश 'अन्टारटिका' पुगेर उतर ल्याए पनि हुन्छ । तुरे तुरानहरुसित तपाइहरुलाइ अन्टारटिका महादेशसम्म ल्याइ पुर्‍याउने शिर्षकमा बजेट छैन भने हामी जनता संबिधान निर्माणका नाममा बानेश्वर चोकमा ट्वाक थापेर पनि श्रीमान माननियज्युहरुलाई अन्टारटिका महादेशसम्मको दुईतर्फी टिकट भाडा उपलब्ध गराउने छौ । जहाँ गएर भए पनि कृपया प्रश्नरुपी होमवर्क पुरा गर्नु होला ।

प्रश्न हो- संबिधान निर्माण गर्ने काम भनेको के कोठामा विश्वको सर्वश्रेष्ठ फर्निचर आयात गरेर सजाउने काम हो ? वा घर आँगनमा सानो बिरुवा रोपेर त्यसलाई आफ्नो परम्परा, नैतिकता, आचरण र व्यबहारको छहारीमा बिकसित गर्दै लैजाने एक दिर्घकालिन र महान् दायित्व हो ? संबिधान भनेको बरको रुखझैं बिस्तारै बिकसित हुँदै जान्छ कि संबिधान भनेको एकपल्ट, एकचोटी खाए, पुस्तौ पुस्ता भोक नलाग्ने भनेर कुनै हाडी घोप्टे चटकेले बेच्ने अमरावतिको पुरिया हो ? विश्वको संबैधानिक इतिहासमा हाँडी घोप्टेको त्यस्तो जादुई  पुरिया चलेको देशको नाम के हो ? माननिय ज्युहरु! कान्तिपुरको 'स्पेस' यति 'टाइट' नभएको भए प्रश्न फेरी एकपटक दोहोर्‍याएर लेखि दिने थिए । सोच्नुस् माननियज्युहरु, सोच्नुस् । संबिधान एक जीवन्त दस्तावेज हो वा यो ढुङामा सधैको लागि, एकैपल्ट लेखिने शिलालेख हो ? भारतमा संबिधान प्रारम्भ हुने बेलामा कतिवटा राज्य थिए ? आज कतिवटा छन ? कसरी राज्यहरु बने र तिनको संख्या बढ्दै गयो ? सोच्नुस्, माननियज्युहरु दिमागमा जोड लगाएर सोच्नुस् । आफुहरुलाई नआए, अलि चालु टाइपका सभासदलाई सोध्नुस्, त्यसलाइ पनि नआए कुनै भोले कोरानलाई सोध्नुस्, कुनै भाडाको बुद्धिजिवीलाई वा संबिधानविद्लाई सोध्नुस । परेपछि सोध्नु पर्छ, गहिरिएर सोच्नुस् ।
माननीयज्युहरु, भारतको संबिधानमा 'संघियता' नामक एक अक्षर पनि उल्लेख नगरीकन कसरी भारतमा यतिका राज्यहरु मज्जासँग कार्यरत छन् ? मलाई साह्रै मन पराउने रुपचन्द्र बिष्ट भन्थे, 'वेश्याले पनि माया नै गर्छु भन्छे, माया नै गर्छु भन्छे! गर्नेले भन्दै भन्दैन, भन्नेले गर्दै गर्दैन !' माननीय सदस्यहरु, अब भाडाका बुद्धिजिविको बुद्धिमा लाग्न छाडनुस् । यिनीहरुमध्ये केही आज संघियता ठिक छ भन्छन्, भोलि टक्नट साबका कर्मचारीहरुले अर्कै 'तर्क' झक्िने 'प्रोजेक्ट' दिए भने संघियता कामै लाग्दैन भन्न पनि हिच्किचाउने छैनन् । निर्णय गर्नुपर्ने नेताहरुले नै हो । त्यसैले सोच्नुस्, नेताजीहरु सोच्नुस् । व्यक्तिगत रुपले म त संघियताको पक्षमा नै छु । तर संघियता कुनै जादुको छडी हो भन्ने मुर्खताचाहिं गर्न सक्दिनँ । संघियताको बिपक्षमा नानाथरि तर्क दिने कुनै नयाँ 'प्रोजेक्ट' शहरमा आउनअघि नै सोच्नुस माननियज्युहरु सोच्नुस् !
अब गर्ने के त ? यो प्रश्नको इमान्दार जवाफका निम्ति कुनै तुरे तुरानका उपदेशहरुले  भरिएको सात सय पेजको रिर्पोट पढिरहन पर्दैन । सके प्रमुख चार दल संघियताको एउटा खाकामा सहमत हुनुस् र तदनुरुप संबिधान निर्माण गर्नुस् । होइन भने मैले दिएको होमवर्क गरेर ल्याउनुस् । त्यसपछि अगाडीको पाठ पढाउला । जाँदाजाँदै होमवर्कका निम्ति माननियज्युहरुलाई एउटा ज्यादै काम लाग्ने 'टिप' दिन चाहन्छु सित्तैमा । संबिधानमा 'फेडरल' नामको एउटा अक्षर पनि नलेखिएको भारतको संबिधानको धारा १ मा उल्लेख भएअनुसार भारतमा जीवन्त संघीय प्रणाली 'बिकसित' भएर आएको हो । कुल जम्मा एक लाइनमा त्यो धारा १ ले भन्छ 'इण्डिया, द्याट इज भारत, स्याल बि अ यूनियन अफ स्टेट्स' -भारत अर्थात् इन्डिया राज्यहरुको संघ हुनेछ) । धारा १ लाई व्यबहारिक रुप दिन धारा २ मा फगत यतिमात्र उल्लेख छ, 'पार्लियामेन्ट मे बाइ ल एड्मिट इन्टु यूनियन अर स्टाब्लिस न्यू स्टेट्स अन सच टम्र्स एन्ड कन्डिसन्स एज इट थिंक्स फिट (संसदले उपयुक्त ठानेका शर्त र अवस्थाअनुसार कानुन बनाएर नयाँ राज्यहरु निर्माण गरी तिनीहरुलाई भारत गणराज्यमा सामेल गराउन सकिने छ) ।'
हाल नेपालमा कोलाहल मच्चाइरहेको 'संघियता' नामक शब्द उल्लेखसमेत नभएको  भारतको संबिधानमा लेखिएका यी जम्मा दुई वाक्यले बिगत ६० बर्षदेखि संघीयताको अवधारणालाई 'विकसित' गरेका छैनन् भनेर कसले भन्न सक्छ र ? यहाँ हाम्रा नेताजी र सभासदहरुलाई तुरे तुरानहरुले संबिधान निर्माणका नाममा संसार घुमाइसक्दा पनि त्यो दुई लाइनचाहि पढाएका रहेनछन् कि क्या हो ? वा त्यो पढाउने बेलामा बेलामा माननियज्युहरुलाई निद्रा लागेको थियो कि क्या हो ? क्या नाम वाइन पिएर ? रुपचन्द्र बिष्ट भन्थे, 'वेश्याले पनि माया नै गर्छु भन्छे, माया नै गर्छु भन्छे, गर्नेले भन्दै भन्दैन, भन्नेले गर्दै गर्दैन ।'
रुपचन्द्र दाइको कुरा ठिक हो कि होइन क्या नाम माननियज्युहरु ? 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out