सम्पत्ति, सेक्स र अपराध

सम्पत्ति र सेक्स मानिसको उत्थान र पतनसँग अभिन्न रूपले जोडिएका शब्द हुन। यी दुई शब्दको सन्तुलित प्रयोग हुन सकेन भने मानिस पाप र अपराधको दलदलमा फस्छ। डिआइजी रञ्जन कोइरालाले पत्नी हत्याको जघन्य अपराध गरेका छन् भने आधुनिक संस्कारमा ढालिएकी उनकी सुन्दर पत्नी गीताले सुन्दर जीवन गुमाएकी छिन्। रञ्जन र गीताका बीच खेल सम्पत्तिको मात्रै थिएन। विवाहपछिको अतिरिक्त सेक्स सम्बन्ध यो हत्याको प्रमुख कारण थियो। गीता-रञ्जनको जीवनका अहिलेसम्म नखुलेका पानाहरूबाट केपी ढुंगानाको रिपोर्ट :
देशमा कहिलेकाहीँ अचम्मलाग्दा घटना हुन्छन। यस्तै घटना भयो राजधानीमा। अपराध मनोविज्ञानमा अमेरिकाबाट पढेर आएका र अपराध अनुसन्धानमा अनुभवी मानिएका एकजना उच्च प्रहरी अधिकृतले आफ्नै पत्नीको हत्या गरे। यो पाशविक र बर्बर घटनाले पूरै देश हल्लियो।
पतिले पत्नी मारेको अथवा पत्नीले पति मारेको यो नै पहिलो घटना थिएन। तर, यो हत्याले काठमाडौंको तनाव र दबाबपूर्ण मध्यवर्गीय जीवनको खोक्रो आडम्बरलाई उदांग पारिदियो। डिआइजीपी रञ्जन कोइराला र उनकी पत्नी गीताका बीच सम्बन्ध सुमधुर थियो। दुई होनहार सन्तान, प्रहरीको रवाफिलो जागिर, प्रशस्त सम्पत्ति, नपुग केही थिएन।

इच्छा र आकांक्षा सन्तुलित हुन सकेन भने मानिसको जीवन नरक बन्छ। रञ्जन र गीताको सम्पन्नताको तीव्र आकांक्षाले लोभको रूप लियो। रञ्जन कमाउन थाले, गीता थन्क्याउन थालिन्। अन्ततः सम्पत्ति कमाउने अनियन्त्रित र असन्तुलित इच्छाले उनीहरूको पारिवारिक जीवनमा ठूलो चिरा पार्‍यो।
झापाको इज्जतदार ढकाल परिवारकी छोरी गीतामा सिर्जनात्मक क्षमता थियो। उनी अरू प्रहरी अधिकृतका पत्नीझैँ निष्त्रि्कय जीवन बिताउन तयार थिइनन्। प्रहरीको जागिरमा सधैँ व्यस्त रहने उनका पति रञ्जनको रंगिला व्यवहारले उनको विश्वास र भावनाको जग भत्काइदियो।
सुप्रसिद्ध मनोचिकित्सक सरोजप्रसाद ओझाका शब्दमा, 'श्रीमान् बाहिर छ भने उसले श्रीमतीलाई टाढैबाट भए पनि नियन्त्रणमा राख्न खोज्छ। श्रीमतीलाई बन्देजमा राखेर आफू मनलागी गरेर हिँड्छ। यस्तो प्रवृत्तिका श्रीमान्का कारण धेरै समस्या उत्पन्न हुन्छ। मान्छेको आआफ्नै स्वभाव र प्रवृत्तिले समस्या निम्त्याउने हो।'
घरबार छाडेर गीता बाहिर निस्किइन्। उनको स्वच्छन्द विचारमा पखेटा लाग्न थाले। उनी व्यावसायिक संस्थाहरूमा काम गर्न लागिन्। फरासिलो स्वभाव र मानवीय संवेदनाकी धनी गीतालाई समाजमा जम्न बेर लागेन। उनका अन्तरंग र उदात्त व्यवहार बढ्दै गए। रञ्जनसँग उनको नाता पातलिन थाल्यो। उनीहरूका बीच कटुता, वैमनस्य र इर्ष्या बढ्दै गयो। अन्ततः गत पुस २७ गते रञ्जनले गीताको नृशंस हत्या मात्रै गरेनन, उनको लाशलाई पालुङको सडकमा लगेर जलाइदिए।

आकांक्षाको समाप्ति
मंसिरको दोस्रो साता साफ च्याम्पियनसिपको समाचार संकलन गर्न भारत पुगेका नेपाली पत्रकारहरूले ताजमहल वरिपरि घुमिरहेका एक जोडी नेपाली भेटे। भारतमा नै भए पनि नेपाली भेटिँदा उनीहरू कुरा गर्न उत्सुक भए।
अन्दाजी ४० कटेका पुरुष र ३५ कटेकी युवती। युवती त्यत्ति कुरा गर्न रुचाइरहेकी थिइनन्। चितवनका पुरुष भने बोलक्कड रहेछन्, 'हामी घुम्न आएका।' उनीहरूले नेपाली सञ्चारकर्मीलाई तस्बिर खिच्नसमेत लगाएका थिए।
माघ ८ गते, सशस्त्रका डिआइजी रञ्जन कोइराला श्रीमतीको हत्या अभियोगमा पक्राउ परे। रञ्जनसँगै छापिएको युवतीको तस्बिर देख्दा ती पत्रकार चकित परे। उनीहरूलाई आफ्नो आ"खामा विश्वासै भएन।
'लौ यो केटी त हामीले ताजमहलमा भेटेको हैन?' उनीहरूले निश्चित गर्न क्यामरामा भएको तस्बिरसँग छापिएको तस्बिर भिडाए। निश्चित भयो, ताजमहलमा भेटिएकी युवती गीता नै थिइन्। तर, पुरुष रञ्जन थिएनन्।
सशस्त्र प्रहरीका डिआइजी रञ्जन स्वयम्भूमा बस्थे। उनीसँगै थिइन् तारा रेग्मी, जसलाई घरमा काम गर्नेहरूले समेत मेमसाहेब भनेर सम्बोधन गर्थे। रन्जन ताराको चितवनमा रहेको माइती पुगेर दसैँको टिकासमेत लगाएका थिए। दुवैबीचको सामाजिक सम्बन्ध निकट मित्रको मात्रै थियो। तर, भित्री सम्बन्ध भने श्रीमान्/श्रीमती समान।

रञ्जन विवाहित थिए, १५ र १० वर्षका दुई सन्तानका बाबु। उनको औपचारिक श्रीमती गीता ढकाल बुढानीलकन्ठमा बस्थिन्। उनीहरूको दाम्पत्य सम्बन्ध जोड्नै नसकिने गरी तोडिएको छ वर्ष नाघिसके पनि औपचारिक सम्बन्ध तोडिइसकेको थिएन।
उनीहरूको सम्बन्ध १० वर्षअघि चिसिन थालेको थियो। भौतिक रूपमै छुट्टिएर बसेको पनि छ वर्ष नाघिसकेको थियो। घरझगडाको छिनोफानोका लागि उनीहरू महिनैपिच्छे कहिले प्रहरी कार्यालयमा त कहिले मानव अधिकार र महिला आयोगमा पुगिरहन्थे। तै पनि, सामाजिक रूपमा भने उनीहरूको हैसियत श्रीमान्श्रीमतीकै थियो।
काठमाडौँमा बस्दै आएकी गीता र रञ्जनको २०५० सालमा मागी विवाह भएको थियो। काठमाडौँकी राम्रै घरानाकी शिक्षित छोरी थिइन् गीता। मानवशास्त्रमा स्नातक गरेकी थिइन्। रञ्जन पनि पोखराको हुनेखाने परिवारकै थिए। पढाइमा अब्बल। त्यति बेला उनी नेपाल प्रहरीमा प्रहरी निरीक्षक थिए।
आफन्तमार्फत ढकाल परिवारलाई विवाहको प्रस्ताव आएको थियो। राम्रै परिवारका सदस्य भएकाले दुवै परिवार विवाहका लागी राजी भए। प्रस्ताव आएकोे पाँचौ दिनमै जेठको अन्तिमतिर धुमधाम विवाह भयो।
विवाहलगत्तै रञ्जनको विगत खोतलियो। उनका प्रेमिकाका पत्रहरू फेला पारिन् गीताले। बुझ्दै जाँदा प्रेमिकाले विवाह गर्न नमानेको झोकमा हतार हतार गीतासँग विवाह गरेको रहस्य खुल्यो। तर, विवाहअगाडिको जीवन नखोतलौँ भन्ने रञ्जनको आग्रहमा गीता सहमत भइन्। त्यसको मूल्य भने चुकाइरहिन् उनले।
नयाँ बानेश्वरको सगोल घरमा बस्थे दुवै। २०५४ मा उनीहरूको पहिलो सन्तान जन्मिए। दुवै परिवारमा हर्षको माहोल थियो। रञ्जन अझ बढी खुसी थिए। पहिलो सन्तानको आगमनसँगै दुवैको सम्बन्ध केही कसिलो भयो।
पढाइमा अब्बल रञ्जन हठी स्वभावका थिए। अली झोक्की, मुडी, कसैलाई नगन्ने। शक्तिकेन्द्र रिझाउन खप्पिस। त्यसमा पनि उनको परिवारिक पृष्ठभूमिले पनि उनलाई साथ दिएको थियो। उनका बाबु गृह मन्त्रालयका अवकाशप्राप्त कर्मचारी थिए।
विसं २०४६ मा प्रहरी निरीक्षकमा नियुक्त भएका उनले सोह्रखुट्टेलगायत राम्रै स्थानमा पोस्टिङ पाए। २०५५ मा बढुवा भएपछि पनि उनी निराश हुनु परेन। तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलका उनी प्रियपात्र थिए।
माओवादी सशस्त्र द्वन्द्वविरुद्ध असफल प्रहरी अप्रेसन र सेनाले द्वन्द्वका विरुद्ध मुभ हुन देखाएको अनिच्छाका बीच सरकारले अर्धसैनिक सशस्त्र प्रहरीलाई कार्यान्वयनमा ल्याएपछि उनी २०५८ मा डिएसपीबाट एक तह बढुवा हुँदै एसपीको रूपमा सशस्त्र प्रहरीमा गए। प्रहरीमा बसेका उनका ब्याचका साथीले काँधमा बल्ल एसपीको फुली चढाउँदा १० वर्षकै बीचमा उनले डिआइजीको फुली लगाइसकेका थिए।
अब हुने बढुवामा उनी आफ्नो ब्याचबाट पहिलो नम्बरमा एआइजी हुने पक्का थियो। विजयकुमार गच्छदारको सदाशयताका कारण विवादका बीचमा पनि एआइजी बनेका दुर्जकुमार राई असफल भएमा उनी सशस्त्रको आइजीपी हुने त निश्चित नै थियो।
स्रोतका अनुसार, चीनमा तालिममा रहेका रञ्जन आइजिपी हुन शक्तिकेन्द्रको सम्पर्कमै थिए। उनी नेपाल आएर दुर्जकुमारको विकल्पमा आफू नै संगठन प्रमुख हुनुपर्छ भन्दै शक्तिकेन्द्र धाइरहेका थिए।
जनआन्दोलनमा आन्दोलनकारीको 'हत्या' गरेको दागका कारण दुर्जकुमारलाई संगठन प्रमुख बनाउँदा विवाद हुने भन्दै उनले आफूलाई विकल्पका रूपमा उभ्याएका थिए। र, उनको तर्क बलियो थियो।

सम्बन्धमा चिसोपन
मदिराप्रेमी र सन्काहा स्वभावका रञ्जन सामान्य विवादमा समेत श्रीमती कुट्न माहिर थिए। उनको कुटाइकै कारण गर्भमा रहेको पहिलो बच्चा तुहियो। उनले आफ्नो शिक्षा अगाडि बढाउन स्नातकोत्तर पढ्ने प्रयास गरिन्। त्यो पनि सफल भएन। सरकारी जागिरका लागि नाम समेत निकालिन्। तर, उनले जागिर खाने अनुमति पाइनन्। उनी पूर्ण गृहिणीको भूमिकामा घरमा थन्किइन्।
संयुक्त परिवारमा बस्न नसकेपछि रञ्जनले बुढानिलकन्ठमा रहेको जग्गामा घर बनाउन चाहेका थिए। घर बनाउन माइतीपक्ष आर्थिक सहयोग गर्न राजी भए पनि जग्गा गीताको नाममा पास गराउनुपर्ने सर्त आयो। रञ्जनले सर्त स्विकारे। भव्य घर बनाएर २०५७ सालदेखि त्यहीँ बस्न सुरु गरे।
२०५७ सालमै दोस्रो सन्तानको रूपमा छोरा जन्मिए। गीता सुत्केरीबाट उत्रेकी थिइनन्। त्यही बेला रञ्जनले बाहिर अर्की केटी राखेको र उहीसँग विवाहको तयारी गरेको सूचना पाइन्। यसबारे रञ्जनसँग कुरा हुँदा उनले अस्वीकार गरे पनि गीता विश्वस्त हुन सकिनन्।

पतिपत्नीबीच २०५७ सालपछि फाटो बढ्दै गयो। २०६० सालमा उनीहरू एकअर्कासँग बस्नै नसक्ने अवस्थामा पुगे।
रञ्जनले बाहिर अरू केटी राखेको गीताले थाहा पाइन्। घरेलु हिंसा बढ्दै गएपछि सोही साल रञ्जन बुढानिलकन्ठको घर छाडेर स्वयम्भूमा आमासँग बस्न थाले।

अब उनीहरूको सम्बन्ध जोडिन सक्दैन भन्नेमा गीता र उनका माइती सहमत थिए। तर, लोकलाज र श्रीमान्बिनाको श्रीमतीको सामाजिक जीवन असहज हुने त्रासले गीताका माइतीपक्षले वैवाहिक सम्बन्ध तोड्न दिएन। सकेसम्म दुवैलाई मिलाएर राख्ने नसके छुट्टाछुट्टै बसे पनि सामाजिक सम्बन्ध भने श्रीमान्श्रीमतीकै कायम गर्न उनीहरूको जोड थियो।
तर, रञ्जन सम्बन्ध विच्छेद चाहन्थे। उनी गीतासँगको औपचारिक सम्बन्ध तोडेर नयाँ सम्बन्धको प्रारम्भ गर्न चाहन्थे। निश्चित प्राबधान पूरा नगरी पुरुषले चाहेर पनि सम्बन्ध विच्छेद हुन नसक्ने कानुनी प्राबधानका कारण उनको प्रयास सफल हुन सकेन। र, यसले घरेलु हिंसा बढ्दै गयो।
रञ्जनविरुद्ध उजुरी बोक्दै गीता कहिले प्रहरी कार्यालय त कहिले महिला आयोग, सशस्त्र प्रहरी बल र प्रधानमन्त्रीको कार्यालय जान थालिन्। उनले रञ्जनको १६ जना महिलासँग सम्बन्ध रहेको विवरणसमेत टिपाइन्। सशस्त्र प्रहरी बलमा घरेलु हिंसा कसुर र सजाय ऐनअर्न्तगत कारबाहीको माग गर्दै उनको कार्यक्षमता, कार्यकुशलता र संगठनको प्रमुख जिम्मेवारी बहन गर्ने क्षमतामाथि समेत प्रश्न उठाएपछि रञ्जन थप आक्रोशित भएका थिए।
......
ट्रेकिङ व्यवसायी, छिमेकी चिकित्सक र एउटा पञ्जावी युवकसँग आफ्नी श्रीमतीको लसपस रहेको बात लगाउँदै हिँडे रञ्जनले। गीताले रातभर क्यासिनोमा जुवा खेल्ने गरेको दाबी गर्थे रञ्जन। महिला आयोगमा छलफलका क्रममा समेत गीताले रञ्जनले आफूलाई छिमेकीसँग सल्केको बात लगाएको बयान दिएकी थिइन्।
गीता व्यापारमा पनि संलग्न थिइन्। उनी दिल्ली र सिलगुडीबाट कुर्तासुरुवाल र महिला शृंगारका प्रसाधन थोकमा किनेर ल्याउँथिन्। यही क्रममा उनी भैरहवामा भन्सार छलेका सामग्रीसहित पक्राउ परेकी थिइन्। त्यसबेला उनी आफू डिआइजीको श्रीमती भएको पावर देखाएर कारबाहीबाट जोगिएकी थिइन्। घटनामा आफ्नो नाम मुछिएपछि रञ्जन गीतासँग थप आक्रोशित भएका थिए।
प्रहरीमा परेको उजुरीबाट रञ्जनलाई खासै असर नपरे पनि महिला आयोग र प्रधानमन्त्री कार्यालयमा समेत उजुरी परेपछि भने उनी संकटमा पर्दै गएका थिए। दुवै ठाउँमा बयान दिन जान बाध्य भएका थिए उनी।
महिला आयोगको बयानमा रञ्जनले गीतासँग नयाँ जीवन सुरु गर्न आफू तयार रहेको बताएका थिए। गीताले रञ्जनले सधैं पिट्ने, गुन्डा लगाएर मार्ने धम्की दिने बताए पनि उनले भने खासै झगडा नभएको दाबी गरेका थिए।
बारम्बार फोन गर्दा पनि गीताले फोन नउठाउने गरेको आरोप लगाउँथे रञ्जन। गीता कुनै पनि कुरामा लोग्नेसँग हार्न चाहन्नथिन्। जिद्धी स्वभावकी, आफूलाई अपशब्द प्रयोग गरेर गाली र दुर्व्यवहार गर्ने गरेको, सम्पत्ति सबै गीताको नाममा रहेको, चेकमा हस्ताक्षर गराउन पनि धेरै आग्रह गर्नुपर्ने भन्दै उनले परामर्शबाट गीताको बानीमा सुधार हुने भए भने आफू नयाँ जीवन सुरु गर्न राजी भएको बताए।
महिला आयोगले २०६८ जेठ २० गते दुवै पक्षलाई दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गरायो। पहिलो बुँदामा सहमति भएको मितिबाट दुवै मिलेर बस्ने वातावरण बनाउन रञ्जनलाई तीन महिना समय दिने र रञ्जनले ससुराले आफ्नो पैसा लिएको दाबी गरेकाले लेनदेनको विषयमा गीताको बाबुसँग छलफल गर्ने सहमति भएको थियो।

विवाद सम्पत्तिको
२०६६ माघ २४ गते अंश पाऊँ भन्दै रञ्जनले काठमाडौँ जिल्ला अदालतमा गीताविरुद्ध मुद्दा दायर गरेका थिए। बुढानिलकन्ठ चपलीमा डेढ रोपनी जग्गामा बनेको दुई तले घरमा आफ्नो हक कायम होस् भन्ने उनको दाबी थियो।
तर, घरजग्गा गीताको नाममा रहेकाले उनले सो सम्पत्ति दाइजोमा आएको दाबी गरेकी थिइन्। साथै, उनले रञ्जनकी आमाको नाममा रहेको सीतापाइलाको एक रोपनी र बानेश्वरमा रहेको चार आना जग्गामा समेत आफ्नो हक लाग्ने भन्दै दाबी गरेपछि रञ्जनको तनाव बढेको थियो।
गीताको माइतीपक्षकै भनाइअनुसार चपलीको जग्गा रञ्जनले नै किनेका थिए। त्यसमा घर बनाउन माइतीले सहयोग गरेका थिए। तर, रञ्जनको दाबीअनुसार सो जग्गा पनि उनको नै हो र घर पनि उनले नै बनाएका हुन्। उनले मुद्दामा दुई जना छोराको संरक्षक आफू भएकाले घर चार भाग लगाउनुपर्ने र दुई भाग छोराको र एक भाग आफ्नो गरी तीन भाग पाउनुपर्ने तथा एक भाग बराबरको सम्पत्ति गीतालाई दिन राजी भएको बताएका थिए।
अंश मुद्दाको किनारा लाग्न नपाउँदै फेरि गीताले श्रीमान्ले आफूलाई केही पनि खर्च नदिएको भन्दै अदालतमा मानाचामलको मुद्दा हालिन्। श्रीमान्ले छोराको खर्च पनि नबेहोरेकाले खर्च पाउँ भन्दै उनले अदालतमा मंसिर ८ गते मुद्दा दायर गरेकी थिइन्। उनको मुद्दाको सुनुवाई गर्दै पुस २७ गते नै अदालतले मानाचामलबापत रञ्जनले मासिक पाँच हजार रुपैयाँ गीतालाई दिन र सो कार्यान्वयन नभएसम्म उनको मासिक तलब रोक्का राख्न सशस्त्रको नाममा आदेश दियो। यसले रञ्जन फेरि भड्किए।
चीनमा तालिममा रहेका रञ्जन बिदामा नेपाल आएका थिए। पुस २७ गते बिहान उनी बुढानिलकन्ठमा गएर कान्छो छोरालाई घुमाउन भन्दै आफूसँगै लिएर गए। त्यही दिन बेलुका गीता बेपत्ता भइन्।
उनका माइतीपक्षले रञ्जनमाथि नै शंका गरे। रञ्जनले गीतालाई कतै लगेर थुनेर राखेको दाबी गरे। गीता सम्पर्कमा नआएपछि भोलिपल्ट उनका परिवारले बुढानिलकन्ठ प्रभागमा उजुरी दिए। घरभित्रै मारेर राखेको पीडितको माइतीको दाबीपछि प्रहरीले बुढानिलकन्ठको घर फोडेर खोज्यो। तर, केही फेला परेन।
छोरीको खोजीमा माइतीपक्ष सक्रिय भयो। बिदामा आएका रञ्जन चीन फर्कन खोजेका थिए। तर, गीताको अवस्था पत्ता नलागेसम्म नेपाल छोड्न प्रतिबन्ध लाग्यो।
गीताका बाबुले प्रहरीमा छोरी हराएको र उनी हराउनुको पछाडि रञ्जन संलग्न रहेको भन्दै प्रहरीमा उजुरी दिएपछि माघ २ गते दुवै पक्षबीच प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौँमा छलफल गरायो। रञ्जनले दुई दिन समय मागे। माघ ४ गते फेरि छलफल भयो। तर, गीता फेला परिनन्।
माघ ७ गते पालुङमा गाडी लिएर गएका रञ्जनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए। पुस २७ गते बेलुका पालुङको सडकमै कसैको शव जलाइएको थियो। भोलिपल्ट प्रहरीले शवका केही अवशेष फेला पारेको थियो। त्यही आशंकाका कारण रञ्जन नियन्त्रणमा परेका थिए। तर, सशस्त्रको डिआइजीको पदको पावर प्रयोग गरेर उनी मुक्त भए। उनी काठमाडौँ फर्किएनन्। तराईतिर हल्लिएर बसे रातभर। रञ्जनकी प्रेमिका र बडीगार्ड चितवन पुगेर उनलाई एक होटलमा राखे।
माघ ८ गते बिहान चितवनबाट उनी काठमाडौँ फर्कँदै थिए। अघिल्लो गाडीमा उनकी पे्रमिका थिइन्। उनी पछिल्लो गाडीमा थिए। नागढुंगामा आएपछि प्रहरीले उनलाई गीता हराएको घटनाबारे अनुसन्धान गर्न नियन्त्रणमा लिएर हनुमानढोका ल्यायो। जहाँ केरकार सुरु भएको २० मिनेटमै उनले आफूले पुस २७ गते नै गीताको हत्या गरी पालुङमा शव जलाएको स्वीकार गरे। केरकार गर्ने प्रहरीलाई उनले बताए, 'साह्रै तनाब दिएकी थिई, त्यसैले मारिदिए।'
गीता र रञ्जन एउटै बेडमा गुटमुटिन नसक्ने अवस्थामा पुगिसकेका थिए। उनीहरू जतिसक्यो चाँडो छुट्टिन चाहन्थे। नेपाली समाजमा डढेलोझैँ सल्केको एक्स्ट्रा म्यारिटल अफेयर्सको लप्कोले गीताजस्ता धेरैको ज्यान डढाउने खतरा बढेर गएको छ। यो सत्यलाई नेपाली समाजले अझै आत्मसात् गर्न नसकेको पछिल्लो उदाहरण हो यो घटना।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out