चपली हाइट : संकोच नमानौं

मनोज पण्डित, काठमाडौं ६ चैत,
सिनेमा : चपली हाइट
निर्देशन : दीपेन्द्र के. खनाल
कास्ट : आमिर गौतम, राज घिमिरे, विनिता बराल
श्रेणी : बायोपिक
सर्टिफिकेट : एडल्ट
‘द डर्टी पिक्चर’मा नायिका पात्रले एक नायकसँग भन्छिन् ‘चलचित्र तीन कारणले चल्छ –मनोरञ्जन, मनोरञ्जन र मनोरञ्जन । उनले आफूसँग त्यो मनोरञ्जन भएको दावी गर्छिन् । सिनेमा मनोरञ्जनले चल्छ भन्ने कुरामा त कुनै शंका नहोला तर, मनोरञ्जन चाहिँ केले चल्छ भन्ने प्रश्नको भने उत्तर सायदै सवैको लागि तिलस्मी विषय हो । विगतका नेपाली सिनेमा सर्जकले यस प्रश्नको उत्तर बलिउड सिनेमाको मार्गदर्शनमा खोजे । अब त्यसको विकल्पमा अन्य मार्गदर्शन खोजिँदै छ ।

मनोरञ्जनको लागि चलचित्रमा त्यस्तो कथा चाहिन्छ जसमा नायक र नायिका पात्रले दुःख पाउनुपर्छ र खलनायकको पक्षबाट दुःख दिइन्छ । नायक र नायिकाबीच प्रेम, विछोड, रोमान्स, गीत अनि नृत्य, खलनायक पक्षजस्ता भौतिक द्वन्द्व, केही तीता र केही मीठा, केही हाँसो, केही आँसुको मिश्रणले दर्शक मनोरञ्जनको अनुभूति गर्न सक्छन् भन्ने शैलीले नेपाली सिनेमालाई लामो समय गाँजेर राख्यो तर, पछिल्लो चरणमा आएर नायक, नायिका, खलनायक केन्द्रित पात्रको अवधारणालाई विस्थापित गर्दै पात्र केन्द्रित कथाहरूको प्रस्तुतिकरणमा मनोरञ्जन प्रस्फुटित हुने अवधारणा स्थापित हुँदै गइरहेको छ । यस्ता कथाहरूमा पात्र केन्द्रित द्वन्द्व, द्वन्द्वले सिर्जना गरेको चुनौति, चुनौति केन्द्रित संघर्ष अनि संघर्षको प्रतिफल निष्कर्षले आधारभूत रुपमै मानवीय पाटोको अन्तरसंघर्षलाई खोतल्न सक्छ जसको कारण चलचित्रले आधुनिक समाजको कुनै मनोवैज्ञानिक पक्षलाई प्रतिनिधित्व र प्रतिविम्वित गर्न सकेको छ जो आफैमा शुभसंकेत हो ।

हामीकहाँ एउटा अवधारणा स्थापित छ –कि राम्रो सिनेमा बन्छ कि व्यावसायिक सिनेमा ।’ यस अर्थमा व्यावसायिक हुन नराम्रो सिनेमा बन्नुपर्दछ र राम्रो सिनेमाले व्यावसाय गर्दैन । यो अवधारणाको उपज नेपाली सिनेमाको व्यावसायिक धरातलले कहिल्यै उचाइ हासिल गर्न सकेन जसको प्रतिफल सृजना र व्यापारबीच दरिलो सम्बन्ध स्थापना हुन सकेन । हरेक समय र विचारको पनि उमेर हुन्छ भनेजस्तै त्यो पुरातन बिचारको पनि उमेर ढल्कँदै गएपछि नयाँ विचार जन्मन थाले र वयस्क पनि हुँदै गए । जसले भन्ने थाले कि चलचित्र दर्शकलाई बाँधिराख्न सक्ने बन्छ कि बाँध्न नसक्ने हुन्छ । दर्शकलाई आफूभित्र समाहित गरिरहन चलचित्र राम्रो हो, गर्न नसक्ने चलचित्र नराम्रो हो । हरेक सिनेमासँग राम्रो हुने प्रशस्त सम्भावना हुन्छ र नराम्रो हुने सम्भावना न्यून तर जब दर्शक बन्न पुग्दछ तब दर्शकहरूको उपस्थिती र प्रतिक्रियाले जनाउँछ त्यो सिनेमा कस्तो हो ?

chapali_height_in_400_01

हाम्रोमा रहेको एउटा अवधारणा जसले ‘सामाजिक ऐतिहासिक राजनीतिक’ विषयको कथामा बनेको चलचित्र राम्रा हुने र अरु सामान्य विषयको कथाको बनेको चलचित्र व्यावसायिक हुन्छ भन्छ, यो पूर्णतः गलत अवधारणा हो । सामान्य विषयमा बनेको सिनेमाको कथाको संरचना र मनोविज्ञान उत्कृष्ट भएको हामीसँग प्रशस्त उदाहरण छन् भने ऐतिहासिक, सामाजिक र राजनीतिक विषयको भनिएका कथाको वर्णविन्यास एकदम कमजोर भएको पाइएको छ । यसर्थ कुन विषयको भन्दा पनि कुन कथाको संरचना र मनोविज्ञान निर्माणको गुणस्तर एकदम महत्वपूर्ण हुन्छ । जुनसुकै विषयमा पनि दरिलो कथा बन्न सक्छ र बनाउन सक्छ ।

सेक्स हाम्रो समाजले वर्जित गरेको विषय हो तसर्थ सेक्सको झल्को आउने वित्तिकै त्यसलाई अछुत बनाएर टिका टिप्पणी हुन्छ तर सेक्सको विषयमा रोमाञ्चक कथा बन्न सक्दछ भन्ने चेतना धेरै कम नेपालीमा भएको पाइन्छ । साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाले यस विषयमा केही उत्कृष्ट कृतिहरू दिएर गएको हामीसँग ठूलो उदाहरण छ भने नेपाली चलचित्रको हकमा दीपेन्द्र के. खनालमा त्यो चेतना भएको चलचित्रबाट पुष्टि हुन्छ ।

एक जोडी वयस्क केटाकेटी नवजीवन सुरु गर्न घरबाट भाग्छन् र एउटा साथीको घरमा केही दिन सहारा लिन्छन् अनि सुरु हुन्छ द्वन्द्व जो कथाको लागि घटनाको पृष्ठभूमि स्थापना गर्दादेखि नै स्थापित भएर आउँछ र घटनाको विकाससँगै गहिरिँदै जान्छ । जब कथाले एउटा रोमाञ्चक मोड समात्छ तब कथाले नितान्त दर्शकीय मनोविज्ञानलाई बाँधिराख्न सफल हुन्छ । दर्शकीय मनोविज्ञानलाई झक्झक्याउन सफल हुन्छ जुन यस चलचित्रको महत्वपूर्ण सवल पक्ष हो ।

यौन आधुनिक पुस्ताको मनोविज्ञानको एउटा प्रज्वलित पाटो हो र जब यौन सामाजिक दायराभन्दा फरक, अवैज्ञानिक र हिंसात्मक हुन जान्छ तब यसले मानवीय संवेदनाको पराकाष्टाको स्वरुप अँगाल्छ भन्ने यथार्थ अवधारणामा संरचना बनाएको यस चलचित्रको कथाले वर्तमानको सामाजिक मनोविज्ञानसँग यौन र हिंसाको दृष्टिकोणबाट अन्तक्रिया गरिरहेको छ । यो आदर्श बोकेको कथा होइन, यसमा आदर्श साँध्ने नायक र नायिका छैनन् । त्यसैले धेरैलाई फोहोरी लाग्न सक्छ तर फोहोर पनि हाम्रो समाजको एउटा पक्ष र यथार्थ हो । यो सिनेमाले एउटा घृणित यौन कुण्ठालाई प्रस्तुत गरेको छ र र उक्त परिस्थितीमा आफूलाई राखेर सोच्ने हरेकलाई रोमाञ्चकता पनि महसुस हुन सक्छ तथा हिंसात्मक पनि लाग्न सक्छ । यस्ता कथा चलचित्रमा देखाउन आँट गर्नु र देखिन थाल्नुलाई नेपाली चलचित्रले बदलिँदै गरेको सामाजिक आयामलाई आत्मसात गर्न खोज्नु हो तर यदि नै सम्पूर्ण हो भनेर यसैमा अन्धो भएर नेपाली सिनेमा अगाडि बढ्न खोजेमा भने दुर्घटना हुने निश्चित छ ।

अब हामी सबैले स्वीकार्नै पर्छ, हाम्रो जीवन आदर्शमयी छैन । आधुनिकता सँगसँगै हाम्रो समाज र हामी व्यक्तिगतरुपमा पनि स्वार्थी, कुण्ठित, हिंसात्मक र अमानवीय भैसकेका छौं । जहाँ हामीले थुप्रै ‘चपली हाइट’हरू देख्न सक्छौं । भोग्न सक्छौं । तसर्थ यस्ता पक्ष पनि चलचित्रमा उध्दृत हुँदा नेपाली सिनेमाले आयाम पाउनेछ । ‘चपली हाइट’ले नेपाली सिनेमाको आधुनिकीकरणमा केही उचाइ थपिदिएको छ ।

तर, आदर्शको चस्मा लगाएर ‘राम्रो सिनेमा त्यस्तो चलचित्र मात्र हो जसले समाजलाई शिक्षा दिन्छ, जसमा नायक र नायिकाले समाजका खराब र गलत पात्रविरुद्ध संघर्ष गरेर समाजमा परिवर्तन ल्याउँदै तथा समाजलाई सहि मार्गदर्शन दिन्छ भन्ने अवधारणा साँधेको छ तर त्यही दृष्टिकोणबाट यस सिनेमालाई हेर्दछ भने यो सिनेमा उसका लागि फोहोरी सिनेमा लाग्नु स्वभाविक हुन्छ । प्रश्न –तपाईं कस्तो चस्मा लगाएर यसलाई हेर्नुहुन्छ भन्ने हो ? चलचित्र विचारको भाँडो होइन, स्कुलको पाठ्यपुस्तक होइन, अर्थशाष्त्र होइन यो त कथा प्रस्तुतिको आधुनिक प्रक्रियामात्र हो । जसले कथा देखाउँछ र त्यो कथा हेर्ने प्रक्रिया रोमाञ्चक र अनुभूतिपूर्ण हुनुपर्दछ भन्ने दृष्टिकोण हो भने र तपाईँ कुनैपनि कथा हेर्न र अनुभूति गर्न खुला हृदयले तयार हुनुहुन्छ भने निशङ्कोच यस चलचित्र केही हदसम्म समय सान्दर्भिक हुन सक्छ ।

सन्दर्भभित्र र सन्दर्भबाहिर बसेर अन्त्यमा भन्नुपर्दा समय सँगसँगै मानिसका बिचारमा परिवर्तन आउँछन् । आवश्यकतामा परिवर्तन आउँछन् तसर्थ उत्पादनमा पनि परिवर्तन आउँछन् । परिवर्तनको क्रममा विभिन्न खुड्किलो पार गर्नुपर्ने हुन्छ तसर्थ परिवर्तनको सूचकलाई हामीले बेवास्ता गर्न मिल्दैन र गर्नु हुँदैन पनि । आफ्ना संकोचलाई अगाडि राखेर कुनैपनि यथार्थलाई मूल्यांकन र्गा त्यो व्यक्तिवादी र पूर्वाग्रही हुन्छ तसर्थ सबैभन्दा ठूलो चुनौति परिवर्तनलाई आत्मसात गर्नु हो ।

निश्चयपनि हरेक पक्षलाई हेर्ने दृष्टिकोण फरक–फरक हुन्छ । यस सिनेमाको विषयमा पनि फरक–फरक मतहरू आउने छन् तर यस सिनेमाका निर्देशकले एउटा कथालाई दृश्यात्मक अभिव्यक्ति गर्न धेरै नै सृजनात्मक मिहेनत गरेका छन् जसको लागि आधुनिक नेपाली सिनेमाको इतिहासको लेखनले अवश्य मूल्यांकन गर्नेछ । कहिलेकाहिँ नपत्याउने खोलाले बगाउँछ भनेजस्तै यस सिनेमाले पनि नपत्याउँदो तरिकाले नेपाली सिनेमाको विकासमा योगदान पुर्‍याउनेछ । यौनको विषयमा अब नेपाली समाजमा खुलेर बहस हुनुपर्दछ नत्र कुण्ठित बनाएर राख्दा थुप्रै दुर्घटना भैरहेको छ र भैरहनेछ । सोच्नुस त, यदि तपाईं त्यो नारी पात्रको परिस्थितीमा दुई मानसिक रोगीहरूको बिचमा पर्नुभयो भने के गर्नुहुन्छ ?

(पुनश्चः समिक्षा लेखनमा विभिन्न शैलीहरू स्थापित छन् । यस सिनेमाको समिक्षा जर्मन एक्सपेरेसिजमको शैलीमा छ । सिनेमा निर्माणमा नयाँ शैलीहरू अपनाएको खण्डमा समिक्षा लेखन पनि रोमाञ्चक र नयाँ शैलीहरू खोजी गरेर गरिन्छ । यसर्थ, समिक्षा शैली पनि पुरातन अवधारणामा नरहेको जानकारी गराउन चाहन्छु –समिक्षक ।)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out