सेनाले 'जबर्जस्ती' खेलाडी फर्कायो

अजय फुयाल/प्रकाश तिमल्सिना, काठमाडौं, फागुन ३० -'मेरा दुई खेलाडी अपहरणमा परे। मध्यरातमा सेनाले मेरा दुई खेलाडीलाई जबर्जस्ती आफ्नो खेल खेल्न लग्यो। मैले बिहान होटलमा ब्रेकफास्ट लिने बेला मात्र विकास र राजुलाई राइफलधारी सेनाले लगेको थाहा पाएँ।' नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्राहम रोबर्टस सोमबार एएफसी च्यालेन्ज कप समूह चरणको अन्तिम खेलपछि 'पोस्ट-म्याच कन्फ्रेन्स'मा आफ्ना खेलाडी अपहरणबारे बेलीविस्तार लगाउँदै थिए।
नेपाली सेनाले आइतबार मध्यरात आफ्ना दुई खेलाडी विकास मल्ल र राजु तामाङलाई 'अपहरण शैली' मा राष्ट्रिय टोली बसेको गोदावरीस्थित होटल भ्यू भृकुटीबाट फिर्ता लगेको थियो।
करिब डेढ महिनादेखि च्यालेन्ज कपको बन्द प्रशिक्षण शिविरमा रहेका उनीहरूलाई सेनाले अखिल नेपाल फुटबल संघ (एन्फा) तथा राष्ट्रिय टोली व्यवस्थापनलाई कुनै जानकारी नदिई लगेको हो।
सोमबार तुर्कमेनिस्तानसँगको खेलमा ३-० ले पराजित भएपछि प्रशिक्षक रोबर्टसले भने, 'उनीहरू सेना हुन्। उनीहरूको जीवन यस्तै छ। मैले विश्वमा कतै यस्तो देखेको छैन। अरू देशमा फुटबल 'फुटबल' नै हुन्छ। तर नेपालमा सेना निकै शक्तिशाली छ।'
सेनाले शुक्रबारदेखि लगनखेलस्थित राजदल गणमा सुरु पहिलो दक्षिण एसियाली आर्मी स्पोर्टस मिटको खेल खेल्न खेलाडी फिर्ता लगेको बताएको छ। 'आज हाम्रो निकै महत्त्वपूर्ण खेल थियो। हामीलाई दुवै खेलाडीको अभाव महसुस भइरहेको थियो। उनीहरू दुवै हाम्रो पहिलो-११ का खेलाडी हुन्,' सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले नागरिकसँग भने, 'उहाँहरूको गुनासो आफ्नो ठाउँमा छ। आज नेपालका लागि च्यालेन्ज कपको खेल प्रतिष्ठामा मात्र सीमित थियो, प्रतियोगितामा नेपालको सम्भावना सकिसकेको थियो। त्यही भएर हामीले फिर्ता बोलाएका हौं।'
प्रवक्ता क्षेत्रीले आर्मी मिटलाई ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा बयान गर्दै भने, 'स्थानीय प्रतियोगिता भएको भए हामी उनीहरूलाई बोलाउँदैनथ्यांै। यो पनि देश-देशको म्याच हो, यसको पनि उत्तिकै महत्त्व छ। दुई महत्त्वपूर्ण प्रतियोगिता एकैपटक पर्न गयो, त्यसैले समस्या ल्याएको हो। भविष्यमा यस्तो नहोला।'
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को नियमअनुसार अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय फुटबल संघले मागेका खेलाडी दिनु कुनै पनि क्लबको बाध्यता हो। प्रतियोगिता चलिरहेको बेला कुनै पनि क्लबले आफ्ना खेलाडी फिर्ता लानु फुटबलको सर्वमान्य नियमविपरीत हो। खेलाडी फिर्ता लानुपरे फुटबल संघ र टिम व्यवस्थापनबाट समयमै अनिवार्य 'रिलिज' लिनुपर्छ, जुन निश्चित प्रतियोगिताको हकमा लागु हुँदैन। यस्तो प्रतियोगितामा सुरुमै दर्ता गराइएका खेलाडीले मात्र देशको प्रतिनिधित्व गर्न पाउने भएकाले खेलाडी फिर्ता गर्न नपाउने नियम रहेको एन्फा अधिकारीहरू बताउँछन्।

नेपाली फुटबलमा ए डिभिजनका १४ क्लबमध्येको एक सेनाले मध्यरातमा दुई खेलाडी फिर्ता लाँदा एन्फा वा टिम व्यवस्थापनलाई कुनै जानकारी गराएको थिएन।

एन्फा अध्यक्ष गणेश थापाका अनुसार सेनाले आइतबार राति लगिसकेका खेलाडी फिर्ताबारे सोमबार बिहान ९ बजे एन्फालाई पत्र पठाएको थियो। सेनाका प्रवक्ता क्षेत्रीले थापाको भनाइ स्वीकार्दै भने, 'हामीले हिजो मौखिक जानकारी गराएर ल्याएका हौं। चिठी पनि तयार थियो, तर समयाभावले आज मात्र चिठी पुग्यो होला।'


सेनाले यसअघि पनि दशरथ रंगशालामा लिगको खेल जारी रहँदा ब्वाइज युनियन क्लबका रक्षक विनय चौधरीलाई मध्यान्तरमा 'भगौडा' भन्दै गिरफ्तार गरेको थियो। त्यतिबेला फुटबलविज्ञहरूले रंगशालाभित्र सेनाको कानुन नलाग्ने भन्दै विरोध गरेका थिए। २०६२ को लिगमा आफूविरुद्धको खेलमा सेनाले त्यसो गरेको हो।

यसै महिना सुदूरपश्चिममा सम्पन्न छैटौं राष्ट्रिय खेलकुदबाट पनि माओवादी सेनालाई सहभागी गराएको कारण अन्तिम समयमा आर्मी स्पोर्टस मिटको बहानामा सेनाले सहभागिता फिर्ता लिएको थियो।

२०६५ मा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदबाट पनि सेनाले माओवादीकै कारण केही खेल बहिस्कार गरेको थियो। छैटौं राष्ट्रिय खेलकुदमा सहभागिता नजनाएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सेनाका खेलाडीले अन्तर्राष्ट्रिय खेलमा भाग लिन नपाउने घोषणा गरेको थियो। राष्ट्रिय खेलकुदमा लगातार भाग नलिएपछि राखेप र नेपाली सेनाबीच चलिरहेको अघोषित द्वन्द्वमा यो घटनापछि एन्फा पनि राखेपको पक्षमा जाने देखिएको छ।

एएफसी उपाध्यक्ष तथा च्यालेन्ज कप कमिटीका अध्यक्षसमेत रहेका एन्फा अध्यक्ष थापा सेनाको कदमले नेपाली खेलकुदमा नराम्रो नजिर स्थापना हुनसक्ने बताउँदै प्रतियोगितापछि नियमअनुसारको निर्णय लिने बताउँछन्।

'नेपाली खेलकुदमा यत्रो योगदान गरेको सेनाले बिनासूचना मध्यरातमा राष्ट्रिय खेलाडी लानुले नराम्रो ट्रेन्ड बसाल्न सक्छ। आज बिहान ९ बजे सेनाको पत्र प्राप्त भयो, जबकि राति साढे ११ बजे खेलाडी लगिसकेको थियो,' थापाले भने, 'यसले नराम्रो नजिर बसाल्न सक्छ। हामीले यसलाई निकै गम्भीरतापूर्वक लिएका छौं। भविष्यमा यस्तो घटना नदोहोरिन उचित निर्णय लिन्छौं।'

अध्यक्ष थापाले प्रतियोगितालाई सफलसँग सम्पन्न पार्नु आफूहरूको पहिलो दायित्व भएकाले प्रतियोगिता सम्पन्न भएपछि सेनासँग सोधपुछ गर्ने र नियमपूर्वक आवश्यक निर्णय लिने बताए।



प्लेयर बक्स तनावमा
सोमबारको खेलअगाडि एएफसीका म्याच कमिस्नर खेलाडीको जाँच गर्न आउँदा नेपाली प्लेयर बक्सले 'मिडफिल्डर स्टार राजु र गोलकिपर विकास घाइते भएर अस्पतालमा उपचार गराइरहेका छन्' भनी ढाँट्नुपर्‍यो, जबकि त्यही बेला दुवै खेलाडी सेनाको खेलमा श्रीलंकासँग भिड्दै थिए।

'म्याच कमिस्नरले सोध्दा हामीले उनीहरू अभ्यास दौरान घाइते भएकाले अस्पतालमा उपचार गराइरहेका छन् भन्यौं,' टिमका एक खेलाडीले नागरिकसँग भने, 'त्यसपछि म्याच कमिस्नरले ठीकै छ भनेर गए।'

ती खेलाडीका अनुसार र्‍यान्डम डोपिङ परीक्षणमा राजु वा विकासमध्ये कोही पर्ला भनेर पूरा समय नेपाली प्लेयर बक्स तनावमा थियो। २० सदस्यीय टोलीमा अनिवार्य तीन गोलकिपर हुनुपर्ने नियमका कारण विकासको अनुपस्थितिले एन्फालाई जरिवाना हुनसक्ने कारण तनाव थपिएको हो।

डोपिङका लागि चिकित्सकहरूको टोलीले यीमध्ये कसैलाई रोजेको भए अनिवार्य रूपमा उपस्थित गराउनुपर्ने विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) को नियम छ। बोलाइएका खेलाडी अनुपस्थित भए ऊ स्वतः डोपिङमा असफल भएको मानिन्छ र कम्तीमा दुई वर्षको प्रतिबन्ध लाग्ने नियम छ।

एएफसी चिकित्सा टोलीका एक डाक्टरका अनुसार र्‍यान्डम डोपिङ परीक्षणका लागि गोलाप्रथाबाट खेलाडी चयन गरिन्छ।

'धन्न आज हाम्रो टोलीबाट निराजन खड्का र भरत खवासको परीक्षण गरियो,' ती खेलाडीले भने, 'विकास वा राजुको नाम आएको भए र उनीहरूलाई उपलब्ध गराउन नसकेको भए उनीहरू सोझै दुई वर्ष प्रतिबन्धमा पर्ने चिन्ताले टिम म्यानेजमेन्ट तनावमा थियो। आज टिममा नतिजाभन्दा पनि यही चिन्ता बढी थियो।'



खेलाडी अनुपस्थितिको प्रभाव
मिडफिल्डका भोलानाथ सिलवाल र रक्षक रविन श्रेष्ठ घाइते भएका बेला नेपाली टोलीका महŒवपूर्ण प्लेमेकर राजु तामाङलाई सोमबार दशरथ रंगशालाले बढी मिस गर्‍यो। राजुको अनुपस्थितिमा सन्तोष साहुखललाई मिडफिल्डमा झारिएको थियो भने निराजन खड्काले पनि पहिलो रोजाइ पाएका थिए। उता राजु र विकासको साथ पाएको सेनाले श्रीलंकाली सेनामाथि ४-१ को विजय पाएको थियो। जितका साथै समूह विजेताका रूपमा फाइनल पुगेको नेपाली सेनाले बुधबारको उपाधि भिडन्तमा भारतीय सेनाको सामना गर्नेछ। पहिलो खेलमा नेपाली सेनाले भारतीय सेनासँग गोलरहित बराबरी खेलेको थियो।



नेपाल '१६ औं शताब्दीमै रहेछ' : ग्राहम रोवर्टस्

नेपाल प्रशिक्षकका रूपमा आज मेरो अन्तिम दिन थियो। यस्तो महान देशको मुख्य प्रशिक्षक बन्न पाउनु मेरो लागि गर्व र खुसीको विषय हो। मलाई टिम हर्ने अवसर दिएकोमा एन्फा अध्यक्षलाई धन्यवाद दिन चाहन्छु। एन्फा पदाधिकारी, उपाध्यक्षलाई पनि धन्यवाद दिन चाहन्छु, जसले पर्दा पछाडि बसेर कडा परिश्रम गरिरहे। म मेरो अनन्य मित्र कृष्ण (व्यवस्थापक कृष्णभक्त मानन्धर) लाई धन्यवाद दिन चाहन्छु, जसले धेरै मेहनत गरे। म समर्थकलाई धन्यवाद दिन चाहन्छु। जसलाई म विश्वकै उत्कृष्ट दर्शकका रूपमा सम्मान दिन चाहन्छु। उनीहरूले मलाई जस्तोसुकै खुसी र दुःखको समयमा पनि साथ दिए।
अन्तमा गत वर्षदेखि नेपाल विश्व वरियतामा माथि उक्लिएको थियो र अहिले पनि दक्षिण एसियाली राष्ट्रमा नम्बर एकमा रहेको भुल्न हुँदैन। सबैले आफ्नो टिमप्रति गर्व गर्नुपर्छ।
नेपाल बसाइको प्रत्येक पलमा म रमाएँ। नेपाली फुटबलको सफल भविष्यका लागि म कामना गर्छु।
आज बिहान उठ्दा मेरा दुई खेलाडी थिएनन्। तिनीहरूलाई मध्यरातमा 'अपहरण' गरिएको थियो। आर्मीले लग्यो। दिक्कलाग्दो कुरा हो। राजु तामाङ र विकास मल्ललाई आर्मीले लगेको थियो। यदि उनीहरूलाई चाँडै नछाडेको भए उनीहरूलाई कोर्ट मार्सल हुन्छ भनियो। म विश्वास गर्थें, हामी २१ औं शताब्दीमा छौं, १६ औं शताब्दीमा होइन। म एकदमै दुःखी छु। यो नेपालीको जीवन हो। नेपालमा यसैगरी काम हुँदोरहेछ। उनीहरू आर्मी थिए। यो उनीहरूको जीवन थियो। अन्य देशमा फुटबल फुटबल नै रहन्छ। तर यहाँ उनीहरू आर्मी थिए। यहाँ आर्मी निकै ताकतवर रहेछ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out