क्या च्वाँक! तस्बिर अँध्यारो छ

क्या च्वाँक! भन्न त सजिलो छ। तर, आँखाले हेर्दा सुन्दर देखिने सबै अनुहार सुन्दर हुँदैनन्। सुन्दरतालाई निखार्ने एउटा छुट्टै कला हुन्छ मोडलिङको। संसारका धनी देशहरूमा धेरै उत्पादन र वस्तुहरूको आकर्षण एवं व्यापार बढाउन मोडेलहरूको सहयोग लिइन्छ। त्यसले लाखौँ सुन्दरीहरूलाई चिनाउँछ र अरबौँको व्यापार बढाउँछ। तर, नेपालजस्ता विकासशील देशहरूको अवस्था भिन्न छ।
डली गुरुङबाट सुरु भएको नेपाली मोडलिङ व्यवसाय अहिलेसम्म पनि विकसित हुन सकेको छैन। यसभित्रका दुःख र दर्दहरू अथाह छन्। कतिपय परिस्थितिमा ती दर्दहरू अभिव्यक्त गर्न नसकिने खालका हुन्छन्।
यसपटक काठमाडौँको मोडलिङको दुनियाँभित्रका अन्तरकथा र अँध्यारा पक्षहरूलाई उज्यालोमा ल्याउँदै छन् डिबी खड्का। साथमा पोखराबाट मनोज घर्तीमगर र धरानबाट गोपाल दाहालको रिपोर्ट।

क्या च्वाँक! तस्बिर अँध्यारो छ
आठ महिनाअघि गरमागरम फोटो सेसन गरेर मोडलिङमा प्रवेश गरेकी शीतल श्रेष्ठको मोडलिङको राप ओर्लिन थालेको छ। टेलिभिजनको पर्दामा देखिने गोराचिल्ला युवतीलाई हेरेर उनमा पनि मोडल बन्ने भूत चढेको थियो। तर, पर्दामा देखिएको जस्तो गोरो अनुहार वास्तविकतामा टिकाइ राख्न निकै कठिन रहेछ भन्ने निष्कर्षमा उनी पुगेकी छिन्। उनलाई एकचोटी पर्दामा अनुहार देखाएपछि अवसर र इज्जतको ताँती नै लाग्छ होला भन्ने लागेको थियो। 'वास्तविकतामा त्यस्तो रहेनछ', उनले भनिन्, 'अझै केही समय मोडलिङमै लाग्ने हो भने पैसासँगै इज्जत पनि लिलाम हुने निश्चित छ।'
भ्यासलिन, फेयर एन्ड लभ्लीलगायत एक दर्जनभन्दा बढी विज्ञापनमा मोडलिङ गरेर राम्रै नाम र दाम कमाएकी प्रज्ञा पोखरेल पनि मोडलिङबाट पलायन भएकी छिन्। हाल एक निजी संस्थामा काम गरिरहेकी उनले मोडलिङमा भविष्य नदेखेर अलग्गिएको बताइन्। उनले भनिन्, 'मोडलिङ मेरो सोख थियो। त्यसैले सोख पूरा भएपछि करिअरतिर लागेँ।' उनकै कुरामा सही थाप्छिन् मोडल सिजन भट्टचन। मोडललाई ट्रेनिङ दिने पेसामा संलग्न उनले भनिन्, 'अहिले पनि मोडलिङ आर्थिक आम्दानी र इज्जत दुइटै कुरामा दयनीय छ।'
सौन्दर्य र कलाको सुन्दर संयोजन मोडलिङ हो। विश्वबजारमा मोडलिङ निरन्तर बिस्तार हुँदै छ। सुन्दरता र कलामा फेसन थपिएपछि यसको रंग झन् चम्किएको हो। विश्वव्यापीकरणको प्रभावले नेपालमा मोडलिङप्रतिको क्रेज बढे पनि यसको व्यावसायिकता भने खुम्चिँदै गएको छ।
टेलिभिजनका पर्दामा विश्व बजारका मोडल हेरेर नेपाललाई मोडलिङ आधार बनाउन खोज्ने युवतीको संख्या पनि बाक्लै छ। यहीमध्येकी एउटी हुन्, सुविना आले। भर्खरै १२ कक्षा पास गरेकी सुविना पढाइलाई ब्रेक हान्दैै मोडलिङको इन्जिन तताउने सुरमा छिन्। भारतमा मोडलिङ गरिरहेकी आफ्नै साथीको हाइफाइ जिन्दगी देखेर उनी त्यता तानिएकी हुन्। सुन्दर अनुहार र आकर्षक ज्यानकी सुविनाले मोडलिङप्रति निकै आशावादी हुँदै भनिन्, 'नाम र दाम कमाउने आशामा मोडलिङतिर लागेकी हुँ।'
उनीजस्तै आशाको पन्तुरो बोकेर हरेक महिना झन्डै दुई सय युवती ग्ल्यामर फोटोग्राफर, फोटो स्टुडियो र ग्ल्यामर साइट सञ्चालकको ढोका ढक्ढक्याउँछन्। मोडललाई परिचय गराउने दर्जनौँ वेभसाइट छन्। १४ वर्षदेखि साइबरसंसार सञ्चालन गरिरहेका अभिनव र दिपंकर कसजू दाजुभाइले नेपाली सुन्दरीलाई इन्टरनेटको होमपेजमा प्रवेश गराएका हुन्। ट्राभल र इन्टरटेन्मेन्टलाई लक्षित गरेर खोलिएको साइबरसंसार अन्ततः मोडलिङमा केन्द्रित भयो। साढे दुई सयभन्दा बढी युवतीलाई मोडलिङको रंगिन दुनियाँमा प्रवेश गराए पनि दर्जनजति मोडेल मात्रै अहिले क्रियाशील छन्।
नेटनशा डटकमका लागि फोटो सेसन गराउनेको संख्या पनि निकै छ । नेटनशामा चम्किएका केही युवती हिरोइन भएर टिकिरहेका छन् भने मोडलिङ मात्रै गर्ने रहर भएका धेरैको अत्तोपत्तो नभएको सञ्चालक तथा ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठ बताउँछन्। ग्ल्यामर नेपाल डटकम, काठमाडौँक्रेज डटकम लगायतका साइटले पनि थुप्रै युवतीलाई मोडल बनाएका छन्। यीबाहेक मोडलिङ गर्ने भन्दै फोटो स्टुडियोको दैलो चाहार्नेको संख्या अझै धेरै छ। फोटो बैंक स्टुडियोका फोटोग्राफर राजकुमार धमला भन्छन्, 'मासिक ५० भन्दा बढी सोडषी मोडल हुने रहरले फोटो खिचाउँछन्।'
पछिल्लो समय निकै मौलाएको सुन्दरी प्रतियोगिता पनि मोडल उत्पादनको ठूलो कारखाना भएको छ। वार्षिक झन्डै एक सयको हाराहारीमा हुने यस्ता प्रतियोगिताबाट तीन जना मात्रै यो क्षेत्रमा आए पनि प्रतिवर्ष तीन सय मोडल उत्पादन हुन्छन्।
यीमध्ये अधिकांश एकदुई म्युजिक भिडियोमा अनुहार देखाएर हराउँछन् भने केही मात्र स्थापित हुन्छन्। मोडललाई मोडलिङमा टिकाउने मेरुदण्डका रूपमा विज्ञापनलाई लिइन्छ। तर, नेपाली टेलिभिजनमा देखिने झन्डै ९० प्रतिशत विज्ञापन मल्टिनेसनल कम्पनीले उत्पादन गरेको विदेशी भाषाबाट नेपालीकरण गरिएको छ। वार्षिक चार अर्ब ३० करोड रुपैयाँ बराबरको विज्ञापन नेपाली बजारमा खपत हुन्छ।
भारतीय कलाकारका दृश्यमा नेपाली आवाज दिएर प्रसार गरिने विज्ञापनको बोलवाला रहेसम्म नेपाली मोडलले गरिखान नसक्नेमा नेपाल विज्ञापन संघ(आन)का अध्यक्ष राजकुमार भट्टराई सहमत छन्। उनी भन्छन् 'विज्ञापन व्यवसायीले पटकपटक यस्ता कुरा उठाएपछि अहिले केही नेपाली कलाकारले भए पनि अवसर पाएका छन्।'
पहिलोपटक करिब साढे दुई दशकअघि बनेको नेपाली विज्ञापनमा काम गरेवापत मोडल डली गुरुङले १२ सय रुपैयाँ पाएकी थिइन्। हिजोआज पनि मोडलले पाउने औसत पारिश्रमिक त्योभन्दा फरक छैन। विज्ञापन क्षेत्रले मोडल जन्माउने र टिकाउने विश्वव्यापी नियम भए पनि नेपालमा त्यस्तो नभएको अध्यक्ष भट्टराई स्वीकार्छन्। उनी भन्छन्, 'बजेट नै थोरै हुने भएकाले नेपालमा विज्ञापनबाट मोडल बाँच्ने अवस्था छैन।'
विज्ञापनमा नेपाली मोडललाई पहिलोपटक प्रयोग गर्ने प्रेम उपाध्याय नेपाली मोडलको दयनीय अवस्थामा चिन्तित छन्। उनी भन्छन्, 'पहिलोपटक वाइवाइ चाउचाउको विज्ञापन बनाउँदा २५ हजार रुपैयाँले काम चलाउनु परेको थियो, तैपनि मोडललाई १२ सय दिएँ।'
फेसन सो मोडलका लागि अर्काे आकर्षक क्षेत्र हो। नेपालमा अहिले पनि फेसन सो बामे सरिरहेको छ। फेसन सोमा पहिरन प्रदर्शन गर्न र्‍याम्पमा क्याटवाक गरेबापत मोडलले राम्रै पारिश्रमिक पनि पाउँछन्। मोडलले एक दिन र्‍याम्पमा उत्रिएबापत कम्तिमा १० हजार रुपैयाँदेखि २५ हजारसम्म लिने गरेका छन्। नेपालमा एकदमै थोरै फेसन सो हुने भएकाले यसले मात्र मोडललाई बचाउन सक्दैन। नेपालीको आफ्नै ब्रान्ड नभएकाले पनि फेसन सो कम हुने गरेको फेसन डिजाइनर उत्तम बनेपाली बताउँछन्। उनी भन्छन्, 'नेपालमा ब्रान्ड र फेसनप्रेमीको संख्या कम भएकाले सोको खर्च नै उठ्दैन।'
नेपाली युवतीले बुझेको र यहाँ चलेको मोडलिङ भनेको म्युजिक भिडियोमा देखिनु हो। नेपाली संगीतमा म्युजिक भिडियो बनाउनै पर्ने स्थिति सिर्जना भएपछि केही मोडलले जेनतेन पेट पालेका छन्। भिडियोको निम्ति मोडलिङ गर्ने स्थापित मोडलले कम्तिमा पाँच हजारदेखि ५० हजारसम्म लिन थालेका छन्। मोडलको मात्रै होइन, अहिलेका चल्तिका नायिकाको पनि आम्दानीको मुख्य स्रोत नै म्युजिक भिडियो बनेको छ। तर, नयाँ मोडललाई म्युजिक भिडियोमा प्रवेश पाउन भने निकै गाह्रो छ। 'चलेका अनुहार नै बढी लिन्छन्', मोडल शीतल श्रेष्ठ भन्छिन्। विशेष गरी आधुनिक गीतका भिडियो टेलिभिजन लक्षित हुने भएकाले चलेका हिरोहिरोइन लिइनेमा प्रायः निर्देशक सहमत छन्। अहिले पनि भिडियोमा धेरै देखिनेमा नायिका नै धेरै छन्। त्यसमा पनि नम्रता श्रेष्ठ, नन्दिता केसी, केकी अधिकारी, रिमा विश्वकर्मा, बेनिशा हमाल, ऋचा शर्मालगायतका छन्।
अधिकांश मोडल बेरोजगार रहे पनि उनीहरूको चर्चा भने घटेको छैन। २०५० सालतिर अर्धनग्न भएर सुनिता खड्का र तुलसा सिलवालले देखाएको उदारतालाई पछ्याउनेको संख्या बढ्दो छ। टपलेस, बिकिनीमा र बेडसिनमा फोटो सेसन गराएर रातारात चर्चाको शिखरमा पुग्ने युवतीहरूको सूची लामो बन्छ। जिया केसी, सोनिया केसी, नेहा निरौला, खुसी खड्का, सपना गुरुङ, शीतल श्रेष्ठ, सुनीता गन्धर्व, बिनिता बराल, सुष्मा कार्की, रेखा पुरी, दीक्षा कुँवर, सुवी रुम्बा, रोशनी लामा, सोनी राईलगायतका मोडलले यस वर्ष पनि अङ्ग प्रदर्शनमा उदारता देखाएर बजार तताए। प्रायः मोडल 'कथाले मागेअनुसार आफूलाई नङ्ग्याउन सक्छु' भन्दै विज्ञापन गर्छन्। यसरी मोडल बदनाम भएपछि खुसी पुनलाई परिवारले मोडल बन्न तगारो हाल्यो। उनले भनिन्, 'मोडलिङ गर्छुभन्दा अभिभावकले त्यस्ता बिग्रिने काममा नलाग् भन्छन्।'
आफैँले निर्देशन गरेको भिडियोबाट मोडलिङमा प्रवेश गरेकी लामा थरकी एक मोडलको उदाहरण दिँदै एक म्युजिक भिडियो निर्देशकले भने, 'चार वर्षमा बौद्धमा घर र गाडी जोड्ने हैसियत कसरी भयो भन्ने कुरा पत्ता लगाउन थप दिमाग खियाउनै पर्दैन।' भर्खरै विदेशमा कार्यक्रम गरेर फर्केका उनी त्यहाँका रेस्टुरेन्टमा नेपाली साइट र पत्रिकामा छाएका थुप्रै मोडेल भेटिएको बताउँछन्।
अंग प्रदर्शनलाई भर्‍याङ बनाएर मोडलिङ गर्ने र मोडलिङलाई पुल बनाएर विदेशमा अलप हुने युवतीको संख्या बढेका कारण यस्तो अवस्था आएको कुरामा चल्तिका धेरै मोडल एकमत छन्। नेपाली साइट र पत्रपत्रिकामा फोटो छपाएर मोडलको नाममा दुबई, कतार, सिंगापुर, मलेसियालगायतका देशको भिसा लगाउने युवतीको संख्या बाक्लै छ। यो सूचीमा अहिले दक्षिण अफ्रिका पनि थपिएको छ।
नेपाली मोडल भनेर सिंगापुर पुगेका दुई नेपाली मोडल सब्बु शाह र रमिता भण्डारीलाई दुई वर्षअघि सिंगापुर प्रहरीले यौन गतिविधिमा संलग्न भएको अवस्थामा पक्राउ गरेपछि नेपाली मोडलको रोजगारीको स्रोत सार्वजनिक भएको थियो। त्यसपछि नेपालमा नाम चलेका मोडलका लागि एकहप्ते गन्तव्य भएको छ सिंगापुर।
नेपालमा मोडलको कुनै मापदण्ड नभएका कारण पनि यो क्षेत्र बदनाम भएको हो। अन्तर्राष्ट्रिय मापदण्डअनुसार मोडल हुन कम्तिमा ५ फिट ८ इन्च उचाइका साथै आकर्षक अनुहार र जीउडाल आवश्यक पर्छ। नेपालमा फोटोमा ठिकठाक देखिने जोसुकै व्यक्ति मोडल बन्न तम्सिन्छन्। नेपालमा मोडलिङका लागि अनुहार मात्रै हेरिने भएकाले फोटोजेनिक अनुहार मोडल हुनसक्ने साइबर संसारका अभिनव बताउँछन्।
मोडलिङ व्यवसायले फड्को मार्ने आशामा द र्‍याम्प, सिएनएन, ग्यालेक्सीलगायत केही मोडल एजेन्सी सञ्चालित छन्। तर, मोडल बन्न एजेन्सीमार्फत् जानेभन्दा बाहिरबाटै मोडलिङ गर्ने बढी छन्। राम्रोसँग ट्रेनिङ गराए पनि खपत हुने ठाउँ अभावका कारण ट्रेनिङमा धेरै खर्च नगरेको एजेन्सी सञ्चालक बताउँछन्।

पूर्वमा जम्न नसकेको मोडलिङ
गोपाल दाहाल, धारान- कुनै जमानामा पूर्वमा ‘फेसन सो' आयोजनाको होडबाजी नै चल्थ्यो। धरान, इटहरी, विराटनगर, बिर्तामोड र दमकमा हुने प्रतिस्पर्धात्मक सोहरू मजैले जम्थे पनि। तर, हिजोआज त्यस्ता सो हुनै छाडेका छन्। त्यसताकाका मोडलमध्ये धेरै बिहे गरेर परिवार सम्हाल्न व्यस्त छन्, कोही काम नपाएर मोडलिङबाटै पलायन भए।
एक दशकपछि पूर्वमा विभिन्न उत्सव र मेलामा फाट्टफुट्ट फरि फेसन सो हुन थालेका छन्। स्थानीय पत्रपत्रिकाले मोडल युवतीलाई समेटेर विभिन्न पोस्चरका तस्बिर छाप्न थालेका छन्। यसपछि अहिले मोडलिङमा पूर्वेली युवा जुर्मुराउन थालेका छन्। तर, पूर्वमा व्यावसायिक बन्न नसकेको मोडलिङमा लामो समय कुनै पनि मोडल टिक्ने छाँट छैन। पूर्वमा राजधानीजस्तो मोडलिङ वेबसाइट छैनन् भन्दा फरक पर्दैन। मोडलिङ गरेका तस्बिर नियमित अपलोड गर्ने वेबसाइटको कमी खट्किन्छ पूर्वमा। झापाको 'पल मासिक', इटहरीको 'कलेज अफ टाइम्स मासिक' र धरानको 'बिएसी न्युज साप्ताहिक'ले मोडल भन्दै युवायुवतीका तस्बिर नियमित छाप्ने गरेका छन्। तर, नवयौवनाहरू पत्रपत्रिकामा आफ्नो तस्बिर हेरेर आफैँ दंग पर्न र साथीबाट प्रशंसा पाउने लोभमा फोटो सुट गराइरहेका छन्। फोटोसुटका लागि मरिहत्ते गर्ने धेरै युवती मोडलिङमा करियर बनाउनभन्दा पनि रहरका लागि मोडल बन्न चाहेको बताउन पछि पर्दैनन्।
हालै फोटोसुट गराएकी धराने सवनम राणा रहर पूरा गर्न मात्र पत्रिकाका लागि मोडलिङ गरेको बताउँछिन्। उनी भन्छिन्, 'मोडलिङ त फुर्सदमा मात्र गर्ने हो, करियर त म होटल म्यानेजमेन्टमा बनाउन चाहन्छु।'
मोडलिङलाई रहर पूरा गर्ने अवसरका रूपमा लिनेमा उदयपुर गाईघाटकी अञ्जु राई पनि पर्छिन्। गाईघाटमा पसल सञ्चालन गर्ने उनी मोडलिङमा भविष्य बन्ने अवस्था नभएकाले चाहना हुँदाहँुदै पनि त्यसमा नलागेको बताउँछिन्।
पूर्वमा व्यावसायिक मोडलिङ गर्नसक्ने अवस्था अहिले पनि छैन। एक त फेसन सो आक्कलझुक्कल मात्र हुन्छन्, त्यसमा पनि आयोजकले मोडललाई पैसा दिँदैनन्। बरु सो तयारीमा मोडलकै खल्तीबाट खर्च हुने गरेको छ। विभिन्न कन्जुमर प्रोडक्टका विज्ञापन पूर्वमा बन्दैनन्। यसैले मोडलिङ पनि त्यति हुँदैन। अझ म्युजिक भिडियोमा मोडलिङ गर्न चाहनेले त पैसा पाउनु त कहाँकहाँ उल्टै पैसा तिर्नु पर्छ। पूर्वमा बन्ने धेरै म्युजिक भिडियोमा अनुहार देखाउन मोडलले खर्च गर्ने गरेका छन्। मोडल बन्न चाहनेसँग पैसा उठाएर भिडियो छायांकन गर्ने निर्माता, निर्देशक अनगिन्ति छन्। अझ कतिले त यसलाई कमाउने धन्धा नै बनाएका छन्।
'नक्कली' भनेर मोडलका कुरा काट्ने पूर्वेली छ्यापछ्याप्ति थिए। अहिले मोडललाई हेर्ने समाजिक दृष्टिकोण फेरिए पनि मोडलिङ भने प्रोफेसनल बन्न सकेको छैन।
२०५० सालपछि पूर्वमा मोडलिङ चम्कन थालेको थियो। त्यसबेला लगातारजस्तै हुने फेसन सोमा यहाँका मोडल व्यस्त थिए। तर, पाँच वर्ष पनि रहेन मोडलिङको त्यो अवस्था। भर्खर जम्न थालेको पूर्वको मोडलिङमा द्वन्द्वको ग्रहण लाग्यो। त्यसबेला सशस्त्र संघर्षरत माओवादीको नजरमा मोडलिङ ‘बुर्जुवा पुँजीवादी संास्कृतिक विकृति' र अपराधसरह नै भयो। माओवादीले भौतिक कारवाही गर्ने डरले पनि फेसन सो भएनन्। र, मोडलिङ सुक्यो। मोडलिङ एकातिर द्वन्द्वको मारमा पर्‍यो भने अर्कातिर नियमित सो हुन नसक्दा व्यावसायिक बन्न सकेन।
त्यसबेला पूर्वमा फेसन सो गर्ने फेसन डिजाइनर उत्तम बनेपाली पूर्वमै मोडलिङ गरेर बाँच्ने अवस्था नरहेको बताउँछन्। अहिले नेपाली फिल्ममा जमेकी रेखा थापादेखि नम्रता श्रेष्ठ हुँदै हर्षिका श्रेष्ठसम्म मोडलिङबाटै प्रवेश गरेका हुन्। उत्तम भन्छन, ‘मोडलिङमा हाइट पनि महŒवपूर्ण हुन्छ, हाइट कम भएका कारण मोडलिङमा जम्न गाह्रो भएपछि अभिनयमा लागेकी रेखा फिल्ममा मजाले जमिन्।'
मोडलिङ प्रोफेसनल नभएपछि फेसन डिजाइनिङ पनि प्रोफेसनल बन्न सक्दैन। धरानमा फेसन डिजाइन स्थापित गर्न खोजेका उत्तम पूर्वमा प्रोफेसनल बन्न गाह्रो भएपछि काठमाडाँैतिर लागे। धरानमा चेलिबेटी साडी कुर्ता सोरुम सञ्चालन गरिरहेका उनका भाइ दीपक बनेपाली सोरुम बन्द गरेर भर्खरै राजधानी सरे।
पूर्वमा मोडलिङ व्यावसायिक बन्न नसक्नुको मुख्य कारण मोडल नै भएको बताउँछन् उत्तम। ‘अरुको ताली सुन्ने लोभमा मोडलिङमा आउने मोडल फ्रिमा काम गर्न खोज्छन्। यसको असर प्रोफेसनल बन्न चाहनेलाई परेको छ', उनी भन्छन्, 'काठमाडाँैमा पसलले समेत मोडल राखेर विज्ञापन गरिरहेका छन्, पूर्वमा त्यस्तो अवस्था कहिले आउला!'
‘चान्स लिन खोज्ने धेरै हुन्छन्'


हर्षिका श्रेष्ठ, नायिका
मैले २००२ मा धरानमा भएको पहिलो मिस पूर्वाञ्चलमा सहभागी भएपछि मोडलिङ बुझ्न थालेँ। पछि काठमाडौँमा करिब २ वर्ष र्‍याम्प मोडलिङ गरेँ। म्युजिक भिडियो र विज्ञापनमा पनि मोडलिङ गरेँ।
जुन फिल्डमा पनि राम्री केटी देख्दा चान्स लिन खोज्ने पुरुषहरू हुन्छन्। मोडलिङ त झन् राम्री देखिने फिल्ड भएकाले यसमा चान्स लिन खोज्नेहरू अझ धेरै हुन्छन्। मसँग पनि चान्स लिन खोज्नेहरू धेरै हुन्थे। कतिसँग त चान्स लिन खोजेकाले झगडा परेको छ। तर आफू सही भए, कसैले केही गर्न सक्दैन। व्यावसायिकता नभएकै कारण यो क्षेत्रमा चान्स दिने नाममा उल्टै चान्स लिन खोज्ने बढेका हुन्।
मोडलिङले मात्र व्यावसायिक बन्ने अवस्था छैन अहिले। हबीका कारण मोडलिङमा लागेको भन्नेहरूले यो क्षेत्र बिगारेका छन्। म उनीहरूलाई आग्रह गर्छु, ‘प्लिज, हबीले मात्र यो क्षेत्रमा नआइदिनुस्। आउने भए लक्ष्य लिएर आउनुस्।'


डामाडोल मोडलिङ
मनोज घर्तीमगर, पोखरा- मोडलिङमा करिअर बनाउने सपनामा दौडिने युवतीहरू पोखरामा एकताका निकै थिए। तर, अहिले धेरै युवती त्यो ह्याङओभरबाट मुक्त छन्। नाम चलेका मोडलहरू पनि कामविहीन भएर पलायन हुन थालेपछि पोखरामा मोडलिङ सुस्ताएको हो।

मोडलिङमा जमेर देखाउँछु भन्नेहरू नै अवसरको अभावमा कोही विदेशिएका छन् भने कोही अरू नै पेशा अँगालेर बसेका छन्। मोडलिङ धरासयी हुनुमा सोचेजस्तो अवसर र उपलब्धि प्राप्त नहुनु नै हो। पोखरामा हुने धेरैजसो मोडलिङसम्बन्धी कार्यक्रममा सहभागी मोडेलहरूले बिना पारिश्रमिक काम गर्छन्। विभिन्न नाममा हुने ब्युटी कन्टेस्ट, फेसन सो युवतीलाई मोडलिङ गर्न लगाए पनि सम्बन्धित संस्थाले मोडललाई पैसा दिँदैनन्। 'कार्यक्रममा फेसन सो गराउँछन् तर पैसा दिँदैनन्', हट मोडलको परिचय बनाएकी बबिना शर्मा भन्छिन्।

र्‍याम्पमा उत्रिएर ताली बटुल्नु नै पोखेरेली मोडलको ठूलो उपलब्धि भएको छ । सुरूमा रहरले निःशुल्क मोडलिङ गरे पनि लामो समयसम्म अन्य अवसर नपाएपछि मोडलहरू पलायन हुनु स्वभाविक हो। मोडललाई हेर्ने दृष्टिकोण राम्रो नभएका कारण विवाहपछि पेसालाई निरन्तरता दिन नसक्ने पनि धेरै छन्। 'पहिलो कुरा अवसर नै छैन, अवसर पाए पनि राम्रो आयआर्जन हुँदैन अनि किन गर्ने? भनेर मोडलहरू पलायन हुन्छन्' पोखराका पहिलो कोरियोग्राफर आशिष श्रेष्ठले भने।

पोखरामा हुने फेसन सो, ब्युटी कन्टेस्ट, र्‍याम्प मोडलिङ लगायतका कार्यक्रमको तस्बिर कैद गर्दै आएका जक्सन डटकमका फोटो पत्रकार भूपाल गुरूङ पोखराको मोडलिङ डामाडोल अवस्थामा पुगेको बताउँछन्। 'पहिलेको जस्तो मोडलिङ चार्म छैन पोखरामा, मोडलिङ क्षेत्रमा लाग्नेहरू घट्दै गएका छन्' भूपाल थप्छन्, ‘राम्रो अनुहार देखेपछि हामीले मोडलिङ गर्न र फोटो खिचाउन आग्रह गर्ने हो। रहर हुनेले गर्छन् नहुनेले गर्दैनन्।'

हराए मोडल
एकताका चर्चामा रहेका मोडल अहिले पोखरामा देख्न पाइँदैन। मोडलिङका लागि नामी सहरका रूपमा चिनिए पनि पोखरमा पछिल्लो समय मोडलिङप्रतिको आकर्षण घट्दै गएको देखिन्छ। 'अहिले त पोखरामा म्युजिक भिडियोका लागि पनि मोडल पाउन गाह्रो भएको छ' निर्देशक नेत्र गुरूङ भन्छन्।

अहिले देखिएका केही नयाँ अनुहारले मोडलिङलाई निरन्तरता दिन सकेका छैनन्। पोखराबाटै मोडलिङ राष्ट्रिय स्तरमा पहिचान बनाएकी बबिना शर्माले यो क्षेत्रबाट विदा लिइसकेकी छिन्। थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरकी बबिनाको कुनै समयमा कस्तो ख्याति थियो भने उनीबिना ब्युटी कन्टेस्ट र फेसन सोहरू खल्ला हुन्थे।
मोडलिङमै राम्रो ठाउँ बनाएकी अपेक्षा केसी पनि हराइसकेकी छिन्। केही चलचित्रमा समेत अभियन गरेर दर्जनौँ फेसन सोमा क्याटवाक गरेकी केसी विवाह गरेर बेलायत पुगेकी छिन्। मोडलिङबाटै आफ्नो पहिचान बनाएकी प्रिया हिराचन पनि बेलायत पुगेकी छिन्। सुन्दरी प्रतियोगितामा उपाधी जित्ने अधिकांश मोडलको अत्तोपत्तो छैन। पहिलो मिस टिन पोखरा सरिना गुरूङ, मिस टिन अनु ढकाल, मिस कल्चर लक्ष्मी गुरूङ, मिस पश्चिमाञ्चल देवी पुनगमर पोखरामा भेटिँदैनन्। कुनै बेला पोखराको मोडलिङलाई धानेका सकिला गुरूङ, शृजु उदास, कोमल हिराचन, रोशनी गुरूङ, हिमा गुरूङ, लक्ष्मी गुरूङ, रिना गुरूङ, सोनम बिष्ट, रञ्जिता शर्मालगायतका मोडल पनि हराइसकेका छन्।

मोडलको आकर्षण देखेर मोडलका तस्बिर राख्ने साइट खोलेकाहरूलाई पनि यतिखेर हम्मे परेको छ। 'केही वर्षअघिसम्म फोटोसेसन गर्न आउनेहरूले हामीलाई हैरान पार्थे' पोखरा सिटी डटकमका फोटोग्राफर राजव श्रेष्ठ भन्छन्, 'अहिले त मोडल खोज्दै हिँड्दा हैरान भइएको छ।'

रहरमै फोटो सेसन
पोखराको मोडलिङ खस्किँदै गए पनि फोटो सेसन गर्नेको संख्यामा कमी आएको छैन। उनीहरूलाई पोखराको मोडलिङ ओरालो लागेकोमा बाल छैन। रहर पूरा गर्नकै लागि आफ्नो अदा प्रदर्शन गर्दै क्यामराअगाडि उनीहरू उभिन्छन्। मोडलिङलाई करिअर बनाउने ध्येयले भन्दा रहर पूरा गर्नेकै जमात ठूलो छ। फोटो सेसन गराउनेमध्ये ८० देखि ९० प्रतिशत युवती रहर पूरा गर्छन्। ‘करिब ९० प्रतिशत युवती व्यावसायिकभन्दा पनि रहरले फोटो सेसन गराउँछन्' पोखरा सिटी डट कमका फोटोग्राफर राजव भन्छन् ‘थोरैको मात्रै व्यावसायिक रूपमा लाग्ने योजना हुन्छ।'

राजवको भनाइलाई बल पुर्‍याएकी छिन् पोखराकी सञ्जु गुरूङले। उनले पनि केही महिनाअघि जक्सन डटकमा लागि फोटो सेसन गरिन्। मिस तमुस्यो नामक ब्युटी प्याजेन्टमा पनि भाग लिइन्। तर, उनले न त मोडलिङमा लाग्न यति दुःख गरेकी हुन् न त व्यावसायिक रूपमा छाउन नै। ‘मोडलिङ रहरभन्दा पनि फेसनजस्तै भएको छ, मैले पनि यत्तिकै रहरमा फोटो सेसन गरेको हुँ' उनी भन्छिन्, ‘फोटो सेसन गराएपछि कस्तो हुँदो रहेछ भनेर फनका लागि गरेको हो।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out