हल्लिएको कुर्सीबाट चौतर्फी निशाना

काठमाडौं, फागुन २२ । संविधानसभाको म्याद छोटिँदै जाँदा कांग्रेस, माओवादी र एमाले विकल्पको खोजीमा छन्। त्यो विकल्प खोज्दा आफ्नो कुर्सी जाने भयले प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मानसिक सन्तुलन गुमाएको आभास दिन थालेका छन्।
एउटा सबल प्रधानमन्त्रीले 'जेठ १४ भित्र संविधान नबने ५०औं हजार मान्छे मारिनेछन्' भनेर आतंक सिर्जना गर्दैन। सकेसम्म शान्ति र संविधान टुंग्याउने गृहकार्यमा लाग्छ, नसके सहज अवतरणका लागि विकल्प तयार गर्छ। र, त्यो विकल्पमा राजनीतिक दलहरूको सहमति जुटाउँछ, नसके राजीनामा दिन्छ। हुन त डा. भट्टराईका लागि मान्छे मार्नु ठूलो कुरा नहोला, तर एउटा सभ्य समाजको सभ्य मानिसहरूका लागि भने यस्तो अभिव्यक्ति आपत्तिजनक मानिन्छ। मानसिक सन्तुलन गुमाएको व्यक्तिझैं उनले आफ्ना असफलताहरू ढाकछोप गर्न नेपाली कांग्रेस, एमाले र नागरिक अधिकार प्रयोग गर्दै देश घुमघाममा रहेका पूर्वराजा ज्ञानेन्द्रप्रति अशिष्ट भाषामा गालीगलौज गर्न थालेका छन्। गत शनिबार कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा सम्पन्न एक कार्यक्रममा उनले राजादेखि दलहरूलाई मात्र होइन, आफूलाई हटाइए मुलुकमा ठूलै रक्तपात हुने चेतावनी पनि दिए।
केही समयदेखि भारतले नेपालको पछिल्लो राजनीतिक स्थितिबारे बुझ्न र विश्लेषण गर्नभन्दा पनि ती नेताहरूको नाडी छाम्न दिल्ली भ्रमण गराएकोलगत्तै राजनीतिक दलका युवा नेताहरूको अलग अलग टोली भारतको दिल्ली र चीनको राजधानी बेइजिङ जाादैछ। सांसद र पार्टी नेताहरूको निरन्तरको भारत भ्रमणपछि चीनले पनि ठूला पार्टी सम्बद्ध युवा नेताहरूलाई १० दिने भ्रमण गराउँदैछ। नेपाली कांग्रेसका नवीन्द्रराज जोशी, चाउएनलाई श्रेष्ठलगायतको टोली यसै हप्ता चीन भ्रमणमा जाँदैछ। यो चर्को विदेश यात्राको राजनीतिक आदान–प्रदान र नेताहरूको उपलब्धिविहीन गोप्य भेटघाटले आँधी आउनुअघिको सन्नाटा छाए जस्तो देखिएको छ। सम्भवतः प्रधानमन्त्री भट्टराईमा देखिएको छटपटी यसैको उपज हो
सर्वोच्च अदालतले संविधानसभाको म्याद आगामी जेठ १४ पछि कुनै पनि हालतमा थप्न नमिल्ने फैसला गरेपछि केही दिन जागेका दलहरू अहिले हरेक दिनजसो बैठक बस्ने र सहमति भइसकेका पुराना एजेन्डाहरू भत्काउने काममा लागेका छन्। गत साता बुधबार, बिहीबार र शुक्रबार दिनहुँजसो शीर्ष नेताहरूको कुनै न कुनै रूपमा छलफल भेटघाट हुने गरेकोमा त्यो असहमतिपछि शनिबार विनानिष्कर्षको बैठक टुंग्याउँदै चार दिनपछि भेटघाटका लागि मितिसमेत निर्धारण गरेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' डा.भट्टराईलाई हटाउन र हटाएपछि आफू त्यो कुर्सीमा बस्न सहज नभएकाले एमाले र कांग्रेसका केही नेताहरूमार्फत उनलाई हटाउन प्रेरित गरिरहेका छन्।

कांग्रेस नेता डा.रामशरण महतले फागनु मसान्तभित्र लडाकु शिविर खाली नभए डा.भट्टराईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सार्वजनिक अभिव्यक्ति दिएपछि माओवादी अध्यक्ष प्रचण्डमा खुसी र प्रधानमन्त्री डा.भट्टराईमा छटपटी प्रारम्भ भएको छ। तर नेपाली कांग्रेसका डा.शेखर कोइराला, सुजाता कोइरालालगायतको टोली भने डा.भट्टराई नेतृत्वको अहिलेकै सरकारलाई निरन्तरता दिई कांग्रेस–एमाले पनि सहभागी हुनुपर्ने अडानमा छन्।

नेपाली कांग्रेसका सभापति सुशील कोइराला अनिर्णित बन्दै जानुको कारण पनि यही हो। असफल र अविश्वासी बनेका भट्टराईलाई हटाएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन कोइराला न त सक्रिय छन्, न त वर्तमान सरकारमै सुजाता वा शेखरलाई टोली नेता बनाएर पठाउने पक्षमा दह्रोसाग उभिन सकेका छन्। संविधानसभाको तेस्रो ठूलो राजनीतिक दल नेकपा एमाले संगठन निर्माणमा केन्द्रित भएकाले जेठ १४ अघिको खेलमा सामेल नहुने संकेत दिएको छ। संविधानसभाको म्याद समाप्त भएपछि एमाले नेता केपी ओली आफ्नो भागमा बाबुराम बसेको अहिलेको कुर्सी आइलाग्नेमा ढुक्क देखिएका छन्।
यी सबै कुरा देखेका प्रधानमन्त्री डा.भट्टराईले एक साताभित्र कांग्रेस–एमाले जस्ता शान्ति र स्थिरताका लागि लचकता देखाएका दलहरू र  सेनाबीच अविश्वास सिर्जना गर्ने काम गरे। गत शनिबार साँझ केही पत्रकारहरूलाई आफ्नो निवास बालुवाटार बोलाएर प्रधानमन्त्री डा.भट्टराईले भने– 'म प्रधानमन्त्री हुँ, सेना समायोजन विशेष समितिको संयोजक र संरक्षक पनि हुँ, मैले प्रधानसेनापतिलाई बोलाएर गरेका केही व्यक्तिगत कुरा साथीहरूसाग सेयर गरेको थिएँ, तर उहाँहरूले त्यसलाई बढाई चढाई के के न हो भन्ने बनाइदिनुभयो। म सेनाको मापदण्डभन्दा बाहिर, विशेष समितिको म्यान्डेट र सातबुँदे सहमतिविपरीत जान चाहन्न।' उनले सेनाले गरेको अविश्वासप्रति आफ्नो बचाउ गर्न खोजेका थिए।

सेनासँग निकै आक्रोशित देखिएका प्रधानमन्त्री डा.भट्टराईले 'यो सेना शाही सेना हो, नाम परिवर्तन गर्दैमा लोकतान्त्रिक हुँदैन, अहिलेको गणतन्त्र लडाकुको बलिदानबाट आएको हो' भन्दै आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु समस्याको समाधान भएको दाबी गरेका थिए। एकै पटक राजनीतिक दल, नेपाली सेना र पार्टीभित्रका विरोधीहरूप्रति आक्रामक देखिएका प्रधानमन्त्री डा.भट्टराईले 'जर्नेल, कर्नेल नपाउँदैमा सेना समायोजन प्रक्रिया रोकिन्न' पार्टी नेतृत्वले शान्ति प्रक्रिया अड्काउन जर्नेल, कर्नेल मागेकोतर्फ इंगित गरे। तर उनी आफ्नो पार्टीभित्रैबाट उनले गरेको प्रतिबद्धता पूरा गराउन सक्ने अवस्थामा छैनन्। यसर्थ, शान्ति प्रक्रिया टुंगिए संविधान बनाउन नसकेको असफलताका कारण उनी जेठ १४ अघि बिदा हुने अवस्थामा छन् भने शान्ति प्रक्रिया अघि नबढे डा.महतले भनेझैं चैत अन्तिम साता हट्ने निश्चित छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out