हामी शो-पिस हौं: करिश्मा मानन्धर

कतिपय टाठाबाठा मानिस चलचित्रकर्मीहरूलाई अज्ञानी मान्छन्। हाम्रो पनि आफ्नो ठाउँमा कमजोरी होला, तर लामो संघर्ष गरेकाहरूले नयाँ पुस्तालाई  कम आँक्नु हुँदैन। उनीहरू आफ्नो क्षेत्रमा राम्रो ज्ञान राख्छन्। मेरो सौन्दर्य (यदि म राम्री छु भने) कवचका लागि यति ज्ञान त राख्नै पर्छ।

भर्खरै २५ वर्षकी हुनुभयो, कस्तो लागिरहेको छ ?

यो तपाईंहरूले दिएको उमेर हो। मिडियाको टाइटल हो। म त बढीकै भएँ नि।

कति, २६ वर्ष ?

ल, अब त फसादै पर्‍यो। २५ कै भनिदिए हुन्छ।

नेपाली चलचित्रमा २५ वर्ष बिताउनु चानचुने कुरा होइन, त्यो पनि नायिकाका रूपमा, कसरी मेन्टेन गरिरहनु भएको छ ?
आफ्ना तर्फबाटै खासै मेहनत गरेजस्तो लाग्दैन। जसरी तपाईं लेख्ने मान्छे, त्यसका लागि तयारी गर्नुहुन्छ, त्यसमा सचेत हुनुपर्छ। त्यस्तै म पनि शो-पिस  हुँ। अरूलाई मनोरञ्जन दिएर मेरो जीवन चल्छ। म कस्ती देखिनुपर्छ, कस्ती हुनुपर्छ भन्ने कुरामा सचेत हुन्छु। जे गर्छु, त्यसकैका लागि गर्छु।

सबै राम्रा मान्छे असल हुन्छन् ? तपाईं आफूलाई कति राम्री मान्नुहुन्छ, कति असल ?

मलाई त हरेक व्यक्ति सुन्दर हुन्छ भन्ने लाग्छ। कसैको आँखा राम्रो हुन्छ, कसैको केही। एउटा मान्छेलाई समग्र रूपमा हेर्दा ऊ नराम्रो भन्ने लाग्दैन। यदि  कसैले कुनै व्यक्तिलाई नराम्रो भन्छ भने उसको आँखाको दोष हो ।

परिवार बाहिरका व्यक्ति भेट्नुपर्‍यो कि तपाईं चिटिक्क पर्न थाल्नुहुन्छ रे, कहिलेकाहीँ यति धेरै अनुशासन दिक्क लाग्दो हुँदैन ?

यही मेरो कमजोरी हो र प्लस प्वाइन्ट पनि। आज पनि करिश्मा राम्री छे भनेको सुन्नुहुन्छ, यो छवि बनाउन मैले प्रत्येक पल मेहनत गरेकी छु। कोही पनि  करिश्मा झुत्री-झाम्री रूपमा देखा परोस् भन्ने चाहँदैनन् अनि कमजोरी यस अर्थमा कि म नै कसैका अघि त्यो रूपमा देखा पर्न सक्दिनँ, जसले  करिश्माको छवि बिगारोस्।

राम्री हुन चाहनु र साँच्चैकी राम्री हुनु फरक कुरा हुन्। राम्रो मेकअप गरेर वा राम्रो पहिरन लगाउँदैमा यो छवि कायम हुन्छ ?

यसमा धेरै कुरा छन्। जस्तो मलाई के थाहा छ भने उमेर बढ्दै जाँदा मान्छे मोटाउन थाल्छ, त्यसलाई रोक्न भोगटेको रस खानुपर्छ। खानेबित्तिकै सुत्नु वा  राति हेभी खाना खानु हुँदैन। म त केसम्म गर्छु भने शुद्ध तोरीको तेलमा दूध मिसाएर अनुहारको मसाज गर्छु। हनी र कागती पिउँछु। दैनिक दुई गिलास  दुध खान्छु। यस्ता धेरै कुरा छन्, जसलाई मैले आफ्नो जीवनको अङ्ग बनाएकी छु।

तपाईं बियर पनि पिउनुहुन्छ क्यारे, बियरले सौन्दर्य र स्वास्थ्यमा असर गरेन किन ?

मादक पदार्थ त्यस्तो वस्तु हो, जसलाई तपाईं कुन फिलिङ्समा पिउनुहुन्छ, त्यसको असर त्यही रूपमा हुन्छ। मानौं तपाईं दुःखी हुनुहुन्छ, दुःख बिर्सन  त्यसलाई पिउनु हुन्छ। त्यो अल्कोहलले रगतमा मिसिएर बिहानसम्म आफूलाई दुःखी नै बनाइरहेको हुन्छ। अब त्यही अल्कोहललाई साथीभाइसँग खुसी बाँड्न पिउनुहोस्, बिहान पनि मुड फ्रेस नै हुन्छ। अर्को कुरा मादक पदार्थ व्यक्तिको कमजोरी हो कि कहिलेकाहीँ रमाइलो गर्ने माध्यम त्यसले पनि फरक  पारेको हुन्छ।

पिउनेहरूले अल्कोहललाई रमाइलो गर्ने माध्यम नै भन्छन्, तर त्यसको असर त .... ?

तपाईं कुन कुरा कसरी प्रयोग गर्नुहुन्छ, त्यसले दिने परिणाम त्यस्तै हुन्छ। जस्तो अल्कोहल पिउँदा एक पेग खान आधा घण्टा लगाउनुपर्छ, अब त्यसलाई  दुई मिनेटमा घुट्क्याउनुहुन्छ भने त्यो तपाईंको दोष हो, अल्कोहलको होइन। तपाईं तीन पेग पिउनुहुन्छ भने त्यसलाई कम्तीमा पनि दुई घन्टा  लगाउनुपर्छ। हाम्रो शरीर भनेको पीठो पिस्ने मेसिनजस्तै हो। मेसिनको सोलीमा त्यति मात्रै हाल्नुपर्छ, जुन त्यसले पिस्न सक्छ। एकैपटक धेरै गहुँ हाल्दा,  मेसिनले राम्रो पीठो निकाल्न सक्दैन।

के खाने एउटा कुरा हो, कसरी खाने अर्को कुरा, के खाने भन्ने कुरामा तपाईंको परिभाषा कस्तो छ ?

मानिसहरू फलफूल खाँदा मोटाइँदैन भन्ने धारणा राख्छन्। फलफूलमा प्रशस्त मात्रामा कार्बोहाड्रेड हुन्छ। मेरो विचारमा फलफूल दैनिक खानुपर्छ, तर त्यो  दुई-चार पिसभन्दा बढी हुनुहुँदैन।

तपाईंले लगाउने पहिरनबाटै पोसाकका विषयमा तपाईंको ज्ञान बुझ्न सकिन्थ्यो, तर खानेकुरामा पनि राम्रो ज्ञान रहेछ ?

कतिपय टाठाबाठा मानिस चलचित्रकर्मीहरूलाई अज्ञानी मान्छन्। हाम्रो पनि आफ्नो ठाउँमा कमजोरी होला, तर लामो संघर्ष गरेकाहरूले नयाँ पुस्तालाई  कम आँक्नु हुँदैन। उनीहरू आफ्नो क्षेत्रमा राम्रो ज्ञान राख्छन्। मेरो सौन्दर्य (यदि म राम्री छु भने) कवचका लागि यति ज्ञान त राख्नै पर्छ। म पौष्टिक  तत्त्वसम्बन्धी पुस्तकहरू पढ्छु। मलाई राजनीतिको जानकारी नहोला, तर यो जीवनमा यति धेरै ठक्कर खाइयो कि जसले पर्याप्त परिवक्वता प्रदान गरेको  छ। केही समयअघि म छोरीको पुस्तक पढ्दै थिएँ, त्यसमा कसरी कामको व्यवस्थापन गर्ने भन्ने कुरा लेखिएको रहेछ। मैले कलेज पढ्न पाइनँ, तर छोरीले  कलेजमा पढ्ने व्यवस्थापन सिद्धान्तको कुरा मलाई राम्रोसँग थाहा रहेछ। फेरि जीवन भनेको सिक्नकै लागि हो।

तैपनि नेपाली चलचित्रमा बाहिरी सौन्दर्यको खोजी बढी हुने गरेको छ, तपाईं पनि सुन्दरी हुनुभएकैले लामो समय चलचित्रमा रहनुभयो भन्दा गलत हुन्छ  ?

हामी शो-पिस हौं। हामीले देखाएर, नाचेर, अभिनय गरेर बाँच्नुपर्छ। त्यसैले हाम्रो सौन्दर्यको विशेष महत्त्व हुन्छ। मानिसहरू हाम्रो पहिरन, अङ्ग, मादकता  र शैली हेर्न चाहन्छन्। यसको अर्थ सौन्दर्य नै सबै कुरा हो भन्ने होइन। यद्यपि सौन्दर्यपछि मात्र अरू कुराको खोजी हुन्छ।

कति प्रतिशत सौन्दर्य, कति प्रतिशत अरू ?

६० प्रतिशत सौन्दर्य, ४० प्रतिशत अन्य। जस्तो बौद्धिक, मिलनसार, काम गर्ने क्षमता एवं कलाका लागि मरिमेट्ने चाहना।

तपाईं जुन बेला चलचित्र क्षेत्रमा प्रवेश गर्नुभयो, तपाईंमा सुन्दरता बाहेक के थियो ?

केही पनि थिएन। त्यो बेला सम्भवतः निर्देशकलाई अर्थोक चाहिएको पनि थिएन। २५ वर्षअघि जुन बेला मलाई प्रकाश थापाले सन्तानमा लिनुभयो, त्यो  बेला एउटी सुन्दर युवती चाहिएको हुनुपर्छ। अर्थोकको खोजी भयो भन्ने लाग्दैन।

तपाईं सानै उमेरमा मुम्बई पुग्नुभयो, मधुमति डान्स सेन्टरमा तब्बु र करिश्मा कपुरसँग नृत्य सिकेको इतिहास छ। यति सानो उमेरमा यति धेरै योजना  कसरी बनाउनुभयो ?

नेपालमा अभिनय प्रारम्भ गर्दा मैले सिनेमा नै हेरेकी थिइनँ। त्यति अबोध र अज्ञानी थिएँ। अञ्जली दिदीले ममा केही देख्नुभयो, जसले उहाँलाई मप्रति आकर्षण एवं आत्मविश्वास जगायो। जब मैले सन्तान र मायालुमा अभिनय गरें, मलाई आफू कति अज्ञानी छु भन्ने थाहा हुन थाल्यो। त्यसपछि तत्कालीन  प्रेक्षा सरकारले ३० हजार सहयोग दिएर हामीलाई मुम्बई पठाउनुभयो। त्यो सबै योजना मेरो थिएन, अञ्जली दिदीकै थियो। म त उहाँले जसो गर्दा राम्रो  हुन्छ भन्नुहुन्थ्यो, त्यसै गर्थें।

तपाईंलाई नजिकबाट चिन्नेहरूले मुडी, हठी, तुरुन्तै निर्णय गर्ने र नाकको टुप्पोमै रिस भएकी महिला भन्ने गरेका छन्। यति धेरै कमजोरीका बाबजुद  पनि तपाईंले जीवनमा धेरै राम्रा निर्णय गर्नुभएको देखिन्छ, कसरी सम्भव भयो ?

मलाई मुडी, हठी र नाककै टुप्पोमा रिस भएकी महिला कसैले भन्ने गरेका छन् भने ती मलाई सबैभन्दा बढी माया गर्ने व्यक्तिले भनेको हुनुपर्छ। जस्तो  विनोद (श्रीमान्), दिज्यू (अञ्जली दिदी), मामु (करिश्माकी आमा) मेरा लागि यस्ता व्यक्ति हुन्, जसका अघि म बच्चाजस्तै हुन्छु। बच्चाहरू अभिभावकसँग  रिसाउँछन् पनि, घुक्र्याउँछन् पनि। उहाँहरू मलाई बच्चा नै मान्नुहुन्छ। उहाँहरूलाई के लाग्छ भने मैले गरेको काम पक्का हुँदैन। म भने आफूले गरेको  काम पक्का छ भन्ने मान्छु। त्यसैले उहाँहरूसँग रिसाउँछु पनि घुर्काउँछु पनि। अँ एउटा कमजोरी चाहिँ मसँग छ, त्यो के भने म तुरुन्तै निर्णय गर्छु,  जसको परिणाम खराब भएका उदाहरण धेरै छन्।

तुरुन्तै गरेका निर्णयहरू के-के हुन् ?

मैले आजसम्म जे गरें, प्लानबिना गरें। यस्ता निर्णयहरूको गन्ती नै गर्न सकिँदैन। सम्झँदै ल्याउँदा विनोदसँग विवाह गर्नु नै एक्सिडेन्टजस्तै थियो। ढुकढुकी  चलचित्र निर्माण पनि त्यस्तै कार्य थियो। अमेरिका जाने निर्णय पनि हठात् गरे। बच्चा पाउने निर्णय पनि यस्तै अवस्थामा भएको हो, अर्थात् जीवनका  मुख्य निर्णय नै मैले बिना प्लान गरेकी हुँ।

तर ती सबै योजना आज हेर्दा गलत थिएनन् भन्ने देखिन्छ, यसको कारण के होला ?

म पहिले हठात् निर्णय गर्छु अनि उक्त निर्णय आवेशमा भएको भन्ने थाहा पाएपछि त्यसलाई सच्याउने प्रयास गर्छु। फिर्ता लिन्नँ, तर त्यसैलाई राम्रो  बनाउने प्रयास गर्छु।

जस्तो विनोद मानन्धरसँगको विवाह तपाईंले बिनायोजना गरेको भन्नुभयो, कसरी ?

म जस्ती एक्ली एवं आर्थिक समस्यामा रहेकी युवतीले मुम्बईमा संघर्ष गर्न सक्दिनँ भन्ने कुरा बुझ्नेबित्तिकै मैले नेपाल र्फकन चाहें। त्यसका लागि  चलचित्र कस्तूरी बहाना बनिदियो। कस्तूरी त्यो बेला भिडियो फम्र्याटमा बन्दै थियो। कस्तूरीको केही सुटिङ बेलायतमा भयो र त्यहिँ विनोदसँग मेरो  परिचय भयो। नेपाल फर्किएपछि विनोद पनि यहीँ आए। त्यसबेला हामी नजिकिइसकेका थियौं। मेरा साथीभाइले, विशेष गरी नायिकाहरूले, मलाई  जिस्क्याउन थालेका थिए। केही समयपछि उनी बेलायत र्फकने भए। विनोद र्फकने कुरा थाहा पाएपछि ती साथीहरूले विनोद फर्किएर आउँदैन, तेरो  बिजोग हुने भयो भनेर मलाई पिन्च गर्न थाले। मलाई इगो भयो। मैले तुरुन्तै भनिदिएँ, म भोलि नै विनोदसँग विवाह गरेर देखाइदिन्छु। विनोदसँग म डेट  त गएकी थिइनँ भने विवाहको कुरा त धेरै परको थियो तर के गर्ने, आखिर करिश्माको इगो हो, मैले विवाह गरेरै छाड्छु भनेर निर्णय गरें। त्यही राति  विनोदको लाजिम्पाटस्थित घरमा फोन गरेर म भोलि नै तिमीसँग विवाह गर्न चाहन्छु भने। उनी पर्सि र्फकंदै थिए। उनलाई पनि अचम्म लाग्यो। धन्न  मलाई प्रेम गर्दा रहेछन्, उनले हुन्छ भने। अनि दुई-चार साथीभाइ बोलाएर बगलामुखीमा विवाह पनि गरिहालें।

कतिखेर लाग्यो, विनोद मानन्धरसँग विवाह गर्नु गलत थियो ?

विवाह भएको भोलिपल्ट विनोद बेलायत गए। त्यसपछि हाम्रो सम्पर्क विच्छेद भयो। त्यसबेला आजको जस्तो टेलिफोन सुविधा थिएन। कसरी भेट्ने, कसरी  कुरा अघि बढाउने भन्ने समस्या भयो। यता चलचित्र उद्योगमा पनि करिश्माले विवाह गरी भन्ने हल्ला पुग्यो। त्यसबेला विवाहित महिलाहरू चलचित्रमा  जमेको उदाहरण थिएन। अब न श्रीमान् रह्यो, न अभिनय। त्यसबेला मलाई लाग्यो, करिश्माको इगोले यहाँ मात खायो। एक जनासँग विवाह गरेपछि फेरि  अर्कोले विवाह गर्ने कुरा पनि भएन। त्यसबेला मलाई लाग्यो, मेरो जीवन बरवाद भयो, विवाह गर्नु गलत थियो।

नेपाली फिल्मनगरीमा धेरैका दाम्पत्य जीवन टुटे, आज विवाह भएको २२ वर्षपछि पनि तपाईंहरूको जोडी आदर्श मानिन्छ, जबकि भर्खरै तपाईंले  भन्नुभयो विवाहको निर्णय गलत थियो, यी विरोधाभास कुरा भएनन् ?

मैले यो पनि भने कि पहिले म गल्ती गर्छु र पछि त्यसलाई सारा बल लगाएर सच्याउँछु। विनोदको केसमा पनि त्यही भयो। दुई महिनाको प्रयासपछि  विनोदसँग बल्ल सम्पर्क भयो। अनुनय-विनयपछि उनी नेपाल आए। म विवाह भए पनि मामुसँगै बस्थें। उनी आएपछि तुरुन्तै उनकै घरमा गएर बसें।  उनको सारा परिवार विवाहको विरोधमा उत्रियो, तर मैले ससुरालाई एउटा मार्मिक चिठी लेखेर सम्झाएँ। यसरी हतारमा गरेको निर्णयलाई मैले सहीमा  परिणत गरे।

आज श्रीमान्का रूपमा विनोदलाई केलाएर हेर्दा कस्तो पाउनुहुन्छ ?

उनी मेरो सपनाको राजकुमार होइनन्, तर अभिभावक हुन्। उनमा सहन सक्ने क्षमता अत्यधिक छ। जब म असल लोग्नेमान्छेहरूको लिस्ट बनाउँछु, त्यो  लिस्टमा उनी पनि पर्छन्। करिश्माजस्ती अप्ठयारी महिलालाई टलरेट गर्ने क्षमता जो-कसैमा हुँदैन। तीन वर्षपछि हामी विवाहको रजत जयन्ती मनाउँदै छौ। यसको सफलताको श्रेय उनैलाई जान्छ।

यो २२ वर्षमा दुवैबीच ठूलो असझदारी कहिले भयो, अमेरिका जाने निर्णयका पछाडि श्रीमान्सँगको भतभेदलाई लिइन्छ, के भन्नुहुन्छ ?

बाबुसाहेबको असफलतापछि मलाई लाग्यो, केही वर्षका लागि चलचित्र क्षेत्रबाट ब्रेक लिनुपर्छ। कति तिनै मान्छेसँग, त्यहि काम गर्नु ? जीवनमा केही  फरकपन आउनुपर्छ भन्ने लाग्नेबित्तिकै म अमेरिका हान्निएकी हुँ। विनोदसँग असमझदारी भएको होइन।

सफल नायिकाका रूपमा जमिरहेका बेला अचानक अमेरिका जाने निर्णय गलत थियो, तर त्यसलाई कसरी सच्याउनुभयो ?

जब म प्लेन चढें, यो ढोका बन्द नहोस् भनेर मनमनै प्रार्थना गरिरहेकी थिएँ। म प्राणभन्दा प्यारी छोरी र चलचित्र नगरी छाडेर गैरहेकी थिएँ तर र्फकन  सकिनँ। किनभने त्यो करिश्माको निर्णय थियो। गल्ती भै त हाल्यो। त्यसलाई सच्याउन मैले सौन्दर्यसम्बन्धी विभिन्न तालिम लिएँ, नेल आर्ट सिकें। हेयर  प्लान्ट र टाटु कला सिके। सबैभन्दा ठूलो कुरा लामो समय नायिका भएपछि मैले आफ्नो विगतका दुःख र अप्ठयारो बिर्सन थालेकी रहेछु। त्यहाँ म हिरो इन थिइनँ, मेरो कुनै परिचय थिएन। मैले आममान्छेले जस्तो काम गर्नुपर्थ्यो। त्यसले मलाई धेरै कुरा सिकायो। गार्मेन्टमा काम गरेका दिन सम्झना  दिलायो। नेपाली चलचित्र क्षेत्रले मलाई दिएको सम्मान सम्झायो। म अझै समझदार भएँ। हिजो ममा केही कच्चापन बाँकी थियो, अमेरिकाले त्यसलाई  पक्का बनायो। अब मलाई अफ्रिका लगेर छाडिदिने हो भने पनि गरेर खान सक्छु।

मैले अघि कुरा गर्दागर्दै छुटेको कुरा, श्रीमान्सँग कहिले गम्भीर मतभेद भयो ? मैले सुनेअनुसार राजेश हमालसँग चलचित्रमा जमेको जोडी विनोदजीलाई  मन परेको थिएन भनिन्छ, यथार्थ के हो ?

नेपाली चलचित्र भित्र यस्ता घटनाहरू छन्, जो अहिले बताउँदा कतिपयलाई साह्रै अप्ठयारो पर्छ। किनभने उनीहरूका परिवार छन्, तर म यति भन्छु के ही यस्ता घटना घटे, जसका कारण विनोदले मलाई चलचित्र क्षेत्र ठीक छैन, तिमी काम नगर भन्ने अवस्थामा पुगे। त्यही बेला मैले पृथ्वी, ज्वालाजस्ता  चलचित्रमा काम गर्न लिएको पैसा पनि फिर्ता गरें। यी दुवै चलचित्रमा नायक राजेश हुनुहुन्थ्यो। विनोद र हामीबीच यति असमझारी भयो कि हु ड्रप यु ?  भनेर विनोदले प्रश्न सोध्न थालेका थिए। मैले रिसले राजेश हमाल भन्न थालेपछि उनी चुप भए। त्यो एक समय थियो, जुन बेला म शीर्ष स्थानमा थिएँ  र बजारमा अनेक हल्ला आउन थालेका थिए। पछि हामीबीच यति राम्रो सम्बन्ध बन्यो कि म विनोदलाई नभनी केही गर्दिनँ भन्ने विश्वास उनलाई भयो।  त्यसपछि सबै कुरा ठीक भयो। त्यो विश्वास अहिले पनि कायमै छ। यत्ति हो, कहिलेकाहीं मलाई विनोद होस्टल वार्डेन जस्तै लाग्छन्।

तपाईंले सधैंभरि नायिकाका रूपमा धनी बुबाकी छोरी भएर अभिनय गर्नुभयो, जबकि तपाईं गरिब परिवारबाट आउनुभएको थियो, त्यो भूमिकालाई  कसरी न्याय गर्नुहुन्थ्यो ?

चलचित्र भनेको निर्देशकको रचना हो। निर्देशकले दिएको जिम्मेवारी पूरा गर्नु नै मेरो काम हुन्थ्यो। जहाँसम्म म गरिब परिवारबाट आएको भन्ने कुरा छ,  त्योचाहिँ सत्य होइन। मेरो बुवा आर्मीमा मेजर हुनुहुन्थ्यो। उहाँले मेरी आमासँग पाको उमेरमा विवाह गर्नुभयो। दुई छोरी जन्मिएपछि उहाँ बित्नुभयो।  यस्तो अवस्थामा हामीले मामाघरमा बस्नुपर्ने भयो। हामीलाई पढ्न-लेख्न दुःख भयो र मैले गार्मेन्टमा पनि काम गर्नुपर्‍यो। आज आमाले बुबाको  सम्पत्तिबाट अंश पाउनुभएको छ, म पनि सम्पन्नै छु तर हिजो मैले त्यो दुःख नगरेकी भए म आजकी करिश्मा हुने थिइन।

के हुनुहुन्थ्यो ?

सायद दुई-चार सन्तानकी आमा ।

आज चार दशक हुँदा पनि आफूभन्दा आधा उमेरका कान्छा नायकसँग रोमान्स गर्दै हुनुहुन्छ, के फरक पाउनुहुन्छ ?

बाबु बोगटीसँग काम गर्दा होस् वा राजेश हमालसँग, म क्यामेराअघि चरित्र निर्वाह गरिरहेकी हुन्छु। कलाकारका रूपमा कुनै फरक पाउँदिनँ।

पहिले तपाईं नायिका हुनुहुन्थ्यो, अरू कलाकार सहायक हुन्थें, आज तपाईं सहायक हुनुहुन्छ, अब पहिलेजस्तो चाम रहेन भन्ने लाग्दैन ?

म मुख्य भूमिकामा हुँदा अरू सहायक कलाकारको मनमा के विचार आउँदो होला भन्ने सोच्थें। त्यसबेला ममा केही अहं पक्कै हुन्थ्यो तर आज सहायक  भएर अभिनय गर्दा मैले त्यसलाई सहज रूपमा लिन थालेकी छु। यसो भनौं, जुन दिन मैले आफूलाई सहायक कलाकारका रूपमा स्वीकार गरें, त्यही बे ला मैले पुरानी करिश्मालाई जितें। अब म परिपक्व महिला बनें।

करिश्माले धेरै पत्रकार पचाइसकेकी छिन्, पत्रकारले सोध्ने सबैभन्दा खराब प्रश्न कुन लाग्छ ?

तपाईंको पहिलो चलचित्र कुन हो ? अब करिश्माको पहिलो चलचित्र कुन हो भनेर सोध्ने मान्छेले करिश्माको अन्तर्वार्ता कसरी लेला ? पहिलेचाहिँ अङ्ग  प्रदर्शनको कुरा कोट्याई-कोट्याई सोध्ने पत्रकार मलाई मन पर्दैनथे। दर्शकहरू आफूलाई मनपर्ने कलाकारको अङ्ग हेर्न चाहन्छन्, तर उनी पूर्ण रूपमा  नाङ्गिएको हेर्न चाहँदैनन्। अङ्ग प्रदर्शनसम्बन्धी मेरो धारणा यही थियो। अब त्यही कुरा कोट्याई-कोट्याई सोध्दा भने पीडा हुन्थ्यो, मन पर्दैनथ्यो। अहिले  त पत्रकारहरू पनि स्मार्ट भैसकेका छन्।

अहिलेको पुस्ताका नायिकामा कसले करिश्माको स्थान लिन सक्लिन् ?

निशा अधिकारी र केकी अधिकारीमा त्यो सम्भावना देखेकी छु। अहिलेको पुस्ता साह्रै स्मार्ट छ। यस्तै व्यक्तिले नेपाली चलचित्र उद्योग धान्नुपर्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out