ढुकुटीको धराप

दार्शनिकहरू भन्छन्, 'जीवन भनेको जुवा हो।' भवानी तामाङले ढुकुटी खेल्दाखेल्दै आफ्नो जीवन नै जुवा खेलिन्। अरू कतिले जीवनको जुवा खेल्ने हुन्? यसै भन्न सकिँदैन। श्रीमतीले खेल्ने ढुकुटीका लागि बैंकको ढुकुटीमा डकैती गर्ने एकजना बेपत्ता भएका छन्। त्यस्ता अरू कति होलान्? कसैलाई थाहा छैन। दरिद्र देशहरूमा पैसा नै परमात्मा हुन्छ।
पैसा कमाएर वरत्र र परत्र दुवै सुधार्ने धुनमा लागेका एकथरी नेपाली अहिले ढुकुटीको नाममा सञ्चालित जुवाको आत्मघाती खालमा लिप्त छन्। ढुकुटी अर्काको पैसामा मोज गर्नेका लागि सजिलो माध्यम बनेको छ। के हो यो ढुकुटी? को को छन् यस खेलमा लागेका व्यक्ति? कसरी खेलिन्छ यो ढुकुटी? कस्ता मर्छन्? कस्ता उक्सिन्छन्? राजन नेपालको खोजपूर्ण विवरण :
.....
ढुकुटी कारोबारमा 'ढुकुटी' रित्याएकी भवानी तामाङले प्रहरी हिरासतमै पासो लाएपछि ढुकुटी खेल्नेहरूको मुटुको ढुकढुकी एक्कासि बढेको छ। शहरभरि भुसको आगोझैँ सबैको चुलो तताइरहेको ढुकुटी खेलको ढाकछोपमा खेलका खेलाडीदेखि प्रशासनसम्म एकजुट भएका छन्। यो कारोबारमा धेरैले धोका खाइसके पनि कोही सार्वजनिक हुन चाहिरहेका छैनन्। अवैधानिक कारोबारमा करोडौँ फसाएकाहरू पैसा उठिहाल्छ कि भन्ने आशामा गुपचुप देखिन्छन्। एक पटकमा ५० लाखसम्मको ढुकुटी खेल्दै आएकी मोडल स्नेहा शर्मा ढुकुटीको नाम सुन्नेबित्तिकै तर्सिइन्। 'मैले त खेलेकै छैन नि' भन्दै उनी टकटकिइन्। राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखाका सहलेखा अधिकृत कमलनारायण श्रेष्ठकी श्रीमती शोभना श्रेष्ठ ढुकुटी खेलाउँछिन्। ढुकुटीमा लगानीका लागि बैंकको करिब दुई करोड रुपैयाँ अपचलन गरेपछि कमलनारायण एक महिनादेखि फरार छन्। बैंक स्रोतले उनी फरार रहेको बतायो। जनशक्ति विभागका एक कर्मचारीले भने, 'उहाँ कहाँ जानुभएको हो, हामीलाई थाहा छैन।'

श्रीमती शोभनाले घरमै ढुकुटी खेलाउँदा नराम्रोसँग डुबेपछि पति कमलनारायणले बैंकको ढुकुटीमा रहेको रकम चलाएर गर्जो टारिदिए। आखिर बैंकले पनि थाहा पायो, कमलनारायणले पैसाको अपचलन गरेको। केही उपाय नलागेपछि शोभना त भागिन्, बिचल्लीमा परे पति। उनीसँग पनि भाग्नुको विकल्प थिएन। उनी भागेर भारत पुगेको शंका छ। बैंकले उनलाई सस्पेन्ड गरेर प्रहरीमा उजुरी दिएको छ। उनका दर्जनौँ आफन्त ढुकुटी पीडित बन्दै उनको खोजीमा वीरगञ्जदेखि दिल्लीसम्म धाइरहेका छन्।



ढुकुटीले धेरैको ढुकुटी रित्याएको मात्र छैन, श्रीमान्-श्रीमतीको विछोड गराउनेदेखि अति मिल्ने साथीहरूका बीचमा फाटोसमेत ल्याएको छ। चाबहिल मैजुबहालका सागर शर्मा (नाम परिवर्तन) श्रीमतीले ढुकुटीमा १० लाख रुपैयाँ फसाइदिएपछि अहिले आफ्नो बेहाल भएको बताउँछन्। 'एकैचोटि ग्वाम्म आउँछ भन्दै पैसा लगेर बुझाइयो, अहिले धोती न टोपी हुने अवस्था आयो,' लामो सुस्केरा हाल्दै शर्मा भन्छन्।
शर्मा प्रतिनिधि पात्रमात्र हुन्। उनीजस्तै यो कारोबारबाट पीडितहरू अहिले पुर्पुरोमा हात राख्दै पछुताइरहेका छन्। ढुकुटी अवैधानिक भएकाले यसमा संलग्न छु भन्दा झमेलामा परिएला भन्ने डरले अहिले धेरै गुपचुप देखिन्छन्। ढुकुटीमा नियमित पैसा बुझाइरहेका र ढुकुटी खान नपाएकाहरू पालो कुरेर बसिरहेका छन्। सर्कल पूरा गरेपछि कारोबार बन्द गर्ने योजना बनाउने पनि उत्तिकै छन्। तर, धेरैको मनमा भने खेलेको ढुकुटीले आफ्नै ढुकुटी रित्याउने भयले डेरा जमाएको छ।
ढुकुटीको नाममा भइरहेको गैरकानुनी धन्दा रोक्न कसैको पनि ध्यान गएको देखिन्न। प्रहरी प्रशासन कानुन नभएको भन्दै पन्छिरहेको छ। प्रहरी ढुकुटीको अवैध कारोबार रोक्ने भन्दा ढुकुटी खेलाइने रेस्टुरेन्टमा चाहारेर कमिसन उठाउन तल्लीन छ। ढुकुटीका भुक्तभोगी खेलाडीहरू प्रहरीले कमिसन खाएर हैरान पारेको बताउँछन्। खेलाउने व्यक्ति, रेस्टुरेन्ट र खेल्नेहरूसँग प्रहरीले कमिसन खाने गरेको छ। सरकार यो कारोबारको हैसियत छुट्याउन नसकेर रनभुल्लमा परेको छ। अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, 'डेढ वर्षदेखि नै हामी ढुकुटीको बारेमा छलफल त गर्दै छौँ। तर, निष्कर्षमा पुग्न सकेका छैनौँ। ढुकुटीका कारण आत्महत्यासम्मका घटना सार्वजनिक भएपछि भने प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत यसमा चासो देखाएका छन्। अर्थमन्त्री वर्षमान पुनसँग प्रारम्भिक छलफल गरेका प्रधानमन्त्री भट्टराई ढुकुटी कारोबारका बारेमा आफैँ कन्फ्युजनमा रहेको जानकारी अर्थ मन्त्रालय स्रोतले दियो। 'साथीभाइको बीचमा एकअर्कालाई सहयोग गर्ने उद्देश्यले गरिने कारोबारलाई कसरी एकैचोटि अवैधानिक भन्न सकिएला?' प्रधानमन्त्रीले छलफलमा प्रश्न गरेका थिए। राज्यको नियम-कानुनअनुसार करको दायरामा नल्याई अनौपचारिक रूपमा रकम निक्षेप गर्दै कारोबार गर्नु अवैध हो। ढुकुटी पनि यस्तै कारोबार भएकाले यसलाई वैध मान्ने कुनै आधार छैन। यो कारोबार अहिले साथीसाथीको तहबाट माथि उठेर पेशेवर व्यापारीहरूसम्म पुगेको छ। ठूला ठूला आर्थिक कारोबार गर्ने माफियाहरूको अर्थ संकलनको गतिलो माध्यम बनेको छ ढुकुटी।
बैंकर एसोसिएसनका अध्यक्ष अशोक राणा रियल स्टेटमा ठूलो पुँजी लगाउनेहरू अहिले ढुकुटी कारोबारमा लागेको बताउँछन्। 'घरजग्गा कारोबार सुस्ताएपछि बैंक ऋण तिर्न घरजग्गा कारोबार गर्नेहरू ढुकुटीबाट पैसा संकलन गरिरहेका छन् भन्ने मैले पनि सुनेको छु,' उनले भने, 'हामीले यसमा डिटेल्ड स्टडी गरेका छैनौँ।' यो कारोबारको नेचर र सहकारीको नेचर मिल्ने भएकाले सहकारीलाई कडाइ गर्नुपर्ने सुझाव उनको छ। 'सहकारी र ढुकुटी खेल्दा अपनाउने विधि उस्तैउस्तै देखिन्छ। त्यसैले सहकारीलाई पनि रेगुलेट गर्नुपर्छ,' राणाको सुझाव थियो। यो कारोबारका बारेमा के गर्ने भन्ने विषयमा एसोसिएसनसँग राष्ट्र बैंक तथा अर्थ मन्त्रालयबाट सरसल्लाह नगरिएको उनले बताए। राष्ट्र बैंकले इन्फर्मल सेक्टरको इकोनोमी अन्तर्गत ढुकुटीको पनि अध्ययन गरिरहेको बताइएको छ। बुधवार बसेको राष्ट्र बैंक बोर्ड बैठकले ढुकुटीलाई नियन्त्रण गर्न सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।
कम्तिमा १० देखि ५० जनाको समूहमा खेलिने ढुकुटीबाट 'यति कमाइयो, उति कमाइयो' भन्नेहरू थुप्रै भेटिन्थे। तर, हिजोआज उनीहरू पनि दुला पसेका छन्। सरकारले नियमनका लागि कुनै कानुन ल्याई पो हाल्छ कि भन्दै खेलाडी डराइरहेका छन्। एउटै व्यक्तिले विभिन्न समूहमा ढुकुटी खेल्ने गरेका कारण डुब्ने संभावन बढ्दै गएको छ। ढुकुटीका एकजना भुक्तभोगी भन्छन्, 'ढुकुटी खाएको पैसा रिर्टन आउने क्षेत्रमा लगानी गरे पो कारोबार चल्छ। साथीहरू ढुकुटी खाएको पैसाले टन्न रक्सी खान थालेका छन्। त्यसैले पैसा डुब्ने पक्काजस्तै भएको छ। ग्रुपमा एकजनाले गल्ती गरेपछि सबैजना फस्छन्। जसले खायो उसलाई त केही भएन किस्ता तिर्नेहरूको बर्बादै हुन्छ नि!'
ढुकुटी भरिने आशामा अहिले व्यापारी, सुरक्षाकर्मी, चिकित्सक, इन्जिनियर, पाइलट, सरकारी कर्मचारी, वकिल, पत्रकार, कलाकार, प्राध्यापक, शिक्षकलगायत थुप्रै क्षेत्रका व्यक्ति यसमा सहभागी छन्। विशेष गरेर गृहिणीहरूलाई ढुकुटीको आकर्षणले निकै तानेको छ। छिट्टै धनी हुने लोभमा श्रीमान्ले घर खर्च चलाउन दिएको पैसा खुरुक्क ढुकुटीमा बुझाउने शहरिया गृहिणी टोलैपिच्छे छ्यापछ्यापती भेटिन्छन्।

यसरी सुरु भयो ढुकुटी
ढुकुटीको शुरुवात थकाली समुदायबाट भएको मानिन्छ। आफ्नो समुदायको गरीब सदस्यलाई आर्थिक सहायता उपलब्ध गराउन नजिकका दाजुभाइ तथा इष्टमित्रले रकम संकलन गरी दिने प्रचलन थकाली समुदायमा अहिले पनि छ। यसरी प्राप्त रकमबाट व्यापार-व्यवसाय गरी पछि बिस्तारै तिर्दै जाने गरिन्छ। काठमाडौँका माडवारी समुदायमा ढुकुटी खेल्ने गरिएको पाइन्छ। थकाली समुदायमा खेलिने ढुकुटीमा पालैपालो पैसा खाने नियम छैन। व्यवसाय वा अन्य कुनै क्षेत्रमा लगानी गर्न पैसाको आवश्यकता परिरहेको व्यक्तिलाई आफन्तजन मिलेर दामासाही रकम संकलन गरी पैसा दिने गरिन्छ। सहकारी वा अन्य वित्तिय संस्था नहुँदा यो समुदायले आर्थिक समृद्धिका लागि सहकारीका रूपमा ढुकुटीलाई प्रयोग गर्ने गरेको थियो।

कसरी खेलिन्छ ढुकुटी
समूहअनुसार ढुकुटी खेल्ने आ-आफ्नै नियम हुन्छन्। कसैले गोलाप्रथा गर्छन्, केही पैसा छोड्छन्, कुनैमा नम्बर सिस्टम पनि चलेको पाइन्छ। गोलाप्रथा ढुकुटीको प्रचलित नियम हो, जसमा नाफा पनि सामान्य हुन्छ र जोखिम पनि कम। यसमा जसलाई 'बधाई' लेखिएको गोला पर्छ, त्यो पटकको ढुकुटी उसैले खान्छ। अर्को नियमको ढुकुटीमा जसले बढी पैसा छोड्छ, उसैले ढुकुटी खान्छ। यो नियममा जति छोडेर पनि खान पाउने तथा किस्ताअनुसार न्यूनतम वा अधिकतम यति छोड्नैपर्ने भनेर पूर्वसहमति गरिएको हुन्छ। तेस्रो सबैको नम्बर सिस्टम गरी जसको पालो आउँछ, उसैले ढुकुटी खान्छ। सबै ढुकुटीका लागि न्यूनतम १० देखि अधिकतम ५० जनासम्म खेलाडी हुन्छन्। खेलाडीहरूका अनुसार सबैभन्दा राम्रो २० जनाको समूह हो।
ढुकुटी सञ्चालन गर्ने व्यक्तिलाई 'घोप्पा' भनिन्छ। उसले ढुकुटीका सहभागी सबैको रकम सुरक्षाको जिम्मा लिएको हुन्छ। जोखिम बहन गर्ने मुख्य व्यक्ति ऊ नै हुन्छ। सञ्चालकले ढुकुटीको पहिलो किस्ता आफैँ राख्छ। जोखिम बहन गरेबापत सञ्चालकले कमिसन पाउनुका साथै खाजा खर्चको रकम बचत गर्न सक्छ। प्रायः जति रुपैयाँको ढुकुटी खेलिएको हुन्छ, त्यसको एक प्रतिशत खाजा खर्च तोकिएको हुन्छ। ढुकुटीमा संकलन हुने रकमअनुसार ढुकुटी खेल्ने स्थान तय गरिएको हुन्छ। महँगा होटलदेखि चल्तीका रेस्टुरेन्टमा हुने खेलमा मदिरा खाएर मोजमस्ती गरेपछि शुरु हुन्छ, खल्ती रित्याउने र ढुकुटी भर्ने काम।
पहिलो नियमअनुसार ढुकुटी खानेले तोकिएको निश्चित ब्याज तिर्नुपर्ने हुन्छ, जुन ब्याज रकम थप्दै लगानी गरिरहेका सदस्यहरूमा दामासाहीले बाँडिन्छ। अन्तिममा ढुकुटी खानेलाई फाइदा हुने भए पनि अन्तिमसम्म ढुकुटीमा पैसा बुझाउँदा बीचमै कसैले गडबड गरेमा रकम डुब्ने जोखिम पनि उत्तिकै हुन्छ।
प्रतिशत छोडेर खाने ढुकुटीमा भने अगाडिकै किस्तामा खानेहरूले प्रतिस्पर्धामा धेरै रकम छोडेर ढुकुटी खान्छन्, जुन रकमलाई उच्चतम आम्दानी हुने क्षेत्रमा लगानी गर्न नसके घाटा हुन्छ। छोडेर खाने ढुकुटीमा भने छोडेर जति रकम खाएको छ, प्रत्येक सदस्यमा त्यो रकम भाग लगाएर एकमुस्ट संकलन गरिन्छ। ठूलो रकमको ढुकुटीमा चेक वा बढीमा सात दिनभित्र नगद दिनुपर्ने नियम लगाइएको हुन्छ।
कति रकमको ढुकुटी खेल्ने भन्ने कुरा खेलाडीको रकम निकाल्न सक्ने क्षमतामा निर्भर गर्छ। ठूलो ढुकुटीको नियमित किस्ताको रकम तिर्न नसक्नेहरूले बीचमा पैसा खाएर भाग्दा ढुकुटी डुब्छ। आपसी विश्वासका भरमा प्रत्येक सदस्यले आफ्नो रकम नियमित किस्ताका रूपमा बुझाउँछन्। ढुकुटी सञ्चालकको नियत खराब भए पनि रकम डुब्छ। कानुनी आधार कुनै लिखत नहुने भएकाले विश्वासमा अलिकता संकट आउनेबित्तिकै ढुकुटी डुब्छ।


जटिल बैकिङले जन्माएको विकृति

दिनेश आचार्य-
घटना १

फुटपाथमा चियापसल गरेर बसेकी अत्यन्त निम्न आर्थिकस्तरकी रेणु रानामगरले ढुकुटी खेलाएर सात करोड रुपैयाँ ठगिन्। उनले जग्गा दलाली हुँदै प्लटिङको व्यापार गर्नेहरूलाई ढुकुटी खेलाएर रकम उपलब्ध गराउँदै आएकी थिइन्। स्वयम्भूको एउटा रेस्टुरेन्टमा अखडा बनाएकी उनीमाथि राम्रै आर्थिक हैसियत बनाएका व्यक्तिहरूले पनि करोडको हाराहारीमा रकम बुझाएका रहेछन्। उजुरी प्रहरीकहाँ पुग्यो। सीतापाइलाबाट पक्राउ परिन्। न घर छ, न त परिवार। सानो कोठामा डेरा गरेर बस्नेलाई मान्छेहरू किन करोडौँ दिन तयार हुन्छन्? यो सोच्दासोच्दै अनुसन्धान गर्ने प्रहरी नै हैरानीमा परे। ढुकुटीको अभियोगमा जाहेरी नपरेकोले साधारण मानिने सार्वजनिक मुद्दामा उनलाई थुनियो। उनी २५ दिन हिरासतमा बसेर मुक्त भइन् र राजधानीबाट बाहिरिइन्।

घटना २
जैसीदेवलकी ५१ वर्षीया छोरीमैया महर्जन १६ फागुनदेखि बेपत्ता भएको भन्दै हनुमानढोका प्रहरीमा खोजतलासका लागि एफआइआर दर्ता भयो। प्रहरीले उनको खोजतलासका लागि प्रक्रिया अघि बढाउनासाथ उनीविरुद्ध थुप्रै लेनदेनको केस थुप्रियो। प्रहरीले मान्छे त फेला पारेन, उनले तिर्नुपर्ने प्रशस्तै मानिस भेट्टायो। झन्डै दुई करोड रुपैयाँभन्दा बढी रकम लिन बाँकी छ भन्नेले पनि ढुकुटी खेलेको नभनेर सापट दिएको भन्दै उजुरी गरेका छन्। तर, सापटी दिएको कुनै कागज छैन। महर्जन घरमै ढुकुटी खेलाउने धन्दा गर्दिरहिछिन्।

ढुकुटीसँग जोडिएका यस्ता थुप्रै रोचक घटनाहरू प्रशस्त छन्। बानेश्वर घर भएका श्रेष्ठ थरका एक ढुकुटी सञ्चालक करिब पाँच करोड रुपैयाँभन्दा बढी तिर्नु भएपछि बेपत्ता भए। वीरगञ्जमा लुकेर बसेका उनले गत महिनामात्र घरमा फोन गरेर नचिन्ने स्वर बनाउँदै हिन्दीमा आफ्नो छोरासँग भनेछन्, 'तेरो बाबुलाई मैले अपहरण गरेको छु। पाँच करोड फिरौती तुरुन्त पठाउनू। नत्र मारिदिन्छु।' प्रहरीले फोन ट्रेसिङमार्फत अनुसन्धान गर्दा थाहा भयो। त्यो उनी आफैँले स्वर बंग्याएर बोलेका रहेछन्। अपहरणमा फसेर फिरौती गुमाएको भनेपछि पैसा लिनेहरूले कडाइ नगर्ने र पच गर्ने योजना उनको रहेको पाइयो।
ढुकुटी बैकिङ व्यवसायमा समस्या आएसँगै राष्ट्र बैंकले कडाइ गर्न थालेपछिको विकृति हो। अनौपचारिक कारोबारको यो रूप नेपालको सन्दर्भमा नयाँ भने होइन। ६० को दशकको शुरुमै काठमाडौँ ढुकुटीमय थियो। त्यसबेला पनि बैंकिङ कारोबारको झन्झट निकै रहेको र ब्याज पनि चर्को भएका कारण ढुकुटी मौलाएको हो। पछिल्ला दिनमा निजी बैंकहरूको बिस्तारसँगै बैंकिङ कारोबारमा मध्यम वर्गको सहज पहुँच हुन थालेलगत्तै ढुकुटी सेलाएको थियो।
चन्द्रशमशेरले तेजारथ अड्डा शुरु गरेपछि नेपालमा आर्थिक कारोबारको औपचारिक शुरुवात भएको मानिन्छ। खासमा ढुकुटी अवैध भनिए पनि यही चरित्रका कारोबार नेपाली आर्थिक इतिहासमा निकै पुरानो हो। समूह र सहकारी पनि यस्तै अनौपचारिक कारोबारका रूप हुन्।
दोस्रो विश्वयुद्धमा हजारौँ युवा रगत बगाउने खेल खेल्न राजी भएर ब्रिटिश सेनामा भर्ती हुन थालेपछि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले विचार गरे, 'उनीहरूले देशमा केही विकल्प नपाएरै युद्ध रोजेका हुन्।' त्यसपछि चन्द्रशमशेरले ग्रामीण जनता र उद्यमीलाई सस्तो र सुलभ ऋण दिन 'तेजारथ अड्डा' शुरु गरेका थिए। उनका भाइ जुद्धशमशेरले एक कदम अगाडि बढेर नेपाल बैंक लिमिटेड खोले।
पञ्चायतको अन्त्यअघि सन् १९८० को मध्यतिर बैंकहरूको उदारीकरण प्रक्रिया शुरु गरियो। सुरुमा ब्याजदर नियन्त्रण गरियो। सन् १९८५ मा वित्तीय संस्थासम्बन्धी नियम ल्याइयो र विदेशी लगानीका बैंकहरू खोल्न दिइयो।
जब जब बैंक सामान्य जनताको पहुँचबाट टाढा हुन्छन्, तब ढुकुटीजस्ता अनौपचारिक कारोबार मौलाउँछ। वैध रेमिटेन्समा विदेशिएका नेपालीको सहज पहुँच नभएको र महँगो भएकै कारण हुण्डीको कारोबार फस्टाएजस्तै ढुकुटी मौलाउनुमा पनि बैंकिङ चरित्र र वित्तीय नीतिकै मुख्य हात छ।
नेपालमा अझै पनि निम्नमध्यम बर्गसम्म बैकिङ सेवा पुग्न सकेको छैन। बैंकहरू सर्वसुलभ सेवामा भन्दा हाई-फाई देखाएर ब्यालेन्स सिटमा चाँडो चाँडो मुनाफा थप्ने ध्याउन्नामा रहेका कारण पनि यो सेवा महँगो पर्ने गरेको हो। यसमाथि राष्ट्र बैंकले नानाथरी नियम बनाएर यसलाई झनै झन्झटिलो बनाइदिएको छ। त्यसमाथि बैंकले ऋण दिँदा धितो खोज्ने र निक्षेपदेखि कर्जासम्मको ब्याजदर घटाउँदा पैसावालहरू मर्कामा परेका छन्। अनि, घरजग्गालगायत कतिपय शीर्षकमा ऋण प्रवाह रोकिने र नियन्त्रण हुने क्रमबाट दिक्दार भएकाहरू अहिले ढुकुटीमा लागेका हुन्। तर, शहरमा यसले थामिनसक्नुका अपराध जन्माएका छन्।
सहकारीको अवधारणाले पनि बैकिङ रूप लिएपछि ढुकुटी फैलियो। सहकारीको करिब ७० प्रतिशत लगानी रियलस्टेट केन्द्रित भएको अनुमान विश्लेषकहरूले गरेका छन्। तर, बैंकहरू भने सहकारीमा रहेको झन्डै दुई खर्ब रुपैयाँलाई आफ्नो सञ्जालमा भित्र्याउनुभन्दा सहकारीलाई बदनाम बनाएर कानुनी दाउपेच हाल्दै नियन्त्रण गर्ने प्रयासमा छन्।
पछिल्लो समय कडाइका साथ लागू गर्न लागिएको सम्पत्ति शुद्धीकरण ऐनका कारण सहकारीमा निक्षेप थुप्रिएको थियो। तर, राष्ट्र बैंकले ठूला सहकारीहरूलाई आफ्नो नियमनमा ल्याउने जनाएपछि सो पुँजी ढुकुटीमा सोहोरिएको बताइएको छ। ढुकुटी सञ्चालनलाई अवैध भन्ने गरिए पनि यसमाथि कारबाही गर्ने स्पष्ट कानुन छैन। कानुनको यही खाडल नै प्रहरीका लागि कमाइको राम्रो माध्यम भएको छ। ढुकुटीमा ठगिएपछि प्रहरीकहाँ उजुरी लिएर आउँदा उसले नचिनेको छ भने दर्ता नै गर्दैन। आफ्नो मान्छेको परेछ भने ठगी भन्दै कडा कदम उठाउँछ। स्रोतका अनुसार आधाभन्दा बढी ढुकुटी सञ्चालनमा प्रहरीका उच्च अधिकारीहरूको प्रत्यक्ष/अप्रत्यक्ष सहभागिता रहेको पाइन्छ। प्रहरीको सहभागिता भयो भने कारबाहीबाट पनि बच्ने र कसैले तिरेन भने प्रहरी लगाएर उठाउन पनि सकिने हुनाले प्रहरीका लागि यो मलिलो भूमि भएको छ।
यसबाहेक प्रहरी, सेना, सरकारी कर्मचारी तथा राजनीतिक व्यक्तिहरूको अवैध कमाइको व्यवस्थापन पनि ढुकुटीमै हुने गरेको यथेष्ट प्रमाण छन्। नियमित सम्पत्ति विवरण बुझाउनुपर्ने, अख्तियार, सर्तकता केन्द्र र मिडियाको चंगुलबाट बच्न उनीहरूले अवैध कमाइ सहकारीबाट झिकेर ढुकुटीमा चर्को ब्याजमा लगाएका छन्। यसरी सापटी दिँदा उनीहरू वैदेशिक रोजगारीमा पठाउन लागेको भन्दै कागज गराउने र प्रहरी बर्दीको आडमा पैसा असुल्ने गर्छन्। यस्तो धन्दामा अधिकांश भूतपूर्व उच्च अधिकारीसँगै वर्तमान अधिकारीहरू पनि सामेल छन्।
ढुकुटी खेल्ने समूहमै भर परेर राजधानीका अधिकांश फास्टफुड रेस्टुरेन्ट चलेका छन्। धुम्बाराहीमा त एउटा फास्टफुडले नामै 'ढुकुटी रेस्टुरेन्ट एन्ड बार' राखेको छ। स्रोत नभएका सम्पत्ति थुपार्नेलाई सम्पत्ति शुद्धीकरण ऐन लगाएर कारबाही हुन थालेको छ। त्यसमाथि बैंकले ऋण दिँदा धितो खोज्ने र निक्षेपदेखि कर्जासम्मको ब्याजदर घटाउँदा पैसावालहरू मर्कामा परेका छन्। अनि, घरजग्गालगायत कतिपय शीर्षकमा ऋण प्रवाह रोकिने र नियन्त्रण हुने क्रमबाट दिक्दार भएकाहरू अहिले ढुकुटीमा लागेका हुन्। तर, सहरमा यसले थामिनसक्नुका अपराध जन्माएका छन्।
यसको निराकरणका लागि राष्ट्र बैंकले गतिलो अध्ययन गरी ढुकुटीलाई पनि वैधानिकता दिनु नै हो। अन्यथा अनौपचारिक कारोबारमा कुनै प्रमाण नहुँदा कानुनविपरीत नै भए पनि कारबाही गर्ने कुनै अवस्था छैन। यसर्थ समातिएकालाई सार्वजनिक मुद्दा लगाउने र प्रहरीका हाकिमका लागि बल्छी थाप्ने कार्य तत्काल रोक्नुपर्छ।
(आचार्य आर्थिक पत्रकार हुन्।)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out