यसरी बन्यो 'टाइटानिक' फिल्म

दीपेन्द्र लामा- मानव जातिकै गरिमामय उपलब्धि र सिर्जनशीलताको एक उत्कृष्ट नमुना हो 'टाइटानिक' फिल्म। त्यही भएर पन्ध्र वर्षपछि दोस्रोपटक थि्रडीमा रिलिज हुँदा पनि 'टाइटानिक'ले उसैगरी दर्शकको मुटु छोयो। एटलान्टिक महासागरमा टाइटानिक जहाज डुबेको शतवार्षिकी समुन्द्रको एउटा निश्चित विन्दुमा मनाइरहँदा जेम्स क्यामेरनद्वारा निर्देशित 'टाइटानिक' फिल्मलाई संसारभर दर्शकले थ्रीडी चश्मा लगाएर हेरिरहे। एक हिसाबले फिल्मको माध्यमद्वारा संसारभरका दर्शकले टाइटानिक दुर्घटनामा ज्यान गुमाएका १५१४ यात्रुप्रति समवेदना प्रकट गरे।
एउटा फिल्मको योभन्दा ठूलो ताकत र प्रभाव के हुनसक्छ र? फिल्मले मान्छेहरूको मन जोड्नसक्छ भन्ने प्रमाणित गर्‍यो 'टाइटानिक'ले। निर्देशक क्यामेरन एकपटकको रोपाइबाट दुईपटक बाली भिœयाउन सफल भएका छन्। फिल्मका दुई मुख्य पात्र ज्याक (लियोनार्दो डिक्याप्रियो) र रोज (केट विन्सलेट)को छोटो तर गहिरो प्रेमसम्बन्धमा दुई पुस्ताका दर्शक (सन् १९९७ र अहिलेको )ले आफूलाई 'एसोसियट' गर्न पाए। नयाँ पुस्ताका लागि यो फिल्म नयाँ अनुभव बन्यो भने पुरानो पुस्तालाई आफ्नो संवेदनशीलता जाँच्ने र सुधार्ने अवसर यसले दियो।
काल्पनिक प्रेमकथा सिर्जना गर्दा इतिहासको अपहेलना हुनसक्ने जोखिम जति थियो, भव्य भौतिक संरचनालाई फिल्ममा सजिब उतार्न त्यति नै कठिन थियो। तैपनि जेम्स क्यामेरनले आफूलाई एक हदसम्मको 'सृष्टिकर्ता' साबित गर्दै महासागरमा हराएको एउटा सभ्यतालाई कलात्मक फिल्मको रूपमा अभिलेख गरिदिए।
ह्वाइट स्टार लाइन कम्पनीको टाइटानिक जहाज विभिन्न परीक्षणपछि २२२४ मान्छे बोकेर पहिलो औपचारिक यात्रा थाल्दै बेलायतदेखि अमेरिका गइरहेको थियो। उत्कृष्ट फिल्म, निर्देशन, छायांकन र सम्पादनसहित ११ वटा अस्कर अवार्ड जित्न सफल 'टाइटानिक'ले जहाज डुब्दाको त्रासदीमात्र होइन तत्कालीन बेलायती अमेरिकी समाजमा रहेको वर्गीय विभेदलाई पनि कैद गरेको छ। फिल्ममा ज्याक (थर्ड क्लास यात्रु) र रोज (फस्ट क्लास)ले जहाजको बार्दलीमा उभिएर पालैपालो थुक्ने दृश्यले दुई पात्रको वर्ग छर्लङ्ग छुट्याउँछ।
दुर्घटनामा ज्यान गुमाउनेमा थर्ड क्लास यात्रु बढी थिए। निर्देशक क्यामेरनले फिल्ममार्फत् बढी सहानुभूति तिनै यात्रुप्रति पोखेको पाइन्छ। उनले फिल्मका लागि संगीतकार जेम्स हर्नरलाई आयरल्यान्डको लोकगीतमा आधारित भई गीत कम्पोज गर्न लगाए। थर्ड क्लासमा यात्रा गर्ने धेरैजसो आइरिस नागरिक थिए।

३डीमा पुनः छायांकन
 फिल्मको अन्त्यमा रोजले उद्धारटोलीतिर हेर्दा आकासमा देखिने ताराहरू सन् १९९७ को र अहिलेको संस्करणमा अलगअलग देखिनेछ। अमेरिकी खगोलविद् निल डेग्रासे टाइसनले निर्देशक क्यामेरनलाई जहाज डुब्ने समय ( १९१२ अप्रिल १५ बिहान ४ः२० बजे)मा एट्लान्टिक महासागरको उक्त विन्दुबाट देखिने तारा त्यस्तो हुन नसक्ने बताएका थिए। त्यसपछि क्यामेरनले टाइसनलाई ताराहरूको नक्सा लिएर आउन चुनौती दिए। आफू गलत ठहरिएपछि क्यामेरनले थि्रडी संस्करणको फिल्ममा तारामण्डलको संरचना ठिक ठाउँमा देखिने गरी पुनः छायांकन गरे।

मेक्सिकोमा सेट
मजदुरको ज्याला सस्तो पर्ने हुनाले 'टाइटानिक' खिच्न क्यालिफोर्नियादेखि नजिकै रहेको मेक्सिकोको सान्ता रोसारितो भन्ने ठाउँको समुद्री किनारमा सेट बनाइएको थियो। फिल्म निर्माण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सले त्यहाँ १ लाख ६२ वर्गमिटर जग्गा किनेको थियो। सेटमा नक्कली टाइटानिक जहाज सक्कली (८८२ फिट)भन्दा १० प्रतिशत सानो ७७५ फिट लामो बनाइएको थियो। १० तल्ला अग्लो सेट बनाउन कम्पनीले २ करोड ४० लाख डलर खर्च गर्‍यो। नक्कली जहाज एकपट्टिको भाग मात्र बनाइएको थियो। अर्कोपट्टिको भाग जमिनसँग जोडिएको थियो। जहाजको तीनतिर मात्र पानी थियो। जहाज बनाउन प्रयोग गरिएको १६२ फिट अग्लो त्रे्कनबाट पछि फिल्म खिचिएको थियो। क्यामेरा गुडाउन ६०० फिट लामो ट्रयाकको व्यवस्था गरिएको थियो। सेटमा दुइटा 'पोखरी' बनाइएको थियो, एउटा ८०० फिट लामो र ९० फिट गहिरो, ६ करोड ४३ लाख लिटर पानी भएको र अर्को ३० फिट गहिरो, १ करोड ९० लाख लिटर पानीवाला। पानी सिधै समुन्द्रबाट ल्याइन्थ्यो। जहाजमाथि ६५ फिट अग्ला चारवटा चिम्नी ठड्याइएको थियो।

फ्लिप गरिएको दृश्य
एकपट्टि मात्र जहाज बनेकोले कतिपय दृश्यलाई स्त्रि्कप्टभन्दा उल्टो (दायाँतिर हिँड्नुपर्ने मान्छेलाई देब्रेतिर हिँड्न लगाई) खिचेर पोस्ट प्रोडक्सनमा फर्काइएको (फ्लिप गरिएको) थियो। जमिनसँग जोडिएकोले जहाज चलायमान थिएन। चिम्नीबाट निस्किएको धुवाँ हावाको गलत दिशाले सोचेभन्दा विपरीत उड्दाखेरि पनि निर्देशकले यो चलाखी देखाएका थिए।

क्यामेरनले बनाए नग्न चित्र
केट विन्सलेटको प्रसिद्ध नग्नचित्र निर्देशक क्यामेरन आफैंले बनाएका थिए। फिल्ममा ज्याकले रोजलाई देखाएका विभिन्न चित्रहरू पनि क्यामेरनकै सिर्जना थिए। चित्र बनाउँदाको दृश्य खिच्दा फ्रेममा देखिने हात क्यामेरनकै थियो। त्यो दृश्य सबैभन्दा पहिले खिचिएको थियो। लियोनार्दो र केटले सँगै रिहर्सल गरे पनि खिच्ने बेला अलगअलग अभिनय गरे। क्यानडामा जन्मिएका क्यामेरन सानो छँदा टोरन्टोको म्युजियममा बारम्बार गएर प्राचीन वस्तुहरूको चित्र कोर्थे।

स्पेसल इफेक्ट
टाइटानिक जहाजलाई बन्दरगाहबाट बिदा गर्न जम्मा भएको भीड कम्प्युटरबाट बनाइएको थियो। यसको लागि भिजुयल इफेक्ट सुपरभाइजर रब लेगाटोले आफू र आफ्ना परिवारका अनुहारको समेत स्क्यान गरेका थिए। इन्जिनको दृश्य, फस्ट क्लासको इन्टेरियर र जहाजको पिँधमा उर्लिएको पानीको धार कम्प्युटरबाट जोडिएको थियो। जहाज डुबेपछि रेलिङ र पंखामा ठोक्किँदै हाम फाल्ने मान्छेहरू पनि कम्प्युटरमै सिर्जिएको थियो। स्पेसल इफेक्टमा चार करोड डलर खर्च भएको थियो।

हटाइएका दृश्य
टाइटानिक डुब्ने बेला केही माइल नजिकै क्यालिफोर्नियन नामक जहाज गइरहेको इतिहासमा उल्लेख छ। जहाजका चालक दलले राति रेडियो बन्द गरेकोले टाइटानिकसँग यसको सम्पर्क हुनसकेन। निर्देशक जेम्स क्यामेरनले त्यो जहाजको प्रसंग फिल्ममा समावेश गरेका थिए। जहाजमा कसैले मार्कोनी रेडियो सेट बन्द गरेको दृश्य खिचिएको थियो। तर, पछि क्यामेरनलाई क्यालिफोर्नियन जहाजको प्रसंगै अनावश्यक लाग्यो र हटाइदिए।
जहाजभित्र पानी छिरेपछि रोजसँग हिराको माला खोस्न आउने पात्रलाई ज्याकले कुटेर मृत्त बनाएको दृश्य पहिले थियो। पहिलो आन्तरिक प्रदर्शनीमा केही दर्शकबाट लियोनार्दोलाई त्यो दृश्य नसुहाएको गुनासो सुनेपछि निर्देशक क्यामेरनले काटिदिए। वृद्धा रोजले सबैलाई देखाएर हिराको माला समुन्द्रमा फ्याँक्ने दृश्य पनि निर्देशकले बदले र रोजलाई माला कसैले नदेख्ने गरी फ्याँक्न लगाए।

पानीमुनि अनुसन्धान
फिल्मको फाइनल स्त्रि्कप्ट लेख्नुअघि जेम्स क्यामेरनले ३ हजार ७ सय मिटरको गहिराइमा रहेको टाइटानिकको भग्नावशेष १२ पटक अवलोकन गरेका थिए। त्यतिबेला फुटेज संकलन गरिए पनि स्तरीय नभएकोले भग्नावशेष दृश्य सेट लगाएर खिचिएको थियो। जहाजको डिजाइन गर्न डन लिन्च र केन मार्सचालले दिएका सूचनालाई आधार बनाइएको थियो। जीवनभर टाइटानिकको अध्ययन अनुसन्धान गरेका डन पहिलोपटक सेटमा बनेको जहाजमा पुग्दा स्तब्ध भएका थिए। त्यस्तै टाइटानिकका आधिकारिक चित्रहरू बनाएर कहलिएका केनकै चित्रका आधारमा स्पेसल इफेक्ट खिचिएको थियो। फस्ट क्लासमा यात्रा गर्ने अभिजात वर्गका मान्छेको हाउभाउ र बोलीचाली कलाकारलाई सिकाउन विज्ञहरू उपलब्ध थिए।

१६० दिन सुटिङ
टाइटानिक सेटमा मुख्य सुटिङ १९९६ सेप्टेम्बरमा सुरु भई १९९७ मार्चमा सकिएको थियो। १६० दिन लम्बिएको सुटिङ हरेक दिन १२-१४ घन्टा चल्थ्यो। निर्देशक क्यामेरन हरेक हप्ता भिटामिन बि सुई लगाउँदै काम गर्थे। पानीमा धेरै समय डुबेर काम गर्दा केही कलाकारको मिर्गौलामा खराबी आएको थियो। समुन्द्रको चिसो पानीमा यात्रुहरू कठ्यांग्रिएको दृश्य १३ लाख लिटर पानीमा खिचिएको थियो। सुटिङमा पानीको सम्पर्कमा आउने बित्तिकै क्रिस्टल बन्ने विशेष पाउडर प्रयोग गरिएको थियो भने कलाकारका कपाल र लुगामा मैनको पत्र लेपिएको थियो। ज्याक र रोजको समागम दृश्य जहाजभित्र राखिएको कारमा खिचिएको थियो। उक्त कार काल्पनिक थिएन। कारधनी विलियम इ कार्टरले उक्त कार डुबेवापत पछि २५ सय बिमा रकम असुलेका थिए। कार अझै समुन्द्रको पिँधमै छ।

टाइटानिक बजेट
फिल्म बनाउन सुरुमा ७ करोड ५० लाख डलर लाग्ने अनुमान थियो। तर, पछि बजेट २० करोड डलर पुग्यो। यो आफ्नो समयको सबैभन्दा महँगो फिल्मको रूपमा चिनियो। सय वर्षअघि सक्कली जहाज बनाउनभन्दा २२ गुणा बढी पैसा खर्च फिल्ममा भएको थियो। फिल्ममा लियोनार्दोले २५ लाख र केट विन्सलेटले १० लाख डलर पारिश्रमिक पाएका थिए। फिल्मलाई थि्रडीमा रूपान्तरण गर्दा १ करोड ८० लाख डलर लागेको थियो।

अकुत आम्दानी
'टाइटानिक' फिल्म ३ घन्टा १४ मिनेट लामो छ। निर्माण कम्पनी पारामाउन्ट पिक्चर्स् र ट्वेन्टिथ सेन्चुरी फक्सले निर्देशक क्यामेरनलाई फिल्मको लम्बाई दुई घन्टामा सीमित गर्न सुझाव दिएका थिए। दैनिक प्रदर्शनी संख्या घट्ने डर थियो निर्मातालाई। तर, क्यामेरनले फिल्म छोट्याएनन्। बरु, फिल्म धेरै हलमा आधा रातमा सुरु भएर बिहान ३ बजेसम्म चलिरहयो। एक अर्ब डलर कारोबार गर्ने पहिलो फिल्मको रेकर्ड यसले राख्यो। यसको कमाइ अहिलेसम्म दुई अर्ब नाघिसकेको छ। सन् १९९७ मा फिल्म रिलिज भएदेखि १६ हप्तासम्म बक्सअफिसको पहिलो स्थानमा रहयो। फिल्मको गीति एल्बम अहिलेसम्मकै सर्वाधिक बिक्ने 'फिल्मी गीत' बनेको छ भने यसको निर्माण सम्बन्धी लेखिएको किताब न्युयोर्क टाइम्सको बेस्ट सेलर सूचीको पहिलो नम्बरमा थियो।
(वेबसाइटहरूमा प्रकाशित लेख र अन्तर्वार्ताको सहयोगमा)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out