४ यात्री, १५५५ किलोमिटर, ९९ दिन (फोटो सहित)

सुदीप श्रेष्ठ/श्याम भट्ट, काठमाडौं, वैशाख १६ - १,५५५ किलोमिटर यात्रा गरेर ९९ दिनपछि फर्केका यी चारजनालाई हामीले बुधबार कुपण्डोलको समिट होटलमा एकैचोटि भेट्यौं। कपाल, दाह्रीजुँगा झ्याप्प पालेका। सौरभ भन्दै थिए, 'वनबासबाट फर्केका ऋषिजस्ता देखिँदैछौं, है?'

'ऋषिहरूलाई र्झैँ प्रवचन दिन पनि भ्याइनभ्याइ रैछ।'

'त्यै त, भोलि फेरि टेलिभिजन इन्टरभ्यु छ,' उनले सुनाए, 'त्यही भएर दाह्रीजुँगा नकाटी बसेको।'
चार यात्रीमध्ये आपामात्र 'सफाचट' छन्। बिहान छिटो उठ्ने र हरेक दिन 'सेभ' गर्ने बानी उनले यी ९९ दिनमा पनि कुनै दिन भुलेनन्।
यो यात्रावृत्तान्त खासमा उनीहरूबाटै लेखाउने सोच थियो। तर, भ्याएनन्। त्यसैले, जतिसक्दो उनीहरूकै शब्दमा लेख्न चाह्यौं। चारै जनाले पालैपालो अनुभव बाँड्दै गए। हामी स्वस्थानी सुनेजस्तो एकाग्र भयौं।
सुरुवात स्वाभाविक रूपले दावाबाटै भयो।



आपा शेर्पा, ५२
आपा धेरै हिँड्छन्, थोरै बोल्छन्। एक्काइसपल्ट सगरमाथा चढेका उनलाई त्यसको अनुभव सोध्ने हो भने मुस्किलले एक्काइस शब्द भन्लान्। 'राम्रो रैछ, रमाइलो रैछ'- उनको जवाफ यस्तै-यस्तै।

दावा स्टेभेन शेर्पा, २८
आपासँगै सगरमाथा चढिसकेका दावा होटल व्यवसायी हुन्। हेर्दा खैरेजस्ता देखिन्छन्, बोल्दा पनि शेर्पाजस्ता पटक्कै सुनिँदैनन्। उनको धाराप्रवाह सुनेर सहकर्मी किरण भण्डारीले ठाडै भनिदिए- 'तपाईं त बाहुनलाई पनि मात खुवाउनुहुँदो रहेछ।' उनले 'माइन्ड' गरेनन्।

समीरजंग थापा, ३१
समीरको परिचय गराउँदै दावाले भनेका थिए- 'मेरो ११ वर्षदेखिको साथी हो, नेपालको टप ल्यान्डस्केप फोटोग्राफर।' त्यसपछि 'पोलिटिकल्ली करेक्ट' हुन खोजे- 'तपाईंहरूको पनि आफ्नै साथी होला, तर मेरो नजरमा समीरजस्तो ल्यान्डस्केप फोटोग्राफर नेपालमै छैन।'
सौरभ ढकाल, ३२
सौरभ पेसाले हामीजस्तै पत्रकार। कान्तिपुर टेलिभिजनमा वातावरण रिपोर्टिङ गर्छन्। यो यात्रापछि सेलेब्रिटी भइसके। आपासँगै बसेर हामीलाई 'कोट' (अन्तर्वार्ता) दिइरहेका थिए। हामी डायरीमा उनको 'कोट' टिपिरहेका थियौं।
यात्राको पृष्ठभूमि
सन् २००९ मा आपाले 'स्टप क्लाइमेट चेन्ज, लेट द हिमालय लिभ' भन्ने सन्देश बोकेर सगरमाथा आरोहण गरेका थिए। डेनमार्कको कोपनहेगनमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन 'कोप-१५' भएको त्यही वर्ष हो। सम्मेलनको एक महिनाअघि आपा र दावाले युरोपका १० सहर भ्रमण गरे। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे विभिन्न व्यक्तिसँग कुराकानी भयो। धेरैले आपासँग सोधे- 'हामी कसरी सहयोग गर्न सक्छौं?
उनीहरूले जवाफ दिन सकेनन्।
हिमाल पग्लँदैछ भन्ने त थाहा थियो, तर समुदायमा परेको प्रभावको ज्ञान थिएन। यसको निम्ति एकचोटि नेपाल राम्ररी घुम्नुपर्छ भन्ने उनीहरूलाई लाग्यो। ब्रसेल्सबाट पेरिस जाने रेलयात्रा क्रममा यसबारे छलफल गरे। समुदायको कुरा बुझ्न 'ग्रेट हिमालयन ट्रेल' हिँड्ने योजना बनेको त्यतिखेरै हो।
यात्राको उद्देश्य दुइटा थियो। एउटा, जलवायु परिवर्तनले पारेका असर बुझ्ने र अरूलाई बुझाउने। अर्को, कीर्तिमानी आरोही आपा हिँड्ने बाटोलाई संसारले पछ्याउने हुँदा ग्रेट हिमालयन ट्रेलमा पर्ने गन्तव्यहरूको पर्यटन प्रवर्द्धन गर्ने।
टिम कसरी बन्यो?
आपा र दावा त निश्चित भइहाले, साथमा यात्राको लिखित र फोटो 'डकुमेन्टेसन' गर्न सक्ने सदस्य पनि चाहियो। फोटोको निम्ति दावाले पुरानो साथी समीरलाई सम्झे। ट्रेकिङमा टख बसेको र यती ट्राभल्सको निम्ति फोटो डकुमेन्टेसन गरेको अनुभव थियो समीरसँग। उता सौरभ पत्रकारिता माध्यमबाट ग्रेट हिमालयन ट्रेल प्रवर्द्धनमा लागिरहेकै थिए। उनी पनि समूहमा जोडिए।

आरम्भ
माघ १, २०६८
आइतबार।
टोली दिउँसोको जहाजमा काठमाडौंबाट झापा (भद्रपुर) उड्यो। त्यहाँबाट गाडीमा इलामको फिक्कल। त्यो दिन उनीहरू फिक्कलमै बास बसे। यात्रा प्रायोजकमध्ये एक 'नर्थ फेस'का प्रबन्ध निर्देशक दीप लामाले फिक्कलको आफ्नै घरमा टोलीलाई पाहुना राखे।
लामाका छिमेकी रहेछन्, कवि-गायक गणेश रसिक। उनले पहिलो दिनै आपाको टोलीलाई आफ्नै बगानको चियाले स्वागत गरे। चिया खेतीमा आएको परिवर्तनको अनुभव सुनाए। जलवायु परिवर्तनले खेतीपातीमा पारेको असर बुझ्ने काम यहीँबाट सुरु भयो।
रसिकको भनाइमा चियाको पात टिप्ने सिजन एक महिना घटेको छ। दुई साता ढिलो सुरु हुन्छ, दुई साता पहिल्यै सकिन्छ। यसले बगानमा काम गर्नेहरूको रोजगारमा प्रत्यक्ष असर पारेको छ। एउटा बगानमा औसत तीन सयजना काम गर्छन्। पहिले तीन महिना काम पाउँथे, अहिले एक महिना घटेको छ।
'गणेशजीको नाम पनि रसिक, कुरा पनि निकै रसिक गर्नुहुँदोरहेछ,' दावाले भने।
फिक्कलमै एफएमकर्मीहरू छोप्न आइहाले। त्यसपछि पनि जहाँ-जहाँ पुगे, मिडियाले प्राथमिकतासाथ ठाउँ दियो। एफएम क्रान्ति देखेर उनीहरू चित् खाएका छन्। कति ठाउँमा त टोली पुग्नुअघि नै स्थानीय एफएममा समाचार बजिसकेको हुन्थ्यो। त्यही सुनेर गाउँलेहरू 'आपा आए, आपा आए' भन्दै घेर्न आइपुग्थे। आपाले बोकेको नेपालको राष्ट्रिय झन्डाले धेरैको ध्यान खिच्यो। केटाकेटीहरूको त झनै बढी। उनीहरू 'नेपालको झन्डा' भन्दै आपाको पछि दगुर्थे।
दोस्रो दिन उनीहरू ताप्लेजुङको सुकेटार बास बस्न पुगे। एभरेस्ट भ्यु होटलमा। भोलिपल्ट त्यहीँबाट पूर्व लाग्ने योजना थियो। ताप्लेजुङका स्थानीयले सम्मान कार्यक्रम राखेपछि नगई धर पाएनन्। कतिसम्म प्रेम देखाए भने, सबैलाई खादा ओढाएर पूरा ताप्लेजुङ बजार घुमाइदिए। यात्रा सुरु गर्न पाएको छैन, सफल भएर फर्केजत्तिकै भयो।
बिहान ८ बजे हिँड्ने सुर कसेका उनीहरू दिउँसोसम्म बजारतिरै अल्मलिइरहे। १२ बजेतिर बल्ल सुकेटारबाट जुत्ताको तुना कसे। भद्रपुर-सुकेटार मार्गमा एक किलोमिटर पनि हिँडेका थिएनन्। पैदल यात्रा बल्ल सुरु हुँदै थियो। यहाँबाट सोझो पूर्व लागेर नेपालको सीमा छोएपछि पश्चिम हानिने कार्यक्रम बनाएका थिए।
तेस्रो दिन सुकेटारबाट १४.२ किलोमिटर हिँडेर सिम्बु भन्ने ठाउँमा बास बसे। डिएफआइडीले त्यहाँ पर्यटन विकास कार्यक्रमअन्तर्गत 'होमस्टे' विकास गरेको रहेछ।
सिम्बुमा तराईबाट सिरक बनाउन आएको टोलीसँग भेट भयो। तराईमूलका उनीहरू पुस्तौंदेखि यही काम गरिरहेका थिए। उनीहरू आपाको टोलीजस्तै क्याम्पमै आएका थिए। गाउँभरिको सिरक बनाउने काम ठेक्का लिन्थे। एउटा गाउँ सकेपछि क्याम्पै अर्को गाउँ सार्थे।
'यसमा घनिष्ठ जातीय र क्षेत्रीय सम्बन्ध हामीले पायौं,' सौरभले भने, 'तराईको मान्छेले सिरक नबनाएसम्म माथिका मान्छेलाई न्यानो हुँदैन, जब कि तराईमा सिरकै ओढ्नुपर्दैन।'
परम्परागत सामाजिक सम्बन्धको एउटा पक्ष जीवित थियो भने अर्कातिर गाउँगाउँमा ब्रान्डेड सामानको प्रवेशले केही परम्परागत सम्बन्ध भत्कँदै गएका थिए। पहिले हिमाली भेगकाले आलु र फापर जाडोमा तुम्बा खान कोदोसँग साट्थे। त्यही कोदो धानसँग साट्ने चलन थियो। 'अचेल तराईबाट सोझै मख्खन चामल हिमालसम्म पुगेको छ,' दावाले भने। शिर (हिमाल), भीर (पहाड) र तीर (तराई) को सम्बन्ध खोतल्नु पनि भ्रमणको उद्देश्य थियो।
चौथो दिन सिम्बुबाट १६ किमीभन्दा बढी हिँडेर फाङ्फे पुगे। कुन दिन कहाँ बास बस्ने भनेर मोटामोटी योजना बनाएका थिए, घर वा होटल निधो थिएन। गन्तव्य पनि रुट तय गर्ने हिसाबले खेस्रा गरिएको थियो। कहिले बढी थाकेर अगाडि नै बास बस्थे, कहिले ज्यान फुर्तिलो भएको दिन अझ पर लम्किन्थे। बसाइ र खवाइमा कुनै छनोट थिएन। जहाँ, जस्तो भेटियो, त्यस्तैमा बसे। खानामा पाएसम्म 'लोकल'। रक्सी पनि। सुकेटारमा तोङ्बा चाखे। अरू ठाउँमा छ्याङ र घरेलु रक्सी जे पाइन्छ, त्यही खाए। रम, ह्विस्की, भोड्का कहिल्यै मागेनन्। मासु खाँदा सरसफाइमा ध्यान दिन्थे। कहीँकहीँ जनावर काट्ने ठाउँमा वर्षौंदेखि नपखालेको कालो, रगत नै रगत जमेको देखेपछि घीन माने।
उनीहरूले धेरै उचाइमा हिँड्नुभन्दा बस्ती ताकेका थिए। उचाइमा हिँड्न मौसमले सम्भव थिएन। बस्तीबस्ती जाँदा स्थानीयसँग कुराकानी गर्ने मौका पाइन्थ्यो। सोझै 'जलवायु परिवर्तनले के असर पारेको छ' सोध्यो भने स्थानीयले बुझ्दैनन् भनेर सामान्य ढंगमा कुराकानी थाल्थे- स्कुलको विषय? सरसफाइ? संस्कार? कुन समुदाय बढी छ? बाहुन, क्षेत्री, राई, लिम्बु?
पछि त यति पोख्त हुँदै गए, राईमा पनि कुन राई, थापामा बगाले कि गोदारे भनेसम्म सोध्न थाले। आफ्नै गाउँठाउँको कुरा झिकेपछि स्थानीय पनि रमाउँथे। अनि सोध्थे, 'तिमीहरूचाहिँ किन आएका हौ?'
बल्ल उनीहरू यात्राको उद्देश्य खुलाउँथे। मौसम र त्यसको असरसम्बन्धी जिज्ञासा त्यसपछि राखिन्थ्यो- पानी कति पर्छ? पहिले कति पर्थ्यो? गाउँलेहरूले जवाफ दिए, 'पहिले पाँच दिनसम्म झमझम पानी पर्थ्यो, अहिले तीन दिन परे पनि धेरै परेजस्तो लाग्छ।'

आपाको जन्मदिन
छैठौं दिन याम्फुदिनमा आपाको जन्मदिन पर्‍यो। उनले कसैलाई भनेका थिएनन्। आपा सधैं बिहान चाँडै उठ्ने, दाह्रीजुँगा काट्ने र ८ बजेतिर घरमा फोन गर्ने गर्थे। करिब ७० प्रतिशत ठाउँमा मोबाइल नेटवर्क टिप्थ्यो। त्यस दिन आपाले परिवारसँग कुरा गरिरहँदा उनको जन्मदिन हो भन्ने थाहा भयो।
'त्यो दिन आपाको जन्मदिन भन्नलायकै थियो,' दावाले हाँस्दै भने, 'मज्जाको हिँडाइमा परेका थियौं।'
त्यस दिन उनीहरू याम्फुदिनबाट साढे १३ किमी हिँडेर लेसेखर्क भन्ने ठाउँ पुगे। तीन हजार तीन सय मिटर उचाइ। एउटा मात्र पसल थियो त्यहाँ। मान्छेहरू जम्मै चिसोले तल झरेका। पसलका साहुजीले खुबै मद्दत गरे। बास दिए। काठको फल्याकको कापबाट सिरेटो चलेर रातभरि निदाउन चाहिँ सकिएन। बाहिर डेढ फुटजति हिउँ जमेको थियो।
त्यही ठाउँमा आपाको जन्मदिन मनाइयो। बिस्कुट धुलो पारे। त्यसमा कफी मिसाएर लेदो बनाए। जमेपछि केक तयार भयो।
यो यात्राको एउटा संयोग कस्तो भने, चारमध्ये तीनजनाको जन्मदिन पर्‍यो। दावाको जन्मदिन ११ मार्चमा थियो। हिँडेको ५७ औं दिनमा। उनीहरू कास्कीको पासगाउँ पुगेका थिए। समीरको ८१ औं दिनमा जुम्लाको काईगाउँमा मनाइयो। उनलाई त हेक्का पनि थिएन। त्यसै दिन समीरकी आमाले दावाकी 'गर्लफ्रेन्ड' लाई फोन गरेर बताएकी रहिछन्। दावाकी गर्लफ्रेन्डले फोन गरेर खबर दिइन्। उनीहरूले गोप्य रूपमा सल्लाह गरेर जन्मदिन मनाउने निर्णय गरे। एकैचोटि केक निकालेर 'ह्यापी बर्थ डे टु यु' भन्दा समीर चिच्याई-चिच्याई 'ह्यापी बर्थ डे टु यु' भनिरहेका थिए। उनलाई आफ्नै जन्मदिन हो भन्ने थाहा थिएन। सोधेका थिए, 'जन्मदिन चाहिँ कसको हो?'
तीनजना सहयात्रीको जन्मदिन परेपछि सौरभले प्रस्ताव राखे, 'मेरो पनि आधा वर्षको जन्मदिन मनाउनुपर्‍यो।'
सबैले हाँसो फैलाए ।



पूर्वी सीमा
लेसेखर्कपछि उनीहरूको गन्तव्य बन्यो, चेराम। त्यहाँ पहिले गाउँ थिएन, गोठ मात्रै थियो। पर्यटक आउन थालेपछि होटलहरू बनेका छन्। २० किलोमिटर पर सिक्किमको गाउँ पर्छ। उनीहरू पूर्वमा खाङ्ला पाससम्म पुगे। ठ्याक्कै बोर्डरचाहिँ पुग्न सकेनन्। हिउँ धेरै परेको थियो। दुई किलोमिटरजति वरैबाट फर्केर चेराममै बास बस्न आइपुगे।
चेरामबाट चार हजार मिटर उचाइको सेलेले पास नाघेर घुन्सा आए। घुन्सामा केही वर्षअघि जहाज दुर्घटनामा निधन भएका संरक्षणकर्मीहरूलाई समर्पित गर्दै उनीहरूले ग्रेट हिमालयन ट्रेलको औपचारिक यात्रा सुरु गरे।

दुइटा गाउँ, एउटै बासिन्दा
'उच्च हिमाली क्षेत्रका समुदाय अझै पनि अर्धघुमन्ते जीवनशैली बाँचिरहेका रहेछन्,' दावाले आफ्नो अनुभव सुनाए।
उनले घुन्सालगायत अरू केही ठाउँको उदाहरण दिए। चिसो बढ्दै गएपछि गाउँलेहरू सल्लाह गरेर एक वा दुई महिनालाई गाउँ छाडेर एकैचोटि तल झर्छन्। गाउँ पूरै खाली हुन्छ। चिसो अवधिभर बस्न तल अर्को गाउँ पनि बसालेका छन्। गर्मी बढ्दै गएपछि फेरि मास्तिर लाग्छन्। दुइटा गाउँ, एउटै बासिन्दा।
पूर्वमा मात्र होइन, पश्चिम डोल्पामा पनि उनीहरूले यस्तै देखे। यही जीवनशैलीका कारण कति ठाउँ त कस्तो थियो भने, नक्सामा छ, साँच्चिकै छैन। जस्तो, ढोरपाटनको ठाकुर। नक्सामा खोलाछेउ ठूलो गाउँ देखाइएको थियो। त्यहाँ गोठबाहेक केही थिएन। त्यो होइन होला भनेर उनीहरू हिँडेको हिँड्यै गरे। जंगलभित्र पुगेपछि थाहा भो, ठाकुर भन्ने ठाउँ त्यही रहेछ। त्यहाँका सबै बासिन्दा अस्थायी रूपमा तल झरेका रहेछन्।
'यो अलिकति अनौठो लाग्यो हामीलाई, गाँवै उठेर हिँड्ने यस्तो जीवनशैलीको खासै चर्चा भएको छैन,' दावाले भने, 'अरू देशमा यति व्यवस्थित ढंगले बसाइँसराइ गरेको देखिँदैन।'
यसरी सिंगै गाउँ नयाँ ठाउँमा बसोबास गर्न जाँदा पनि सामाजिक सद्भाव खल्बलिएको उनीहरूले महसुस गरेनन्। 'यो भोटे हो, यो तलको मान्छे हो भन्ने भेदै छैन। यिनीहरूले नुन ल्याउँछन्, यिनीहरूले चामल दिन्छन् भन्ने सोच अहिले पनि छ,' दावाले थपे, 'काठमाडौं यो सम्बन्ध टुक्र्याउन खोज्छ, जब कि स्थानीय स्तरमा उनीहरू मिलेरै बसेका छन्।'
यात्राभरिमा जातीयता र क्षेत्रीयताका विवाद काठमाडौंमा मात्र महसुस भएको उनीहरूले सुनाए। 'सदरमुकाममा केही व्यक्ति जातीय संगठनमा लागेका छन्, तर त्यो कार्यक्रम अवधिभर सीमित छ। कार्यक्रम सकिएपछि फेरि समुदायभित्र घुलमिल भइहाल्छ,' सौरभले भने, 'गाउँतिर यस्तो भेद छिरेकै छैन।'
पूर्वबाट पश्चिम
घुन्साबाट आपा टोली ग्याब्ला, लेलेप, मित्लुङ, दोभान, गुफा पोखरी हुँदै पश्चिमै पश्चिम लाग्यो। सबभन्दा लामो समय ताप्लेजुङमा बिताए। त्यहाँ पूरै सर्किट गरेका थिए। घुन्साबाट तल झर्दा भुइँचालोको असरले ३१ ठाउँमा पहिरो गएको उनीहरूले देखे।
२५ औं दिन फेबु्रअरी ८ मा पैयाँबाट लुक्लाको यात्रा सबभन्दा गाह्रो भयो। बाटोमा उनीहरू ठूलो आँधीबेहरीको घेरामा परे। आपाको झोलाको खोलै उडाइदियो। 'अहिलेसम्म त्यस्तो आँधी देखेकै थिइनँ,' कम बोल्ने आपाले भने, 'सयौं रुख ढलेका थिए, दर्जनौं रुख त बाटोमा हाम्रै अगाडि ढले। कुइरेहरू आत्तिँदै तल झरिरहेका थिए। मालसामान लान नसकेर बजारै बन्द भयो।'
दोलखासम्म आइपुग्दा पनि आँधीबेहरीको असर देखिन्थ्यो। घरको छाना उडाएको। धेरैको दैनिक जीवनयापनै प्रभावित भएको। बाटा भत्किएका। उनीहरू तासिलाप्सा पास हुँदै दोलखा छिरेका थिए। यात्राको सबभन्दा उचाइ ५८०० मिटरको भाग त्यही तासिलाप्सा हो। तासिलाप्साकै छेउमा ६ हजार मिटर अग्लो हिमाल छ। उनीहरूले चढ्ने सोच बनाएका थिए। खराब मौसमले सकेनन्।
सिन्धुपाल्चोकको बाह्रबीसेमा उनीहरूले चार दिन बिताए। प्रशस्त आराम मिल्यो। त्यहाँबाट मोटर चढेर तातोपानी पनि गए। ४१ औं दिन फेरि बाह्रबीसे आएर जहाँ यात्रा रोकिएको थियो, त्यहीँबाट फेरि सुरु गरे। त्यसपछि जलवीरे, गोब्रे, पोखरी भन्ज्याङ हुँदै ग्याल्थुम पुगे। ग्याल्थुङमा गिनिज बुक अफ वर्ल्ड रेकडर््सका प्रमुख कार्यकारी आपालाई ट्रेलमै भेटेर प्रमाणपत्र दिन आएका थिए। यात्राकै क्रममा उनले आपालाई भेट्ने खबर पुर्‍याएपछि ग्याल्थुमलाई मुकाम बनाइएको थियो।
'पूर्वी भागमा ट्रेलभरिकै सबभन्दा पिछडिएको ठाउँ सिन्धुपाल्चोक लाग्यो,' दावाले सुनाए।
बाह्रबीसे आसपास सबभन्दा अचम्म त के लाग्यो भने, साना केटीहरू सबै स्कुल जाने, केटाहरू चाहिँ पसलबाहिर क्यारम खेलेर बसिरहने। एक हातले तास समातेर अर्को हातले क्यारम खेलेका पनि भेटिए। जो पनि स्कुल ड्रेसमा देखिन्थे, केटीहरू नै हुन्थे। केटाहरूमा फिल्मको प्रभाव अलि बढी नै थियो। ठाडो स्वभाव थियो। बोलीचाली पनि रुखो। सानोसानो कुरामा निहुँ खोजेझैं गर्ने। एकचोटि टोलीका सदस्यहरू खाना खाइरहेका थिए। पहेँलो दाल थियो। दुईजना स्थानीय युवा आएर आपसमा कुरा गरे, 'ए तेल्ले के खाएको, पहेँलो दाल हो? पहेँलो दाल हो कि होइन, सोध सोध।'
 'यो युवा अवस्थामा देखिने सामान्य व्यवहार हुनसक्छ,' दावाले भने, 'हाम्रो गाउँमा यो नयाँ मान्छे को आयो? यो जो भए पनि गाउँको त म पनि कोही हुँ नि भन्ने उनीहरूले जताउन खोजेका हुनसक्छन्।'
ग्याल्थुमबाट उनीहरू नुवाकोट छिरे। समुद्रटारमा बसाइ भयो। त्यसपछि बेत्रावतीमा दुई दिन बिताए। त्यहाँ खुब स्वादिलो माछा पाइन्छ भन्ने सुनेका थिए। खान भने पाएनन्। होटलवालाले टोलीका सबैलाई पुग्नेगरी माछा बन्दोबस्त गर्नै सकेनन्।
बेत्रावतीबाट उनीहरू मेघाङ, चौतारा हुँदै आरुघाट छिरे। बाह्रबीसेदेखि गोरखाको आरुघाटसम्मको भाग पर्यटन हिसाबले त्यति राम्रो नभएको उनीहरू बताउँछन्। 'हिमाली सौन्दर्यमा रुचि राख्नेहरूका लागि यो ठाउँ त्यति राम्रो छैन,' दावाले भने, 'सकारात्मक पक्ष के भने, यहाँ धेरै ठाउँमा ट्र्याक खुलेको छ। त्यहाँ गाडी चल्छ कि चल्दैन थाहा छैन, तर माउन्टेन बाइकिङका लागि एकदमै राम्रो ठाउँ हो।'
दावा र समीरले पछि छुट्टै माउन्टेन बाइकिङमा जाने र माछाको स्वाद चाख्ने योजना बनाएका छन्। काठमाडौंबाट नजिक भएकाले यो क्षेत्रलाई माउन्टेन बाइकिङ वा मोटर बाइकिङ गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सकिने सम्भावना दावाले देखेका छन्।
आरुघाटबाट उनीहरू गोरखा दरबारको ठ्याक्कै मुनि बास बसे, क्याम्पिङ गरेर। भोलिपल्ट आधा घन्टा हिँडेर गोरखा बजार झरे। बजारमा दुई रात बिताए। त्यहाँबाट आँपपिपल आए र पौंदी, बेसीसहर हुँदै घलेगाउँ पुगे। घलेगाउँ 'होमस्टे' का लागि चर्चित ठाउँ हो। त्यहाँ उनीहरू प्रेम घलेको घरमा बास बस्न पुगे। प्रेम त्यही व्यक्ति हुन्, जसले यो ठाउँमा होमस्टे सुरुवात गरेका थिए। 'सुरुमा त हामीलाई थाहा थिएन, प्रेमजीकी श्रीमती हुनुहुँदो रहेछ, उहाँसँग कुरा गर्दै जाँदा थाहा भयो,' सौरभले भने। प्रेम भने बेसीसहर गएकाले भेटिएनन्।
घलेगाउँबाट पासगाउँ पुगेपछि दावाको जन्मदिन बनाएर उनीहरू याङ्जाकोट हुँदै कास्कीको सिक्लेस छिरे। सिक्लेसबाट घलेखर्क पुग्दा अर्को रमाइलो दृश्य देखियो। त्यहाँको अचम्म के भने, ठाउँको नामचाहिँ घलेखर्क, तर बस्नेहरू सबै तामाङ। जब कि वरपर अरू ठाउँमा सबै घले-गुरुङहरूकै बस्ती थियो।
भोलिपल्ट लवाङ भन्ने ठाउँमा मुसलधारे पानीले बेस्कन चुट्यो। माथि उक्लनै सकेनन्। त्यसको फाइदा भनेको, भोलिपल्ट बिहान मौसम सफा भएपछि हातले टपक्क टिपुँझैं लाग्ने माछापुच्छ्रे छर्लंग हेर्न पाए।
पश्चिमको यो क्षेत्रमा नयाँ पुस्ताले परम्परागत पेसा छाड्दै गएको अनुभव भयो। बाबुबाजेले लज चलाएका थिए, तर छोराछोरी त्यो पेसामा छैनन्। लजका साहुनी बुढी भइसकी, त्यसलाई उसकी छोरी वा बुहारीले प्रतिस्थापन गरेका छैनन्।
शिर, भीर र तीरको अर्को फरक यहाँ पुगेपछि उनीहरूले चाल पाए। शिरमा बस्ने शेर्पाहरूलाई जति उचाइ कम हुँदै गयो, उति हिँड्न गाह्रो। आपा र अरू शेर्पाहरूलाई त्यस्तै भयो हिँड्न गाह्रो। दुई हजार मिटर नाघ्नेबित्तिकै उनीहरूको गति स्वतः बढिहाल्थ्यो। जब कि भीर र तीरका सौरभ र समीर कम उचाइका ठाउँतिर बढी लम्किन्थे।
कर्णाली तीरमा एउटा यस्तो ठाउँ भेटे, जहाँ एउटै मान्छेका पाँचवटी श्रीमती चिप्लिएर लडेका रहेछन्। एकातिर भीर, तल्तिर खोला। क्याराभान फिल्ममा खच्चडहरूलाई हिँड्न अप्ठ्यारा बाटो देखाइएको थियो, त्यहाँ मान्छेलाई हिँड्न सकस।
लैंगिक विभेदको समस्या पश्चिममा अलि बढी नै महसुस गरे उनीहरूले। सरसफाइको समस्या पनि उस्तै। कति ठाउँमा त बच्चाहरूको मुखभरि झिँगै झिँगा। आमालाई कुनै समस्या थिएन। एउटा पसलको टेबल झिँगाले ढाकेर कालै देखिन्थ्यो। उनीहरूले जिस्क्याए, 'साहुजीले त झिँगाको खेती गर्नुभएको छ कि क्या हो?' साहुजीलाई मतबल थिएन।
राराको छेउमा २ सय घर क्षेत्रीहरूको गाउँ थियो- ज्यारे। त्यहाँ उनीहरू घरको छतमा टेन्ट गाडेर बसे। किनकि, तल भुइँभरि फोहोर थुप्रिएकाले बस्ने ठाउँ थिएन। खेतमा गहुँ रोपिएको थियो। मान्छेहरू एउटा घरबाट अर्कोमा जानुपरे छानैछाना हिँड्थे। लिस्नो बनाएका थिए उनीहरूले, यताउति गर्न। भुइँमा भने खच्चड, सुँगुर पालिएको थियो। फोहोर फालिएको थियो।
त्यो पूरै गाउँमा दुइटा मात्रै शौचालय थियो। एउटा कुनै संस्थाले बनाएको, अर्को पर्यटकलाई दुःख नहोस् भनेर गाउँलेहरूले आफैं बनाएका। 'पर्यटकलाई शौचालय चाहिन्छ भन्ने ज्ञान भएका गाउँलेहरूमा आफैं पनि शौचालय प्रयोग गर्नुपर्छ भन्ने चेत छैन,' दावाले भने, 'यो कुरा उनीहरूलाई सिकाउन जरुरी छ।'
म्याग्दीबाट पश्चिम लागेपछि अर्कै खालको समाज देखे। अलि पिछडिएको। तर, जब डोल्पा छिरे, त्यहाँको समाज बेग्लै थियो। बाग्लुङ, रुकुमभन्दा पनि त्यो भाग बढी सम्पन्न भएको उनीहरूले महसुस गरे। यार्साको कारण होला भन्ने उनीहरूलाई लागेको छ।
'पश्चिम भन्नेबित्तिकै गरिब, भोकमरी लाग्ने ठाउँको छवि आउँछ। त्यो पूर्ण यथार्थ होइन रहेछ,' उनीहरूले भने, 'केही ठाउँमा यस्ता समस्या छन्, तर सबै पश्चिममा यही समस्या छ भनेर बुझ्नु गलत हो।'
 अन्त्य
वैशाख १०, २०६९
आइतबार।
दार्चुलामा महाकाली नदीको पुल यात्राको अन्तिम बिन्दु हो। केही भारतपट्टि पर्ने धार्चुला पनि हेर्न गए। यी चारजना भने गएनन्। नेपालबाट थालेको यात्रा नेपालमै सक्काउने भनेर उनीहरू त्यहाँबाट कच्ची बाटोमा ढाड भाँच्चिनेगरी बस चढेर धनगढी आए।
अनि धनगढीबाट जहाज चढेर काठमाडौं।
यात्रा त सकियो। अब अनुभव बाँड्न बाँकी छ। बुधबार समिट होटलमा हामीसँग दुई घन्टा गफिनुअघि पनि उनीहरु चारैजना पत्रकार सम्मेलनमा व्यस्त थिए। बोल्न लजाउने आपाले लिखित भाषण पनि गरे।
'तपाईंहरू त यत्रो टोलीमा हिँड्नुभयो, के एक्लैदुक्लै हिँड्न सम्भव छ?'
हाम्रो प्रश्नमा दावाले भने, 'किन नहुनु, आत्मबल चाहिँ हुनुपर्छ।' जति हिँड्दै गयो, बल उति बढ्ने उनको अनुभव रह्यो। सौरभले भने पूरा ट्रेललाई दुई/तीन भागमा बाँडेर यात्रा गर्न सुझाए।
अनि खर्च?
'त्यस्तै दिनको औसत १५ सय राख्नुस् न।'
छुट्टिनेबेला हामीले भन्यौं- 'अब एकचोटि तपाईंहरूले दाह्रीजुँगा काटेपछि फेरि भेटौं है, नभए झ्वाट्ट देखे चिन्न मुस्किल पर्छ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out