गर्मी र पहिरन

काठमाडौ, वैशाख २३ - राजधानी जस्तो चिसोचिसै ठाउँमा समेत अचेल दिउँसो गर्मी हुन थालेको छ । यस्तो बेला मधेसमा हुने गर्मीको कुरा गरेर के साध्य ? तराईका जिल्लाहरूमा बिहान ११ देखि अपराह्न ४ बजेसम्म सामान्य अवस्थामा घरबाहिर निस्कने कल्पना नगरे पनि हुन्छ । गर्मीले दिने हैरानी यता उच्चतम बिन्दुमा छ ।
'गर्मीको पारो चढ्न थालेपछि पहिरनमा समेत परिवर्तन गर्नुपर्छ,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'हालको लागि गर्मीबाट राहत दिने उपयुक्त परिधान तपाईंको आवश्यकता हो ।'
यो मौसममा खुला, हलुका र हावा ओहरदोहर गर्न सक्ने लुगा लगाउनुपर्ने उनको सुझाव छ ।
सेन्थेटिक, नाइलन र पोलिस्टरका लुगा उपयोग नगर्न तथा दिउँसो घर वाहिर निस्कनुपर्दा छाता, हयाट जस्ता घामबाट ओतिने सुरक्षा उपाय समेत अवलम्बन गर्नुपर्छ । यस्तै, एकदमै तातो हावा (लू) चलेको बेला घरबाहिर जानबाट जोगिनुपर्छ । नांगो खुट्टा वा नांगो जीउ घाममा पर्न पनि हुँदैन ।  
गर्मी याममा सुती, सिफन, पापलिनका लुगा उपयुक्त मानिन्छन् । घाममा हिँड्दा कुनै कुनै रंगले आँखा बिच्काउँछन् भने कुनै कुनै रंगले शीतलता प्रदान गर्छन् । गर्मीको मौसममा हलुका रंगको लुगा लगाउने सल्लाह विज्ञहरू दिन्छन् ।
'चर्को घाम, तातो हावाको सबैभन्दा बढी प्रभाव छाला, कपाल र आँखामा पर्छ,' कर्ण भन्छन्, 'परावैजनी किरणको असरबाट जोगिन उपयुक्त परिधान चयन गर्नुपर्छ ।'
गर्मी याममा स्लिभलेस अर्थात् बाहुला रहित लुगाफाटोको सट्टा बाहुला भएको लुगा लगाउनुपर्छ । कुर्ताको पछाडि घाँटीमा बढी खुल्ला हुनु हुँदैन । छाला खुकुलो लुगाले छोपिँदा गर्मी, घामले छाला पर्ने कुप्रभाव कम हुन्छ । यो समयमा भने सुती लुगाको उपयोग अत्यधिक राम्रो हो । यस्तै, सेतो रंगका परिहन सबैभन्दा राम्रा विकल्प हुन् । सेतो रंगले प्रायः हरेक उमेरका महिला-पुरुषलाई सुहाउँछ । यो रंगको कपडाले अरू गाढा रंगका लुगाले जस्तो गर्मीलाई बढी मात्रामा अवशोषण गर्दैन ।
यस्तै, लिलेनको फेबि्रकले समेत छालालाई आराम दिने गरेको छ । यो फेबि्रक एन्टी ब्याक्टेरियल
हुन्छ । यसले शरीरलाई परावैजनी किरणवाट जोगाउँछ  । टाउको छोपेर हिँड्ने गरे अनुहारलाई राहत मिल्छ । कपाललाई घामको कुप्रभावबाट बचाउन सकिन्छ । आँखालाई परावैजनी किरणबाट जोगाउन गुणस्तरयुक्त चस्मा उपयोग गर्नुपर्छ ।
मधेसमा दिउँसो घाममा बाइक चलाउँदा सेतो कपडाले मुख छोप्नुपर्छ । यसो गर्दा घामले छाला बिगिँ्रदैन र धुलोले एलर्जी हुने सम्भावना पनि कम हुन्छ ।
लुगा कस्तो हुनुपर्छ ?
प्राकृतिक रेसा उपयोग गरिएको लुगा गर्मी मौसमका लागि उपयुक्त हुन्छ । सुती लुगाले शरीरको तापक्रम नियन्त्रणमा राख्ने काममा समेत सघाउँछ । यस्तो लुगा लगाउनुस्, जसले सास फेरोस् । अर्थात्, जसबाट हावा ओहोरदोहोर हुन सकोस् ।
टाइट लुगा लगाउनु हुन्न । खुकुलो लुगा लगाउनु गर्मी यामका लागि उपयुक्त हो । खुकुलो पहिरनले शरीरभित्र पर्याप्त मात्रामा हावाको आवागमन हुन सघाउँछ । टाइट लुगा शरीरमा टाँसिन्छ । अनि यसले हावालाई छालामा प्रवाह हुनबाट रोक्छ ।
उखरमाउलो गर्मी र लूबाट बच्न गर्मी याममा बढी समय घर वा कार्यालय बाहिर रहनाले लू लाग्ने सम्भावना बढ्छ । यो याममा मधेसमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने गरेको छ । आहारविहारमा ध्यान दिनाले लू लगायत गर्मीजन्य रोगबाट बच्न सकिन्छ ।
'लूबाट प्रभावित व्यक्तिलाई टाउकामा तीव्र पीडा हुन्छ, मुख सुक्न थाल्छ,' वीर अस्पतालका प्रा. अनीलकुमार मिश्र भन्छन्, 'टाउको, हात खुट्टाबाट पसिना आउँछ, जीउ काम्न थाल्छ, वान्ता हुन्छ, भोक लाग्दैन र रोगी बेहोस हुन सक्छ ।'
लू लागेको व्यक्तिको छाला अत्यधिक सुक्खा हुन्छ । शरीरको तापक्रम १०५ डिग्री फरेनहाइटसम्म पुग्छ । गर्मीले गर्दा उसको शरीरमा पानीको कमी हुन्छ । ज्वरो आउने, हातखुट्टा दुख्ने हुन्छ । रोगीका आँखा पोल्न थाल्छन्, पिसाबमा जलन हुन थाल्छ । यस्तो स्थितिमा शरीरमा पानीको कमी हुन गई रोगीको मृत्युको सम्भावना समेत रहने प्रा. मिश्र बताउँछन् ।
गर्मी याममा मुख्य रूपमा मधेसमा दिउँसो घाममा निस्कनुपर्दा घाँटीको पछाडि भाग, कान, टाउको पातलो गम्छाले ढाक्नुपर्छ । सुतीको पहिरन लगाउनुपर्छ । छाता ओढ्न बिर्सनु हुन्न । घरबाहिर निस्किनुअघि खाना टन्न खाएको हुनुपर्छ, बोतलमा पानी बोक्न भुल्नु हुन्न । पेयपदार्थ प्रशस्त मात्रामा सेवन गर्नुपर्छ । सम्भव भएसम्म बढी समय घाममा बसेर काम गर्नबाट जोगिनुपर्छ । शरीरलाई उचित रूपमा घामको कुप्रभावबाट जोगाउनुपर्छ ।
लू लागेको व्यक्तिलाई तुरुन्त छायामा लैजानुपर्ने आवश्यकता औल्याउँदै प्रा. मिश्र भन्छन्, 'प्रभावित व्यक्तिलाई छाया भएको ठाउँमा लुगा खुकुलो पारेर सुताउनुपर्छ । पंखा हम्किनुपर्छ ।' रोगीलाई होस आए चिसो पेयपदार्थ, जीवनजल दिनुपर्छ । उसको जीउको तापक्रम कम गर्न सम्भव भए चिसो पानीले नुहाइदिनुपर्छ वा चिसो पानीले भिजाइएको लुगा जीउमा राखिदिनुपर्छ । प्रभावित व्यक्तिको जीउको तापक्रम सामान्य अवस्थामा नआएसम्म यो प्रक्रियालाई दोहोर्‍याउन सकिन्छ । मिश्रका अनुसार यतिको प्राथमिक उपचारपछि समेत सन्चो अनुभव नगरे रोगीलाई तुरन्त नजिकको चिकित्सा केन्द्रमा पुर्‍याउनुपर्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out