काठमाडौं, असार १५ (नागरिक)- नेकपा-माओवादीले प्रधानमन्त्री बाबुराम भट्टराईसमक्ष राष्ट्रिय स्वाधीनता र जनजीविकाबारे ४० बुँदे माग राख्ने भएको छ।
मागपत्रमा सिमा अतिक्रमण, विदेशी हस्तक्षेप, राष्ट्रियता लगायत समेटिने नेकपा- माओवादीकी प्रवक्ता पम्फा भुसालले भनिन्। जनयुद्ध सुरु गर्नुअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई माओवादीको संसदीय मोर्चा संयुक्त जनमोर्चाको संयोजकको हैसियतले भट्टराईले ४० बुँदे माग पेस गरेका थिए।
'जनयुद्ध सुरु गर्नुअघि माओवादीले सरकारलाई बुझाएकोे ४० बुँदे मागमा गणतन्त्र र धर्मनिरपेक्षता सम्बन्धी एक-दुई वटा मात्र माग पूरा भएका छन्,' भुसालले भनिन्, 'अधिकांश माग पूरा भएको छैनन्।' देउवा सरकारलाई मागपत्र बुझाएको केही दिनपछि २०५२ साल फागनु १ गतेदेखि माओवादीले सिन्धुली, गोर्खा र रोल्पाका प्रहरी चौकीमा आक्रमण गरेर जनयुद्ध सुरु गरेको थियो।
४० बुँदे मागमा भारतसँग भएका असमान सन्धि-सम्झौता खारेजी, सीमा नियन्त्रण, भारतीय नम्बर प्लेटको गाडीमाथि प्रतिबन्ध, विदेशी कामदारका लागि वर्कपरमिट, गोर्खाभर्ती बन्द लगायत माग थिए। अश्लील भारतीय सिनेमा, सिडी, पत्रपत्रिकाको आयात तथा वितरणमा प्रतिबन्ध, दलाल तथा नोकरशाहको जग्गा जफत गरेर सुकुम्बासीलाई वितरण, स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउनुपर्ने जस्ता माग पनि थिए।
असार पहिलो साता राजधानीमा राष्ट्रिय कार्यकर्ता भेलाबाट गठित नेकपा-माओवादीले अहिलेको प्रमुख अन्तर्विरोध 'संसदीय व्यवस्था र भारतीय विस्तारवादसँग' भएको घोषणा गरेको छ। प्रधानमन्त्री भट्टराईलाई बुझाइने मागपत्र ४० बुँदे हुने वा नहुनेबारे टुंगो नलागेको भुसालले बताइन्।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago