भट्टराईको वर्षदिन : न वाचा पूरा भयो, न निर्देशन

१० भदौ, काठमाडौं । वर्ष दिनअघि भदौ ११ मा डा. बाबुराम भट्टराईले सत्ता सम्हाल्दा एकीकृत नेकपा माओवादी मात्रै होइन विपक्षी दलका केही नेताकार्यकर्ता र आमजनता समेत खुशी थिए । अरुले नसकेपछि भट्टराईले केही गरेर देखाउँछन् भन्ने सबैको आशा थियो । जनताको चाहना र भावनाअनुसार काम गर्न सक्ने एउटै नेता भट्टराई नै हुन् भन्ने सबैलाई लागेको थियो ।

आफूप्रति धेरैको आशा र भरोसा छ भन्ने बुझेका भट्टराईले शुरुका दिनहरुमा केही राम्रा र उदाहरणीय काम पनि थालेकै हुन् । शान्ति र संविधानलाई पूरा गर्ने वाचा गर्दै उनले जनतालाई राहत र सहुलियत दिने योजना पनि ल्याए । महंगो गाडीको सट्टा नेपालमै बनेको सस्तो मुस्ताङ गाडी चढे । जनताको कुरा सुन्न हेलो सरकार र जनतासँग प्रधानमन्त्री अभियान शुरु गरे । पछिल्लोपटक महिनामा एकपटक गाउँमै बास बस्ने नयाँ कार्यक्रम पनि शुरु गरे ।
आफ्नै पार्टीका नेताहरुले जता देख्यो उतै कालोझण्डा देखाउने अभियान थाल्दा पनि शान्ति प्रकृया टुंगाउन उनले साहस देखाए । चावी बुझाए, समायोजन प्रकृयालाई अगाडी बढाए र अन्तिममा समस्या आउने भएपछि रातारात सेना परिचालन गरेरै भएपनि लडाकूलाई नेपाली सेनाको जिम्मा लगाए ।

केही गर्छु भन्ने अभियानमा प्रधानमन्त्री लागेका लाग्यै छन् । तर पहिले भट्टराई प्रधानमन्त्री भैदिए हुन्थ्यो भन्ने जनता भट्टराईले पनि केही गर्न नसकेको भन्दै निराश बनेका छन् । भट्टराईले घोषणा गरे अनुसार जनताले राहत र सहुलियत पाएनन् । महंगी झन् बढ्यो । उनकै पालामा जम्बो मन्त्रिपरिषदको कीर्तिमान तोडियो । चियापानमा मात्रै लाखौं खर्च भयो । अहिले पनि असुरक्षा र भद्रगोल उस्तै छ । राजनीतिक अस्थिरता मात्रै होइन, भ्रष्टाचार र बेथिति पनि घटन सकेन् ।

न वाचा पूरा भयो, न निर्देशन

शान्ति, संविधान र जनतालाई राहत आफ्नो एकलव्य चेष्टा भनेका प्रधानमन्त्रीले बेलाबेला यसअनुसारका काम र भाषण गरेकै हुन् । अरुभन्दा भिन्न हुने प्रयास पनि गरेकै हुन् । तर उनले बोलेका र भनेका धेरै कुरा पूरा भएका छैनन् । निर्देशन कार्यान्वयन भएका छैनन् । उनले बेलाबेला भनेका र निर्देशन दिएका केही उदाहरण यस्ता छन् ः

· सत्ता सम्हाल्ने बित्तिकै प्रधानमन्त्री भट्टराईले शान्ति र संविधानमा काम गर्न नसकेपछि एक मिनेटमा पनि पदमा नबस्ने बताएका थिए । शान्ति र संविधानका लागि एक एक मिनेटको हिसाब गरेर काम गरेको उनको भनाई थियो । तर एक एक मिनेटको हिसाब गर्दागर्दै न शान्ति प्रकृया पूरा भयो, न संविधान । भट्टराई अझै सरकारको नेतृत्वमा छन् ।

· पोहोर दशैंको मुखमा प्रधानमन्त्री भट्टराईले काठमाडौंबाट बाहिरी जिल्लाहरुमा जाने गाडीले टिकटमा कृत्रिम अभाव देखाउँदै भैरहेको कालोबजारी रोक्न निर्देशन दिए । उनले ठगी गर्नेलाई कार्वाही गर्न पनि भने । त्योबेला दशैंदेखि तिहारसम्मै सार्वजनिक गाडीमा अनुगमन भयो । केहीलाई कार्वाही पनि भयो । तर तिहार सकिएपछि अनुगमन सकियो । सार्वजनिक गाडीमा ठगी र अनियमितता त अहिले पनि हुन्छ । तर दशैं तिहार सकिएपछि यो काम पनि सकियो ।

· अशोज १५ मा प्रधानमन्त्रीले राजमार्गका होटलहरुमा बासी, सडेगलेको र फोहोर खाना खुवाएर यात्रुहरुबाट बढी पैसा असुलेको गुनासो आएपछि त्यस्ता होटलको तत्काल निरीक्षण र अनुगमन गरी कार्वाही गर्न निर्देशन दिए । केही दिन अनुगमनको काम पनि भयो । तर बीचमा त्यसै सेलायो । अहिले पनि होटलहरुमा बासी, सडेगलेका र फोहोर खानेकुरा खुवाउने गरेको उपभोक्ताको गुनासो छ ।

· यस्तै अशोजदेखि नै प्रधानमन्त्री राजधानीको ट्राफिक व्यवस्थापन चुस्त बनाउन पनि ट्राफिक प्रहरी र यातायात व्यवस्था मन्त्रालयलाई पटकपटक निर्देशन दिए । उनले तत्कालिन र दीर्घकालिन योजना बनाउन पनि भने । प्रधानमन्त्रीको निर्देशनसँगै मापसे जाँच, आकाशे पूलको प्रयोगमा सचेतना, सडक विस्तार लगायतका काम पनि भए । तर अहिले आकाशेपूल प्रयोगबारेको सचेतना कार्यक्रम रोकिएको छ । सडक विस्तारको कामले चाहिं निरन्तरता पाइरहेको छ ।

· जनताका समस्या सुन्ने र उतिखेरै सम्बोधन गर्ने भनेर प्रधानमन्त्रीले अशोज २८ देखि हेलो सरकार कार्यक्रम पनि शुरु गरे । २४ सै घण्टा खुल्ला हुने हेलो सरकारमा समस्या र गुनासाका चाङ पनि लागेका छन् । तर यी समस्या र गुनासा सम्बोधन भएका छैनन् । कतिले हेलो सरकारलाई रमाइलो गर्ने ठाउँको रुपमा पनि प्रयोग गर्ने गरेका छन् । पहिले के के न होला भन्ने आशा गरिएको हेलो सरकार अहिले जोकको विषय बनेको छ ।

· मंसिर ५ मा प्रधानमन्त्रीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने बिभिन्न सरकारी संस्थानका महाप्रबन्धक तथा मन्त्रालयका सचिवहरुलाई जनगुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिए । तर जनगुनासो घट्नुको सट्टा झन् बढ्दै गएका छन् ।

· पुसमा प्रधानमन्त्रीले काठमाडौमा सडक विस्तारको काम वैशाखभित्र सम्पन्न गर्ने र भत्काइएका सडक पक्की बनाउने बताएका थिए । तर भत्काउने काम अझै सकिएको छैन । भत्काएका सबै ठाउँमा पुनर्निर्माण भएको छैन । पानी पर्दा हिलो र घाम लाग्दा धुलो बढ्नाले शहरबासी वाक्क भएका छन् ।

· माघ २९ गते प्रधानमन्त्रीले विद्यार्थी र विपन्न परिवारका लागि ग्यास तथा डिजेलमा ३३ प्रतिशत छुट दिने घोषणा गरे । तर अहिलेसम्म यो घोषणा कार्यन्वयन भएको छैन ।

· चैतको अन्तिम हप्ताबाट सफा काठमाडौं, हाम्रो काठमाडौं अभियान शुरु भयो । प्रधानमन्त्रीले नै हातमा कुचो र साबेल बोकेर सडक सफा गरे । बागमती नदीमा खुट्टा डुबाएर फोहोर निकाले । अलिदिन यो कार्यक्रमले तामझाम सहित निरन्तरता पायो । तर यो अभियान अहिले त्यत्तिकै सेलाएको छ ।

· संविधान नबनाईकन संविधानसभा बिघटनपछि विपक्षी दलहरुले सत्ता छोड्न दबाब दिइरहेको बेला प्रधानमन्त्रीले जेठबाट अर्को अभियान शुरु गरे । हरेक महिना गाउँ जाने र उतै बास बसेर जनताका कुरा सुन्ने यो अभियान अन्तर्गत उनले काठमाडौं, भक्तपुर र चितवनका वस्ती घुमिसकेका छन् । मल, सिंचाई, शिक्षा, स्वास्थ्य लगायतका समस्या समाधान गर्ने आश्वासन पनि दिएका छन् । तर यो पनि पूरा भएको छैन ।

· पछिल्लो पटक प्रधानमन्त्रीले यही भदौ ५ गते बजार अनुगमन, मूल्य नियन्त्रण र अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन लगत्तै सरकारी निकाय यतिखेर तातिएर लागेका छन् ।

प्रधानमन्त्री भट्टराईको चुरीफुरी र दौडधूप देख्दा उनले जनताको लागि केही गर्न खोजेको देखिन्छ । तर उनले भनेका र गरेका काम बालुवामा पानी हालेजस्तो भएको छ । शान्ति प्रकृया टुंगाउन उनले जोखिम मोलेपनि त्यससँगै जोडिएको संविधानको काम पूरा हुन सकेन् । संबिधान बाबुराम वा उनको सरकार एक्लैले बनाउन नसक्ने भएपनि दोषको केही हिस्सा उनको पार्टी र उनको सरकारले पनि बेहोर्नुपर्ने हुन्छ ।

सुशासन दिन उनले प्रयास गरेको देखिन्छ तर त्यसले कुनै परिवर्तन भने ल्याएन् । जनताले राहत र सहुलियत महसुस गर्न पाएका छैनन् । संयुक्त सरकार भएको र विपक्षी दलहरुको चर्को दबाबले काम गर्न नसकेको सरकारका मान्छेहरु बताउँछन् । तर पाएको अवसर समेत सदुपयोग गर्न नसेकेको अरुको गुनासो छ । जनताको आशा र चाहनाअनुसार त भट्टराईले गर्न सकेनन् नै । यसबीचमा उनीप्रति रहेको जनताको आशा र उनको साख पनि घटाएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out