'एमाओवादी बिग्रिएकै हो’

एकीकृत माओवादीको काठमाडौँ प्लेनममा राजनीतिकभन्दा आर्थिक र सांगठनिक विषयमा विवाद देखियो । अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईको राजनीतिका कार्यदिशा एउटै भए पनि उनीहरुभित्रको गुटगत समस्या चर्को छ । एकले अर्कोलाई भ्रष्टाचारी र दलाल देख्ने प्रवृत्ति हाबी छ । विस्तारित बैठकमा शुक्रबार दुई पक्षबीच हात हालाहाल भयो । यो अवस्थालाई मूल्यांकन गर्दै कार्यकर्ता भन्न थालेका छन्, 'हाम्रो पार्टी गम्भीर समस्यामा परेको छ । आर्थिक भ्रष्टाचारले गाँजेको छ ।' प्लेनम सकिने दिन कान्तिपुरका गंगा बीसी र कुलचन्द्र न्यौपानेले पूर्वलडाकु कमान्डर, पूर्वसभासदलगायतसँग गरेको कुराकानीः

राजकाजी गुरुङ, पूर्वसभासद्, कास्की

माओवादीको पार्टीभित्रको सातौं विस्तारित बैठक विचारमा केन्दि्रत, पार्टीलाई सुसंगठित बनाउने र अहिले देखिएका जटिलताहरूलाई समाधान गर्ने उद्देश्यबाटै गरिएको हो । जनयुद्धबाट शान्ति प्रक्रियामा आउने प्रक्रियामा हाम्राबीच बुझाइमा विमतिहरू थिए ।
माक्र्सवाद, लेनिनवाद, माओवादीका आधारभूत प्रस्तावनहरूलाई बिर्सेर नभई, नेपाली मौलिकतामा पार्टी कसरी अघि बढिरहेको छ भन्ने दिशामा आम रूपमा सुसूचित गर्न जरुरी थियो । त्यो अहिले भइरहेको छ । अर्को कुरा अभ्यासका क्रममा वर्गसंघर्ष र विचारलाई कार्यान्वन गर्ने दिशामा पार्टीभित्र देखिएका विसंगतिहरूलाई यस सातौं विस्तारित बैठकले उठाएको छ साथै त्यसको समाधानको खोजी पनि गरेको छ ।

त्यो भनेको गुटवादको अन्त्य हो । पार्टीभित्र विचारमा एकरूपता भइसकेको अवस्थामा गलत सोच र तरिकालाई आक्रमण गर्न जरुरी हुन्छ । तर, त्यो निकटताका आधारमा, कोसँग नजिक छ भन्ने आधारमा नभई वैचारिक आधारमा हुनुपर्छ । चिनजान र निकटताका आधारमा आक्रमण गर्ने र गुटवादको अभ्यास गर्ने काम हुन पुग्यो । बैठकले यसको चर्को रूपमा खण्डन गरेको छ । पार्टी सञ्चालन गर्ने क्रममा हाम्रो तौरतरिकामा भद्दा भएका छन् । पार्टीभित्रका आचरण, सांस्कृतिक, जीवनशैलीका पक्षमा पनि सुधार गर्नु जरुरी छ । माओवादीभित्र यस्ता कुरा उठ्ने कुरा दुःखद पक्ष हो । तर पनि माओवादी यस धर्तीभन्दा बाहिरको पार्टी होइन । विकृति विसंगतिको प्रतिनिधित्व पार्टीभित्र देखिएका छन् । यसलाई सचेततापूर्वक हल गर्नुपर्छ भन्ने बहस भएको छ ।

खुला परिवेशमा आइसकेपछि योजना, विधि र प्रक्रियामा सचेततासाथ अघि नबढ्दा हामीभित्र गलत चिन्तनलाई अघि बढाउन उद्यत गरेको देखियो । त्यसैले आर्थिक अनियमितताका विषय पनि आए । जनमुक्ति सेना र पार्टीसँग भएका कुराहरूमा यो बैठकले समाधान खोज्छ । बैठकपछि पार्टी एकता, आचरण र क्रान्तिको मौलिकतालाई अघि बढाउन सफल हुन्छ भन्नेमा हामीलाई विश्वास छ ।

सरल सहयात्री, पूर्वकमाण्डर

कार्यदिशामा विशुद्ध सैद्धान्तिक हिसाबले मात्रै हुने कुरा भएन । कार्यदिशालाई व्यावहारिक अघि बढाउने कि नबढाउने भन्ने महत्त्वपूर्ण कुरा हो । कार्यदिशालाई अघि बढाउँदा त्यहाँभित्र हुने गलत संस्कारलाई अन्त्य गर्नुपर्छ । त्यही हिसाबले भ्रष्टाचारको अन्त्य हुनुपर्छ भन्ने कुरा आएको हो । पार्टीभित्र आर्थिक अनयिमतताको विषय भएकै हो भन्ने आधारमा विषय उठेका हुन् ।

धेरै साथीहरूले बैठकमा 'कोड' नै गरेर उठाएको विषयलाई भएको होइन भन्न सकिँदैन । कमसेकम यसको सत्यतथ्य के हो भन्ने कुरा बाहिर आओस् भनेर पनि उठाइएको हो । यो बाहिर आउँदा आम रूपमा परेको भ्रम पनि मेटिन्छ । हो कि होइन भन्ने कुरा पनि प्रस्ट हुन्छ । यदि हो भने त्यसले कारबाही पाउँछ । यसले कार्यदिशलाई सहयोग नै पुग्छ । पछिल्लो चरणमा माओवादी पार्टीले स्वयं उत्पादनसँग सम्बन्धित कुराहरूलाई छाडेको छ । नेताहरूले अहिलेको आवश्यकताभन्दा बढी सुविधा प्रयोग गरेका हुन् कि भन्ने हो । आवश्यकताअनुसारको सुविधा लिनुमा हाम्रो विरोध होइन । अहिले नेताले जुन स्तरको सुविधा प्रयोग गर्दै आएका छन्, त्यस्तै गरी तल्लो तहका कार्यकर्ताको जीवनस्तर पनि उठाउने कुरा सोच्नुपथ्र्यो । त्यसो गर्दा कार्यकर्ताको पनि जीवनस्तर उठ्थ्यो र नेताहरूसँग धेरै भिन्नता हुँदैनथ्यो । तर, समस्या कार्यकर्ताहरू त्यही ठाउँमा छोडिए, जहाँ हामीले जनयुद्धबाट शान्ति प्रक्रियामा पार्टीलाई प्रवेश गराका थियौं, तर नेताहरू आवश्यकताअनुसार सुविधा प्रयोग गर्ने स्तरमा पुगे । माओवादीभित्र संगठनात्मक संरचना भद्दा प्रकारको भयो । यसले काम केही नहुने भयो । शान्ति प्रक्रियामा आएपछि कार्यकर्ताको व्यवस्थापनका कुरा खासगरी मार्क्सवादले भनेजस्तो वर्गसंघर्ष, अन्तरसंघर्ष र उत्पादनसँगको संघर्ष हो । त्यसमा  अन्तरसंघर्ष त हामीले व्यापक गर्‍यौँ । उत्पादनसँगको संघर्ष हामीले पूरै छोड्यौं ।

डीपी ढकाल, नेवा: राज्यसमिति सदस्य

यसअघि पार्टीभित्र आर्थिक अनियमिताका आशंकाहरू थिए । तिनै कुरालाई साथीहरूले बैठकमा उठाउनुभएको हो तर यसैले सिंगो माओवादी भ्रष्ट भइसक्यो भन्ने मलाई लाग्दैन । कतिपय सन्दर्भमा माओवादी पार्टीका तलदेखि माथि सबैका आर्थिक पारदर्शितालाई व्यवस्थित हुनुपर्छ भनेर संस्थागत आवाज उठाउनु स्वाभाविक हो ।

शिविरमा पूर्वलडाकुहरूलाई दिएको पैसामा अनियमिता भयो भन्ने निष्कर्ष पनि साथीहरूले दिनुभएको हो जस्तो मलाई लाग्दैन । लडाकुहरूसँग भएको हिसाब हामीले सुन्न पाउनुपर्छ भन्ने मुख्य हो । बैठकमा अध्यक्षको जुन दस्तावेज आएको छ, यो अलि ढिला भयो ।

त्यसमा विश्व र नेपालको वर्गसंघर्षको शक्तिसन्तुलन अनुसार नयाँ कार्यदिशा र नयाँ रणनीतिको विकास गर्ने विषयवस्तुको सुरुवात गरेको छ । यसले शान्ति र संविधानमार्फत प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र भएन भने त्यसलाई संस्थागत गर्न नदिने विरुद्ध जनताको अन्तिम बलद्वारा त्यसलाई ध्वंस गर्नुपर्छ भन्ने नै अहिलेको मुख्य कार्यदिशाको जोड हो । यो राम्रो छ ।

निर्मल महरा, पूर्वलडाकु कमाण्डर

राजनीतिक र कार्यदिशाको हिसाबले सबै कुरा ठीक हुँदाहुँदै पनि नेतृत्वको कार्यशैली, पार्टीको नीतिगत, आर्थिक पारदर्शिता र कार्यकर्ताको व्यवस्थापनाको कुरामा जुन समस्या थियो, त्यसको उत्कर्षका रूपमा शुक्रबारको बैठकमा देखिएको हो । त्यसपछि बैठकमा बोलिरहेका कमरेडहरूले मुख र सिद्धान्तले भन्दा पनि व्यवहारमा हामी सुधार गरेर जान्छौं भनेर भन्नुभएको छ । हामीलाई राजनीतिक र सैद्धान्तिक रूपले भन्दा पनि व्यवहारमै रूपान्तरण भएर आएको र हाम्रो मागहरूलाई पनि सम्बोधन भएको हामी हेर्न चाहन्छौं । युद्धको चरणबाट शान्ति प्रक्रियामा पार्टी प्रवेश गरिसकेपछि जुन तरिकारले कार्यकर्ता, संगठन र पार्टीले जुन ढंगले कार्यदिशा परिवर्तन गरेर ल्याउनुपथ्यो, त्यो हुन सकेन । शान्ति प्रक्रिया आएपछि एउटा तप्काको कार्यशैली, जीवनपद्धति अर्कै हुने, युद्धबाट आएका कार्यकर्ताहरूले काम पनि पाउने, भूमिका पनि नपाउने अवस्था सिर्जना हुन थाल्यो । जीवनस्तर, कार्यशैलीमा विविधिता भयो ।

लडाकु शिविरमा जुन भ्रष्टाचारको कुरा आएको छ, बाहिर आएजस्तो अकूत सम्पत्ति जोडेर, भ्रष्टाचार गरेको होइन । स्तरअनुसारको भ्रष्टाचार भएको हुन सक्छ । कमीकमजोरी भएका छन् । कमान्डरहरूले राजीनामा दिएपछि, नैतिक रूपमा हटेपछि पनि त्यस कुराको पुष्टि भइसकेको छ । त्यहीभित्र हामीलाई आउने तलब खर्चले पार्टी हेडक्वार्टरदेखि सैनिक प्रतिष्ठानसम्म व्यवस्थापन त्यसैले गर्नुपर्दा करोडौं बाहिर आएको भन्ने परेको हो । तर, करोडौं खाएको, सिध्याएको हो भन्ने होइन । स्तरअनुसारको कमान्डरहरूले खाएको भने पक्कै होला ।

मिलन डाँगी, पूर्वलडाकु कमाण्डर

पार्टी निर्माण प्रक्रियादेखि अहिलेसम्म जनताका माझ जनमुक्ति सेनाले जुन प्रतिबद्धता जाहेर गरेर दस वर्षको जनयुद्धलाई जुन बिन्दुमा ल्याइपुर्‍यायो, त्यो आफैंमा जिम्मेवारपूर्ण थियो । अहिले पार्टीभित्र प्रशस्त अस्वस्थ्य प्रतिस्पर्धा, गुटबन्दी र पार्टीभित्र देखापरेका नकारात्मक प्रवृत्ति जसरी हाबी भएर आएका छन्, त्यसविरुद्धको संघर्षको सुरुवात गरेको हो । पीएलएले यो संघर्ष जारी राख्छ । सांगठनिक प्रतिस्पर्धालाई तोडेर पार्टीमा गुटबन्दी गर्ने हिसाबले जसरी अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । यो बेठीक छ भन्ने कुरा नै हो । दोस्रो पूर्वजनमुक्ति सेनाले क्यान्टोनमेन्टभित्र रहेका जुनजुन क्यानटोनमेन्टको आर्थिक मामिलाको कुरा थियो, त्यसको हिसाबकिताब पारदर्शी देखाउनुपर्छ । हाम्रो डिभिजनमा रहेका हिसाबकिताब पारदर्शी रूपमा देखिनुपर्छ भन्ने कुरा हो । हिजो जुन क्रान्तिकारी पार्टी थियो, अहिले त्यो रहेन, यसले पनि नेपाली जनताले परिवर्तन गर्न सक्ने सम्भावना देखेका छैनौं । त्यसलाई भत्काएर नयाँ बनाउनुपर्छ । पार्टीमा सांगठनिक सृदढीकरण हुनुपर्छ । स्वभाव, आचरण, बसाइउठाइ सबै जसरी तडकभडक भएका छन्, जुन ढंगले आर्थिक हिनामिना भएका छन्, त्यसलाई नियमसंगत र नीतिसंगत सञ्चालन गर्नुपर्छ । जनताप्रति जिम्मेवार हुनुपर्छ । त्यसका लागि हामी लड्न तयार छौं ।

झुपलाल पुन, रुकुम

मूल नेतृत्वप्रति हाम्रो विश्वास अझै पनि छ । यो भेलापछि हामीले पार्टीले नयाँ खोलेको पार्टी बनाउन र बाँकी क्रान्तिको कार्यभार पूरा गर्न नयाँ कार्यदिशाको विकास गर्छ भन्ने लाग्छ । पार्टीभित्रका विकृतिविसंगति मौलाउँदै गएका छन् । हिजोको जस्तो पार्टी अहिले छैन । पार्टीभित्रका नेताहरूको जीवनशैली फरक छ । तर, त्यसबाट सबै कुरा बिगि्रयो, खत्तम भइसक्यो भन्ने पनि होइन । पार्टीलाई बनाउने हो भने सांस्कृतिक र आर्थिक आचरण, नेताहरूको जीवनशैलीका कुरालाई बदल्नुपर्छ । समयको गति र मागअनुसार परिवर्तन त हुनुपर्छ तर तडकभडक गर्नेखालको जीवनशैली अन्त्य हुनुपर्छ ।

गोपाल चन्द, बैतडी

अब दुई लाइन पनि छैन । गुटको पनि अन्त्य भइसक्यो भनेर नेताहरूले त माथिबाट कुराहरू राखिसके तर आम कार्यकर्तामा त्यो कुरा देखिँदैन । कार्यकर्ताहरूमा हलभित्र गुट अन्त्य भएको जस्तो देखिएन । त्यसैका कारण हिजो समस्या पनि आयो । पुरानो गुटको धङधङ अझै पनि बाँकी छ । अहिलेसम्म हामीले जति उपलब्धि प्राप्त गरिसकेका छौं, त्यसभन्दा अघि बढेर जाने भन्ने कुरा नै अहिलेको कार्यदिशा हुन्छ ।

सूर्यमान दोङ, पूर्वसभासद्, काभ्रे

अहिले जुन समस्या देखिएको छ, यो समस्याको मुख्य जड भनेको बुझाइ र कार्यान्वयनको अन्तरविरोध हो । अहिलेको दस्तावेज भनौं या कार्यदिशा समग्रमा हेर्दा नयाँ आन्दोलनको सिर्जना गर्ने गरी आएको छ । संगठनात्मक, राजनीतिक र विचारधारात्मक रूपले समेत दोस्रो राष्ट्रिय सम्मेलनदेखि अहिलेसम्म भएको छलफल र भेला भएका छन्, तिनको निरन्तर विकासका रूपमा मात्रै नभई त्यसभन्दा माथि उठेर अहिले देखिएका राजनीतिक घटनाक्रम र त्यसलाई निकास दिन नेतृत्व लिन सक्नेखालको अध्यक्षको शान्ति र संविधानको दस्तावेज छ । तर यसलाई बुझ्ने र कार्यान्वयन गर्ने सन्दर्भमा एकरूपता दिने दिशामा हाम्रा नेताहरूको सामु यो बैठकले गम्भीर बैठक उठाएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out