रेडलाइट एरियाको पक्षमा महिला डीआइजी

नेपाल प्रहरीका ४० प्रतिशत महिलाले सहकर्मीबाट यौन दुव्र्यवहार खेप्नुपरेको सर्वेक्षण प्रतिवेदनपछि प्रहरीभित्र खैलाबैला मच्चिएको  छ। मध्यपश्चिम प्रहरी प्रमुख डिआईजी पार्वती थापामगर पनि उक्त तथ्यांकले महिला प्रहरीको स्थिति झल्काएको बताउँछिन्। उनी आम ने पाली समाजिक प्रवृत्ति उक्त अध्ययनमा प्रतिविम्बित भएको पनि दाबी गर्छिन्। 'बाटो हिँड्दा होस् वा बस चढ्दा, जहाँसुकै महिलाले यौन दुव्यर् वहार भोग्नुपरेको छ'- ५१ वर्षीया डिआईजी थापामगरले भनिन्- 'प्रहरीभित्र पनि झन्डै उस्तै देखियो। महिलालाई हेर्ने सामाजिक दृष्टिकोण  परिवर्तनविना यस्तो प्रवृत्ति घट्नेवाला छैन।'

प्रहरी संगठनभित्रै यति डरलाग्दो रूपमा यौन दुव्र्यहारको तथ्यांक देखिएपछि भने उनलाई नमज्जा लागेको छ। सर्वेक्षणको नकारात्मक प्रभावस्वरूप प्रहरीमा महिला भर्ती निरुत्साहित हुने हो कि भन्ने चिन्ता पनि सँगसँगै छ। यद्यपि उनी हिम्मत गर्ने महिलाहरूका लागि प्रहरीभित्र उज्ज्वल भविष्य पनि देख्छिन्। 'दुव्र्यवहार सहने होइन, उजुरी गरिहाल्नुपर्छ। दोषीमाथि तत्काल कारबाही हुन्छ'- थापाले भनिन्- 'बुवाआमाले ढुक्कसँग छोरीलाई प्रहरीमा पठाए हुन्छ।'

डीआईजी थापालाई प्रहरीभित्र हुने यौनदुव्र्यवहारका घटना राम्रैसँग थाहा छ। त्यसमाथि थुप्रै महिला प्रहरीले उनीसमक्ष उजुरी गर्ने गरेका छन्। सबैभन्दा डरलाग्दो घटना उनले अछाम जिल्ला प्रहरीभित्र देखिन् जहाँ ०६६ असोज ११ गते प्रहरी जवान सुन्तली धामी सहकर्मीबाटै सामूहिक बलात्कारमा परिन्। धामीलाई न्याय दिलाउन खोज्दा तत्कालिन गृहमन्त्रालयले आफूलाई दुई महिनामै सुदूरपश्चिम क्षेत्रीय प्रहरीबाट काठमाण्डौ झिकाएको अनुभव पनि उनीसँग छ।

'पीडित सार्वजनिक हुँदा त त्यस्तो अबस्था छ। भित्रभित्रै हुने यौन दुव्र्यहारको कुनै सुनुवाई नभएको गुनासो छ,' -डीआईजी थापाले भनिन्।  त्यो बेला प्रहरी हेडक्वार्टरले प्रहरी कार्यालयभित्रको अपराध सार्वजनिक गरेर संगठनको बदनाम गराएको आशयको व्यवहार उनीसँग गर्‍यो। तर, पछिल्लो पटक हेडक्वार्टरले नै गरेको सर्वेक्षणले देखाएको डरलाग्दो तथ्यांकले भने डिआईजी थापाले उठाउँदैआएको मुद्दालाई बल पुर्‍याएको छ।

विभिन्न जिल्लाका प्रहरी कार्यालयको निरीक्षण भ्रमणमा जाँदा उनले दिने निर्देशनमध्ये लैंगिक समानताको विषय मुख्य हुने गरेको छ। उनले भन्ने गरेकी छिन्- 'दुवै जना अविवाहित हो र मन मिल्छ भने विवाह गरे हुन्छ। होइन भने, इच्छाविपरीत परिबन्दमा पारेर आँखा झिम्क्याउने, अंगप्रत्यंगमा हात लगाउने र यौनशोषण गरेको भेटे तत्काल कारबाही गर्छु।'

महिला प्रहरीहरू माथिल्लो दर्जाका पुरुषबाट दुव्र्यवहारमा पर्ने गरेको पाइएको छ। प्रभावमा पार्न ड्युटीमा पेल्ने गरेको गुनासो अत्यधिक आएको डिआईजी थापामगर स्वीकार गर्छिन्। त्यस्ता केही अधिकृतलाई सचेत गराइएको दाबी गर्दै उनले भनिन्- 'अस्मितासँग दर्जा र जागिरको सम्झौता हुनुहुँदैन, बरु त्यसको प्रतिकार गर्नुपर्छ।'

प्रहरी कार्यालयभित्रको अव्यवस्थित बसोबासले पनि महिला प्रहरीलाई असुरक्षित बनाएको छ। खासगरी, धामी बलात्कार प्रकरणपछि महिला प्रहरीका लागि तत्काल बस्ने र कार्यक्षेत्रमा सुरक्षित काम गर्ने वातावरण बनाउन प्रहरी हेडक्वार्टरले सबै प्रहरी युनिटलाई निर्देशन दिएको थियो तर त्यसको कार्यान्वयनमा अझै थुप्रै समस्या छ। 'राम्रो बस्ने व्यवस्था नहुँदा सुन्तली धामी द्वन्द्वकालमा खनिएको बंकरभित्रै बस्थिन। त्यही उनीमाथि बलात्कार भयो'- थापामगरले भनिन्।

जुनियर अफिसरबाट सेवा सुरु गरेकाले उनले कहिल्यै यौन दुव्र्यवहार बेहोर्नुपरेन, तर लैंगिक विभेदका सानातिना अनुभव भने उनीसँग पनि छन्। धेरैजसो युवती प्रहरीमा भर्ती हुँदा अविवाहित हुन्छन्। विवाहपछि पतिले पेसा नरुचाएर छाड्नेहरू पनि छन्। उनी भने साढे दुई वर्षकी छोरी घरमा छाडेर २३ वर्षको उमेरमा सईमा भर्ती भईन्। पाँच वर्षपछि खुला प्रतिस्पर्धाबाट इन्सपेक्टर भइन्।  ०५२ जेठमा उनी डिएसपीका रूपमा धादिङ प्रहरी प्रमुख भइन्। 'सुरुमा डिएसपीभन्दा पनि महिला डिएसपी भनेर कतिपयले होच्याउन खोजे तर, मैले काम गरेरै आफूलाई प्रमाणित गरें'- उनले भनिन्।

प्रहरीभित्र महिलामैत्री वातावरण बनाउन र आकर्षण बढाउन प्रस्ट नीति ल्याउनुपर्ने उनको धारणा छ। त्यसका लागि उनी सुरुमा देखिने ठाउँमा महिला प्रहरीलाई राख्न चाहन्छिन्। मध्यपश्चिममा उनले ट्राफिकमा महिला बढाएकी छिन्। विमानस्थलमा पनि महिला प्रहरी राखिएका छन्। इलाका प्रहरीसम्मै 'फास्ट रेस्पोन्स' महिला प्रहरीले गर्ने व्यवस्था मिलाइएको थापामगर बताउँछिन्।

बोस्नियामा १४ महिना र सिएरालियोनमा एक बर्ष राष्ट्रसंघीय शान्ति सेनामा खटिएकी डिआईजी थापामगर त्यहाँजस्तै सुरक्षित वातावरण भए प्रहरीमा महिलाको आकर्षण बढ्ने बताउँछिन्। 'महिलाप्रति हेर्ने दृष्टिकोण राम्रो हुनासाथ धेरै समस्या समाधान भैहाल्छन्,'- उनले भनिन्- राष्ट्रसंघीय निकायमा यौन दुव्र्यवहारको आरोप लाग्नासाथ कारबाही हुन्छ। कानुन बलियो छ, त्योभन्दा राम्रो प्रभावकारी कार्यान्वयन छ।

नेपालमा भने यौन अपराध र दुव्र्यवहारका घटनामा पनि प्रमाण खोज्ने प्रवृत्ति उनलाई चित्त बुझ्दैन। 'सबैले देख्ने गरी कसले आँखा झिम्काउँछ ? कस्ले यौनदुव्र्यवहार गर्छ ?'- प्रतिप्रश्न गर्दै उनी भन्छिन्- महिलाले उजुरी गर्नासाथ उल्टै उनैमाथि 'त्यो महिला नै उस्ती थिइँ' भन्ने आक्षेप लाग्ने गरेको छ।

दिनहुँजसो आउने यौन अपराधका घटनाबाट उनी दिक्क छिन्। प्रहरीको उच्च तहमा पुगेकी थापाकहाँ न्यायको अपेक्षा राखेर धेरै पीडित पुग्छन्। डेढ वर्षकी बालिकादेखि ७२ वर्षका वृद्धासम्म बलात्कृत भएका घटना उनी छापामा पढ्छिन्। ब्ााबुले आफ्नै छोरीमाथि कुदृष्टि लगाएर जर्बजस्ती गर्नेसम्मका पाशविक व्यवहार सार्वजनिक भएका छन्। यौन अपराध बर्सेनि बढ्दै गएको छ। घटाउने उपाय के हुनसक्ला ? डिआईजी थापामगर सरकारले यौन व्यवसायका लागि अनुमति दिनुपर्ने धारणा राख्छिन्। उनी भन्छिन-'रेडलाइट एरिया नतोक्दासम्म यौन अपराध नियन्त्रण हुने देखिँदैन। आवश्यकता हुनेहरू रेडलाइट एरियातिर जान्छन, समाजमा अपराध घट्छ।'

प्रहरीले जतिसुकै नियन्त्रण गर्न खोजे पनि कुनै न कुनै रूपमा यौन व्यवसाय भैरहेको उनी बताउँछिन्। शरीरमाथि आफ्नै अधिकारको माग भैरहेका बेला राज्य संयन्त्रले नियन्त्रण गर्न नसक्ने उनको दाबी छ। 'यौन इच्छा हुनेले विकल्प नपाउँदा अपराधतिर लाग्छ'- थापामगर भन्छिन- यौन व्यवसाय नियन्त्रण गर्छु भन्नु ढोका थुनेर बिरालो पिट्नुजस्तै हो। निकास नपाएपछि त त्यो बिरालो घाँटीमै झुन्डिन्छ नि। विकसित र छिमेकी मुलुकहरूको अनुभवका आधारमा पनि रेडलाईट एरियाको आवश्यकता देखिएको उनको तर्क छ।



सर्वेक्षणअनुसार, प्रहरीभित्र यौन दुव्र्यवहार धेरै देखियो। के भन्नुहुन्छ ?

झट्ट हेर्दा प्रहरीभित्र त्यस्तो स्थिति देखिए पनि यो नेपालका समग्र महिलाको स्थिति झल्काउने तथ्यांक हो। तपाईं महिलाहरूलाई कहाँ सुरक्षित देख्नुहुन्छ ? बाटो हिँड्दा होस् वा बस चढ्दा, जहाँसुकै महिलाले यौन दुव्र्यवहार भोग्नुपरेको छ। फरक यति हो, प्रहरीभित्र पनि झन्डै उस्तै देखियो। महिलालाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन विना यो घट्ने पनि छैन।

यौन दुव्र्यवहार र अपराध घटाउन के गर्नुपर्ला ?

सरकारले यौन व्यवसायका लागि अनुमति दिनुपर्छ। रेडलाइट एरिया नतोक्दासम्म यौन अपराध नियन्त्रण हुने देखिँदैन। आवश्यकता हुनेहरू रेडलाइट एरियातिर जान्छन, समाजमा अपराध घट्छ।

नियन्त्रण गर्न सकिँदैन ?

प्रहरीले जतिसुकै नियन्त्रण गर्न खोजे पनि कुनै न कुनै रुपमा यौन व्यवसाय भैरहेकै छन्। प्रहरी त सक्रिय नै छ, रोकिएको छ त ? अहिले एकातिर शरीरमाथि आफ्नो अधिकारको माग भैरहेको छ, अर्कातिर राज्यसंयन्त्रले त्यसलाई नियन्त्रण गर्न खोज्नु अर्थहिन छ। यौन व्यवसाय नियन्त्रण गर्छु भन्नु ढोका थुनेर बिरालो पिट्नुजस्तै हो। निकास नपाएपछि त त्यो बिरालो घाँटीमै झुन्डिन्छ नि। यौन इच्छा हुनेले विकल्प नपाउँदा अपराधतर्फ लाग्छ। विकसित र छिमेकी मुलुकमा पनि रेडलाइट एरिया छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out