माओवादी नेतालाई सम्पत्ति लुकाउन धौ–धौ

काठमाडौँ, साउन १७ । शान्ति प्रक्रियामा आएको पाँच वर्ष नबित्दै करोडौँको मालिक बनेका माओवादी नेताहरूलाई यतिबेला सम्पत्ति लुकाउन धौ–धौ परेको छ। सातौँ विस्तारित भेलामा नेताहरू नवधनाढ्य बनेको भन्दै कार्यकर्ताबाट तीव्र आलोचना भएपछि स्थायी समिति सदस्य अमिक शेरचनको संयोजकत्वमा गठित सम्पत्ति छानबिन समितिले उजुरी पठाउन सार्वजनिक सूचना गरेपछि सबैभन्दा ठूलो धपेडी शीर्ष तहका नेताहरूलाई नै परेको छ। यद्यपि, परेका उजुरीमाथि कारबाही हुने कुरामा भने कार्यकर्ता नै विश्वस्त छैनन्।
अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष बाबुराम भट्टराई र उनीले धनाढ्य पत्नी हिसिला यमी, स्थायी समिति सदस्य वर्षमान पुन, कृष्णबहादुर महरा, पोलिटब्युरो सदस्य अग्नि सापकोटा, जनार्दन शर्मा, मजदुर नेता शालिकराम जमरकट्टेल, पूर्व लडाकु कमान्डरहरू धनबहादुर मास्की, तेजप्रकाश ओलीलगायतका नेताहरू सबैभन्दा बढी धनाढ्यभित्र पर्छन्।
अध्यक्ष दाहालले हालै करोडौँ रुपियाँ लाजिम्पाटमा घर किनेका थिए। बैङ्कमा रहेको करोडौँ रुपियाँ जोगाउनका लागि छोरा प्रकाशलाई उनी स्वयम्ले भगाएको चर्चासमेत माओवादीवृत्तमा छ। जमरकट्टेलले क्यासिनोहरूमा करोडौँ लगानी गरेको बताइन्छ। शान्ति प्रक्रियामा आएलगत्तै उनले एभरेस्ट क्यासिनोबाट १० करोड रुपियाँ बुझेका थिए। त्यो पैसा कहाँ लगानी भयो भन्ने विवादकै कारण मजदुर नेता रमेश पन्तको समूहले उनीमाथि साङ्घातिक आक्रमणसमेत गरेको थियो। महराको लगानी अजय सुमार्गीको स्मार्ट टेलिफोनमा रहेको माओवादी स्रोत बताउँछ। त्यसबाहेक उनले छोराका नाममा केही होटल, सहकारी र विज्ञापन एजेन्सीमा पनि लगानी गरेको बताइन्छ। अग्निको लगानी भने सिन्धुपाल्चोकमा रक्तचन्दन तस्करमा भएको स्रोतको दाबी छ। जनार्दनको लगानी राजधानीको जनमैत्री अस्पतालमा छ। उनले केही समयअघि अस्पताल बेचेको हल्ला चलाए पनि केही सञ्चालक समितिका सदस्य मात्र परिवर्तन गरिएको थियो। सातैवटा डिभिजनबाट ५० लाख रुपियाँका दरले ३ करोड ५० लाख लिएर उनले सो अस्पतालमा लगानी गरेका हुन्। त्यसबाहेक उनले मुनलाइट नामक टेलिभिजन दर्ता गराएका छन् भने रुकुममा रेडियो र केही निर्माण कम्पनीमा पनि लगानी भएको
बुझिएको छ।
वर्षमानले ललितपुरमा च्याउ फार्म र कुखुरा फार्ममा लगानी गरेका छन्। बालाजु विस्तारित भेलामा उनको यो लगानीलाई लिएर हलमै निकै चर्काचर्कीसमेत परेको थियो। लडाकुका पूर्वकमान्डर धनबहादुर मास्कीको पोखरामा कन्स्ट्रक्सन प्रालि र जग्गा कारोबारमा लगानी रहेको छ भने अर्का कमान्डर तेजप्रकाश ओलीले जडीबुटी व्यापारमा लगानी गरेका छन्। अर्का केन्द्रीय सदस्य भक्तबहादुर शाहले पनि कर्णाली, भेरी, सेती र महाकाली जोडेर भेकसेम जडीबुटी सप्लाइ तथा प्रशोधन केन्द्र चलाउँदै आएका छन्।
नेतृ हिसिला यमीले पनि करोडौँ रुपियाँ जोडेको बताइन्छ। तर, उनको लगानीबारे खुल्न सकेको छैन। जनजाति नेताहरूलाई उचाल्नमा उनले धेरै रकम खर्चेको बताइन्छ। यसअघि माओवादीले तत्कालीन उपाध्यक्ष मोहन वैद्यको अध्यक्षतामा गठन गरेको अनुशासन आयोगमा पनि नेताहरूको सम्पत्तिकै बढी उजुरी परेका थिए। त्यो आयोगमा सबैभन्दा बढी उजुरी यिनै नेताका नाममा परेको स्रोतले बतायो।
शेरचन नेतृत्वको समितिले हिजो पनि वक्तव्य जारी गरी उजुरी पठाउने प्रावधानलाई केही खुकुलो बनाएको छ। सुरुमा उसले उजुरी पठाउनेको नाम र ठेगाना पनि अनिवार्य हुनुपर्ने जनाएको थियो भने हिजोको वक्तव्यमा नाम, ठेगाना उल्लेख नगरेरै पनि उजुरी दिन सक्ने जनाएको छ।
कार्यकर्ताको मुखमा रामकृष्णको गीत
'तिम्रा लागि ज्यान दिन्छु/तिमी मेरो मनको राजा/यो त सब भन्ने कुरा न हो।'
गायक रामकृष्ण ढकालले गाएको यो गीतले केही वर्षअघि निकै चर्चा पायो। समयअनुसार विस्तारै आम श्रोताको कण्ठबाट ओझेल पर्दै गएको यो गीत फेरि यतिबेला एउटा खास वृत्तमा निकै छाएको छ। साउनको पहिलो हप्ता ठूलै मारमुङ्ग्रीबीच तीन पटक स्थगित भएर सम्पन्न भएको एकीकृत माओवादीको विस्तारित भेलापछि माओवादी
कार्यकर्ता माझ यो गीत लोकप्रिय भएको हो।
कुर्सी हानाहानपछि सम्पन्न भेलामा नेताहरूले पुरानै चरित्र देखाउँदै एक अर्कामा विलीन भएको भनिरहँदा कार्यकर्ता भने त्यही गीत सम्भि्कँदै कानेखुसी गर्दैथे। नेताहरूको उक्त अभिनयलाई कार्यकर्ताले अस्वाभाविक रूपमा लिएनन्। किनभने, नेताहरूको त्यो चरित्र उनीहरूका लागि कुनै नौलो थिएन। चुनवाङ बैठकमा बाबुराम भट्टराईको कारबाही फकुवा गर्दा पनि प्रचण्डले 'हामी  दुई एक हौँ, केवल जोड र कोणमा मात्र फरक हो, अब हामी एक–अर्कामा विलिन भयौँ' भनेका थिए भने एक कदम अघि बढेर बादलले रुँदै आफू अध्यक्षमा विलीन भएको घोषणा गरेका थिए। तर, ती बादल यसपटक थिएनन्। तर, उनको स्थानमा नारायणकाजी श्रेष्ठ देखिए। कार्यकर्ताको मूल्याङ्कनमा  भेलाको उपलब्धि त्यत्ति थियो– गायक रामकृष्णले भनेझै बाबुराम र नारायणकाजीले प्रचण्डलाई मनको राजा ठान्दै ज्यान दिने बताए। तर, कार्यकर्ता भन्छन्– 'यो त सब भन्ने कुरा न हो।'
चुनवाङमा प्रचण्डमा विलीन हुने तिनै बाबुराम हुन्, जसले सुरुका दिनमा अपाच्य नाटक पनि प्रदर्शन गरे। एउटै खरानी रङको कपडा लगाउनेदेखि कुम हल्लाएर बोल्नेसम्मका  नक्कल भए। तर, खरिपाटी भेलासम्म आइपुग्दा त्यसको पर्दाफास भयो भने पालुङटार भेलापछि त प्रचण्ड–बाबुरामबीच भौतिक आक्रमण–प्रत्याक्रमण नै चल्यो। धोबीघाट भेलाबाट प्रचण्डलाई एक्ल्याएर बाबुराम प्रधानमन्त्री भइछाडे। दुई नेताबीचको आक्रमण–प्रत्याक्रमणको यो शृङ्खला अस्तिको भेलामा झनै उदाङ्गो भयो। रोचक पक्ष त के छ भने नेताहरूले एक–अर्कामा विलीन भएको घोषणा गरेको केही मिनेट अघिसम्म पनि आक्रमण–प्रत्याक्रमण रोकिएको थिएन।
उक्त भेलाले कार्यकर्ताको आँखामा छारो हाल्ने अर्को गजबको निर्णय गरेको छ– शीर्ष दुई नेताको सचिवालय साटफेर गर्ने। तर, भेलापछि यतिका दिन बित्दा पनि यो निर्णय कार्यान्वयनका लागि छलफलसमेत नभएको बताइन्छ। हुन त भेलाको समापनमा यो निर्णय सुनाउँदा पनि कार्यकर्ताले पत्याएका थिएनन्। बरु त्यसैगरी कानेखुसी गरेका थिए– 'यो त सब भन्ने कुरा न हो।' यसरी सचिवालय साटफेर गर्दा गोपनीयता नरहने र नेताहरूबीचमा झन् ठूलो विग्रह आउने कुरा कार्यकर्ता मात्र होइन, स्वयम् नेताहरूले पनि बुझेका छन्। माओवादी स्रोतले भन्यो– 'अब फेरि कार्यकर्ताको आँखामा छारो हाल्न सचिवालय होइन, पीएसओ (सुरक्षाकर्मी) चाहिँ साट्ने तयारी भइरहेको छ।' किनबेच जस्तो हुने भन्दै एक अर्काकोमा जान स्वयम् सचिवालयका सदस्यहरूले नमानेको बताइन्छ। 
अबको तारो नारायणकाजी
विस्तारित भेलापछि प्रचण्ड, बाबुराम दुवै समूहले पार्टीभित्र प्रमुख तारो उपाध्यक्ष नारायणकाजीलाई बनाएका छन्। विघटित केन्द्रीय समितिमा १६ जनाको टुकुडी लिएर विभाजनअघि मोहन वैद्यले लिएको ठाउँ ओगट्ने प्रयास गरेका नारायणकाजीप्रति  बाबुराम त पहिलेदेखि नै रुष्ट थिए,  अहिले प्रचण्ड पनि किनारा लगाउनुपर्ने निष्कर्षमा पुगेको लाजिम्पाट स्रोतले बतायो। 'वैद्यको टुकुडी सानै भए पनि उनीसँग बलियो सैद्धान्तिक आधार र सशस्त्र युद्धकालीन नेता–कार्यकर्ता भएकाले अरूको पेलाइको प्रतिकार गर्ने क्षमता थियो'– स्रोतले भन्यो– 'तर नारायणकाजीसँग न सैद्धान्तिक आधार नै छ, न त युद्धकालीन नेता–कार्यकर्ता नै छन्।' यद्यपि, दुई पक्षलाई भिडाएर साँढे हुने चरित्रका प्रचण्ड नारायणकाजीसँग सन्तुष्ट नहँुदा–नहुँदै पनि केही समय बाबुरामको रवैया हेरेर नारायणकाजीमाथि चाल्ने कदम निर्धारण गर्ने सोचमा रहेको पनि बताइन्छ। युद्धकालमा सम्पत्ति पार्टीलाई बुझाउनुपर्छ भनेरै माओवादीमा नलागेका नारायणकाजीकै कारण पनि पार्टी फट्न मलजल पुगेको र अहिले उनको चुरीफुरी पनि ज्यादै बढेको लाजिम्पाट र बालुवाटार दुवैको बुझाइ रहेको
स्रोतले बतायो।
छानबिनको घेरामा
पुष्पकमल दाहाल, वर्षमान पुन, कृष्णबहादुर महरा, अग्नि सापकोटा, हिसिला यमी, दिनानाथ शर्मा, शालिकराम जमरकट्टेल, जनार्दन शर्मा, धनबहादुर मास्की, तेजप्रकाश ओली, चन्द्रबहादुर थापा, भक्तबहादुर शाह।--budhabar

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out